spot_img
Home Blog Page 41

नाम मात्रको अस्पताल, काम भने स्वास्थ्य चौकी सरह

बंगलाचुली अस्पतालको अवस्था दयनिय

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत । गाउँमै राम्रो स्वास्थ्य सेवा दिने गरी बंगलाचुली अस्पताल औपचारिक रुपमा संचालनमा आएको वर्षदिनभन्दा बढी भइसक्यो । तर, अस्पतालको मापदण्डमा सेवा दिन नसक्दा स्थानीय नागरिकका लागि बनेको पूर्वाधार सेतो हात्ती जस्तै भएको छ ।

बिरामी पर्दा अन्यत्र स्वास्थ्य सेवा लिन जानुपरेपछि स्थानीय निराश छन् । करोडौँ बजेट खर्च गरेर बनाइएको संरचना अनुसार सहज र भरपर्दो स्वास्थ्य सेवा दिनुपर्नेमा अस्पताल अहिले स्वास्थ्य चौकी सरह संचालन भईरहेको छ । अस्पताल प्राय सुनसान हुने गरेको छ ।

बंगलाचुली गाउँपालिका दाङको पहाडी क्षेत्रमा पर्दछ, जहाँ स्वास्थ्योपचारका लागि स्थानीयवासीलाई सहरतिर धाउनुपर्ने बाध्य थियो । त्यही बाध्यतालाई ध्यानमा राखेर १५ शैयाको अस्पतालन निर्माण गरी औपचारिक रुपमा संचालनमा आएपछि स्थानीयले गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाईने भयो भन्दै दंग परेका थिए । अहिलेसम्म यो स्वास्थ्य उपचार उनीहरुका लागि सहज बन्न सकेको छैन ।

बंगलाचुली ५ मुर्कुटीका अम्मर बहादुर राउतलाई अस्पताल अगाडि भएर घोराही उपचार गराउन जाँदा मन निकै दुख्छ । अस्पताल अगाडि बनेर के गर्नु सेतो हात्ती जस्तै भएको छ । ‘ठूलो रकम खर्चेर बनाएको अस्पतालको यो हविगत हुँदा पनि पालिकाले खै के गरेको होला, जनताको पैसाले बनाएको संरचनाको उपयोग गर्नुपर्नेमा यसरी प्रयोग विहीन जस्तै भएको छ’, उहाँले भन्नुभयो, ‘स्थानीयका लागि बनाइएको हो भने प्रयोग पनि त हुनुपर्यो नी ।’

अस्पताल सञ्चालन भएपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य मात्रै होईन चौबिसै घण्टा आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा पाउने अभिलाषा बोकेका बंगलाचुली बासीलाई अहिले अस्पताल हेर्नका लागि मात्रै भए जस्तो भएको वडा नम्बर ३ कमिरेचौरकी एकता नेपालीलाई लागेको छ ।

‘अस्पताल भएर के गर्नु यहाँ त पखाला लाग्दा खाने औषधि पनि पाउन गाह्रो छ, मेडिकलमा गएर किनेर खानुपर्छ, आँखा अगाडि यति ठूलो अस्पताल छ नभएको होईन तर हाम्रा लागि काम नै छैन’, उहाँले भन्नुभयो । नेपाल सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बंगलाचुलीमा अस्पताल निर्माण भएको हो । करीव १० करोड बढीको लागतमा अस्पताल बनेपछि त्यसको व्यवस्थापन हुनुपर्नेमा हुन नसक्नु नै कमजोरी देखिएको वडा नम्बर २ मर्पेसका गिरीराज विश्वकर्माको धारणा छ । ‘जे कुरा पनि गरेपछि त्यसको अर्थ बुझेर गर्नुपर्छ, हतारमा काम गरिहाल्ने पछि पछुताउने अवस्था भए जस्तै यो अस्पतालको हविगत भएको छ’, उहाँले भन्नुभयो ‘अस्पताल बनेपछि यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा यहाँका नेताहरुमा ज्ञान छैन जस्तो छ ।’

हुनपनि बजारको छेवैमा ठगिएका भवनको अगाडि बंगलाचुली अस्पताल लेखिएको छ । तर, सेवा लिन जानेहरु अत्यन्तै न्यून छन् । खासमा, अस्पतालका रुपमा स्थापना भएपनि त्यहाँ अहिलेसम्म साविक काभ्रे स्वास्थ्य चौकीकै अवधारणामा काम भईरहेको छ । आवश्यक व्यवस्थापन हुन नसक्दा आफुहरु अहिले पनि स्वास्थ्य चौकीकै मापदण्डमा रही काम गर्दै आएको सिनियर अनमी शारदा चन्दको भनाई छ । ‘हामी त साविक काभ्रे स्वास्थ्य चौकीकै मापदण्डमा रहेर कामगर्दै आएका छौँ, पूर्वाधार सबै छ तर जनशक्ति व्यवस्थापन हुन सकेको छैन’, उहाँले भन्नुभयो, ‘अस्पताल हो भने त्यही किसिमको जनशक्ति पनि मिलाउनु पर्ने हो, आशा गरौँ चाँडै होला ।’

१५ सैयाको अस्पताल संचालनमा ल्याएको भनिएपनि आवश्यक जनशक्ति अभावमा डाक्टर बिना नै अस्पताल संचालनमा छ । केही महिनाअघिसम्म एक जना डाक्टरले अस्पतालमा सेवा पनि दिनुभएको हो । डा. बसन्त शाह अध्ययनका लागि बाहिर गएपछि अहिले अस्पताल डाक्टरविहीन अवस्थामा चलिरहेको छ । त्यहाँ आउने बिरामीको उपचार नर्सहरुको भरमा हुने गरेको छ । स्थानीय सरकारले डाक्टरको व्यवस्थापन गर्न नसकेको आम जनताको गुनासो छ । अस्पताल बनाईसकेपछि सोही अनुसार कामलाई अघि बढाउन स्थानीय सरकारले चासो लिनुपर्ने स्थानीयहरुको माग छ ।
स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार, बंगलाचुली अस्पतालमा हाल पाँचजना नर्सिङ, चार जना पारामेडिक्स, एक जना ल्याव असिस्टेन्ट, तीन जना कार्यालय सहयोगी, एक जना कम्प्युटर अपरेटर र एक जना एम्बुलेन्स चालक गरी १५ जनाको जनशक्तिले १५ शैयाको सिंगो अस्पताल चलाईरहेको छ । पालिकामा थालिएको प्रयास राम्रो भएपनि जनशक्ति व्यवस्थापन हुन नसक्दा अस्पताल चलाउन समस्या भएको शाखा प्रमुख केसीले बताउनुभयो ।

