spot_img
Home Blog Page 60

जेष्ठ नागरिकको सम्मानमा घोराही उपमहानगरको उत्कृष्ठ काम

दिनभर ‘दिवा सेवा केन्द्र’ मा रमाउँछन् ।

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिका वडा नं. १५ आदर्श टोलमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा टोपाराम अधिकारीको दैनिकी बित्छ । दिवा सेवा केन्द्र नजाने हो भने उहाँलाई साह्रै नियास्रो लाग्छ । हिजो आज जेष्ठ नागरिक दिवा सेवा केन्द्र जेष्ठ नागरिकको मन भुलाउने गतिलो माध्यम बनेको छ ।

घोराही उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १७ मा जेष्ठ नागरिकहरू एकै स्थानमा जम्मा भएर दैनिक दिन जमघट हुने र सुखदुःख साटासाट गर्दै दिन बिताउने गर्नुभएको छ । उहाँहरु सामूहिक रूपमा बसेर आफ्ना सुख दुःखसमेत साट्ने, भजन किर्तन गर्दै आइरहनुभएको छ । जसले आफ्नो पीडासमेत भुलाउने गरेको र दिन कटाउन सहज भएको जेष्ठ नागरिकहरूको अनुभव छ । ७५ वर्षीया निमकला पौडेललाई दिनहुँ जेष्ठ नागरिक दिवा सेवा केन्द्र नपुगी मनले मान्दैन । दिवा केन्द्रमा आइपुगेका आफ्नै उमेरका ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्नु सुख दुःख बाँड्नु, भजनकिर्तन, नाँचगान, कथा सुन्नु र सुनाउनु उहाँको मन भुलाउने बाटो बनेको छ । त्यसैले दिनहुँ जसो उनी दिवा केन्द्रमै पुग्ने गर्नुभएको छ । ‘घरमै बसे एक्लै भइन्छ, दिन काट्न गाह्रो हुन्छ, यहाँ आयो भने त सबैसँग भेट हुन्छ, मनमा अनेक कुरा खेल्न पाउँदैन, सबै कुरा भुलेर दिन बिताउन सजिलो हुन्छ,’ निमकलाले भन्नुभयो ।

दामोदर पौडेल पनि उमेरले ६३ वर्षको हुनुभयो । उहाँको दैनिकी पनि जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा बित्छ । उहाँ बिहानको खाना खाएपछि घोराही १५ मा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा पुग्नुहुन्छ । ‘अरुका कुरा सुन्ने तथा आफ्ना कुरा सुनाउने गरेकाले मन भुल्ने गरेको छ,’ उहाँले भन्नुभयो, यहाँ आएपछि दिन बिताउन पनि सजिलो भएको छ ।’ परिवारका सबै सदस्य आफैमा व्यस्त हुने भएपछि घरमै दिन बिताउन उहाँलाई सजिलो थिएन । दैनिक दिवा केन्द्रमा जान थालेपछि उहाँका लागि दिनहरू सजिला भएका छन् । भलाकुसारी गरिदने आफूजस्तै ज्येष्ठ नागरिक भेटिएका छन् । भजनकिर्तन गर्ने मौकासमेत जुरेको छ । दिनभर दिवा केन्द्रमै बिताउनु र बेलुका घर फर्कनु उनीहरुको दैनिकी हो ।
बुद्धिराम रिजाल पनि उमेरले ७९ वर्षको पुग्नुभयो । घरमा दिनभर एक्लै बसेर समय बिताउन निकै सकस हुने गरेको बेलामा दिवा सेवा केन्द्र खुलेपछि उहाँका लागि दैनिकी सहज बनेको छ । जसले गर्दा बिहानको खाना खाएर दिनभर दिवा सेवा केन्द्रमा बिताउनुहुन्छ । मिना केसी सरकारी जागिरे हुँदा समय कटेको थाहा पाउनुभएन । अहिले उमेर हदका कारण अवकाश भएपछि उहाँलाई पनि दैनिकी बिताउन दिवा सेवा केन्द्रकै सहारा लिनुपरेको छ ।

७५ वर्षीया खुमा देवकोटालाई छोरा जागिरे भएपछि घरमा एक्लै समय बिताउनु पर्नेभयो । दिनभर आफूसँगै भलाकुसारी गरिदिने कोही भएन । एक्लोपनले दिनभर सताउँथ्यो । दिनहरू निकै अत्यास लाग्दा थिए । ज्येष्ठ नागरिक दिवा केन्द्र स्थापना भएपछि भने उहाँ नियमित आउन थाल्नुभएको छ । उहाँले कोठामै बित्ने समय अहिले दिवा केन्द्रमा बिताउन थाल्नुभएको छ । ‘दिवा केन्द्रमा आउन थालेदेखि मन भुलिएको छ ऊर्जा थपिएको छ,’ उहाँले भन्नुभयो । आफूजस्तै भेटिएपछि मन भुलाउनसमेत सहज भएको उहाँको भनाई छ ।

घोराही उपमहानगरपालिको पहलमा सञ्चालित दिवा केन्द्रमा दैनिक ७० जनासम्म ज्येष्ठ नागरिक भेला हुने गरेको दिवा सेवा केन्द्र सञ्चालक समितिले जनाएको छ । जेष्ठ नागरिकहरू बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म दिवा केन्द्रमै बस्नुहुन्छ । सेवा केन्द्रमा एक अर्कासँग भलाकुसारी कथा व्यथा सुनाउने, भजनकृतन गर्ने, नाच गान, धर्मग्रन्थ पढने र बेलुकी घर फकिने दिनचर्या नै बन्न पुगेको छ । जेष्ठ नागरिकलाई चिया र बिस्कुट खुवाएर घरमा पठाइने गरेको छ । अहिले यसको पूर्वाधार विकासका लागि थप बजेट पनि विनियोजन गरिएको बताइएको छ । दिवा केन्द्रमा ज्येष्ठ नागरिकहरुलाई भजन किर्तनका लागि वाद्यवादन बाजादेखि धार्मिक ग्रन्थ उपलब्ध छन् । यसको व्यवस्थापन पनि नगरपालिकाले गरिदिएको छ ।

ज्येष्ठ नागरिकहरुले जीवनको उत्तराद्र्धमा सम्मानपूर्वक जीवन विताउन पाउनु अधिकार हो । विश्वमा ज्येष्ठ नागरिक जनसङ्ख्या कुल जनसङ्ख्याको १३ प्रतिशत पुगेको अनुमान संयुतm राष्ट्रसघंको जनसङ्ख्या विभागले गरेको छ । नेपालमा २०६८ को जनगणनामा कुल जनसंख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिकहरुको जनसंख्या रहेको थियो । यो जनसंख्याको बार्षिक बृद्धिदर ३.५ प्रतिशत अनुमान गरिएको छ । यहि बृद्धिदर कायम रहदा आगामी २० बर्षमा नै ज्येष्ठ नागरिकहरुको जनसंख्या दोब्बर हुने निश्चित छ । ज्येष्ठ नागरिकहरुको यति उच्च दरको बृद्धिदर अझै ४५ देखी ५० बर्ष कायम रहन सक्ने अनुमान गर्न केन्द्रिय तथ्याङ्क विभागवाट प्रकाशीत उमेरगत तथ्याङ्क प्रयाप्त छ ।

नेपालको सबिंधानको धारा ४१ मा ज्येष्ठ नागरिक सम्बन्धि हकमा ज्येष्ठ नागरिकहरुलाई राज्यवाट विषेश संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भन्ने हकको प्रत्याभूति गरिएको छ । ज्येष्ठ नागरिक ऐन २०६३ र नियमावली २०६५ ले पनि त्यस्तो व्यवस्था गर्ने प्रयास गरेको छ । तर मानिस उमेर, शारिरिक अवस्था लगाएतवाट काम गर्न नसक्ने हुदै जादा सामाजिकपनमा समेत कमि आउँदछ । त्यो सम्पुर्ण मानिसमा लागु हुने नियमित प्रकृया भएता पनि सक्रिय उमेरका मानिसहरुले वेवास्ता गर्ने चलन धेरै समाजमा व्याप्त रहेको छ । फलस्वरुप आफुले विभिन्न विधामा समाज र देशका लागि जति नै कार्य गरे पनि बृद्धाअवस्थामा आफु बोझ भएको एक्लो महसुस गरेको तितो सत्य ज्येष्ठ नागरिकहरुमा देख्न सकिन्छ ।

तर, अहिले स्थानीय पालिकाले थालेको यो अभ्यासलाई निकै सराहना गरिएको छ । आगामी दिनमा अझ जेष्ठ नागरिक मैत्री वातावरण निर्माण गर्दै उनीहरुको सीप क्षमता र अनुभवलाई स्थानीय सरकारले प्रयोगमा ल्याउन सक्ने गरी नीति बनाउन सके अझ राम्रो हुने नागरिक अगुवाहरुको भनाई छ ।

