spot_img
spot_img

सरकारको नीति तथा कार्यक्रम

नयाँ सरकार गठन भएको धेरै दिन भएको छैन । करिव दुई साता हुँदा नीति तथा कार्यक्रम आएको छ । नयाँ सरकार बन्दा नीति तथा कार्यक्रम ल्याउने आम चलन जस्तै भएको छ । सरकारको नीति तथा कार्यक्रमका आधारमा आगामी यात्रा तय हुने विश्वास गरिन्छ । सरकारले आफ्नो कार्यकालमा के कस्ता काम गर्ला भन्ने सन्दर्भमा नीति तथा कार्यक्रमलाई आधार लिइन्छ । यसपाली नयाँ सरकार बनेपछि नीति कार्यक्रम आएको छ । यो कार्यक्रम ल्याउनु अघि राजनीतिक दलका शिर्ष नेताले यसका बारेमा छलफल गरेका थिए । यसपालीको नीति तथा कार्यक्रममा समेटिएका विषयहरु निम्न रहेका छन् । नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचनागत सुधार, लोकतन्त्र, सुशासन र गुणस्तरीय सेवा, दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, मेक इन नेपाल ः काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार, स्वस्थ नेपाली, निरोगी नेपाल, खाद्य, आवास र खानेपानी, कृषिक्षेत्रको रूपान्तरण र ऊर्जा विकास रहेका छन् । यसैगरी मर्यादित श्रम र सामाजिक संरक्षण, वैज्ञानिक भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान, सूचना प्रविधि, युवा र खेलकुद, पर्यटन, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय एकता, वन– वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, महिला सहभागिता, सशक्तीकरण र समावेशिता, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय र संघीयता कार्यान्वयन र जनताको हितमा राज्य संयन्त्रको परिचालन रहेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको छ । पहिलेका सरकारले पनि यस्तै कार्यक्रम ल्याउँथे । पहिलेका सरकारले ल्याउने गरेका नीति तथा कार्यक्रम राम्रा थिएनन् र यसपाली उल्कै राम्रो ल्याए भन्ने छैन । पहिले पनि नीति कार्यक्रम आउँथे अहिले पनि आएका छन् । अहिलेको सरकारलाई समर्थन गर्नेहरु सानो संख्यामा सांसद भएकाहरु रहेका छन् । तिनीहरुको कुराको कति सुनुवाई भयो होला र ? अथवा तिनीहरुले पनि नयाँ कार्यक्रम के भन्न सके होलान र ? नीति तथा कार्यक्रमको समस्या भनेकै कार्यान्वयनमा हुने गर्दछ । नीति तथा कार्यक्रम सरकारले गर्ने सराद्दे जस्तो भएको छ । नयाँ सरकार आएपछि ल्याउनैपर्ने । नयाँ आर्थिक बर्षको सुरुमा ल्याउनै पर्ने कार्यक्रम जस्तो भएको छ । सरकारको नीति तथा कार्यक्रमलाई जनताले कुन रुपमा लिए भन्ने हो । जनता नतिजाको पर्खाइमा रहेका छन् । नयाँ सरकार बनेको त्यसैले यसलाई केही समय त शंकाको सुविधा दिनुपर्छ भन्ने होला । पात्र फेरिएका मात्रै हुन् । जहिले जो शक्तिमा छन हिजोका दिनमा कुनै न कुै रुपमा यिनै पात्रहरु शक्तिमा थिए । शासनमा थिए । हिजोका दिनमा जनअपेक्षा अनुरुप काम गर्न नसक्नेहरुमा आज रातारात कहाँबाट त्यस्तो शक्ति आउँछ । जो व्यक्ति सरकारमा जान्छ उसले केही नयाँ गर्दछु भनेर घोषणा गर्दछ । सरकारमा बस्दासम्म काम गर्न नसक्ने अनि सरकारबाट बाहिर भएपनि अनेकन थरी आरोप प्रत्यारोप गर्ने । नेपाली राजनीतिमा एउटा यस्तो कुसस्कार बसिककेको छ । जुन दलदलबाट नेपालको राजनीति माथि उठ्न सकेको छैन ।

सरकारमा को व्यक्ति गयो भन्दा पनि त्यो व्यक्तिले कसरी सोच्दछ भन्ने हो । सरकारले ल्याउने नीति तथा कार्यक्रमका आधारमा मात्रै सरकारलाई समर्थन गर्ने भनेर बस्नेहरु पनि छन् । अहिले समर्थन गर्ने दलहरु कुनै दिन समर्थन फिर्ता गर्न पाइन्छ र अर्कोसंग बढी फाइदा लिन सकिन्छ भनेर पर्खिरहेका छन् । संसदमा धेरै दल हुँदा सरकारको नेतृत्वगर्नेलाई यहि गाह्रो हुन्छ । सरकारको नेतृत्व गर्नेको कामै भनेको यताबाट उता र उताबाट एताकालाई मिलाउनु हुन्छ । अहिलेको सरकारको जग त्यति बलियो छैन । अहिले समर्थन लिने र तुरुन्तै फिर्ता लिने हो भने त्यो पनि आश्चर्य नमान्दा हुन्छ । सरकारको नीति तथा कार्यक्रमका आधारमा समर्थन गर्ने हो भने नीति तथा कार्यक्रम ठिकै बनेको छ । यहि नीति तथा कार्यक्रमलाई आधार बनाएर अघि बढ्ने हो भने नेपालमा विकासको लहर ल्याउन सकिन्छ । जनतालाई राहत दिन सकिन्छ । भ्रष्टाचार केही हदसम्म भएपनि कमगर्न सकिन्छ । नेपाल देशलाई लागेको महारोग भनेकै भ्रष्टाचार हो । नेपाललाई लागेको महारोग अन्त्यका लागि सरकारले प्रतिवद्धता गर्नै पर्दछ । सरकारमा जानेले सरकार जोगाउनका लागि मात्रै ध्यान दिने । सरकार भन्दा बाहिर रहेकोले सरकार ढाल्नका लागि ध्यान दिने हो भने नेपाली जनताले अझै दुःख पाउनुपर्ने हुन्छ । अघिल्लो पटक झण्डै दुई तिहाइको सरकार थियो । नेकपा एमालेको कुरा गर्ने हो भने थोरैले मात्रै बहुमत पुगेको थिएन । अहिले त्यो अवस्था छैन । जोडिएकाहरु कतिसम्म मिलेर बस्लान भन्ने हो । अहिले सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ यसको कार्यान्वयन हुन सकोस भन्ने शुभकामना मात्र दिन सकिन्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img