spot_img
spot_img

तुलसीपुरको एयरपोर्ट र राजनीतिक दाउँपेच

शरद अधिकारी

२०११ सालमा पहिलो पटक विमान बसेको तुलसीपुरको एयरपोर्टको अवस्थामा सुधार आउन सकेको छैन । उतिवेला घाँसे मैदानका रुपमा रहँदा नै विमान बसेको थियो । अहिले घाँसे मैदानहरुमा विमान बस्न छोडेका छन् । नेपालमा अहिले तीनवटा विमानस्थल अन्तर्राष्ट्रिय स्तरका विमानस्थल रहेका छन् । काठमाडौं, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । लामो समयसम्म काठमाडौैंको विमानस्थल मात्रै अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रह्यो । पोखरामा आइतबार मात्रै नयाँ बर्षका उपलक्ष्यमा विमानस्थल सुभारम्भ गरिएको छ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल भनिएपछि ति विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावना कम छ । हाम्रो सानो देशमा धेरै अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने कुरा होइन । तर स्तरका हिसावले अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्दछ । अन्तर्राष्ट्रिय विमानस्थल कसरी अन्तर्राष्ट्रिय हुन्छ ? भन्दा यो गुणस्तरका हिसावले हुने हो । लामो रनवे हुँदैमा हुने होइन । ठूलो भवन बनाउँदैमा हुने होइन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेपालमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा जुन सुविधा हुन्छ । जुन तरिका हुन्छ । जुन प्रक्रिया हुन्छ अनेत्र पनि त्यस्तै हुन्छ । कतै ठूलो होला । कतै सानो होला । तर अन्तर्राष्ट्रिय विमानस्थल भनेपछि गुणस्तर एकै खालको हुनुपर्छ । नेपालमा अहिलेसम्म तीनवटा मात्रै विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेका छन् । थप दुइृवटा विमानस्थलका बारेमा चर्चा चलिरहेको छ । बाराको सिमरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा धेरै बर्ष अघि देखि उठिरहेको छ । यहि विमानस्थललाई लक्षित गरेर बाराबाट काठमाडौं दु्रत मार्गको सुभारम्भ गरिएको छ । नेपालमा सवै काम ढीला गरी हुने भएकाले न दु्रत मार्ग बन्न सकेको छ । न त बारामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सकेको छ । कुरा धेरै भएको छ । काम निकै कम भएको छ । जसले गर्दा हामीले आफैलाई धिक्कार्नुपर्ने अवस्था छ । यसैगरी दाङमा पनि विमानस्थल बन्ने कुरा चर्चामा रहेको छ । खासगरी शंकर पोखरेलले दाङमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्न सक्ने र त्यसको आवश्यकतका बारेमा चर्चा गरिरहनुभएको छ । यदी दाङमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्यो भने त्यो बाराको भन्दा पनि अझ राम्रो हुने चर्चा पनि चलिरहेको छ । दाङमा अन्तर्राष्ट्रिय विमानस्थल बन्छ कि बन्दैन त्यो पछिको कुरा हो । त्यसका बारेमा पछि चर्चा गरौंला । अहिलेका लागि दाङमै रहेको विमानस्थलको दुरावस्था हेर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा सयौं बर्षसम्म पनि हुँदैन कि भन्ने लाग्छ ।