घोराही उपमहानगरपालिकामा बर्तमान नेतृत्व आउँदा एउटा नारा तय गरिएको थियो । मेयरका रुपमा नरुलाल चौधरी र उपमेयरका रुपमा सिता सिग्देल न्यौपाने निर्वाचनको मैदानमा जाँदा ‘सामाजिक सुरक्षा–नागरिकप्रतिको शुभेच्छा’ भन्ने नाराका साथ जनतामा जानुभएको थियो । जेष्ठ नागरिकलाई सम्मान गर्ने नेकपा एमालेको मान्यता अनुसार नै जेष्ठ नागरिकको कुरा निर्वाचनको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको मेयर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,–’जेष्ठ नागरिकलाई परिवार तथा समाजमा सम्मानपूर्वक जीवन जिउनसक्ने अवस्थाको सुनिश्चितता गर्ने तरिका पहिल्याइ कार्यान्वयन गरिने छ ।’ भनेर जुन प्रतिवद्धता गरिएको थियो सोही अनुसार पालिकामा कार्यक्रम गरिएको हो ।

आफूहरु निर्वाचित भएर आएदेखि नै ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई घरमै गएर उपचार गरिएको, नगरपालिका स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको र विभिन्न वडामा जेष्ठ नागरिक आराम गृह संचालनमा ल्याइएको मेयर चौधरीले बताउनुभयो । उहाँले घोराहीको वडा नं. १६ मा रहेको तेरौटे बृद्धाश्रमलाई सहयोग गर्ने देखि लिएर विभिन्न वडामा जेष्ठ नागरिक दिवा केन्द्र स्थापना गरिएको पनि मेयर चौधरीले बताउनुभयो । नेकपा एमालेले २०५१ सालमा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिकलाई मासिक रुपमा रकम दिन थालेपछि बृद्ध बृद्धाहरुमा एमालेप्रतिको भरोसा बढेर गएको अनुभव नेताहरुको छ । अहिले मासिक भत्ता चार हजार रुपैया रहेको छ । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र संयुक्त रुपमा निर्वाचनमा जाँदा मासिक भत्ता पाँच हजार रुपैया पु¥याउने प्रतिवद्धता गरिएको थियो । गत बजेटबाट नेकपा एमालेको सरकारले जेष्ठ नागरिकको भक्ता चार हजार पु¥याएको थियो ।

सडक निर्माणको बाचा पुरा गर्दै घोराही

कतै भाइरल रोड, कतै सहज आवागमन

विमला घर्ती/राप्ती पोष्ट

घोराही, चैत । घोराही उपमहानगरपालिकामा पाँच बर्ष अघि बर्तमान नेतृत्व आउँदा गरेको एउटा घोषणा थियो–‘सडकको सुविधा जताततै–यातायातको अभाव हुने छैन कतै ।’ घोराही उपमहानगरपालिमा नेकपा एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा सिता सिग्देल न्यौपाने उमेदवार हुँदै गर्दा गरेका धेरे बाचा मध्य सडक सम्वन्धी बाचा पनि प्रमुख थियो । नेकपा एमालेबाट उमेदवार बन्नुभएका उमेदवारहरुले नगरपालिकाको विकासकमा लागि गरेका प्रतिवद्धता मध्य सडकको काम करिव सत प्रतिशत भएको छ । कतिपय सडक निर्माणका बारेमा प्रतिवद्धतामा उल्लेख गरिएको थिएन । प्रतिवद्धता नगरिएका सडकहरु पनि पक्की बन्दा घोराहीमा सडक भाइरल भएका घटना भएका थिए ।

घोराही उपमहानगरपालिका अन्तरगत रामपुर जाने सडक, सौडियार जाने सडक, नारायणपुर हुँदै हापुर जाने सडक, घोराहीबाट सेवार हुँदै पश्चिम जाने सडक पाँच बर्षको अवधिमा भएका मुख्य सडकहरु रहेका छन् । घोराही उपमहानगरपालिकाका सवै वडा अर्थात १९ वटै वडालाई सडक सञ्जालले जोड्ने योजना थियो जुन पुरा भएको छ । अधिकांश वडा कार्यालयमा पक्कि सडक पुगिसकेको छ भने केही वडामा मात्रै पक्की सडक पुग्न नसकेको मेयर नरुलाल चौधरीको भनाई छ । हरेक बडा सडक सञ्जालमा जोडिएको छ । पिच गरेर जोड्ने काम पनि हामीले अघि बढाएका छौं । यो काम आगामी दिनमा हुनेछन् ।’ उहाँले भन्नुभयो ।

‘घोराही उपमहानगरपालिकामा पर्ने खोलामा निर्माण अबरुद्ध भएका पुलहरुलाई अबिलम्ब निर्माण गरिने छ ।’ भन्ने प्रतिवद्धता गरे अनुरुप धेरै जसो खोलामा पुल निर्माण गरिएको पनि मेयर चौधरीको भनाई छ । घोराही बजारमा आउनेहरुका लागि नमिठो दृष्य भने मुख्य चोक हुने गरेको छ । मुख्य चोकको अवस्था सोचेजति सुधार हुन सकेको छैन । मुख्य चोकको सडक निर्माण नगरपालिकाले गर्न नपाउने कानुनी जटिलता भएका कारणले गर्दा आफूहरु पछि परेको मेयर चौधरीको भनाई छ । सडक डिभिजनसंग निर्माणको अनुमति लिंदा पनि नपाएका कारणले गर्दा जनताले प्रश्न उठाउने गरेको पनि उहाँले बताउनुभयो । बजार क्षेत्रको सडक निर्माणको जिम्मा उपमहानगरपालिकालाई दिने हो भने अहिलेको जस्तो प्रश्न उठाउन नपर्ने उहाँको अनुभव रहेको छ ।

नेपालको सवैभन्दा ठूलो भुगोल भएको उपमहानगरपालिका हो घोराही । घोराही उपमहानगरपालिकाका सबै वडाका भित्री टोल बस्ती जोड्नेगरि सडक निर्माण गरिएको मेयर चौधरीको भनाई छ । उहाँले आफूहरुले बाचा गरे अनुरुप नै भित्री टोल बस्ती जोड्ने सडक निर्माण गरेको र मुख्य शहरी क्षेत्रका सडकहरुलाई व्यवस्थित गरिने काम गरिएको बताउनुभयो । घोराही बजारका कतिपय सडकमा यतिवेला पनि धमाधम काम भइरहेको त्यसैको उदाहरण भएको मेयर चौधरीको भनाई छ ।

घोराहीबाट धारपानी सडक, घोराहीबाट बाह्रकुने सडक, घोराहीदेखि मुर्कुटी सडक, घोराहीबाट हापुर हुँदै तुलसीपुर जोड्ने सडक, खैरा–कोठरी हुँदै धर्नाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक, घोराहीबाट मसिना हुँदै सैघाबाट स्वर्गद्वारी जोड्ने सडक र घोराहीबाट रामपुर हुँदै हाँसीपुर जोड्ने सडकलाई प्राथमिकतामा राखिएको र आगामी दिनमा पनि यि सडकलाई प्राथमिकतामा राख्नु पर्ने अवस्था रहेको उहाँको अनुभव छ ।

घोराहीमा चक्रपथ निर्माणको विषय धेरै बर्ष देखि उठ्दै आएको थियो । वितेको पाँच बर्षको अवधिमा चक्रपथको काम अघि बढेको छ । घोराही उप–महानगरपालिमा भित्री र बाहिरी गरी दुईवटा चक्रपथ निर्माण गर्ने योजना थियो । दुवै चक्रपथ निर्माण हुन सकेको भए उप–महानगरपालिका १९ वटै वडालाई समेट्न सकिने थियो । भित्री चक्रपथ अन्तरगत केही सडक व्यवस्थित हुन थालिसकेको छ । यस्तै बाहिरी चक्रपथको बिषयमा पनि बहस चलेका कारण आगामी दिनमा यसलाई अघि बढाउनै पर्ने अवस्था आएको पनि मेयर चौधरीको भनाई छ ।

सडक निर्माणको सन्दर्भमा आगामी पाँच वर्षभित्रमा बजारक्षेत्रको फुटपाथलाई व्यवस्थित गरिनेछ भनेर भनिएको सँझना गर्दै मेयर चौधरीले पहिले सडक निर्माण गर्दा फुटपाथ राख्ने चलन नरहेकोमा अहिले फुटपाथ राख्ने गरी सडक निर्माण भइरहेको बताउनुभयो । अहिले बजार क्षेत्रका मात्रै होइन ग्रामिण क्षेत्र जोड्ने सडकमा पनि फुटपाथ राख्दा सडकको सौन्दर्य बढेको छ भने दुर्घटनाको जोखिम अत्यन्त घटेको छ । पहिले र अहिलेको प्राविधिमा आएको परिवर्तनका कारणले गर्दा पनि राम्रो हुँदै गएको नगरप्रमुखको भनाई छ ।

