spot_img
Home Blog Page 40

आजबाट शैक्षिक सत्र सुरु

पाठ्य पुस्तक केही सहज तर अपर्याप्त

छबि पुरी/राप्ती पोष्ट

घोराही, बैशाख । यो वर्षको शैक्षिक सत्र आजबाट शुरु हुँदैछ । विद्यार्थी भर्ना अभियानदेखि विद्यार्थीहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तकको जोहो गर्नुपर्ने बेला भएपछि पुस्तक व्यवसायीलाई पुस्तकको व्यवस्थापन गर्न गर्न भ्याई नभ्याई छ । अभिभावक र विद्यार्थीलाई भने पुस्तक पाईने हो वा होईन भन्ने पिरलो भएको छ । विगत वर्षमा विद्यार्थीले पढाई शुरु भएको लामो समयसम्मपनि पुस्तक पाउन सकेका थिएनन् ।

संस्थागत विद्यालयको पुस्तक केही सहज भएपनि सामुदायिक विद्यालयका विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । जसले गर्दा सर्बत्र आलोचना भएको थियो । यो वर्ष पनि विद्यार्थीको हालत विगत जस्तै हुने पो होकी भन्ने चिन्तामा रहेका विद्यार्थी तथा अभिभावकहरुका लागि केही राहत हुने भएको छ । हालसम्मको अवस्था अनुसार दाङमा सामुदायिक विद्यालयका लागि तल्लो कक्षाबाट पुस्तक आउन सुरु गरेको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि चाहिने पुस्तक चैत अन्तिमबाट जिल्ला आउन शुरु गरेको दाङ देउखुरी पुस्तक तथा स्टेशनरी व्यवसायी समितिले जनाएको छ । समिति अध्यक्ष शंकर शर्माका अनुसार, बैशाख ३ गते आजबाट यो वर्षको शैक्षिक सत्र शुरु हुन लागेका बेलामा कक्षा १ देखि ५ सम्मका लागि केही विषय बाहेक अधिकांश पुस्तक जिल्लामा आई पुगेको छ ।

जिल्लाका सबै सामुदायिक विद्यालयहरुका लागि तुलसीपुरमा डाँगी स्टेशनरी डिपोबाट, घोराही क्षेत्रमा हिमाल बुक्स एण्ड स्टेशनरी डिपोबाट, नारायणपुर क्षेत्रमा प्रतिभा पुस्तक नारायणपुर डिपोबाट र लमही क्षेत्रमा छायाँछवि पुस्तक डिपोबाट पुस्तक बिक्रि भईरहेको छ । पुस्तक व्यवसायीका अनुसार कक्षा ५ सम्मका विद्यार्थीका लागि करीव ५० प्रतिशत पुस्तक जिल्लामा आईपुगेको छ ।

जिल्ला अध्यक्ष शर्माका अनुसार, कक्षा ४ र ५ को पुरै सेट किताव जिल्लामा आई पुगेको भएपनि कक्षा १ को ४ वटा पुस्तक पुस्तकमध्ये अंग्रेजी आएको छैन । कक्षा २ को ४ पुस्तकमध्ये सेरोफेरो पुस्तक आई पुगेको छैन । यसैगरी, कक्षा ३ को ४ किताब मध्ये हालसम्म गणित र सामाजिक विषयको पुस्तक आईपुगेको छैन । कक्षा ६ देखि १० सम्मको पुस्तक पनि अझै जिल्लामा आई पुगेको छैन । पुस्तक व्यवसायी समितिका अनुसार, कक्षा ६ देखि १० सम्मका लागि आज आईतबार नेपालगंजबाट जिल्लाका लागि पुस्तक आउने भएको छ । ‘कक्षा ६, ७, ८, ९ र १० को आज आईतबार किताब आउने भएको छ ।’ जिल्ला अध्यक्ष शर्माले भन्नुभयो,– ‘कोटा प्रणालीका आधारमा पुस्तक वितरण हुने गरेको छ । पहिले पहाडी क्षेत्रमा पुस्तक पठाईएको छ, अब सुगम जिल्लामा पुस्तक पठाउने तयारी अनुसार दाङको पालो आएको हो । जिल्लामा विगत वर्षमा भन्दा यो पटक केही सहज रुपमा पुस्तक पाईन्ट की भन्ने अपेक्षा हो तर अझै भन्न सकिने अवस्था छैन ।’

