spot_img
Home Blog Page 45

लमहीको जैविक विविधता पार्कमा आकर्षण बढ्दै

श्रवण बस्नेत /राप्ती पोष्ट

लमही, पुस । लमहीको जैविक विविधता पार्क अवलोकनका लागि आउनेहरुको संख्या दिनदिनै बढ्न थालेको छ । लमही बजारदेखि उत्तर तर्फ रहेको जैविक विविधता पार्कमा मनोरञ्जनका लागि आउने केटाकेटीहरु, घुमघामका लागि आउने युवा युवतीहरुमात्र होइन बयस्क र बृद्ध बृद्धाहरु समेत पार्कमा आउन थालेका छन् ।

देउखुरी क्षेत्रमा रहेका विभिन्न तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्न थालेको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । विहान देखि साँझ ६ बजेसम्म खुल्ने पार्कमा भिड बढ्दै गएको अध्यक्ष पवन रिजालले जानकारी दिनुभयो । पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष रिजालले बताउनुभयो ।

Exif_JPEG_420

वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने प्रकारका संरचनासमेत निर्माण भएका छन् । सामुदायिक वनले ३० बिघा क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको अध्यक्ष रिजालले बताउनुभयो । पार्क निर्माणको चरणमै रहेको छ । ‘पार्क व्यवस्थित बनाउनअझै थुप्रै काम रहेको छ । मेरो पदावधिभित्रै काम सक्ने लक्ष्य लिएको छु, कतिसम्म पूरा हुन्छ’, रिजालले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर सामुदायिक वनको आयस्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो । आर्थिक वर्ष २०७५÷०७६ मा त्यस पार्कमा करिब २० हजार पर्यटकले भ्रमण गरेको तथ्याङ्क सामुदायिक वन कार्यालयसँग छ ।

आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । लमही बजारको सवैभन्दा नजिक रहेको पर्यटकिय गन्तव्यका रुपमा जैविक विविधता पार्क रहेको छ । पर्यटकलाई आकर्षण गर्नका लागि भ्यू टावर बनाउन थालिएको छ । जहाँबाट लमही बजारको दृष्य राम्रोसंग देख्न सकिन्छ । यसका साथै पश्चिम, उत्तर र पूर्व तर्फ रहेको हरियालीले जो सुकैलाई पनि तान्ने गर्दछ । छ तलामाथिबाट वरपरको दृष्य हेरेपछि जो पनि आनन्दित हुने दावी रिजालको छ ।

यतिवेला जैविक विविधता पार्कमा बाल उद्यान सवैभन्दा आकर्षणका रुपमा रहेको छ । जम्मा २० रुपैयाको टिकट काटेपछि बालवालिकाहरुले पार्कमा रहेको उद्यानमा प्रवेश पाउँछन् । त्यहाँ विभिन्न खालका मनोरञ्जनका सामग्री राखिएको छ । अभिभावकहरु पनि बालवालिकाहरुलाई लिएर पार्कका पुगिरहेका हुन्छन् । घोराहीबाट लमही पुग्नु भएकी विमला दहाल लमही बजार नजिकै निर्माण गरिएको जैविक विविधता पार्कलाई अझै राम्रो बनाउने हो भने पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुहुन्छ । केटाकेटीहरु मात्रै होइन ठूला मानिसका लागि पनि यो राम्रो गन्तव्य बन्न सक्ने उहाँले सुनाउनुभयो ।

लुम्विनी प्रदेश सभाको अधिवेशन पुस १८ गते

राप्ती पोष्ट

दाङ, पुस । लुम्बिनीका प्रदेश सभाको अधिवेशन यहि पुसको १८ गते हुने भएको छ । प्रदेश प्रमुख प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जानकारी दिनुभयो । अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक त्यहाँ अधिवेशन हुन लागेको हो । लुम्बिनी प्रदेश ८७ जना सांसद रहेका छन् ।

शपथग्रहण पुस १७ गते

यसैबीच लुम्बिनी प्रदेशसभा सदस्यको शपथग्रहण पुस १७ गते स्थायी राजधानीमा गरिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले पुस १७ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिनुभयो । पुस १६ गते शपथ गर्ने भनिएकोमा सो दिन शनिबार परेकाले भोलिपल्ट शपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।

मन्त्रीपरिषद्को निर्णय प्रदेश प्रमुखलाई जानकारी दिन प्रमुख सचिव डाक्टर दिपक काफ्ले प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयको विनियम स्वीकृत गर्ने, पूर्वनवलपरासीमा स्वागतद्वारा निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको सम्मेलन स्थगित

यसैगरी लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो । तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्ने तयारी थियो । स्थायी राजधानी देउखुरी भ्रमण गराउने उद्देश्य भए पनि अब आउने नयाँ मुख्यमन्त्रीहरु सहभागी हुने गरी सम्मेलन गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

