spot_img
Home Blog Page 44

लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा गिरीको नियुक्ति

राप्ती पोष्ट

देउखुरी, पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त हुुनुभएको छ । लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३र३, सीट छन् । नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ सदस्य छन् । बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे शपथको कार्यक्रम छ ।

लुम्विनी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा गिरिले कार्यभार सम्हाल्नुहुनेछ । यस अघि अर्थात पहिलो सरकारमा गिरी उद्योग तथा पर्यटन मन्त्रीका रुपमा हुनुुहुन्थ्यो ।

को हुन नव नियुक्त मुख्यमन्त्री गिरी

दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ । नयाँ राजनीतिक समीकरणका आधारमा नेकपा माओवादी केन्द्रलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्यूरो सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाउनुभएको छ ।

यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालीन नेतृत्वको रूपमा चिन्ने गरिन्छ । मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेशसभामा विजयी हुनुभयो । अघिल्लो निर्वाचनमा पनि उहाँ यसै क्षेत्रबाट विजयी हुनुभएको थियो ।

गिरीको जन्म २०११ साल चैत १४ गते रुरु गाउँपालिका– ५ गुल्मीमा भएको थियो । बिएसम्म अध्ययन गरेका गिरीको विशेष दख्खल कृषिमा विविधीकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा छ । उहाँ राजकीय जिम्मेवारीमा लुम्बिनी प्रदेशसभा सदस्य, प्रदेश सरकारमा मन्त्री बन्नुभयो । उहाँले उद्योग वन, पर्यटन, वातावरणमन्त्रीको नेतृत्व गर्नुभयो भने केही समय आन्तरिक मामिला तथा कानुनमन्त्री, स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी निभाउनुभएको थियो । उहाँको राजनीतिक जीवन पञ्चायतका विरुद्ध आवाज उठाउँदै अघि बढ्यो । २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरूको विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरूसँगै आन्दोलनमा सहभागी हुनुभयो ।

गिरीले शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यववस्थाको पहिलो जननिर्वाचित अध्यक्ष भएर काम गर्नुभएको थियो । सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दलमा सहभागी हुनुभयो । सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीतिमा प्रवेश गर्नुभयो । शाही कूका विरुद्ध लाग्दा गिरीले जेलयातना समेत भोग्नुभयो । २०६१ माघ २७ देखि ०६२ वैशाख २८ गतेसम्म जिल्ला कारागारमा बस्नु परेको थियो ।

गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष भएर काम गर्नुभयो ।

वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्जका रुपमा हुनुुहुन्छ ।

सरकारको नीति तथा कार्यक्रम

नयाँ सरकार गठन भएको धेरै दिन भएको छैन । करिव दुई साता हुँदा नीति तथा कार्यक्रम आएको छ । नयाँ सरकार बन्दा नीति तथा कार्यक्रम ल्याउने आम चलन जस्तै भएको छ । सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी यात्रा तय हुने विश्वास गरिन्छ । सरकारले आफ्नो कार्यकालमा के कस्ता काम गर्ला भन्ने सन्दर्भमा नीति तथा कार्यक्रमलाई आधार लिइन्छ । यसपाली नयाँ सरकार बनेपछि नीति कार्यक्रम आएको छ । यो कार्यक्रम ल्याउनु अघि राजनीतिक दलका शिर्ष नेताले यसका बारेमा छलफल गरेका थिए । यसपालीको नीति तथा कार्यक्रममा समेटिएका विषयहरु निम्न रहेका छन् । नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचनागत सुधार, लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा, दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, मेक इन नेपाल ः काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार, स्वस्थ नेपाली, निरोगी नेपाल, खाद्य, आवास र खानेपानी, कृषिक्षेत्रको रूपान्तरण र ऊर्जा विकास रहेका छन् । यसैगरी मर्यादित श्रम र सामाजिक संरक्षण, वैज्ञानिक भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान, सूचना प्रविधि, युवा र खेलकुद, पर्यटन, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय एकता, वन– वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, महिला सहभागिता, सशक्तीकरण र समावेशिता, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय र संघीयता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन रहेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको छ । पहिलेका सरकारले पनि यस्तै कार्यक्रम ल्याउँथे । पहिलेका सरकारले ल्याउने गरेका नीति तथा कार्यक्रम राम्रा थिएनन् र यसपाली उल्कै राम्रो ल्याए भन्ने छैन । पहिले पनि नीति कार्यक्रम आउँथे अहिले पनि आएका छन् । अहिलेको सरकारलाई समर्थन गर्नेहरु सानो संख्यामा सांसद भएकाहरु रहेका छन् । तिनीहरुको कुराको कति सुनुवाई भयो होला र ? अथवा तिनीहरुले पनि नयाँ कार्यक्रम के भन्न सके होलान र ? नीति तथा कार्यक्रमको समस्या भनेकै कार्यान्वयनमा हुने गर्दछ । नीति तथा कार्यक्रम सरकारले गर्ने सराद्दे जस्तो भएको छ । नयाँ सरकार आएपछि ल्याउनैपर्ने । नयाँ आर्थिक बर्षको सुरुमा ल्याउनै पर्ने कार्यक्रम जस्तो भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई जनताले कुन रुपमा लिए भन्ने हो । जनता नतिजाको पर्खाइमा रहेका छन् । नयाँ सरकार बनेको त्यसैले यसलाई केही समय त शंकाको सुविधा दिनुपर्छ भन्ने होला । पात्र फेरिएका मात्रै हुन् । जहिले जो शक्तिमा छन हिजोका दिनमा कुनै न कुै रुपमा यिनै पात्रहरु शक्तिमा थिए । शासनमा थिए । हिजोका दिनमा जनअपेक्षा अनुरुप काम गर्न नसक्नेहरुमा आज रातारात कहाँबाट त्यस्तो शक्ति आउँछ । जो व्यक्ति सरकारमा जान्छ उसले केही नयाँ गर्दछु भनेर घोषणा गर्दछ । सरकारमा बस्दासम्म काम गर्न नसक्ने अनि सरकारबाट बाहिर भएपनि अनेकन थरी आरोप प्रत्यारोप गर्ने । नेपाली राजनीतिमा एउटा यस्तो कुसस्कार बसिककेको छ । जुन दलदलबाट नेपालको राजनीति माथि उठ्न सकेको छैन ।

सरकारमा को व्यक्ति गयो भन्दा पनि त्यो व्यक्तिले कसरी सोच्दछ भन्ने हो । सरकारले ल्याउने नीति तथा कार्यक्रमका आधारमा मात्रै सरकारलाई समर्थन गर्ने भनेर बस्नेहरु पनि छन् । अहिले समर्थन गर्ने दलहरु कुनै दिन समर्थन फिर्ता गर्न पाइन्छ र अर्कोसंग बढी फाइदा लिन सकिन्छ भनेर पर्खिरहेका छन् । संसदमा धेरै दल हुँदा सरकारको नेतृत्वगर्नेलाई यहि गाह्रो हुन्छ । सरकारको नेतृत्व गर्नेको कामै भनेको यताबाट उता र उताबाट एताकालाई मिलाउनु हुन्छ । अहिलेको सरकारको जग त्यति बलियो छैन । अहिले समर्थन लिने र तुरुन्तै फिर्ता लिने हो भने त्यो पनि आश्चर्य नमान्दा हुन्छ । सरकारको नीति तथा कार्यक्रमका आधारमा समर्थन गर्ने हो भने नीति तथा कार्यक्रम ठिकै बनेको छ । यहि नीति तथा कार्यक्रमलाई आधार बनाएर अघि बढ्ने हो भने नेपालमा विकासको लहर ल्याउन सकिन्छ । जनतालाई राहत दिन सकिन्छ । भ्रष्टाचार केही हदसम्म भएपनि कमगर्न सकिन्छ । नेपाल देशलाई लागेको महारोग भनेकै भ्रष्टाचार हो । नेपाललाई लागेको महारोग अन्त्यका लागि सरकारले प्रतिवद्धता गर्नै पर्दछ । सरकारमा जानेले सरकार जोगाउनका लागि मात्रै ध्यान दिने । सरकार भन्दा बाहिर रहेकोले सरकार ढाल्नका लागि ध्यान दिने हो भने नेपाली जनताले अझै दुःख पाउनुपर्ने हुन्छ । अघिल्लो पटक झण्डै दुई तिहाइको सरकार थियो । नेकपा एमालेको कुरा गर्ने हो भने थोरैले मात्रै बहुमत पुगेको थिएन । अहिले त्यो अवस्था छैन । जोडिएकाहरु कतिसम्म मिलेर बस्लान भन्ने हो । अहिले सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ यसको कार्यान्वयन हुन सकोस भन्ने शुभकामना मात्र दिन सकिन्छ ।