दाङको विमानस्थल नेपालका पुराना थोरै मध्य पर्दछ । दाङको भुगोललाई हेर्दा यहाँ एउटा राम्रो विमानस्थल बनाउनै पर्ने देखिन्छ । दाङबाट अहिले काठमाडौंमा एउटा प्लेन चल्दछ । त्यो पनि निकै सानो छ । कुनै बेला दैनिक दुई पटक पनि प्लेन चल्ने गर्दथ्यो । अहिले हप्तामा चार दिन चल्ने भएको छ । दैनिक दुई पटक उडान हुन सक्ने ठाउँमा किन हप्तामा चार पटक मात्रै विमान चल्दैछ ? कहिलेकाँही हप्तामा एक दिन मात्रै चल्ने, कहिले एक पटक पनि नचल्ने, पाइलटलाई चलाउन मन लागेन भने अन्तिम समयमा आएर रोकिदिने गरेका उदाहरण कति छन् कति छन । दाङबाट काठमाडौं मात्रै होइन मुलुकका अन्य शहरमा पनि प्लेन चल्न सक्छ । कुनै बेला दाङबाट नेपालगञ्ज पनि प्लेन चल्ने गर्दथ्यो रे । अहिले त्यो कहानी जस्तो मात्रै भएको छ । दाङबाट नेपालका अन्य शहरमा पनि प्लेन चल्न सक्ने प्रशस्त सम्भावना रहेको छ । केही बर्षअघिसम्म दाङबाट रुकुम, रुकुमबाट दाङ पनि प्लेन चल्ने गर्दथ्यो । खासगरी राजनीतिक दाउँपेचमा यहाँको विमानस्थल ओझेलमा परेको छ । दाङको विमानस्थलबाट ठूला विमान पनि चलाउन सक्ने हो भने नेपालगञ्जको वा भैरहवाको व्यापारमा कमी आउनेछ । नेपालगञ्जमा दैनिक रुपमा कयौं मानिसहरु विमान प्रयोग गर्नका लागि जाने गर्दछन् । दाङबाट नेपालगञ्ज जानका लागि कम्तीमा चार घण्टाको यात्रा तय गर्नुपर्छ । भैरहवा जाँदा कम्तिमा पनि पाँच देखि छ घण्टाको यात्रा तय गर्नुपर्छ । दाङमै विमानस्थल राम्रो तरिकाले संचालन गर्ने हो भने नेपालगञ्ज जाने कसैलाई मन हुँदैन । यस्तै भैरहवा जानका लागि पनि कोही तयार हुँदैन । हामीकहाँ रहेको प्रमुख समस्या भनेको विमानस्थलको रनवे हो । यहाँको रनवे निकै छोटो रहेको छ । ठूला विमान बस्न सक्दैनन् । केही समयअघिसम्म दाङमा इन्धन डिपो नभएका कारणले गर्दा समस्या भएको हो भनियो । अहिले डिपो छ । इन्धन भर्न सकिन्छ । तर पनि ठूला विमान आउँदैनन् । अहिले भन्नका लागि त रनवे विस्तारका लागि सम्भावना नै छैन भनिएको छ । यसको सम्भाव्यता अध्ययन गरिनुपर्छ । तुलसीपुरमा रहेको विमानस्थलाई विस्तार गर्न सक्ने हो भने त्यहि गरौं होइन भने विकल्प खोजौं । आजको दिनमा यो कुराका बारेमा व्यापक बहस छलफल गर्नुपर्छ ।

