spot_img
Home Blog Page 42

मिटर ब्याजको धन्धाले यसरी गराउँदैछ ‘उठीबास’

छबि पुरी/ राप्ती पोष्ट

घोराही, फागुन । तुलसीपुरकी सीता नेपालीले ४ वर्षअघि पसल गर्न भन्दै एक व्यक्तिसँग ऋणसापटी लिनुभयो । व्यापार ठिकै चलेको थियो । तर, केही महिनामै कोरोनाका कारण लकडाउन भयो । व्यापार व्यवसाय सबै ठप्प भयो । व्यापार गरेर आयआर्जन हुने आधार रोकिएपछि साहुबाट ऋण गरेर ल्याएको पैसाको सावाँ र ब्याज तिर्न सक्ने अवस्था रहेछ । जसो तसो गरेर ब्यजा तिर्दा पनि आफुलाई बस्न खान नदिएपछि उहाँले पसल बिक्रि गर्नुभयो ।

पसल बिक्रि गरेर ऋण तिर्दा पनि सकिएन । कारण थियो, मिटर ब्याज । घर व्यहार रामो होला भनेर छिटो छरितोको नाममा मिटर ब्याजमा ऋण लिन पुग्नुभएकी सीताले साहुलाई पाँच लाखको १५ लाख तिर्दा पनि सकिएन । आफुसँग भएको जायजेथा बेचेर ऋण तिर्दा पनि भुक्तानी चुक्ता नभएपछि अहिले घर छाडेर भारत जानुपरेको छ । मिटर व्याजमा फसेर सडकमा आएकी सीता जस्तै धेरैको हविगत हिजोआज उस्तै छ । घरमै आएर अनेक यातना दिने, परिवारमा मानसिक तनाव सिर्जना मात्रै होईन बालबालिकामा पनि गम्भीर असर पर्ने खालका गतिविधिले धेरै जना सडकमै आउन बाध्य भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँका रामकुमारी बुढामगर र दिलसरी गिरीले जग्गा खरीद गर्न भन्दै एक व्यक्तिसँग एक वर्षअघि ३ लाख ऋण लिनुभयो । आपत परेको बेलामा पैसा खोज्दै जाँदा मिटर ब्याज लगाउने व्यक्तिको सम्पर्कमा पुगेका उनीहरुले लिएको ऋण वर्षदिनै १० लाख बढी भईसकेको छ । ‘तीन लाख लिएकोमा पछि थप रकम चाहिएपछि मैले आफुसँग भएको सुन, कानबाली, तिलहरी दिएर १ लाख पचास हजार लिएँ, पुरानो रकमसहित साढे चार लाख ऋण हो, हामीलाई दिँदा कमशिन, ब्याज के–के काटेर पुरै पैसा पनि दिएको हैन’, मिटर ब्याज पीडित रामकुमारीले भन्नुभयो, ‘हिमाल खड्का भन्ने व्यक्तिको पैसा रहेछ, हामीलाई भन्ने बिचौलियाले पैसा मिलाई दिएको रहेछ, पदमबहादुर रोका मगरले विचौलयाको काम गर्याे । ब्याज र सावाँ तिर्दातिर्दै पनि पैसा तिरेर सकिएला भन्ने बेलामा त झन बढेको बढ्यै गर्यो । भदौको २ गते अदालतमा हाजिर हुने आदेशसहित उसले मलाई मुद्धापो हालेछ ।’

नागरिकता, फोटो लगेर आफै बैंकमा खाता खोलि दिएर आफैले काम गरेको रामकुमारीको भनाई छ । सय रुपैयाँको मासिक ३ प्रतिशत ब्याजका दरले ऋण सम्झौता गरेपनि ऋण लिएको ६ दिनबाट घरमा आएर तनाव दिन थालेको उहाँको दुखेसो छ । ‘जग्गा किन्नु पर्यो भनेर आँटेको त मिटर ब्याजले सबै डुबायो’, उहाँले भन्नुभयो ‘एक कट्ठा चार धुर किनेको हो तर अहिले त्यही जग्गा बिक्रि गरेर पनि ऋण तिर्न सक्ने अवस्था रहेन ।’

तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीकी चैती चौधरीको पीडा पनि आर्थिक कारोबार कै छ । सासुआमाको नाममा रहेको जग्गा देवरले कारोबार गरेर बन्दकीमा पारेपछि उहाँलाई अहिले समस्या भएको छ । जग्गा खरीदका बिना सहमति देवरले मिटर व्याजमा जग्गा धितो राखेर निकालेको ११ लाख ऋणले हैरानी बनाएको छ । जग्गा खरीदका लागि ११ लाख नगद मिटर ब्याजमा निकासा गरी बैंक खातामा केही दिन राखेर काम नभएपछि पैसा फिर्ता गर्ने बेलामा दलाललाई पैसा दिएकोमा पैसा दिनेले आफुले भुक्तानी नपाएको दावी गरेपछि चैतीको परिवार अहिले तनाबमा छ । ‘सबै काम व्यवहारिक रुपमा भयो, यतिसम्म जालझेल होला भन्ने लागेन, पैसा लगेर दलालमार्फत बुझाएकै हो तर अहिले हामीलाई उल्टै फसाउने काम भएको छ’, उहाँले भन्नुभयो ‘११ लाख फिर्ता गरेपनि अझै ७ लाख मागेको छ, यस्तो अवस्थामा हामी निकै संकटमा परेका छौँ ।’

घोराही १६ की उषा धामीको कथा पनि उस्तै छ । व्यापार राम्रै चलिरहेको बेला लकडाउन हुनु नै उहाँका लागि अध्यारो दिन बन्न पुग्यो । व्यवहार बिग्रिएपछि उहाँले आफुसँग भएको २ कट्ठा जग्गा बेच्नु परेको छ । परिवारमा सम्बन्ध बिग्रेको छ । दाङमा उहाँहरु जस्तै मिटर ब्याज पीडितको संख्या थुप्रै छ । जिल्लामा निकै समस्यामा परेका १८ जना रहेकोमा अरु छिनोफानो भएको तर पाँच वटा अझै प्रकृयामा रहेको । मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिकी पार्वता नेपालीका अनुसार जिल्लामा हजारौँ मिटर ब्याज पीडितका रुपमा रहेका छन् । सकेसम्म व्यवहार धान्दै बसेका कारण आफ्नो सम्पर्क नआएपनि समस्या जटिल बनेर आउनेहरुको बिचल्ली भएको बताउनुभयो । मिटर ब्याज कारोबारमा तीन थरीका गिरोह संलग्न छन् । पहिलो गिरोह, यसमा लगानी गर्न प्रोत्साहित गर्नेको छ । व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायिक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्छन् ।

अर्को गिरोह वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्नेको छ । विभिन्न व्यावसायिक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ । बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ । तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्छ । यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ । मिटर ब्याज कारोबारको जालो बैंक तथा वित्तीय संस्थासम्म फैलिएको यस क्षेत्रका जानका बताउँछन् ।
यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले मिटर ब्याजको मुद्धा जिल्ला प्रशासनबाट प्रकृया थालनी हुनेभए पनि धेरै जसो व्यक्ति प्रहरी कार्यालयमा आउने गरेको बताउनुभयो । ‘हिजोका दिनमा भन्दा हिजो आज आफु पैसा सापटी दिएर नपाएको भन्दै उजुरी गर्न आउनेको संख्या घटेको उहाँको भनाई छ । हिजोका दिनमा मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीलाई दवावमा पारेर रिक्तो चेकमा दस्तखत गर्न पठाएर चेक बाउन्स देखाएर उजुरी गर्न आउने धेरै थिए’, उहाँले भन्नुभयो, ‘अवस्थाका बारेमा गहन रुपमा बुझ्दा मिटर व्याजको धन्दामा सोझा साझालाई फसाएर पैसा असुल्ने काईदा प्रमाणित भएपछि मुद्धा दिनको पनि यकिन अवस्था पहिचान गरेर मात्रै प्रकृया अघि बढाउने काम गरेका छौँ ।’

प्रहरी उपरीक्षक वलीले सानो रकम ब्याजमा लगाएर मिटर ब्याजका रुपमा कारोबार गरे छोटो समयमा मोटो रकम कुम्ल्याउने दाउमा ऋणीलाई डुबाउने खेल चलेपछि अहिले प्रहरीले यस प्रकारका घटनामा बढी सम्वेदनशील भएर काम गर्न थालेपछि मिटर ब्याजी पनि हच्किएको बताउनुभयो । ‘मुद्धा दिनेको बारेमा पहिले त हामी अनुसन्धान गछौँ, एकै व्यक्तिलाई एक करोड, दुई करोड, पचास लाख ऋण कसरी दिईयो, पैसा दिनेले त्यो रकम कसरी कमाएको हो, आय श्रोत के होभनेर खोज अनुसन्धान गरेर कानूनी प्रकृया अघि बढाउने काम हुन थालेपछि यस प्रकारका घटनाको उजुरीमा केही कमी आएको छ’, उहाँले भन्नुभयो ‘करीव ५० बढी यस प्रकारका उजुरी प्रहरीमा परेका छन् । केही किनारा लगाएका छौँ, केही छानबिनको प्रकृयामा रहेको छ । पहिलो काम त मोटो रकम लगानी किन गरेको हो, रकम कहाँबाट कमाएको हो भन्ने मै हाम्रो ध्यान हुन्छ, अनि नियम संगत लगानी भएको छ की छैन जाँचबुझ गर्छौँ ।’

