spot_img
Home Blog Page 59

कस्ता उमेदवार चुन्ने ?

 

कस्ता उमेदवार चुन्ने ?

निर्वाचन आयोगले भने बमोजिम यहि बैशाख ११ र १२ गतेका दिन उमेदवारले मनोनयन दर्ता गराएका छन् । राजनीतिक दल र स्वतन्त्र गरेर देशभर डेढलाख भन्दा धेरै निर्वाचनको प्रतिष्पर्धामा रहेका छन् । देशभर रहेका सात सय ५३ वटा पालिका छ हजार भन्दा धेरै वडाहरुमा एकसाथ निर्वाचन हुँदैछ । मुलुकले नयाँ जनप्रनिनिधिहरु पाउँदैछ । देशभर एकैसाथ निर्वाचन गर्न थालेको यो नयाँ खालको अनुभव निर्वाचन आयोगले हासिल गर्दैछ । निर्वाचन आयोगले पहिले यस्तै निर्वाचन तीन चरणमा गरेको थियो । तीन चरणमा निर्वाचन गर्दा त्यसको प्रभाव बेग्लै परेको थियो । पहिलो चरणको निर्वाचनको प्रभाव कुनै न कुनै रुपमा दोस्रो चरणका लागि परेको थियो । दोस्रो चरणको प्रभाव तेस्रोमा प¥यो । नेपाल जस्तो सानो देशमा निर्वाचन चरण चरणमा गर्नुभन्दा एकै चरणमा गर्नु राम्रो कुरा हो । निर्वाचन एकै चरणमा गर्दा समयको बचत हुन्छ । खर्चको बचत हुन्छ । निर्वाचन पटक पटक गर्दा एउटै काम पटक पटक गर्नुपर्छ । एउटै तयारीमा सवै काम हुने गरी काम गर्नु राम्रो मानिन्छ । निर्वाचनको दिनगन्ती यति नजिक आइसकेको छ कि अव एक दुई दिनमा स्वतन्त्र उमेदवारले समेत चिन्ह पाएर प्रचारमा जानेछन् । निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिएपनि राजनीतिक दलहरु भने प्रचारमा जुटेका छन् ।

निर्वाचनमा उमेदवारी दिएकाहरु जनताको आँगनमा पुग्न थालेका छन् । जनताको आँगनमा गएकाहरुले अनेकन आश्वासन दिन थालेका छन् । यो गर्नेछौं । त्यो गर्नेछौं । यस्तो गर्ने छैनौं वा यस्तै यस्तै बाचा पनि गरिरहेका छन् । निर्वाचनको समयमा उमेदवारले बाचा गर्ने कुरा ठूलो कुरा होइन । निर्वाचनमा जो पनि आउन सक्छ । नेपालमा विगतमा मानिस नै नदेखिएर पनि निर्वाचनमा गएका थिए । जेलमा भएकाहरु पनि निर्वाचनमा होमिएका थिए । प्रहरीको रेडलिष्टमा रहेकाहरु पनि निर्वाचनमा होमिएका थिए । अघिल्लो पटक संसदीय निर्वाचनमा जितेका एकजना उमेदवार अहिले पनि बन्दी अवस्थामा रहेका छन् । यस हिसावले के देखिन्छ भने निर्वाचनमा जो पनि उमेदवार बन्दो रहेछ । निर्वाचनमा जसले पनि उठ्न पाउँदो रहेछ । निर्वाचनमा जस्तोले पनि जित्दो रहेछ भन्ने पनि संगै देखिएको छ । निर्वाचन भनेर मात्रै हुँदैन । निर्वाचन भनेको जो मन लाग्यो उसलाई जिताउने कुरा होइन । निर्वाचन भनेको जसले मन लाग्यो उसले उठ्ने होइन । हामीकहाँ जो पनि उमेदवार, जस्तो पनि उमेदवार । समाजबाट बहिस्कारमा परेको उमेदवार, अन्याय अत्याचार गरिरहने उमेदवार, महिला हिंसा गर्ने उमेदवार, दुराचारी उमेदवार । घर परिवारमा हेलामा परेको उमेदवार । यस्तो भनेर खराव मात्रै उमेदवार हुन्छन भन्ने कुरा होइन । राम्रा उमेदवार हुन्छन् । जनताले रुचाएका उमेदवार हुन्छन । कतिपय स्वतन्त्र उमेदवार हुन्छन । नेपालमा स्वतन्त्रले उठेर जित्ने सम्भावना कम हुन्छ । उमेदवार हुनका लागि राजनीतिक दलमा लागेकै हुनुपर्छ । राजनीतिक दलमा नलागेको व्यक्ति उमेदवार हुँदा जित्ने सम्भावना न्यून हुन्छ । नेपालमा राजनीतिक दलमा लाग्नेहरुनै निर्वाचन जित्छन ।

निर्वाचन आउन दुई साता जति बाँकी छ । यो अवधिमा अव उमेदवारलाई मतदाताले खोज्ने होइन कि मतदातालाई खोज्दै उमेदवार आइरहेका छन् । पाँच बर्षसम्म जनताले प्रतिनिधिलाई खोज्नुपर्छ । निर्वाचनको समयमा भने उमेदवारले जनता खोज्दै आउँछन् । निर्वाचनको समयमा जनताले उमेदवारलाई त्यसै विश्वास गरिहाल्नु हुँदैन । निर्वाचनमा मत माग्न आएका उमेदवारलाई प्रश्न गर्नुपर्छ । निर्वाचनमा तपाईका एजेण्डाहरु के कस्ता छन ? यो ठाउँको विकासका लागि के गर्नु हुन्छ । स्वास्थ्यका लागि के गर्नु हुन्छ । शिक्षाका लागि के कस्ता एजेण्डाहरु रहेका छन् । पाँच बर्षको अवधिमा तपाईले काम गर्न सक्नु भएन भने के गर्ने ? जनताले यस्तो प्रश्न गर्नुपर्छ । उमेदवार यदी पहिले कुनै निर्वाचनमा जितेको रहेछ भने त्यसलाई पनि पहिले गरेको कामको बारेमा सोध्नु प¥यो । गरेको काम चित्त बुझ्दो भयो कि भएन ? जनताको कुरा सुने कि सुनेनन् । जनताको कुरालाई ध्यान दिए कि दिएनन् । जनताको गुनासो सुने कि सुनेनन् । अन्यायको विरुद्ध बोले कि बोलेनन् । न्यायको पक्षमा बोले कि बोलेनन् । यसकारण निर्वाचनमा मत माग्दै आएका उमेदवारलाई सोध्ने हक छ । यहि हक प्रयोग गरेर मतदाताले सोध्नुपर्छ तपाईका एजेण्डाहरु के छन् ? तपाई के गर्नु हुन्छ ? गर्न नसकेपछि के गर्नुहुन्छ ? यस्ता कुरा नेतालाई सोध्नुपर्छ । उमेदवारहरुको शैली कस्तो छ ? बानी व्यहोरा कस्तो छ ? तपाईको कुरा सुन्छ कि सुन्दैन । पहिले जनतालाई कस्तो व्यवहार गर्दथ्यो ? अहिले कस्तो व्यवहार गरिरहेको छ ? गरीवको पक्षमा बोल्छ कि बोल्दैन । सत्यको पक्षमा कुरा सुन्छ कि सुन्दैन । समग्रमा उमेदवार कस्तो हो भन्ने कुरा ख्याल गरेर मतदान गर्नुुपर्छ । निर्वाचनमा उमेदवार भएकाहरुलाई प्रश्न गरौं । सोधौं । जवाफ मागौं ।