घोराहीमा नेकपा एमालेले मात्रै होइन अन्य राजनीतिक दलले पनि सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए । नेकपा एमालेले कार्यपालिकामा बहुमत जितेका कारणले गर्दा नेकपा एमालेलाई केही सजिलो भयो । बजारका कतिपय सडक निर्माणको काम अत्यन्त तिव्रताका साथ अघि बढेको छ । सवै सडकको काम सम्पन्न हुने हो भने घोराही बजार अझ सुन्दर सडकमा परिणत हुने दावी घोराहीका अन्य वडाध्यक्षहरुको पनि छ । घोराही उपमहानगरपालिकाले ग्रामिण क्षेत्र जोड्ने सडक राम्रो बनाएको भएपनि मुख्य सडक राम्रो नहुँदा कतिपय निरास छन् । घोराहीका अटो व्यावसायी नरेश सुनारले मुख्य सडकको अवस्था फेरिन नसकेको बताउनुभयो । सडक सुधारको प्रयास गरेको भनिएपनि जस्ताको तस्तै भएको बताउनुभयो । ‘अहिले नाला बनाउने भन्दै सडकको दायावाँया खनिएका छन्, यसले दुर्घटनाको जोखिम निम्त्याएको छ ।’ उहाँले भन्नुभयो ।

यस्तै घोराहीका सन्जिव बुढाले पनि नाला निर्माणको विषयमा चासो दिन आवश्यक भएको बताउनुभयो । घोराहीको विद्युत रोडमा नाला बनाउने भनेर सडकको दाया दाँया खनेको धेरै भैसकेको छ । तर अहिले पनि नाला निर्माणको काम हुन सकेको छैन्, खनेर छोडिएको छ, जसका कारण आवतजावतमा समस्या भइरहेको छ । यस्ता अधुरा कामले सास्ती थप्दै गएको उहाँ बताउनुहुन्छ । बजारका धेरै जसो भागमा यस्ता अधुरा कामहरु छोडिएको भन्दै यस्ता कामलाई तिव्रता दिनुपर्ने उहाँको धारणा छ । उहाँमात्रै होइन अन्य नागरिकको चाहना पनि सडक समयमा निर्माण भइदिए हुन्थ्यो भन्ने छ ।

घोराही उपमहानगरपालिकाले १९ वटै वडामा सडक सुविधा पु¥याएको भन्दै नगर प्रमुख नरुलाल चौधरीले घोराही तुलसीपुर–लमहीको सडकका कारण केही काम नभएको जस्तो देखिएको बताउनहुन्छ । ‘यि राजमार्ग संघिय सरकार अन्तर्रगतका सडक हुन् । सडक आफ्नो क्षेत्रभित्र नपर्ने भएकाले काम गर्न पाइएको छैन, मुख्य सडकले गर्दा केही काम नगरेको जस्तो भएको छ ।’ मेयर चौधरीको भनाई छ । तर कार्यक्षेत्रमा नभएपनि पटक पटक निर्माण तथा मर्मतको काम गरेको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेको पाँच बर्ष पुग्न थालेको छ । स्थानीयतह निर्वाचन बैशाख ३० तोकिए संगै जनप्रतिनिधिको कार्यभार सकिन थालेको हो । यसबीचमा सडक निर्माणको काममा सफल भएको घोराहीका मेयर चौधरीको दावी छ । पाँच वर्षको अवधीमा एक सय ९३ वटा सडक अन्तर्रगत एक सय ४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । यस्तै एक सय ८७ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नतिको काम सम्पन्न भएका छन् । घोराहीमा एक सय ५२ किलोमिटर सडक निर्माण, ४० किलोमिटर सडक नियमित मर्मत, ६७ वटा स्थानीय पुल, कल्भर्ट निर्माण, दुई वटा झोलुंगे पुल निर्माण भएका छन् भने सबै वडालाई सडक सञ्जालले जोडेको घोराही उपमहानगरपालिकाको दावी छ ।

घोराही बन्यो देशकै पहिलो बालमैत्री उपमहानगर

घोराहीले प्रदेशमै नमूना काम गर्न सफल भएको छ–मुख्यमन्त्री केसी

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत ।

घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । मंगलबार एक भव्य समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रुपमा घोषणा गर्नुभएको हो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का सबै सूचक, मापदण्ड, प्रकृया पूरा गरेकाले मंगलबारबाट घोराहीलाई बालमैत्री पालिका घोषणा गरिएको प्रष्ट पार्नुभयो ।

बालमैत्री पालिका घोषणा गर्दै मुख्यमन्त्री केसीले भन्नुभयो, ‘दाङको घोराही उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका सबै प्रकृया, सूचक र मापदण्ड पूरा गरेकाले आज यस भव्य समारोहबीच घोराही उपमहानगरपालिकालाई संघीय शासन व्यवस्थापछिको देशकै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ ।’

सो अवसरमा मुख्यमन्त्री केसीले संघीय संरचनापछि निर्माण भएको स्थनीय सरकारमा प्रदेशमै गर्व गर्न लायक उपलब्धी हासिल गरेको बताउनुुभयो । संघीय संरचनापछि देशकै पहिलो बालमैत्री पालिका घोषणा गर्दै मुख्यमन्त्री केसीले प्रदेशले गौरव गर्न लायक संस्थागत रुपमा जनप्रतिनिबाट काम भएको भन्दै प्रसंशा व्यक्त गर्नुभयो ।

घोराही उपमहानगरपालिकाले प्रदेशमै सकारात्मक चर्चा पाउने गरी निकै उपलब्धीमूलक काम गरेको उहाँको भनाई थियो । पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुुभयो ।

‘जसले आफ्नो कार्यकालको पहिलो कार्यकालमै भूगोलका हिसावले देशकै ठूलो पालिकामा देशकै पहिलो बालमैत्री उपमहानगर घोषणा गर्न मेहनत गर्यो, यो काममा खटिनु हुने सबैमा मेरो तर्फबाट बधाई तथा धन्यवाद छ,’ उहाँले भन्नुभयो, ‘यो कामले ऐतिहासिकता कायम गरेको छ, यो कार्यका लागि नगरप्रमुख नरुलाल चौधरीलगायत शाखा, महाशाखा, वडा कार्यालय, टोल विकास संस्था, अभियन्तालगायत सबैलाई हार्दिक आभार अनि धन्यवाद छ ।’

यस्तै, उहाँले घोराही उपमहानगरपालिका स्थानीय सरकारले गरेका काममा प्रदेशमै राम्रो काम गर्नेमा चर्चा कमाएको भन्दै जल संरक्षण सफलताको आधार भएको बेला देशकै ठूला भूलोग भएको उमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरेर आफुलाई अब्बल सावित गरेको बताउनुुभयो ।

घोषणा कार्यक्रमले सूचकांकमा अब्बल हासिल गर्दै प्रदेश सरकारबाट स्वीकृति प्राप्त गरी बालमैत्री पालिका घोषणाले अरु पालिकालाई पनि यो अभियानमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

केही दिनअघि मात्रै रामग्राम नगरपालिका नवलपरासीले स्वीकृति पाएको छ भने घोराहीले पनि यो प्रकृयामा अघि बढेको छ, उहाँले भन्नुभयो, प्रदेशका तर्फबाट आम राष्टिय निर्वाचनको प्रकृयामा जानु अघि यी दुई पालिका नै बालमैत्री पालिका घोषणा भएको छ ।

उहाँले संघीयता कार्यान्वयनको संस्थापक जनप्रतिनिधिका रुपमा धेरै काम भएको बताउनुभयो । उहाँले धेरै राम्रा अभ्यास भएपनि जल तथा वातावरण संरक्षणमा जलाशय निर्माणले देश तथा प्रदेशमा निकै चर्चा कामएको बताउनुभयो । यो असल अभ्यासले सुक्खा बन्दै गएको जमीन सिंचित गर्दै कृषि उत्पादकत्व बढाउन तथा वातावरण संरक्षणमा उल्लेख्य योगदान पुगेको बताउनुभयो । ‘घोराहीले धेरै काम गरेको छ, म ती सबै कामको चर्चा गर्न चाहन्न । यो बेला दुईटा कुराको चर्चा गर्नुपर्छ । एउटा हो, जलाशय निर्माण र अर्को हो, बालमैत्री पालिका घोषणा,’ उहाँले भन्नुभयो, ‘यो ऐतिहासिक कामले संघीयताको असल अभ्यासलाई थप पुष्टि गरेको छ । यो महान काममा खटिनु हुने सबै जनप्रतिनिधि, वडाबासी, नागरिक, सरोकार निकायलाई लुम्बिनी प्रदेश सरकार उच्च मूल्यांकन गर्दछ ।’