रोक्का जग्गा फुकुवा हुने

यसैगरी लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा ढिलोमा यही पुस महिना भित्रै खुल्ला हुने भएको छ । स्थायी राजधानी घोषणा संगै रोक्का गरिएको जग्गा फुकुवाको काम अन्तिम चरणमा पुगेपछि यही ढिलामा पुस महिना भित्रै खुल्ला हुन लागेको हो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तरगत प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीका अनुसार जग्गा एकिकरण अर्थात ल्याण्डपुलिङ्ग आयोजनामा अनिवार्य समावेश हुने सर्तमा जग्गा फुकुवा गर्न लागेको जानकारी दिनुभयो । राजधानी क्षेत्रको मास्टर प्लान तयार भई जग्गा एकिकरण कार्यको अन्तिम प्रक्रिया बाँकी रहेकोले राजधानीबासीको माग र समस्यालाई मध्यनजर गर्दै रोक्का जग्गा फुकुवा गर्न थालेको बताउनुभयो ।

जग्गा फुकुवा भएपछि फेरि पहिले कै अवस्थामा नेपाल राष्ट्र बैंकको निति अनुसार धित्तो मूल्याङ्कनका आधारमा बैंकहरुले निर्धकका साथ लगानी गर्ने तथा पूर्णरुपले किनबेच गर्न सक्ने गरी जग्गा फुकुवा गर्न लागेको अध्यक्ष चौधरीले बताउनुभयो । तर जग्गा किनबेच गर्दा भने किने व्यक्ति र बिक्री गर्ने दुबै व्यक्ति अनिवार्य रुपमा जग्गा एकिकरण आयोजनामा समावेश हुने सर्तमा मात्र किनबेच गर्न पाइने तथा बैंकमा ऋण लिंदा समेत प्रदेश राजधानी जग्गा एकिकरणको वडा—वडामा स्थापना हुने कार्यालयबाट सिफारिस लिनुपर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

यता प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाले माघ १ गते देखि वडा—वडामा कर्मचारी खटाउने भएको छ । जग्गा एकिकरण आयोजनालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन र आयोजनाको कामलाई गति प्रदान गर्न इन्जिनियर सहितको टिम वडा—वडामा खटाउन लागेको प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाका अध्यक्ष चौधरीले बताउनुभयो । राजधानी क्षेत्रका १४ वटै वडाहरुमा इन्जिनियर, अमिन, अधिकृत र सवओभरसियर सहितको कर्मचारी खटाउने गरी काम थालेको अध्यक्ष चौधरीले जानकारी दिए । जसका लागि आवश्यक कर्मचारीहरु नियुक्ति गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।

२०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाई भन्दा बढी सांसदहरुको समर्थनमा प्रदेशको नाम लुम्बिनी र दाङ—देउखुरीको भालुवाङलाई केन्द्रबिन्दु मानेर राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वाड नम्बर ८ र ९ लाई समेटेर राजधानी राप्ती उपत्यका घोषणा गरेको थियो । राजधानी घोषणा संगै तत्कालिन प्रदेश सरकारले राजधानी क्षेत्रको जग्गा समेत रोक्का गरेको थियो ।

दाहाललाई प्रधानमन्त्रीको सपथ

आठ सदस्यीय मन्त्रिमण्डल

राप्ती पोष्ट

दाङ, ११ पुस । नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहालले सपथ लिनुभएको छ । प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सहित तीनजनालाई उप प्रधानमन्त्री र अन्य चारजनालाई मन्त्री पदको शपथ गराउनुभयो ।

प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त हुनुभएको छ । अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ । अर्थमन्त्रीका रुपमा उहाँ तेस्रो पटक जिम्मेवारीमा आउनुभएको छ ।

यसैगरी माओवादीबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उप प्रधामन्त्री सहित भौतिक पूर्वाधार मन्त्रालय पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका रवि लामिछाने उप प्रधानमन्त्री सहित गृहमन्त्री बन्नुएको छ । नेकपा एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

आठ सदस्यीय मन्त्रिपरिषद्‍मा एमालेका राजेन्द्र राई र जनमतका अब्दुल भने पहिलोपटक मन्त्री हुनुभएको छ । यो सरकारलाई नेकपा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थनप्राप्त छ । नेपालको संविधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रावधान भएकाले पछि १७ मन्त्री थप गर्ने प्रधानमन्त्री दाहाललाई सुविधा छ ।

ओलीको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ भोलि ४ बजे

राप्ती पोष्ट

काठमाडौं, १० पुस । नेकपा एमाले लगायतको समर्थनमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ ९२० बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ ।

यससँगै उहाँ नेपालका ४४ औँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।
साथै तीन जना स्वतन्त्र सांसदहरुले पनि दाहाललाई समर्थन गरेका छन्। स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभू शाह र किरण कुमार यादवले समर्थन गरेका हुन्। स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन उहाँलाई छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।

रुकुमका पत्रकारसंग प्रेस काउन्सिलकाे अन्तरक्रिया

रूकुममा पत्रकार आचारसंहिता अन्तरक्रिया
महेश केसी (रूकुम पश्चिम)

