spot_img
Home Blog Page 43

हात्तीपाइलेको जोखिममा दाङ पनि

दुई प्रतिशतमा झार्न चुनौती

छबि पुरी/राप्ती पोष्ट

घोराही, माघ । दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाईले रोगको उच्च जोखिममा छन् । विगत १२ वर्षदेखि हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन हुँदै आएकोमा दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेको पाईएको हो ।

क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट यो रोगमान्छेमा सर्ने हुँदा रोगलागेपछि शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनिएको हो ।
नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्यकर्मी बताउँछन् । दाङमा हात्तीपाईलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको छ । जिल्लामा गत वर्षको सर्वेक्षणले चार सय २९ जनामा हात्तीपाइले र एक हजार छ सय १४ जनामा हाईड्रोसिल गरी कुल दुई हजार ४४ जनामा यो समस्या रहेको छ ।

सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो तीन वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौती देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।

हात्तीपाइलेको संक्रमण दर २ प्रतिशत भन्दा कम हुनुपर्नेमा यो अवस्थासम्म ल्याउन दाङमा अझ धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुवँरले बताउनुभयो । जिल्लामा सन् १०१९ मा सिसहनियाँ र टरीगाउँमा गरिएको परिक्षणमा ५ दशमलव ८५ प्रतिशतमा हात्तीपाइलेको संक्रमणपुष्टि भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै रोग नियन्त्रणको प्रयास भएपनि कम हुन सकेन । सन् २०२१ मा देउखुरीकै सिसहनियाँ र घोराहीको सुर्केडाँगीलगायत स्थानमा गरिएको परिक्षणमा ७ प्रतिशतभन्दा बढीमा यो समस्या देखियो । ‘विगत १२ वर्षको निरन्तरको प्रयासमा जिल्लालाई हात्तीपाइले रोग नियन्त्रित बनाउने प्रयास सफल हुन सकेको छैन’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भन्नुभयो, ‘यो अघिल्लो वर्षबाट केही नयाँ अभ्यास थालनी भएको छ, आशा छ, अब दुई प्रतिशतभन्दा तल झर्ला ।’

जिल्लाको घोराही उपमहानगरपालिकामा सबैभन्दा बढीमा हात्तीपाइलेको संक्रमण भेटिएको छ । गत वर्ष गरिएको सर्वेक्षणमा जिल्लाको घोराहीमा एक सय १६ जनामा हात्तीपाइलेका नयाँ बिरामी भेटिएका थिए । यसैगरी, तुलसीपुरमा ९८ जना, लमहीमा ७४ जना, गढवामा ५८ जना राप्तीमा ४३ जना, राजपुरमा ११ जना, बबईमा १० जना, बंगलाचुलीमा आठ जना, शान्तिनगरमा छ र दंगीशरणमा पाँच जनामा हात्तीपाइलेको संक्रमण पुष्टि भएको थियो । अघिल्लो पटक जिल्लाको सिसहनियामा तीन सय १४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा तीन सय ३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाईले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा चार प्रतिशत बढी देखिएको हो । सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको छ । तर, जनचेतना अभावमा कतिपय नागरिकले नियमित औषधी सेवन नगर्दा समस्या हुने गरेको छ । जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।

रोग नियन्त्रणका लागि यो वर्ष पनि संघ सरकारले ससर्त अनुदानमा बजेट विनियोजन गरेको छ । जसका लागि जिल्लाका छ लाख ८७ हजार सात सय ७७ लक्षित जनसंख्यालाई आम औषधी सेवन अभियानमा जोड्न छ सय ५९ जना स्वास्थ्यकर्मी परिचालनको तयारी भएको छ । जसअनुसार जिल्लाको तुलसीपुरमा सबैभन्दा बढी एक सय ६५ जना, घोराहीमा एक सय १० जना, राप्तीमा ६६ जना स्वास्थ्यकर्मी आम औषधी सेवन अभियानमा सहभागी हुने भएका छन् ।

यसैगरी, लमहीमा ५७ जना, बबईमा ४२ जना, दंगीशरणमा ३८ जना, बंगलाचुलीमा ५० जना, गढवामा ४८ जना, राजपुरमा ४१ जना र शान्तिनगरमा ४२ जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । सबै पालिकाका नागरिकलाई आम औषधी सेवनमा जोड्न तीन चरणमा खुवाउने तयारी भएको छ । यद्दपि यसको मिति अझै तोकिएको छैन । जस अनुसार पहिलो चरणमा देउखुरीका चार पालिका राप्ती, गढवा, राजपुर र लमहीमा खुवाईनेछ । दोश्रो चरणमा बंगलाचुली र घोराहीमा आम औषधी सेवन अभियान हुनेछ भने तेश्रो चरणमा पश्चिम क्षेत्र तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईमा हुनेभएको फोकल पर्सन चन्दले बताउनुभयो ।

हात्तीपाइले रोगको जोखिम रहेका १३ जिल्लाका अघिल्लो वर्ष ७४ लाख ६१ हजार जनसंख्यालाई लक्षित गरी हात्तीपाइले विरुद्धको औषधि सेवन गराईएको थियो । आम औषधी सेवन अन्तर्गत दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कचनपुर, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङमा औषधी खुवाइएको थियो । अघिल्लो वर्षबाट मानिसको उचाई अनुुसार औषधी सेवन गराउने गरिएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन भएको छ । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुुपरे पनि आईभर मेक्टिन नामक औषधी थप गरिएको छ । सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको छ । जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् ।

हात्तीपाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ । यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक सबैले खान सकिन्छ ।

सोलार पाएपछि कुइजाबासीमा खुसीयाली

राप्ती पोष्ट

घोराही, माघ । विद्युत नपुगेको बंगलाचुली गाउँपालिकाको विकट वडाका रुपमा रहेको वडा नं. ३ को कुइजामा सोलार वितरण गरिएको छ । बर्षौदेखि अन्धकारमा बस्न बाध्य स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै सोलार वितरण गरिएको थियो । गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाको लगानीमा सोलार वितरण गरेको हो ।