दाङको विमानस्थल संचालनका लागि कहिले तुलसीपुर उद्योग बाणिज्य संघले पहल गर्दछ । कहिले तुलसीपुर उपमहानगरपालिकाले टिकट काट्ने व्यवस्था गर्दछ । जे गर्दा पनि यहाँ प्लेन नियमित हुन सकेको छैन । नेपालमा रहेको एकमात्र सरकारी विमान नेपाल एयरलायन्सको उदाशिनताका कारणले गर्दा यो समस्या भएको छ । ठूला विमान आउन नसक्ने । एकमात्र सरकारी विमान सेवा कम्पनीसंग अलि ठूला विमान पनि छैनन् । भएका केही ठूला अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग भइरहेका छन् । नीजि विमान कम्पनीहरु फाइदामा गइरहेका छन् । नेपालको एकमात्र सरकारी विमान कम्पनी धरासायी बन्दै गएको छ । यो सवै सरकारी उदाशिनताका कारणले गर्दा भइरहेको छ । विमान चलाउने कुराको जिम्मेवारी नीजि क्षेत्रले लिएर हुँदैन । नीजि क्षेत्रले विमान चलाउन सक्छ तर विमानस्थल चलाउन सक्दैन । नेपालमा कुनै पनि भुगोलमा नीजि क्षेत्रले विमानस्थल चलाएको छैन । जति पनि विमानस्थलहरु रहेका छन ति सवै सरकारी रुपमा रहेका छन् । सरकारी काममा यति उदाशिनता रहेको छ कि जसले जनताको अपेक्षा पुरा गर्न सकिरहेको छैन । यसैकारणले गर्दा नै दाङमा विमानस्थल सुधार हुन सकेको छैन ।

पदमा नपुग्दासम्म सवैले विमानस्थल सुधार गर्ने कुरा गर्दछन् । पदमा पुगेपछि सवै कुरा विर्सन्छन् । दाङको सवालमा पनि यहि भएको छ । भएको एउटा विमानस्थल ठिक तरिकाले संचालन हुन सकिरहेको छैन अव यहाँ कसरी अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छ भन्ने कुरा शंकामा रहेको छ । दाङमा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता टड्कारो रहेको छ । अन्तर्राष्ट्रिय विमानहरु आउँछन कि आउँदैनन त्यो अर्को कुरा हो । तर दाङको भुगोललाई हेर्दा यहाँ एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँनै पर्ने भएको छ । नेपालको भुगोललाई हेर्दा विमानस्थलको संख्या अझै बढाउनुपर्छ । जहाँ स्थल यातायातको अवस्था कमजोर रहेको छ त्यहाँ हवाई यातायात नै सजिलो र संस्तो माध्यम बन्न सक्छ । यो कुरामा नीति निर्माण गर्नेहरुले ध्यान दिन सकेका छैनन् । दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरु यो कुरामा मौन हुन्छन् । दाङबाट पटक पटक मन्त्री बनेकाहरुले यो कुरामा किन पहल गर्न सकिरहेका छैनन् । यहाँको आर्थिक विकासका लागि, यहाँको पर्यटनको विकासका लागि, यहाँको समग्र विकासका लागि विमानस्थल संचालन गर्नैपर्दछ । विमानस्थललाई राजनीतिको थलो बनाउनु हुँदैन । हामीकहाँ फोर लेन सडक राजनीति गर्ने विषय बन्छ । यस्तै पुलको विषय राजनीति गर्ने विषय बन्दछ । अन्य धेरै विषयहरु राजनीतिको दाउँपेचका विषयहरु बन्दछन् । जवसम्म हामीले यस्ता विषयलाई राजनीतिको खपतका विषयहरु बनाउँछौं तवसम्म हामीले विकासको लक्ष्य भेटाउन सक्दैनौं । समस्याको चुरो पत्ता लगाएर दाङ जिल्लामा नियमित रुपमा विमान चलाउने बारेमा योजना बनाउनै पर्दछ । दाङ जिल्लामा राम्रो विमानस्थल संचालन हुन नदिनका लागि कसले कहाँबाट भूमिका खेलिरहेको छ त्यसको पहिचान गरेर जानुपर्छ । निकै पुरानो विमानस्थल भएर पनि यसको विकास हुन सकिरहेको छैन । यसको विकासको बाधक को हो ? भन्ने कुराको पहिचान गरेर अघि बढ्न सकियो भने मात्रै यहाँ सुविधासम्पन्न विमानस्थल बन्न सक्छ ।