जिल्ला सदरमुकाम खलंगामा आज पत्रकार आचारसंहिता, पत्रकारिता वर्गिकरण एवम् मिडिया विकास कोषको सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा पत्रकार आचारसंहिताका बिषयमा प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य ठाकुर प्रसाद वेल्वासेले, पत्रपत्रिका मुल्याङकन र वर्गीकरणका बिषयमा काउन्सिलका वोर्ड सदस्य शरद अधिकारीले र मिडिया विकास कोषको सुविधाका बिषयमा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रस्तुतीकरण गरेका थिए ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रूकुम पश्चिमको संयोजनमा भएको कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि एवम् संञ्चारकर्मीको सहभागिता थियो ।

प्रगतिशील विचारधारालाई जीवन्त बनाउन समाजमा चेतना बढाउनुपर्ने

प्रलेसद्वारा छ जना श्रष्टा पुरस्कृत, एकजनालाई सम्मान

छवि पुरी/राप्ती पोष्ट

घोराही, पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा ६ जना साहित्यकारलाई पुरस्कृत र एकजना राजनीतिज्ञलाई सम्मान गरेको छ । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षता तथा प्राध्यापक डा. भागवत शर्माको प्रमुख आतिथ्य तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा आज भएको कार्यक्रममा श्रष्टाहरुलाई सम्मान गरिएको हो ।

यस वर्षको प्रगतिशील साहित्य पुरस्कार प्रलेस दाङका संस्थापक सदस्य सुन्दर गौतमलाई प्रदान गरिएको छ । यसैगरी पद्मप्रसाद शर्मा र शान्ता देवि अधिकारीले स्थापना गर्नुभएको अनन्त–टीका प्रतिभा पुरस्कार डा. विन्दु शर्मालाई, रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि–जमुना साहित्य पुरस्कार टीकाराम रेग्मीलाई प्रदान गरिएको छ ।
ऋषिराज जंगलीले स्थापना गर्नुभएको लिला–फना–बसन्ता श्रष्टा सम्मान साहित्यकार पद्मप्रसाद शर्मालाई प्रदान गरिएको छ । यसैगरी भक्तिराम ज्ञवालीले स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दुर्गादवी अधिकारीलाई र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार श्रीधर भावुकलाई प्रदान गरिएको छ ।

यसैगरी, प्रलेसले हरेक वर्ष एकजना वामपन्थी चिन्तक एवम् वरिष्ठ साहित्यकारलाई सम्मान गर्दै आएकोमा यस वर्ष रश्मीराज नेपालीलाई सम्मान गरेको छ । कार्यक्रममा प्राध्यापक डा. शर्माले कम्युनिस्ट विचारधारामा विचलन बढ्दै गएको हुँदा यसको असर आम जनमानसमा पर्दै गएको बताउनुभयो । उहाँले प्रगतिवादी साहित्य र प्रगतिशील साहित्य कम्युनिस्ट विचारधाराबाट मात्रै नभई अहिलेको आवश्यकतालाई मध्यनजर गरेर अघि बढ्न जरुरी रहेको तर्क गर्नुभयो । ‘प्रगतिशील विचारधारामा अहिले धेरै पक्षका वादहरु मिसिँदै गएको छ, यसका लागि स्पष्ट रुपमा कम्युनिष्ट विचारधाराको प्रवाह हुनु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘विचारधाराको विचलन रोक्न आवश्यक छ ।’

हरेक वामपन्थी शक्तिहरुको आवाज र विचारलाई एक ठाउँमा ल्याउन सकेमा जनमतको सम्बोधन गर्न सक्ने आधार बन्ने औँल्याउँदै यसमा प्रगतिवादी साहित्य उत्तम विकल्प रहेको जिकिर गर्नुभयो । वरिष्ठ साहित्यकार शर्माले प्रगतिशील विचार, वाद र सिद्धान्तका बारेमा वहस कम हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । प्रगतिशीलता बुझ्न हरेकले मार्क्सवाद, लेनिनवादको सिद्धान्त अध्ययन जरुरी रहेको तर्क गर्दै अक्टोबर क्रान्तिपछि प्रगतिशील र वादको अवधारणाले उचाई पाएको हुँदा अब बोलीमा मात्रै नभई व्यवहारमा लागू गर्न जरुरी रहेको बताउनुभयो ।

‘मुखले प्रगतिशील विचारधारा र दर्शनले मात्रै पुग्दैन अब व्यवहारमा पनि लागू गर्नैपर्छ । मुल बाटो छाडेर नै अहिले विचलन आएको हो,’ उहाँले भन्नुभयो, ‘प्रगतिशील विचारवादीहरुले ब्राण्ड भजाएर मात्रै हुदैन, चरित्र दर्शन प्रगतिशील हुनुपर्छ, त्यसका लागि व्यवहार र चरित्र बदलिनुपर्छ ।’ उहाँले समाजले समाजवादबाट लाभ लिनुपर्नेमा व्यक्तिवादी चरित्र हावी भएको तर्क गर्नुभयो । विद्यमान निराशाको चित्रलाई हटाउँदै संकट टार्न अब प्रगतिशील साहित्यबाट मात्रै सम्भव हुने उहाँको भनाई थियो । ‘द्वन्द्वात्मक विचार धारा अहिले आवश्यक भएको हुँदा समाजमा प्रगतिशील विचारधारालाई जीवन्त बनाउन समाजमा यसको चेतना बढाउनु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