प्रहरीले प्रमाणका आधारमा अनुसन्धान अघि बढाउने हुँदा मिटर ब्याज पीडितले न्यायका लागि दिएका उजुरी उपर पनि न्यायोचि रुपमा अध्ययन अनुसन्धान हुने गरेको बताउनुभयो । ‘हतपती मिटर ब्याजका घटना प्रहरीमा आउने गर्दैनन्, त्यस्तो उजुरी वा निवेदन आएपछि हामीले गहन रुपमा हेर्ने गरेका छौँ’, उहाँले भन्नुभयो ‘मिटर ब्याजको धन्दा सतहमा नदेखिए पनि भित्रभित्र फैलिएको यथार्थ हो । मिटर ब्याजकै कारण कैयन् मानिस डिप्रेसनको चरम विन्दुमा पुगेका छन् घरबार बिग्रिएको छ ।’ कर्जाका लागि मिटर ब्याजीको शरणमा पर्ने र चर्को ब्याजदरका कारण सर्वसाधारणले आत्महत्या गर्नुपर्ने घटनालाई बुझ्न सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले ध्यान नदिँदा पनि यो अवस्था सिर्जना भएको हुन सक्ने उहाँको तर्क छ । मिटर ब्याजले परिवार समाज बिखण्डनको अवस्थामा जान सक्ने स्थिती पैदा भएको हुँदा सबै जिम्मेवार हुनुपर्ने प्रहरी प्रमुख वलीको आग्रह छ । समाजमा यिनै र यस्तै कारणले अपराध मौलाउँदै गएको उहाँको भनाई छ ।

हात्तीपाइले विरुद्ध औषधी खान डराउनु नपर्ने

सवैले नखाँदा तेह्रौपल्ट अभियान

छबि पुरी /राप्ती पोष्ट

घोराही,  फागुन । जोखिम पहिचान भएका दाङ सहितका जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरि हात्तीपाइले निवारण गर्ने उद्देश्यले फागनु ११ गतेबाट आम औषधी सेवन अभियान हुन लागेको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा गत वर्षपनि निकैले औषधी सेवन गरेका कारण दाङमा तेह्रौँ पटक आम औषधी सेवन अभियान गर्न थालिएको हो । यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका छ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन छ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको छ ।

स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान अन्तरगत जिल्लामा क्रियाशील पत्रकारहरुसँग गरेको अन्तरक्रियामा निमित्त कार्यालय प्रमुख डम्मर कुवँरले लुम्बिनीमा दाङसहित बाँके र कपिलवस्तु हात्तीपाइले रोग निवारणमा असफल भएको हुँदा अब यो जिल्लाको जनस्वास्थ्यको दृष्टिकोणले पनि गम्भीर रुपमा सोँच्नुपर्ने बेला भएको बताउनुभयो ।

सन् २०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुःखद पक्ष भएको बताउँदै आम औषधी सेवनमा नागरिकको पहुँच बढाउन सचेतना बढाउन सबै सरोकार निकायसँग अपिल गर्नुभयो । आगामी सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भईसक्दा दाङ अहिलेसम्म पछि परेको छ । यसकारण अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको कुँवरले बताउनुभयो ।

‘प्रत्येक जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरि हात्तीपाइले निवारण गर्ने उद्देश्यले आम औषधी सेवन खुवाउन थालिएको हो’, उहाँले भन्नुभयो ‘कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा हुन नसक्दा समस्या हुने गरेको छ ।’ उहाँले हात्तीपाइले रोग विरुद्धको औषधी खाँदा अरु समस्या थपिन्छ भन्ने भ्रम, नकारात्मक बुझाई, दीर्घ रोगीले खान नमान्नु, अभियानमा सम्बन्धित व्यक्तिले चासो नलिनु, हात्तीपाइले रोग निवारण सम्बन्धि सचेतनाका कार्यक्रम कम हुनु जस्ता कारणले विगतमा कमजोरी देखिएको औँल्याउँदै अब यी सबै कुरालाई चिर्दै विगत वर्षमा जिल्लामा ६८ प्रतिशत रहेको आम औषधी कभरेजलाई कम्तिमा ८० प्रतिशत पुर्याउने गरी जुट्न अपिल गर्नुभयो ।

हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले कभरेज ८० प्रतिशत पुर्याउन सक्ने अवस्था नरहेमा आगामि थप दुई वर्ष आम औषधी सेवन अभियान थप्नुपर्ने हुँदा अबका दिनमा सबैसजग हुनुपर्ने बेला भएको बताउनुभयो । ‘२०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुखद हो । नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा पनि दाङ पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको छ’ उहाँले भन्नुभयो ।

गत वर्षबाट डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल खुवाउने काम हुँदै आएको छ । जस अनुसार, सबैभन्दा कम उचाई भएकाले १–१ वटा डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल गरि ३ गोली औषधी खानुपर्ने तथा सबैभन्दा बढी उचाई हुनेले ४–४ वटा डिईसी र आईभरमेक्टिन तथा एक वटा अल्बेन्डाजोल खानुपर्ने फोकल पर्सन चन्दले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नागरिकको अधिकारका लागि खबरदारी गर्ने मिडियाले स्वास्थ्य क्षेत्रको गम्भीरतालाई पनि उत्तिकै जिम्मेवारीपूर्वक लिने बताउनुभयो । मानव स्वास्थ्यको सुधारका लागि मिडियाले हिजोका दिनदेखि नै वकालत गर्दै आएको हुँदा सरकारले थालेको नागरिक स्वास्थ्यको कार्यक्रमलाई सबैको साथ रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले हात्तीपाइले रोग निवारण गर्न थालिएको अभियान नखुवाएर भन्दा नखाएर समस्या थपिएको हुन सक्ने हुँदा अबको दिनमा औषधी खाने गरी अभियानलाई जोड्न अपिल गर्नुभयो । अब स्वास्थ्यकर्मी नै अभियानमा खटिने हुँदा प्रभावकारी हुने विश्वास गर्दै उहाँले हात्तीपाइले विरुद्धको औषधी सेवन गरेको कार्ड दिन सकेमा यसको प्रभावकारीता बढ्ने सुझाव दिनुभयो ।

जिल्लामा गत वर्षको सर्वेक्षणले चार सय २९ जनामा हात्तीपाइले र एक हजार छ सय १४ जनामा हाईड्रोसिल गरी कुल दुई हजार ४४ जनामा यो समस्या रहेको छ । सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।

विगत १२ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन हुँदै आएकोमा दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेको छ । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट यो रोगमान्छेमा सर्ने हुँदा रोगलागेपछि शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनिएको हो ।

नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्यकर्मी बताउँछन् । दाङमा हात्तीपाइलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको छ । हात्तीपाइलेको संक्रमण दर २ प्रतिशत भन्दा कम हुनुपर्नेमा यो अवस्थासम्म ल्याउन दाङमा अझ धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुवँरले बताउनुभयो ।
जिल्लामा सन् १०१९ मा सिसहनियाँ र टरीगाउँमा गरिएको परिक्षणमा ५ दशमलव ८५ प्रतिशतमा हात्तीपाइलेको संक्रमणपुष्टि भएको थियो । यो अवस्थालाई मध्येनजर गर्दै रोग नियन्त्रणको प्रयास भएपनि कम हुन सकेन । सन् २०२१ मा देउखुरीकै सिसहनियाँ र घोराहीको सुर्केडाँगीलगायत स्थानमा गरिएको परिक्षणमा ५ प्रतिशतभन्दा बढीमा यो समस्या देखियो । ‘विगत १२ वर्षको निरन्तरको प्रयासमा जिल्लालाई हात्तीपाइले रोग नियन्त्रित बनाउने प्रयास सफल हुन सकेको छैन’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भन्नुभयो, ‘यो अघिल्लो वर्षबाट केही नयाँ अभ्यास थालनी भएको छ, आशा छ, अब २ प्रतिशतभन्दा तल झर्ला ।’