तीन तहका सरकारले स्थानीय जनताको सेवाका लागि बनाउने संरचनामा एकीकृत रुपमा काम गर्न नसक्दा पनि बनेका संरचना र पूर्वाधारको सही सदुपयोग हुन चुनौति रहेको नागरिक अगुवाहरुको बुझाई छ । ‘अस्पताल बनेर मात्रै के गर्नु, त्यसको प्रयोग छैन भने राज्यको साधन श्रोत खेर गएको मान्नुपर्छ, यसमा राज्यका सरोकार निकाय गम्भीर बन्नुपर्छ’, नागरिक समाज दाङका संयोजक केबी मसालले भन्नुभयो, ‘दाङका १० वटै पालिकामध्ये बंगलाचुलीमा १५ शैयाको अस्पताल बन्यो भनेर हर्षित भएको केवल क्षणिकका लागि मात्रै हो जस्तो भयो, भूगोलले पनि समस्यामा बाँचि रहेको स्थानीयको स्वास्थ्य उपचारका लागि स्थानीय सरकारले आवश्यक कदम चाल्नै पर्छ । नभए भवन बनाएर पूजा गर्न भएन, यसको सही प्रयोग हुनुपर्छ ।’

उता, बंगालचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले भौतिक पूर्वाधार अनुसार जनशक्ति व्यवस्थापनको मापदण्डलाई कसरी कार्यान्वयन गर्ने कुराको अन्यौलताले पालिकालाई समस्या भएको तर्क गर्नुहुन्छ । पहिला पहिला डाक्टर हुँदा त्यति समस्या नभएको बताउँदै पछिल्ला केही महिनायता वास्तवमै पालिकाले अस्पतालको बारेमा ठोस रुपमा कसरी अघि बढ्ने भन्ने बारेमा अन्यौल भईरहेको बताउनुभयो । संघीय सरकारले जनशक्ति दरबन्दी मिलान गरी पठाउने आश्वासन दिएपछिहालसम्म नपठाएको तथा स्थानीय श्रोत साधनको आधारमा डाक्टर ल्याउन खोज्दा डाक्टर आउन नमानेका कारण पनि अस्पताललाई पूर्ण रुपमा संचालन गर्न नसकिएको अध्यक्ष पुनले बताउनुभयो ।

अब चाँडै नै संघ र प्रदेश सरकारसँग अस्पतालको अवस्थाका बारेमा जानकारी गराउँदै दरबन्दीको संरचना तयार गरी आग्रह गरिने जानकारी दिनुभयो । ‘दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने हाम्रो प्रयास छ, अस्पताल बनेर मात्रै हुने रहेनछ, यो संचालन गर्ने आधार पनि उत्तिकै आवश्यक हो भन्ने कुराको बोध भएको छ’, उहाँले भन्नुभयो ‘सेवा सही रुपमा दिन नसक्दा नागरिकले गुनासोगर्नु स्वाभाविक हो, हामी यो विषयमा निकै गम्भीर छौँ, आउने आर्थिक वर्षबाट बंगलाचुली अस्पताललाई नयाँ गति दिने गरी संचालन गर्नेछौँ र स्थानीयले घरआँगनकै अस्पतालबाट सहज रुपमा सेवा पाउनुहुनेछ ।’
संघ सरकारको अवधारणा अनुसार, हरेक स्थानीय तहमा कम्तिमा एक वटा १५ शैयाको अस्पताल बनाउने कार्यक्रम अनुसार अस्पतालको संरचना तयार पारिएको हो । तर, आवश्यक जनशक्ति, पूर्वाधारसहितको व्यवस्थापन नहुँदै बंगलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा २०७८ चैत्र ११ गतेका दिन पूर्व सभामुख कृष्णबहादुर महराले उदघाटन गर्नुभयो । उदघाटन गरेको पाँच महिनापछि अस्पताल डाक्टर विहीन भएपछि खाली घर जस्तै भएको छ । बितेको आठ महिनाको बिरामीले सेवा लिएको अभिलेख हेर्दा तीन हजार पनि पुग्न सकेको छैन । जबकी यही अवधिमा आठ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिईसक्नु पर्ने हो । तर स्वास्थ्य चौकी सरह पनि सेवा उपलब्ध हुन सकेको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण

राप्ती पोष्ट

काठमाडौं, फागुन नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण लिएसँगै पदभार ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धार ७१ बमोजिम पौडेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । त्यसलगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
पौडेलले पदभारअघि लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । आजै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिएको थियो ।

बधाई ज्ञापन

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छन् । उनले एक बधाई नोटिस जारी गर्दै पौडेललाई नेपालको नयाँ राष्ट्रपति निर्वाचित भएकोमा आफ्नो र भारतको जनताको तर्फबाट बधाई ज्ञापन गरेकी हुन् । उनले सूचनामा नेपाल र भारत घनिष्ठ मित्रराष्ट्रका रुपमा द्विपक्षीय मैत्रीपूर्ण, बहुआयामिक, गहिरो सभ्यता, सांस्कृतिक तथा जनता–जनताबीचको प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै पछिल्ला दशकहरुमा दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक सम्बन्ध कायम भएको जनाएकी छन् ।
राष्ट्रपति मुर्मुले आगामी दिनमा नयाँ राष्ट्रपतिको रुपमा पौडेलको नेतृत्व, सल्लाह सुझावका आधारमा द्विपक्षीय सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरेकी छन् । उनले पौडेललाई बधाई दिँदै नेपाल र नेपाली जनताको उन्नति प्रगति र समृद्धिको कामना पनि गरेकी छन् ।

मोरोक्कोका लागि राजदूत नियुक्त

यसबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले मोरोक्को अधिराज्यका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको शपथ लिएलगत्तै पौडेलले संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका राजदूतमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’ शपथपछि पौडेलले गरेको यो पहिलो नियुक्ति हो । फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित पौडेलले आजैमात्र पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

राष्ट्रपति पौडेलको सपथ आज

राप्ती पोष्ट

दाङ, फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुनेछ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुुनुभएको थियो ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।

पौडेलद्वारा काँग्रेस परित्याग

यसैबीच राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस परित्याग गर्नुभएको छ । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभन्दा एक दिन अघि अर्थात आइतबार कांग्रेस परित्याग गर्नुभयो । उहाँले आइतबार आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिनुभयो ।

उप राष्ट्रपतिमा चारजना भिड्ने

यसैगरी सत्ता गठवन्धनले निर्णय लिन नसक्दा आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदका लागि चारैजना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म कसैले नाम फिर्ता नलिएपछि चार जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जसपाबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनुभयो ।