पूर्व सांसद सुष्मा शर्मा घिमिरेले दसरा मसरा जस्तै बन्दै गएको माक्र्सवादी पक्षधरहरुमा वैचारिक स्पष्टता जरुरी रहेको तर्क गर्नुभयो । प्रगतिशील विचार धारालाई स्पातिलो बनाउन माक्र्सवाद, प्रगतिशील विचारधारा सिद्धान्तको सशक्त प्रशिक्षण जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिष्ट विचारकहरुमा अहिले धेरै कुराको प्रभाव पर्दै गएको छ, उनीहरु अहिले एउटै विचारधाराको प्रभावमा छैनन्, दसरा मसरा जस्तै बन्दै गएको माक्र्सवादी पक्षधरहरुमा वैचारिक स्पष्टता जरुरी छ ।’

कार्यक्रममा प्रलेस पूर्व केन्द्रीय उपाध्यक्ष शशीधर भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्रलेस सल्लाहकार पुरुषोत्तम खनाल, पुरस्कार संस्थापक ऋषिराज जंगली, सम्मानितहरुका तर्फबाट टीकाराम रेग्मी, रश्मीराज नेपाली, प्रलेस केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मालगायतले भनाई राख्नुभएको थियो । सम्मानित पुरस्कृत श्रष्टाहरुको परिचय बारे प्रलेस दाङका पूर्व अध्यक्ष केशव थापाले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव डिल्ली मल्ल संगीतले गर्नुभएको थियो ।

 

सम्मानका पात्र क. श्रीमणि आचार्य

शरद अधिकारी

दाङको कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणि आचार्यको निधन भएको आज १५ बर्ष पुगेको छ । हिजो भर्खर जस्तो लाग्छ तर १५ बर्ष पुगिसकेछ । २०६४ सालमा आजकै दिन अर्थात पुसको ३ गतेका दिन श्रीमणि आचार्यको निधन भएको थियो । श्रीमणि आचार्यलाई सँझनुपर्ने धेरै कारण छन् । उहाँले नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिनुभएको थियो । पंचायती व्यवस्थाको अन्त्यका लागि संघर्षको मैदानमा होमिनुभएका आचार्य २०५१ सालमा झण्डै मृत्युको मुखमा पुग्नुभएको थियो । त्यतिवेला विजौरी काण्डमा पर्नुभएका श्रीमणि आचार्यको निधन पछि त्यहि कारणले भयो । पंचायती व्यवस्थाको समयमा उहाँ शिक्षण पेशामा हुनुुहुन्थ्यो । त्यसपछि अर्थात २०४९ सालको स्थानीय तह निर्वाचनमा उहाँ शिक्षण पेशा छोडेर राजनीतिमा पूर्णकालिन भएर होमिनुभयो । त्यसपछि उहाँ विभिन्न भूमिकामा रहनुभयो । पार्टी जिल्ला सदस्य, सचिव हुँदै अंचल सचिवसम्म उहाँको जिम्मेवारी थिथयो । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा हुनुहुन्थ्यो । लोकतान्त्रिक गणतन्त्र स्थापनामा भूमिका खेल्नुभएका आचार्यको निधन २०६४ सालमा भएको थियो । लामो समय देखि विरामी पर्नुभएका आचार्यको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

श्रीमणि आचार्य दाङमा जन्मिएको भएपनि राष्ट्रिय रुपमा उहाँको योगदान विशिष्ट रहेको कुरामा कुनै शंका छैन । दाङका कम्युनिष्टहरुले मात्रै विचारका हिसावले उहाँको विचारसंग अहमति राख्नेहरुले पनि संझिरहने नाम हो श्रीमणि आचार्य । कम्युनिष्टहरुले त सजिलोसंग विर्सने नाम होइन । आचार्यले जिन्दगीलाई दाउँमा राखेर कम्युनिष्ट आन्दोलनमा जसरी आफूलाई होम्नुभएको थियो त्यसको अनुशरण गर्नेहरु अहिले पनि धेरै रहेका छन् । निधन हुनु अघिसम्म उहाँको जिम्मेवारी राप्ती अंचल समन्वय कमिटीको सदस्यका रुपमा थियो । त्यसअघि उहाँले लामोसमय सम्म दाङ जिल्ला कमिटीको प्रमुख पद सचिवको जिम्मेवारी सम्हाल्नुभयो । जिल्ला कमिटीमा लामो समय रहनुभएका आचार्यले जुन भूमिका निर्वाह गर्नुभयो त्यसको सवैले अहिले पनि संझना गरिरहेका छन् ।