प्रदेशस्तरीय महिला क्रिकेट छनौटको उपाधि रुपन्देहीलाई

छबि पुरी/राप्ती पोष्ट

घोराही,  पुस । प्रंधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता अन्तरगतको फाईनल खेलमा दाङ ७ रनले पराजित भएको छ । दाङको घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा पुस २३ गतेदेखि आजसम्म भएको छनौट प्रतियोगितामा गत वर्षको विजेत रुपन्देहीले यो पटक पनि दाङलाई फाईनलमा ७ रनले हराउन सफल भएको छ ।

९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको दाङले विकेट पतन रोक्न नसक्दा हार ब्यहोर्न पुग्यो । दाङका लागि शुरुवाती ब्याटर लक्ष्मी चौधरीले रनको आशा जगाउँदै ५ बलमा १० रन बनाएर खेलिरहेका बेला विभाष्ना बिसीको बलमा क्याच आउट भएपछि दाङले लय समात्न सकेन ।

कप्तान सरस्वती जिएमले ५२ बल खेल्दै अविजित २३ रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । कमला जिएमले १२ बलमा ६, मधु डिसीले १३ बलमा १३, अनिता चौधरीले २० बलमा १५, प्रभा चौधरीले ७ बलमा ३ तथा अमृता अधिकारी र आशा  चौधरीले १–१ रन बनाएपनि अरु खेलाडीले खाता नै खोल्न सकेनन् ।  ७२ रन ब्याटबाट बनाएको दाङले १५ रन अतिरिक्त पाउँदै ८७ रनमा समेटिएपछि रुपन्देहीले यो पटक पनि फाईनल जितेको हो  ।

रुपन्देहीकी कप्तान कृतिका मरासिनीको कसिलो बलिङ सामु दाङको टीम धरासयी बन्यो । छनौट प्रतियोगितामा मरासिनीले उत्कृष्ट प्रदर्शन गर्नुुभएको थियो । आजको खेलमा पनि चार ओभरमा २ मेडन राख्दै जम्मा ६ रन दिएर महत्वपूर्ण चार विकेट लिएपछि दाङले फाईनलमा हार व्यहोरेको हो । यस्तै, विभाष्ना बिसीले चार ओभरमा १५ रन दिएर २ विकेट लिँदा सरु तिवारीले पनि पुरै स्पेल गरेर १७ रन दिएर १ विकेट लिनुभयो । सुस्मिता भुसाल र कविता खड्का विकेटविहीन हुँदै क्रमशः २५ र १९ रन दिनुभयो ।

यसअघि टसजितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले पुरै ओभर खेल्दै ६ विकोटको क्षतिमा ९४ रन बनाएको थियो । रुपन्देहीका ओपनर श्रुति बुढाथोकी र विभाष्ना बिसीले २० रन बनाउदै खेलि रहेका बेला अनिता चौधरीले आफ्नो पहिलो ओभरको चौथो बलमा श्रुतिलाई क्याच आउट गराएपछि सात दशमलव ४ ओभरमा रुपन्देहीले पहिलो विकेट गुमाएको थियो । रुपन्देहीका लागि विभाष्ना बिसीले ३३ बलमा खेल्दै सर्वाधिक २५ रन बनाउनुभयो । श्रुतिले ३४ बलमा १० रन बनाउँदा कृति सेनले १० बलमा ५ रनको योगदान दिनुभयो ।

यसैगरी, आशा मगरले १७ बलमा १५ रन बनाउँदा कप्तान कृतिका मरासिनीले १४ बलमा ११ रन, सरु तिवारीले ४ बलमा २ रन बनाउनुभयो । सुस्मिता भुसालले ६ बलमा अविजित १ रन बनाउनुभयो । रुपन्देहीले १८ रन अतिरिक्त पाएको थियो भने ब्याटबाट ७६ रन बनाउँदै ९४ रनको योगफल बनाएको हो ।  बलिङतर्फ दाङकी अनिता चौधरीले ४ ओभरमा २१ रन दिँदै महत्त्वपूर्ण ३ विकेट लिनुभयो भने कमला जिएमले ४ ओभरमा १५ रन दिएर २ विकेट लिँदा लक्ष्मी चौधरीले ३ ओभरमा १८ रन दिँदै १ विकेट लिनुभयो ।

दाङकी सर्मिला रोका र मधु डिसीले १ –१ मेडन राख्दै ११ र २० रन दिँदा विकेट विहीन रहनुभयो । फाईनलमा उत्कृष्ट प्रदर्शन गर्नुहुने रुपन्देहीकी कप्तान कृतिका मरासिनी प्लेयर अफ द म्याच हुनुभयो । छनौट प्रतियोगितामा फाईनल जितेको रुपन्देहीले ट्रफी उचालेको छ भने गत वर्षपनि फाईनलमा हार व्यहोरेको दाङले बदला लिने मौका गुमाएको छ । प्रतियोगिताको समापन समारोहमा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले खेलाडीलाई ट्रफी वितरण गर्नुभयो । समापन समारोह दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको थियो ।

प्रतियोगितामा दाङ, बाँके, रुपन्देही र नवलपरासी गरी चार वटा जिल्लाको सहभागीता रहेको थियो । प्रतियोगितामा  उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनौट गरी यही पुस २९ गतेबाट ईटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराईने नेपाल क्रिकेट संघका लुम्विनी प्रदेश सदस्य एवं छनोट समितिका संयोजक कैलाश रोकामगरले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशबाट १४ जना खेलाडी, प्रशिक्षक र टीम व्यवस्थापक तथा चार जना वैकल्पिक खेलाडी छनौट हुनेछन् । उक्त प्रतियोगितामा विभागीय टीम एपीएफसहित सात वटै प्रदेशको सहभागीता रहनेछ ।

तुलसीपुरको एयरपोर्ट र राजनीतिक दाउँपेच

शरद अधिकारी

२०११ सालमा पहिलो पटक विमान बसेको तुलसीपुरको एयरपोर्टको अवस्थामा सुधार आउन सकेको छैन । उतिवेला घाँसे मैदानका रुपमा रहँदा नै विमान बसेको थियो । अहिले घाँसे मैदानहरुमा विमान बस्न छोडेका छन् । नेपालमा अहिले तीनवटा विमानस्थल अन्तर्राष्ट्रिय स्तरका विमानस्थल रहेका छन् । काठमाडौं, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । लामो समयसम्म काठमाडौैंको विमानस्थल मात्रै अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रह्यो । पोखरामा आइतबार मात्रै नयाँ बर्षका उपलक्ष्यमा विमानस्थल सुभारम्भ गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल भनिएपछि ति विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावना कम छ । हाम्रो सानो देशमा धेरै अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने कुरा होइन । तर स्तरका हिसावले अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्दछ । अन्तर्राष्ट्रिय विमानस्थल कसरी अन्तर्राष्ट्रिय हुन्छ ? भन्दा यो गुणस्तरका हिसावले हुने हो । लामो रनवे हुँदैमा हुने होइन । ठूलो भवन बनाउँदैमा हुने होइन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा जुन सुविधा हुन्छ । जुन तरिका हुन्छ । जुन प्रक्रिया हुन्छ अनेत्र पनि त्यस्तै हुन्छ । कतै ठूलो होला । कतै सानो होला । तर अन्तर्राष्ट्रिय विमानस्थल भनेपछि गुणस्तर एकै खालको हुनुपर्छ । नेपालमा अहिलेसम्म तीनवटा मात्रै विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेका छन् । थप दुइृवटा विमानस्थलका बारेमा चर्चा चलिरहेको छ । बाराको सिमरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा धेरै बर्ष अघि देखि उठिरहेको छ । यहि विमानस्थललाई लक्षित गरेर बाराबाट काठमाडौं दु्रत मार्गको सुभारम्भ गरिएको छ । नेपालमा सवै काम ढीला गरी हुने भएकाले न दु्रत मार्ग बन्न सकेको छ । न त बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेको छ । कुरा धेरै भएको छ । काम निकै कम भएको छ । जसले गर्दा हामीले आफैलाई धिक्कार्नुपर्ने अवस्था छ । यसैगरी दाङमा पनि विमानस्थल बन्ने कुरा चर्चामा रहेको छ । खासगरी शंकर पोखरेलले दाङमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्न सक्ने र त्यसको आवश्यकतका बारेमा चर्चा गरिरहनुभएको छ । यदी दाङमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्यो भने त्यो बाराको भन्दा पनि अझ राम्रो हुने चर्चा पनि चलिरहेको छ । दाङमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ कि बन्दैन त्यो पछिको कुरा हो । त्यसका बारेमा पछि चर्चा गरौंला । अहिलेका लागि दाङमै रहेको विमानस्थलको दुरावस्था हेर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा सयौं बर्षसम्म पनि हुँदैन कि भन्ने लाग्छ ।