जसपाका प्रमिला र रामसहाय तथा जनमतकी ममता गरी १० दलीय गठबन्धनबाट मात्र तीन जना उम्मेदवार हुने भएका छन् । प्रमिलाको उम्मेदवारी फिर्ता गराउने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

राप्ती पोष्ट

काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

प्रदेश सरकारद्वारा आठ सय कि.मी सडक कालोपत्रे

छबि पुरी /राप्ती पोष्ट

घोराही, फागुन । लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्षमा आठ सय बढी किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश स्थापना भएपश्चात हालसम्म लुम्म्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रे आठ सय नौ किलोमिटर सम्पन्न गरेको हो ।

सडकसँग जोडिएका अरु थुप्रै पूर्वाधारका काम पनि भएका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिनुभयो । उहाँका अनुसार, संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको पालाबाट थालनी भएका प्रदेशका गौरवका आयोजनासँगै अन्तरजिल्ला, अन्तरपालिका, पालिकाभित्रका महत्वपूर्ण सडक पूर्वाधारको काम सम्पन्न भएका छन् । सिमित श्रोत साधन र जनशक्तिका बीचमा पनि प्रदेश सरकारले उल्लेख्य प्रगति गर्न सफल भएको उहाँको भनाई छ ।

मन्त्री थारुका अनुसार, बितेकोपाँच वर्षमा सडक ग्राभेल गर्ने काम एक हजार ६९ किलोमिटर सम्पन्न भएको छ भने सडक बिस्तार थप चौडा गर्ने काम एक हजार चार सय ८३ किलोमिटर सम्पन्न भएको छ । यसैगरी नयाँ ट्रयाक निर्माण चार सय ६१ किलोमिटर बनेको छ भने कल्भर्ट–कजवे निर्माण तीन हजार छ सय पाँच वटा बनेका छन् । ढलान गरी पक्की सडक निर्माण ४० किलोमिटर बनेको छ । जसमा हालसम्म ८६ वटा सडक पुल बन्न सफल भएको छ भने झोलुङ्गे पुल २५ वटा बनेका छन् ।

वार्षिक रुपमा सडक पूर्वाधारका क्षेत्रमा भएको प्रगति विवरणमा प्रदेश पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा नयाँ ट्रयाक निर्माण एक सय १६ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम पाँच सय १५ किलोमिटर, सडक ग्राभेल गर्ने काम दुई सय ४८ किलोमिटर, कालोपत्रे सम्पन्न सडक दुई सय किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या चार सय ८४ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण दुई किलोमिटर र एक सय मिटर बने । जसमा सडक पुल संख्या पाँच वटा रहका छन् भने झोलुङ्गे पुल संख्या पनि पाँच वटा रहेका छन् ।

यसैगरी, आर्थिक वर्ष २०७६–०७७ मा नयाँ ट्रयाक निर्माण ९९ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम दुई सय ९९ किलोमिटर, सडक ग्राभेल गर्ने काम दुई सय पाँच किलोमिटर, कालोपत्रे सम्पन्न सडक एक सय ५३ किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या आठ सय ९७ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण एक दशमलव आठ किलोमिटर बने । जसमा सडक पुल संख्या १० वटा रहका छन् ।

यसैगरी, आर्थिक वर्ष २०७७–०७८ मा नयाँ ट्रयाक निर्माण ९९ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम तीन सय १६ किलोमिटर, सडक ग्राभेल गर्ने काम दुई सय ७० किलोमिटर, कालोपत्रे सम्पन्न सडक एक सय ९४ किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या नौ सय ६८ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण सात दशमलव नौ किलोमिटर बने । जसमा सडक पुल संख्या १७ वटा रहका छन् भने झोलुङ्गे पुल संख्या सात वटा रहेका छन् ।

यसैगरी, आर्थिक वर्ष २०७८–०७९ मा नयाँ ट्रयाक निर्माण एक सय २१ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम दुई सय ७५ किलोमिटर, सडक ग्राभेल गर्ने काम दुई सय ६५ किलोमिटर, कालोपत्रे सम्पन्न सडक दुई सय दुई किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या नौ सय ९६ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण २० दशमलव दुई किलोमिटर बने । जसमा सडक पुल संख्या ४० वटा रहका छन् भने झोलुङ्गे पुल संख्या ११ वटा रहेका छन् ।
यसैगरी, चालुआर्थिक वर्ष २०७९÷०८० को बितेको छ महिनामा नयाँ ट्रयाक निर्माण २६ किलोमिटर, सडक बिस्तार अर्थात थप चौडा गर्ने काम ७८ किलोमिटर, सडक ग्राभेल गर्ने काम ८१ किलोमिटर, कालोपत्रे सम्पन्न सडक ६० किलोमिटर, कल्भर्ट–कजवे निर्माण संख्या ३ सय १३ वटा बनेका हुन् भने ढलान गरी पक्की सडक निर्माण ८ किलोमिटर बनेका छन् । जसमा सडक पुल संख्या १४ वटा रहका छन् भने झोलुङ्गे पुल संख्या दुई वटा रहेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्राललयले प्रदेशका योजना कार्यान्वयनमाअहिले पनि पर्याप्त जनशक्ति नहुँदा समस्या भएको बताएको छ । प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नुहँदा समस्या भएको भौतिक पूर्वाधार विकास मन्त्री थारुले बताउनुभयो । मन्त्रालयकै लागि भवनको अभाव हुँदा नयाँ संरचना, नयाँ स्थानबाट कामकारवाही गर्दा योजना कार्यान्वयनमा समस्या रहेको जानकारी गराउँदै नयाँ सरकार निर्माण भएपछि ५० प्रतिशत भौतिक प्रगती गरेको दावी गर्दै जनशक्तिको पदपूर्ति भएमा योजना कार्यान्वयनमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले चालु आर्थिक वर्षमा भौतिक प्रगति करीव ५० प्रतिशत भएपनि भुक्तानी प्रकृयामा कठिनाई हुँदा पूँजिगत खर्च २४ प्रतिशत भएको बताउनुभयो । यसो हुनुमा जनशक्ति अभाव तथा संघ सरकारको वित्तिय व्यवस्थापन हुन नसक्नु कारक रहेको तर्क गर्नुभयो । सम्बन्धित कार्यालयमा जम्मा चार सय ८४ जनाको जनशक्तिको दरवन्दी रहेको जानकारी गराउँदै अहिले पनि ३० प्रतिशत हाराहरीमा दरवन्दी रिक्त रहको हुँदा अपेक्षित काममा बाधा पुगेको जानकारी गराउनुभयो ।