उहाँको पार्टीमा आवद्ध रहेकाहरु मात्र होइन विपक्षिहरु पनि उहाँको व्यवहार र बैचारिक अडान देखेर कायल हुने गर्दथे । विपक्षिहरुलाई पनि आफ्नो पक्षमा सजिलोसंग ल्याउन सक्ने अचम्मको खुवी थियो उहाँसंग । एक हिसावले भन्दा आचार्य जन जनका नेता हुनुुहुन्थ्यो । मन मनका नेता हुनुहुन्थ्यो । दाङ लगायत राप्ती अंचल मात्र होइन देशभरका इमान्दार कम्युनिष्टहरुले जहिले पनि संझना गर्ने यौटा व्यक्तित्वका रुपमा हुनुहुुन्थ्यो श्रीमणि आचार्य । श्रीमणि आचार्य तत्कालिन नेकपा एमालेमा आवद्ध भएर राजनीतिमा लाग्नुभयो । उहाँको योगदानको संझना अरुले पनि गर्ने गरेका छन त्यहि संझना उहाँले कमाएको सवैभन्दा ठूलो पूँजी हो ।

आचार्यले अन्य राजनीतिक दलसंग जुन खालको सम्वन्ध विस्तार गर्नुभएको थियो त्यो सम्वन्ध सायदै अरु कुनै दलको नेताले राख्न सकेका थिए होला । राजनीतिमा श्रीमणि आचार्यले पुराएको योगदानको कुरा गर्ने हो भने कतिसम्म भने माध्यामिक विद्यालयको प्राधानाध्यापकको स्थायी जागिर छोडेर उहाँ राजनीतिमा होमिनु भयो । यसरी राजनीतिमा होमिनुभएका आचार्यले सरकारी लाभको पद भने कहिल्यै लिनुभएन । जागीर खाएकाहरुको चाहना भनेको कम्तीमा पनि २० बर्षसम्म जागिर खाने र पेन्सनमा निस्कने हुन्छ । पेन्सन भनेको आफू बाँच्दासम्म मात्र होइन श्रीमतीका लागि पनि आउँछ । यस्तो कुरालाई पनि श्रीमणिले चटक्कै छोड्नु भयो । उहाँले पार्टीको आग्रहमा स्थायी जागिरलाई छोड्नु भएको थियो । उहाँले शिक्षकका रुपमा पनि ठूलो योगदान गर्नुभएको छ । जुन योगदानका कारणले गर्दा आज पनि मानिसहरु श्रीमणी सरका रुपमा उहाँलाई संझना गरिरहन्छन् ।

२०४९ सालको स्थानीय निकायको निर्वाचनका लागि उहाँले जागिर छोड्नुभयो । राजनीतिका लागि, देश र जनताका लागि उहाँले गरेको यो ठूलो त्याग थियो । २०५१ सालमा मध्यावधि निर्वाचनको प्रचार प्रसारको क्रममा दाङको विजौरीमा भएको गोलिकाण्डमा उहाँलाई पनि गोली लाग्यो । त्यसपछिका सवै बर्ष उहाँ गोली बोकेर बाँच्नुभयो । अन्तिममा उहाँको मृत्यूको कारण पनि त्यहि गोली बन्यो । शरिरमा लागेको गोलीका छर्राहरु निकाल्न सकेको भए उहाँलाई क्यान्सर जस्तो भयानक रोग नलाग्ने र उहाँको मृत्यु नहुने जानकारहरुको भनाई रहेको छ ।

जीवनभर राजनीतिका नाममा देश र जनताका लागि जीवन समर्पण गर्नुभएका आचार्यको निधन २०६४ सालको पुस ३ गतेका दिन भएको थियो । त्यस अघिका केही महिना अघि देखि उहाँ विरामी हुनुहुन्थ्यो । उहाँको विरामीको मुख्य कारण भनेको २०५१ सालको गोलीकाण्डमा लागेको गोली हो । २०६२÷२०६३ सालको जन आन्दोलनका क्रममा उहाँ तुलसीपुरमा रहेर आन्दोलनको मोर्चामा होमिनुभयो । लोकतन्त्र प्राप्तिका लागि भएको पटक पटकको आन्दोलनमा उहाँ गिरफ्तारीमा पनि पर्नुभएको थियो । पंचायती व्यवस्थाको विरोधमा पनि उहाँ सक्रियताका साथमा लाग्नुभएको थियो । २०६२ सालमा भएको कथित स्थानीय निकायको निर्वाचनका क्रममा पनि उहाँलाई जेलमा राखिएको थियो । आचार्य बालवालिका, वृद्ध, युवा, राजनीतिककर्मी, कलाकार, पत्रकार लगायत सवैका लागि प्रेरणा दिने व्यक्तिका रुपमा हुनुहुन्थ्यो ।

