spot_img
spot_img

शिक्षामा तुलसीपुर उपमहानगरको नमूना काम

प्राविधिक शिक्षामा उल्लेख्य प्रगति, सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बृद्धि

सुरक्षा रेग्मी/राप्ती पोष्ट

तुलसीपुर, चैत । तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँमा रहेको रानागाउँ प्राविमा कक्षा ५ सम्म जम्मा ५६ जना विद्यार्थी थिए । विद्यार्थीको संख्या निकै कम भएपछि तुलसीपुरले विद्यालयलाई गाभ्ने निर्णय ग¥यो । साथै विद्यालयलाई अवस्था सुधार्नका लागि अन्तिम मौका दिइयो । पालिकाले विद्यालयलाई समय मात्रै दिएको थिएन, विद्यार्थी संख्या वढाउन सके संरचना र अन्य सहयोग गर्ने प्रतिवद्धता पनि गरेको थियो । ‘विद्यालयले अभियान सञ्चालन गरेर विद्यार्थी संख्या मात्रै बढाएन तह पनि थप्यो । तीन वर्षको बिचमा विद्यालयले आधारभूत तह सञ्चालन गरिसकेको छ भने विद्यार्थी संख्या पनि तीन सय पु¥याएको छ । शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले भन्नुभयो, त्यो निर्णय नगरपालिकाले नगरेको भए विद्यालयको अवस्था सुधारका लागि सरोकारवालाहरु लाग्ने थिएनन् ।

तुलसीपुर उपमहानगरपालिकाले पहल गरेपछि महेन्द्र माविमा विद्यार्थीको संख्या दोव्वर भयो । अहिले दुई हजारको हाराहारीमा विद्यार्थीले अध्ययन गरिरहेका छन् जहाँ मुस्किलले एक हजार विद्यार्थीले मात्रै अध्ययन गर्दथे । गुरुजजुर मावि रक्षाचौर, बालपुर मावि, जनकल्याण मावि दुधरास, मावि सेन्टर लगायतका विद्यालयमा पनि सयौं विद्यार्थी थपिएका छन् । पहिले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण नहुने गरेकोमा यो पाँच बर्षको अवधिमा तुलसीपुरमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्न नमान्नेहरु यतिवेला सामुदायिक विद्यालयमा जान थालेका छन् ।

पहिले अंग्रेजी मोहका कारण संस्थागत विद्यालयमा भर्ना हुने विद्यार्थी अहिले सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेका छन् । तुलसीपुरका १५ वटा विद्यालयले अहिले अंग्रेजी माध्यमबाट पनि अध्यापन गराइरहेको छ । गुरुजजुर माविमा अग्रेजी माध्यमको अध्यापन सुरु भएपछि विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ‘वोर्डिङ्ग छाडेर यहाँ आउनेको लहर चलेको छ’, प्रधानाध्यापक विष्णु केसीले भन्नुभयो । तुलसीपुरभित्रका १० वटा सामुदायिक विद्यालयले अहिले प्राविधिक तहका कार्यक्रम सञ्चालन गरिरहेका छन् । हरेक विद्यालयमा फरक–फरक विषयको अध्यापन हुने भएकाले विद्यार्थीले चाहेको विषय अध्ययन गरिरहेका छन् । ‘मलाई फुड एण्ड डेरी पढ्ने धोको थियो अहिले पुरा भएको छ’, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रा आयुशा थापाले भन्नुभयो ।

जनप्रतिनिधि आएको पाँच बर्षको यो अवधिमा तुलसीपुरमा शिक्षाको क्षेत्रमा अनेकन परिवर्तन देखिएका छन् । तुलसीपुरको शैक्षिक क्षेत्रको अनुहार बदलिदै गएको छ । प्राविधिक र उच्च शिक्षाको लागि बाहिर जानैपर्ने बाध्यता जस्तो थियो । तर अहिले तुलसीपुर शिक्षाकालागि ह वबनेको छ । हरेक बर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ । अघिल्लो बर्ष २१ हजार सात सय ९३ विद्यार्थी अध्ययन गर्ने गरेकोमा चालु शैक्षिक सत्रमा तुलसीपुरभित्र २३ हजार एक सय ५५ विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘चार वर्ष अगाडीको कुरा गर्ने हो भने यो संख्या १८ हजारभन्दा पनि तल थियो’, शिक्षा महाशाखा प्रमुख भण्डारीले भन्नुभयो ।