मन्त्रालयले प्रदेश सरकारको अनुभूति दिनेगरी काम गरेको भएपनि सबै योजना स्थानीय सरकारकै रुपमा जनताले बुझेकाले प्रदेश सरकारलाई उपेक्षा गरेको हुनसक्ने मन्त्रालको भनाई छ । यसका लागि स्थानीय तह र संघ सरकारबीचको आपसी तालमेल गरी मातहतका जिम्मेवारी एकअर्कामा नबाझिने गरी अघि बढ्ने प्रयासमा मन्त्रालय रहेको मन्त्री थारुले बताउनुभयो ।

 

हातेमालो बचत तथा ऋण सहकारीद्वारा अर्धबार्षिक समीक्षा

राप्ती पोष्ट

घोराही, फागुन । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शनिबार अर्धबार्षिक समीक्षा गरेको छ । छ महिनाको अवधिमा सहकारीले हासिल गरेको उपलव्धि र आगामी दिनमा गर्ने कामका बारेमा पनि सो अवसरमा छलफल गरिएको थियो ।

सहकारीकी कार्यवाहक अध्यक्ष भगवती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले फजुल खर्च कटाएर दैनिक रुपमा थोरै थोरै वचत गर्ने बानीको विकास गर्न सके भविष्यका लागि संचित रकम निकै उपयोगी हुने धारणा राखेका थिए । समीक्षा गोष्ठी तथा सहकारी शिक्षा विषयक प्रशिक्षण कार्यक्रममा सहकारी क्षेत्रमा लामो समयदेखि कृयाशील रहनु भएका होमलाल भुसालले वचत गर्ने बानीको विकास अझैसम्म हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै दैनिक रुपमा अनावश्यक खर्च गर्ने बानी सुधार्न सके भविष्यमा त्यही रकमले ठुलो काम गर्ने बताउनुभयो ।

भुषालले संस्थाको अधिकांश सुचक राम्रो भएको हुँदा आगामी कार्ययोजना, कार्य विभाजन, समिति, उपसमितिले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । यसैगरी, शेयर सदस्यहरुमा सहकारी शिक्षा जगाउन तथा सहकारी ऐन २०७४ मा स्थिरीकरण कोषले सरकारले अघि सारेको योजनालाई सही ढंगले व्यवस्थापन गर्न सकेमा बिमाको सेवा लिन सकिने बारे जानकारी गराउनुभयो । सहकारीको दीर्घकालीन व्यवस्थापनका लागि नीतिमा रहेर मात्रै काम गर्न, कार्य क्षेत्रभित्रको सदस्य र उनीहरुबाट कारोबार गर्न प्रेरित गर्नुपर्ने, तीन महिना वा सो भन्दा बढी वचत गरेका सदस्य पहिचान गरेर काम गर्नुपर्ने, सहकारी संस्था नाफामुखी भन्दा पनि सेवामूलक संस्था भएको हुँदा सन्दर्भ ब्याज दर, सहज सेवा प्रवाहलगायत सामाजिक सेवामा पनि ध्यान दिनुपर्ने, सहकारीमा निशर्त र निस्वार्थ भावका साथ समर्पित हुनुपर्ने प्रशिक्षक भुसालको सुझाव थियो । संस्थामा जोडिएर १३ वर्षसम्म गरेको वचत निकै थोरै रहेको हुँदा आगामी दिनमा वचतको विकासमा जोड दिन पनि सबैमा उहाँको सुझाव थियो ।

प्रेस काउन्सिल सदस्य एवम् संस्थाका सदस्य शरद अधिकारीले संस्था स्थापना भएको १३ वर्षको वृहत समिक्षा गर्दै वर्तमान समयमा सहकारी क्षेत्रमा देखा परेका समस्या चिर्दै नवीन प्रविधि र प्रयोगमा जोडिन आग्रह गर्नुभयो । सहकारी शिक्षाको चेतनास्तर हरेक शेयर सदस्यसँगै वचतकर्तासम्म पुर्याउन सकेमा मात्रै वचतको विकास हुने र भविष्यको सही योजनामा काम लाग्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्थाका सचिव केशवदिपक न्यौपानेले संस्थागत प्रगति विवरण प्रस्तुत गर्दै शेयर सदस्यहरुबाट उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले सामाजिक उत्तरदायित्व अन्तरगत पाण्डवेश्वर मन्दिर परिसरमा प्रतिक्षालय बनाउने काम हुन थालेको आगामि दिनमा माग र आवश्यकतालाई ध्यानमा राखेर अरु क्षेत्रमा पनि काम गर्ने संस्थाको विकासका लागि सुझाव दिन पनि अपिल गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुबाट आएका जिज्ञासाहरुको जवाफ दिँदै सचिव न्यौपानेले संस्थाले विभिन्न वचत शीर्षकबाट बचत संकलन, ऋण लगानी, कर्मचारी व्यवस्थापन, १८ प्रतिशतसम्मको आकर्षक लाभांश तथा करिव ३६ लाख बराबरको संरक्षित पूंजी फिर्ताकोष रकम वितरण लगायतका कार्य गर्न सफल भएको बताउनुभयो । यसैगरी, शेयर सदस्य संख्या २ हजार ६ सय ९७ बाट ३ हजार ४७ पुर्याउने लक्ष्य रहेकोमा हाल सम्म २ हजार ८ सय ५५ पुगेको जानकारी गराउनुभयो ।
समिक्षा कार्यक्रममा सल्लाहकार बेगमबहादुर भण्डारी, डा. लोकराज पराजुली, युवराज थपलियालगायतले बोल्नुभएको थियो । शिक्षा तथा प्रशासन उपसमिति छमा पराजुलीको स्वागत मन्तव्यबाट शुरुभएको समीक्षा कार्यक्रमको सञ्चालन ऋषिराम रिजालले गर्नुभएको थियो ।

बाह्रबुँदे घोषणा पत्र जारी गर्दै सकियो घोराहीको प्रदर्शनी

राप्ती पोष्ट

घोराही, फागुन । १२ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङले आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी –२०७९’ समापन गरिएको छ । १२ बँुदे घोषणपत्रमा प्रदर्शनीका प्रतिबद्धता र माग स्वरुप घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन एवं विकासकाका बिषयहरु समेटिएको छ ।