वडा नब्ं. ३ का अध्यक्ष शोभाराज विश्वकर्माका अनुसार हालसम्म विद्युत नपुगेको र विद्युत पु¥याउनका लागि निकै गाह्रो रहेको छ । उहाँका अनुसार कुइजा गाउँमा रहेका १८ घर परिवारलाई सोलार वितरण गरिएको हो । सोलार पाएपछि गाउँलेहरु निकै खुसी भएका छन् ।

घोराहीमा रहेकको न्यू ज्योति इनर्जी टे«डर्सका प्रोपाइटर भरतमणि अधिकारीले सोलार जडान गर्नुभएको हो । तारबाट विद्युत पु¥याउन नसकिने स्थानमा सोलार जोडेर बत्ती बाल्न सकिने भएकाले विकट क्षेत्रमा सोलारको माग बढीरहेको पनि अधिकारीले बताउनुभयो । अधिकारीले दुईबर्षसम्म सोलारमा कुनै समस्या आएमा न्यू ज्योति इनर्जी टे«डर्सका तर्फबाट निशुल्क मर्मत गरिदिने पनि बताउनुभयो ।

हालै गाउँमा कार्यक्रम आयोजना गरेर स्थानीयलाई सोलार वितरण गरिएको थियो । सोलार वितरण गर्दा सोलार जोड्ने, सोलारको ब्याट्रीलाई रेखदेख गर्ने तरिकाका बारेमा पनि जानकारी गराइएको अधिकारीले बताउनुभयो । कुनै समस्या आएमा तत्काल खवर गर्नका लागि पनि भनिएको उहाँले बताउनुभयो ।

बंगलाचुली गाउँपालिकाका अन्य विभिन्न गाउँमा पनि सोलार वितरण गर्ने योजना रहेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो । आफू अघिल्लो पटक निर्वाचित हुँदा नै विद्युतको व्यवस्थागर्नका लागि प्रतिवद्धता गरेको भएपनि यो कार्यकालमा मात्रै सोलार जडान गर्न सकिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

वडा नं. ३ मा जम्मा सात सय ६९ घरधुरी रहेका छन् । वडाभर तीन हजार पाँच सय ३६ जनसंख्या रहेको छ । यसैगरी वडामा एक हजार पाँच सय सात पुरुष र दुई हजार २९ जना महिला रहेका छन् । लामोसमयदेखि विद्युत प्रयोग गर्न नपाएका स्थानीयले सोलारको प्रयोग गरेर विद्युत बाल्ने, मोवाइल चार्ज गर्ने लगायतका काम गर्न सक्नेछन् । १८ घरधुरीमा सोलार जडान गर्दा एक सय भन्दा बढी लाभान्वित भएका छन् ।

वडाध्यक्ष विश्वकर्माले आफूले निर्वाचनको समयमा गरेको प्रतिवद्धता अनुसार पानीको व्यवस्था गर्नका लागि योजना बनाइरहेको बताउनुभयो । उहाँका अनुसार विद्युत नपुगेका स्थानमा विद्युत पु¥याउने, विद्युत पुग्न नसक्ने स्थानमा सोलार बत्ती जडान गर्ने योजना रहेको बताउनुभयो ।

यसैगरी नलेनी खानेपानीको मुल संरक्षण गर्ने, खारखोला देखि ढाडटोल हुँदै दाङबाङ जोड्ने मोटरबाटो निर्माण, भजुनी खानेपानी मुल संरक्षण, दपचौर खानेपानी योजनाका लागि पाइप खरिद गर्ने, मानव कल्याण विद्यालयको फिल्ड निर्माण तथा मर्मत गर्ने र ढवेर कात्तिके खानेपानीको मुल संरक्षण गर्ने जस्ता योजना वडाको विकासका लागि राखिएको पनि अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लापरवाही

रगत परिक्षण गर्दा एउटै मान्छेको फरक/फरक रक्त समूह

राप्ती पोष्ट

घोराही, माघ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत जाँचका क्रममा लापरवाही गरेको पाइएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्पाराकी २५ वर्षीया महिलाको सुत्केरी हुने नजिकिएका बेला प्रतिष्ठानले गरेको सिफारिसमा माघ १० गते गरिएको परिक्षणमा उहाँको रक्त समुह बी पोजिटिभ आयो । उक्त दिन ३ बजेर १५ मिनेटमा संकलन गरिएको नमूनाको परिक्षण रिपोर्ट सोही दिन ४ बजेर २६ मिनेटमा निकालिएकोमा रक्त समुह बी पोजिटिभ उल्लेख गरिएको छ । उहाँले गर्भवती भएपछि चिकित्सकको निगरानीमा रहँदै स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गर्दै आउनुभएको थियो । प्रतिष्ठानको मात्रै भर नपरेर उहाँले निजि क्लिनिक शिव पोलिक्लिनिकमा पनि डाक्टरसँग परामर्शदेखि परिक्षण गराउने काम गर्दै आउनुभएको थियो ।