तुलसीपुरमा रहेको एयरपोर्ट अहिलेसम्म किन बन्न सकेन ? बन्न दिइएन कि बनाउने चाहना नै गरिएन ? आजको दिनमा सवैभन्दा महत्वपूर्ण कुरा हो यो । तुलसीपुरमा रहेको एयरपोर्ट बन्न नदिएको हो । नेपालजस्तो देशका लागि कुनै एउटा एयरपोर्ट बनाउने ठूलो कुरा होइन । तुलसीपुर रहेको एयरपोर्ट राम्रो बनाउन सकेको भए अहिले पनि नेपालमा व्यस्त मध्य एउटा बन्न सक्ने थियो । नेपालमा सवैभन्दा बढी व्यस्त एयरपोर्ट काठमाडौंपछि पोखरा, विराटनगर, भैरहवा, भरतपुर, नेपालगञ्ज आदी हुन । यि बाहेक अन्य विमानस्थलमा पनि चल्छन् । नेपालमा अहिले सातवटा प्रदेश भएको सन्दर्भमा हरेक प्रदेशमा एउटा अन्तर्राष्ट्रिस्तरको विमानस्थल बनाउने र अन्य जिल्लामा कम्तीमा एउटा एयरपोर्ट बनाउने गरी ध्यान दिनुपर्छ । तराईका जिल्लामा हरेक जिल्लामा एउटा आवश्यक नहोला । पहाडी क्षेत्रमा ठूला एयरपोर्ट बनाउन नसकिएला । आवश्यकताको कुरा गर्ने हो भने हरेक जिल्लामा एउटा सानो भएपनि एयरपोर्ट बनाउनुपर्छ । कहिलेकाँही आकस्मीक रुपमा उडान गर्नुपर्ने अवस्था आउँदा विमानस्थल नै छैन भन्ने अवस्था नआवोस भन्नका लागि पनि जिल्लामा एउटा विमानस्थल बनाउनुको विकल्प छैन् । सरकारले यसका बारेमा ख्याल गर्नुपर्छ ।

विमानस्थल र विमान कम्पनी फरक कुरा हो । नेपालमा विमान कम्पनीसंग विमानस्थल छैनन् । यस्तो अभ्यास अनेत्र पनि छैन होला । विमानस्थल सवै सरकारी रुपमा छन् । जसको संचालन प्राधिकरणबाट भइरहेको छ । विमान कम्पनी विभिन्न छन् । सरकारी विमान कम्पनी पनि छ । जसलाई पहिले शाही नेपाल बायु सेवा निगम भनिन्थ्यो । अहिले त्यसको नाम परिवर्तन भएको छ । अहिले यसको नाम नेपाल बायु सेवा निगम भएको छ । यो नेपालमा अन्य सवै विमान कम्पनीभन्दा घाटामा रहेको छ । यो घाटामा किन छ भन्दा यो सरकारी हो त्यस कारणले गर्दा घाटामा छ भन्ने सजिलो जवाफ दिन सकिन्छ । नेपालमा सरकारी रुपमा रहेका कम्पनीहरु कुनै पनि नाफामा गएका छैनन् । सरकारी उद्योगहरु घाटामा गएका छन् । सरकारी उद्योगका रुपमा रहेका छाला जुत्ता उद्योग, चुरोट उद्योग, कागज उद्योग, चिनी उद्योग, कपास उद्योग, कपडा उद्योग जस्ता अनेकन उद्योगहरु बन्द भइसकेका छन् । केही सिमेन्ट उद्योग छन ति मर्ने र बाँच्ने दोसाधमा रहेका छन् । अन्य उद्योगहरुका बारेमा नेपाली नागरिक सवै जानकार रहेको अवस्था छ । एकमात्र राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल बायु सेवा निगमको अवस्थाका बारेमा यहाँ धेरै चित्रण गर्नै पर्दैन । मात्रै चर्चा गरे पुग्छ । नेपालमा २००७ सालमा पहिलो पटक विमान बस्यो भनिन्छ । त्यसपछि विस्तारै