घोषणपत्रमा साना तथा घरेलु उद्योग र उद्यमीहरुलाई संगठित गरि व्यवसायीको अवस्था सुदृढ गर्ने, स्थानीय श्रोत साधनको समुचित प्रयोग र परिचालन गर्दै आन्तरिक मागलाई पूर्ति गरि निर्यात प्रबद्र्धन गर्ने वातावरण सिर्जना गर्ने, नेपाल सरकारले घरेलु तथा साना उद्योग प्रबद्र्धन कोष स्थापना गरि अनुदान प्रदान गर्नु पर्ने उल्लेख गरिएको छ ।

यसैगरी साना तथा घरेलु उद्यम विकासका लागि अध्ययन र अनुसन्धान गर्ने, साना तथा घरेलु उद्योगहरुको दर्ता र नविकरण सहज र सरल हुनु पर्ने, साना तथा घरेलु उद्यमी एव उद्योगीहरुलाई उद्योग अनुसारको प्रबद्र्धन व्यवस्थापन क्षमता विकास कार्यक्रम गर्ने, नेपाल सरकार र यस महासंघको साझेदारीमा घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरुको निर्यातका लागि सहजीकरण गर्ने, नेपाल सरकारले घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई पहिलो प्राथमिकतामा राखी प्रयोग गर्न बिशेष व्यवस्था मिलाउनु पर्ने उल्लेख गरिएको छ ।

 

यस्तै नेपालमै उत्पादित हुने खाद्य तथा कृषी उत्पादनलाई संरक्षण गर्दै, आयातलाई निरुत्साहित गर्ने निती कार्यन्वयन गर्ने, घरेलु तथा साना उद्योगहरुको दर्ता, विकास र विस्तारका लागि सहायता कक्ष स्थापना गर्ने, नेपालको स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा निर्यात गर्न विश्वको ठूलो बजार भएको भारतमा प्रदर्शनी एवं बिक्रि कक्ष स्थापना गर्ने र दाङ जिल्लामा औद्यागीकग्राम स्थापना साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धनकालागि नेपाल सरकारका सबै तह र निजि क्षेत्रसँगको सहकार्यमा स्थायी प्रदर्शनी स्थल निर्माण गर्ने लगायत विषयहरु घोषणपत्रमा समेटिएको छ ।

यसैबीच औपचारिक कार्यक्रम सहित ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ सम्पन्न भएको छ । ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी फागुन ३ गतेदेखि सुरु भएको थियो । १३ गते समापन गरिने भनिएको प्रदर्शनीमा तीन दिन थप गरिएको थियो ।

महासंघका जिल्ला अध्यक्ष एवं प्रदर्शनी आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा भएको समापन कार्यक्रम घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको आतिथ्यतामा समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै घोराही उपमहानगरपलिकाका प्रमुख चौधरीले स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै स्थानीय उद्योगहरुले उत्पादन गरेको वस्तुहरुको प्रयोग गर्न सबैमा अनुरोध गर्नुभयो । स्थानीय कृषी, साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनकालागी यस्ता प्रदर्शनी आवश्यक भएको भन्दै उहाँले प्रदर्शनी आयोजना गर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले स्थानीय तहले कृषी, साना तथा घरेलु उद्योगहरुको लागी नेपाल घरेलु तथा साना उद्योग महासंघसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले स्थानीय उत्पादन गरेर साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीेले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले यस्ता प्रदर्शनी आवश्यक भएको बताउनुभयो । वैद्यले स्थानीय उत्पादनको बजारिकणकालागी पनि ध्यान दिन आवश्यक भएको बताउनुभयो । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुषालले कृषी, साना तथा घरेलु उद्योगहरुको प्रवद्र्धनकालागी आयोजना गरिएको यस प्रदर्शनीले महत्वपूर्ण भूमीका निर्वाह गरेको प्रदर्शनीकालागी घोराही क्षेत्रमा जग्गाको अभाव भएकाले त्यसतर्फ ध्यान दिन सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रदर्शनीको बारेमा सचिवालय संयोजक एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका वरिष्ठ उपाध्यक्ष लब अधिकारीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य सचिव नविन पोख्रेल र पत्रकार आर.के.शीतलले गर्नुभएको थियो । प्रदर्शनीको गत फागुन ३ गते सञ्चार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मा उद्घाटन गर्नुभएको थियो । उद्घाटनको दिन भएको शोभायात्रामा सहभागी संघसंस्थाहरुमध्य उत्कृष्ट संघसंस्थाको झाँकीलाई पुरस्कार प्रदान गरिएको छ । जसमा प्रथम हुने जिवनज्योति कृषक समूह घोराही १७ कर्जाही प्रथम, नेपाल मगर संघ जिल्ला समन्वय समिति दृतिय, नयाँ विहानी टोल विकास संस्घा घोराही १७ तृतिय र राष्ट्रिय अल्लो उद्योग संघ र ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय घोराही सानत्वना हुनुभएको छ । साथै शुभ विहानी टोल विकास संस्था घोराही १३, मिरुले सेवा समाज घोराही १८, लुकमेल खाम समाज घोराही १८, शान्ति आमा समूह घोराही १७, रौल्पा कोटगाउले समाज, तेरौटे टोल विकास संस्था, रातामाटा टोल विकास संस्था, जेलबाङी समाज र क्रोवा टोल विकास संस्थालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गरिएको छ ।

प्रदर्शनीमा लोकदोहोरी गीत प्रतियोगीता र लोक नृत्य प्रतियोगीता सम्पन्न भएको छ । लोकदोहोरी गीत प्रतियोगीतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ ‘ए’ प्रथम, देउराली दोहोरी साँझ घोराही दृतिय, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान दाङ ‘बी’ र बागीना कला पुञ्ज तुलसीपुर तृतिय भएको प्रतियोगीताका संयोजक प्रेम शर्माले जानकारी दिनुभयो । बिजयी टीमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार प्रदान गरिएको छ ।

यस्तै विद्यालय तथा संघसंस्था स्तरिय लोक नृत्य प्रतियोगीतामा गोर्खा ईन्टरनेशनल पब्लीक सेकेण्डरी स्कूल घोराही– १४ प्रथम, ज्ञानज्योति एजुकेशनल एकेडेमी घोराही– १३ डुम्मरगाँउ दृतिय, मेरिल्याण्ड पब्लीक एकेडेमी घोराही– १३ सेवार तृतिय र मदन भण्डारी मेमेरियल स्कूल घोराही– १७ गुलरिया सान्त्वना भएको छ । लोकदोहोरी गीत प्रतियोगीतामा १२ र लोकनृत्य प्रतियोगीतामा १६ टीमको सहभागीता रहेको थियो । जसमा बिजयी हुने टीमहरुलाई क्रमशः १० हजार १ सय ५, ६ हजार १ सय ५, ४ हजार १ सय ५, २ हजार ५५ रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रदर्शनीमा ७० हजार भन्दा बढि दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा एक सय भन्दा धेरै स्थानीय कृषी, साना तथा घरेलु उद्योगहरुलाई निशुल्क रुपमा स्टल प्रदान गरिएको थियो । जसमा लुम्बिनी प्रदेशका १२ जिल्लाका उद्योगीहरुले स्टल राख्नुभएको थियो । प्रदर्शनीमा जिल्लाका कृषकहरुले कृषी सामाग्रीहरु प्रदर्शनीकालागी राख्नुभएको थियो भने स्थानीय अल्लो उद्योगहरुले अल्लोका सामाग्रीहरु राख्नुभएको थियो ।