उहाँले बालमैत्री पालिका घोषणाका लागि प्राप्त गरेको सूचकांकलाई जोगाई राख्न आगामी दिनमा गर्नु पर्ने काम र योजनाका बारेमा चनाखो बन्न आग्रह गर्नुभयो । बालमैत्री पालिका घोषणाले मात्रै सबै थोक नहुने भन्दै यसका आयाम र उपलब्धीका बारेमा दीर्घकालनी योजनाका साथ अघि बढ्न घोराही उपमहानगरलाई विशेष सुझाव दिनुभयो । यस्तै, उहाँले देशलाई नै विसं २०८७ सम्ममा बालमैत्री पालिका घोषणा गरिसक्ने सरकारको लक्ष्यलाई पूरा गर्न अरु पालिकाहरुले् पनि आफ्नो काम शुरु गर्न सचेत गराउनुभयो ।

चाह्यो भने छोटो समयमा पनि धेरै राम्रा काम हुन्छन् भन्ने कुराको उदाहरण घोराही बनेको भन्दै यसको सिको गर्न अरु पालिकालाई आग्रह गर्नुभयो ।

घोराहीलाई बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा व्यवस्था भए बमोजिम चरणवद्ध कार्यक्रम, अभिमुखीकरण, सचेतना, टोल वडामा सरोकारवालाहरुको गठन, अनुगमनलगायतको प्रकया पूरा गरी ५१ वटै सूचक पूरा गरेको प्रमाणीकरणका आधारमा बालमैत्री पालिका घोषणा गरिएको हो ।

सो अवसरमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पालिकालाई बालमैत्री घोषणा गर्न लामो समयसम्म प्रकृयागत रुपमा सबै वडाहरुमा काम गरेर अघि बढेपछि सफलता मिलेको बताउनुुभयो । देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताउनुुभयो । उहाँले यो अभियानलाई सफल बनाउन निकै मेहनत गर्नुपरेको भन्दै अभियानमा खटिने सबैलाई स्मरण गर्नुभयो । आफुहरु जनप्रतिनिधि भएर पालिकामा आईसकेपछि बालबालिकाहरुको क्षेत्रमा पनि केही नौलो काम गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्दै अभियानलाई सार्थक बनाउन सबैसँग हातेमालो गरेर अघि बढेकाले काम सफल भएको बताउनुभयो । ‘बालमैत्री पालिका घोषणा केवल घोषणामा मात्रै सिमित हुनेछैन, यो बालबालिकाको अधिकार स्थापित गराउने सवालमा गर्नुपर्ने नीतिगत कुरा तथा सहभागीतामा पनि अर्थपूर्ण काम हुनेछ,’ उहाँले भन्नुभयो, ‘अब घोराही उपमहानगरमा बालश्रम, बालविवाह, शिक्षाबाट वञ्चितीकरण, स्वास्थ्य, पोषणलागयतका कुरामा कैफियत हुने काम हुनेछैन, यसका लागि नीतिगत रुपमै काम अघि बढेको छ । सबै नगरबासी, अभिभावकहरुको पनि सचेतना बढेको छ । यो कामले भोलिको सक्षम, सभ्य र स्वस्थ नागरिक उत्पादनमा टेवा पुग्छ ।’

 

घोषणा समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले घोराहीलाई बालमैत्री पालिका घोषणा कार्यक्रमले विद्यालयहरुलाई निकै उत्साहित बनाएको बताउनुभयो । उहाँहरुले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा सहज हुनुका साथै दीगो विकास लक्ष्यलाई सार्थक बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समिति संयोजक भरत अर्याल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख मित्रप्रसाद गौतम, पद्मोदय पब्लिक नमूना मावि घोराहीका प्रधानाध्यापक रामप्रसाद जैसी, हापुर निघुवार माविका प्रधानाध्यापक अर्जुन न्यौपाने, बालविकास माविकी सहायक प्रधानाध्यापक राधा केसी, गोरखा माविका प्राचार्य मानसिंह घर्ती, साहित्यकार डा. लोकराज पराजुली, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, बाल क्लव उपाध्यक्ष भोजराज जिसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बालमैत्री पालिका घोषणा गर्नुअघि विभिन्न विद्यालयका विद्यार्थीहरु, टोल विकास संस्थाका प्रतिनिधि, सरोकार निकायका प्रतिनिधिहरुलगायत हजारौँको उपस्थितीमा बृहत् र्याली निकालिएको थियो । उपमहानगरको कार्यालयबाट शुरुभएको वृहत र्याली बजार परिक्रमा गरी बहुउद्देश्यीय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

बालमैत्री पालिका घोषणा समारोहमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा बालमैत्री पालिका घोषणा गर्न सहयोग गर्नुभएका तथा सक्रिय भूमिका खेल्नुुभएका संघसंस्था, संचारमाध्यमलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो ।

हातेमालो आवश्यक

दाङ जिल्ला लागु औषध उत्पादन हुने जिल्ला होइन । यहाँ लागु औषध उत्पादन नभएपनि कारोवार हुने जिल्लाका रुपमा भने रहेको छ । पछिल्ला केही दिनमा जिल्लामा लागु पदार्थ ओसार पसार गर्नेहरु पक्राउ परिरहेका छन् । प्रहरीले लागु औषधको कारोवार गर्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ । लागु पदार्थको उत्पादन नभएपनि ओसार पसार भइरहदा दुईवटा कुराको संकेत मिल्छ । एउटा कुरा त यहाँ लागु औषध प्रयोग गर्नेहरुको संख्या राम्रै रहेको छ भन्ने हो । अर्को भनेको लागु औषध ओसार पसारका लागि दाङ जिल्ला ट्रान्जिट प्वाइन्टका रुपमा रहेको छ । दाङ जिल्लामा लागु औषधको कारोवारमा बृद्धि हुनु जिल्लाकै लागि नराम्रो पक्ष हो । दाङ जिल्लाको बाटो भएर लागु औषधका रुपमा उत्पादन गरिने चरेस ओसार पसार गरिरहेको देखिन्छ । अर्को भनेको व्राउन सुगर ओसार पसार गर्नेहरु पक्राउ परिरहदा यहाँ प्रयोगकर्ताहरुको राम्रै सञ्जाल रहेको छ भन्ने देखिन्छ । प्रहरीले लागु औषध ओसार पसार गर्नेलाई पक्राउ गरिरहेको भएपनि यसको सञ्जाल तोड्न सकेको देखिदैन । जसले गर्दा मानिसहरु यसमा आकर्षित भइरहेका छन् । प्रहरीले पक्राउ गरेर कारवाही गर्दा पनि मानिसहरुले यसको कारोवार गरिरहनु भनेको यहाँ कारोवार गर्नेहरुको ठूलै सञ्जाल भन्ने पनि हो ।

नेपालमा लागु औषधको उत्पादन, सेवन र ओसार पसार अवैध मानिन्छ । नेपाल सरकारले यस्ता सवै कारोवारलाई अवैध भनेको छ । यद्दपि कतिपय अवस्थामा लागु औषधको कारोवारलाई मान्यता दिनुपर्छ भन्ने आवाज उठ्ने गरेको छ । लागु औषध उत्पादन गरेर विश्वका कतिपय देशले रामै आर्थिक आर्जन गरिरहेका छन् । विश्वका कतिपय देशमा यो बैध रहेको छ । नेपालमा भने यो अवैध रहेको छ । कतिपय औषधीजन्य बस्तुको उत्पादनका लागि हामीले लागु औषध भनेका बस्तुहरु प्रयोग गर्नैपर्ने हुन्छ । नेपालमा अवैध रहेकाले यसको उत्पादन र ओसार पसारलाई प्रहरीले निगरानीमा राख्ने गरेको छ । कारोवार गर्नेलाई पक्राउ गर्ने गरेको छ । कारोवार गर्नेलाई राम्रै सजायको व्यवस्था पनि रहेको छ । सजाय जे जस्तो भएपनि कारोवारमा कमी आउन नसक्नु भनेको दुःखद पक्ष हो । कारोबारमा कमि ल्याउनका लागि प्रहरी एक्लैको सक्रियताले सम्भव हुँदैन भन्ने कुरा विगतले पनि देखाएको छ ।