अहिले गाउँगाउँमा देशैभरका स्वयम्सेवक शिक्षकहरु छरिएका छन्, परम्परागत शैलीबाट सञ्चालन भइरहेका सामुदायिक विद्यालयहरु पनि सुविधासम्पन्न हुँदै गएका छन् । स्थानीय सरकारले गरेको पहलकदमीले सामुदायिक विद्यालयको अवस्था सुधारिदै गएको छ । सामुदायिक विद्यालयमा यस वर्ष विद्यार्थी संख्या आठ प्रतिशतले बढेको पालिकाको तथ्यांक छ ।

आफ्नै कलेज र शिक्षालय

तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको क्षेत्रमा गरेको उल्लेखनिय काम भनेको आफ्नै पहलमा कलेज र प्राविधिक शिक्षालयको स्थापना रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा पालिकाले तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबीको अध्यापन गराइरहेको छ भने सिटिइभिटीको साझेदारीमा डिप्लोमा तहका वन विज्ञान, वाली विज्ञान, फुड एण्ड डेरी टेक्नोलोजी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग र मेकानिकल इन्जिनियरिङ्ग कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

पालिकाले सञ्चालन गरेको प्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई गरेका छात्राहरुलाई पूर्ण छात्रवृत्तिमा प्राविधिक विषय अध्यापन गराइरहेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार अहिले एक सय सय २६ छात्राहरुलाई निशुल्क प्राविधिक शिक्षा दिइएको छ । मेट्रो कलेज आफ्नो धेरै अघिको सपनाको शिक्षालयका रुपमा रहेको भन्दै नगरप्रमुख पाण्डेले मेट्रोले देशका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेको दावी गर्नुभयो । ‘शिक्षाको क्षेत्रमा नमुना काम गर्ने योजना अनुसार मेट्रो कलेज स्थापना भएको हो ।’ पाण्डेले भन्नुभयो ।

प्राविधिक शिक्षाको जग

तुलसीपुर उपमहानगरपालिकामा प्राविधिक विषय पठनपाठन गराउने सामुदायिक विद्यालयहरु थिएनन भन्दा पनि हुन्छ । प्राविधिक शिक्षाको माग बढीरहेको तर शिक्षा हासिल गर्नका लागि बाहिर जानैपर्ने बाध्यता थियो । यसले गर्दा तुलसीपुरबाट आर्थिक रुपमा पनि तुलसीपुरलाई धेरै मार परिरहेको अवस्था थियो । जव पालिकाको सहयोगमा प्राविधिक शिक्षालयहरु सञ्चालन भए तव जनशक्ति र आर्थिक पाटोमा भएको क्षति रोकियो । प्राविधिक धारका विद्यालयहरुले प्रति कार्यक्रम एक लाख रुपैयाँसम्ममा अध्यापन गराउन थालेका छन् । यो भन्दा अगाडी जिल्ला बाहिर जानुपर्ने वाध्यता एकातिर थियो भने शुल्क पनि दुई लाख बढी तिर्नुपर्ने अवस्था थियो ।