तुलसीपुरमा एमाले विरुद्ध गठवन्धनबाट उमेदवारी

तुलसीपुरमा एमाले विरुद्ध गठवन्धनबाट उमेदवारी

राप्ती पोष्ट

तुलसीपुर, १२ वैशाख । वैशाख ३० गतेका दिन हुन लागेको स्थानीय तह निर्वाचनका लागि तुलसीपुरको मेयरमा नेकपा एमाले र नेपाली काँग्रेसको गठवन्धनले उमेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट मेयरमा टिकाराम खड्का र स्यानी चौधरीले उप मेयरमा उमेदवारी दर्ता गराउनुभएको छ । खड्का तुलसीपुरका १९ वटै वडाध्यक्षका साथमा निर्वाचन कार्यालय पुग्नुभएको थियो ।

निर्वाचनमा मनोनयन दर्ता गरेपछि एमालेका तर्फबाट मेयरका उमेदवार खड्काले तुलसीपुरलाई मुलुककै उत्कृष्ठ महानगर बनाउनका लागि आफूले भूमिका खेल्ने बताउनुभयो । उहाँले गरीवी हटाउने र रोजगारी सृजना गर्नु आफ्नो पहिलो काम हुने बताउनुभयो । उहाँले तुलसीपुरलाई स्वच्छ, स्वस्थ र हराभरा नगर बनाउने, आर्थिक रुपमा तुलसीपुरलाई अघि ल्याउने जस्ता कार्यक्रम आफूले प्राथमिकतामा राख्ने बताउनुभयो ।

स्वच्छ खानेपानी खान पाउनु, गुणस्तरिय शिक्षा पाउनु र राम्रो स्वास्थ्य पाउनु नागरिकको अधिकार रहेको भन्दै मेयरका उमेदवार खड्काले आफूले जितेमा यसैका लागि काम गर्ने बताउनुभयो । आफू सधै जनताको बीचमा रहेको भन्दै जनताको बीचमा रहेको मान्छेले निर्वाचन पनि जित्ने दावी उहाँले गर्नुभयो ।

यस्तै उपमेयरकी उमेदवार स्यानी चौधरीले तुलसीपुरलाई राम्रो तुलसीपुर बनाउनका लागि भूमिका खेल्ने प्रतिक्रिया दिनुभयो । उहाँले आफूले सामाजिक क्षेत्रमा गरेको कामको आधारमा तुलसीपुरको नेतृत्व गर्ने बताउनुभयो ।

यसैगरी गठवन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । गिरीले विगतमा सत्तामा रहेकाहरूले गरेको विकृति, विसंगतिको अन्त्य गरी ती सबै सफा गर्न आफूले मेयर पदमा उम्मेदवारी दर्ता गराएका बताउनुभयो । उहाँले तुलसीपुरलाई आर्थिक रुपमा समृद्धिको दिशामा अघि लैजानका लागि काम गर्ने बताउनुभयो ।

उहाँले खानेपानी नभएको ठाउँका जनतालाई खानेपानी पु¥याउने, औषधी नपाएका गरिबलाई औषधी उपचारको व्यवस्थापन गर्ने, पढ्न नपाएकालाई पढाउन आफूले ध्यान दिने बताउनुभयो । त्यस्तै, सत्ता गठबन्धन दलका उपमेयरका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले पनि विगतमा जितेका एमालेका नेताहरूको क्रियाकलापका कारण आफूहरू जित्नेमा ढुक्क रहेको बताउनुभयो । आफूहरूले जितेपछि तुलसीपुरको समग्र विकास र परिवर्तनको लागि काम गर्ने जोड दिनुभयो । रानाले तुलसीपुरको एयरपोर्टको धावन मार्ग विस्तार गरी ठूला जहाज अवतरण हुन सक्ने बनाई हवाई सेवा सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घोराहीमा उत्साहका साथ मनोनयन

घोराहीमा उत्साहका साथ मनोनयन

राप्ती पोष्ट

घोराही, बैशाख । स्थानीय तहको निर्वाचनका लागि घोराहीमा विभिन्न राजनीतिक दलले झाँकी र जुलुस सहित मनोनयन दर्ता गराएका छन् । केही साना राजनीतिक दलहरु र गठवन्धनका उमेदवारहरु सानो संख्यामा मनोनयन स्थलमा गएको केही समय पछि नेकपा एमालेका उमेदवारहरु पुग्दा घोराही बजारमा एमालेका झण्डा र व्यानर सहितका हजारौं मानिस देखिएका थिए उम्मेदवारहरु, बाजागाजासहित धुमधामका साथ मनोनयन गर्न पुग्दा उम्मेदवारी दर्ता स्थल एमालेमय भएको थियो ।

गाउँगाउँबाट सबै उमेर समुहका व्यक्तिहरु स्वस्फूर्त रुपमा मनोनयन कार्यक्रममा भाग लिन आएका थिए । आईतबार साना दलले मनोनयन दर्ता गराएकोमा सोमबार ठूला दलहरुको पालो रहेको थियो । जस अनुसार गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउन पुगेका सिफारिस भएका उम्मेदवारको भीडभन्दा एमालेको दलबल निकै भव्य रहेको थियो ।

घोराही ११ बाँसगजेरीबाट आफ्ना वडाअध्यक्षसहित सदस्यहरुलाई जीताउन भन्दै मनोनयन स्थलमा आउनुभएकी ६५ वर्षीया माया बस्नेतले देश बनाउने पार्टी भनेकै एमाले रहेको बताउनुभयो । ‘बालबालिकादेखि बयोवृद्धको हेरचाह गर्ने पार्टी भनेकै एमाले हो, देशभर एमालेको लहर छाएको छ, पार्टीको नीति सिद्धान्त मनपर्छ,’ अर्का घोराही १३ का भोजराज खत्रीले भन्नुभयो ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दोस्रो दिन दाङमा उम्मेदवारी मनोनयनका लागि प्रमुख दल तथा अन्य दलहरुले दर्ता गराए । बिहान ११ बजेबाट शुरुभएको मनोनयनको काम बेलुकी अबेरुम्म जारी रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार आईतबार र सोमबार गरि जिल्लामा एक हजार दुई सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बेलुकी सवा ७ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा रहेका प्रमुख दल नेकपा एमाले, एकीकृत समाजवादी पार्टीलगायत अन्य दलहरुको मनोनयनको काम गरिरहेका थिए । गठबन्धनमा रहेको समाजवादी पार्टीले भने घोराहीमा एक्लै उम्मेदवारी दर्ता गराएको थियो । गठबन्धन र अन्य दल तथा स्वतन्त्र रुपमा स्थानीय तहको विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराउन पुगेकोहरु बाजागाजाका साथ ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

घोराहीमा नेकपा एमालेबाट निवर्तनमान मेयर नरुलाल चौधरी पुनः उमेदवार बन्नुभएको छ । यस्तै उपमेयरमा हुमा डिसीको उम्मेदवारी परेको छ । अन्य दल र स्वतन्त्रबाट पनि सो पदमा उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा डायमण्ड र उपमेयरमा नेपाली काँग्रेसका भूपबहादुर डाँगीको उमेदवारी परेको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार समाचार तयार पार्दासम्म एक हजार दुई सय ७५ जनाको उम्मेदवारी परेको छ । जसमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा तीन सय ७६ जनाले मनोनयन दर्ता गराएका छन् । घोराहीमा मेयरका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा सात जनाको उम्मेदवारी परेको छ ।