जिल्लाको घोराही उपमहानगरपालिकामा सबैभन्दा बढीमा हात्तीपाइलेको संक्रमण भेटिएको छ । गत वर्ष गरिएको सर्वेक्षणमा जिल्लाको घोराहीमा १ सय १६ जनामा हात्तीपाइलेका नयाँ बिरामी भेटिएका थिए । यसैगरी, तुलसीपुरमा ९८ जना, लमहीमा ७४ जना, गढवामा ५८ जना राप्तीमा ४३ जना, राजपुरमा ११ जना, बबईमा १० जना, बंगलाचुलीमा ८ जना, शान्तिनगरमा ६ र दंगीशरणमा ५ जनामा हात्तीपाइलेको संक्रमण पुष्टि भएको थियो ।

अघिल्लो पटक जिल्लाको सिसहनियामा ३१४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३ सय ३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा चार प्रतिशत बढी देखिएको हो । रोग नियन्त्रणका लागि यो वर्ष पनि संघ सरकारले ससर्त अनुदानमा बजेट विनियोजन गरेको छ । जसका लागि जिल्लाका ६ लाख ८७ हजार ७ सय ७७ लक्षित जनसंख्यालाई आमऔषधी सेवन अभियानमा जोड्न छ सय ६१ जना स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको छ ।

जसअनुसार जिल्लाको तुलसीपुरमा सबैभन्दा बढी एक सय ६५ जना, घोराहीमा एक सय १० जना, राप्तीमा ६६ जना स्वास्थ्यकर्मी आमऔषधी सेवन अभियानमा सहभागी हुने भएका छन् । यसैगरी, लमहीमा ५७ जना, बबईमा ४२ जना, दंगीशरणमा ३८ जना, बंगलाचुलीमा ५० जना, गढवामा ४८ जना, राजपुरमा ४१ जना र शान्तिनगरमा ४२ जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् ।
सबै पालिकाका नागरिकलाई आम औषधी सेवनमा जोड्न तीन चरणमा खुवाउने तयारी भएको छ । फागुन ११ गतेबाट शुरु हुने आम औषधी सेवन अभियान अनुसार पहिलो चरणमा देउखुरीका चार पालिका राप्ती, गढवा, राजपुर र लमहीमा खुवाईनेछ । दोश्रो चरणमा बंगलाचुली र घोराहीमा आम औषधी सेवन अभियान हुनेछ भने तेश्रो चरणमा पश्चिम क्षेत्र तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईमा हुनेभएको फोकल पर्सन चन्दले बताउनुभयो ।

हात्तीपाइले रोगको जोखिम रहेका १३ जिल्लाका अघिल्लो वर्ष ७४ लाख ६१ हजार जनसंख्यालाई लक्षित गरी हात्तीपाइले विरुद्धको औषधि सेवन गराईएको थियो । आम औषधी सेवन अन्तर्गत दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कचनपुर, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङमा औषधी खुवाइएको थियो ।

औषधी व्यवसायीसंघद्वारा अपाङ्ग संघलाई औषधीजन्य सामग्री सहयोग

राप्ती पोष्ट

घोराही, फागुन । नेपाल औषधी थोक व्यवसायी संघले आफनो सातौं स्थापना दिवसको अवसरमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र दाङको अपाङ्गता गृहमा आश्रीत अपाङ्गता भएका व्यक्तिहरुलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ ।

संघले शुक्रबार अपाङ्ग संघमा कार्यक्रम आयोजना गरी सामग्री हस्तान्तरण गरेको हो । संघका जिल्ला अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य, महासचिव तुफानबाबु श्रेष्ठ, नेपाल अपाङ्ग संघका शाखा उपाध्यक्ष निशान्त आचार्यले सामाजिक उत्तरदायीत्व अन्र्तगत अशक्त अपाङ्गहरुलाई औषधीजन्य समग्री वितरण गरेको खुशी व्यक्त गर्नुभयो ।

अपाङ्गहरुलाई एडल्ट डाइपर्टहरु, फिनेल, युरिन व्याग, रुम स्प्रे, ग्लोव, मास्क लगायत गरी करिव १० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको थियो ।

यसैगरी बालविकास मावि घोराहीमा अध्यनरत छात्राहरुले आफनो स्कुल खर्च कटौटी र सहयोग जुटाएर खाद्यन्न सामाग्रीहरु चाउचाउ, फुर्टी, विस्कुट र नगद एक हजार आठ सय ३५ रुपैया नेपाल अपाङ्ग संघलाई हस्तान्तरण गरेकाछन् । सहयोगी दाताहरुलाई संघका कार्यबाहक अध्यक्ष निशान्त आचार्यले धन्यबाद दिनुभएको थियो ।

पत्रकार महासंघ लुम्विनी प्रदेशको साधारण सभा

राप्ती पोष्ट

लमही, फागुन । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको तेस्रो साधारण सभा १० बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । शुक्रबार भएको महासंघको तेस्रो साधारण सभामा १० बुँदे घोषणापत्र जारी गरेको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका ८ सातमारामा आयोजना गरिएको महासंघको साधारणसभामा जारी घोषणा पत्रमा लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरुको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै श्रमजीवी पत्रकार ऐन अक्षरशः कार्यान्वयन गर्नको लागि सरकार तथा सम्बद्ध पक्षसंग जोडदार माग गरिएको छ । लुम्बिनी प्रदेश सरकारमा स्पष्ट देखिने गरी सञ्चारमन्त्रालय उल्लेख नभएको विषयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पहिले आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय रहेको तर अहिले सञ्चार मन्त्रालयको नाम हटाएर आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय नामाकरण गरिएकोले प्रदेश सरकारलाई सञ्चारको नाम रहनेगरि नामाकरण गर्न माग माग गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा प्रदेशस्तरका सम्पूर्ण कार्यालयहरु स्थापनागरी संघियता कार्यान्वयनको अभिभारा यथाशिघ्र पूरा गर्न माग गर्ने निर्णय गरिएको छ । यसका साथै पत्रकार महासंघलाई पूर्ण समावेशी वनाउन महिला, दलित, जनजाति, मधेशी लगायत समाजका सवै पक्षलाई समेटने गरी संख्यात्मक तथा गुणात्मक क्षमता अभिवृद्धिका कार्यक्रमहरु ल्याउन केन्द्रिय समितिलाई पनि साधारण सभाले अनुरोध गरेको छ ।

मुलुक संघीयता कार्यान्वयनको चरणमा गइसक्दा पनि सञ्चार क्षेत्रमा संघीयताको अनुभूति हुन नसकेको तथा पत्रकार र सञ्चारमाध्यमले पाउने सम्पूर्ण सेवा सुविधा सबै जिल्ला हुलाकहरुबाट पाउने गरी पूर्ण अधिकार प्रत्यायोजन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग माग गर्ने निर्णय गर्नुका साथै प्रेस पास वितरणका लागि जिल्लामा घुम्तीशिबिर आयोजना गर्न माग गर्दै प्रदेश स्तरीय कार्यालय स्थापना गरि प्रेस पास वितरण, नविकरण लगायतको काम गर्न माग गरेको छ ।

सञ्चारकर्मीको क्षमता अभिबृद्धि तथा सञ्चारमाध्यमको गुणस्तर बृद्धिलगायतका नीति निर्माण र कार्यान्वयनका लागि लुम्बिनी प्रदेशमा संचार समन्वय परीषद् तत्काल गठन गर्न साधारणसभाले प्रदेश सरकारसँग माग गरेको छ । साथै प्रदेश तहमा निर्माण भएको सञ्चार कानूनका कतिपय प्रावधानहरु अव्यवहारिक र त्रुटीपूर्ण रहेकोले पत्रकारिता क्षेत्रका सरोकारवालाहरुको समेत राय लिइ ऐन संशोधनको ब्यवस्था मिलाउन सम्बन्धित पक्षसंग आग्रह गरिएको छ । लोकतन्त्रको सुदृढीकरण, प्रेस तथा अभिव्यक्त स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागु गर्ने सवालमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै न्यूनतम पारिश्रमिक समयानुकुल परिमार्जन गरी लागु गर्न पनि साधारण सभाले सरकारसंग माग गरेको छ ।