‘सानैदेखि बन विज्ञान पढ्ने रहर भएपनि पढ्न पाउँदिन जस्तो लागेको थियो, यही नै सञ्चालन भएपछि बल्ल पढ्न पाइएको छ’, तुलसीपुर बहुप्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका तुलसीपुर–१३ का अजय नेपालीले भन्नुभयो । प्राविधिक शिक्षाको सर्वसुलभता र विकासका लागि उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक शिक्षालयहरुलाई अनुदान दिने नीति अख्तियार गरेको छ । अहिले नगरभित्र नौ वटा सामुदायिक विद्यालयहरुले प्राविधिक विषय अध्यापन गराएर प्रति विद्यालय १० लाख अनुदान लिइसकेका छन् । केही विद्यालयहरु प्राविधिक विषय थप गर्ने तयारीमा जुटेका छन् । प्राविधिक विषय अध्यापन हुन थालेपछि बाहिर जिल्लाबाट आउने विद्यार्थीको संख्या पनि बढिरहेको छ । शिक्षा महाशाखा प्रमुख भण्डारीकाअनुसार हरेक वर्ष तीन सयका दरले बाहिरबाट आउने विद्यार्थीको संख्या वढिरहेको छ ।

प्राविधिक विषयको अध्ययनसँगै स्थानीयरुपमा प्राविधिक जनशक्तिको माग पुरा हुँदै गएको नगरप्रमुख पाण्डेले बताउनुभयो । ‘हामीलाई चाहिने प्राविधिक जनशक्तिको अभाव विस्तारै पुरा हुँदै जाने देखिन्छ’, पाण्डेले भन्नुभयो । उपमहानगरपालिकाभित्र अहिले कृषि विज्ञान, प्राणी विज्ञान, सुचना प्रविधि, फुड एण्ड डेरी, अमिन, वन विज्ञान, सिभिल, मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङ्ग लगायतका विषय सामुदायिक विद्यालयमा अध्यापन भइरहेको छ ।

मेट्रो कलजेका प्रमुख बसन्त आचार्य शिक्षालाई व्यवहारसंग जोड्नका लागि प्राविधिक शिक्षाको विकल्प नरहेको बताउनुहुन्छ । सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पाएन भने त्यो सिप निरर्थक हुन्छ । त्यसैले अहिले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढीरहेको छ । तुलसीपुर उपमहानरपालिकाले शिक्षाको क्षेत्रमा अन्य पालिकाको भन्दा फरक र उत्कृष्ठ तरिकाले अघि बढेको दावी पनि आचार्यको छ ।

विद्यालय मर्ज गर्ने अभियान

व्यवस्थापकीय समस्या र भौगोलिक कठिनाईका कारण केही विद्यालयमा विद्यार्थी संख्या न्युन थिए । ‘कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै थियो’, शिक्षा महाशाखाका अधिकृत चक्र भण्डारीका अनुसार विद्यार्थी संख्या कम भएका विद्यालयहरुको सिकाईस्तर निकै कम भएको हुँदा मर्जको प्रक्रिया अगाडी वढाइएको थियो । तुलसीपुरमा मर्जमा जाने भनेपछि केही विद्यालयले निकै मेहनत गरेका थिए । विद्यालय मर्जको प्रक्रिया अगाडी बढाएसँगै १३ वटा प्राविलाई वालविकास केन्द्र कायम राखी कक्षा स्थगन गरिएको छ ।

८३ वटा विद्यालय भएकोमा अहिले ७० सामुदायिक विद्यालय पालिकाभित्र रहेका छन् । पहुँच र दुरी नविग्रने गरी विद्यालय मर्ज गरिएको हो । तोकिएकोभन्दा विद्यार्थी संख्या थोरै भएका विद्यालयहरुको सिकाइस्तर कमजोर भएकाले विद्यालय मर्जमा जानुपरेको शिक्षा महाशाखा प्रमुख भण्डारीको भनाई छ । मर्ज गरिएका विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई नजिकैको विद्यालयमा स्थानान्तरण समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै नगरप्रमुख पाण्डेले भन्नुभयो । ‘कतै कम विद्यार्थी शिक्षक धेरै, कतै धेरै विद्यार्थी शिक्षक कम भएपछि हामीले विद्यालय मर्जको अवधारणा अगाडी वढाएका हौं’, कक्षा स्थगन भएका विद्यालयमा नमुना बालविकास सञ्चालन गरिएको छ । विद्यालय मर्ज भएर सिकाई प्रक्रिया प्रभावकारी भएपछि कतिपय अभिभावकहरुले संस्थागत विद्यालयबाट सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउन समेत थालेका छन् । ‘हामीले विद्यार्थी संख्याको टार्गेट दिएका थियौ, कतिपय विद्यालयहरुले त्यसलाई पुरा गरेर मर्ज हुनबाट जोगिए ।’ पाण्डेले भन्नुभयो ।