यस्तै घोराहीमा वडाध्यक्षका लागि ८७ जनाले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा एक सय ३१, दलित सदस्यमा ६४ र सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।

उता राप्ती गाउँपालिकामा अध्यक्षमा आठ जना, उपाध्यक्षमा छ जना, वडा अध्यक्षमा ४१ जना, सदस्यमा ७२ जना, महिला सदस्यमा ३५ जना, दलित महिला सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । यस्तै शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि छ जना, उपाध्यक्षमा चार जना, वडा अध्यक्षमा १४ जनाको उमेदवारी परेको छ । राजपुर गाउँपालिकामा अध्यक्षमा सात जना, उपाध्यक्षमा छ जना, वडा अध्यक्षमा ३७ जना, सदस्यमा ६५ जना, महिला सदस्यमा ३१ र दलित महिला सदस्यमा ३० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै बबई गाउँपालिकामा अध्यक्षमा सात जना, उपाध्यक्षमा पाँच जना, वडा अध्यक्षमा २९ जना, सदस्यमा ३६ जना, महिला सदस्यमा १५ र दलित महिला सदस्यमा १२ जनाको उम्मेदवारी परेको छ । दंगिशरण गाउँपालिकामा अध्यक्षमा तीन जना, उपाध्यक्षमा दुईजनाको उमेदवारी परेको तथ्याङ्क निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।

गढवा गाउँपालिकामा अध्यक्षका लागि तीन जना, उपाध्यक्षमा दुई जनाको उमेदवारी परेको बताइएको छ । बंगलाचुली गाउँपालिकामा अध्यक्षमा दुई जना, उपाध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । निर्वाचन कार्यालयले दर्ता गरिएकाहरुको निवेदन छानविन गरिरहेको र आज मंगलबार सवै जानकारी आउने बताएको छ ।

नीजि क्षेत्रले देशलाई श्रीलंकाको बाटोमा जान दिँदैन

छबि पुरी/राप्ती पोष्ट

घोराही, बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले समृद्धीको यात्रामा राज्यसँग निजी क्षेत्र सँगसंगै अगाडि बढन तयार रहेको बताउनुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले देशको समृद्धीका लागि निजी क्षेत्र राज्यसंग सहकार्य गर्न तयार रहेको बताउनुभयोे ।

‘उद्योगी व्यवसायीको काम व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि हो,’ उहाँले भन्नुभयो, ‘हामी समाजको अभिन्न अंग हौँ, सामाजिक उत्तरदायित्वबाट अलग रहन सक्दैनौँ ।’ जिल्लाको विकासका लागि नीजि क्षेत्रले भूमिका खेलेको छ तर पर्याप्त नरहेकाले निरन्तर पहलकदमी लिन आग्रह गर्नुभयो । ‘हामीलाई यहाँको समृद्धिका लागि कोईलाबास पनि चाहिन्छ, एअरपोर्ट पनि चाहिन्छ, त्यसैले सबै क्षेत्रबाट आआफ्नो भुमिका खेल्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।

सबै मिलेर देशको आर्थिक विकासमा अगाडि वढनु पर्ने भन्दै उहाँले यसका लागि राज्यले निजी क्षेत्र संग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।  ‘निजि क्षेत्रको विचार समेट्न राजनीतिक दलहरु सचेत बन्नुपर्छ, यसले समृद्धिको यात्रामा अघि बढ्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘मुखैमा आएको स्थानीय तहका उमेदवारले  निजि क्षेत्रको उत्थानका लागि के के गर्न सक्छन्, ध्यानाकर्षण गराउनुपर्छ, नापतौल, सार्वजनिक सौँचालय, सहज सडक पूर्वाधार, व्यवसायिक प्रोत्साहनका एजेन्डा निर्माण गर्न दवाव दिनुपर्छ ।’

आफुहरु राज्यका तीन वटै सरकारसंग सहकार्य गरेर अगाडि वढ्न तयार रहेको बताउँदै उहाँले राज्यको तर्फवाट निजी क्षेत्रसंग प्रभावकारी रुपमा समन्वय हुन नसकेको गुनासो गर्नुभयो । मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको चर्चा चलिरहेका बेला उहाँले देश त्यो अवस्थामा नजाने विश्वास व्यक्त गर्नुभयो । ‘नीजि क्षेत्र बलवान् छ, यो कहिले थाक्दैन, हामी श्रीलंकाको अवस्थामा जान्छौँ भन्ने कुरा कल्पना गर्न पनि चाहदैनौँ,’ उहाँले भन्नुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेश निवर्तमान उपाध्यक्ष हेमराज बन्जाडेले राज्यले निजी क्षेत्रलाई सम्मानीत र उत्साहित वनाउने निती ल्याउनु पर्ने बताउनुभयो ।
‘राज्यले निजि क्षेत्रलाई सम्मान गर्न सक्नुपर्छ, त्यसो हुन सकेको छैन, हामीले तय गरेको विकास निर्माण र समृद्धिको योजनामा राज्यको ध्यानाकर्षण गराउन छाड्नुहुन्न,’ उहाँले भन्नुभयो, ‘यहाँको विकास निर्माण, आर्थिक समृद्धिका लागि बनाईएका रोड म्यापमा सबै पक्षलाई अपनत्व महसुस गराउनुपर्छ ।’

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लाको विकासका लागि एरपोर्टको नियमित सञ्चालन हुनु पर्ने बताउनुभयो । ‘एअरपोर्ट संचालनमा राज्य पक्षबाट चासो हुन सकेन, स्थानीयबासी उत्साहित भएपनि राज्य पक्षले राजनीति गर्न खोज्यो,’ उहाँले भन्नुभयो, ‘तुलसीपुर एअरपोर्ट संचालनका लागि नीजि क्षेत्रले बारम्बार पहल गरेपनि राज्य पक्षबाट प्रभावकारी भुमिका चाहिन्छ, त्यसैले एक घर एक व्यक्ति एक ढुंगा अभियानलाई हामीले अघि बढाएका छौँ ।’
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निजी क्षेत्रले देशको विकासमा सहयोग पु¥याएको बताउनुभयो । जिल्लामा पुर्वाधारको विकासमा उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले व्यावसायिक समस्या समाधानका लागि व्यवसायीबीचको साझा नेटवर्क बनाउन आग्रह गर्नुभयो । अहले पनि यो वा त्यो बहानामा राज्य प्रशासनबाट सहज रुपमा व्यवसाय गर्न दिने वातावरण नरहेकाले यसका लागि नीजि क्षेत्र जुर्मुराउनु पर्ने बेला आएको बताउनुभयो । ‘लुम्बिनै प्रदेशकै राजधानी दाङमा सम्साँझै व्यवसाय बन्द हुन्छन्, यसरी आर्थिक समृद्धि हुन असम्भव छ,’ उहाँले भन्नुभयो, ‘या त यहाँ सुरक्षा अभाव छ, या त व्यवसायी बीच एकता छैन ।’

