spot_img
spot_img

घोराही खानेपानीको साधारण सभा

पानीको सवालमा बजारको आवश्यकतालाई ध्यान दिइने

राप्ती पोष्ट

घोराही, चैत । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले बजारको बढ्दो घनत्वलाई ध्यान दिएर खानेपानीका आयोजनालाई अघि बढाउने भएको छ । घोराही उपमहानगरपालिकाका वडा नं. १४, १५, १७ र १८ नम्वर वडामा कार्यक्षेत्र रहेको घोराही खानेपानीले बढ्दो घनत्वलाई मध्यनजर गरेर नयाँ आयोजना संचालन गर्ने रणनीति बनाएको छ ।

संस्थाको शनिबार भएको आठौं अधिवेशनमा कार्यसमितिले घोराहीका वडा नं. १४ र १५ मा पानी विस्तार गर्ने योजना ल्याएको हो । संस्थाका सचिव सुमन शर्माले आगामी दिनमा गर्ने १४ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभयो । उहाँका अनुसार सेवार खोलामा निर्माण सम्पन्न भएको सम्पवयलमा विद्युत विस्तार गरेर निकट भविश्यमा पानी संचालन गरेर घोराहीको वडा नं. १४ र १५ मा पानी विस्तार गरिनेछ । यस्तै प्रदेश सरकारको सहयोगमा कटुवाखोलामा एउटा सम्पवयल निर्माण गरी मसिना, रझेना, फुर्सेखाली, ढोडेनी र बालुवाटार क्षेत्रमा पर्याप्त पानी वितरण गरिनेछ ।

घोराहीमा पानीको स्रोत कम भएकाले बवई नदिबाट लिफ्टिङ गरेर पानी ल्याउने योजनालाई निरन्तरताका साथ अघि बढाउने योजना खानेपानीले अघि सारेको छ । यसैगरी घोराही बजारमा विस्तार गरिएको खानेपानीको संरचना जिर्ण भएकाले त्यसलाई पुनःनिर्माणको कामलाई अघि बढाउनुपर्ने पनि सचिव शर्माले बताउनुभयो । बजारमा पाइप लाइन विस्तार गर्न छुटेका टोलमा आउँदो बर्ष कम्तीमा पनि पाँच हजार मिटर पाइप लाइन विस्तार गर्ने योजना रहेको पनि सचिव शर्माले जानकारी दिनुभयो ।

झिंगौरा टोलमा आश्रम नजिक ओभरहेड ट्याङ्की निर्माण गरेर वडा नं. १४ र १५ का विभिन्न टोलमा पानी विस्तार गर्ने योजना रहेको छ । कतिपयले अहिले पनि धारामा मोटर लगाएर पानी तान्ने गरेकाले आगामी दिनमा त्यस्ता कार्यलाई निरुत्साहित गर्ने योजना कार्यालयले बनाएको छ ।

संस्थाका अध्यक्ष देविवहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले खानेपानी जस्तो संवेदनशिल विषयमा सवै मिलेर समाधानमा लाग्नुपर्ने बताएका थिए । घोराहीमा पानीको स्रोत कम हुँदै गएको कुरालाई ध्यानमा राख्न पनि बक्ताहरुले सुझाव दिएका थिए ।

दाङका सवै खानेपानी उपभोक्ता संस्थामध्य सवैभन्दा धेरै उपभोक्ता रहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्व चयन पनि गरिने छ । नयाँ नेतृत्व चयन गर्दा सौहार्दपूर्ण बातावरणमा सर्वसम्मत रुपमा चयन गर्न पनि बक्ताहरुले सुुझाव दिएका थिए ।

कार्यक्रममा कोषाध्यक्ष धु्रव केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले नयाँ खानेपानी आयोजनाका लागि रकम आवश्यक पर्ने र पहिलेका आयोजनाका लागि लिएको रकमको साँवा व्याज तिर्नका लागि निकै समस्या परेको जानकारी दिनुभयो । उहाँले घोराही खानेपानीमा बक्यौता नउठ्ने समस्या रहेको भन्दै यसकालागि सवै उपभोक्तालाई समयमा रकम तिर्नका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष डिसीले बिगतदेखि घोराही खानेपानीको क्षेत्रमा भएका प्रगतिका बारेमा जानकारी दिनुभयो । उहाँले २४ सै घण्टा पानी खुवाउने आफ्नो योजना रहेको भएपनि कतिपय प्राविधिक कारणले गर्दा यस्तो हुन नसकेको बताउनुभयो । उहाँले घोराहीमा पानीको स्रोत घट्दै गएको भन्दै यसतर्फ सम्वन्धित सवैको चासो र चिन्ता हुनुपर्नेमा जोड दिनुभयो । घोराहीमा खानेपानी आयोजनाको क्षेत्र व्यापक भएको, घरहरु थपिएको भन्दै पानीको अभाव बढ्दै गएकाले तत्कालै पानीको समस्या समाधानका लागि सवैको चासो जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतले बोल्नुभएको थियो । नयाँ नेतृत्व चयनको प्रक्रिया भने केही दिन पछि मात्रै हुनेछ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img