पुस्तक आलोपालो प्रणालीमा वितरण गर्नुपर्ने अवस्था रहेकाले एकै पटक सहज रुपमा पुस्तक पठाउन समस्या रहेको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयका लागि जनक शिक्षा तथा सामग्री केन्द्रले पुस्तक प्रकाशन गर्ने हुँदा सबै कक्षाको पुस्तक छपाईमा पनि ढिलाई भएको पुस्तक व्यवासायीको भनाई छ । हिमाल बुक्स एण्ड स्टेशनरी घोराहीका संचालक प्रेम डाँगीले यो वर्ष कक्षा ५, ८ र १० को ऐच्छिक विषय बाहेक सबै पुस्तकको पाठ्यक्रम परिवर्तन भएपछि नयाँ पुस्तक आउन ढिलाई हुने भएको बताउनुभयो । ‘पाठ्यक्रम नै परिवर्तन भएको बेलामा समय मै पुस्तक छपाई गर्नुपर्ने भएपनि अहिलेसम्म पुस्तक छपाई नहुनुले समयमा विद्यार्थीको हातमा पुस्तक पुग्नेमा यो वर्ष पनि शंका छ’, उहाँले भन्नुभयो ‘प्रकाशन गृहमा बुझ्दा छपाईका लागि समय लाग्ने जवाफ आउने गरेको छ ।’

यसैगरी, सामुदायिक विद्यालयको अंग्रेजी माध्यमका पुस्तक यो वर्ष आउने सम्भवना न्यून छ । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छपाईको काम गर्ने हुँदा यो पटक निश्चित नभएको पुस्तक व्यवसायीको भनाई छ । ‘पाठ्यक्रम विकास केन्द्रले समयमै पाठ्यपुस्तकको अवस्था तयार नपारिदिदा केन्द्रले किताब छापेको छैन’ पुस्तक व्यवसायी डाँगीले भन्नुभयो ‘भदौसम्म हो भने काम होला नभए यो पटक सम्भव छैन भन्ने कुरा आएको छ । यो भनेको पुस्तक छपाई नहुने संकेत हो ।’

सामुदायिक विद्यालयमा अंग्रेजी, सामाजिक र नेपाली साविककै लागू हुने भएपनि अंग्रेजी माध्यमको कन्भरसेसन कितावहरु ५ देखि १० कक्षासम्मको अवस्थाका बारेमा जनक शिक्षा सामग्रीले चासो लिएको छैन । जिल्लामा सबै विद्यालयको संख्या ६ सय ३० बढी रहेको तथ्यांक छ । संस्थागत विद्यालयहरुका लागि पनि विभिन्न प्रकाशनका पुस्तक बजारमा आईपुगेको बताईएको छ । यद्यपि, संस्थागत विद्यालयहरुले कुन प्रकाशनको पुस्तक यो वर्ष लगाउने भन्ने टुंगो लगाई नसकेकाले पुस्तक बिक्रि हुन नसकेको बताईएको छ । आजबाट जिल्लामा शैक्षिक सत्र शुरु हुन लागेकाले यसको पनि टुंगो लाग्ने पुस्तक व्यवसायीको भनाई छ ।

कसरी टाँट पल्टदैछन सहकारीहरु

सूर्य सहकारीको ठगी धन्दा, सयौँ वचतकर्ताको लाखौँ रकम डुब्दै

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत । मंगलबार दिउँसो तीन जना महिला जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रवक्ताका सामुन्ने अनुनय विनय गर्दै भन्नुभयो, ‘सर ! हामी त साह्रै पीडित भयौं, उता, ग्राहक सेवाग्राहीको गुनासोको चाङ छ, यता, सहकारी संचालकले हामीलाई अप्ठ्यारोमा पारेका छन । लौ न सर, केही उपाय निकालि दिनुपर्यो ।’

घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सूर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत महिला कर्मचारीहरुको अनुरोधको जवाफ दिँदै प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले भन्नुभयो, यो विषयमा धेरैबाट उजुरी परेको छ । संचालकसहित अरु सम्वद्धलाई खोजी कार्य जारी छ । चाँडै सम्पर्कमा ल्याउँछौँ । लगत्तै सहकारीका कर्मचारीले भन्नुभयो, ‘आज फोन लागिरहेको छ, हामीले गर्दा उठेकोछैन, हजुरले कल ट्रकिङ गरेर भएपनि सम्पर्कमा ल्र्याइ दिनुपर्यो, हामी त समाजमा मुख देखाउन नसक्ने भईसक्यौं ।’

सूर्य वचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीबाट संकलित रकम दुरुपयोग गरेको पाईएको छ । सानो सानो रकमबाट वचत गरेका वचतकर्ताहरुको रकम सहकारीले अपचलन गरिदिएपनि उनीहरु पीडामा छन् । घोराही –१६ मुक्त कमैया टोलमा बस्दै आउनुभएकी वर्षा पुनले सहकारीका कर्मचारी आफै आएर वचत गर्न लगाएपछि गरेको वचत रकम पाउन सक्नुभएको छैन । उहाँले शुरुमा वचत गरेको पैसा निकाल्न जाँदा पाउनु हुन्थ्यो तर अहिले पाउनुभएको छैन । उहाँले भन्नुभयो ‘सहकारीका कर्मचारी आफै आएर वचत गर्न लगाए, वचत गर्न लागेको पनि ३ वर्ष भएको थियो, मेरो खातामा मात्रै ४० हजार वचत छ । सकी नसकी, खर्च कटाएर दैनिक रुपमा वचत गरेको थिएँ, तर आज पैसा पाउने छाँटकाँट छैन ।’
सहकारीका बारेमा बजारमा नराम्रो कुराको गाइँगुइँ सुनेपछि झस्किनुभएकी अनिता चौधरीले दुई वटा पास बुकबाट रकम दैनिक जम्मा गर्दा ७० हजार डुब्ने चिन्तामा हुनुहुन्छ । आफ्नै पैसा त हो, कसले बेइमान गर्ला र भनेर हिनामिनाको हल्ला सुनेर पनि ३ महिनासम्म वचत गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, गत भदौदेखि सहकारीको कार्यालयमा धाउँदा पनि वचत रकम प्राप्त भएको छैन । ‘रकम फिर्ता गर्छु भनेर पटक पटक भाका सारेको छ, तर अहिले अध्यक्ष नै सम्पर्कमा छैन’, उहाँले भन्नुभयो, ‘एक पटक भेट भएको बेला सहकारी संचालनले नारायण बस्नेत हो, यो मेरो घर हो मैले तलमाथि गर्दिन भने । मैले पनि होला त भन्ने लाग्यो तर आज सबै रकम डुब्ने अवस्थामा पुगेको छ ।’

सूर्य सहकारीमा वचत गरेका धेरैले जिल्ला प्रहरीका कार्यालयमा उजुरी दिएका छन् । पक्राउ पुर्जी जारी नहुँदासम्म केही गर्न नस्कने भनेपछि काम भएन । ‘प्रशासनमा पनि निवेदन लेखाएर दिँदा ठाडो उजुरी भनेर पन्छाईयो’ अनिताले भन्नुभयो ‘माघ २२ मा सहकारीमा गएर पैसा निकाल्न खोज्दा काम नभएपछि घटना बारे प्रशासनमा पुगेर जानकारी गराएको हुँ । आजसम्म केही हुन सकेको छैन ।’ उजुरी गर्न जाँदा सहकारीका कर्मचारीले उल्टै डर देखाउने र वचत भएको पैसा त परैको कुरा क्षतिपूर्ति भर्नुपर्ने कुरा पनि सुनाएको उहाँको भनाई छ । बालकिसुन चौधरीले दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसा थोरै थोरै भएपनि वचत गर्दै आएकोमा अहिले प्रसा नै नपाउने अवस्था आएको भन्दै निराश हुनुभएको छ । उहाँले ४ वर्षदेखि गरेको वचत ७१ हजार भईसकेको पास बुकमा देखिन्छ ।