नेपालमा लागु औषधको सेवनले ठूला दुर्घटना नित्याएका छन् । यहाँको युवा शक्तिमध्य केही प्रतिशत यसको शिकार भएका छन् । खासगरी प्लस टु लेभलको पुस्ताले यसको सेवन बढी गर्ने गरेको पाइन्छ । यसको कारोवारलाई भने अवैध रुपमा धन आर्जनको स्रोतको रुपमा प्रयोग गरेको देखिन्छ । यो वैध होइन । अवैध कारोवारबाट मानिसले चाँडो धन त कमाउला त्यसले गर्ने असर भने दिर्घकालिन रुपमा पर्दछ । दक्ष जनशक्तिका रुपमा मानिने युवाहरु यसको लतमा लाग्नु भनेको राम्रो कुरा होइन । लागु औषध दुव्र्यसनको विरुद्धमा जन चेतना जगाउने काम भइरहेको छ । प्रहरी यसमा सक्रिय रहेको छ । कतिपय संघ संस्थाहरु लागिरहेका छन् । सरकारले यसलाई रोकथाम गर्नका लागि ठूलै जनशक्ति लगाउने गरेको छ । प्रहरीको एउटा काम त यहि कारोवारको पछि लागेर मानिसलाई पक्राउ गर्नु जस्तै भएको छ । यो गम्भिर विषयलाई सरकारले अझै गम्भिरताका साथ लिनुपर्छ । लागु पदार्थ सेवन गर्ने कुरा आफैमा समस्याको कुरा हुँदै हो । मुल कुरा यो कसरी आयात भइरहेको छ भन्ने हो । कतिपय लागुपदार्थको उत्पादन नेपालमा हुँदैन बाहिरबाट ल्याइन्छ । यसले युवा शक्तिलाई क्षिण बनाइरहेको छ । यसले पारेको प्रभावले कतिपय व्यक्तिको निधन भइरहेको छ । कतिपयले आर्थिक रुपमा आफूलाई तहस नहस बनाएका छन् । लागु पदार्थको ओसार पसार र सेवनलाई रोक्नका लागि प्रहरीको एक्लो प्रयासले मात्रै सम्भव हुँदैन । जवसम्म हरेक अभिभावकहरु यसका लागि तत्पर हुँदैनन् तवसम्म यो ठूलो समस्याका रुपमा रहिरहनेछ । लागु पदार्थ दुव्र्यसनको ओसार पसार र सेवनलाई अन्त्य गर्नका लागि सवैको हातेमालो हुनु अनिवार्य छ ।

थारु भाषाको पत्रकारिता बारे छलफल

प्रेस काउन्सिलद्वारा थारु भाषाको आचारसंहिता लोकार्पण

राप्ती पोष्ट

दाङ, चैत । प्रेस काउन्सिल नेपालले विभिन्न भाषामा आचार संहिता प्रकाशित गर्ने क्रममा थारु भाषाको पत्रकारिता आचारसंहिता लोकार्पण गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार दाङको घोराहीमा आयोजित थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठिमा थारु भाषाको पत्रकार आचारसंहिताको लोकार्पण गरिएको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आचार संहिता पुस्तीकाको लोकार्पण गर्नुभएको थियो । प्रेस काउन्सिलले यस अघि नेपाली, नेवारी र मैथली भाषामा आचार संहिताको पुस्तक प्रकाशित गरेकोमा पछिल्लो पटक थारु भाषामा पनि आचार संहिता पुस्तीका प्रकाशन गरेको हो । थारु भाषामा पत्रकारिता गर्ने र आम पाठकलाई यसले आचार संहिता पालनामा सघाउ पुराउने विश्वास गरिएको छ ।

कार्यक्रम थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका बारेमा र थारु भाषामा पत्रकारिता आचार संहिता पालनाको अवस्थाका बारेमा आधार पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै घोराहीका मेयर चौधरीले थारु भाषामा लेखपढको अभ्यास बढाउन आवश्यक रहेको भन्दै उपमहानरपालिकाले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि ब्यवहारमा लागु गर्न चुनौती देखिएको बताउनुभयो ।

उहाँले उपमहानगरपालिकाले थारु भाषामा पाठ्यक्रम तयार पारेको भन्दै उहाँले आगामी शैक्षिक सत्रदेखी ऐच्छिकरूपमा पठनपाठनमा ल्याउने तयारी भएको बताउनुभयो । चौधरीले थारु भाषा संकटमा पर्दै गएको भन्दै यसको जगेर्नाका लागि थारु भाषामा पत्रकारिता गर्नेहरुले मात्रै भूमिका खेलेर नहुने बताउनुभयो । थारु भाषामा पत्रकारिता गर्नका लागि भाषा आवश्यक पर्ने भन्दै सवैभन्दा पहिले भाषाको संरक्षणका लागि लाग्न आग्रह गर्नुभयो ।

नेपालमा रहेका सयौं भाषा भाषी मध्य कतिपय संकटको अवस्थामा रहेको भन्दै लोप हुने भाषालाई जोगाउनका लागि सवै लाग्नुपर्नेमा जोड दिनुभयो । पाठ्यक्रममा थारु भाषालाई ऐच्छिक विषयका रुपमा राख्नुपर्ने भन्दै अरुले पनि थारु भाषा सिक्न चाहेको खण्डमा त्यो अवसर सवैले पाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले भाषालाई जोगाउने काम व्याकरणले गर्ने भन्दै व्याकरण बनाउने तर्फ लाग्न सुझाव दिनुभयो । उहाँले नागरिकलाई सशक्त बनाउने पहिलो दायित्व पत्रकारिताको रहेको भन्दै यसका लागि सिंगो पत्रकारिता जगत लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल पत्रकार महासंघ सवै भाषाका संचारमाध्यमहरु सशक्त बनुन भन्ने अभियानमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले थारु भाषा लोप हुदै जान थालेको बताउनुभयो । बाह्य संस्कृतिको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको भन्दै उहाँले भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको ठुलो भूमिका हुने बताउनुभयो । उहाँले नेपालमा संचारले राम्रो भूमिका खेल्न सक्दा समाज पनि राम्रो रुपमा अघि बढ्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आचार संहिताको पालना गर्ने काम पत्रकारको रहेको भन्दै आचार संहितालाई कानुन भन्दा माथि राखेर पालना गर्नुपर्ने बाउनुभयो । उहाँले विभिन्न भाषा भाषिका संचारमाध्यमहरु संकटमा रहेको भन्दै संकटमा रहेका संचारमाध्यमलाई कसरी जगेर्ना भन्ने बारेमा प्रेस काउन्सिलले ध्यान दिने बताउनुभयो । उहाँले कसैले पनि प्रश्न उठाउन नसक्ने गरी पत्रकारिता गर्न पनि सवै पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष बस्नेतले काउन्सिलले कतिपय सन्दर्भमा सामाजिक सञ्जालमा पनि निगरानी बढाउँदै लगेको जानकारी दिनुभयो । उहाँले पत्रकारिताबाट समाजले धेरै आशा गरेको भन्दै समाजलाई कुन बाटोमा लैजाने भन्ने बारेमा पत्रकारहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा थारु भाषाको पत्रकारिताको अवस्था र चुनौतीका विषयमा आधार पत्र प्रस्तुत गर्दै डा. कृष्णराज सर्वाहारीले थारु भाषाको सञ्चार माध्यमहरू खुम्चिदै गएको बताउनुभयो । दुई सय बढी थारु पत्रकारहरू रहेपनि सञ्चार माध्यम सामूहिकतामा जान नसक्दा चुनौती थपिएको उहाँको भनाइ थियो ।

यसैगरी पत्रकार लक्की चौधरीले थारु भाषाको पत्रकारिता विषयक आधार पत्र प्रस्तुत गर्नुभयो । उहाँले थारु भाषामा पत्रकारिता गर्नेहरुले आचार संहिता पालनामा ध्यान दिएको पाइएको बताउनुभयो । प्रस्तुत गरिएका आधार पत्र मध्य सर्वहारीले प्रस्तुत गर्नुभएको कार्यपत्रको टिप्पणि कुलविर चौधरीले गर्नुभएको थियो भने चौधरीले प्रस्तुत गर्नुभएको आधार पत्रको टिप्पणि पत्रकार ठाकुरसिंह थारुले गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदाशी, पत्रकार केपी घिमिरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दाङ लगायत विभिन्न जिल्लाका थारु पत्रकारहरुको सहभागिता रहेको थियो । काउन्सिलका सदस्य शरद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन काउन्सिलका प्रवक्ता दीपक खनालले गर्नुभएको थियो ।

घोराहीमा फोहरबाट ग्यास उत्पादन

पाईपलाइन मार्फत वितरणको तयारी

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत । दाङ घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ करौतिडाँडामा २४ करोड बढीको लागतमा निर्माण गरिएको वायो ग्यास प्लान्टबाट ग्यास उत्पादन सुरु भएको छ । तीन बर्ष अघिदेखि निर्माण थालिएको योजना सम्पन्न भएपश्चात शनिबार घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपानेले वायो ग्यास योजनाको उद्घाटन गर्नुभएको थियो ।

ग्यास प्लान्टबाट आएको ग्यासबाट चुलो बालेर उद्घाटन गरिएको थियो । घोराही उपमहानगरपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंँको सहयोग र नेपाल उर्जा विकास कम्पनी प्राली काठमाडौंको प्रवद्र्धनमा २०७५ बाट निर्माण थालनी गरिएको थियो । देशको परिस्थतिका कारणले गर्दा केही ढीलो गरी ग्यास उत्पादन गरिएको कम्पनीका संचालकहरुले जानकारी दिएका थिए । ग्यास प्लान्ट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख नरुलाल चौधरीले फोहोरलाई मोहरमा बदल्ने आफूहरुको सपना साकार भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि हुनुभन्दा पहिलेदेखि नै फोहोरबाट ग्याँस निकाल्ने सोच बनाएको भन्दै नगरप्रमुख भएर आएपछि प्रमुख प्राथामिकताका साथ काम गरेकाले अहिले सफल भएको धारणा राख्नुभयो । ‘बढ्दो शहरीकरणलाई दीगो व्यवस्थापन गर्न तथा पर्यावरण जोगाई राख्न यो आवश्यक थियो, अब घोराही उपमहानगरबासीले फोहोर व्यवस्थापन कसरी गर्ने भनेर टाउको दुखाउने दिन अन्त्य भएको छ,’ उहाँले भन्नुुभयो, ‘पालिकाले नगरबासीबाट फोहोर लिन्छ अनि सुलभ दरमा सजिलै वायोग्यास दिन्छ ।’

उहाँले गल्ने फोहोरलाई मोहोर बनाउने र नगल्ने फाहोरलाई नगरले नै खरिद गर्ने हुँदा यि दुईलाई छुट्टाछुट्टै राखिदिन पनि नगरवासीलाई आग्रह गर्नुभयो । ‘फोहोर श्रोटबाटै अलग गरेर प्लान्टसम्म ल्याउन हामीले घरबाटै अलग गर्न जरुरी छ, सबै खालका फोहोरलाई हामी व्यवस्थापनमा जुटेका छौँ,’ उहाँले भन्नुुभयो, ‘यसले बढ्दो शहरीकरणले वातावरण जोगाउन चुनौती भएको बेला मानवीय सभ्यता जोगाउन सहज हुनेछ ।’ उहाँले उपमहानगरलाई शुन्य ल्याण्डफिल साईटमा लैजान यो परियोजना निकै प्रभावकारी हुने दावी गर्नुभयो । उहाँले घोराही उपमहानगरमा वितेको पाँच वर्षमा सरसफाइ अनुशासन कायम गर्न सफल भएको बताउँदै यसले निरन्तरता पाएको बताउनुुभयो । ‘पालिकाको यो नयाँ मोडेल हो’ उहाँले भन्नुभयो, ‘फोहोर चुनौती होईन, अवसर हो भन्ने कुरा नगरबासीले बुझेका छन् , पीपीपी मोडलमा गरिएको यो काम घोराही उपमहानगरका लागि गौरवको काम पनि हो ।’

यस्तै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सितासिग्देल न्यौपानले फोहोरबाट ग्याँस उत्पादन भएको र यसलाई दीर्घकालिन रुपमा सञ्चालन गर्न सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले फोहोरबाट ग्यास उत्पादन मात्र नभएर घोराहीको फोहोरलाई उचित व्यवस्थान गर्न सहयोग पुगेको धारणा राख्नुभयो ।

कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका म्यनेजर रणबहादुर थापाले नेपालमै यस किसिमको वैकल्पिक उर्जा उत्दान गर्न सके पेट्रोलियम पदार्थ खरिने गर्ने नेपालको ठूलो धनरासी बचत हुने बताउनुभयो । उहाँले आर्थिक अभावमा यस्ता प्लान्टहरु नेपालमा बन्न नसकेको भन्दै जैविक विविधताले भरिएको नेपालमा अन्य थुप्रै प्लान्टहरु निर्माण गर्न सकिने जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले फोहोरबाट ग्याँस उत्पादन घोराहीको एक सफल काम भएको भन्दै यसलाई थप व्यवस्थित गर्न लाग्नु पर्ने बताउनुभयो । उहाँले नेपालमै दोस्रो पटक घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास निकालेको पनि जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले फोहोरबाट ग्यास निकाल्ने कार्य नागरिकले सोचेको भन्दा परको कुरा भएपनि सम्भव हुन निकै राम्रो भएको बताउनुभयो । जैविक फोहोरबाट ग्याँस निकाल्नु पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको धारणा उहाँहरुको थियो ।

वातावरण संरक्षण सँगै पेट्रोलियम पदार्थमा राज्यको रकम खर्च रोक्न सके बचेको पैसाले अरु विकासमा लगानी गर्न सकिने हुँदा यसलाई दीगो विकास लक्ष्यको आधारका रुपमा पनि लिनुपर्ने बताउनुभयो । फोहोरबाट ग्याँस निकाले पनि हाल नागरिकको घरमा भने पुग्न सकेको छैन । घोराही १६ को गरुवागाउँ, सर्रालगायत घोराही १० को नारायणपुर क्षेत्रका नागरिकलाई पाइपबाट ग्यास घरघरमा पु¥याउने लक्ष्य भएपनि कोरोनाका कारण केही समय ढिला भएको निर्माण कम्पनी नेपाल उर्जा विकास कम्पनीले जनाएको छ ।

जसका लागि आउने बैशाखसम्म गरुवागाउँका घरघरमा भने पाइपबाट ग्याँस पु¥याइने प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो । उहाँले दुई तीन दिनमा पाइप विच्छ्याउने काम सुरु हुने भन्दै छिट्टै नागरिकको घरघरमा ग्याँस पुग्ने दाबी गर्नुभयो । वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारका पूर्व सचिव एवं प्रालिका सल्लहारका कृष्णप्रसाद पोख्रेलले यसको दीगोपनासँगै लाभग्राहीमा सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

यसरी भएको छ त्रिपक्षीय सम्झौता

२०७५ साल मंसिर ५ गते घोराही उपमहानगरपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्रालिसँग त्रिपक्षिय सम्झौता गरेर फोहरबाट ग्याँस र मल उत्पादन गर्ने सहमती ग¥यो । सम्झौताको ३ बर्षपछि अहिले ग्यास उत्पादन सुरु भएको छ ।

वडा नम्बर १६ करौटीडाँडामा शुरुवाती चरणमा १९ करोडमा निर्माण सम्पन्न गरी वायो ग्यास उत्पादन गर्ने लक्ष्य लिईएपनि कोरोनाका कारण भएको ढिलाई तथा मोडल परिवर्तन गर्दा अहिलेसम्म २४ करोड रुपैयाँ बढीको लागतमा ग्यास उत्पादन गर्न सम्भव भएको छ । वायो ग्यास उद्योगभित्रै कर्मचारीहरुले अहिले सोही ग्यासबाट खाना पकाउने गरेका छन् । पहिलो चरणमा ४ सय घरधुरीमा पाईप लाईन मार्फत पु¥याउने योजना अनुसार काम अघि बढाएको छ । यसलाई बिस्तार गर्दै उपभोक्ताको घरघरमा पाईपलाईनबाट चुलोमा पु¥याईने छ ।

ग्यास प्लान्ट आसपासका स्थानीय, नारायणपुर, सर्रामा पु¥याउने गरी पूर्वाधारहरु जडानको काम भैरहेको छ । पाइपमार्फत ग्यास प्रयोग गरेवापत उपभोक्ताहरुले मिटर अनुसार रकम तिर्नुपर्ने छ । आगामी बैशाख १ गतेदेखि उपभोक्ताको घरघरमा ग्यास पु¥याउने योजना रहेको उपमहानगरको भनाई छ । अहिले दैनिक २५० घनमिटर ग्यास उत्पादन भैरहेको र बेलुनमा भरेर राखिएको छ । अन्य ग्यासको मूल्यको तुलनामा २ सयदेखि साढे २ सय रुपैयाँ थोरै मूल्यमा उपभोक्तालाई बिक्रि गर्ने समेत पालिकाको भनाई छ ।

फोहरबाट ग्यास उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको छ । संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गर्ने तयारी भएको छ ।

अहिले तत्कालका लागि गल्ने फोहरहरु निकै थोरै रहेको र त्यसको पूर्तिका लागि बस्तुभाउका गोबर समेत प्रयोगमा ल्याईएको छ । घोराहीसँगै तुलसीपुर र लमही नगरबाट समेत फोहरहरु ल्याउनु पर्ने अवस्था देखिदै गएपनि फोहोरका श्रोत पहिचान गरी आवश्यक गल्ने फोहोरको जोहो गर्न थालिएको हो । सो कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने समेत सम्झौतामा उल्लेख गरिएको छ ।