पत्रकारितामा क्रियाशिल छाडेर अन्य व्यवसायमा सक्रिय नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुलाई स्वघोषणा गरि महासंघको सदस्यता त्याग गर्न र शुद्धिकरण अभियानमा सहयोग पु¥याउन पनि नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशले सवैलाई आग्रह गरेको छ । साधारण सभाले लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी सेरोफेरोमा रहेका पवित्र धार्मिक पर्यटकिय स्थल स्वर्गद्वारी, लुम्बिनी, सुपादेउराली लगायत स्थानीय धार्मिक तथा पर्यटकीय स्थल देविकोट, जंगलकुट्टी, जखेरा ताल, शिवगढी, चखेवाताल, बगारबाबा धार्मिक धाम रिहार, सहिद कृष्ण सेन इच्छुकको जन्मघरको संरक्षण, प्रबर्द्धन र एक आपसमा जोडिनेगरी प्रभावकारी कामको थालनिको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यसै गरि स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमको प्रबद्र्धन र विकासको लागि भुमिका खेल्न ध्यानाकर्षण समेत गराएको छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गर्नुभएको थियो । साधारण सभालाई पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोट(जुगल), प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्याल, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव खिमानन्द ज्ञवाली, प्रेस युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विक, प्रेस चौतारी लुम्विनीकी महासचिव निरु गौतम, अग्रज पत्रकार राजेन्द्र धिताल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई सम्मान समेत गरिएको थियोे । महासंघका प्रदेश समिति महासचिव शुक्रडिसी चौलागाईको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव विक्रम खड्काले गर्नुभएको थियो ।

 

स्वर्गीय लिलादेवी पौडेलको स्मृतिग्रन्थ विमोचन

राप्ती पोष्ट

घोराही, फागुन । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले स्वर्गीय लिलादेवी पौडेलको स्मृतिग्रन्थ विमोचन गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ जजरागाउँ निवासी पौडेल निवासमा सोमबार आयोजित वार्षिक पुन्यतिथीको अवसरमा लिलादेवीको सम्झनामा लिखित पुस्तकको विमोचन गर्नुभएको हो ।

पुस्तक विमोचन गर्दै प्रमुख अतिथी मन्त्री शर्माले नेपाली समाजमा महिलाले भोग्नु परेको समस्या कृतिमा समावेश गरि समाजको अवस्थाका बारेमा उजागर गर्नुभएकोमा पौडेल परिवारलाई आभार प्रकट गर्नुभयो ।

समाज बदल्न महिलाले जस्तो सुकै भुमिका खेलेपनि महिला सँधै धरातलमै रहनुपर्ने अवस्थालाई बदल्न अब सबैले समाज रुपान्तरणमा जोड दिनुपर्ने धारणा राख्नुभयो । यस्तै मन्त्री शर्माले आमाको स्मृतीमा सन्ततीले ग्रन्थ लेख्नु प्रशंसनीय काम भएको बताउँदै यस प्रकारका कृृतिले इतिहासलाई वर्तमानसँग जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले आफ्नै स्वर्गीय आमाका कयौं भोगाई पुस्तकमा समेटिएको बताउँदै स्मृति ग्रन्थ पठनीय सामग्री बनेको बताउनुभयो ।

ग्रन्थको संरक्षक ऋषिराज जंगलीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी नारायणप्रसाद शर्माले स्वर्गीय लिलादेवी पौडेलले समाज सेवा र सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भुमिका खेलेको बताउँदै उहाँका सन्ततीहरुलाई आमाले देखाएको बाटोमा हिड्न आग्रह गर्नुभयो ।

विमोचन कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसाल, रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसुदन वैद्य, साहित्यकार एवम् लेखक रमेश अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हेमन्त पौडेल र शिवराज पौडेलद्वारा प्रकाशन गरिएको ग्रन्थ १ सय ६२ पृष्ठ रहेको छ । स्मृतिग्रन्थको समिक्षा पत्रकार रन्जिता शर्मा र साहित्यकार चन्द्रबहादुर थापाले गर्नुभएको हो । बुवाको सम्झानामा ग्रन्थ निकालिने गरिए पनि आमाको नाममा निकालिएको यो पहिलो ग्रन्थको रुपमा रहेको समिक्षक शर्माले बताउनुभयो । तत्कालीन समयमा समाज रुपान्तरणका लागि लिलादेवीले खेल्नु भएको कुरालाई रचनात्मक भुमिकाका माध्यमबाट ग्रन्थमा समावेश गरिएको उहाँले टिप्पणी गर्नुभयो ।

लिलादेवी स्मृतिग्रन्थ प्रकाशन समिति सल्लाहकार भेषराज शर्मा खनालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा कृतीका प्रधान सम्पादक पद्म प्रसाद शर्माले स्मारिका तयार गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजीकरण ध्रुव अधिकारीले गर्नुभएको थियो ।

गाउँबस्तीका कुरा सुन्दै घोराहीकी उपमेयर डिसी

 

छबि पुरी/राप्ती पोष्ट

घोराही, माघ । घोराही–१९ राम्चेका ६८ वर्षीय बीरबहादुर बिकको घरको आँगनमा काम गरिरहनुभएको थियो । त्यतिवेला घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी पुग्नुभयो । उहाँ पुगेको देखेपछि विक अचम्म पर्नुभयो । उपप्रमुख डिसी गाउँलेका समस्या र अवस्था बुझ्न त्यहाँ पुग्नुभएको थियो । आफु घोराहीको उपमेयर भएको बताउँदै उहाँले सोध्नुभयो । ‘ठाउँका के समस्या छ बुवा ?’ जवाफमा बीरबहादुरले भन्नुभयो, ‘यो ठाउँ आफैमा विकट छ, हिजो जस्तो धेरै समस्या त छैन तर खानेपानी सजिलो गरी पाए हुन्थ्यो भन्ने हो ।’ पानीको समस्या बाह्रै महिना होकी हिउँद लागेपछि हुन्छ ? उपमेयरको प्रश्नमा बीरबहादुरले भन्नुभयो ‘अरु बेला त त्यति समस्या छैन, हिउँद लाग्यो भने कहिले आउँछ कहिले आउँदैन । पानी आएन भने आधा घण्टा पर पानी लिन जानुपर्छ ।’

हिजोका दिनमा बिजुली बत्ती, सडक, खानेपानीको केही सुविधा नभएको राम्चेमा स्थानीय सरकार आएपछि केही परिवर्तन भने भएको उहाँको भनाई थियो । ‘पहिले त केही थिएन, अहिले केही सजिलो भएको छ । पानीको धारा त तर भरपर्दो भए हुन्थ्यो भन्ने हो । अरु त जसो तसो चलेकै छ’, बीरबहादुरले भन्नुभयो । राम्चेमै रहेको आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत चित्रमाया बिकसँग पनि उपमेयरले विद्यालयको पठनपाठन तथा दिवा खाजाको अवस्था बारे चासो राख्दै कुराकानी गर्नुभयो । कुराकानीका क्रममा चित्रमायाले पठनपाठनमा खासै समस्या नभएको बताउनुभयो ।

घोराही १९ लाकुरीबजारकी नमता बुढाले महिलाहरु माथि समुदायका पुरुष वर्गले गर्ने व्यवहारका कारण समस्यामा परेको दुखेसो पोख्नुभयो । घरमा प्राय श्रीमान बाहिरको काममा जाने हुँदा समाजका केहीले आफुहरुलाई अनावश्यक समस्या दिने गरेको बताउँदै कानूनी सचेतना फैलाउने खालका कार्यक्रम गर्न उपमेयरलाई आग्रह गर्नुभयो । हिजोका दिनमा जस्तो कसैको दवाब सहेर बस्ने अवस्था नभएपनि महिलाहरुलाई समाजमा सहज रुपमा बस्ने वातावरण बनाउन अझै चुनौति रहेको उहाँको भनाई थियो । महिला सशक्तीकरणको आवाजलाई थप बलियो बनाउन तथा महिलाको स्वास्थ्य अवस्था सुधारका लागि चाँडै नै १९ नम्बर वडामा एकीकृत रुपमा वृहत शिविर आयोजना गर्ने तयारी गरेको उपमेयरले बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटारकी पार्वती वलीले आफुले कृषि क्षेत्रमा लाग्दा स्थानीय सरकारले दिँदै आएको सहयोगबाट राहत महसुस गरेको बताउनुभयो । अब उहाँले खोर सुधारका लागि आवश्यक सहयोग पाउनेमा आशावादी रहेको बताउनुभयो । घोराही ५ बसन्तापुरकी गोमा पछाईले आफ्नो घरमै आएर जनताको समस्या र अवस्था बुझ्ने काम गरेको भन्दै उपमेयर डिसीलाई धन्यवाद दिनुभयो । ‘जनताको मतले जनप्रतिनिधि भएर माथि पुगेपछि फर्केर नहेर्ने धेरैको बानी हुन्छ, तपाई त मेरो घरमै आएर अवस्था बुझ्ने काम गर्नुभयो, मलाई निकै खुशी लागेको छ’, गोमाले भन्नुभयो, ‘म गृहिणी हो, अलिकति बाख्रा पालेको छु, खोर सुधार गरेर केही गर्ने सोँच छ, सकेसम्म हामी जस्ता किसानलाई हजुरहरुले हेरिदिए हुन्थ्यो जस्तो लाग्छ ।’