दाङ जिल्लाबाट यौटा दैनिक पत्रिका सामुहिक रुपमा निकाल्नुपर्छ भन्ने उहाँको जोडबल रहेको थियो । यद्दपि उहाँको त्यो इच्छा बाँच्दासम्म सफल हुन सकेन । राप्ती अंचलका सवै जिल्लालाई समेटेर पत्रिका निकाल्नुपर्छ भनेर उहाँले तत्कालिन अवस्थामा एमालेका नेता कार्यकर्ताहरुलाई ठूलो उत्साह थप्ने काम गर्नुभएको थियो । राजनीतिमा लागेकाहरुका लागि मात्रै होइन राजनीतिमा नलागेकाहरुका लागि पनि उहाँ प्रेरणाको स्रोत हुनुहुन्थ्यो । बालक देखि बृद्धसम्मले संझने व्यक्ति हुनु पनि उहाँको सकारात्मक पक्ष हो । यो कुरा गरिरहदा के कुरा गर्नै पर्छ भने बाँच्दासम्म पनि श्रीमणि आचार्यलाई विवादमा पार्ने काम गरियो । मृत्यू पश्चात पनि सम्मानमा कन्जुस्याँइ गरिएको छ । उहाँ कसैले पनि कन्जुस्याँई गरिनुपर्ने व्यक्तित्व होइन । श्रीमणि आचार्यले जुन जीवन विताउनु भयो । वा जुन अवधिको जीवन पाउनुभयो । पार्टी, संगठन, देश र जनताको पक्षमा निरन्तर लागिरहनु भयो ।

श्रीमणि आचार्यको योगदानको संझना गर्ने र उहाँको संझनालाई दिगो बनाउने काम बाँचेकाहरुले गर्नुपर्छ । संसारमा त मानिस अरवौं आइसकेका छन् । अरवौं गइपनि सकेका छन् । तर सवैको योगदान चिरस्थायी हुँदैन । सवैको योगदानलाई मानिसले संझना गर्दैन । श्रीमणि आचार्यले पुराएको योगदानको सँझना नगर्नुपर्ने कुनै पनि कारण रहेको छैन । श्रीमणि आचार्य जस्ता योद्धालाई विर्सनै मिल्दैन । पहिले पनि उहाँको पार्टी नेकपा एमाले पटक पटक सत्तामा पुगेको थियो । आचार्यले जे सपना देख्नुभयो त्यो साकार बनाउने सपना आएको छ । उहाँले समृद्धिको सपना देख्नुभयो । समानताको सपना देख्नुभयो । त्यो पुरा गर्ने समय आएको छ । उहाँले जुन विचार दर्शन अंगाल्नुभयो । जुन मान्यतालाई अघि सार्नुभयो । जसरी आफूलाई राजनीतिका माध्यमबाट समाज रुपान्तरणमा आफूलाई होम्नुभयो त्यो अरुका लागि पनि प्रेरणाको विषय बन्नुपर्छ ।
आजसम्म उहाँका लागि जे गरिएन अव त्यो गर्नका लागि लागौं । उहाँको सँझना र सम्मानमा केही काम गरौं । उहाँको योगदानलाई लिपिवद्ध गर्ने काम गरौं । उहाँको जीवनलाई बुझ्ने र उहाँको व्यवहारबाट सिक्ने चेष्टा गरौं । श्रीमणि फर्किएर आउनु हुँदैन तर उहाँले गरेको योगदानको हामी सदा सँझना गर्न सक्छौं । उहाँको योगदानलाई अझै लामो समयसम्म टिकीराख्ने बनाउने काम गर्नुपर्छ । विगतलाई धिक्कार्नु भन्दा आगामी दिनमा उहाँको योगदानको सम्मान गर्ने बातावरण बनाउनुपर्छ । यहि आशा सहित क. श्रीमणि आचार्यप्रति भावपूर्ण शव्दश्रद्धा ।

प्राकृतिक चिकित्सामा अव्वल बन्दै दाङ वेलनेस हस्पिटल

राप्ती पोष्ट

घोराही, मंसिर । रोल्पाका अमरज्योति सेजवालका लागि पछिल्लो दुई महिना निकै सकसपूर्ण रह्यो । घरबाट काममा हिडेको छोरा भिरबाट लडेपछि टाउकोमा चोट लाग्यो । चोट लागेको छोरा हेमराज सेजवालको उपचारका लागि उहाँ कता कता धाउनुभयो । डेढ महिना अनेत्र भौतारिएपछि उहाँले छोराको उपचार घोराही–१० मा रहेको दाङ वेलनेस हस्पीटलमा गराइरहनुभएको छ । गएको मंसिर ८ गतेका दिन सेजवाल दम्पती छोरालाई लिएर वेलनेसमा आउनुभएको थियो । शुरुमा आउदाको अवस्थामा अत्यन्त धेरै सुधार भएपछि उहाँहरु निकै खुशी हुनुभएको छ ।

