spot_img
spot_img

नतिजा आफै आउने छ

पद्मप्रसाद शर्मा

हामी कहाँ जाने कहाँ नजाने, के खाने, के नखाने ,कोसंग के कुरा गर्ने, कोसंग के कुुरा गर्ने यस्का वारेमा धेरै ध्यान दिदैनौं । बोल्न पाएँ भन्दैमा कहिले प्याच्च बोल्ने गर्दछौं । त्यस्तै कहाँ जाने र कोसंग के कुरा गर्ने भन्ने वारेमा पनि धेरै गम्भिर हुँदैनौं । त्यस्तै खाने कुरामा पनि खासै ध्यान जाँदैन । कसैको पनि यस्ता कुरामा ध्यान जाँदैन भन्ने पनि होइन तर समग्रमा भन्नु पर्दा धेरैको ध्यान जाँदैन भन्न सकिन्छ । हामीले खाएको खानाले हामी आफैलाई फाइदा वा वेफाइदा हुने हुन्छ भने कहाँ जाने र नजाने निधो नभए आफू र अरुलाई समेत वेफाइदा हुन सक्छ । हामी विना खवर वा विना काममा अरुका घरमा पुग्यौं भने उसको काममा हानी हुन सक्छ । यस्तै बोलीको कुराले पनि विना मेसो बोल्दा आफूलाई र अरुलाई समेत मर्का पर्न जान्छ । यसबाट आपसी वैमनश्य उत्पन्न हुन्छ । यस कारण हरेक कुरामा केही न केही विचार गर्नु पर्दछ भनिएको हो ।

कहाँ जाने ? किन जाने ? कोसंग भेटघाट वा सम्पर्क गर्ने ? के विषय वस्तुमा छलफल गर्ने ? कतिसमय व्यतित गर्ने ? त्यसको परिणाम सकारात्मक आए के हुने नकारात्मक आए के हुने ? आदि कुरा जसकहाँ गइन्छ त्यसकाहाँ जानु भन्दा पहिले विचार गर्नु पर्दछ । यस्तै आफूले सेवन गर्ने कुरा पनि कति पथ्यकर छ ? त्यसले स्वास्थ्यमा के कस्ता विकार ल्याउँछ ? अथवा पौष्टिक तत्वको मात्र के कस्तो छ ? नसालु हो वा प्रोटिन वा कार्वोहाइडेड के तत्व प्राप्त हुने तत्व के हो ? यस्ता कुरामा ध्यान दिन आवश्यक छ । जाने खाने र बस्ने कुरामा बिचार नगरी आवेगमा आएर त्यसलाई प्रयोगमा ल्याउनु हुँदैन । जुन स्थानमा आफ्नो सम्मान हुँदैन त्यस स्थानमा जानु हुँदैन । वन्धु वान्धव नभएको स्थान र आफ्नो वृति नहुने स्थानमा पनि जानु हुँदैन । या त विद्या प्राप्त होस् या कुनै ज्ञान प्राप्त होस् यस्ता स्थानमा मात्र जानु उचितहुन्छ । जहाँ आफ्नो अपमान गरिन्छ त्यस्तो स्थानमा पुगेर शरीर र मन दुबैलाई सास्ती हुन्छ । यस्तो सास्ती हुने स्थानमा विचार नगरी किन जाने ? एउटा असल मनुश्यले ख्याल गर्नु पर्ने कुरा यही हो ।

हामीलाई कसैले अनाहकमा केही भनिदियो भने मनमा अति कष्ट हुन्छ । यस्तो कष्ट व्यहोर्नु पर्ने स्थानमा किन जाने ? कतिपय मानिसहरु अनाहकमा अरुको मानमर्दन गर्ने प्रवृतिका हुन्छन् । यस्ता प्रवृतिका कुनै पनि व्यक्तिको नजिक पुग्नु वा उनीहरुसंग सम्वाद गर्नु राम्रो हुँदैन । जसलाई भेट्न चाहेको हो उसको वारेमा पहिले राम्रो परिचय पाएर मात्र जानु उचित हुन्छ । सकेसम्म आफूले भेट्न चाहेको व्यक्तिबाट केही ज्ञान तथा सीप आर्जन हुन सकोस अनि मात्र उसको समिपमा पुगेर भेटेको र सम्वाद गरेको कुरा सार्थक हुन्छ ।
यसै प्रसंगमा मिल्ने नीति शास्त्रमा एउटा श्लोक रहेको छ । जो निम्न प्रकार छ ।