दाङको विमानस्थल नेपालका पुराना थोरै मध्य पर्दछ । दाङको भुगोललाई हेर्दा यहाँ एउटा राम्रो विमानस्थल बनाउनै पर्ने देखिन्छ । दाङबाट अहिले काठमाडौंमा एउटा प्लेन चल्दछ । त्यो पनि निकै सानो छ । कुनै बेला दैनिक दुई पटक पनि प्लेन चल्ने गर्दथ्यो । अहिले हप्तामा चार दिन चल्ने भएको छ । दैनिक दुई पटक उडान हुन सक्ने ठाउँमा किन हप्तामा चार पटक मात्रै विमान चल्दैछ ? कहिलेकाँही हप्तामा एक दिन मात्रै चल्ने, कहिले एक पटक पनि नचल्ने, पाइलटलाई चलाउन मन लागेन भने अन्तिम समयमा आएर रोकिदिने गरेका उदाहरण कति छन् कति छन । दाङबाट काठमाडौं मात्रै होइन मुलुकका अन्य शहरमा पनि प्लेन चल्न सक्छ । कुनै बेला दाङबाट नेपालगञ्ज पनि प्लेन चल्ने गर्दथ्यो रे । अहिले त्यो कहानी जस्तो मात्रै भएको छ । दाङबाट नेपालका अन्य शहरमा पनि प्लेन चल्न सक्ने प्रशस्त सम्भावना रहेको छ । केही बर्षअघिसम्म दाङबाट रुकुम, रुकुमबाट दाङ पनि प्लेन चल्ने गर्दथ्यो । खासगरी राजनीतिक दाउँपेचमा यहाँको विमानस्थल ओझेलमा परेको छ । दाङको विमानस्थलबाट ठूला विमान पनि चलाउन सक्ने हो भने नेपालगञ्जको वा भैरहवाको व्यापारमा कमी आउनेछ । नेपालगञ्जमा दैनिक रुपमा कयौं मानिसहरु विमान प्रयोग गर्नका लागि जाने गर्दछन् । दाङबाट नेपालगञ्ज जानका लागि कम्तीमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । भैरहवा जाँदा कम्तिमा पनि पाँच देखि छ घण्टाको यात्रा तय गर्नुपर्छ । दाङमै विमानस्थल राम्रो तरिकाले संचालन गर्ने हो भने नेपालगञ्ज जाने कसैलाई मन हुँदैन । यस्तै भैरहवा जानका लागि पनि कोही तयार हुँदैन । हामीकहाँ रहेको प्रमुख समस्या भनेको विमानस्थलको रनवे हो । यहाँको रनवे निकै छोटो रहेको छ । ठूला विमान बस्न सक्दैनन् । केही समयअघिसम्म दाङमा इन्धन डिपो नभएका कारणले गर्दा समस्या भएको हो भनियो । अहिले डिपो छ । इन्धन भर्न सकिन्छ । तर पनि ठूला विमान आउँदैनन् । अहिले भन्नका लागि त रनवे विस्तारका लागि सम्भावना नै छैन भनिएको छ । यसको सम्भाव्यता अध्ययन गरिनुपर्छ । तुलसीपुरमा रहेको विमानस्थलाई विस्तार गर्न सक्ने हो भने त्यहि गरौं होइन भने विकल्प खोजौं । आजको दिनमा यो कुराका बारेमा व्यापक बहस छलफल गर्नुपर्छ ।

दाङको विमानस्थल संचालनका लागि कहिले तुलसीपुर उद्योग बाणिज्य संघले पहल गर्दछ । कहिले तुलसीपुर उपमहानगरपालिकाले टिकट काट्ने व्यवस्था गर्दछ । जे गर्दा पनि यहाँ प्लेन नियमित हुन सकेको छैन । नेपालमा रहेको एकमात्र सरकारी विमान नेपाल एयरलायन्सको उदाशिनताका कारणले गर्दा यो समस्या भएको छ । ठूला विमान आउन नसक्ने । एकमात्र सरकारी विमान सेवा कम्पनीसंग अलि ठूला विमान पनि छैनन् । भएका केही ठूला अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग भइरहेका छन् । नीजि विमान कम्पनीहरु फाइदामा गइरहेका छन् । नेपालको एकमात्र सरकारी विमान कम्पनी धरासायी बन्दै गएको छ । यो सवै सरकारी उदाशिनताका कारणले गर्दा भइरहेको छ । विमान चलाउने कुराको जिम्मेवारी नीजि क्षेत्रले लिएर हुँदैन । नीजि क्षेत्रले विमान चलाउन सक्छ तर विमानस्थल चलाउन सक्दैन । नेपालमा कुनै पनि भुगोलमा नीजि क्षेत्रले विमानस्थल चलाएको छैन । जति पनि विमानस्थलहरु रहेका छन ति सवै सरकारी रुपमा रहेका छन् । सरकारी काममा यति उदाशिनता रहेको छ कि जसले जनताको अपेक्षा पुरा गर्न सकिरहेको छैन । यसैकारणले गर्दा नै दाङमा विमानस्थल सुधार हुन सकेको छैन ।

पदमा नपुग्दासम्म सवैले विमानस्थल सुधार गर्ने कुरा गर्दछन् । पदमा पुगेपछि सवै कुरा विर्सन्छन् । दाङको सवालमा पनि यहि भएको छ । भएको एउटा विमानस्थल ठिक तरिकाले संचालन हुन सकिरहेको छैन अव यहाँ कसरी अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छ भन्ने कुरा शंकामा रहेको छ । दाङमा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता टड्कारो रहेको छ । अन्तर्राष्ट्रिय विमानहरु आउँछन कि आउँदैनन त्यो अर्को कुरा हो । तर दाङको भुगोललाई हेर्दा यहाँ एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँनै पर्ने भएको छ । नेपालको भुगोललाई हेर्दा विमानस्थलको संख्या अझै बढाउनुपर्छ । जहाँ स्थल यातायातको अवस्था कमजोर रहेको छ त्यहाँ हवाई यातायात नै सजिलो र संस्तो माध्यम बन्न सक्छ । यो कुरामा नीति निर्माण गर्नेहरुले ध्यान दिन सकेका छैनन् । दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरु यो कुरामा मौन हुन्छन् । दाङबाट पटक पटक मन्त्री बनेकाहरुले यो कुरामा किन पहल गर्न सकिरहेका छैनन् । यहाँको आर्थिक विकासका लागि, यहाँको पर्यटनको विकासका लागि, यहाँको समग्र विकासका लागि विमानस्थल संचालन गर्नैपर्दछ । विमानस्थललाई राजनीतिको थलो बनाउनु हुँदैन । हामीकहाँ फोर लेन सडक राजनीति गर्ने विषय बन्छ । यस्तै पुलको विषय राजनीति गर्ने विषय बन्दछ । अन्य धेरै विषयहरु राजनीतिको दाउँपेचका विषयहरु बन्दछन् । जवसम्म हामीले यस्ता विषयलाई राजनीतिको खपतका विषयहरु बनाउँछौं तवसम्म हामीले विकासको लक्ष्य भेटाउन सक्दैनौं । समस्याको चुरो पत्ता लगाएर दाङ जिल्लामा नियमित रुपमा विमान चलाउने बारेमा योजना बनाउनै पर्दछ । दाङ जिल्लामा राम्रो विमानस्थल संचालन हुन नदिनका लागि कसले कहाँबाट भूमिका खेलिरहेको छ त्यसको पहिचान गरेर जानुपर्छ । निकै पुरानो विमानस्थल भएर पनि यसको विकास हुन सकिरहेको छैन । यसको विकासको बाधक को हो ? भन्ने कुराको पहिचान गरेर अघि बढ्न सकियो भने मात्रै यहाँ सुविधासम्पन्न विमानस्थल बन्न सक्छ ।