सामुदायिक विद्यालयमा अँग्रेजी

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वढाउनका लागि अग्रेजी माध्यमको सुरुवात गरिएको छ । सामुदायिक विद्यालयमै अग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि अहिले अभिभावकहरुले वालवालिकालाई संस्थागत विद्यालयबाट छाडेर सामुदायिक विद्यालयमै भर्ना गर्न थालेका छन् । ‘सामुदायिक विद्यालयमै अँग्रेजी माध्यमको पठनपाठन भएपछि किन संस्थागतमा खर्च गर्नु, मैले त संस्थागतबाट झिकेर सामुदायिक विद्यालयमै छोरोलाई भर्ना गरेको छुँ ।’ गुरुजजुर माविका अभिभावक खिमराज खनालले भन्नुभयो । उहाँजस्ता कयौं अभिभावकहरुले अँग्रेजी माध्यमको पठनपाठन सुरुवात भएपछि सामुदायिक विद्यालयमा बालबालिकाहरु भर्ना गरिरहेका छन् । ‘नेपाली माध्यममा अध्यापन भइरहेको सामुदायिक विद्यालयमा अँग्रेजी माध्यमको पठनपाठन सुरुवात गर्न कठिनाइ रहेको थियो तर पनि अनुदान दिएर अँग्रेजी माध्यमका शिक्षकहरु राखेपछि सहज वन्दै गएको छ’, शाखा अधिकृत भण्डारीले वताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने कुरा सुरुमा अस्वाभाविक लागेपनि विस्तारै सहज वन्दै गएको वताउनुभयो । ‘अभिभावकले पनि अंग्रेजी माध्यमका लागि मासिक शुल्कमा केही सहयोग गर्नुभएको छ’, गुरुजजुर माविकी प्राचार्य विष्णुकुमारी केसीले भन्नुभयो ।

स्वयमसेवक शिक्षक परिचालन

शुन्य दरबन्दी हुँदा पनि समुदायले आँटेर सञ्चालन गरिएका माध्यमिक विद्यालयहरुको नतिजा निकै दयनीय थियो । शिक्षक व्यवस्थापनका लागि ‘टिच फर नेपाल’सँगको सहकार्यमा विभिन्न विद्यालयमा अँग्रेजी, विज्ञान र गणितका स्वयम्सेवक शिक्षकहरु व्यवस्थापन गरिएको छ । ‘पहिलो वर्ष नौ वटा र दोस्रो वर्ष १० वटा सामुदायिक विद्यालयमा दुई वटा शिक्षकका दरले यस्ता शिक्षक उपलब्ध गराइएको हो’, शाखा अधिकृत भण्डारीले भन्नुभयो ।

उहाँले स्वयम्सेवक शिक्षक परिचालन गरिएका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि भएको पनि वताउनुभयो । विद्यार्थीहरु सबैभन्दा धेरै अनुत्तिर्ण हुने विषयका शिक्षकहरुको व्यवस्थापन गरेका कारण पनि गुणस्तर र नतिजा सुध्रिएको उहाँको भनाई छ । उपमहानगरपालिकाले साना कक्षाको सिकाईस्तर उकास्नका लागि चेन्जिङ्ग स्टोरीको सहयोगमा विभिन्न आठ वटा विद्यालयमा ३० वटा गु्रप सञ्चालन गराएर स्वयम्सेवकहरु परिचालन गरिएको छ ।