 

गुलरिया पार्कमा महायज्ञ लगाउने तयारी

घोराही, १९ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिर परिसरमा शनिबार सरसफाई गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही बैशाख १ गतेदेखि ८ गते सम्म संचालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप शनिबार विहान मन्दिर परिसर सरसफाई गरिएको हो । आयोजक समितिका पदाधीकारी, ५० वढी टोलविकास समितिका सदस्यहरु, नेपाल आर्मी, स्थानियबासी लगाएतको सहभागितामा मन्दिर परिसर सरसफाई गरिएको हो ।

संस्कार गृह निमार्णसंगै यस क्षेत्रको संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आयोजम मुल समितिका अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभयो । श्रीमद् भागवत धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ संचालनको निम्ती सचिवालय संयोजक हरिप्रसाद पाण्डेको संयोजकत्वमा २८ वटा विभिन्न उप समिति गठन गरिएको छ ।

साथै आज आईतबार विहान ७ बजे सोही स्थानमा पत्रकार सम्मेलनको आयोजना गरिएको मुल आयोजक समितिका सचिव एवं प्रचारप्रचार संयोजक कमल ओलीले जानकारी दिनुभएको छ ।

घोराही खानेपानीको साधारण सभा

पानीको सवालमा बजारको आवश्यकतालाई ध्यान दिइने

राप्ती पोष्ट

घोराही, चैत । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बजारको बढ्दो घनत्वलाई ध्यान दिएर खानेपानीका आयोजनालाई अघि बढाउने भएको छ । घोराही उपमहानगरपालिकाका वडा नं. १४, १५, १७ र १८ नम्वर वडामा कार्यक्षेत्र रहेको घोराही खानेपानीले बढ्दो घनत्वलाई मध्यनजर गरेर नयाँ आयोजना संचालन गर्ने रणनीति बनाएको छ ।

संस्थाको शनिबार भएको आठौं अधिवेशनमा कार्यसमितिले घोराहीका वडा नं. १४ र १५ मा पानी विस्तार गर्ने योजना ल्याएको हो । संस्थाका सचिव सुमन शर्माले आगामी दिनमा गर्ने १४ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सेवार खोलामा निर्माण सम्पन्न भएको सम्पवयलमा विद्युत विस्तार गरेर निकट भविश्यमा पानी संचालन गरेर घोराहीको वडा नं. १४ र १५ मा पानी विस्तार गरिनेछ । यस्तै प्रदेश सरकारको सहयोगमा कटुवाखोलामा एउटा सम्पवयल निर्माण गरी मसिना, रझेना, फुर्सेखाली, ढोडेनी र बालुवाटार क्षेत्रमा पर्याप्त पानी वितरण गरिनेछ ।

घोराहीमा पानीको स्रोत कम भएकाले बवई नदिबाट लिफ्टिङ गरेर पानी ल्याउने योजनालाई निरन्तरताका साथ अघि बढाउने योजना खानेपानीले अघि सारेको छ । यसैगरी घोराही बजारमा विस्तार गरिएको खानेपानीको संरचना जिर्ण भएकाले त्यसलाई पुनःनिर्माणको कामलाई अघि बढाउनुपर्ने पनि सचिव शर्माले बताउनुभयो । बजारमा पाइप लाइन विस्तार गर्न छुटेका टोलमा आउँदो बर्ष कम्तीमा पनि पाँच हजार मिटर पाइप लाइन विस्तार गर्ने योजना रहेको पनि सचिव शर्माले जानकारी दिनुभयो ।

झिंगौरा टोलमा आश्रम नजिक ओभरहेड ट्याङ्की निर्माण गरेर वडा नं. १४ र १५ का विभिन्न टोलमा पानी विस्तार गर्ने योजना रहेको छ । कतिपयले अहिले पनि धारामा मोटर लगाएर पानी तान्ने गरेकाले आगामी दिनमा त्यस्ता कार्यलाई निरुत्साहित गर्ने योजना कार्यालयले बनाएको छ ।

संस्थाका अध्यक्ष देविवहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले खानेपानी जस्तो संवेदनशिल विषयमा सवै मिलेर समाधानमा लाग्नुपर्ने बताएका थिए । घोराहीमा पानीको स्रोत कम हुँदै गएको कुरालाई ध्यानमा राख्न पनि बक्ताहरुले सुझाव दिएका थिए ।

दाङका सवै खानेपानी उपभोक्ता संस्थामध्य सवैभन्दा धेरै उपभोक्ता रहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्व चयन पनि गरिने छ । नयाँ नेतृत्व चयन गर्दा सौहार्दपूर्ण बातावरणमा सर्वसम्मत रुपमा चयन गर्न पनि बक्ताहरुले सुुझाव दिएका थिए ।

कार्यक्रममा कोषाध्यक्ष धु्रव केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नयाँ खानेपानी आयोजनाका लागि रकम आवश्यक पर्ने र पहिलेका आयोजनाका लागि लिएको रकमको साँवा व्याज तिर्नका लागि निकै समस्या परेको जानकारी दिनुभयो । उहाँले घोराही खानेपानीमा बक्यौता नउठ्ने समस्या रहेको भन्दै यसकालागि सवै उपभोक्तालाई समयमा रकम तिर्नका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष डिसीले बिगतदेखि घोराही खानेपानीको क्षेत्रमा भएका प्रगतिका बारेमा जानकारी दिनुभयो । उहाँले २४ सै घण्टा पानी खुवाउने आफ्नो योजना रहेको भएपनि कतिपय प्राविधिक कारणले गर्दा यस्तो हुन नसकेको बताउनुभयो । उहाँले घोराहीमा पानीको स्रोत घट्दै गएको भन्दै यसतर्फ सम्वन्धित सवैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिनुभयो । घोराहीमा खानेपानी आयोजनाको क्षेत्र व्यापक भएको, घरहरु थपिएको भन्दै पानीको अभाव बढ्दै गएकाले तत्कालै पानीको समस्या समाधानका लागि सवैको चासो जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतले बोल्नुभएको थियो । नयाँ नेतृत्व चयनको प्रक्रिया भने केही दिन पछि मात्रै हुनेछ ।

दाङ क्रिकेट लिग: फाइनलमा घोराही टाईगर्स र देउखुरी वारियर्स भिड्ने

छबि पुरी

घोराही, चैत । दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स र देउखुरी वारियर्स फाईनल भिड्ने भएका छन् । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही–१७ गुलरिया रंगशालामा बुधबार भएको दशौैँ खेलमा देउखुरी वारियर्सले दंगाली लायन्समाथि रोमान्चक ५ रनको जीत निकाल्दै फाईनलमा पुुगेको हो । यसअघि घोराही टाईगर्सले ४ खेलमध्ये ३ मा जीत र १ मा हारसहित स्पष्ट ६ अंकका साथ फाईनलमा प्रवेश गरेको थियो ।

बुधबार भएको खेलमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको दंगाली लायन्स सम्हालिएर खेल्न नसक्दा सस्तैमा समेटिँदै देउखुरी वारियर्ससँग पराजित हुन पुुग्यो । दंगाली लायन्सले १६ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । बुधबारको खेलमा दंगाली लायन्सले जीत निकाल्दै फाईनल खेल्ने उच्च सम्भावना रहेपनि सम्हालिएर खेल्न नसक्दा नतिजा देउखुरी वारियर्सलार्ई सुुम्पेको हो ।

जारी लिगमा सबैभन्दा कम रनको लक्ष्य पाएपनि शुरुवातबाटै दवावमा परेको दंगाली लायन्स खुलेर खेल्न सकेन । दंगाली लायन्सका लागि तृतराजले २० तथा राजबीर सिंहले १८ रन बनाउनुबाहेक अरु खेलाडी क्रिजमा सम्हालिन नसक्दा लगातार पेभेलियन फर्किए । मनोज पुन ११, नविन आचार्य ९, बीरबहादुर घर्ती ८ रन बनाएर आउट हुँदा शंकर बुढा ७ तथा सुमन दसौदी ५ रनमै पेभेलियन फर्किनुपर्यो । कम स्कोर बनाएर पनि जीत निकाल्न सफल भएको देउखुरी वारियर्सका तर्फबाट विशाल विक्रम केसी र आशिष वलीले समान ३–३ विकेट लिँदा प्रतिष जिसी र करण घर्तीले १–१ विकेट लिनुुभयो ।

आशिष ओलीले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदै केवल ७ रन खर्चिनुुभयो । किफायती बलिङ गरेका देउखुरीका विशाल विक्रम केसीले पनि ४ ओभरमा केवल ३ विकेट लिँदै १३ रनमात्रै दिनुुभयो । यसअघि टस हारेर पहिले व्याटिङमा आएको देउखुरी वारियर्सले शुरुवात राम्रो गरेपनि लगातार विकेट गुमाएपछि १७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ९२ रनमै समेटिएको थियो ।