तुलसीपुरमा रहेको एयरपोर्ट अहिलेसम्म किन बन्न सकेन ? बन्न दिइएन कि बनाउने चाहना नै गरिएन ? आजको दिनमा सवैभन्दा महत्वपूर्ण कुरा हो यो । तुलसीपुरमा रहेको एयरपोर्ट बन्न नदिएको हो । नेपालजस्तो देशका लागि कुनै एउटा एयरपोर्ट बनाउने ठूलो कुरा होइन । तुलसीपुर रहेको एयरपोर्ट राम्रो बनाउन सकेको भए अहिले पनि नेपालमा व्यस्त मध्य एउटा बन्न सक्ने थियो । नेपालमा सवैभन्दा बढी व्यस्त एयरपोर्ट काठमाडौंपछि पोखरा, विराटनगर, भैरहवा, भरतपुर, नेपालगञ्ज आदी हुन । यि बाहेक अन्य विमानस्थलमा पनि चल्छन् । नेपालमा अहिले सातवटा प्रदेश भएको सन्दर्भमा हरेक प्रदेशमा एउटा अन्तर्राष्ट्रिस्तरको विमानस्थल बनाउने र अन्य जिल्लामा कम्तीमा एउटा एयरपोर्ट बनाउने गरी ध्यान दिनुपर्छ । तराईका जिल्लामा हरेक जिल्लामा एउटा आवश्यक नहोला । पहाडी क्षेत्रमा ठूला एयरपोर्ट बनाउन नसकिएला । आवश्यकताको कुरा गर्ने हो भने हरेक जिल्लामा एउटा सानो भएपनि एयरपोर्ट बनाउनुपर्छ । कहिलेकाँही आकस्मीक रुपमा उडान गर्नुपर्ने अवस्था आउँदा विमानस्थल नै छैन भन्ने अवस्था नआवोस भन्नका लागि पनि जिल्लामा एउटा विमानस्थल बनाउनुको विकल्प छैन् । सरकारले यसका बारेमा ख्याल गर्नुपर्छ ।

विमानस्थल र विमान कम्पनी फरक कुरा हो । नेपालमा विमान कम्पनीसंग विमानस्थल छैनन् । यस्तो अभ्यास अनेत्र पनि छैन होला । विमानस्थल सवै सरकारी रुपमा छन् । जसको संचालन प्राधिकरणबाट भइरहेको छ । विमान कम्पनी विभिन्न छन् । सरकारी विमान कम्पनी पनि छ । जसलाई पहिले शाही नेपाल बायु सेवा निगम भनिन्थ्यो । अहिले त्यसको नाम परिवर्तन भएको छ । अहिले यसको नाम नेपाल बायु सेवा निगम भएको छ । यो नेपालमा अन्य सवै विमान कम्पनीभन्दा घाटामा रहेको छ । यो घाटामा किन छ भन्दा यो सरकारी हो त्यस कारणले गर्दा घाटामा छ भन्ने सजिलो जवाफ दिन सकिन्छ । नेपालमा सरकारी रुपमा रहेका कम्पनीहरु कुनै पनि नाफामा गएका छैनन् । सरकारी उद्योगहरु घाटामा गएका छन् । सरकारी उद्योगका रुपमा रहेका छाला जुत्ता उद्योग, चुरोट उद्योग, कागज उद्योग, चिनी उद्योग, कपास उद्योग, कपडा उद्योग जस्ता अनेकन उद्योगहरु बन्द भइसकेका छन् । केही सिमेन्ट उद्योग छन ति मर्ने र बाँच्ने दोसाधमा रहेका छन् । अन्य उद्योगहरुका बारेमा नेपाली नागरिक सवै जानकार रहेको अवस्था छ । एकमात्र राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल बायु सेवा निगमको अवस्थाका बारेमा यहाँ धेरै चित्रण गर्नै पर्दैन । मात्रै चर्चा गरे पुग्छ । नेपालमा २००७ सालमा पहिलो पटक विमान बस्यो भनिन्छ । त्यसपछि विस्तारै देशका अन्य भागमा पनि विमान बस्न थाल्यो । सडक यातायात नपुगेका कारणले गर्दा मानिसका लागि विमानको विकल्प पनि थिएन । सडक यातायात भए मात्रै गाडी चल्ने भएकाले सडक यातायात नभएपनि उडेर जान सक्ने भएकाले विश्वभर विमानको सेवा दु्रत रुपमा फैलिएको थियो । हुनत नेपालको राजधानी काठमाडौंमा गाडी ल्याउँदा बोकाएर ल्याइएको थियो । मजदुरले बोकेर गाडी ल्याएका थिए । विमानलाई बोक्नुपर्ने थिएन । गौचरणका रुपमा रहेको अहिलेको एयरपोर्टमा विमान बसेको थियो । सायद काठमाडौंपछि पोखरामा विमान बसेको थियो जतिवेला पोखरामा गाडी पुगेको थिएन । गाडी भन्दा विमान पहिले पुगेको थियो । दाङ जिल्लाको कुरा गर्ने हो भने पनि दाङमा गाडी भन्दा पहिले विमान बसेृको थियो । २०११ सालमा विमान बसेको टरिगाउँको एयरपोर्टका बारेमा यहाँ चर्चा भइरहेको छ ।

यहाँको एयरपोर्ट चल्न नसक्नुमा राजनीतिक दाउँपेच पहिलो कारण हो भन्नेमा शंका गर्नुपर्ने छैन । विमान केही समय चल्छ अनि बन्द हुन्छ । कसले ल्याउने भन्नेमा होड चल्छ । आइसकेपछि मैले ल्याएको हो भन्नेमा होड चल्छ । एउटै योजना निर्माणका लागि धेरैले दावी गर्दछन् । तुलसीपुरमा रहेको एयरपोर्टलाई पिच गराउनका लागि जसले काम गरेपनि त्यसको जस धेरैले लिइरहेक छन् । बजेट मैले हालेको हो । बजेटका लागि पहल गरेको हो । योजनाका लागि फल्नोलाई भनेको हो । मैले फल्नो सचिवलाई भने । मन्त्रीलाई भने । प्रधानमन्त्रीलाई भनेको हुँ जसका कारणले गर्दा यो बन्यो भनेर भन्नेहरुको संख्या कति त कति ? काम गर्नेलाई जस लिने होड हुँदैन । काम गर्ने हो भने त्यसको जस लिनका लागि प्रतिष्पर्धा गर्नै पर्दैन । हामीकहाँ गर्नुपर्ने काम कति छन कति । एयरपोर्टको कुरा सानो हो । एयरपोर्ट भित्र इन्धन डिपो बनाउनका लागि संघर्ष गर्नुपर्ने मुलुकमा छौं हामी । यहाँ सजिलोसंग कुनै काम हुँदैन । सजिलरी कुनै काम बन्दैन । काम गराउनका सोर्स फोर्स लगाउनुपर्छ । पहुँचका आधारमा यहाँ एयरपोर्ट बन्छ । पहुँचका आधारमा खोला फर्कन्छ । पहुँचका आधारमा पुल बन्छ । पहुँचका आधारमा नै धेरै काम हुन्छ । यसकारण के भन्न सकिन्छ भने तुलसीपुरको एयरपोर्टलाई संचालन गर्ने हो भने अलि ठूलै पहल गर्नुपर्छ । सानो पहलले यो हुनेवाला छैन । मेयरले मैले गरेको हुँ भनेर धाक लगाउँदा सांसदले मैले गरेको हुँ, मेरो कारणले गर्दा यो सम्भव भएको हो भन्न भ्याउँछ । सांसदले मैले पहल गरेको थिए भन्न पाएको हुँदैन मन्त्रीले मैले गरेको हुँ भन्न भ्याउँछ । सुन्नेहरुले कसको विश्वास गर्ने । काम त भएको छ । यो खुशीको कुरा हो । काम आखिर कसले ग¥यो । सवै जस लिने होडमा लाग्छन् । तुलसीपुरमा रहेको एयरपोर्टलाई राम्रो बनाउने, व्यवस्थित बनाउने, यसलाई अझ फराकिलो बनाउने बारेमा सवैको एकमत हुनुपर्छ । यो जस लिने र अपजस दिने भन्ने कुरा होइन । यो सवै मिलेर गर्ने काम हो ।