जिल्लामा संचालनमा रहेका केही सहकारीहरु डुब्ने अवस्थामा पुगेका छन् । सहकारीको नीति सिद्धान्त विपरित काम गर्दा सहकारी संस्थाहरुको अवस्था दयनीय बनेको हो । प्रहरी नायव उपरीक्षक गौतमले सूर्य वचत सहकारीको पहिलेको अध्यक्ष सन्जीव पछाई र हालको अध्यक्ष नारायण बस्नेतले आर्थिक अपचलन गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार, पछाईले काटेको चेक थुप्रै सटही नभएको भेटिएको छ भने हालका अध्यक्ष बस्नेतले काटेको चेकको अवस्था पनि उस्तै छ ।
उहाँले भन्नुभयो, ‘कतिपय चेक व्यक्तिकै नाममा बाउन्स छ भने धेरै जसो चेक संस्थाको नाममा बाउन्स भएको छ । यी सबै अवस्था आउनुमा तिनै संचालकको दोष देखिन्छ ।’ पीडितका अनुसार, सूर्य सहकारीबाट लाखौँ रकम हिनामिना भएको छ । सो सहकारीमा कार्यरत कर्मचारीहरुले आफुहरुले पनि लामो समयदेखि तलब नपाएको बताएका छन् । उनीहरुले आफुलाई तलब सुविधा केही नचाहिने बताउँदै सेवाग्राहीको पैसा फिर्ता गरिदिए आफुहरुलाई पुग्ने बताउने गरेका छन् । एक कर्मचारीले भन्नुभयो, ‘हामीलाई बजार निस्कनपनि समस्या भएको छ । मास्क लगाएर हिड्दा पनि चिन्छन्, अनि उही गुनासो र पीडा पोख्छन्, आफुसँग कुनै जवाफ हुँदैन । शुरुमा हामीले नै ग्राहक बनाएका हौँ, उनीहरुले हामीलाई पनि अप्ठ्यारोमा पार्ने काम भएको छ ।’

उक्त सहकारीमा पहिले एक हजार चार सय वचतकर्ता थिए । अहिले आठ सयको हाराहारीमा रहेका छन् । सहकारीको अवस्था राम्रो नभएको थाहा पाएकाहरुले समयमै वचत रकम निकासा गरेपनि अरु सोझा वचतकर्ताहरु विश्वास गरेर बस्दा मारमा परेका छन् । उता, जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले जिल्लामा रहेका सहकारी संस्थाहरुलाई पैरवी गर्ने र सचेत गराउने बाहेक अरु काम गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

जिल्ला सहकारी संघका कार्यसमिति सदस्य खुसलराम शर्माले पीडित आएमा समन्वय गराउने प्रयास गर्ने गरेको बताउँदै कुनै उपाय नलागेमा कानुनी बाटो रोज्न अपिल गर्ने गरेको बताउनुभयो । उहाँले जिल्लामा केही सहकारी ठीक ढंगले चल्न नसक्दा गुनासो बढेको बताउनुभयो । ‘सबै सहकारीमा जान सकिएको छैन, जिल्लाभरको यथार्थ अवस्था पहिचान गर्न नसकिएको हुँदा नयाँ कार्य समितिले कार्य विभाजन गरेर अध्ययन अनुगमन गर्ने तयारी भएको छ’ उहाँले भन्नुभयो ‘सहकारी संचालक, व्यवस्थापकहरुले सहकारीको नीति सिद्धान्त अध्ययन गर्ने, सोही अनुसार काम गर्नुपर्ने हो तर यसो नगर्दा आफु डुब्ने र सेवाग्राहीलाई पनि डुबाउने खेल भएको छ ।’