गोमाले २० वटा बाख्रा पाल्नुभएको छ । आफ्नै लगानीमा बाख्रा पाल्नुभएकी उहाँलाई खोर सुधार गरेर बाख्राको संख्या बढाउने मन छ । घोराही ६ गुरगैँका प्रेमबहादुर चौधरीको घरमा उपमेयर पुग्दा उहाँ गाई र भैसीको स्याहारमा लाग्नुभएको थियो । ५ वटा भैंसी पाल्नुभएका प्रेमले कोरोनापछि यो पेशा थाल्नुभएको रहेछ । अहिले यही पेशालाई निरन्तरता दिँदै अघि बढ्ने योजना बनाउनुभएको सुनाउनुभयो । ‘जनताका सबै समस्या भनेर सम्भव त हुँदैन, हामीले चाहिने कुरा र गुनासो सुनाउने हो’, प्रेमले भन्नुभयो, ‘मैले यही बसेर भैसीपालनबाट केही गर्ने सोँच बनाएको छु ।’ उहाँले अहिले पनि दैनिक २५ लिटर दुख बिक्रि गर्दै आउनुभएको छ ।

‘नगरबासीका कुरा सुन्न आफु घरदैलोमै पुग्ने गरेको बताउँदै उपमेयर डिसीले आफुलाई यो ठाउँमा पुर्याउने जनताको अवस्थाका बारेमा सुनेन भने म जनप्रतिनिधि हुनु र नहुनुको के अर्थ ?’, उहाँले भन्नुभयो, ‘म मेरो कार्यकालमा मेरो क्षेत्राधिकारले दिएको काम प्रतिवद्धता अनुसार गर्ने अठोटका साथ अघि बढेको छु ।’ घोराही उपमहानगर भूगोलले पनि ठूलो रहेको हुँदा समग्र उपमहानगर समृद्ध बनाउन नगरबासीको अवस्था सुधार गर्न आवश्यक रहेको बताउनुभयो । ‘जनताको माग र आवश्यकता एकातिर हुने, हामीले बनाउने योजना अरुतिर पर्यो भने कुनै अर्थ हुँदैन, त्यसैले जनताको आवश्यकतालाई आधार मानेर अघि बढ्न सकेमा सबैको हीत हुने थिया’े, उहाँले भन्नुभयो ।

नगरबासीको समृद्धिका लागि नागरिक स्वस्थ बनाउन निशुल्क स्वास्थ्य जाँच, नागरिक सचेतना अभियान, कृषि पशुपालनका साथै युवा उद्यमशीलता विकासमा जोड दिने गरी आफूहरु अघि बढेको बताउनुभयो । ‘अहिले पनि धेरै युवाहरु कामको खोजीमा भौतारिरहेका छन् भने कोही आफैले केही गर्ने योजनाका साथ काममा खटिएका पनि छन् तर उनीहरुको अवस्था बारे जानकारी समयमै लिन सकियो भने पालिकाले गर्न सक्ने सहयोग हुनेछ’, उहाँले भन्नुभयो, ‘नगरबासी केवल बजार क्षेत्रका मात्रै होईनन्, पालिकाभरका हरेक ठाउँका नागरिकको अवस्थामा सुधार हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
उहाँले समृद्धिको नारा सार्थक बनाउन पूर्वाधार विकासले मात्रै सम्भव नभएको हुँदा नागरिकको सामाजिक, आर्थिक र स्वास्थ्य अवस्थामा पनि सँगसँगै सुधार गरेर लैजाने गरी अघि बढेको बताउनुभयो । ‘अहिले समाजमा विभिन्न खालका बेथिति सिर्जना भएका छन् । जसका कारण युवाहरु, बालबालिकाहरु गलत बाटोमा लाग्ने गरेको पाईएको छ, यो कुनै पनि अभिभावकहरुका लागि सह्य कुरा होईन’ उहाँले भन्नुभयो ‘यसले हाम्रो भोलिको समाज कता जादैछ भन्ने कुरा पनि चित्रित गर्दछ, त्यसैले समयमै समाजको अवस्था बुझेर सुधारको बाटोमा लैजान आफ्नो अभियान दूरदराजदेखि आवाज ठाउँमा पुर्याउन नसक्ने नगरबासीहरुको घरमा पुगेर सुन्ने काम गरिरहेको छु ।’

पछिल्लो समय महिलाको स्वास्थ्य सुधारका प्रयासदेखि जेष्ठ नागरिकलाई दिवाकालीन बसाई, जेष्ठ नागरिक स्याहार, कृषकहरुका लागि अनुदान तथा युवाहरुका लागि उद्यमशीलता विकासका कार्यक्रम पालिकाले अभियानकै रुपमा विभिन्न शाखामार्फत समन्वय गरी अघि बढाउने काम गरिरहेको उहाँले बताउनुभयो ।

 

राष्ट्रिय सभा उप निर्वाचनमा दशौंदी विजयी

राप्ती पोष्ट

दाङ, २५ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य कुमार दसौदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादीको प्रस्ताव र राप्रपाको समर्थनमा उम्मेदवार बन्नुभएका दसौदीलाई राष्ट्रिय सभामा प्रवेश गर्न यात्रा सहज बन्यो । उहाँलाई सत्तासाझेदार दलको साथ रह्यो । एमाले रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सदस्य पद रिक्त थियो । सोही पदमा भएको उपनिर्वाचनमा एमालेकै दसौदी निर्वाििचत हुनुभयो । दसौदीले चार हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभयो । कांग्रेसका माधव आचार्यले तीन हजार सात सय २० मत र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नुभयो ।

सशस्त्र द्वन्द्वमा पिल्सिएको रोल्पामा एमालेको राजनीति गरेका दसौदी आम चुनाव लड्नु भयो तर सधैँ पराजय हुनुभयो । पार्टीको साख जोगाए तर विजयको टीका पहिरिन पाउनुभएको थिएन । ०२३ मंसिर २५ गते रुन्टिगढीमा जन्मिनुभएका दसौदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीतिमा लाग्नुभएको थियो ।

उहाँ ०३९ सालमा शिक्षक संगठनमा आबद्ध हुनुभएको थियो भने २०४१ मा इलाका स्तरीय नेकपा कम्यूनिष्ट पार्टीमा लाग्नुभयो । २०४७ सक्रिय दलको सदस्य बन्नुभयो । पार्टीमा जिल्ला सदस्य हुँदै २०४८ मा उपसचिव बन्नुभयो । २०५४ मा पार्टिको जिल्ला सचिव बन्नुभयो । उहाँ २०५४ देखि २०५९ सम्म जिल्ला सचिवको जिम्मेवारीमा हुनुहुुन्थ्यो । अञ्चल, प्रदेश हुँदै केन्द्रीय सदस्य बन्नुभयो ।

गुरुकुल एकेडेमीद्वारा आठौं बार्षिकोत्सवमा विभिन्न कार्यक्रम

राप्ती पोष्ट

दाङ, माघ । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल एकेडेमी घोराहीले आठौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा केही दिन अघि देखि विभिन्न कार्यक्रम गर्दै आएको गुरुकुलले आइतबार बार्षिकोत्सव तथा अभिभावक भेला गरेको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डा. बिकास लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उपकुलपति लामिछानेले नेपालको माटो सुहाउँदो शिक्षा गुरुकुल एकेडेमीले प्रदान गरिरहेको आफूले पाएको बताउनुभयो । उहाँले बिद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै बिद्यालयले आउँदा दिनमा अझै बढी सुसस्कारयुक्त शिक्षा प्रदान गर्ने अपेक्षा गर्नुभयो ।

उहाँले संस्कृति विनाको शिक्षा दिने काम कसैले पनि गर्न नहुने भन्दै विद्यालयले ठुला मान्छे उत्पादन गर्ने भन्दा पनि असल मानिस बनाउने शिक्षा प्रदान गर्नका लागि आग्रह गर्नुभयो । विद्यालय शिक्षाले मात्रै नपुग्ने भन्दै अभिभावकले दिने शिक्षाले नै बालवालिकालाई सक्षम बनाउने विश्वास व्यक्त गर्दै उपकुलपती लामिछानेले आफ्ना बालवालिकालाई घरमा रहेको समयमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका निर्देशक अरुण रौनियार, निर्देशक रामचन्द्र कंडेल, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नारायण सिंह गुरुङ, बिद्यालयका प्लस २ संयोजक निमानन्द गैरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले संस्कार र संस्कृति सहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए ।
बार्षिक उत्सवको अवसरमा बिद्यालयमा बिभिन्न शैक्षिक प्रदर्शनीका स्टलहरु राखिएको थियो । यस्तै बिद्यार्थीहरुले आफै बनाएको नेवारी खानको स्टल, चौधरी समुदायको घरेलु सामग्री, बिभिन्न बैज्ञानिक बस्तुहरु निर्माण गरी प्रदर्शनीस्थलमा राखिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न पौराणिक नृत्य तथा गीत, नाटक, परेड लगायत विभिन्न विज्ञान प्रदर्शनी प्रस्तुत गरेका थिए ।