विमानस्थललाई दिर्घकालिन रुपमा संचालन गर्ने हो भने केही काम गर्नैपर्दछ । पहिलो काम भनेको विमानस्थलको भागलाई अझै लामो बनाउनुपर्छ । अहिले जति रनवे छ त्यसलाई बढाउनै पर्दछ । कम्तिमा पनि ३२ सिटेसम्मका जहाज बन्न सक्ने अवस्था बन्यो भने अन्य नीजि विमानहरु प्नि आउन सक्छन् । हामी यो कुरामा यदी तयार छौं भने यो काम पहिले गरौं । विमान आएन भनेर गुनासो गर्ने भन्दा विमानस्थलको लम्वाई बढाएर कम्तीमा पनि एक किलोमिटरको हाराहारीमा बनाउने गरी योजना बनाउनुपर्छ । विमानस्थल सानो भएका कारणले गर्दा ठूला जहाज आउन सकेका छैनन । ठूला जहाज आउन नसकेका कारणले गर्दा अहिले भाडा निकै महङ्गो रहेको छ । नीजि विमान कम्पनीले पनि उडान भर्ने अवस्था आयो भने अहिलेको जस्तो सातामा एक दिन प्लेन आइदिए हुन्थ्यो भनेर कामना गरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । अहिले नीजि विमान आउन तयार छैनन् । कारण विमानस्थल सानो छ । नीजि विमान आउने हो भने दैनिक रुपमा तीन चारवटासम्म उडान हुन सक्छ । केही बर्ष अघि दैनिक दुईवटा उडान हुन्थ्यो । दुईवटा उडान हुँदै गर्दा केही आशाका किरण आएका थिए । अव दैनिक रुपमा विमान आइरहनेछ भन्ने लागेको थियो । पछि यो सातामा एक दिन सम्ममा झर्यो । यि पङ्ती लेखिरहदा सातामा चार दिन आउने भनिएको छ । यो चार दिन पनि नियमित छैन । दैनिक एउटा मात्रै विमान हुँदा कतिवेला ‘आजको प्लेन क्यान्सिल भयो ।’ भन्ने सूचना आउँछ थाहा हुँदैन । दाङ आउनका लागि तयार भएको यात्रु एकैपटक योजना बदलेर नेपालगञ्ज वा भैरहवा पुग्नुपर्छ । कि भने नाइट बसको यात्रा गर्दै आउनुपर्छ । तुलसीपुरमा रहेको एयरपोर्ट संचालनका लागि दिर्घकालिन योजना बनाउनुपर्छ । अहिले मुलुक संघीयतामा गएको सन्दर्भमा विमानस्थलाई पनि संघीय सरकार अन्तरगत र प्रदेश सरकार अन्तरगत राख्नुपर्छ । जसरी अस्पताललाई संघीय सरकारले हेर्न र प्रदेश सरकारले हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ अव विमानस्थलको हकमा पनि यहि गर्नुपर्छ । ठूला विमानस्थललाई संघीय सरकारको मातहतमा राख्नुपर्छ भने तुलसीपुरमा रहेका जस्ता विमानस्थलको संचालन, विकास र विस्तारको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्छ । यस्तो हुन सक्यो भने मात्रै विमानस्थलको विस्तार र संरक्षणमा राम्रो हुन सक्छ । नेपालमा संघीयता कार्यान्वयन हुँदा कतिपय विषयमा नीति नै बनेको छैन । जसले गर्दा समस्या परिरहेको छ । विमानस्थलको हकमा पनि यहि कुरा लागु भएको छ । विमानस्थललाई राजनीतिक दाउँपेचको विषय होइन कि यसलाई विकासको विषयका रुपमा अघि बढाउनुपर्दछ ।

 

खगेन्द्र नवजिवन केन्द्रलाई घोराही–१४ को सहयोग

राप्ती पोष्ट

घोराही, पुस । घोराही उपमहागरपालिका वडा नंम्वर १४ मा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र दाङलाई वडा कार्यालयले कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।

केन्द्रका अध्यक्ष रुपा वलीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही १४ का वडाअध्यक्ष भानसिंह बुढा र सचिव तिलकराम डाँगीले सामग्री हस्तान्तरण गर्नुभएको थियो । केन्द्रका अध्यक्ष वली, केन्द्रका केन्द्रिय उपाध्यक्ष शरद अधिकारी र सचिव भुमा चौधरीले सामग्री ग्रहण गर्नुभएको थियो ।

घोराही १४ले चालु आर्थिक बर्षमा कार्यालय संचालनका लागि ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । सोही बजेट मार्फत् केन्द्रलाई एक थान कुर्सी, कम्प्युटर टेबुल, १८ मिटर कार्पेट र झल ढोकाका पर्दाहरु सहयोग गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष बुढाले अपाङ्गता भएका ब्यक्तिहरुको उत्थानका लागि काम गर्नु सरकारको दायित्व भएको बताउनु भएको थियो । फरक क्षमता भएका व्यक्तिहरुले आफुसँग भएको क्षमतालाई पहिचान गर्दै विभिन्न सिप सिकेर आर्थिक आर्थिक आर्जनको बाटोमा जोडिन आग्रह गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्रका केन्द्रिय उपाध्यक्ष शरद अधिकारीले अपाङ्गता भएका व्यक्ति तथा उनिहरुको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको चौतर्फी विकासका लागि वडा सरकारले माथिल्लो संयन्त्रसँगको समन्वयलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । १ विघा ११ कठ्ठा क्षेत्रमा फैलिएको केन्द्रको जमिनमा अपाङ्ग मैत्री पार्क निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी वडा सचिव तिलकराम डाँगीले अपाङ्गता भएका व्यक्तिहरुलाई समाज र घरपरिवारले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन आवश्यक रहेको बताउनु भयो । वडाका तर्फबाट सानो भएपनि सहयोग गर्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

केन्द्र दाङका उपसचिव बसन्तराज भट्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपसभापति निशान्त आर्चायले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव भुमा चौधरीले गर्नुभएको थियो ।

घोराहीमा मेयरकप फुटबल सुरु

साविक विजेता वडा नम्बर १८ र को १० को विजयी शुरुवात

राप्ती पोष्ट

घोराही, पुस । घोराहीमा बुधबारबाट मेयरकप फुटबल शुरु भएको छ । पाँचौं मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १८ ले विजयी शुरुवात गरेको छ ।

घोराही १८ नवलपुर खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर १८ ले वडा नम्बर ६ लाई ४–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १८ का समित पुनले ह्याट्रिकसहित ४ गोल गर्नुभयो भने वडा नम्बर ६ का विजय नेपालीले १ गोल फर्काउनुभयो । खेलको ४, २८ तथा पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दा दोश्रो हाफको २९ औँ मिनेटमा थप एक गोल गर्दै गोल संख्या ४ पुुर्याउनुभयो ।

वडा नं. १८ को टिम

उता, वडा नम्बर ६ का विजय नेपालीले दोश्रो हाफको ३ मिनेटमा गोल गर्नुभयो । जीतसँगैवडा नम्बर १८ ले ३ अंक जोडेको छ भने वडा नम्बर ६ अंक िविहीन छ । यस्तै, बुधबार नै भएको दोश्रो खेलमा वडा नम्बर १० ले जीत निकालेको छ । वडा नम्बर १० ले वडा नम्बर १२ लाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलकोे पहिलो हाफमा मोनु न्यौपाने र दोश्रो हाफमा निरज पुनले गरेको गोलसँगै वडा नम्बर १० ले ३ अंक जोडेको छ ।

अब प्रतियोगिता अन्तरगत बिहीबारबाट दैनिक चार वटा खेल हुनेछन् । आज विहान सवा ८ बजे हुने तेश्रो खेलमा वडा नम्बर २ र १ बीच तथा बिहान पौने १० बजे हुने चौथो खेलमा वडा नम्बर ११ र १४ बीच खेल हुने भएको छ । यसैगरी, दिउँसो १ बजेबाट हुने पाँचौँ खेलमा वडा नम्बर ८ र ९ तथा दिउँसो पौने ३ बजे हुने छैठौँ खेलमा वडा नम्बर ५ र ७ बीच खेल हुने घोराही उपमहानगरपालिकाले जनाएको छ ।

लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । चार समुहमा विभाजन गरिएको खेलमा समुह ए मा वडा नम्बर १२, १०, ८, ९ र १६ रहेका छन् भने समुह बी मा वडा नम्बर ५, ७, १, ६ र १७ रहेका छन् । यसैगरी, समुह सी मा वडा नम्बर २, १, ३, १९ र १३ रहेका छन भने समुह डी मा वडा नम्बर १४, ११, २ र १५ रहेका छन् ।

लिग चरणका सबै खेल बिहान २ वटा र दिउँसो २ वटा खेलाउने गरी तालिका बनाईएको छ । लिग चरणको खेल पुस २९ गतेसम्म हुनेछ । क्वाटर फाईनल पुस २९ र ३० गते हुनेछ भने सेमिफाईनल माघ ४ गते तथा फाईनल खेल माघ पाँच गते हुने भएको घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा मन्तव्य राख्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी

खेल क्षेत्रको विकास तथा खेलाडी उत्पादनका लागि स्थानीय सरकारले संचालन गर्दै आएको प्रतियोगितामा पालिकाभरबाट सहभागीता रहेको छ । गत वर्ष भने कोरोनाका कारण खेल हुन सकेको थिएन । प्रतियोगिताको उदघाटन नगरप्रमुख नरुलाल चौधरीले गर्नुभएको हो ।

पूर्व मन्त्री महेश चौधरी जैविक मलको उत्पादनमा

जैविक मलको प्रयोगले किसानहरुको उव्जनी राम्रो

छबि पुरी /राप्ती पोष्ट

घोराही, पुस । चिनियाँ प्रविधामा आधारित जैविक मल उत्पादन गर्ने घोराही १७ बेलभारमा रहेको सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रको मल प्रयोग गरेका किसानले धान उत्पादन राम्रो भएको देखेर अचम्म मान्दै अहिले यही मललाई भरोसा गर्न थालेका छन् । यो मल कृषिका लागि मात्रै राम्रो नभई स्थानीय स्तरमा उत्पादन भएको हुँदा प्रयोग गर्न पाउनु गर्वको विषय भएको कृषकको भनाई छ ।

२०७० सालमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गर्न शुरु गर्नुभएका महेश चौधरीले निरन्तरको प्रयासपछि मल उत्पादनमा सफलता मात्रै होईन कृषकको विश्वास पनि आर्जन गर्न सफल हुनुभएको छ । चौधरीले निकै लामो खोज तथा अनुसन्धानपछि मल उत्पादन गरेको बताउनुहुन्छ । विगतका वर्षमा युरिया डिएपी मल राखेर खेती गरेका कृषकले बजारमा मल नपाएपछि दाङमै उत्पादन भएको सूर्य शक्ति जैबिक मल प्रयोग गरेर राम्रो उत्पादन लिन सफल भएका छन् ।

जैबिक मल प्रयोग गरेको धान धेरै फलेको छ । धानका बाला राम्रा थिए । बालामा पोकटा पनि थिएन । रोग किरा पनि कम लाग्ने अनि उत्पादन पनि बढेको कृषकहरुको अनुभव छ । स्थानीय स्तरमा उत्पादन भएको मल पयोग गर्न पाउदा उनीहरु निकै उत्साहित छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ चौपरेका किसान मदन रावत जस्तै सो क्षेत्रका दर्जनौ किसानले धानबालीमा सूर्यशक्तिको मल प्रयोग गर्दै लहलह बाला झुलेका धान फलाउनुभएको थियो । तुलसीपुर १४ भोजपुरका बुझौना चौधरी, तुलसीपुर १५ गब्दहवाका विनोद चौधरी, यादवकुमार चौधरी लगायत किसानले सूर्यशक्ति मल प्रयोग गर्दै यो वर्ष बढी धानबाली उत्पादन गर्न सफल भएको बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ९ एकलघरुवामा रहेको श्री वागेश्वरी बीउ उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बस्नेतलाई पनि यो मल निकै मन परेको छ । घोराही ९ भगुवारका हिमबहादुर वलीले १५ कट्ठामा रोप्नुभएको धानबालीको फसल राम्रो थियो । यसो हुनुमा सूर्यशक्ति मल नै कारक रहेको उहाँ बताउनुहुन्छ । अरु मलको तुलनामा मलको प्रयोग कम हुनुका साथै लागत घटेको र फसल राम्रो भएपछि उत्साहित हुनुभएको छ ।

घोराही ९ अस्परी कृषि सहकारीका सचिव हरिप्रसाद चौधरी होस् या घोराही ७ शुक्रवारका किसानले सूर्यशक्ति मल प्रयोगपछि धान फलाउन सफल भएपछि हौसिएका थुप्रै उदाहरण बनेका छन् । चौतारी कृषि सहकारी शुक्रवारका गुरुप्रसाद चौधरी, घोराही ७ पर्साकी पूर्णिमा घर्तीको भनाई पनि सूर्यशक्तिको प्रयोगले उत्पादन राम्रो भएको प्रतिक्रिया छ ।
घोराही ७ राजपुरका खिम नारायण चौधरीले बजारमा रासायनिक मल निकै खोज्नुभयो । तर, पाउन सक्नुभएन । अन्ततः उहाँ सूर्यशक्ति मल खरीद गरेर प्रयोग गर्नुभयो । उहाँलाई स्थानीय स्तरमा बनाईएको मलले यति राम्रो उत्पादन देला भन्ने रत्तिभर विश्वास लागेको थिएन । तर, उहाँले सूर्यशक्ति मल प्रयोग गरेर नसोचेको प्रतिफल पाउनुभएको छ । उहाँ धान राम्रो भएपछि, निकै उत्साहित बन्नुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गरी अहिले दाङमा मात्रै होईन विभिन्न जिल्लामा पठाउन थालिएको महेश चौधरी बताउनुहुन्छ । जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगको विश्वास छ । सौर्य शक्ति मल कृषि अनुसन्धान परिषद नार्कले धानबालीमा प्रयोगगरी गुणस्तरको अनुमती दिएको छ भने सरकारी बागबानी केन्द्रमा पनि यही मल प्रयोग हुदै आएको छ ।
कृषकले प्रयोग गरेर अन्नबाली राम्रो उत्पादन भएको सुझावसहित प्रतिक्रिया दिइपछि उद्योग संचालक चौधरी जिल्लाभरका किसानलाई सहज रुपमा पुग्ने गरी मल उत्पादन गर्ने तर्फ ध्यान दिन थाल्नुभएको छ । जसका लागि नयाँ मेसिन जडान गरेर अझ स्तरीय मल उत्पादन गर्ने र यसबाट दाङका सबै किसानलाई पर्याप्त मात्रामा मल पुर्याउने अठोट लिनुभएको छ । यस उद्योगबाट उत्पादन भएको मल धान, तरकारी र फलफूल खेतीमा प्रयोग हुदै आएको छ ।

दाङमा उत्पादन भएको यो मल सल्यान, प्यूठान, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, नवलपरासीसम्मका किसानले प्रयोगमा ल्याएका छन् । यो मलले उत्पादन बढाउनुका साथै माटोको उर्बराशक्ति पनि बचाइ राख्न मद्धत गर्दछ । स्थानीय स्तरमा स्थापना भएको यो उद्योगबाट उत्पादन भएको जैविक मल अबको दाङका कृषकहरुको विश्वासिलो आधार बन्ने देखिएको छ । नेपाल सरकारको साथ सहयोग रहेमा दाङ जिल्लालाई पुग्ने मल उत्पादन गर्न सक्ने क्षमता उद्योगसँग छ । राज्यले अर्बौ लगानी गरेर देशमा मल भित्र्याउने गरेको छ । तर, त्यो पनि पर्याप्त छैन । स्थानीय स्तरमा जैविक मल उत्पादन गर्दै कृषि क्षेत्रमा योगदान दिईरहको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रति राज्यको नजर पुग्न सकेमा जिल्लामा सदाका लागि मल अभाव नहुने उद्योग संचालको भनाई छ ।

 

माटो सुहाउँदो शिक्षा अहिलेको आवश्यकता

गोरखा गु्रपको रजत महोत्सव

राप्ती पोष्ट

घोराही, पुस । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका संरक्षक प्राध्यापक डा. सुरेशराज शर्माले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलको २५औँ वार्षिकोत्सव एवम् रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै विगतदेखि शिक्षाका नाममा घोकन्ते शिक्षा दिँदै आउँदा व्यवहारिक जीवनमा लागू गर्न कठिन भएको हुँदा अबको शिक्षा देश, माटो सुहाउँदो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सृष्टिले यहाँ सबै थोक दिएको छ, हावापनी, कला संस्कृति, सबै थोक दिएकोछ । तर यसको सही उपयोग हुन सकेको छैन । यसको सही उपयोगका लागि मानवीय चेतना चाहिएको छ । त्यो चेतना शिक्षाबाट मात्रै सम्भव छ ।’

उहाँले नेपालको शिक्षामा देशको माटो सुहाउँदो परिवेश चाहिएको हुँदा हरेक बालबालिकाहरुलाई यहाँको बस्तुस्थितीका बारेमा चेतनाबोध गराउने गरी शिक्षा दिनुपर्ने बताउनुभयो । ‘शिक्षा मानिसलाई कुन बाटोमा हिँडाउने भन्ने मुल आधार हो, यसका लागि सही शिक्षा दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘सही शिक्षा पाउनेले जीवनमा कहिले पनि फर्केर हेर्नु पर्दैन । सफलताको बाटोमा ऊ अग्रसर हुन्छ ।’