अब यहाँको नीजि क्षेत्रले सिंगो प्रदेशका उद्योगी व्यवसायीहरुको आफ्नो उत्पादनलाई प्राथमिकता दिदै नयाँ ढंगले अघि बढ्नुपर्छ । ‘प्रदेशका १२ वटै जिल्लाको अभिभावकत्व लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक समृद्धिको यात्रामा सबै क्षेत्रलाई समेटेर एकतावद्ध रुपमा अघि बढ्न दाङ जिल्ला उद्योग वाणिज्य संघले पाइला चालोस् ।’

दाङ देउखुरी होटेल व्यवसायी समिती अध्यक्ष दिपेन्द्र पुनले राज्यलाई कर तिरेर नियम संगत रुपमा व्यवसाय चलाउदा पनि प्रशासनले हस्तक्षेप गर्नु दुखद रहेको बताउनुभयो । प्रशासनको हस्तक्षेपकारी भुमिकाले जिल्लाको अर्थतन्त्र सबल बन्न नसक्ने उहाँको भनाई थियो । ‘प्रशासनको हस्तक्षेपकारी भुमिकाले जिल्लाको अर्थतन्त्र सबल बन्न सक्दैन, यसरी दवावमा रहेर हामीले कति दिन व्यापार गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।

नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका समन्वय समिती अध्यक्ष रेशम बिसी, गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ चेम्वर अफ कमर्शका अध्यक्ष बलदेव योगी, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णवहादुर वुढाथोकी, संघका निवर्तमान सचिव माया पोख्रेल, नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष सविन प्रियासन लगायतले भनाइ राख्नुभएको थियो ।

संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको साधारणसभामा वार्षिक प्रतिवेदन संघका महासचिव महेन्द्र वुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शुसिल पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गर्नुभएको थियो भने सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकी र सचिव नरेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।

यसैबीच, संघको साधारण सभाको अवसरमा उद्योगी, व्यवसायी तथा विभिन्न माध्यमवाट संघको विकासमा सहयोग पु¥याउनेलाई पुरस्कृत तथा सम्मानीत गरिएको थियो ।

मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पुरा

मनोनयन दर्ताका लागि दाङमा समय निर्धारण

राप्ती पोष्ट

घोराही, दाङ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पुरा पुरा भएको जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उमेदवारी दर्ताका लागि समय निर्धारण गरिएको जानकारी दिनुभयो ।

जिल्लामा दर्ता भएका सवै राजनीतिक दलका लागि ११ र १२ गतेका लागि समय निर्धारण गरिएको जानकारी थापाले दिनुभयो । उहाँँका अनुसार प्रमुख राजनीतिक दलका लागि दोस्रो दिन अर्थात १२ गतेका दिन निर्धारण गरिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका प्रमुख राजनीतिक दलका लागि १२ गतेका दिन समय निर्धारण गरिएको छ ।

स्थानीय पालिकामा खुलेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था गरिएको छ । मनोनयन दर्ताको लागि अधिकांश राजनीतिक दलले शनिबार मनोनयन पत्र निर्वाचन अधिकृतको कार्यालयबाट लगेका छन् । दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा मनोनयन दर्ता हुँदैछ ।

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण उम्मेदवारको टुंगो लाग्न सकस भएकाले मनोनयन दर्ताको लागि कतिय पालिकामा समय तोकिएको छैन । अधिकांश स्थानीय तहमा मनोनयन दर्ताको लागि दलहरुको सहमतिमा दुई दिने कार्यतालिका सार्वजनिक गरिएको छ । घोराही उपमहानगरपालिकामा आइतबार बिहान साढे १० बजेदेखि साढे ५ बजेसम्म साना राजनीतिक दललाई समय दिइएको छ भने सोमबार १२ गते ठूला राजनीतिक दललाई मनोनयन पत्र दर्ताको लागि समय तोकिएकोछ ।

मनोनयन दर्ताको लागि सूचना टाँस गरेर जानकारी दिइएको छ । लमही नगरपालिकामा पनि दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । बिहान १० बजे देखि १ बजेसम्म राप्रपा नेपाल, माले, विवेकशील साझालगायतका साना राजनीतिक दलको लागि समय दिइएको छ । नेकपा एमालेको लागि दिउँसो १ बजेदेखि २ बजेसम्म, नेकपा माओवादी केन्द्रलाई दिउँसो २ देखि ३ बजेसम्म, जनता समाजवादी पार्टी नेपाललाई दिउँसो ३ देखि ४ बजेसम्म समय तोकिएको सहायक निर्वाचन अधिकृत गोकर्ण वलीले जानकारी दिनुभयो । राष्ट्रिय जनमोर्चाको लागि आइतबार ४ बजेदेखि ५ बजेसम्मको समय तोकिएको हो ।

सोमबार नेपाली कांग्रेसको लागि बिहान १० देखि ११ बजेसम्मको लागि समय तोकिएको छ । नेकपा एकीकृत समाजवादीको लागि बिहान ११ देखि १२ बजेसम्म, राष्ट्रिय प्रजातान्त्र पार्टीको लागि दिउँसो १२ बजेदेखि १ बजेसम्म समय निर्धारण गरिएको छ । यस्तै ११ गते मनोनयनमा बाँकी रहेका साना दलहरुलाई १ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ । शनिबार दिउँसोसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले मनोनयन पत्र लगेका छन् ।

जिल्लामा २६ वटा राजनीतिक दल क्रियाशिल रहेका छन् । जसमध्ये मनोनयन दर्ता कतिले गर्छन् भन्ने यकिन छैन । गढवा गाउँपालिकामा पनि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । आइतबार बिहान ११ बजे नेकपा एमाले, १ बजे नेकपा माओवादी केन्द्र, २ बजे एकीकृत समाजवादी र ४ बजे मंगोल नेशनल पार्टीलाई समय तोकिएको छ । सोमबार १० बजे नेपाली काङ्ग्रेस, १२ बजे राष्ट्रिय जनमोर्चा, १ बजे जनता समाजवादी, २ बजे राप्रपा र ३ बजे स्वतन्त्र र अन्यको लागि समय तोकिएको छ ।

उता राप्ती गाउँपालिका समय निर्धारण गरिएको छैन । सकभर पहिलो दिन आइतबार मनोनयनका लागि अनुरोध गरिएको छ । गठबन्धनका कारण मनोनयनमा ढिलाइ हुने आशंका छ । जिल्लाका अन्य तुलसीपुर उपमहानगरपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका, दंगीशरण गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुसँगको छलफलबाट मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

दाङका सवै पालिकामा निर्वाचन कार्यालय स्थापना

राप्ती पोष्ट

दाङ,बैशाख । दाङका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही क्रममा घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बैशाख ३० गते हुन थालेको स्थानियतहको निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

घोराहीमा आयोजना गरिएको कार्यक्रममा दाङ जिल्ला अदालतका प्रमुख न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि आव्हान गर्नुभयो । निर्वाचन आचारसंहिता उलंघन रहित जिल्लाका रुपमा उदाहरणिय बन्न आग्रह गर्नुभयो । त्यसका लागि सुरक्षा निकाय, राजनितिक दल, नागरिक सचेत रहन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्राथमिकता दिने बताउनुभयो । पहिलेका निर्वाचनहरु निश्पक्ष रुपमा सम्पन्न भएको भन्दै हाल हुँदै गरेको निर्वाचनलाई पनि प्रंशंसनीय बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबि मसालले निर्वाचन खर्चलाई व्यवस्थित गर्न आवश्यक भएको बताउनुभयो । निर्वाचनमा जथाभावी रुपमा खर्च गर्दा निश्पक्ष नहुने उहाँको धारणा थियो । कार्यक्रममा पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । विगतका निर्वाचनहरुमा बदर मत प्रतिशत बढेको देखिएकाले मतदान कसरी गर्ने भन्ने विषयमा दुर्गम क्षेत्रमा प्रभावकारी रुपमा कार्यक्रम चलाउनुपर्ने उहाँको भनाई थियो ।