पाँच जनालाई सम्मान

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरका क्याम्पस प्रमुख नारायणसिंह गुरुङ, शिक्षा मन्त्रालयका पूर्व सह सचिव विष्णुकुमार देवकोटा, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्य, महिला अधिकारकर्मी बिमला योगी र मानव सेवा आश्रम संचालिका सुस्मिता चौलागाईलाई सम्मान गरिएको थियो ।

सोही क्रममा बिद्यालयले उत्कृष्ट शिक्षकहरुलाई पनि सम्मान गरेको थियो । सम्मानित हुने शिक्षकहरुमा बिद्यालयका संयोजक महेन्द्र पौडेल, उत्कृष्ट शिक्षकको रुपमा शिक्षक विबेक देवकोटा, इन्द्र प्रसाद पोख्रेल र डिल्लिराज शर्मा रहनुभएको छ ।

बिद्यालयले बार्षिक उत्सवको अवसरमा गुरुकुल माला नामक पुस्तक पनि बिमोचन गरेको छ । सो अवसरमा गुरुकुलका बिद्यार्थीहरुले ‘नयाँ परीवेश’ नामक वेभ साइट पनि सार्वजनिक गरेका थिए । प्रोजेक्ट नियन्त्रक शिक्षक सुप्रिम शर्माको नेतृत्वमा छ जना बिद्यार्थीहरु सुजन भन्डारी, माधव पौडेल, सागर बेल्बासे, सागर बस्नेत, प्रजोल घिमिरे र सवल पौडेलले सो वेभसाइट निर्माण गरेका हुन ।

बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका बिद्यार्थीहरु श्रृजन गैरे, दिनेस केसि, प्रतिक्षा केसि र रोशन शर्माले गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नतिजा आफै आउने छ

पद्मप्रसाद शर्मा

हामी कहाँ जाने कहाँ नजाने, के खाने, के नखाने ,कोसंग के कुरा गर्ने, कोसंग के कुुरा गर्ने यस्का वारेमा धेरै ध्यान दिदैनौं । बोल्न पाएँ भन्दैमा कहिले प्याच्च बोल्ने गर्दछौं । त्यस्तै कहाँ जाने र कोसंग के कुरा गर्ने भन्ने वारेमा पनि धेरै गम्भिर हुँदैनौं । त्यस्तै खाने कुरामा पनि खासै ध्यान जाँदैन । कसैको पनि यस्ता कुरामा ध्यान जाँदैन भन्ने पनि होइन तर समग्रमा भन्नु पर्दा धेरैको ध्यान जाँदैन भन्न सकिन्छ । हामीले खाएको खानाले हामी आफैलाई फाइदा वा वेफाइदा हुने हुन्छ भने कहाँ जाने र नजाने निधो नभए आफू र अरुलाई समेत वेफाइदा हुन सक्छ । हामी विना खवर वा विना काममा अरुका घरमा पुग्यौं भने उसको काममा हानी हुन सक्छ । यस्तै बोलीको कुराले पनि विना मेसो बोल्दा आफूलाई र अरुलाई समेत मर्का पर्न जान्छ । यसबाट आपसी वैमनश्य उत्पन्न हुन्छ । यस कारण हरेक कुरामा केही न केही विचार गर्नु पर्दछ भनिएको हो ।

कहाँ जाने ? किन जाने ? कोसंग भेटघाट वा सम्पर्क गर्ने ? के विषय वस्तुमा छलफल गर्ने ? कतिसमय व्यतित गर्ने ? त्यसको परिणाम सकारात्मक आए के हुने नकारात्मक आए के हुने ? आदि कुरा जसकहाँ गइन्छ त्यसकाहाँ जानु भन्दा पहिले विचार गर्नु पर्दछ । यस्तै आफूले सेवन गर्ने कुरा पनि कति पथ्यकर छ ? त्यसले स्वास्थ्यमा के कस्ता विकार ल्याउँछ ? अथवा पौष्टिक तत्वको मात्र के कस्तो छ ? नसालु हो वा प्रोटिन वा कार्वोहाइडेड के तत्व प्राप्त हुने तत्व के हो ? यस्ता कुरामा ध्यान दिन आवश्यक छ । जाने खाने र बस्ने कुरामा बिचार नगरी आवेगमा आएर त्यसलाई प्रयोगमा ल्याउनु हुँदैन । जुन स्थानमा आफ्नो सम्मान हुँदैन त्यस स्थानमा जानु हुँदैन । वन्धु वान्धव नभएको स्थान र आफ्नो वृति नहुने स्थानमा पनि जानु हुँदैन । या त विद्या प्राप्त होस् या कुनै ज्ञान प्राप्त होस् यस्ता स्थानमा मात्र जानु उचितहुन्छ । जहाँ आफ्नो अपमान गरिन्छ त्यस्तो स्थानमा पुगेर शरीर र मन दुबैलाई सास्ती हुन्छ । यस्तो सास्ती हुने स्थानमा विचार नगरी किन जाने ? एउटा असल मनुश्यले ख्याल गर्नु पर्ने कुरा यही हो ।

हामीलाई कसैले अनाहकमा केही भनिदियो भने मनमा अति कष्ट हुन्छ । यस्तो कष्ट व्यहोर्नु पर्ने स्थानमा किन जाने ? कतिपय मानिसहरु अनाहकमा अरुको मानमर्दन गर्ने प्रवृतिका हुन्छन् । यस्ता प्रवृतिका कुनै पनि व्यक्तिको नजिक पुग्नु वा उनीहरुसंग सम्वाद गर्नु राम्रो हुँदैन । जसलाई भेट्न चाहेको हो उसको वारेमा पहिले राम्रो परिचय पाएर मात्र जानु उचित हुन्छ । सकेसम्म आफूले भेट्न चाहेको व्यक्तिबाट केही ज्ञान तथा सीप आर्जन हुन सकोस अनि मात्र उसको समिपमा पुगेर भेटेको र सम्वाद गरेको कुरा सार्थक हुन्छ ।
यसै प्रसंगमा मिल्ने नीति शास्त्रमा एउटा श्लोक रहेको छ । जो निम्न प्रकार छ ।

यस्मीन देशे नसम्मानो नवृत्तिर्न च वान्धवा ।
न च विद्याऽऽगमः कश्चित तं देशंपरिवर्जयत ।।

अर्थात जुन स्थानमा आफ्नो सम्मान हुँदैन न वृति छ न त्यहाँ आफन्तजन वा वन्धु वान्धव हुन्छन् न विद्या आर्जन हुन्छ त्यस्तो स्थानमा जानु हुँदैन वा त्यस्तो स्थान त्याग्नु पर्दछ । हामी आफूले नाताले नजिकको भनेर विश्वास गरिएको व्यक्तिबाट पनि नजानिदोगरी आफ्नो हानी गरिरहेको वा आफ्नो विरुद्धमा तथानाम खुराफाती कुरा गरिरहेको हुन सक्छ । नाताले नजिक भने पनि यस्ता मानिसहरु वन्धुवान्धव भित्र पर्दैनन् । वन्धुवान्धव भन्नाले हित चिताउने , साह्रो गाह्रो अवस्थामा सघाउने हुनु पर्दछ । जसले हित पनि चतिाउँदैन र साह्रो गाह्रोमा सहयोग पनि गर्न जान्दैन वा सक्दैन त्यस्ता नातेदारहरुको पनि निकै विचार गर्नु पर्दछ । त्यस्ता प्राणि बन्धुबान्धवमा पर्न सक्दैनन् । नाताले मात्र मानिस आफ्नो नहुने रहेछ भन्ने कतिपय दृष्टान्तबाट प्रश्ट भएको छ । नाताले कुनै व्यक्तिलाई नजिक ठान्ने भूल पनि गर्नु हुँदैन । आनिवानिको हिसाबले मानिस वन्धुवान्धवको कित्तामा पर्दछ । हामीले देखेका र भोगेका कतिपय मानिसहरुलाई एकपटक नियालेर हेर्ने हो भने आफै थाह पाउन सकिन्छ । कतिपय व्यक्तिको आचरणका वारेमा हामी विचार गर्दैनौं । जसले जसलाई अति नजिकको ठानेर आफ्ना कुरा वा कामको वारेमा सुनाउने वा भन्ने गर्नु हुन्छ केही समय पछि उसले त्यसैका विरुद्धमा बोलेको पनि सुनिन्छ । के यसो भए यो दुनियाँ सबैतिर अँध्यारो लाग्ने खालको छ त ? यक्ष प्रश्न उठन सक्छ । सबैप्रति गम्भिर आरोप लगाउन पनि उचित हुँदैन । सबैलाई शंकाको दृष्टिले हेर्नु पनि हुँदैन । तर होसियार हुनु पर्दछ । हाम्रो परिवेशका केही मानिसहरु आश्चर्यलाग्दा भने अवश्य छन् । हामीले बाहिरबाट देखेका र चिनेका जस्ता मानिसहरु व्यवहारमा नपाइन सक्छन् ।