धन्यवाद ज्ञापन

फागुन ३ गतेदेखी १६ गतेसम्म सञ्चालन भएको प्रदर्शनी सफल बनाउनकालागि सहयोग गर्ने सम्पूर्णमा आयोजकले धन्यवाद ज्ञापन गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजना गरिएको सञ्चालन गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ सफल बनाउनकालागि सहयोग गर्ने सम्पूर्ण संघसंस्था एवं व्यक्तीहरुमा आयोजक मूल समितिले धन्यवाद ज्ञापन गरेको छ ।

कारोबार बिग्रिएपछि लघुवित्त पीडित सडकमा

छबि पुरी/राप्ती पोष्ट

घोराही, फागुन । गढवा गाउँपालिका वडा नम्बर झारबैराकी रिखा कुमारी बिसीको दैनिकी पहिले ठीकै चलेको थियो । ३ वर्षअघि उहाँ एक लघुवित्तीय संस्थामा जोडिन पुग्नुभयो । उद्यमशीलतासँगै आर्थिक कृयाकलापमा जोडिनका लागि उहाँलाई दवाव आएपछि १ लाख ऋण लिनुभयो ।

तर, त्यो ऋणले उहाँको मन बेचैन बनेको छ । लाख रुपैयाँको ऋणको चंगुलमा फसेपछि उहाँका कठिन दिन शुरु भएका छन् । जसले गर्दा उहाँलाई हिजोआज कहाँ गएर न्याय पाईएला भन्ने भएको छ । मंगलबार लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले घोराहीमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी उहाँले जिल्ला प्रशासन अगाडि न्यायको याचना गर्नुभयो । ‘इन्साफ दिने कार्यालय अगाडि आएर आफुहरुले पाएको पीडा पोख्दै न्याय दिलाई दिन बिन्ति गर्दछु । लघुवित्तीय संस्थाले अनेक प्रलोभनमा पारेर जिउँदै मार्ने खेलमा लागेर आफुहरुलाई जिउँदैमार्ने खेलमा लागेका छन्’, उहाँले भन्नुभयो ‘विभिन्न आश्वासन देखाएर अहिले बाँच्नै नदिने गरी लघुवित्तीय संस्थाले यातना दिने काम गरिरहेको हुँदा गरिव निमुखाहरुको आवाज सुनिदिन अपिल गर्दछु ।’

लमही २ सोनपुरकी श्याम दुलारु चौधरीलाई हिजो आजका दिन निकै कठिन भएका छन् । पाँच कट्टा जग्गा धितो राखेर १० लाख ऋण स्वीकृति गराउनुभएकी उहाँलाई बैंकले २५ लाखको कागज गरेको रहेछ । आफुलाई पाँच लाख र छोरीलाई पाँच लाख दिएको बताउने उहाँलाई अरु पैसा कहाँ कसले चलायो भन्ने थाहा छैन । बैंकमा किस्ता र ब्याज जसो तसो तिर्ने गर्नुभएकी उहाँको ऋण लिएको १ वर्ष पुगेपछि नवीकरण गर्ने बेलमा बल्ल थाहा पाउनुभयो, बैंकमा २५ लाख ऋण भएको रहेछ भन्ने कुरा । बैंकमा चेक कसले काटेर कसरी पैसा निकालियो उहाँलाई थाहा छैन । ‘यति धेरै बेईमानी भएको छ, मैले नलिएको पैसाको पनि ऋण र ब्याज तिर्नुपरेको छ, म मर्नु न बाँच्नुको अवस्थामा पुगेको छु, नतिरु बैंकले जग्गा लिलाम गर्छु भन्छ, तिरु कहाँबाट ल्याएर तिर्ने हो यति धेरै रकम ?’ उहाँले भन्नुभयो ।

मिश्री चौधरीको कथा पनि उस्तै छ । माईक्रो फाईनान्समा एक वर्षअघि सात कट्ठा जग्गा धितोमा राखेर १३ लाख ऋण लिनुभएकी मिश्रीलाई त्यही फाईनान्सले अहिले मर्नु न बाँच्नु गराएको छ । ‘तीन कित्ता जग्गा छ । एक कित्ता छुटाई दिन अपिल गर्दा फाईनान्सले मानेन, उहाँले भन्नुभयो ‘मैले एउटा कित्ता जग्गा बेचेर ऋण तिर्ने अवस्थामा पुगेको छु, त्यो काम गर्छु भन्दा पनि मान्दैन, उल्टै जग्गा लिलाम हुन्छ भनेर मानसिक यातना दिने गरेको छ ।’ विरोध कार्यक्रममा जिल्लाका दश वटै पालिकाबाट हजारौँको संख्यामा लघुवित्तीय संस्था पीडितहरु सहभागी भएका थिए ।

६५ बढी लघुवित्तले संविधान विपरीत काम गरेको, बिना धितोको नाममा महिलालाई फसाउने काम गरेको, घरबार बिगार्ने, सामाजिक अपराध जन्माउने काममा लघुवित्तीय संस्गा नियोजित रुपमा लागेको आरोप लगाउनुभयो । ‘घरमै आएर अनेक थरी यातना दिने, परिवारमा मानसिक तनाव सिर्जना गर्ने मात्रै होईन, बालबालिकालाई पनि गम्भीर असर पर्ने गरी दुव्र्यवहार गर्ने गरेकाले आजित भएर हामी सडकमा आएका हौँ’, उहाँले भन्नुभयो, ‘अब यो आन्दोलन देशभर चल्छ र समाधान नभएसम्म पछि फर्कने अवस्था छैन, लघुवित्तले हामीलाई जुकाले रगत चुसेको जस्तै चुसेको चुस्यै गर्याे ।’ च्याउ उम्रे जसरी अनुमति दिएर जनता ठग्ने काम भएको हुँदा राज्य संचालनबाट नै जनता मार्ने काम भएको उनीहरुको भनाई छ । जनउत्थान, सिवाई संस्था, नेपाल महिला लघुवित्त जस्ता लघुवित्तीय संस्थाले अहिले आफुहरुलाई रुवाउने काम गरेको घोराही १६ की उषा धामीले बताउनुभयो ।