उता देउखुरीमा रहेका चारवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले लमहीमा रहेको कार्यालय उद्घाटन गर्नुभएको हो । यो कार्यालय लमही नगरपालिकाको परिसर भित्र रहेको छ । लमही नगरपालिकाका प्रमुख केसीले निर्वाचन कार्यालयले स्वच्छ, निष्पक्ष रुपमा स्थानीय तहको निर्वाचनलाई सम्पन्न गराउने कुरामा विश्वास व्यक्त गरेको बताउनुभयो । निर्वाचन कार्यालयको कार्यलाई मर्यादित बनाउने गरि भुमिका खेल्दिन यहाँका पार्टी, सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकार सबैलाई सहयोग गरि दिन समेत नगरप्रमुख केसीले आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्वाचन कार्यालय लमहीका निर्वाचन अधिकृत मान बहादुर विष्टले आउँदो स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने कुरामा आफू प्रतिबद्ध भएको बताउनुभयो । कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, विभिन्न संचार गृहमा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पत्रकार दशरथ घिमिरे, नागरिक समाज दाङका सह संयोजक नीम बहादुर थापा, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख चन्द्र बहादुर केसी, लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासे लगायतले आफ्ना भनाई राख्नुभएको थियो । निर्वाचन अधिकृत विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन सहायक निर्वाचन अधिकृत गोकर्ण ओलीले गर्नुभएको थियो ।

यस्तै विहीबार राप्ती गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत हेमराज अर्यालले उद्घघाटन गर्नुभयो । उद्घघाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरी, नेपाली कांग्रेसका हरि भुसाल, सुरेन्द्र भुसाल, प्रशान्त भुसाल, नेकपा एमालेका मदन अधिकारी, राजमोका केशवराज खनाल, जनता समाजवादी पार्टीका रणप्रसाद सुवेदी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटका बामदेव चौधरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, देउखुरी टुडेका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतले बोल्नुभएको थियो ।

पालिकामा निर्वाचन सम्वन्धि कार्य अगाडि बढेको निर्वाचन अधिकृत हेमराज अर्यालले बताउनुभयो । राप्ती गाउँपालिकामा १० वटा मतदान केन्द्र रहेका छन् भने ३५ वटा बुथ कायम गरिएको छ । त्यस्तै पालिकामा कुल मतदाता संख्या ३२ हजार चार सय ३३ रहेका छन् । सवैभन्दा धेरै मतदाता वडा नम्बर ४ मा चार हजार तीनसय र सवै भन्दा कम मतदाता वडा नम्बर ९ मा नौसय ८० रहेको सुचना अधिकारी विश्वास विकले जानकारी दिनुभयो । यस्तै गढवा र राजपुरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि उद्घाटन गरिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका, ववई गाउँपालिका, दंगिशरण र शान्तिनगर गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 

कर्मचारी संगठनको स्थापना दिवसमा विभिन्न कार्यक्रम

राप्ती पोष्ट

दाङ, बैशाख । नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपाल निजामती कर्मचारी संगठनको ३२ औँ स्थापना दिवसको अवसरमा रक्तदान र अनाथ बालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

स्थापना दिवसका अवसरमा तुलसीपुर डुम्रीगाउँमा रहेको अनाथ बालबालिका आश्रम (दिदीघर)मा रहेका २४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । बालवालिकाहरुलाई झोला,कापी, कलम वितरण गरिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङको आयोजना र नगरपालिका कमिटी तुलसीपुरको व्यवस्थापनमा भएको कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमितिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेबाट तुलसीपुरमा मेयरका प्रत्यासी तथा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सचिवालय सदस्य टिकाराम खड्काले कर्मचारीले सामाजिक काममा समेत आफूलाई उभ्याएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रमको संचालन नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति दाङका सचिव बावुराम न्यौपानेले गर्नुभएको थियो ।

रक्तदान

कर्मचारी संगठनको स्थापना दिवसमा रक्तदान गर्दैै नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगपालिकामा मेयरका उमेदवार टिकाराम खड्का

यसैगरी नेपाल निजामती कर्मचारी संगठनको ३२ औँ स्थापना दिवसको सन्दर्भमा बुधबार तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङको आयोजना र नगरपालिका कमिटी तुलसीपुरको व्यवस्थापनमा भएको रक्तदानमा ४५ जनाले रक्तदान गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, नेकपा एमाले लुम्विनी प्रदेशका सचिवालय सदस्य टिकाराम खड्का लगायतले बोल्नुभएको थियो ।

नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङका उपाध्यक्ष पवित्रा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सचिव बावुराम न्यौपानेले गर्नुभएको थियो । तुलसीपुरमा रहेको राप्ती प्रादेशीक अस्पतालको रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको थियो ।

पाँच बर्षमा घोराहीमा जनप्रतिनिधिले गरेका प्रमुख पाँच काम

घोराहीमा जनप्रतिनिधि आएको पाँच बर्षमा एक होइन अनेक काम भएका छन ।

राप्तीपोष्ट

घोराही, बैशाख ।
घोराही उपमहानगरपालिका नेपालका ११ उपहानगरपालिका मध्य सवैभन्दा ठूलो हो । भुगोलका हिसावले यो सवैभन्दा ठूलो रहेको छ । पाँच बर्ष अघि जनप्रतिनिधिहरु आउँदा घोराहीबासीलाई पाँच बर्षमा के कस्ता कामहरु होलान भन्ने लागेको थियो । जनप्रतिनिधि विहीन भएको लामो समयपछि जनप्रतिनिधिहरु आउँदा नागरिकलाई आशा पनि थियो । घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवारले जित हासिल गरेपछि विभिन्न क्षेत्रमा उदाहरणिय काम भएका छन् । तिमध्य सडक, स्वास्थ्य, शिक्षा, फोहरमैला व्यवस्थापन र खेलकुदमा उल्लेख्य कामहरु भएका छन् । जनप्रतिनिधिहरु आएपछि देखिने गरी काम भएको नागरिकको भनाई छ ।