सन्तानमध्य जेठो सन्तान हेमराजको उमेर २४ बर्षको छ । छोराले काम गर्ला, परिवारलाई सहयोग गर्ला भन्ने बेलामा भिरबाट लडेर चोट लाग्यो । चोट लाग्दासाथ होलेरीमा रहेको स्वास्थ्य केन्द्रमा लगियो । होलेरीबाट घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनुभयो । त्यहाँबाट बाँकेको कोहलपुर पु¥याउनुभयो । बाहिरबाट देख्दा शरिरका अन्य भागमा कुनै चोट छैन । टाउकोमा चोट थियो । टाउकोमा लागेको चोटको उपचारका लागि बाँकेबाट काठमाडौं पुग्नुभयो । काठमाडौं पनि विभिन्न अस्पतालमा जानुभयो । डेढ महिना भौतारिएपछि उहाँलाई कसैले दाङमा प्राकृतिक विधीबाट उपचार गर्ने अस्पताल खुलेको बारेमा जानकारी दियो । त्यहि जानकारी अनुसार श्रीमती मोती सहित अमरज्योति दाङ आउनुभयो । ‘गएको मंसिर ८ गतेका दिन आएको हुँ, विभिन्न अस्पताल भौतारिदा हैरान भएको थियो, यहाँ आएको केही दिनमै सुधारबो लक्षण देखिएको छ ।’ अमरज्योतिले भन्नुभयो ।

टाउकोमा बाहिर लागेको चोट निको भइसकेको छ । भित्री चोट रहेको चिकित्सकहरुले बताएका छन । टाउकोमा रगत जमेको कुरा चिकित्सकले बताएका छन् । उपचारका लागि अनेकन विधि अपनाउँदा पनि नभएपछि आफू वेलसनमा आएको उहाँको भनाई छ । ‘मंसिरको ८ गते आएको र यहाँ आउँदा मुर्दा हो कि जिउँदो हो भन्ने थाहा नपाउने अवस्था थियो, भोलीपल्टबाटै खुट्टा चल्न थाल्यो । हेमराज अहिले बोल्न थाल्नुभएको छ । बोल्दा उहाँले अहिले होस नपु¥याइ बोल्ने गरेको भएपनि विस्तारै ठिक हुने भनाई चिकित्सकको छ ।

यसैगरी केही दिन यता उपचार गराइरहनुभएका प्रेम गहतराजले पनि आफू आएको केही दिनमै ठिक हुन थालेको बताउनुभयो । ढाडको नसा च्यापिएका कारणले गर्दा आफूलाई उठन बस्न पनि समस्या हुने गरेको भन्दै गहतराजले ‘आफूले उचारका लागि विभिन्न अस्पतालमा जाँदा पनि ठिक नभएको बताउनुभयो । विभिन्न अस्पतालमा गए, औषधी त कति खाए कति खाँए, दैनिक २२ वटा गोली पनि खानुपर्ने अवस्था थियो, यता आएपछि धेरै ठिक भएको छ ।’ भन्नुभयो । एक महिनाको अवधिमा आफूमा निकै परिवर्तन आएको भन्दै गहतराजले वेलनेसमा राम्रो उपचार हुने गरेको बताउनुभयो ।

घोराही–१० मा संचालनमा आएको वेलनेस हस्पिटल संचालन भएको करिव ६ महिना भएको छ । औपचारिक रुपमा उद्घाटन नगरिएको भएपनि सेवा दिन थालिएको छ । यो अवधिमा तीन सय बढीले सेवा लिएको संचालक समितिका अध्यक्ष छवि पुरीले बताउनुभयो । उहाँका अनुसार हाल दुई जना डाक्टरहरु यहाँ कार्यरत हुनुुहन्छ । डा. हिरा गिरी र डा. तनुजा सिंहले सेवा गरिरहनुभएको छ । उहाँ बाहेक अरु करिव एक दर्जन भन्दा बढी जनशक्ति यहाँ खटिएको छ ।
पश्चिम नेपालमै आफूहरुले संचालन गरेको अस्पताल सुविधा सम्पन्न रहेको दावी गिरीको छ । उहाँका अनुसार हाल २० वटा बेड रहेका छन् । करिव एक विगाहा जमिनमा अस्पताल संचालन गरिएको छ । उपचारका लागि क्वाविनको व्यवस्था समेत गरिएको छ । विरामीलाई अर्गानिक खानाको व्यवस्थाका लागि तरकारी खेती पनि गरिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा. हिरा गिरी यो उपचार अन्य भन्दा फरक उपचार विधि भएको बताउनुहुहुन्छ । यसमा विरामीको उपचार गर्न निकै गाह्रो हुने भन्दै विरामीको भावना बुझेर उपचार गर्नुपर्ने बताउनुभयो । वेलनेसमा आएका सवै राम्रो सेवा पाएर फर्किएको भन्दै डा. गिरीले सरकारी निकायबाट थप सहयोग हुने हो भने अझै धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय पालिकासंग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

कुनै कारणले दुर्घटनामा पर्ने, उपचार गर्दा निको नभएकाहरुका लागि यस्तो उपचार विधि राम्रो मानिन्छ । यस्तो उपचारका लागि समय लाग्ने गरेपनि निको हुने उहाँको अनुभव रहेको छ । विरामीको सजिलोका लागि आफूहरुले अभिभावकसंग पनि परामर्श गर्ने गरेको उहाँको भनाई छ ।