नेपालको वर्तमान शिक्षाको स्तर उकास्न नीजि क्षेत्रबाट ठूलो भूमिका रहेको बताउँदै प्रमुख अतिथिसमेत रहनुभएका प्रा. डा. शर्माले राज्यले गर्नुपर्ने काम नीजि विद्यालयबाट भईरहेको भन्दै प्रशंसा व्यक्त गनुृभयो । ‘यो काम राज्यको हो, तर राज्य एक्लैले सबै गर्न सम्भव नहोला, यसमा नीजि क्षेत्रबाट निकै ठूलो योगदान भएको छ,’ उहाँले भन्नुभयो, ‘यसको सही मुल्यांकन राज्यबाट हुन आवश्यक छ ।’

कार्यक्रम बोल्ने अन्य वक्ताहरुले बिद्यालयले गुणस्तरीयसंगै विश्व बजारमा बिक्ने शिक्षा विद्यार्थीलाई दिनुपर्नेमा जोड दिएका थिए । प्रेस काउन्सिल नेपालका पुर्वअध्यक्ष नारायणप्रसाद शर्माले बालबालिकालाई शैक्षिक ज्ञानसगै नैतिक, सामाजिक, चारित्रिक र स्वाभिमान युक्त शिक्षा आवश्यक भएको र अहिले गोर्खा स्कुलले व्यवहारले उत्कृष्टता प्रदर्शन गर्न सफल भएको बताउनुभयो ।

गोरखा ग्रुपका सिइओ नवल जिएमले गुणस्तरीय एवम् समय सुहाउँदो शिक्षा दिइरहेको भन्दै थप गुणस्तर सुधार गर्दै लैजाने प्रयास भईरहेको बताउनुभयो । कार्यक्रममा प्याव्सनका केन्द्रीय सचिव यादव गिरीले ठुलो योगदान, उपलब्धि दिदा पनि राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सही हुन नसकेको बताउनुभयो । कार्यक्रममा गोरखा ग्रुपका सदस्य तथा युके संयोजक जंगबहादुर पुन, अभिभावक तथा बुद्धिजीबी निर्मल आचार्यलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा लागुऔषध दुव्र्यसनी र यसवाट बचाउने उपायका बारेमा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुनमगरले जानकारी गराउनुभएको थियो । सोअवसरमा गत वर्ष तहगत रुपमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । प्रि प्राईमरीमा प्रिन्सा घर्ती मगर, प्राईमरीमा लियोना मगर, बेसिक लेवलमा गरिमा गुरुङ, एसईई २०७८ मा जिल्ला उत्कृष्ट उत्सव घिमिरेलाई पुरस्कृत गरिएको छ भने कक्षा ११ विज्ञान तर्फ आकाश भण्डारी, कक्षा १२ विज्ञानतर्फ मधुसुदन रिजाल, प्रनिल जैसी, शिशिर बस्नेत तथा व्यवस्थापन तर्फ ११ कक्षामा रिया डाँगी, १२ मा प्रविण चौधरीलाई उत्कृष्ट भएको भन्दै पुरस्कृत गरिएको छ ।

यसैगरी खेलकुद तर्फ कक्षा ११ र १२ मा एथलेटिक्स तर्फ उत्कृष्ट खेलाडीका रुपमा सुरज बस्नेत, बेस्ट एथ्लेट विवश चौधरी, सिमा झाँक्री मगरलाई तथा कक्षा ८, ९ र १० मा उत्कृष्ट हुने बेष्ट एथ्लेटमा निर्मल बुढा र जेनिशा हमाललाई पुरस्कृत गरिएको छ ।

यसैगरी, बेष्ट च्याम्पियन हाउस तर्फ रातो सदनका शिक्षकहरु प्रकाश देवकोटा, प्रभा चौधरी, पोखरराज भण्डारी, प्रकाश पुन, आयुष्मा पाण्डे, यमकला बेल्बासे, पूर्णाकुमारी बुढामगर, देवीराम पुन मगर, सर्मिला पुनमगर र उर्मिला बिष्टलाई पुरस्कृत गरिएको छ भने दीर्घसेवाबाट २५ वर्ष निरन्तर सेवा गरेको भन्दै विद्यालयका नवलसिंह घर्ती मगर, मानसिंह घर्ती मगर, कृष्णा राना मगर, मोतीलाल बुढाथोकीलाई विशेष सम्मान गरिएको छ । वर्ष उत्कृष्ट शिक्षकका रुपमा प्रभा चौधरी, उत्कृष्ट कर्मचारीका रुपमा निमबहादुर चौधरीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संस्थाको साधारण सभाबाट हालै नियुक्त हुनुभएका गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका अध्यक्ष विष्णुबहादुर घर्ती मगरलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो । जस अनुसार कार्यक्रमको समापन उहाँले गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल मानसिङ घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक थम्मन बस्नेत र शोभाकर पन्थीले गर्नुभएको थियो ।

त्रिभुवननगर जेसिजको ३८ औं पद हस्तान्तरण

देश विकासको जिम्मेवारी युवाको

राप्ती पोष्ट

घोराही, पुस । त्रिभुवननगर जेसिजको ३८ औं पदहस्तान्तरण कार्यक्रम सन् २०२२ को अन्तिम दिन अर्थात शनिबार घोराहीमा सम्पन्न भयो । त्रिभुवननगर जेसिज २०२२ का अध्यक्ष विवेक आचार्यले नर्या बर्ष २०२३ का अध्यक्ष कुलबहादुर वलीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

वलीको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष कृष्णदेव थापा र अमर अधिकारीलाई चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा किसन वली, रमेश घिमिरे, प्रेमलाल न्यौपाने र समिर केसी निर्वाचित हुनुभएको छ । महासचिवमा किरण गौतमलाई चयन गरिएको छ भने सचिवमा राजन घर्तीमगर निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षको जिम्मेवारी टंकबहादुर रावतलाई प्रदान गरिएको छ ।

यसैगरी अध्यक्ष वलीले विभिन्न पदमा जिम्मेवारी प्रदान गर्नुभएको छ । जनसम्पर्क अधिकारीमा रविकिरण केसी, कानुनी सल्लाहकारमा महेश गुप्ता, तालिम निर्देशकमा किरण न्यौपाने, प्रकरण निर्देशकमा कमलकुमार शर्मा, दिगो विकास लक्ष्य संयोजकमा विवेक न्यौपाने, स्वास्थ्य संयोजकमा पंकज न्यौपाने, सदस्यता बृद्धि संयोजकमा दिपक बहादुर सेट्ठी, जग्गा तथा भवन बृद्धि संयोजकमा दिपक कालाथोकी, खेलकुदमा प्रज्ज्वल शाह, पुस्तकालय तथा बाचनालय व्यवस्थापनको संयोजकमा बसन्त राज अधिकारी, शाखा सम्पादकमा श्यामकुमार गिरीलाई चयन गरिएको छ । यस्तै दिपक शर्मा समिरले पनि जिम्मेवारी पाउनुभएको छ ।

अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले समाज रुपान्तरणका लागि युवाहरुलाई सहि माग देखाउने काम जेसिजले गरिरहेको बताउनुभयो । युवाहरुलाई व्यक्तित्व विकास र नेतृत्व विकासका लागि अघि बढाउनुपर्ने भन्दै उहाँले युवाहरुले नै समृद्धिको नेतृत् वगर्न सक्ने बताउनुभयो ।