स्वास्थ्यको क्षेत्रमा

घोराही उपमहानगरपालिकामा मेयरका रुपमा नरुलाल चौधरी र उपमेयरका रुपमा सिता सिग्देल न्यौपाने आउँदा घोषणा पत्रमा स्वास्थ्यलाई प्राथमिकता दिइएको थियो । त्यतिवेलाको प्रतिवद्धता पत्रमा ‘सबैलाई स्वास्थ्य, सबल जनस्वास्थ्य’ भन्ने नारा तय गरिएको थियो । यहि अनुसार पाँच बर्षको अवधिमा काम गरेको दावी जनप्रनिधिहरुको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले पाँच बर्षको अवधिमा स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले आफूहरु पाँच बर्ष अघि निर्वाचनमा जाँदा पनि घोषणापत्रमा स्वास्थ्यलाई प्राथमिकताम दिएको भन्दै पछि पालिकाको नीति कार्यक्रममा पनि स्वास्थ्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाले हालसम्म पूर्वाधार विकास अन्तर्रगत घोराहीका १९ वटै वडामा स्वास्थ्य संस्थाको स्थापना गरिएको बताउनुभयो । हाल सम्म २३ वटा स्वास्थ्य भवन निर्माण गरिएकोछ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य संस्था नभएको वडाहरुमा स्वास्थ्य चौकी स्थापना गर्ने काम गरिएको छ भने पूर्वाधार मर्मतको काम पनि भएका छन् । यो संगै घोराही ४ लक्ष्मीपुरमा १५ सैयाको अस्पताल निर्माणको काम अगाडी बढाइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो काम थालिएको हो । घोराही उपमहानगरपालिकाको वडा नं. १४, १५ लगायत विभिन्न वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
यस्तै घोराहीमा रहेका सवै सरकारी विद्यालयहरुलाई विद्यार्थीको पहिलो रोजाइ पार्ने गरी शिक्षाको गुणस्तर बृद्धि गरिएको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।

सडक

घोराहीमा देखिने गरी भएका प्रमुख कामहरु मध्ये सडक पनि एक हो । जनप्रतिनिधिको पहिलो वर्ष देखिनै सडक सञ्जालले जोड्ने कुरालाई योजना बनाउदै बजेट विनियोजन गर्ने काम गरिएको थियो । जस अन्तर्रगतको १९ वटै वडामा सडक निर्माणको काम भएको छ । हाल सम्म एक सय ४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । एक सय ८७ किलोमिटर सडक ग्राभेल तथा स्तारोन्नती, एक सय ५२ किलोमिटर सडक नयाँ सडक निर्माण गरिएको छ । ४० किलोमिटर सडक नियमित मर्मत गरिएका छन् । भने ६७ वटा स्थानीय पुल, कलभर्ट, दुई वटा झोलुंगे पुल निर्माण गरिएको घोराही उपमहानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

खानेपानी र सिचाइ

घोराही उपमहानगरपालिकामा खानेपानी र सिचाइँको सुविधा पु¥याउनका लागि काम गरिएको छ । नगरपालिका बासीलाई स्वच्छ खानेपानी पु¥याउने कार्यक्रम अन्तर्रगत तीन हजार चार सय दुई घरपरिवारलाई खानेपानीको सुविधा पु¥याइएको छ ।
खानेपानीको व्यवस्थापनका लागि ८५ वटा कुँवा निर्माण र विभिन्न स्थानमा ४० वटा डिप बोरिङ बनाइएको छ । घोराहीका ९५ प्रतिशत घरमा खानेपानीको सुविधा पु¥याइएको छ । यस्तै सिचाइँको पानी ड्याम निर्माणको कामलाई जोड दिइएको छ । यो घोराहीको उदाहरणिय काम पनि हो । घोराहीमा जनप्रतिनिधि आएसंगै यो कामलाई निरन्तरता दिइएको हो ।
घोराहीका संभावित ठाउँमा अनुगमन गर्दे पोखरी निर्माणको कामलाई बढावा दिइएको छ । जसअन्तरगत २६ वटा कृतिम जलाशय निर्माण भएका छन् । अधिकांश जलाशय पर्यटकीय क्षेत्रका रुपमा विकास भएका छन् । भने माछा पालन र खेती सिचाइँका लागि पोखरीको पानी प्रयोग गरिन्छ । थप छ सय ३५ हेक्टरमा सिचाइँ सुविधा पुगेको छ । घोराहीमा पाँच वटा वैकल्पिक उर्जा, ६६ वटा साना सिचाइँको काम भएको घोराहीको तथ्यांकमा उल्लेख छ । बर्तमान जनप्रतिनिधिले ‘सिँचाइ र खानेपानी–बदलिनेछ आनीबानी’ भन्ने नाराका साथ काम अघि बढाएका थिए ।

फोहोर व्यवस्थापन

घोराही फोहोर व्यवस्थापनको क्षेत्रमा उदाहरणिय बनेको छ । स्थानीयतहमा जनप्रतिनिधि आए संगै यो कामलाई प्राथमिकता दिएको हो । बजारबाट निस्कने फोहोरलाई गल्ने र नगल्ने फोहोर छुट्याउने काम सुरुबाट गरिएको थियो । गल्ने र नगल्ने फोहोर संकलन गर्ने छुट्टा छुट्टा गाडीको व्यवस्थापन गरी फोहोर लाई मोहरमा बदल्ने काम थालिएको हो ।
अहिले गल्ने फोहोरलाई वायो ग्यास प्लान्टमा प्रयोग गरी वायो ग्यास निकालिएको छ । भने नगल्ने फोहोरलाई उपमहानगरले खरिद गरेको छ । जसले गर्दा घोराही बासीलाई फोहोर बेचेरै आम्दानी गर्ने बाटो खुलेको छ । भने घोराही १६ स्थित डम्पिङ साइडलाइ व्यवस्थित गरिएको छ । घोराही उपमहानगरपालिकाको सहयोगमा तयार गरिएको वायोग्यास प्लान्टबाट करिव दुई हजार घरधुरीमा पाइपलाईनबाट ग्यास पुराउने पूर्वाधार तयार भएको छ ।

खेलमा प्राथमिकता

घोराहीमा खेल क्षेत्रको विकासमा प्राथमिकता दिइएको छ । खेल क्षेत्रलाई विकास गर्नका लागि प्रत्येक वर्ष मेयर कप फुटवल प्रतियोगिता तथा उपमेयर कप भलिवल प्रतियोगिता संचालन गर्ने गरेको छ । खेल क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिदैँ आएको छ भने आर्थिक तथा भौतिक सहयोग गरिदैँ आएको छ ।

एक वडा एक खेलमैदान निर्माण कार्यक्रम अनुरुप १३ वटा खेलकुद मैदान निर्माण गरिएको छ । यो संगै यहाँ चार वटा रंगशाला निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरिएको छ । घोराहीमा ठूला प्रतियोगिता आयोजना गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । आगामी दिनमा थप काम गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काम गर्ने लक्ष्य राखिएको पनि उपप्रमुख न्यौपानेले बताउनुभयो ।

घोराही उपमहानगरपालिका प्रमुख चौधरीले घोराहीको विकासका लागि पालिकाले आवश्यक योजना बनाएर काम गरेको बताउनुभयो । आफुहरुले निर्वाचनका समयमा बनाएका घोषणापत्र अनुरुपनै काम गरिएको बताउनुभयो । पाँच वर्षमा सबै काम पुरा नभएपनि उल्लेखनीय काम सम्पन्न गरेको उहाँको दावी छ ।

संस्कार गृह निर्माणार्थ महायज्ञ जारी 

घोराही, बैशाख ।

घोराहीमा बिहीबारबाट जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दान गर्नेहरुको उत्साह बढ्दै गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा संस्कार गृह निमार्णसंगै संस्कृति संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ शुरु गरिएको महायज्ञमा दैनिक भक्तजनको उपस्थिती बढ्नुका साथै स्वेच्छिक नगद दान गर्नेहरुको संख्या पनि बढ्दै गएको मूल आयोजक समिति अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभयो ।