जसलाई जसरी सम्मान गर्नेहो त्यो सम्मान नजान्नु पनि पाखण्डिपन हो । बोलीले वा व्यवहारले खस्काउन खोज्नु मात्र नभएर बोली र व्यवहारमा संयम नभएकाहरु पनि नजिकको नातेदार भए पनि बन्धुबान्धव भित्र पर्न सक्दैनन् । बन्धुबान्धवको अर्थ त सगोत्र, दाजुभाइ, आत्मीयजन वा हितैषी मित्र भित्र पर्दछन् । सगोत्रीले गोत्रको व्यवहार जान्दैन , हितैषीले हित चिताउन सक्दैन । दाजुभाइको व्यवहारमा पनि खोट छ भने त्यस्तो व्यक्ति आत्मीयजनभित्र पर्न सक्ला वा नसक्ला ? आफै विचार गर्नु पर्ने विषय हो । वास्तवमा एकछाक भोको रहनु वेश, आँगमा टालो हालेको कपडा लगाउनु वेश, पुराना जुत्ताले निर्वाह चलाउनु पनि अझ वेश तर एउटा वन्धुलाई आफ्नो धन वा मानका कारणले चिढाउनु भनेको आफन्तको अपमान होइन राम्ररी विश्लेषण गर्ने हो भने त्यो आफै प्रतिको अपमान हो । आफै प्रतिको अन्याए हो । एकजना विद्वानले भनेको भनाइलाई हेर्ने हो भने यसरी लिन सकिन्छ –“लाखौ रुपैयाँ कमाउनु भन्दा एकसय साथी कमाउनु धेरै उत्तम हो” भनेका छन् । तर हाम्रो ध्यान एकसय साथीको कुरा त परै छ एकजना साथी पनि थप्नतिर जाँदैन । यस्तो छ हाम्रो मति ! बरु उसको वृति हरण गरेर वा अन्य कुनै किसिमले उसको श्रमको पसिना समेत आफ्नो पोल्टामा पार्न तत्पर रहेने देखिन्छ । के यस्तो व्यक्ति नाताले अति नजिकको भए पनि बन्धुबान्धबको परिभाषा भित्र पर्न सक्ला ?

यसको मतलव धन नकमाउने भनेको होइन । धनको पछाडि लाग्नु भन्दा साथीको खोजिमा लाग्नु वेश भन्ने मात्र हो । धनको साथमा साथी पनि कमाइयो भने त्यो झन उत्तम हुनेछ । यति धनकोमात्र ध्याउन्न भयो भने साथी कमाउन तर्फ सोंचाइ जाँदैन । एकैछिन विचार गरौं – एकसय साथी र एकलाख रुपैयाँमा कुन वेश ? एकसय साथीबाट पाउने साथ सहयोग र आफ्नै गोजीको एकलाखको तुलना गरेर एक पटक हेर्ने हो भने आफै प्रष्ट हुनेछ । हरेक बन्धुको मर्म बुझ्नु पर्दछ । बन्धुको मर्म बुझ्न नसक्नु आफ्नै कमजोरी हो । एउटा बन्धु अर्को बन्धुको प्रकृयामा रहन सकेन भने त्यस्तालाई हाम्रो शास्त्रले बन्धुविग्रही भन्दछ । तपाई आफूले कमाएको लाखौं धनका कारणले तपाईको बन्धु नभए पनि केही समयका लागि नजिकमा आउन सक्छ तर त्यो धन विलाशियो भने उ तपाईको नजिकमा आउन छोड्ने छ । तपाईले चिताएको साथसहयोगको अपेक्षा उसबाट नगरेकै बेश हुने छ । तर जो सच्चा बन्धु हो त्यो जतिसुकै दुःख कष्टमा रहेको भए पनि तपाईको साथमा रहेर सहयोगी बनिरहने छ । क्षणिक स्वार्थमा लाग्नेहरु कसैका पनि बन्धुबान्धव हुन सक्दैनन् । यो कुराको राम्रोसंग हेक्का राख्नु पर्दछ ।

खानापानमा हेक्का नगर्ने । आफू जाने बस्ने र बोल्ने कुराको बिचार गर्न नसक्नेहरुको वेग्लै उपनाम हुन्छ । शास्त्र जानेर पनि उचित व्यवहार नजान्नेहरुलाई मूर्खको संज्ञा दिइन्छ । यस्तै बन्धुत्व नभएकाहरु पनि त्यही कोटीमा पर्दछन् । क्षणिक स्वार्थले केही लाभ त होला तर त्यसले त्यो भन्दा ठूलो विग्रह निम्त्याउन सक्छ । जतिवेला विग्रह आइलाग्छ त्यतिवेला पुनःबन्धुबान्धवको याद आउने छ । विग्रहको समयमा पनि साथ दिन नसक्नेहरु आफन्तमा वा बन्धुमा कसरी पर्न सक्लान र ? एक बन्धुले अर्को बन्धुको सम्मान गर्न नजान्नु । आफूले सक्ने सहयोग प्रदान गर्न हिच्किचाउनु अनि उल्टो उसको सकसमा रमाउनेहरु पनि जतिसुकै डिग्रीका खोस्टा खोजीमा राखेको भए पनि त्यो भुसको थैलो जस्तै हो । आजभोली भुसको थैलोबाट त केही कामलिन सकिन्छ होला तर बन्धुत्वको मर्म नबुझ्नेहरुसंग नजिकको नाता छ भनेर नभनेकै वेश जस्तो लाग्दछ । एक पटक हामी आफूले अहिलेसम्म गर्दै आएको क्रियाकलापप्रति आफैले स्वमूल्यांकनको प्रयास गरौ नतिजा आफै आउने छ ।

 

राजतन्त्रले घाँटीमा तरवार झुण्डाएको दिन

शरद अधिकारी ।

दाङ/जव माघ १९ आउँछ तव विगत झल्झली याद आउँछ । नेपालको इतिहासमा २०१७ साल पुस १ गतेका दिनलाई हामीले जसरी कालो दिनका रुपमा लिन्छौं त्यसैगरी २०६१ साल माघ १९ गते नेपालको इतिहासमा अर्को कालो दिनका रुपमा रहेको छ । एक हिसावले भन्ने हो भने हामीले माघ–१९ लाई नेपालबाट राजतन्त्र अन्त्यका लागि तत्कालिन राजाले आफ्नो घाँटीमा तरवार झुण्डाएको दिनका रुपमा लिन सक्छौं । १८ बर्ष पुरानो यो घटनाका बारेमा पछिसम्म चर्चा भइरहनेछ । यो घटना नेपालको इतिहासमा प्रजातन्त्र ‘कु’ गरिएको दिनका रुपमा लिपिवद्ध भइसकेको छ । नेपालको राजनीतिक इतिहासमा २०६१ माघ १९ को घटना सजिलोसंग विर्सन सक्ने घटना होइन । नेपाल राजनीतिक रुपमा जति परिवर्तनको यात्रामा अघि बढोस या जति सम्वृद्ध होस त्यो माघ १९ लाई विर्सनै मिल्दैन । त्यो दिन वा त्यो समय धेरैका लागि सँझनामा रहेको छ । कतिपयलाई त्यो समय आफू शक्तिमा गएको दिनका रुपमा सँझनामा होला । कतिलाई राजतन्त्र अजर अमर हुन्छ भन्ने लागेको थियो होला । तर राजतन्त्रका लागि त्यो दिन आफैले खनेको खाडलमा खस्ने विन्दु बन्यो ।