समाज कुन अवस्थामा रहेको छ र यसका लागि के भूमिका खेल्नुपर्छ भन्ने बारेमा बाटो देखाउने काम जेसिजले गर्न सक्ने भन्दै सामाजिक संस्थाका रुपमा रहेको जेसिजलाई अन्य संघ संस्थासंग हातेमालो गरेर अघि बढ्न सुझाव दिनुभयो । कुनै पनि देशको विकासका लागि युवाहरुले नै भूमिका खेल्ने भन्दै जेसिजमा लाग्ने युवाहरुले समाजको विकासका लागि भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले युवाहरुमा रहने जोसको आगोलाई ठिक तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनका लागि युवा उमेरले नै काम गरेको भन्दै युवाहरुले आफूलाई त्यसका लागि तयार राख्नुपर्ने बताउनुभयो । युवाहरुले विवेक गुमाउने हो भने मुलुकले पनि प्रगति गर्न नसक्ने भन्दै युवाहरुलाई रचनात्मक काममा लगाउनका लागि जेसिजले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले युवाहरु उर्जाको स्रोतका रुपमा रहने भएकाले युवाले आफ्नो क्षमतालाई बुझ्दै दक्षता बढाएर जानुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा जेसिजका पूर्व केन्द्रिय कार्यकारी उपाध्यक्ष निशान्त आचार्य, पूर्व अध्यक्ष नारायण अधिकारी, दाङ महिला जेसिजकी अध्यक्ष शारदा घर्ती, लमही जेसिजका अध्यक्ष सुजन केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पहिलो सत्रको सञ्चालन सन् २०२२ का महासचिव कुलबहादुर वलीले र दोेस्रो सत्रको संचालन नव निर्वाचित महासचिव किरण गौतमले गर्नुभएको थियो ।

सोही कार्यक्रममा जेजिसमा गएको बर्ष सक्रिय रहेर भूमिका निर्वाह गर्नेहरुलाई पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ठ सहभागिताका लागि प्रेम लाल न्यौपाने, उत्कृष्ठ कार्यक्रम संयोजकका रुपमा किसन वली, उत्कृष्ठ शाखा पदाधिकारी अमर अधिकारी र उत्कृष्ठ जेसिजका रुपमा रविकिरण केसीलाई सम्मान गरिएको थियो । पूर्व अध्यक्ष विमल श्रेष्ठले पुरस्कारको घोषणा गर्नुभएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा त्रिभुवननगर जेसिजका पूर्व अध्यक्ष तथा निर्वाचन संयोजक मुकेश्वर शर्माले निर्वाचनको परिणामका बारेमा जानकारी गराउनुभएको थियो । नव निर्वाचित अध्यक्ष वलीलाई सन् २०२२ का अध्यक्ष विवेक आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो भने नव निर्वाचित अध्यक्ष वलीले आफ्नो टिमका पदाधिकारी र विभिन्न पदिय जिम्मेवारी लिएका संयोजकहरुलाई सपथग्रहण गराउनुभएको थियो ।

सामुदायिक विद्यालयमा विद्यार्थी मर्ज गर्नुपर्ने अवस्था आएको दावी

छबि पुरी /राप्ती पोष्ट

घोराही,  पुस । सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएका बेला केही विद्यालयले उदाहरणीय काम गर्दै आएकाले ती विद्यालयको अरु विद्यालयले सिको गर्न सक्नुपर्नेमा जोड दिईएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको श्री बालविकास माविको शनिबार भएको ६२ औँ वार्षिकोत्सब तथा अभिभावक भेलामा बोल्ने वक्ताहरुले सामुदायिक विद्यालय राजनीतिक दलहरुको कृडास्थल बनाईएमा विद्यालय तहसनहस हुने मात्रै नभई विद्यार्थीको भविष्य समेत बरबाद हुने हुँदा विद्यालय परिसरमा राजनीति छिर्न नहुनेमा जोड दिनुभएको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पालिकाका सबै सामुदायिक विद्यालय नमुनायोग्य बनाउने अभियानमा आफुहरुलागि परेकाले कम लागतमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण घोराहीले गर्न थालेको जानकारी गराउनुभयो । सबैका लागि सहज र गुणस्तरीय शिक्षा पुर्याउन घोराहीका सामुदायिक विद्यालयमा अध्ययनरत ४५ हजार बढी बालबालिकाको विषयमा पालिका गम्भीर रहेको बताउनुभयो । उहाँले विद्यालय पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर कायम राख्न नजिकका विद्यालयसँग समन्वय गरेर अघि बढ्ने तयारी गरेकोपनि जानकारी गराउनुभयो ।

गुणस्तरीय शिक्षाप्रदान गर्न सकेमात्रै योग्य जनशक्ति उत्पादन हुने र आफ्नो क्षमता अनुसारको क्षेत्रमा सफल बनाउन सक्ने हुँदा अबको शिक्षा दक्ष जनशक्ति उत्पादनमा आधारित हुने जिकिर गर्नुभयो । यस्तै, बालविकास माविको शैक्षिक गुणस्तर खस्किन नदिने गरि पालिकाले लगानी गर्ने काम हुँदा अभिभावकलाई ढुक्क हुन आग्रह गर्नुभयो । पछिल्ला समय विद्यालय व्यवस्थापन समिति गठनमा भएको असहजताका कारण विद्यार्थी र अभिभावकहरुले चिन्ता व्यक्त गरिरहेका बेला उहाँले शिक्षा नै विकास हो, स्वास्थ्य नै धन हो भन्ने कुरा बुझ्नु भएका अभिभावकहरुले विद्यालयबाट गुणस्तरीय शिक्षा पाउनेमा शंका नगर्न अपिल गर्नुभयो ।

सो अवसरमा, २०४१ सालदेखि विद्यालयमा अनवरत सेवा गर्नु भई हालै निवृत्त हुनु भएका सहायक प्रधानाध्यापक राधा केसीलाई सम्मान गरिएको थियो भने २०७८ को शैक्षिक गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुसक्ृत गरिएको थियो । कक्षा पाँचमा उत्कृष्ट अंक ल्याई पास भएकी खुस्बु गुप्ता, वर्ष अनुशासित विद्यार्थी कक्षा ९ का पूजा डाँगी र सुमित बिकलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

यसैगरी रोहिणीदेवी शर्मा अक्षयकोषबाट कक्षामा ८ उत्कृष्ट अंक ल्याउने ज्योति गुप्ता, कमलादेवी अक्षयकोषबाट कक्षा ९ मा उत्कृष्ट भिमार्जुन घर्ती र कक्षा १० की कोमलसरी जिसी, मालिका पन्त अक्षयकोषबाट कक्षा पाँचमा उत्कृष्ट हुने प्रिन्स बस्नेत र वर्षा कवँर, आलोक सुशीला अक्षयकोषबाट कक्षा ८ मा उत्कृष्ट आकाश गुप्ता र दिलिसा चौधरी, मार्कण्ड उमा अक्षयकोषबाट विद्यालय उत्कृष्ट हुने खुस्बु गुप्ता,तोरण चम्पा अक्षयकोषबाट कक्षा ३ मा उत्कृष्ट रोजिना बुढा, मानबहादुर पुन विदुर स्मृति अक्षयकोष कक्षा ८ मा उत्कृष्ट पुष्पा घर्ती, लोकेश पुन मगर, अजय स्मृति अक्षयकोषबाट कक्षा ८ का बादल गुप्ता, कक्षा १० का गणेश बिक, देवशान्ति अक्षयकोषबाट कक्षा ६ का डेबिस बिक, कक्षा ८ का राज गुप्ता नगदसहित सम्मानित भए ।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतम, शिक्षा समिति सदस्य जीवन गौतम, अक्षय कोषदाताका तर्फबाट किर्तिमान पुन, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, विद्यालयका सल्लाह रामदयाल गुप्ता, एकीकृत अखिल शिक्षक संगठनका अध्यक्ष हुकुमबहादुर बुढाथोकी, बाल क्लव सचिव गणेश बिकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयको शैक्षिक अवस्थाका बारेमा प्रधानाध्यापक श्रीधर पोख्रेलले अवगत गराउनुभएको थियो । उहाँले सिकाइ प्रगति बढाउने, अंग्रेजी माध्यमको पठनपाठन १२ कक्षासम्म पुर्याउन पहल गर्ने, उपयोगमा नरहेको जग्गा आय मुलक क्षेत्रमा लगाउने र बाँकी जग्गा संरक्षण गर्ने, प्रविधि मैत्री पढाईलाई प्रोत्साहित गर्ने, अतिरिक्त कृयाकलापमा विशेष ध्यान दिने, तल्लो तहमा विद्यार्थी भर्ना चाप बढी रहेको तर भौतिक पूर्वाधार कमजोर रहेकाले पालिकाबाट व्यवस्थापनमा ध्यान दिन सचेत गराउनुभएको थियो । विद्यार्थी अनुपातमा दरबन्दी अनुसार शिक्षक उपलब्ध हुन नसकेकोमा तत्काल व्यवस्थापनमा ध्यान दिन अपिल गर्नुभएको थियो । बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको विद्यालयमा यो वर्ष कुल १८ सय १३ रहेका उहाँले बताउनुभयो । सहायक प्रधानाध्यापक झग्गुप्रसाद पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी केसी र यादव आचार्यले गर्नुभएको थियो ।