महायज्ञको तेश्रो दिन आज शनिबार हालसम्मकै बढी नगद दान भएको उहाँले बताउनुभयो । महायज्ञमा कथा श्रवण गर्न आएका भक्तजनहरुले आफ्ना पितृको सम्झनामा तथा गच्छे अनुसार स्वेच्छिक नगद दान गर्नेहरु बढ्दै गएको पाइएको छ । आज शनिबार ४ लाख ५१ हजार ९ सय ६ रुपैयाँ नगद दान संकलन भएको मूल आयोजक समितिको भनाई छ । जसमा निधन भएका फनिन्द्रकुमार भुसालका श्रीमती रोमाकुमारी भुसाल तथा छोराहरु गोकर्ण भुसाल, शंकर भुसाल र हरिप्रसाद भुसालले संयुक्त रुपमा पितृको सम्झनामा नगद १ लाख ५ हजार पाँच सय ५५ रुपैयाँ दान गर्नुभएको छ । प्रमुख कथा वाचक कोमल उपाध्यायको रोचक कथावाचन सुन्न तथा सामाजिक कार्यमा आफुलाई समाहित गर्न भक्तजनहरु गर्मी मौसमको पर्वाह समेत नगरी दिनभर उपस्थित हुने गरेका छन् ।

दैनिक रुपमा बिहान योगाअभ्याससँगै शुभारम्भ हुने महायज्ञमा साँझ पनि भजन किर्तन हुने गरेकाले भक्तजनहरु थप आकर्षित हुदै गएका छन् । भौतिकवादमा लिप्त हुँदै गएको समाजलाई असल आचरण सिकाउन जरुरी रहेकाले यस प्रकारका अभियानले समाजलाई सही बाटोमा हिँडाउन मद्दत पुग्ने विश्वासका साथ सबै उमेरका व्यक्तिहरु महायज्ञमा सुविचार सुन्न पुग्ने गरेका महायज्ञ संचालक समिति संयोजक हरिप्रसाद पाण्डेयले बताउनुभयो ।

तीनदिनको अवधिमा भक्तजनबाट कुल ७ लाख ७३ हजार २ सय ३१ रुपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक प्रचारप्रसार उपसमिति संयोजक कमल वलीले जानकारी दिनुभयो । बैशाख ८ गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका संकलित दानबाट संस्कार–गृह निमार्ण र संचालन गरिने बताइएको छ ।

भूकम्प प्रतिरोधी भवन निर्माणमा पनि घोराही उपमहानगरको उत्कृष्ठ काम

विमला घर्ती/राप्ती पोष्ट

घोराही, बैशाख ।
घोराही उपमहानगरपालिका वडानम्वर १३ स्थित नवराज बुढालाई भूकम्पको डर छैन, किनभने उहाँले भूकम्प प्रतिरोधी घर बनाउनुभएको छ । २०७४ सालमा उहाँले दुईतले घर बनाउनुभएको हो । २०७२ सालमा गएको भूकम्पका कारण नेपालमा भएको जनधनको क्षतिबाट तर्सेर नै उहाँको रोजाई भूकम्प प्रतिरोधी घर बनेको हो । ‘घर बनाउने भन्ने कुरा जीवनमा पटक–पटक बनाउने भन्ने हुँदैन्, बलियो र सुरक्षित घरका लागि भूकम्प प्रतिरोधी नै बनाएको हो’, बुढाले भन्नुभयो, ‘अब प्राकृतिक प्रकोपसँग डराउनुपर्दैन ।’ सामान्य भन्दा भूकम्प प्रतिरोधी घर बनाउँदा केही बढी रकम लाग्ने भए पनि सुरक्षित महसुस हुने उहाँले बताउनुभयो ।

सोही ठाउँका डिल्लीबहादुर पुन पनि सुरक्षित घर बनाएर खुसी हुनुहुन्छ । गाउँका केही घरहरुमध्ये आफूले पनि भूकम्प प्रतिरोधी घर बनाएको बताउनुभयो । दुःख गरी कमाएको पैँसाले बलियो काम गरौं भनेर घर बनाउँदा भूकम्प प्रतिरोधी घर बनाएको उहाँले बताउनुभयो । यसबाट आफूलाई सुरक्षित घर बनाएको छु भनेर ढुक्क महसुस भएको उहाँको भनाइ छ । १० वर्ष अगाडिसम्म फाटफुट मात्रामा भूकम्प प्रतिरोधी घर निर्माण हुने गरेका थिए । घोराही उपमहानगरपालिकाको तथ्याङ्कले पनि यही देखाउँछ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०६९÷२०७० मा १५ वटा मात्र भूकम्प प्रतिरोधी घरहरु बनेका छन् । त्यसयता भने भूकम्प प्रतिरोधी घरहरुको संख्या थपिएको छ । सरोकारवाला तथा स्थानीय सरकारको चासोको विषय बनेकाले पनि नागरिकहरु उत्साहित भएका हुन् । यसका लागि घोराही उपमहानगरपालिकाले बलियो घर बनाउने विषयमा नीति कार्यक्रममै समावेश गरेको थियो । आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा उपमहानगर क्षेत्रभित्र बलियो घर सुरक्षित घर निर्माण अभियान सञ्चालन गर्ने र नक्सापास नगरी घर बनाउनेलाई कारबाही गरिने नीति लिइने छ भन्ने बँुदा समेटिएको छ ।

यसका साथै ग्रामीण क्षेत्र तथा सामान्य आर्थिक स्थिति भएका व्यक्तिले सामान्य किसिमको भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहेमा नगरपालिकाले घर निर्माणका लागि नमुना नक्साहरु निःशुल्क उपलब्ध गराउने र नक्सा पास गर्ने प्रक्रिया सरलीकरण गर्नुका साथै सेवा शुल्क रकम न्यूनतम कायम गरिनेछ भन्ने बँुदा समेटिएको छ । यही अनुरुप कार्यक्रमहरु सञ्चालन गरिएको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । ‘बलियो घर बनाउनका लागि उपमहानगरपालिकाले सबैलाई आव्हान गरेको छ’, नगर प्रमुख चौधरीले भन्नुभयो । नीति बनाएर योजना अनुसार उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउनका लागि आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ, भने कतिपयलाई नक्सापास निःशुल्क उपलव्ध गराउँदै आइएको उहाँले बताउनुभयो । खासगरी आर्थिक अवस्था कमजोर भएका दर्गम क्षेत्रका नागरिकहरुले भूकम्प प्रतिरोधी घर निर्माण गर्न चाहेमा निःशुल्क नक्सापासको व्यवस्था गरिएको छ । एनसेटसँगको सहकार्यमा डकर्मीलाई तालिम दिने गरिएको छ । ‘रेक्टोफिटमा निःशुल्क नक्सापास र घर बनाउँदा लाग्ने छडलगायतका सामग्रीका लागि छुटको आग्रह गरिदिने गर्दछांै’, नगरप्रमुख चौधरीले भन्नुभयो । पहिलेदेखिको भूकम्प प्रतिरोधी घर निर्माणको कामलाई प्राथमिता दिने खालका प्रोत्साहनलगायतका कार्यक्रम गर्दै आएको पनि उहाँको भनाई । बलियो र सुरक्षित घर घोराहीको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