घोराही १५ की सितापति चौधरीले पैसाको लोभ देखाएर दल दलमा फसाउने काम भएको बताउनुभयो । अहिले चौतारी, आस्था, महादेव, मेरो माईक्रो फाईनान्स जस्ता संस्थाले घरबार मात्रै नभई व्यक्तिगत जीवन पनि तहस नहस पारेको उहाँको आरोप छ । विरोध कार्यक्रममा संघर्ष समितिका राष्ट्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक फत्तेबहादुर पुनले आन्दोलन थालेको मंगलबार एक वर्ष १३ दिन पुगेको बताउनुभयो । यो बीचमा धेरैले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताउँदै नागरिकलाई गरिखान दिने वातावरण बनाई दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले ऋण नतिर्ने भनेको होईन, तर नेपालको कानूनले तोकेको नियम कानुन अनुसार मात्रै तिर्ने भनेर आफुहरु सडकमा आएका हौँ । अहिले १५ देखि २२ प्रतिशतसम्म २३ हजार लघुवित्त संस्थाहरुको भविष्य आफुहरुले निक्र्यौल गर्ने गरी कडा आन्दोलनमा उत्रिन लागेका छौँ ।’

नेपालमा ५८ लाख लघुवित्तको सदस्य संख्या रहेकोमा २२ हजार सदस्यहरुले ऋण तिर्ने अवस्था भएपनि सडकमा आउनु पर्नै अवस्था नरहने बताउँदै उहाँले कमजोर आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरेर नियोजित रुपमा गरिएको गलत व्यवहारले नागरिक मर्ने खेल भएको बताउनुभयो । ‘जनताको भलो हुने काम गरेको भए आज यो अवस्था बन्ने थिएन होला’, उहाँले भन्नुभयो ‘हामीलाई सडकमा ल्याउन बाध्य पार्ने नै लघुवित्त हो । उसैले अनेक प्रलोभन देखाएर अन्तिममा घासबास पनि उठीबास लगाउने अवस्थामा पुगेको छ ।’

उहाँले जिल्ला प्रशासन कार्यालय अघि आयोजित कोण सभामा फागुन १७ देखि २५ गतेसम्म देशभर हरेक वडासम्मका जनप्रतिनिधिसँग, राजनीतिक दललगायतसँग लघुवित्तीय संस्थाले गर्दा भएको समस्याका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताउनुभयो । त्यसपछि देशभरबाट २९ गते काठमाडौ जाने र ३० गते राष्ट्रिय स्तरको विरोध कार्यक्रम गरे आगामी थप आन्दोलनका घोषणा गरिने बताउनुभयो । आफुहरुको आन्दोलन सामाजिक न्यायका लागि भएको हुँदा यसमा केही राजनीतिक दलले आफुहरुको मुद्धा उठान गरेर अल्मल्याउने काम गरिरहेको हुँदा पीडितहरुलाई सहज रहन निर्देशन पनि दिनुभयो ।

यसैबीच, लघु वित्तीय संस्थाहरुको ज्यादति विरुद्धमा सडक संघर्षमा उत्रिएकाहरुले नेपाल सरकारसँग पाँच बुँदे माग राख्दै आएका छन् । उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न, लघुवित्तीय संस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाहा गर्न, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकासमा ध्यान दिन माग गरेका छन् । विरोध कार्यक्रममा संघर्ष समितिका केन्द्रीय सदस्य कृष्णबहादुर सुनार, सामाजिक अभियन्ता पुनिसरा रोका मगर, पीडित देवराज चौधरीलगायतले पनि बोल्नुभएको थियो । संघर्ष समितिकी जिल्ला अध्यक्ष दुर्गा बिकको अध्यक्षता भएको कोण सभाको सञ्चालन लुम्बिनी प्रदेश सचिव सीताराम यादवले गर्नुभएको थियो ।

राप्ती इञ्जिनियरिङमा विज्ञान कलेजका बीच हाजिरी जवाफ

राप्ती पोष्ट

घोराही, फागुन । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा मंगलबार भएको जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगितामा रोजि बड्स बाल बाटिकाले प्रथम स्थान हासिल गरेको छ ।

दाङ जिल्लामा रहेका प्लस टु साइन्स अन्र्तगत ११ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा रोजी बड्सका छात्र छात्राहरुको टिम प्रथम भएको थियो । जसमा कमल पन्थी, सविता सुनाम र सुदिप पौडेलले सहभागिता जनाउनुभएको थियो ।

यसैगरी प्रतियोगितामा घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना विद्यालयका तर्फबाट तारा श्रेष्ठ, खुम बहादुर बस्नेत र चुमान महराले दोस्रो स्थान हासिल गर्नुभएको थियो । यसैगरी दाङभ्याली सेकेन्डरी स्कुल घोराही दाङले तेस्रो स्थान हासिल गरेको थियो । जसमा प्रयूष पौडेल, मोहन सुवेदी र सुनिता विश्वकर्माको सहभागिता थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद १५ हजार, दोस्रो हुने टिमलाई १०हजार र तेस्रो स्थान हासिल गरेको टिमलाई नगद पाँच हजार प्रदान गरिएको थियो ।

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड घोराही दाङका प्रमुख रामलाल खड्काको उपस्थिति थियो । कार्यक्रममा बोल्दै परीक्षा बोर्डका प्रमुख खड्काले सरकारी स्तरका विद्यालयहरु निजी स्तरका विद्यालय भन्दा कमजोर नरहेको बताउनुभयो । उहाँले यस्ता खालका प्रतियोगिताले विद्यार्थीहरुलाई पढ्नुपर्छ भन्ने बोध हुने बताउनुभयो ।

राप्ती इञ्जिनियरिङ कलेजले प्राविधिक विषयमा शिक्षण गरिरहेको भएपनि विज्ञान विषयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्नु सकारात्मक भएको धारणा खड्काले राख्नुभयो । कार्यक्रममा बोल्दै पद्मोदय पव्लिक नमूना माविका प्राचार्य रामप्रसाद जैसीले दाङ जिल्लाभरी छरिएर रहेका विज्ञान विषयमा कक्षा संचालन गरिरहेकाहरुलाई मात्रै समेट्ने कार्य अनुकरणिय रहेकोब ताउनुभयो । उहाँले आयोजक राप्ती इञ्जिनियरिङ कलेजले राम्रो काम गरेको भन्दै आगामी दिनम ापनि यस्ता रचनात्मक काम गर्न सुझाव दिनुभयो ।