गत असोज २६ गते उहाँले शिव पोलिक्लिनिकमा स्वास्थ्य परिक्षणसँगै रक्त समुह पहिचानका लागि रगत नमूना दिएकोमा त्यो बेलामा उहाँको रगत समुह ओ पोजिटिभ देखिएको थियो । सुत्केरी हुनेदिन नजिकिएसँगै स्वास्थ्य अवस्था र रक्त समुहको बारेमा थाहा पाउन डाक्टरले रगतको नमूना लिएपछि प्रतिष्ठानको ल्याबमा गरिएको परिक्षणमा रगत समुह बी पोजिटिभ रहेको भनी रिपोर्ट थमाईयो । गर्भवती ती महिलाको सुत्केरी हुने दिन माघ २० गते तोकिएको छ ।
श्रीमतीको सुत्केरी हुनेदिन नजिकिएका बेला आवश्यकपर्ने रगतको जोहोसहित अरु व्यवस्था गर्नुपर्ने भएपछि उहाँका श्रीमानले रिपोर्ट नियालेपछि उहाँको रगत समुह बी पोजिटिभ की ओ पोजिटिभ भन्ने अन्योल भयो । असोजमा शिव पोलिक्लिनिकले दिएको रिपोर्टमा बी पोजिटिभ छ, माघ १० गतेको प्रतिष्ठानले दिएको रिपोर्टमा ओ पाजिटिभ छ, अब एकै व्यक्तिको दुई वटा समुहको रगत कसरी भयो भन्ने अन्यौलताले आफुलाई झनै तनाव भएको उहाँका श्रीमान शैलेश अधिकारीले बताउनुभयो ।

‘माघको २० गते डेलिभरी हुने मिति तोकेको छ, श्रीमतीको अन्तिम जाँच गराउँदा प्रतिष्ठानले बी पोजिटिभ रिपोर्ट दियो । जवकी शिव पोलिक्लिनिकमा ‘ओ’ पोजिटिभको रिपोर्ट आएको थियो । जनस्वास्थ्यका दृष्टिकोणले मानव स्वास्थ्यमाथि यति सम्मको लापरवाही भएको भन्दै ती महिलाका श्रीमानले आक्रोश पोखेपछि प्रतिष्ठानमा कार्यरत एक कर्मचारीले रगत समुह दुई थरी आएको भए दुवै समुहको रगतको जोहो गर्न सुझाएको उहाँको भनाई छ । ‘पहिले कुन रगत समुह हो त्यो किटान नगरी दुई थरी रगत जोहो गर्नुस् भन्ने कतिसम्मको गैरजिम्मेवार बोली हो’, उहाँले भन्नुभयो, ‘यस्तो कुरामा पनि खेलवाड गर्न मिल्छ र ?’ आफुहरुले पहिले निजि मेडिकलमा रगत समुहको बारेमा परिक्षण नगराएको भए सुत्केरी श्रीमतीको शरीरमा फरक रगत चढाउनुपर्ने अवस्था आउने निश्चित रहेको उहाँको भनाई छ । ‘रगत समुहका बारेमा पहिले रिपोर्ट नबनाएको भए श्रीमतीको जीउज्यान जे पनि हुन सक्ने अवस्था थियो’, उहाँले भन्नुभयो, ‘यो साह्रै तनाव दिने काम भयो । पहिलो पटक प्रतिष्ठानमा रगत गरेको भए के हुन्थ्यो, हामीले रजिस्टर हेर्ने होईन, रिपोर्ट हेर्ने हो । यस्ता आलोकाँचो काम गरेर जनस्वास्थ्यमा खेलवाड गर्ने काम भयो । अब कसको विश्वास गर्नु र खै ?’

सेवाग्राहीको गुनासोपछि प्रतिष्ठानले गर्भवती महिलाको रगत समुह पुनः परिक्षण गरेर जानकारी गराउने बताएपछि माघ १५ गते पुनः रगत समुह परिक्षण गरी ओ पोजिटिभ रक्त समुह भएको पुष्टि गर्यो । पाँच दिनपछि गरिएको परिक्षण रिपोर्टमा अरु सबै कुरा माघ १० गतेकै उल्लेख गरी रक्त समुह ओ पाजिटिभ भएको उल्लेख गरेको छ । ‘रिपोर्ट हेर्न पढ्न सक्ने म जस्ता सेवाग्राहीले त बेलैमा थाहा पाएर गुनासो गरेपछि जानकारी भयो तर गाउँघरका सोझासाझा जनताले यस्तो अवस्था नभोगेका होलान् भन्न सक्ने अवस्था छैन ।’ उहाँले भन्नुभयो, ‘मेरै श्रीमतीको हकमा पनि अरु ठाउँमा परिक्षण नगराएर पहिलो पटक प्रतिष्ठानमा रक्त समुह परिक्षण गराएको भए त बर्बाद नै हुने रहेछ ।’

बिरामीको स्वास्थ्य अवस्था बारेमा जानकारी गराउने काम मेडिकल रिपोर्टले गर्ने गर्छ, रिपोर्टको आधारमा नै डाक्टरले बिरामीको उपचार कसरी गर्ने भन्ने निधो गर्ने हो । यस्तो अवस्थामा गलत रिपोर्ट डाक्टरको हातमा परे उपचारपनि गलत हुने र बिरामीको जीउज्यान तलमाथि हुने अवस्था आउँछ । घटनाको विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चासो लिएको छ । एकै व्यक्तिको दुई वटा रक्त समुह कसरी भयो भन्ने जनचासो बढेपछि आईतबार प्रतिष्ठान पदाधिकारीहरुको आकस्मिक बैठकले रिपोर्ट तयार पार्दा गम्भीर त्रुटी भएको ठहर गरेको छ । ‘फाईलमा सही लेखिएको रहेछ तर रिपोर्टमा उतार्दा गलत लेखेर दिईएछ, यो गम्भीर त्रुटी हो, यो विषयमा हामीले समीक्षा गरिसकेका छौँ’, प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले भन्नुभयो, ‘बिरामीले अनाहकमा पाएको दुख त छदैछ, यस प्रकारको गलत कामले संस्थागत काममा पनि असर गर्छ भन्नेमा हामी गम्भीर भएका छौँ ।’

उहाँका अनुसार आईतबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले विभागीय अवस्थाको बारेमा जानकारी लिँदै आवश्यक कारवाही अघि बढाएको छ । ‘यस प्रकारको गल्तीले हुन सक्ने जोखिमलाई कसैले पनि सामान्य रुपमा लिन सक्दैन, यो गम्भीर अपराधका रुपमा लिएका छौँ’, उहाँले भन्नुभयो, ‘घटनाले बिरामीमा परेको असर प्रति हामी क्षमा चाहन्छौँ, आगामी दिनमा यस्ता कमी कमजोरी हुन नदिन संयमित भएका छौँ ।’ लामिछानेले घटनाका बारेमा आफूहरुले सुक्ष्म रुपमा अध्ययन गरेको भन्दै विरामीलाई परेको मर्कामा प्रतिष्ठान दुःखित रहेको बताउनुभयो ।

उपकुलपति लामिछानेले आगामी दिनमा यस्ता त्रुटी हुन नदिनका लागि आफू लागिरहेको भन्दै रगत परीक्षणका लागि आधुनिक मेसिन ल्याउने तयारी गरेको बताउनुभयो । उहाँले रगत परीक्षण गरेपछि आफै गु्रपका बारेमा जानकारी दिने खालको मेसिन ल्याउन थालिएको भन्दै उक्त मेसिन ल्याएपछि अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो ।

प्रलेसद्वारा बहिङ्गाको १६ औं अंक विमोचन

राप्ती पोष्ट

घोराही, माघ ।
साहित्यकारहरुले राजनीति लगायत अन्य क्षेत्रमा देखिने विकृति विसंगतीका विरुद्धमा खवरदारी जारी राख्नुपर्ने धारणा सोमबार यहाँ आयोजित एक कार्यक्रमका बक्ताहरुले राखेका छन् । विश्वभर नै लेखक साहित्यकारहरुले खराव विरुद्ध खवरदारी गरिरहेको भन्दै लेखक साहित्यकारहरुले खवरदारी नगर्ने हो भने अहिलेको अवस्था भन्दा पनि अझ विकराल अवस्था आउने धारणा पनि बक्ताहरुको थियो ।

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले सहिद दिवसका अवसरमा आयोजना गरेको बहिङ्गा विमोचन र साहित्यिक समारोहमा बोल्नेहरुले यस्तो धारणा राखेका हुन । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा शरदको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारले खवरदारी जारी राख्नुपर्ने बताउनुभयो ।
नेपालको राजनीतिमा अनेकन खरावी पक्ष देखिएको भन्दै यस्ता खरावीको विरुद्धमा खवरदारी गर्ने जिम्मेवारी लेखक साहित्यकारको भएको भन्दै शर्माले नेपालका साहित्यकारहरुले त्यो भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले २००७ सालको परिवर्तन भन्दा पहिले देखि नै साहित्यकारले खवरदारी गरिरहेको भन्दै यस्तो खवरदारीकै कारणले गर्दा केही आशा गर्ने ठाउँ बचेको धारणा राख्नुभयो ।

कतिपय मानिसहरुले लेखेका कुरा नपढ्ने, रेडियोमा आएका कुरा नसुन्ने अनि लेखकले केही पनि लेखेनन् भन्दै गुनासो गर्ने गरेको भन्दै शर्माले बाहिरी विषय मात्रै बुझ्ने कारणले गर्दा समस्या भइरहेको बताउनुभयो । उहाँले समाजमा रहेका यस्ता विकृति विसंगतीको विरुद्धमा खवरदारी गर्ने दायित्व सवैको भएको बताउनुभयो ।

कार्यक्रममा साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, नागरिक समाज दाङका संयोजक केबी मसाल, प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सदस्य रामप्रसाद जैशी, पुरस्कार संस्थापक ऋषिराज जंगली, पत्रकार शरद अधिकारी, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका संस्थापक सुन्दर गौतम, राप्ती साहित्य परिषदका बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, सिस्नो पानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुली लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रलेसको बार्षिक मुखपत्र बहिङ्गाको १६ औं अंक विमोचन गरिएको थियो । प्रलेसले हरेक बर्ष बार्षिक मुखपत्रका रुपमा बहिङ्गा प्रकाशित गर्र्दै आएको छ । विमोचित मुखपत्रको समिक्षा साहित्यकार तथा समिक्षक चन्द्रबहादुर थापाले गर्नुभएको थियो । प्रलेस दाङका उपाध्यक्ष रेशम विसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य रञ्जिता शर्माले गर्नुभएको थियो ।

 

घोराहीको प्रदर्शनीका लागि समिति गठन तयारी तिव्र

राप्ती पोष्ट

घोराही, माघ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा मिति आगामी फागुन ३ गते देखि १३ गतेसम्म आयोजना हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी– २०७९’ का लागि विभिन्न उप समिति गठन गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ शाखाका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षतामा बसेको बैठकले मगजैयाकै संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल समिति अन्तरगत रहने गरी पाँच सदस्यीय प्रदर्शनी व्यवस्थापन सचिबालय समिति गठन गरेको छ । जस्कोमा संयोजकमा महासंघ जिल्ला शाखाका बरिस्ठ उपाध्यक्ष लब अधिकारी र सदस्य सचिबमा महासंघ घोराही शाखा नगर समिति महासचिब नबिन पोख्रेललाई चयन गरिएको छ । बैठकले १५ प्रदर्शनी सफल बनाउन र आवश्यक सल्याह सुझाव लिनका लागि सल्लाहकार समिति समेत गठन गरेको छ । जसको संयोजकमा महासंघ प्रदेश कमिटीका सल्लाहकार तथा पूर्व जिल्ला अध्यक्ष किरण कुमार रेग्मीलाई चयन गरिएको छ ।

बैठकले प्रदर्शनीलाइ भब्य, सभ्य रुपमा सम्पन्न गर्नका विभिन्न १३ वटा उपसमितिहरु समेत गठन गरेको छ । जस अनुसार प्रेम कुमारी पुनको संयोजकत्वमा झाँकी व्यवस्थापन उप समिति गठन गरिएको छ । यसैगरी सिता मल्लको संयोजकत्वमा स्टल निर्माण तथा व्यवस्थापन उप समिति, कोषाध्यक्ष बिष्णु थापाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उप समिति गठन गरिएको छ ।