साढे २५ सय बढी भूकम्प प्रतिरोधी घर

घोराही उपमहानगरपालिकामा दुई हजार पाँच सय १९ वटा भूकम्प प्रतिरोधी घर छन् । प्रत्येक वर्ष भूकम्प प्रतिरोधी घर निर्माण गर्नेक्रम बढ्दो रहेको घोराही उपमहानगरपालिकाका प्रमुख इञ्जिनियर युवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०६९÷२०७० बाट भूकम्प प्रतिरोधी घर निर्माण गर्न थालिएको हो । त्यो भन्दा अगाडि थोरै मात्र भूकम्प प्रतिरोधी घर थिए, भने नागरिकहरुले आफ्नै तरिकाले घर निर्माण गरेका थिए । उपमहानगरपालिकाको तथ्याङ्कमा आर्थिक वर्ष २०६९÷२०७० मा १५ वटा भूकम्प प्रतिरोधी घर बनेका थिए । त्यस यता भने भूकम्पलाई प्रतिरोध गर्ने घर निर्माणमा आर्कषण बढेको देखिन्छ । आर्थिक वर्ष २०७०÷०७१ मा एक सय १५ वटा घर बनेका थिए ।
नगरको तथ्याङ्क अनुसार २०७१÷२०७२ मा एक सय १६ वटा, २०७२÷२०७३ मा दुई सय ९३ वटा, २०७३÷२०७४ मा तीन सय ५५ वटा घर निर्माण भएका छन् । त्यस यता घोराही उपमहानगरपालिकामा जनप्रतिनिधि आइसकेपछि भूकम्प प्रतिरोधी घर निर्माणमा प्राथमिकता दिनका लागि जनचेतनामुलक कार्यक्रम समेत गरिएको थियो । जसले गर्दा भूकम्प प्रतिरोधी घर निर्माणको संख्या बढेको देखिन्छ । २०७४÷२०७५ मा ६ सय ७१ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका थिए । यस्तै २०७५÷२०७६ मा चार सय १७ वटा, २०७६÷२०७७ मा दुई सय ५६ वटा, २०७७÷२०७८ मा दुई सय ८१ वटा घर निर्माण भएका हुन् । चालु आर्थिक वर्षमा दुई सय ९६ वटा घरको जग खन्नका लागि सिफारिस दिइएको छ । तीमध्ये साउन महिनादेखि हाल यो समाचार तयार पार्दासम्म एक सय ९७ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् ।

नगरका प्रमुख इञ्जिनियर पौडेलले खासगरी सहरी क्षेत्रमा भूकम्प प्रतिरोधी घर निर्माण गरिएको बताउनुभयो । गाउँका कच्ची घर समेत विशेष प्रविधि अपनाएर भूकम्प प्रतिरोधी घर निर्माण गरिने भए पनि हाल सहरी क्षेत्रका घरहरुमा भूकम्प प्रतिरोधी क्षमताका रहेका छन् । उहाँका अनुसार नगरका पाँच वटा वडामा बसोबास गर्नेहरुले भूकम्प प्रतिरोधी घर निर्माण गरेका छन् । शहरी क्षेत्र घोराही १४, १५, १८, १७, १० वडाबाट भूकम्प प्रतिरोधी घर निर्माणका लागि नक्सापास गर्छन् । अन्य १४ वटा दुर्गम क्षेत्रमा भने आफूखुसी घर निर्माण गरेका छन् । भूकम्प प्रतिरोधी घर नबनाउनेहरुलाई नक्सा पास नदिने नीति बनाएको पौडेलले बताउनुभयो ।

घोराहीमा पुराना घरहरुलाई रेक्टोफिटिङ गर्ने कार्यलाई प्रोत्साहन गरिएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट ) सँगको सहकार्यमा रेक्टोफिटिङको काम गरिएको हो । जसअन्तर्गत गएको आर्थिक वर्ष २०७७÷०७८ देखि चालु आर्थिक वर्षसम्म पाँच वटा घर बनाइएको छ । ‘अघिल्लो वर्ष दुई वटा, यो वर्ष तीनवटा घरहरुको रेक्टोफिटिङ गर्ने काम भएको छ’, प्रमुख इञ्जिनियर पौडेलले भन्नुभयो , ‘नगर प्रमुखको घर पनि रेक्टोफिटिङ गरिएको हो । अरुलाई उत्साहित बनाउने हिसाबले पुरानो संरचनाको घरलाई रेक्टोफिटिङ गरिएको हो ।’

के हो रेट्रोफिटिंग ?

रेट्रोफिटिंग भन्नाले संरचना बनाउने वैज्ञानिक तरिकालाई बुझिन्छ । जसले गर्दा घरका सबै अंगहरु एकापसमा राम्रोसँग मिलेका हुन्छन् । रेट्रोफिटिंग घरको कुनाहरु बलियो बनाउन, पर्खाललाई बलियो बनाउन, छत ट्रसको पर्खालहरुसँग जोड्न र पर्खालको खुला भागहरुलाई रडले घेर्न प्रयोग गरिन्छ । रेट्रोफिटिंग घरलाई भूकम्प प्रतिरोधात्मक बनाउने सबैभन्दा सस्तो र छिटो तरिका भएको पौडेलले बताउनुभयो । घोराहीका सहरी क्षेत्रका घरहरु मात्र नभएर ग्रामीण घरहरुलाई पनि विशेष प्रविधिअन्तर्गत भूकम्प प्रतिरोधी घर बनाउने अभियान चलाइने बताउनुभयो ।

नागरिक आफै सजक हुनुपर्ने

नेपालमा २०७२ सालमा विनासकारी भूकम्प गयो । हजारांै मानिसहरुले कमजोर र मापदण्ड पूरा नगरी बनाइएको घरको चपेटामा परेर ज्यान गुमाउनु परेको थियो । यसको प्रभावले जिल्लामा जनको क्षति नभए पनि धनको क्षति भएको थियो । सैयांै घरहरु चर्किएका थिए । भूकम्पलाई रोक्न नसके पनि विभिन्न संरचना र घर निर्माणको क्रममा होसियारी पु¥याउँदा भूकम्पले हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सकिने इञ्जिनियर पौडेलले बताउनुभयो । जसले भविष्यमा आउन सक्ने भूकम्पको मानवीय क्षति न्यूनीकरण गर्नका लागि सबैले घर भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक भएकोमा उहाँको जोड छ । उहाँका अनुसार घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि घर निर्माण क्रममा नै धेरै कुराहरु ध्यानमा राखेर बनाइएको हुनुपर्छ । यदि कसैले नयाँ घर बनाउँदै भए सो घर भूकम्प प्रतिरोधी बनाउनुको अर्को कुनै विकल्पनै छैन ।

राजश्व संकलनको अवस्था

घोराही उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०७८ को साउन यता हालसम्म घर नक्सापास शीर्षकमा ९४ लाख एक सय ६३ रुपैयाँ राजश्व संकलन भएको छ । एक करोडको लक्ष्य लिएकोमा लक्ष्यको करिब नजिक पुगिएको राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । नगरका सूचना अधिकारी भिमबहादुर चौधरीले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि नक्सा पास गरेबाफत संकलन भएको राजश्व विवरण उपलब्ध गराउनुभयो । उहाँका अनुसार नक्सा पास गरिएका घरहरु भूकम्प प्रतिरोधी घरहरुनै हुन् । चालु आर्थिक वर्ष २०७४÷२०७५ मा दुई करोड ६० लाख, २०७५÷२०७६ मा एक करोड ९ लाख ४७ हजार, २०७६÷२०७७ मा एक करोड, २१ लाख, ६० हजार, २०७७÷२०७८ मा ९४ लाख १७ हजार ६ सय ३० रुपैयाँ राजश्व संकलन भएको हो ।