यस्मीन देशे नसम्मानो नवृत्तिर्न च वान्धवा ।
न च विद्याऽऽगमः कश्चित तं देशंपरिवर्जयत ।।

अर्थात जुन स्थानमा आफ्नो सम्मान हुँदैन न वृति छ न त्यहाँ आफन्तजन वा वन्धु वान्धव हुन्छन् न विद्या आर्जन हुन्छ त्यस्तो स्थानमा जानु हुँदैन वा त्यस्तो स्थान त्याग्नु पर्दछ । हामी आफूले नाताले नजिकको भनेर विश्वास गरिएको व्यक्तिबाट पनि नजानिदोगरी आफ्नो हानी गरिरहेको वा आफ्नो विरुद्धमा तथानाम खुराफाती कुरा गरिरहेको हुन सक्छ । नाताले नजिक भने पनि यस्ता मानिसहरु वन्धुवान्धव भित्र पर्दैनन् । वन्धुवान्धव भन्नाले हित चिताउने , साह्रो गाह्रो अवस्थामा सघाउने हुनु पर्दछ । जसले हित पनि चतिाउँदैन र साह्रो गाह्रोमा सहयोग पनि गर्न जान्दैन वा सक्दैन त्यस्ता नातेदारहरुको पनि निकै विचार गर्नु पर्दछ । त्यस्ता प्राणि बन्धुबान्धवमा पर्न सक्दैनन् । नाताले मात्र मानिस आफ्नो नहुने रहेछ भन्ने कतिपय दृष्टान्तबाट प्रश्ट भएको छ । नाताले कुनै व्यक्तिलाई नजिक ठान्ने भूल पनि गर्नु हुँदैन । आनिवानिको हिसाबले मानिस वन्धुवान्धवको कित्तामा पर्दछ । हामीले देखेका र भोगेका कतिपय मानिसहरुलाई एकपटक नियालेर हेर्ने हो भने आफै थाह पाउन सकिन्छ । कतिपय व्यक्तिको आचरणका वारेमा हामी विचार गर्दैनौं । जसले जसलाई अति नजिकको ठानेर आफ्ना कुरा वा कामको वारेमा सुनाउने वा भन्ने गर्नु हुन्छ केही समय पछि उसले त्यसैका विरुद्धमा बोलेको पनि सुनिन्छ । के यसो भए यो दुनियाँ सबैतिर अँध्यारो लाग्ने खालको छ त ? यक्ष प्रश्न उठन सक्छ । सबैप्रति गम्भिर आरोप लगाउन पनि उचित हुँदैन । सबैलाई शंकाको दृष्टिले हेर्नु पनि हुँदैन । तर होसियार हुनु पर्दछ । हाम्रो परिवेशका केही मानिसहरु आश्चर्यलाग्दा भने अवश्य छन् । हामीले बाहिरबाट देखेका र चिनेका जस्ता मानिसहरु व्यवहारमा नपाइन सक्छन् ।

जसलाई जसरी सम्मान गर्नेहो त्यो सम्मान नजान्नु पनि पाखण्डिपन हो । बोलीले वा व्यवहारले खस्काउन खोज्नु मात्र नभएर बोली र व्यवहारमा संयम नभएकाहरु पनि नजिकको नातेदार भए पनि बन्धुबान्धव भित्र पर्न सक्दैनन् । बन्धुबान्धवको अर्थ त सगोत्र, दाजुभाइ, आत्मीयजन वा हितैषी मित्र भित्र पर्दछन् । सगोत्रीले गोत्रको व्यवहार जान्दैन , हितैषीले हित चिताउन सक्दैन । दाजुभाइको व्यवहारमा पनि खोट छ भने त्यस्तो व्यक्ति आत्मीयजनभित्र पर्न सक्ला वा नसक्ला ? आफै विचार गर्नु पर्ने विषय हो । वास्तवमा एकछाक भोको रहनु वेश, आँगमा टालो हालेको कपडा लगाउनु वेश, पुराना जुत्ताले निर्वाह चलाउनु पनि अझ वेश तर एउटा वन्धुलाई आफ्नो धन वा मानका कारणले चिढाउनु भनेको आफन्तको अपमान होइन राम्ररी विश्लेषण गर्ने हो भने त्यो आफै प्रतिको अपमान हो । आफै प्रतिको अन्याए हो । एकजना विद्वानले भनेको भनाइलाई हेर्ने हो भने यसरी लिन सकिन्छ –“लाखौ रुपैयाँ कमाउनु भन्दा एकसय साथी कमाउनु धेरै उत्तम हो” भनेका छन् । तर हाम्रो ध्यान एकसय साथीको कुरा त परै छ एकजना साथी पनि थप्नतिर जाँदैन । यस्तो छ हाम्रो मति ! बरु उसको वृति हरण गरेर वा अन्य कुनै किसिमले उसको श्रमको पसिना समेत आफ्नो पोल्टामा पार्न तत्पर रहेने देखिन्छ । के यस्तो व्यक्ति नाताले अति नजिकको भए पनि बन्धुबान्धबको परिभाषा भित्र पर्न सक्ला ?