ओपनर प्रज्वल थापा र प्रतिष जिसीले राम्रो शुरुवात गरेका थिए । प्रज्वल थापा ३४, प्रतिष जिसी १३, विशाल विक्रम केसी १२ रन बनाएर आउट भएपछि पुरै धर्मराएको देउखुरी वारियर्सको टीम लयमा फर्किन सकेन । जसका कारण लगातार विकेट गुमाउँदै १७ दशमलब २ बलमा ९२ रनमै अलआउट भयो ।

देउखुरीलाई कम स्कोरमा समेट्न दंगाली लायन्सका तर्फबाट अनिल खरेल र विक्रम भुसालले समान ४–४ विकेट लिँदा राजबीर सिंहले १ विकेट लिनुुभएको थियो । दंगाली लायन्सका ३ जना खेलाडीले मेडन ओभर समेत गर्न सफल भए । अब उदघाटन खेलमा आमनेसामने भएका घोराही र देउखुरी फाईनलमा पुुगेपछि खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यसअघि बिहान भएको नवौँ खेलमा पुरन्धारा च्यालेन्जर्सका मार्की खेलाडी अमरसिंह रौतेलाको अलराउण्डर प्रदर्शनका बाबजुद पनि तुलसीपुर रोयल्ससँग २४ रनले हार व्यहोरेको छ । तुलसीपुर रोयल्सले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा पुरन्धारा च्यालेन्जर्सले ५ विकेटको क्षतिमा १ सय २३ रनमात्रै बनाउन सक्यो । मध्यक्रमका आउनुभएका अमरसिंह रौतेलाले ६२ रन बनाए पनि जीत सम्भव भएन । यस्तै, कप्तान मोहन खत्रीले ११, विक्रान्त डाँगीले १६, अजय सहानी र तुलबहादुर थापाले समान ११–११ रन बनाउनुभयो ।

पुरन्धारालाई लक्ष्यमा पुग्न नदिन तुलसीपुर रोयल्सका बसिर अहमद र दीपेन्द्र रावतले २–२ विकेट लिनुभयो । यस्तै, दीपक बोहराले ४ ओभरमा एक मेडन राख्दै जम्मा ९ रन दिएर १ विकेट लिएपछि पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर रोयल्सलाई नतिजा सुम्पिन बाध्य भएको हो ।

यसअघि टस जितेर फिल्डिङ रोजेको पुरन्धारा च्यालेन्जर्सले तुलसीपुर रोयल्सलाई व्याटिङको निम्तो दिएको थियो । तुलसीपुर रोयल्सका तर्फबाट समीरप्रसाद शर्माले ५४ रन बनाएपछि टीम सहज अवस्थामा पुगेको हो । यस्तै, दीपेन्द्र रावतले ४२, विपिन रावलले २३ तथान कमल वलीले १३ रनको योगदान दिनुभयो । पुरन्धारा च्यालेन्जर्सका तर्फबाट अमरसिंह रौतेला, अजय सहानी र मोहन खत्रीले समान २–२ विकेट लिनुभयो भने राजेन्द्र वलीले १ विकेट लिनुभयो । लिग चरणको खेलमा तुलसीपुर रोयल्सले फाईनल पुुग्ने सम्भावना बनाए पनि देउखुरी वारियर्सले जितेसँगै बाहिरिएको छ ।

हारको बदला लिने अवसर

उदघाटन खेलमा हार व्यहोरेको देउखुरीले फाईनलमा घोराहीसँग बदला लिँदै उपाधि उचाल्ने दाउमा रहेको छ भने अंक तालिकाको शीर्ष स्थानमा रहेको घोराही उच्च मनोबलका साथ मैदानमा उत्रिँदै उपाधि उचाल्ने योजनामा रहेको छ । दुवै टीममा अनुुभवी र युवा स्टार खेलाडी रहेकाले आज बिहीबारको फाईनल खेललाई निकै चासोका साथ हेरिएको छ ।

आज दिउँसो १ बजे घोराही टाईगर्स र संघर्षपूर्ण जित निकालेको देउखुरी वारियर्सले उपाधिका लागि भिड्ने भएका लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिनुुभयो । जारी लिगमा ५ वटा फ्रेन्चाइज क्लब स्थापना गरेर अक्सनमार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको हो ।

प्रतियोगितामा पाँच वटा फ्रेन्चाइज टिमहरु घोराही टाईगर्स, देउखुरी वारियर्स, दंगाली लायन्स, पुरन्धारा च्यालेन्जर्स र तुलसीपुर रोयल्सले भाग लिएका छन् । प्रथम हुने टीमले २ लाख र दोस्रो हुनेले एक लाख नगद पुरस्कारसहित ट्रफी उचाल्ने छ ।

 

 

नेकपा एमालेद्वारा लुम्विनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा माग

राप्ती पोष्ट

बुटवल, चैत । लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टामा मिलेमतो देखिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा मागेको छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पु¥याउन खोजिएको भन्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो ।

नेकपा एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएको र सोहीअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएपछि उक्त मिलेमतो पुष्टि भएको बताउनुभयो ।

अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सानी पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले मुख्यमन्त्री केसीले राजीनामा दिनुपर्ने चौधरीले बताउनुभयो । ‘भवनको टेण्डर खोल्दा नै त्यहाँ राखिएका प्रावधानले सेटिङ भइरहेको छ भन्ने देखिएको थियो, कार्यकारी प्रमुखले नै सरकारको दबाबमा राज्यलाई नोक्सान पुग्ने गरी टेण्डर खोलिएको भन्दै राजीनामा दिएपछि उहाँहरूको दुराशय स्पष्ट भएको छ’, चौधरीले भन्नुभयो, ‘यति कुरा सार्वजनिक भइरहँदा मुख्यमन्त्री पदमा बस्न उहाँलाई सुहाउँदैन, यसबारे छानबिन हुनुपर्छ ।’

पत्रकारितामा चुनौती तर सम्भावना व्यापक

नेपाल पत्रकार महासंघ ६७ औं बर्षमा

राप्ती पोष्ट

घोराही, चैत । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवशको अवसरमा पत्रकारितामा रहेको चुनौती र सम्भावनाका बारेमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारितामा जहिले पनि चुनौती रहने उल्लेख गरेका थिए । पत्रकारितामा चुनौती भएपनि सम्भावना हुने भएकाले पत्रकारहरुले जहिले पनि आफूलाई सक्रिय बनाइरहनुपर्ने धारणा बक्ताहरुको थियो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेलले सञ्चारमाध्यम संचालनका लागि व्यवस्थित योजना आवश्यक पर्ने भएपनि योजना विना संचारमाध्यम संचालन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय व्यक्ति पिच्छे अनलाइन र पत्रपत्रिका संचालन गरिएको भन्दै यसलाई व्यवस्थित तथा योजनाबद्ध तरिकाले चलाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वोल्दै पोखरेलले संघियता गएपछि पालिकाले स्थानीय स्तरका संचारमाध्यमलाई प्राथमिकता नदिएको गुनासो गर्नुभयो । उहाँले संचारमाध्यमलाई व्यवस्थित गर्नका लागि पालिकाको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।अहिले खुलेका कतिपय अनलाइन्, युटुव लगाएतका कारण पत्रकारलाई हेर्ने दृष्टीकोण वदलिएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केवि मसालले कम तलव तथा सेवा सुविधाका कारणलेनै पत्रकारिता प्रतिको आर्कषण घटेको बताउनुभयो । ‘सञ्चारमाध्यमले मेहनत अनुसारको पारिश्रमिक दिन सकिरहेका छैनन ।’ उहाँले भन्नुभयो । कतिपयले पत्रकारलाई ठगिरहेको उहाँको गुनासो थियो ।

कार्यक्रममा दाङ शाखाका पूर्व अध्यक्ष सुशिल गौतम र सविन प्रियासनले पत्रकारिता क्षेत्रमा सम्भावनाको खोजी गर्न आवश्यक भएको बताउनुभयो । गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतम, पत्रकार पाण्डव शर्मा, गणेश आचार्य, जनक नेपाली, गिरिराज नेपालीले उचित पारिश्रमिकको व्यवस्थापन नहुँदा पत्रकारिता क्षेत्रमा नयाँ अनुहार आउन नसकेको धारणा राख्नुभयो ।

महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । उपाध्यक्ष सन्तोष सुवेदीले विषय प्रवेश गराउनुभएको कार्यक्रमको संचालन सचिव आरके शितलले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघको लोगो वितरण गरिएको थियो ।