देशका अन्य भागमा पनि विमान बस्न थाल्यो । सडक यातायात नपुगेका कारणले गर्दा मानिसका लागि विमानको विकल्प पनि थिएन । सडक यातायात भए मात्रै गाडी चल्ने भएकाले सडक यातायात नभएपनि उडेर जान सक्ने भएकाले विश्वभर विमानको सेवा दु्रत रुपमा फैलिएको थियो । हुनत नेपालको राजधानी काठमाडौंमा गाडी ल्याउँदा बोकाएर ल्याइएको थियो । मजदुरले बोकेर गाडी ल्याएका थिए । विमानलाई बोक्नुपर्ने थिएन । गौचरणका रुपमा रहेको अहिलेको एयरपोर्टमा विमान बसेको थियो । सायद काठमाडौंपछि पोखरामा विमान बसेको थियो जतिवेला पोखरामा गाडी पुगेको थिएन । गाडी भन्दा विमान पहिले पुगेको थियो । दाङ जिल्लाको कुरा गर्ने हो भने पनि दाङमा गाडी भन्दा पहिले विमान बसेृको थियो । २०११ सालमा विमान बसेको टरिगाउँको एयरपोर्टका बारेमा यहाँ चर्चा भइरहेको छ ।

यहाँको एयरपोर्ट चल्न नसक्नुमा राजनीतिक दाउँपेच पहिलो कारण हो भन्नेमा शंका गर्नुपर्ने छैन । विमान केही समय चल्छ अनि बन्द हुन्छ । कसले ल्याउने भन्नेमा होड चल्छ । आइसकेपछि मैले ल्याएको हो भन्नेमा होड चल्छ । एउटै योजना निर्माणका लागि धेरैले दावी गर्दछन् । तुलसीपुरमा रहेको एयरपोर्टलाई पिच गराउनका लागि जसले काम गरेपनि त्यसको जस धेरैले लिइरहेक छन् । बजेट मैले हालेको हो । बजेटका लागि पहल गरेको हो । योजनाका लागि फल्नोलाई भनेको हो । मैले फल्नो सचिवलाई भने । मन्त्रीलाई भने । प्रधानमन्त्रीलाई भनेको हुँ जसका कारणले गर्दा यो बन्यो भनेर भन्नेहरुको संख्या कति त कति ? काम गर्नेलाई जस लिने होड हुँदैन । काम गर्ने हो भने त्यसको जस लिनका लागि प्रतिष्पर्धा गर्नै पर्दैन । हामीकहाँ गर्नुपर्ने काम कति छन कति । एयरपोर्टको कुरा सानो हो । एयरपोर्ट भित्र इन्धन डिपो बनाउनका लागि संघर्ष गर्नुपर्ने मुलुकमा छौं हामी । यहाँ सजिलोसंग कुनै काम हुँदैन । सजिलरी कुनै काम बन्दैन । काम गराउनका सोर्स फोर्स लगाउनुपर्छ । पहुँचका आधारमा यहाँ एयरपोर्ट बन्छ । पहुँचका आधारमा खोला फर्कन्छ । पहुँचका आधारमा पुल बन्छ । पहुँचका आधारमा नै धेरै काम हुन्छ । यसकारण के भन्न सकिन्छ भने तुलसीपुरको एयरपोर्टलाई संचालन गर्ने हो भने अलि ठूलै पहल गर्नुपर्छ । सानो पहलले यो हुनेवाला छैन । मेयरले मैले गरेको हुँ भनेर धाक लगाउँदा सांसदले मैले गरेको हुँ, मेरो कारणले गर्दा यो सम्भव भएको हो भन्न भ्याउँछ । सांसदले मैले पहल गरेको थिए भन्न पाएको हुँदैन मन्त्रीले मैले गरेको हुँ भन्न भ्याउँछ । सुन्नेहरुले कसको विश्वास गर्ने । काम त भएको छ । यो खुशीको कुरा हो । काम आखिर कसले ग¥यो । सवै जस लिने होडमा लाग्छन् । तुलसीपुरमा रहेको एयरपोर्टलाई राम्रो बनाउने, व्यवस्थित बनाउने, यसलाई अझ फराकिलो बनाउने बारेमा सवैको एकमत हुनुपर्छ । यो जस लिने र अपजस दिने भन्ने कुरा होइन । यो सवै मिलेर गर्ने काम हो ।