यसको मतलव धन नकमाउने भनेको होइन । धनको पछाडि लाग्नु भन्दा साथीको खोजिमा लाग्नु वेश भन्ने मात्र हो । धनको साथमा साथी पनि कमाइयो भने त्यो झन उत्तम हुनेछ । यति धनकोमात्र ध्याउन्न भयो भने साथी कमाउन तर्फ सोंचाइ जाँदैन । एकैछिन विचार गरौं – एकसय साथी र एकलाख रुपैयाँमा कुन वेश ? एकसय साथीबाट पाउने साथ सहयोग र आफ्नै गोजीको एकलाखको तुलना गरेर एक पटक हेर्ने हो भने आफै प्रष्ट हुनेछ । हरेक बन्धुको मर्म बुझ्नु पर्दछ । बन्धुको मर्म बुझ्न नसक्नु आफ्नै कमजोरी हो । एउटा बन्धु अर्को बन्धुको प्रकृयामा रहन सकेन भने त्यस्तालाई हाम्रो शास्त्रले बन्धुविग्रही भन्दछ । तपाई आफूले कमाएको लाखौं धनका कारणले तपाईको बन्धु नभए पनि केही समयका लागि नजिकमा आउन सक्छ तर त्यो धन विलाशियो भने उ तपाईको नजिकमा आउन छोड्ने छ । तपाईले चिताएको साथसहयोगको अपेक्षा उसबाट नगरेकै बेश हुने छ । तर जो सच्चा बन्धु हो त्यो जतिसुकै दुःख कष्टमा रहेको भए पनि तपाईको साथमा रहेर सहयोगी बनिरहने छ । क्षणिक स्वार्थमा लाग्नेहरु कसैका पनि बन्धुबान्धव हुन सक्दैनन् । यो कुराको राम्रोसंग हेक्का राख्नु पर्दछ ।

खानापानमा हेक्का नगर्ने । आफू जाने बस्ने र बोल्ने कुराको बिचार गर्न नसक्नेहरुको वेग्लै उपनाम हुन्छ । शास्त्र जानेर पनि उचित व्यवहार नजान्नेहरुलाई मूर्खको संज्ञा दिइन्छ । यस्तै बन्धुत्व नभएकाहरु पनि त्यही कोटीमा पर्दछन् । क्षणिक स्वार्थले केही लाभ त होला तर त्यसले त्यो भन्दा ठूलो विग्रह निम्त्याउन सक्छ । जतिवेला विग्रह आइलाग्छ त्यतिवेला पुनःबन्धुबान्धवको याद आउने छ । विग्रहको समयमा पनि साथ दिन नसक्नेहरु आफन्तमा वा बन्धुमा कसरी पर्न सक्लान र ? एक बन्धुले अर्को बन्धुको सम्मान गर्न नजान्नु । आफूले सक्ने सहयोग प्रदान गर्न हिच्किचाउनु अनि उल्टो उसको सकसमा रमाउनेहरु पनि जतिसुकै डिग्रीका खोस्टा खोजीमा राखेको भए पनि त्यो भुसको थैलो जस्तै हो । आजभोली भुसको थैलोबाट त केही कामलिन सकिन्छ होला तर बन्धुत्वको मर्म नबुझ्नेहरुसंग नजिकको नाता छ भनेर नभनेकै वेश जस्तो लाग्दछ । एक पटक हामी आफूले अहिलेसम्म गर्दै आएको क्रियाकलापप्रति आफैले स्वमूल्यांकनको प्रयास गरौ नतिजा आफै आउने छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार