‘प्राविधिक शिक्षा आजको आवश्यकता’
राप्ती पोष्ट
घोराही, पुस । पोखरा विश्व विद्यालयका रजिष्टार प्राध्यापक डा. दिपकबहादुर भण्डारीले प्राविधिक शिक्षा लिन सकियो भने कोही पनि बेरोजगार बन्न नपर्ने बताउनुभएको छ । उहाँले प्राविधिक शिक्षा लिएपछि देशमै केहीगर्न सकिने भन्दै सिप सिकेर विदेश जानेले पनि राम्रो काम पाउने बताउनुभयो । अहिले विदेशमा जाने क्रम बढेको भन्दै कुनै सिप विना विदेश जानेले दुःख मात्रै पाइरहेको उहाँको धारणा थियो ।
राप्ती इञ्जिनिरियङ कलेज घोराहीको ११ औं बार्षिकोत्सवका अवसरमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै रजिष्टार भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले युवाशक्ति विदेशमा जानका लागि लालायित भइरहेको भन्दै पढ्नका लागि भनेर विदेश गइरहेकाहरु कामदारका रुपमा परिणत भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पढ्नका लागि भनेर विदेशमा गएकाहरुले गर्ने भनेकै मजदुरी हो, कोही व्यक्ति काम गर्दै पढाई गर्दछु भन्यो भने त्यो पनि सम्भव हुँदैन, विद्यार्थीका रुपमा जानेहरुले आफ्नो भविश्य अन्धकार बनाइरहेका छन् ।’
देशमै बसेर केही गर्नका लागि युवा विद्यार्थीलाई सुझाव दिंदै भण्डारीले संसारको जुन कुनामा रहेको गुणस्तरिय शिक्षा यहि बसेर लिन सकिने दावी गर्नुभयो । बढ्दो सूचना प्रविधिको प्रयोग गरेर अथाह ज्ञान लिन सकिने भन्दै उहाँले सुचना र प्रविधिको प्रयोग गरेर विश्वका उत्कृष्ठ ज्ञान लिन आग्रह गर्नुभयो । अर्को प्रशंगमा उहाँले दाङ जिल्लामा शिक्षाको राम्रो सम्भावना रहेको बताउनुभयो । दाङ जिल्लालाई शिक्षाको हव बनाउन सकिने आधारहरु रहेको भन्दै आफूहरुले १६ बर्ष अघि राप्ती इञ्जिनियरिङ कलेज स्थापनाका लागि अनुमती दिंदाको भन्दा अहिले अवस्था निकै फेरिएको बताउनुभयो । नेपालको विकासका लागि काम लाग्ने इञ्जिनियर उत्पादनका लागि राप्ती इञ्जिनिरिङ कलेजले राम्रो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्व विद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले नेपालमा प्राविधिक शिक्षाका लागि पोखरा विश्व विद्यालयले काम गरिरहेको भन्दै राप्ती इञ्जिनियरिङ कलेजले राम्रो जनशक्ति उत्पादन गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसाल, मानवअधिकारकर्मी विनोद केसी, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका बैठक व्यवस्थापन संयोजक झरेन्द्र खरेल, चेम्वर अफ कमर्श दाङका अध्यक्ष बलदेव योगी, कलेजका प्रवन्धक मधुसूदन बैद्य, विद्यार्थीहरु, बसन्त भण्डारी, लोकेन्द्र केसी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कलेजका प्रिन्सीपल रेशम गिरीले कलेजको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कजेल स्थापना देखि हालसम्म हासिल गरेका उपलव्धिका बारेमा जानकारी गराउनुभएको थियो । कलेजबाट उत्पादन भएको जनशक्ति ९० प्रतिशत रोजगार तथा स्वरोजगारमा रहेको जानकारी पनि उहाँले गराउनुभयो । कार्यक्रम संचालन विश्वबन्धु थापाले गर्नुभएको थियो ।
सो अवसरमा कलेजमा संचालन गरिएका विभिन्न खेलकुद र अतिरिक्त कृयाकलापमा प्रथम द्वितिय र तृतिय स्थान हासिल गरेका विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । कलेजका विद्यार्थीहरुले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।