विमानस्थललाई दिर्घकालिन रुपमा संचालन गर्ने हो भने केही काम गर्नैपर्दछ । पहिलो काम भनेको विमानस्थलको भागलाई अझै लामो बनाउनुपर्छ । अहिले जति रनवे छ त्यसलाई बढाउनै पर्दछ । कम्तिमा पनि ३२ सिटेसम्मका जहाज बन्न सक्ने अवस्था बन्यो भने अन्य नीजि विमानहरु प्नि आउन सक्छन् । हामी यो कुरामा यदी तयार छौं भने यो काम पहिले गरौं । विमान आएन भनेर गुनासो गर्ने भन्दा विमानस्थलको लम्वाई बढाएर कम्तीमा पनि एक किलोमिटरको हाराहारीमा बनाउने गरी योजना बनाउनुपर्छ । विमानस्थल सानो भएका कारणले गर्दा ठूला जहाज आउन सकेका छैनन । ठूला जहाज आउन नसकेका कारणले गर्दा अहिले भाडा निकै महङ्गो रहेको छ । नीजि विमान कम्पनीले पनि उडान भर्ने अवस्था आयो भने अहिलेको जस्तो सातामा एक दिन प्लेन आइदिए हुन्थ्यो भनेर कामना गरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । अहिले नीजि विमान आउन तयार छैनन् । कारण विमानस्थल सानो छ । नीजि विमान आउने हो भने दैनिक रुपमा तीन चारवटासम्म उडान हुन सक्छ । केही बर्ष अघि दैनिक दुईवटा उडान हुन्थ्यो । दुईवटा उडान हुँदै गर्दा केही आशाका किरण आएका थिए । अव दैनिक रुपमा विमान आइरहनेछ भन्ने लागेको थियो । पछि यो सातामा एक दिन सम्ममा झर्यो । यि पङ्ती लेखिरहदा सातामा चार दिन आउने भनिएको छ । यो चार दिन पनि नियमित छैन । दैनिक एउटा मात्रै विमान हुँदा कतिवेला ‘आजको प्लेन क्यान्सिल भयो ।’ भन्ने सूचना आउँछ थाहा हुँदैन । दाङ आउनका लागि तयार भएको यात्रु एकैपटक योजना बदलेर नेपालगञ्ज वा भैरहवा पुग्नुपर्छ । कि भने नाइट बसको यात्रा गर्दै आउनुपर्छ । तुलसीपुरमा रहेको एयरपोर्ट संचालनका लागि दिर्घकालिन योजना बनाउनुपर्छ । अहिले मुलुक संघीयतामा गएको सन्दर्भमा विमानस्थलाई पनि संघीय सरकार अन्तरगत र प्रदेश सरकार अन्तरगत राख्नुपर्छ । जसरी अस्पताललाई संघीय सरकारले हेर्न र प्रदेश सरकारले हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ अव विमानस्थलको हकमा पनि यहि गर्नुपर्छ । ठूला विमानस्थललाई संघीय सरकारको मातहतमा राख्नुपर्छ भने तुलसीपुरमा रहेका जस्ता विमानस्थलको संचालन, विकास र विस्तारको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्छ । यस्तो हुन सक्यो भने मात्रै विमानस्थलको विस्तार र संरक्षणमा राम्रो हुन सक्छ । नेपालमा संघीयता कार्यान्वयन हुँदा कतिपय विषयमा नीति नै बनेको छैन । जसले गर्दा समस्या परिरहेको छ । विमानस्थलको हकमा पनि यहि कुरा लागु भएको छ । विमानस्थललाई राजनीतिक दाउँपेचको विषय होइन कि यसलाई विकासको विषयका रुपमा अघि बढाउनुपर्दछ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img