प्राकृतिक चिकित्सामा डाक्टर गर्नुभएका लोकराज पराजुली दाङ जिल्लामा यस्तो खालको उपचार पद्दतिको सुविधा हुनु निकै राम्रो भएको बताउनुुुहुन्छ । अन्य औषधीले निको नभएका विरामीहरु यस्तो उपचार पद्दतीमा आउँदा निको हुने गरेको उहाँको भनाई छ । यसमा विरामीलाई कुन विधीबाट सजिलो गराउने भन्ने हुन्छ । विरामीको अवस्था अनुसार र तनाव रहित तरिकाले उपचार गर्नुपर्ने उहाँको धारणा छ । घोराही उपमहानगरपालिका वडा नं. १० मा पर्ने गुर्जे खोलादेखि केही पश्चिम घोराही तुलसीपुर सडकको दक्षिण तर्फ अस्पताल रहेको छ ।

प्रलेस दाङले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने

 

राप्ती पोष्ट

घोराही, मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेसले आगामी पुस ३ गतेका दिन ३० औं स्थापना दिवसका अवसरमा छ जना साहित्यकारलाई पुरस्कृत र एकजना राजनीतिज्ञलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयो ।

प्रलेसले गठन गरेको प्रतिभा छनौट समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय अनुसार यस बर्षको प्रगतिशील साहित्य पुरस्कार प्रलेस दाङका संस्थापक सदस्य सुन्दर गौतमलाई प्रदान गरिने भएको छ । यसैगरी पद्मप्रसाद शर्मा र शान्ता देवि अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार डा. विन्दु शर्मालाई, रामप्रसाद जैसी र नारदमणि पोख्रेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार टिकाराम रेग्मीलाई प्रदान गरिने भएको छ ।

छनौट समितिका संयोजक पुरुषोत्तम खनालले दिनुभएको जानकारी अनुसार ऋषिराज जंगलीले स्थापना गर्नुभएको लिला, फना बसन्ता श्रष्टा सम्मान साहित्यकार पद्मप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । यसैगरी भक्तिराम ज्ञवालीले स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दुर्गादवी अधिकारीलाई र श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार श्रीधर भावुकलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनौट समितिका अनुसार प्रलेसले हरेक बर्ष एकजना बामपन्थी चिन्तक एवं बरिष्ठ साहित्यकारलाई सम्मान गर्दै आएकोमा यस बर्ष रश्मीराज नेपालीलाई सम्मान गर्ने निर्णय भएको छ । अधिकारी लामो समयदेखि बामपन्थी राजनीतिमा कृयाशिल हुनुहुुन्छ ।

प्रगतिशील लेखक संघले हरेक बर्ष पुसको ३ गतेका दिन स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसमा श्रष्टा सम्मान, पुरस्कृत र साहित्यीक कार्यक्रम गर्दै आएको छ । प्रलेस दाङले गठन गरेको प्रतिभा छनौट समितिकोे संयोजकमा खनाल र सदस्यमा प्रलेसका पूर्व केन्द्रिय सदस्य शरद अधिकारी र जिल्ला उपाध्यक्ष रेशम विसी हुनुहुुन्थ्यो ।

मुक्त कमलरीको बारेमा सवैले सोच्नुपर्ने

राप्ती पोष्ट समाचारदाता

घोराही, मंसिर । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले मुक्त कमलरीहरुलाई पुनःस्थापनाको काममा सबैको पहल आवश्यक रहेको बताउनुभएको छ । मुक्त कमलरी विकास मन्चले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बुधबार घोराहीमा आयोजना गरेको सचेतनामुलक अभिमुखिकरण कार्यक्रममा उहाँले छात्रावासमा बसेका मुक्त कमलरीहरूलाई सबै पालिकाले आ–आफ्नो दायित्व सम्झेर सहयोग गर्न आग्रह गर्नुभयो ।

कसैलाई पनि बधुवा मजदुर बनाउन नहुने बताउँदै हिजोका दिनमा सरकारले कमरी मुक्त बनाएपछि गर्नुपर्ने पुनस्थापनाको काममा भएको ढिलाईले आज उनीहरुले अनेकन समस्या भोग्न बाध्य भएको बताउनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मनोजकुमार सिंहले कृषि व्यवसायबाट आम्दानी गर्न चाहने मुक्त कमलरीले कृषि ज्ञान केन्द्रबाट आएर सहयोग लिन सक्ने जानकारी गराउनुभयो । केन्द्रले बीउ र प्राबिधिक सहयोग गर्ने भएकाले सहयोग लिन आउन उहाँको आग्रह थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले मुक्त कमलरीले आफ्नो जीविकोेपार्जनलाई व्यावसायिक बनाउन आग्रह गर्नुभयो । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले कमलरीको बर्तमान अबस्था, समस्या र चुनौतीका बारेमा विषय प्रवेश गराउनुभएको थियो ।

कार्यक्रममा घोराही २ का वडा सदस्य शरद बुढाथोकी, घोराही –८ का वडा सदस्य चुडामणि चौधरी, थारु कल्याणकारी सभाका अशोक चौधरी लगायतले भनाई व्यक्त गर्नुभएको थियो । मुक्त कमलरी बिकास मंचका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुलोचना चौधरीले गर्नुभएको थियो ।