घोराही, फागुन ।
जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउन र नागरिकप्रति जनउत्तरदायी भूूमिका निभाउन थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरेको छ ।
घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुर शिवपुरमा बुधबार अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयबासीको माग अनुसार वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो ।
वडा नम्बर ५ का अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दलजीतपुरमा स्थापना गरिएको चौकीको बुधबार उदघाटन गर्नुभएको थियो । यस्तै वडा नम्बर ११ मा वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले नै अस्थायी चौकीको उद्घाटन गर्नुभएको थियो ।
अस्थायी प्रहरी चौकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँको शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् । वडा नम्बर ११ मा स्थापित अस्थायी प्रहरी चौकीले सिंगो वडा, तुलसीपुर उपमहानगरको वडा नम्बर १७, १८ तथा घोराही १२ का विभिन्न गाउँका नागरिकलाई सुरक्षा महसुुस भएको वडा अध्यक्ष लामिछानेले बताउनुुभयो ।
उता, घोराही ५ मा दलजीतपुरमा स्थापित अस्थायी प्रहरी चौकीले साविक धर्ना गाबिसका नागरिकले लाभ लिन सक्ने भएका छन् । स्थानीय बासीको माग बमोजिम ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुुभयो । नागरिकको भौतिक तथा सामाजिक सुरक्षाका लागि प्रहरी सँधै साथमा रहने बताउँदै उहाँले समुदाय प्रहरी साझेदारी अभियानमार्फत समाजलाई समुन्नत बनाउन सकिनेमा जोड दिनुुभयो ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रंहरी उपरीक्षक सुरेश काफ्लेले ग्रामीण क्षेत्रमा प्रहरी चौकी स्थापना गरिएसँगै समाजमा हुने सबै खाले अराजकता अन्त्य हुने भएपनि यसमा नागरिकको साथ अपरिहार्य रहेको बताउनुुभयो । उहाँले गाउँमा जुवातास, झैझगडा, तस्करी जस्ता आपराधिक घटना हुने गरेको जस्ता गुनासो आएकाले यो काम नागरिककै लागि हो भन्ने धारणा बनाउन आग्रह गर्नुभयो ।
कानून भन्दा कोही पनि माथि हुन नसक्ने बताउँदै उहाँले प्रहरी नागरिककै पक्षमा रहेपनि गलत काम गर्ने जोकोही भएपनि उन्मुक्ति नपाउने बताउनुुभयो । ‘कानूनभन्दा माथि कोही छैन, गाउँका नागरिकबाटै गुनासो आएकाले प्रहरीले काम अघि बढाएको हो,’ उहाँले भन्नुुभयो, ‘यहाँ तास खेल्ने, झैझगडा गर्ने, साँझ चोकमा बसेर अनावश्यक काम गर्ने, कुलतमा लाग्ने, गाईगोरु तस्करी गर्ने जस्ता कुरा आएको छ हामी यी नकारात्मक पक्षलाई नियन्त्रण गर्छौँ ।’
अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो । उहाँहरुले स्थानीयबासीको साथ सहयोग र सहकार्य रहने बताउनुुभयो । दुवै अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा छ जनाको प्रहरी टोली खटिएकोे छ ।