विश्वमा राजतन्त्रको इतिहासलाई हेर्ने हो भने के सिद्ध भएको छ भने जनतामाथि घात गर्ने कुनै पनि राजा टिकेका छैनन् । जनताले राजालाई घोडाबाट खसालेकै छन् । विश्वमा अहिले जति देशमा राजा छन ति राजाहरु लोकतान्त्रिक भएका कारणले टिकेका हुन् । जनताको गुनासो सुनेकाले टिकेका हुन । राजनीतिक दलसंग राम्रो सम्वन्ध बनाएका कारणले गर्दा टिकेका हुन् । तर नेपालको राजतन्त्र सुरुमा जनताको आश्था थियो । विश्वास थियो । भरोसा थियो । विस्तारै यो निरङ्कुश बन्यो । राजनीतिलाई सौता ठान्न थाल्यो । जनताले अधिकार उपयोग गरेको देखिसहेन । विस्तारै राजसंस्थालाई राजनीति गर्ने भोक जाग्यो । २०६१ माघ १९ मा राजतन्त्रले राजनीतिक दलहरुलाई प्रतिवन्धित गराएर, संचार माध्यममाथि सेन्सर लगाएर, कतिपय माध्यमहरु बन्द गराएर आफूलाई टिकाउन खोथ्यो । जुन कुरा कुनै पनि हिसावले मान्य हुने कुरा थिएन ।
समय परिवर्तनशिल छ । १८ बर्ष अघिको त्यो घट्ना सँझना गर्दा हिजैको जस्तो लाग्छ । बास्तवमा नेपालको राजनीतिक इतिहासमा त्यो घट्नाले धेरै शिक्षा दिएर गएको छ । माघ १९ भन्दा अघि अर्थात २०५९ सालको असोज १८ गतेको दिनलाई सँझना गर्नुपर्छ । नेपालका अन्तिम राजा ज्ञानेन्द्रको सक्रियता बढेको दिनका २०५९ असोजको १८ गतेको दिन थियो । २०५९ असोज १८ मा सक्रिय शासनमा उदय भएका ज्ञानेन्द्रले जव २०६१ सालमा जव आफूलाई सक्रिय बनाए तव २०६३ बैशाख ११ गतेभन्दा पछि जान सकेनन् । त्यसैले माघ १९ गतेको दिन इतिहासबाट कुनै पनि हालतमा मेटिने छैन । तत्कालिन क्रुर शासनका विरुद्धमा आवाज उठाउनेहरुका विरुद्धमा तत्कालिन सत्ता कसरी प्रस्तुत भएको थियो र त्यसबाट मानिसहरु कसरी प्रताडित भएका थिए भन्ने कुराको उदारहण भएकाले त्यो घटनालाई भूल्न सकिदैन ।

माघको १९ गतेका दिन तत्कालिन राजाले देशवासीका नाममा सम्वोधन गर्दैछन भन्ने कुरा पहिला नै चर्चामा आएको थियो । उनले आफूले टेलिभिजनबाट दिने भाषण पहिला नै रेकर्ड गरिसकेका रहेछन् । पछि दृष्य हेर्दा पनि त्यो थाहा पाइयो । राजा ज्ञानेन्द्रले केही घोषणा गर्दैछन भन्ने कुराको जानकारी नेपाली संचारकर्मीलाई केही समय पहिले नै भइसकेको थियो । माघ १९ गतेको घोषणा विगतको भन्दा फरक थियो । फरक यस मानेमा थियो कि विगतका घोषणा रातीमा हुन्थे । २०६१ साल माघ १९ भन्दा पहिले नेपालमा ठूला घटना शुक्रबारका दिन हुन्थे । त्यो पनि रातीमा । तर २०६१ माघ १९ को घटना विहानमा भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले राजा भएपछि धेरै पटक सम्वोधन गरेका थिए । कहिले आफू दाजु जस्तो चुप लागेर नवस्ने घोषणा गर्दथे । कहिले तत्कालिन प्रधानमन्त्रीलाई असक्षम भन्दै घोषणा गर्दथे । यसरी ज्ञानेन्द्रले सक्रियता जनाइरहेका थिए । जसको निरन्तरताका रुपमा थियो माघ १९ गतेको सम्वोधन ।

शाही घोषणा गर्दै राजा ज्ञानेन्द्रले अवको तीन बर्षका लागि शासन आफ्नो हातमा लिएको कुरा गरेका थिए । निर्वाचनका माध्यमबाट जनताको विरासत जनतामा फर्काउने कुरा पनि गरेका थिए । मन्त्रीमण्डल भंग गरेर सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको कुरा पनि थियो । राजाले गरेको शाही घोषणामा सवैभन्दा ठूलो आक्रोशको तारो बनेका थिए राजनीतिक दलका नेताहरु, अनि संचारमाध्यमहरु । राजाले बहुदलिय व्यवस्था यथावत राखेको कुरा गरे तर सवै ठूला दलका नेताहरुलाई नजरवन्दमा राख्ने काम गरेका थिए । अनि सवै संचारका माध्यममा सेन्सर लगाएका थिए । फोनहरु बन्द, संचार बन्द, पत्रिकामा सेन्सर, रेडियोमा समाचार बन्द गरिकन शुरु भएको थियो राजाको शाही काल ।

२०६१ साल माघ १९ गतेको घटना पछि राजनीतिक दलले त गाह्रो भोगे त्यो भन्दा अझ बढी पीडा संचारकर्मी र संचारमाध्यमले भोग्नु परेको थियो । संचारका माध्यमहरु सवै बन्द भएकाले के गर्ने कता जाने ? को संग कुरा गर्ने केही अलमल थियो । माघ १९ गतेको घटना पछि राजनीतिक दलहरुले पनि के गर्ने भन्ने बारेमा निर्णय लिन सकेका थिएनन् । माघ १९ गतेको घटना पछि विविसी नेपाली सेवाको माध्यमबाट राजाको कदमको विरोध गर्ने काम गर्ने कामसम्म राजनीतिक दलहरुले गर्न सकेका थिए । नजरवन्दमा नपरेका बाहेका नेताहरु अर्ध भूमिगत अवस्थामा थिए । केहीलाई त जेल नै हालिएको अवस्था थियो । सोही बर्षको चैतको १ गतेबाट राजनीतिक दलहरुले विरोध गर्न थाले । देशभर राजाको कदमका विरुद्धमा सडकमा उत्रिएर सांकेतिक विरोध गर्ने योजना अनुरुप दलहरु सडकमा उत्रिएका थिए । त्यसै क्रममा नेपालभर धरपकड पनि गरिएको थियो । देश देखि विदेशसम्म ज्ञानेन्द्रको कदमको विरोध भइरह्यो । राजाले राजनीतिक दलहरुको हातमा रहेको अधिकार खोसेर आफ्नो हिसावले चल्न खोजे जसको फलस्वरुप २०६२ साल चैत २४ गते देखि निर्णायक आन्दोलन घोषणा भयो । जुन १९ दिने जन आन्दोलनका नामले चर्चित रहेको छ । माघ १९ गते पछिको राजाको शासनलाई १९ दिने जनआन्दोलनले पाखा लगाइदियो । जे भए पनि आज देश गणतन्त्रमा पुगेको छ । गणतान्त्रिक देशका नागरिक भएका छौं हामी । पुस्तकमा मात्र पढ्ने विषय भएको थियो गणतान्त्रिक देशको कथा ।

नेपालको राजनीतिक इतिहासमा धेरै त्यस्ता दिनहरु छन जसको संझना बर्षौ पछिसम्म भइरहनेछ तिनै दिनहरु मध्य यौटा दिनका रुपमा माघ १९ ले नकारात्मक रुपमा धेरैको मनमा बास पाइरहेको छ । अव पनि माघ १९ फेरि कुनै पनि हिसावले नदोहोरियोस भन्ने तर्फ राजनीतिक दलहरु चनाखो बन्नुपर्छ । यौटा राजालाई फालिसकेका छौं तर राजा बन्न चाहनेहरुको लर्को देखिन्छ यहाँ । माघ १९ को यो दिनले कम्तीमा पनि निरंकुशता टिक्दैन भन्ने कुरा प्रमाणित गरेको छ भन्ने बुझ्नु पर्छ । माघ १९ ले ल्याएको कालो दिनलाई हामीले तत्याएका छौं । जनताको बलले कालो हटाएका छौं । संविधान सभाले संविधान बनाएको छ । संविधानका आधारमा मुलुकमा तीन खालका सरकार बनेका छन् । पहिलो संघीय सरकार, दोस्रो प्रदेश सरकार र तेस्रो स्थानीय सरकार बनेका छन् । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान अनुसार दोस्रो सरकार गठन भएकमो छ । स्थानीय पालिकाहरुमा पनि दोस्रो नेतृत्व आइसकेको छ । अव हामी सवैको चासो र चिन्ता देशलाई कसरी समृद्ध बनाउने भन्ने हुनुपर्छ । जनताको हातमा आएको शासन सत्ता कुनैपनि शर्तमा राजतन्त्र वा व्यक्तिको निरङ्कुशतातर्फ फर्काउने कुरा कल्पना भन्दा निकै बाहिरको कुरा हो । अव कुनै पनि शर्तमा निरङ्कुशता दोहोरिनु हुँदैन र नेपालमा निरङ्कुशताका लागि कुनै स्थान रहेको छैन । निरङ्कुशता झेल्नका लागि नागरिक तयार छैनन् । राजनीतिक दलहरु पनि तयार नवनुन । राजनीतिक दलका बीचमा देखिएको तिक्तताले उत्पन्न गरेको रिक्ततालाई कसैले पनि दुरुपयोग गर्न नसकोस भन्ने तर्फ सचेत हुनैपर्छ ।

sharadreetu@gmail.com