शिक्षक करारनामा

सामुदायिक विद्यालयका शिक्षकलाई जिम्मेवार बनाउनका लागि उपमहानगरपालिकाले प्रधानाध्यापक र शिक्षकसँग करारनामा गरेको छ । शिक्षा महाशाखा प्रमुखका अनुसार करारनामा बमोजिम काम भएको या नभएको भन्ने बारेमा नियमित अनुगमन गरेर शिक्षकको मुल्यांकन समेत हुने गरेको छ । उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकसँग यस्तो करारनामा गर्ने गरेका छन् । करारनामामा वर्षभरी गर्नुपर्ने कामको विवरण हुने भएकाले मुल्यांकन गर्न सहज बनेको वताइन्छ ।

‘पालिकाले प्रधानाध्यापकसँग करारनामा गरेपछि अहिले जथाभावी प्रधानाध्यापकले विद्यालय छाड्ने क्रमको अन्त्य भएको छ’, शिक्षा समिति संयोजक कुमार लामिछानेले बताउनुभयो । उहाँले करारनामाका कारण विद्यालयको मुल्याङकन सहज भएको बताउनुभयो । तुलसीपुरमा रहेका सवै विद्यालयका प्रधानाध्यापकहरुलाई यसले गम्भिर बनाएको आफूहरुले पाएको भनाई पनि लामिछानेको छ ।

इलेक्ट्रिक हाजिरी

सामुदायिक विद्यालयमा शिक्षक उपस्थितिलाई पारदर्शी वनाउनका लागि उपमहानगरपालिकाले पहिलो चरणमा सबै माध्यमिक विद्यालयहरुमा इलेक्ट्रिक हाजिरीको ब्यवस्था गरेको छ । शाखा प्रमुख भण्डारीका अनुसार इलेक्ट्रिक हाजिरीको सबै विवरण शिक्षा महाशाखामा आउने भएकाले विवरण अद्यावधिक गर्न सहज भएको छ ।

‘यस किसिमको व्यवस्थाका कारण समयमा विद्यालय नआउने क्रमको अन्त्य भएको छ भने कामको बहानामा विच समयमै विद्यालय छाडेर जाने क्रम पनि रोकिएको छ’, भण्डारीले भन्नुभयो । उपमहानगरपालिकाले २३ वटा माध्यमिक विद्यालयमा यस्तो हाजिरी प्रणालीको सुरुवात गरेको हो । ‘सबै विद्यालयमा तत्काल विस्तारको योजना अगाडी बढेको छ’, उहाँले भन्नुभयो ।

स्थानीय पाठयक्रमको विकास

स्थानीय भाषिक समुदायलाई लक्षित गरेर उपमहानगरपालिकाले सानो कक्षामा स्थानीय भाषामै पठनपाठनको सुरुवात गरेको छ । स्थानीय भाषामा पढ्न पाउँदा विद्यार्थीहरुको आकर्षण बढेको वडा नम्बर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले बताउनुभयो । सो वडाको विरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सुरुवात गरिएको छ । पाठ्यपुस्तक समेत स्थानीयस्तरमा तयार गरेर कक्षा सञ्चालन गरिएको शिक्षा महाशाखाले जनाएको छ । ‘घरमा बोल्ने भाषामा स्कुलमा पढाई हुँदा रमाईलो लागेको छ’, अनिस मगरले भन्नुभयो । अन्य स्थानीय भाषामा पनि कक्षा सञ्चालनका लागि तयारी गरिएको महाशाखाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिरहेको छ । आगामी शैक्षिक सत्रबाट लागु गर्ने गरी तयारी पुरा भएको शाखा अधिकृत भण्डारीले वताउनुभयो । भण्डारीका अनुसार अहिले विभिन्न विज्ञहरुबाट पाठ्यपुस्तक लेखनको काम भइरहेको छ । कक्षा १ देखि ८ सम्म एकैपटक स्थानीय पाठ्यक्रम लागु हुने गरी तयारी गरिएको समेत उहाँले बताउनुभयो । पुस्तकको नाम तुलसीपुरको चिनारी राखिएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img