कस्ता उमेदवार चुन्ने ?
निर्वाचन आयोगले भने बमोजिम यहि बैशाख ११ र १२ गतेका दिन उमेदवारले मनोनयन दर्ता गराएका छन् । राजनीतिक दल र स्वतन्त्र गरेर देशभर डेढलाख भन्दा धेरै निर्वाचनको प्रतिष्पर्धामा रहेका छन् । देशभर रहेका सात सय ५३ वटा पालिका छ हजार भन्दा धेरै वडाहरुमा एकसाथ निर्वाचन हुँदैछ । मुलुकले नयाँ जनप्रनिनिधिहरु पाउँदैछ । देशभर एकैसाथ निर्वाचन गर्न थालेको यो नयाँ खालको अनुभव निर्वाचन आयोगले हासिल गर्दैछ । निर्वाचन आयोगले पहिले यस्तै निर्वाचन तीन चरणमा गरेको थियो । तीन चरणमा निर्वाचन गर्दा त्यसको प्रभाव बेग्लै परेको थियो । पहिलो चरणको निर्वाचनको प्रभाव कुनै न कुनै रुपमा दोस्रो चरणका लागि परेको थियो । दोस्रो चरणको प्रभाव तेस्रोमा प¥यो । नेपाल जस्तो सानो देशमा निर्वाचन चरण चरणमा गर्नुभन्दा एकै चरणमा गर्नु राम्रो कुरा हो । निर्वाचन एकै चरणमा गर्दा समयको बचत हुन्छ । खर्चको बचत हुन्छ । निर्वाचन पटक पटक गर्दा एउटै काम पटक पटक गर्नुपर्छ । एउटै तयारीमा सवै काम हुने गरी काम गर्नु राम्रो मानिन्छ । निर्वाचनको दिनगन्ती यति नजिक आइसकेको छ कि अव एक दुई दिनमा स्वतन्त्र उमेदवारले समेत चिन्ह पाएर प्रचारमा जानेछन् । निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिएपनि राजनीतिक दलहरु भने प्रचारमा जुटेका छन् ।
निर्वाचनमा उमेदवारी दिएकाहरु जनताको आँगनमा पुग्न थालेका छन् । जनताको आँगनमा गएकाहरुले अनेकन आश्वासन दिन थालेका छन् । यो गर्नेछौं । त्यो गर्नेछौं । यस्तो गर्ने छैनौं वा यस्तै यस्तै बाचा पनि गरिरहेका छन् । निर्वाचनको समयमा उमेदवारले बाचा गर्ने कुरा ठूलो कुरा होइन । निर्वाचनमा जो पनि आउन सक्छ । नेपालमा विगतमा मानिस नै नदेखिएर पनि निर्वाचनमा गएका थिए । जेलमा भएकाहरु पनि निर्वाचनमा होमिएका थिए । प्रहरीको रेडलिष्टमा रहेकाहरु पनि निर्वाचनमा होमिएका थिए । अघिल्लो पटक संसदीय निर्वाचनमा जितेका एकजना उमेदवार अहिले पनि बन्दी अवस्थामा रहेका छन् । यस हिसावले के देखिन्छ भने निर्वाचनमा जो पनि उमेदवार बन्दो रहेछ । निर्वाचनमा जसले पनि उठ्न पाउँदो रहेछ । निर्वाचनमा जस्तोले पनि जित्दो रहेछ भन्ने पनि संगै देखिएको छ । निर्वाचन भनेर मात्रै हुँदैन । निर्वाचन भनेको जो मन लाग्यो उसलाई जिताउने कुरा होइन । निर्वाचन भनेको जसले मन लाग्यो उसले उठ्ने होइन । हामीकहाँ जो पनि उमेदवार, जस्तो पनि उमेदवार । समाजबाट बहिस्कारमा परेको उमेदवार, अन्याय अत्याचार गरिरहने उमेदवार, महिला हिंसा गर्ने उमेदवार, दुराचारी उमेदवार । घर परिवारमा हेलामा परेको उमेदवार । यस्तो भनेर खराव मात्रै उमेदवार हुन्छन भन्ने कुरा होइन । राम्रा उमेदवार हुन्छन् । जनताले रुचाएका उमेदवार हुन्छन । कतिपय स्वतन्त्र उमेदवार हुन्छन । नेपालमा स्वतन्त्रले उठेर जित्ने सम्भावना कम हुन्छ । उमेदवार हुनका लागि राजनीतिक दलमा लागेकै हुनुपर्छ । राजनीतिक दलमा नलागेको व्यक्ति उमेदवार हुँदा जित्ने सम्भावना न्यून हुन्छ । नेपालमा राजनीतिक दलमा लाग्नेहरुनै निर्वाचन जित्छन ।
निर्वाचन आउन दुई साता जति बाँकी छ । यो अवधिमा अव उमेदवारलाई मतदाताले खोज्ने होइन कि मतदातालाई खोज्दै उमेदवार आइरहेका छन् । पाँच बर्षसम्म जनताले प्रतिनिधिलाई खोज्नुपर्छ । निर्वाचनको समयमा भने उमेदवारले जनता खोज्दै आउँछन् । निर्वाचनको समयमा जनताले उमेदवारलाई त्यसै विश्वास गरिहाल्नु हुँदैन । निर्वाचनमा मत माग्न आएका उमेदवारलाई प्रश्न गर्नुपर्छ । निर्वाचनमा तपाईका एजेण्डाहरु के कस्ता छन ? यो ठाउँको विकासका लागि के गर्नु हुन्छ । स्वास्थ्यका लागि के गर्नु हुन्छ । शिक्षाका लागि के कस्ता एजेण्डाहरु रहेका छन् । पाँच बर्षको अवधिमा तपाईले काम गर्न सक्नु भएन भने के गर्ने ? जनताले यस्तो प्रश्न गर्नुपर्छ । उमेदवार यदी पहिले कुनै निर्वाचनमा जितेको रहेछ भने त्यसलाई पनि पहिले गरेको कामको बारेमा सोध्नु प¥यो । गरेको काम चित्त बुझ्दो भयो कि भएन ? जनताको कुरा सुने कि सुनेनन् । जनताको कुरालाई ध्यान दिए कि दिएनन् । जनताको गुनासो सुने कि सुनेनन् । अन्यायको विरुद्ध बोले कि बोलेनन् । न्यायको पक्षमा बोले कि बोलेनन् । यसकारण निर्वाचनमा मत माग्दै आएका उमेदवारलाई सोध्ने हक छ । यहि हक प्रयोग गरेर मतदाताले सोध्नुपर्छ तपाईका एजेण्डाहरु के छन् ? तपाई के गर्नु हुन्छ ? गर्न नसकेपछि के गर्नुहुन्छ ? यस्ता कुरा नेतालाई सोध्नुपर्छ । उमेदवारहरुको शैली कस्तो छ ? बानी व्यहोरा कस्तो छ ? तपाईको कुरा सुन्छ कि सुन्दैन । पहिले जनतालाई कस्तो व्यवहार गर्दथ्यो ? अहिले कस्तो व्यवहार गरिरहेको छ ? गरीवको पक्षमा बोल्छ कि बोल्दैन । सत्यको पक्षमा कुरा सुन्छ कि सुन्दैन । समग्रमा उमेदवार कस्तो हो भन्ने कुरा ख्याल गरेर मतदान गर्नुुपर्छ । निर्वाचनमा उमेदवार भएकाहरुलाई प्रश्न गरौं । सोधौं । जवाफ मागौं ।