 

दुधको परिक्षण गर्दा पानीको मात्रा बढी देखिएपछि

छबि पुरी/राप्ती पोष्ट

घोराही, फागुन । देउखुरीबाट संकलन गरी दाङको घोराही बजारमा बिक्री हुने दूधमा गुणस्तरको मात्र कम भएको फेला परेको छ । घोराही उपमहानगरपालिका उपभोक्ताहीत संरक्षण शाखाको आयोजनामा सोमबार गरिएको अनुगमन परिक्षणमा दुघको गुणस्तर कम भएको फेला परेको हो ।

राजपुर गाउँपालिका वडा नम्बर–३ भैँसहवाका आशाराम यादव, लक्ष्मण साह, रामकेदार तेलीले स्थापना गर्नुभएको बगारबाबा दूध तथा डेरीले देउखुरीका विभिन्न स्थानबाट संकलन गरी ल्याएको दुध र कैलाश यादव, नारायण यादव, राजबहादुर यादव, सत्रुधन यादवले स्थापना गर्नुभएको सूर्य लक्ष्मी दूध संकलन केन्द्रको दुध सोमबार घोराहीमा गरिएको परिक्षणमा दुधमा पानीको मात्रा बढी फेला परेको हो ।

उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर पार्ने गरी मापदण्ड नपुगेको दुध बिक्रि गरेर खाद्य ऐन विपरित काम भएको भन्दै आगामी दिनमा पानी मिसावट रोक्न र प्लाष्टिकको बस्तु प्रयोग नगर्न सचेत गराईएको उपभोक्ताहीत संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार, उपभोक्ताहरुले गुनासो गरेपछि दुधको अवस्था बारेमा जानकारी लिन र गुणस्तर पहिचान गर्न गरिएको परिक्षणमा दुधमा अतिरिक्त पानी भएको फेला परेको हो । ‘हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरसँगको सहकार्यमा दुई वटै गाडीमा ल्याईएको दुधको परिक्षण गर्दा दुधमा पानीको मिसावट बढी भएको फेला परेको छ’, उहाँले भन्नुभयो, ‘दुधमा पानीको मात्रा हुनु स्वाभाविक हो तर, अतिरिक्त पानी हालेर ल्याउने गरेको पाईएको छ, यस बारेमा सचेत गराएका छौँ ।’

सरकारले तोकेको मापदण्ड नपुगेको हुँदा दुधमा पानी मिसावट भएको पुष्टि भएको उहाँले जानकारी दिनुभयो । ‘पहिलो पटकलाई भनेर सुझावसहित गुणस्तर सुधारगर्न भनेका छौँ’, उहाँले भन्नुभयो, ‘दुध संकलन गर्दा समस्या भएको हो या आफुबाटै कमजोरी भएको हो भन्ने बारे स्पष्ट हुँदै उपभोक्तालाई मापदण्ड अनुसारको दुध सेवन गर्ने अधिकार उपलब्ध गराउन भनेका छौँ, आगामी दिनमा यो सच्चिने विश्वास छ ।’

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, दुध तथा डेरी व्यवसायीलगायतको प्रतिनिधि टोलीले अनुगमन गरी दुधको गुणस्तर मापन गर्दा एसएनएफका मात्रा ८ हुनुपर्नेमा उक्त दुधमा ६ दशमलव २ देखि ६ दशमलव ५ सम्म मात्रै फेला परेको शाखा प्रमुख अधिकारीले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक राजेश चौधरीका अनुसार दुधमा पानीको मिसावट बढी नै छ भन्न सकिने आधार परिक्षणबाट नै स्पष्ट भएको छ । यस प्रकारको मिसावटले उपभोक्ताहरुले आफुले गरेको लगानी अनुसार गुणस्तरीय बस्तु उपभोग गर्नबाट बन्चित हुने उहाँको भनाई छ ।

घोराही दुध तथा डेरी व्यवसायी समितिका अध्यक्ष ईश्वरी प्रसाद घिमिरेले पनि गुणस्तर कम भएको दुध उपभोक्तालाई बिक्रि गरेर डेरी व्यवसायीमाथि प्रश्न उठाउने काम भएको बताउनुभयो । ‘हामीले बिक्रि गर्ने दुधमा गुणस्तर होस् भन्ने अपेक्षा गरेका हुन्छौँ, किनभने उपभोक्ताले हामीलाई विश्वास गरेर खरीद गर्छ’ उहाँले भन्नुभयो, ‘श्रोतबाट आउँदा नै मिसावट गरेर ल्याई दियो भने उपभोक्ता अधिकारमाथि अन्याय भएको ठहर्छ, यसो गरिनु हुदैन ।’

यसैबीच, घोराही उपमहानगरपालिकाले प्लाष्टिकका भाँडामा दुध बोक्न निषेध गरेपनि अझै प्लाष्टिकका भाँडा, जर्किनमा दुध बोक्ने गरेको पाईएको छ । प्लास्टिकका भाडामा दूध नबोक्न पालिकाले निर्णय गरी कार्यान्वयनमा ल्याएको हुँदा कुनै पनि दुध उत्पादक किसान या बिक्रेताले उपरान्त यस प्रकारका कार्य नगर्न नगराउन पनि पालिकाले अपिल गरेको छ । आगामी दिनमा पनि पालिकाभित्रका दुध व्यवसायीहरुको दुधको अवस्था पहिचान गर्न छड्के अनुगमन गरिने शाखाले जनाएको छ ।
जिल्लामा बिक्रि हुने बस्तुहरुमा मिसावट हुने गरेको उपभोक्ताबाट बारम्बार गुनासो आउने गरेको छ । नियामक निकायले अनुगमन गरे जस्तो गरे पनि कारवाही प्रकृया फितलो हुँदा दोषी उम्किने गरेका छन् । जसले गर्दाउपभोक्ता सँधै मारमा पर्ने गरेका छन् ।

यसतर्फ स्थानीयसरकार, स्थानीय प्रशासन, सरोकार निकायले प्रभावकारी अनुगमनसँगै कानूनी कारवाही गर्न सक्नुपर्ने उपभोक्ताहरुको माग रहेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताले कुनै पनि बस्तुको सही उपभोग गर्न पाउनुपर्नेमा त्यसो हुन निकै चुनौति हुने गरेको उपभोक्ता अधिकारकर्मीहरुको धारणा छ ।