यसैगरी सागर बस्नेतको संंयोकत्वमा टिकट व्यवस्थापन उप समिति, श्रीमन न्यौपानेको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन उपसमिति, सशिधर ओलीको संयोजकत्वमा स्वाथ्य उप समिति गठन गरिएको छ । यसैगरी नेप बहादुर बि कको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन, युबराज थपलियाको संयोजकत्वमा कृषि तथा पर्यटन व्यवस्थापन उप समिति गठन गरिएको छ ।

महोत्ववका लागि आवश्यक पर्ने विद्युत तथा खानेपानी व्यवस्थापनका लागि शिव राज लम्सालको संयोजकत्वमा उप समिति गठन गरिएको छ । श्रीधर कुमार लम्सालको संयोजकत्वमा खाना तथा नास्ता व्यवस्थापन उप समिति, लिला धर भण्डारीको संयोजकत्वमा पार्किग व्यवस्थापन उप समिति, दुर्गा प्रसाद पाण्डेको संयोजकत्व्मा संचार तथा प्रचार प्रसार उप समिति गठन गरिएको छ भने मुना बस्नेतको संयोजकत्वमा अथिति तथा मंच व्यवस्थापन उप समिति गठन गरिएको प्रदर्शनी व्यवस्थापन सचिबालयका संयोजक लव अधिकारीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा करिव तीन सय ५० स्टलहरु रहनेछन । ति मध्य करिव एक सय स्टल घरेलु उद्योग र कृषि प्रदर्शनीसंग सम्वन्धित हुने आयोजकको भनाई छ । यस बाहेक केही व्यावसायिक स्टलहरु रहनेछन् । लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित साथै कृषि तथा घरेलु उद्योग संग सम्वन्धित बस्तु तथा सेवाहरुलाई प्रदर्शनीमा राख्नका लागि प्रमुख ग्राहयता दिइनेछ । उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क गराई स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै विदेशी उत्पादनलाई प्रतिष्थापन गर्ने योजना बनाइएको आयोजकले बताएको छ ।

महिला उद्यमशिलता, लघु उद्यमी तथा हस्तकलाका उत्पादन सामग्रीहरुलाई प्रोत्साहन गर्दै उपभोक्ताहरुको रुचि चाहना र आवश्यकतालाई उत्पादक सम्म पु¥याउने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको छ । प्रदेशको धार्मीक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक एवं बाह्य पर्यटन आवागमनमा बृद्धि गरिनेछ । स्थानीय मौलिक कला संस्कृति तथा रहन सहनको प्रवद्र्धन, संरक्षण र सम्वद्र्धनका कार्यक्रम संचालन गर्ने उद्देश्य राखिएको मुल समितिका संयोजक मजगैयाले बताउनुभयो ।
आगामी फागुन ३ गतेदेखि १३ गतेसम्म आयोजना हुने लुम्बिनी प्रदेश स्तरीय ‘साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी– २०७९’ घोराही १४ झिंगौरामा हुनेछ । कोरोनाका कारण उत्पन्न आर्थिक मन्दीले गर्दा साना तथा घरेलु उद्योगको बजारीकरण गर्न गाह्रोे भएकोले ‘साना तथा घरेलु उद्योगको बिकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ भन्ने मूल नाराका साथ प्रदेश स्तरीय प्रदर्शनी गर्न लागिएको अध्यक्ष मज्गैयाँले बताउनुभयो ।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ निर्धारण गरिएको छ भने विद्यार्थी एवम् अपाङ्गता भएका व्यक्तिका लागि ५० रुपैयाँ र पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएकाहरु र जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमामा प्रवेश निःशुल्क हुने भएको छ । स्टल बुकिङ्गका लागि माघको २५ गतेसम्म समय छुट्टाईएको उहाँले बताउनुभयो ।

महासंघले लघु घरेलु तथा साना उद्योग तथा कृषि क्षेत्रबाट उत्पादन भएका स्वदेशी वस्तुहरुको गुणस्तरीय पहिचान गराई उत्पादित बस्तुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा व्यापारको वातावरण बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको जनाएको छ । प्रदर्शनीका सवै कृयाकलापमा गुल्मी, रुपन्देशी, बाँके, अर्घाखाँची, बर्दिया, कपिलवस्तु, दाङ, रुकुम, प्यूठान, नवलपरासी, पाल्पा र रोल्पालाई जोड्ने योजना रहेको पनि आयोजकले बताएको छ ।

दीपशिखा माविको ३० औं बार्षिकोत्सव

संस्थागत विद्यालय राज्यका सहयोगी

राप्ती पोष्ट

घोराही, माघ । घोराहीमा रहेको दिपशिखा आवासीय माविले शुक्रबार ३० औ बार्षिकोत्सव तथा अभिभावक भेला गरेको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मेयर चौधरीले संस्थागत विद्यालयहरुले राज्यको सहयोगीका रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले संस्थागत विद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गर्नका लागि ठूलो सहयोग गरेको भन्दै उपमहानगरपालिका संस्थागत विद्यालयहरुसंग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । नीजि क्षेत्रले शिक्षाको विकासका लागि खेलेको भूमिकाका बारेमा जानकार रहेको भन्दै नीजि क्षेत्रबाट उत्पादन भएको जनशक्ति देशका विभिन्न पेशा व्यवसायमा लागेर सेवा गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्याव्सनका केन्द्रिय सचिव यादव गिरीले बालवालिकालाई विद्यालयमा पठाएर मात्रै अभिभावकको दायित्व पुरा नहुने भन्दै अभिभावकले यो कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । बालवालिकालाई कस्तो बनाउने भन्ने बारेमा अभिभावकले ध्यान दिनुपर्ने भन्दै अहिले बालबालिकामा मोवाइलको लत बसेको, कतै लागु पदार्थको दुव्र्यसनमा फसेको तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्द, पुरस्कार संस्थापक केशव दिपक न्यौपाने, अभिभावकहरु गिरिराज अधिकारी र गणेश बञ्जाडे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले दीपशिखा आवासीय माविले देशकै शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । दीपशिखा आवासीय मावि यस क्षेत्रमा उदाहरणिय विद्यालयका रुपमा रहेको भन्दै बक्ताहरुले अन्य विद्यालयले सिक्नुपर्ने कुरा दीपशिखासंग धेरै रहेको बताउनुभएको थियो ।

पुरस्कार प्रदान

सोही समारोहमा आफ्नी जीवनसंगीनी हिमा न्यौपानेको संझनामा केशव दिपक न्यौपानेले स्थापना गर्नुभएको हिमा एक्सलेन्सी अवार्ड पनि वितरण गरिएको थियो । कोभिडका कारणले गर्दा गएको बर्ष वितरण नगरिएको पुरस्कार यस बर्ष वितरण गरिएको थियो । जस अनुसार विद्यालयले छनौट गरेका छात्र छात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।

हिमा एक्सलेन्सी अवार्ड २०७८ ओना बुढाथोकी र प्रभात जिएमलाई प्रदान गरिएको थियो भने २०७९ हृदम घिमिरे र प्रकृति डिसीलाई प्रदान गरिएको थियो । प्रथम हुनेलाई १० हजार रुपैया र दोस्रो हुनेलाई सात हजार रुपैयाका दरले रकम प्रदान गरिएको थियो । यो पुरस्कारका लागि दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । सोही रकमबाट आउने व्याजबाट हरेक बर्ष दुईजनालाई पुरस्कृत गरिन्छ । कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने कक्षागत रुपमा सफल भएका विद्यार्थीहरुलाई विद्यालयले पुरस्कार वितरण गरेको थियो ।

गन्धर्व समुदायले मनाए सारङ्गी दिवस

राप्ती पोष्ट

घोराही, माघ । घोराही उपमहानगरपालिका वडा नंम्वर ११ नयाँबस्तिमा रहेको गन्धर्व समुदायले सारङ्गी दिवस मनाएका छन् । गन्दर्व सांस्कृतिक संरक्षण केन्द्र दाङका अध्यक्ष जनक गन्धर्वको अध्यक्षता तथा वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यता एवं सारङ्गी सम्राट स्वर्गिय जंगबहादुर गन्धर्वका श्रीमती लक्ष्मी गन्धर्वको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी दिवस मनाईएको हो ।

गन्दर्व सांस्कृतिक संरक्षण केन्द्र दाङको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सञ्चार तथा सामाजिक सञ्जालको विकासका कारण गन्धर्वको खाचो समाजमा विस्तारै हराउन थालेको बताएका थिए । अर्काेतिर सारङ्गी बनाउने गन्धर्वलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसक्दा नयाँ पुस्ताको आक्रर्षणा न्यून रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिति वडा अध्यक्ष लामिछानेले गन्धर्व संस्कारको कला संस्कृति झल्काउने सारङ्गी बाजाको विकास तथा गन्धर्व समुदायको चौतर्फी विकासका लागी वडा सरकार सधै साधमा रहेको बताउनु भएको हो ।

गन्धर्व समुदायले उत्पादन गरेका सारङ्गीको बाजिकरणमा देखिएको समस्या समाधानका लागी आफ्नो ध्यान केन्द्रित भएको उहाँले बताउनु भएको हो । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पहिलो गन्धर्व सारङ्गी दाई र अहिलेको गन्धर्व पत्रकार भएको बताउनु भयो । सारङ्गीको महत्व समाजमा अहिले पनि कायमै रहेको भन्दै यसको व्यवसायिकतालाई समाजको माग अनुसार परिमार्जित गरेर लैजान सुभाव दिनुभएको थियो ।

कार्यक्रममा सारङ्गी सम्राट स्वर्गिय जंगबहादुर गन्धर्वका श्रीमती लक्ष्मी गन्धर्वलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने कार्यक्रम पुर्व समुदायले सारङगीसहित खैरा बजार परिक्रम गरको थियो । सरस्वती पुजा तथा केन्द्रका उपाध्यक्ष बालाराम गन्धर्वको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विजय गन्धर्वले गर्नुभएको थियो । ।

दाङमा संचालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरिने

छबि पुरी/राप्ती पोष्ट

घोराही, माघ । दाङका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन हुने भएको छ । जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योग तथा प्रशोधन क्रसर उद्योगको विवरण र मापदण्ड बारे अनुगमन गरिने भएको हो ।
आईतबार जिल्ला समन्वय समिति दाङको पहलमा बसेको जिल्लास्थित सर्वपक्षीय भेलाले क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द हुँदा विकास निर्माण असर गरेको भन्दै निकास दिने तयारी गरेको छ । जिल्लामा नदीजन्य पदार्थको उचित व्यवस्थापन हुन नसक्दा पालिकाहरुलाई कसरी काम गर्ने भन्ने समस्या परेको छ ।

नदीजन्य पदार्थको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय सरकारले संकलन गर्नुपर्ने राजस्वमा चुहावट भईरहेको छ भने अवैध दोहनका कारण प्राकृतिक सम्पदामाथि नै असर गरिरहेको छ । अवैध दोहन रोक्न केही पालिकाले पहल गरेपनि उल्टै ज्यान मार्ने धम्की सहनु परेको पालिका प्रमुखहरुको दुखेसो छ । ‘हामीले अवैध दोहन रोक्न प्रंयास गरिहेका बेला ज्यान मार्ने धम्की सहनुपरेको छ’, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले भन्नुभयो, ‘यो समस्या अरु पालिकामा पनि छ, यसलाई कसरी वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने भन्ने निकै ठूलो चुनौति थपिएको छ ।’

नदीजन्य पदार्थको उचित व्यवस्थापन हुन नसक्दा पालिकाले करोडौँको राजस्व गुमाउनुपर्ने अवस्था रहेको छ । दाङमा यो समस्या लामो समयदेखि समाधान हुन सकेको छैन । जसका कारण स्थानीय सरकार संचालनको आधारमा पनि असर गर्ने गरेको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको भनाई छ । सरकारले जारी गरेको निर्देशनको पालना गर्दै जिल्ला प्रशासन कार्यालयले गरेको परिपत्र गरेपछि बन्द रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई ढुंगा गिट्टी बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ र नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार संचालनकालागि जिल्लास्थित सबै पक्षसँग समन्वय गरी अघि बढ्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको भनाई छ ।

जिल्लामा पुस २० गतेयता गृह मन्त्रालयले गरेको परिपत्र अनुसार अवैध रुपमा संचालित क्रसर उद्योग संचालनमा रोक लगाएपछि दाङमा संचालित सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द छन् । अहिलेको मापदण्ड अनुसार जिल्लामा रहेका सबै क्रसर र बालुवा प्रशोधन उद्योग संचालनमा छैनन् । स्थापना गर्दा खोलिएका ती उद्योगको मापदण्डले अहिले भेटाउँदैन । जसका कारण बन्दको अवस्थामा पुगेका छन् ।

लगातार रुपमा ती उद्योग बन्द भएपछि विकास निर्माणमा समस्या भएको भन्दै जिल्ला समन्वय समितिको पहलमा अब चाँडै नै सबै उद्योगको अवस्थाको अनुगमन गरि जिल्ला प्रशासनमार्फत केन्द्रमा पत्राचार गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी मोहन सुवेदी बताउनुहुन्छ । ‘हाल भईरहेको नदीजन्य पदार्थको अवैध उत्खनन् ओसारपसार र बेचबिखन नियन्त्रणका लागि सूचना प्रविधिको प्रयोगलाई व्यापक गराउन क्रसर उद्योगलाई अनिवार्य रुपमा सीसी टिभी जडान गर्न निर्देशन दिने निर्णय भएको छ’, उहाँले भन्नुभयो । यसैगरी नदीजन्य पदार्थको उत्खनन् र ओसारपसारमा संलग्न सवारीसाधनमा जिपिएस मेसीन जडान गर्ने र सो सम्बन्धी विषयलाई अनुगमन गर्न कार्यदल गठन गर्ने निर्णय भएको बताउनुभयो ।

यसैगरी, बैठकले क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुको यथाशीघ्र अनुगमन गरी वैध तथा अवैध उद्योगहरुको छानबीन गरी वैध उद्योगहरु संचालन गर्न तर्फ अग्रसर हुने तयारी भएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताउनुभयो । तर, अवैध उद्योग रहेको पाईएमा तत्काल बन्द गर्ने निर्णय भएको जानकारी गराउनुभयो । यसैगरी नदीजन्य पदार्थको व्यवस्थापनका लागि ठेक्कापट्टाबाट मात्रै टेण्डर गर्ने तत्पश्चात ठेक्कामा लगाउने निर्णय भएको उहाँले बताउनुभयो । यसो गर्दा कुनै पनि हालतमा अन्यत्र निकासी रोक्का गर्ने पनि भएको छ । दाङमा १२ क्रसर उद्योग र ३२ बालुवा प्रशोधन केन्द्र रहेका छन् । तर प्रशोधनको अनुमति पाएका आठ उद्योगले क्रसरको काम गरिरहेका छन् ।

सही ढंगले काम हुन नसक्दा जिल्लामा वर्षेनी करोडौँको राजस्व चुहावट हुने गरेको छ । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लामा पत्राचार गदै मापदण्ड विपरित चलेका क्रसर उद्योग बन्द गर्न दिएको निर्देश्न पछि जिल्लामा सबै उद्योग बन्दको अवस्थामा छन् । अवैध रुपमा संचालनका कारण राजस्व गुमेको छ भने नदीजन्य पदार्थको अत्यधिक दोहन पनि बढेको छ । जिल्लाका दशवटै पालिका प्रमुख, उपप्रमुख, वन, नापी र प्रहरीसहितको स्थलगत टोलिले अनुगमन गर्ने तयारी भएको छ । यसको सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी संघका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने छन् ।

जिल्लाको तथ्याङक अनुसार हाल १२ वटा क्रसर उद्योग दर्ता भएकोमा दुईवटा निष्क्रिय रहेका छन् भने १० वटा सञ्चालन रहेका छन् । ती पनि अहिले गृहको निर्देशनपछि बन्द भएका छन् । यस्तैगरी २४ वटा बालुवा प्रशोधन उद्योग रहेको बताईएको छ ।

राष्ट्रपति एमालेबाटै हुने गुरुङको दावी

राप्ती पोष्ट

दाङ, माघ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व सूचना संचार मन्त्री पार्वत गुरुङले नेकपा एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै अवको राष्ट्रपति हुने ठोकुवा गर्नुभएको छ । देउखुरीको लमहीमा प्रेस चौतारी दाङले आइतबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले यस्तो दावी गर्नुभएको हो । उहाँले सत्तारूढ दलको बीचमा भएको सहमति भन्दा बाहिरबाट कांग्रेस वा त्यो भन्दला बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको बताउनुभयो ।

‘गुरूङ्गले कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको हल्ला मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, एमाले भन्दा बाहिरबाट आउने व्यक्ति राष्ट्रपति हुँदैन’, ‘कांग्रेसको खेल केही दिनमा आफैँ सकिन्छ । उहाँले भन्नुभयो ।

राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयको टुंगो पार्टी भित्र हुने बैठकबाट टुंगो लाग्ने उहाँको भनाइ थियो ‘राष्ट्रपति एमालेकै हुन्छ। तर कसलाई पठाउने भन्ने निर्णय छलफलबाट टुंगिन्छ । जनताको छोरा या छोरी राष्ट्रपति हुन्छन् । जसले पनि यो अवसर पाउन सक्छ। त्यसको निर्णय एमालेले गर्छ’, नेता गुरुङले भन्नुभयो ।

उहाँले राष्ट्रपतिको गरिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बढाएको चर्चा गर्नुभयो । ‘अघिल्लो सेरेमोनियल राष्ट्रपति भन्थे । काम छैन भन्ने जस्तो कुरा चल्थ्यो । अहिले राष्ट्रपतिको पदलाई लिएर धेरै चर्चा र गरिमाको कुराहरू हुन थाल्यो’, उनले भने, ‘राष्ट्रपतिको गरिमा बढाउने काम विद्यादेवी भण्डारीले गर्नु भयो । त्यसैले गर्दा राष्ट्रपति को बन्ने भन्ने विषयले प्राथमिकता पायो ।’

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही दिशामा अघि बढाएको जिकिरसमेत नेता गुरुङले गर्नुभयो । गठबन्धन भत्काएर मुलुकलाई स्थिरतातर्फ लग्ने काम भएको छ। यसलाई निरन्तरा दिनु नै आजको आवश्यकता हो’, उहाँले भन्नुभयो, ‘नयाँ सरकार बनेदेखि मुलुकले सह‍ी दिशा पाउन थाल्यो ।’

गुरुङले संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत नभएको बताउनुभयो । ‘संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत होइन’, ‘कांग्रेसको अपरिपक्क राजनीतिले मुलुकलाई गलत दिशातर्फ ढकेल्ने प्रयत्न हुन थाल्यो।’

चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटी सदस्य कुलबहादुर केसी र गंगाराम भट्टराई लगायतको उपस्थिति थियो।

राप्ती इञ्जिनियरिङ कलेजको बार्षिकोत्सव

‘प्राविधिक शिक्षा आजको आवश्यकता’

राप्ती पोष्ट

घोराही, पुस । पोखरा विश्व विद्यालयका रजिष्टार प्राध्यापक डा. दिपकबहादुर भण्डारीले प्राविधिक शिक्षा लिन सकियो भने कोही पनि बेरोजगार बन्न नपर्ने बताउनुभएको छ । उहाँले प्राविधिक शिक्षा लिएपछि देशमै केहीगर्न सकिने भन्दै सिप सिकेर विदेश जानेले पनि राम्रो काम पाउने बताउनुभयो । अहिले विदेशमा जाने क्रम बढेको भन्दै कुनै सिप विना विदेश जानेले दुःख मात्रै पाइरहेको उहाँको धारणा थियो ।

राप्ती इञ्जिनिरियङ कलेज घोराहीको ११ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै रजिष्टार भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले युवाशक्ति विदेशमा जानका लागि लालायित भइरहेको भन्दै पढ्नका लागि भनेर विदेश गइरहेकाहरु कामदारका रुपमा परिणत भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पढ्नका लागि भनेर विदेशमा गएकाहरुले गर्ने भनेकै मजदुरी हो, कोही व्यक्ति काम गर्दै पढाई गर्दछु भन्यो भने त्यो पनि सम्भव हुँदैन, विद्यार्थीका रुपमा जानेहरुले आफ्नो भविश्य अन्धकार बनाइरहेका छन् ।’

देशमै बसेर केही गर्नका लागि युवा विद्यार्थीलाई सुझाव दिंदै भण्डारीले संसारको जुन कुनामा रहेको गुणस्तरिय शिक्षा यहि बसेर लिन सकिने दावी गर्नुभयो । बढ्दो सूचना प्रविधिको प्रयोग गरेर अथाह ज्ञान लिन सकिने भन्दै उहाँले सुचना र प्रविधिको प्रयोग गरेर विश्वका उत्कृष्ठ ज्ञान लिन आग्रह गर्नुभयो । अर्को प्रशंगमा उहाँले दाङ जिल्लामा शिक्षाको राम्रो सम्भावना रहेको बताउनुभयो । दाङ जिल्लालाई शिक्षाको हव बनाउन सकिने आधारहरु रहेको भन्दै आफूहरुले १६ बर्ष अघि राप्ती इञ्जिनियरिङ कलेज स्थापनाका लागि अनुमती दिंदाको भन्दा अहिले अवस्था निकै फेरिएको बताउनुभयो । नेपालको विकासका लागि काम लाग्ने इञ्जिनियर उत्पादनका लागि राप्ती इञ्जिनिरिङ कलेजले राम्रो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्व विद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले नेपालमा प्राविधिक शिक्षाका लागि पोखरा विश्व विद्यालयले काम गरिरहेको भन्दै राप्ती इञ्जिनियरिङ कलेजले राम्रो जनशक्ति उत्पादन गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसाल, मानवअधिकारकर्मी विनोद केसी, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका बैठक व्यवस्थापन संयोजक झरेन्द्र खरेल, चेम्वर अफ कमर्श दाङका अध्यक्ष बलदेव योगी, कलेजका प्रवन्धक मधुसूदन बैद्य, विद्यार्थीहरु, बसन्त भण्डारी, लोकेन्द्र केसी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सीपल रेशम गिरीले कलेजको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कजेल स्थापना देखि हालसम्म हासिल गरेका उपलव्धिका बारेमा जानकारी गराउनुभएको थियो । कलेजबाट उत्पादन भएको जनशक्ति ९० प्रतिशत रोजगार तथा स्वरोजगारमा रहेको जानकारी पनि उहाँले गराउनुभयो । कार्यक्रम संचालन विश्वबन्धु थापाले गर्नुभएको थियो ।

सो अवसरमा कलेजमा संचालन गरिएका विभिन्न खेलकुद र अतिरिक्त कृयाकलापमा प्रथम द्वितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । कलेजका विद्यार्थीहरुले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।