व्यवस्थापकीय पक्ष कमजोर, विधान अनुसार नचल्ने, व्यक्तिगत विचार र कार्ययोजना, आर्थिक पाटो पारदर्शी नहुनु, उद्देश्य विपरित लगानी गर्नु जस्ता कारणले पछिल्लो समय सहकारी संस्थाहरुमा विचलत आएको घोराही उपमहानगरपालिका सहकारी शाखा प्रवद्र्धन शाखा प्रमुृख प्रेम केसीले बताउनुभयो । उहाँले सहकारीका फिल्डमा हिड्ने कर्मचारी, लेखा हेर्ने कर्मचारी, कार्य समिति, ऋण समितिबाट कमजोरी हुने गरेको बताउनुभयो । उहाँले हरेक कुरामा चेक एण्ड ब्यालेन्स हुनुपर्ने बताउनुभयो । घोराहीमा मात्रै दुई सय १४ वटा सहकारी संस्था रहेका छन् । जसमध्ये पालिकामा एक सय ८९ मात्रै दर्ता भएका छन् । जिल्लामा हाल छ सय ३० सहकारी संस्थाहरु मध्ये संघमा एक सय ५३ बचत तथा ऋण, एक सय ८९ कृषि, १३ उपभोक्ता, २७ बहुद्देश्यीय, पाँचवटा बिद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८, विषयगत संघ चार गरी चार सय २२ सहकारी संघ÷संस्थाहरु आबद्ध छन् ।

पछिल्लो समय सहकारी विभागमा पनि उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । जिल्लामा आधा दर्जन बढी सहकारी संस्थाहरु डुबेका र केही डुब्ने अवस्थामा पुगेका छन् । जसमा हजारौँ वचतकर्ताको लाखौँ रकम जोखिममा परेको छ ।

घरनक्सा बनाउने बहानामा पैसा असुलेर ठगी

छबि पुरी /राप्ती पोष्ट

घोराही,  चैत । उपमहानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवनहरूको नक्सापास अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न गर्नेबारे घोराही उपमहानगरले गत फागुन २८ गते सूचना जारी गर्यो । सूचनामा घोराही उपमहानगरपालिकामा समावेश भएका साविकका गाउँ विकास समिति तथा नगरपालिकामा घर नक्सा पास प्रावधान नभएको तत्कालिन अवस्थामा निर्माण भएका तथा सो भन्दापछि सम्पूर्ण घोराही उपमहानगरपालिकाभित्र नक्सा पास नगरी वा स्वीकृत नक्सा भन्दा फरक रुपमा निर्माण भएका भवनहरुको घर नक्सा अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न दिइ करको दायरामा ल्याउन पालिकाको नगर सभाबाट घोराही उपमहानगरपालिकाको भवन निर्माण अनुमति तथा इजाजत सम्बन्धी कार्यविधि, २०७५ संसोधन भइ नक्सा पास नगरी वा स्वीकृत नक्सा भन्दा फरक रुपमा निर्माण भएका भवनहरुको घर नक्सा अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न दिने व्यवस्था गरे बमोजिम निर्माण भएका घरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ९० दिन अर्थात आगामी जेठ २६ गतेसम्म कागजातसहित दरखास्त दिई असार मसान्तसम्म प्रमाणपत्र लिइसक्न अनुरोध गर्यो ।
सोही सूचनालाई आधार बनाएर पालिकामा केही कन्सल्टेन्सीले पालिका र वडासँगको समन्वय बिनानै घरघरमा पुगेर आफु पालिकाले खटाएको व्यक्ति भन्दै सस्तोमा घरनक्सा बनाई दिने र पास गर्न सहजीकरण गरिदिने प्रलोभन दिएर पैसा उठाएको पाईएको छ । एक समुहले सुचनाको गलत प्रयोग गर्दै गाउँगाउँमा आफ्ना कर्मचारी खटाएर घर नक्सा बनाउनुभएको छ की छैन ? बनाउनुभएको छैन भने हामी पालिकामा गएर बनाउने खर्चभन्दा यही सस्तोमा काम गरिदिन्छौँ भन्दै पचास हजार रुपैयाँसम्मको बार्गेनिङ गर्ने गरेको तथ्य बाहिरिएको छ । घोराही ३ भानपुरका कृष्ण चौधरीलाई आफुहरु घोराही उपमहानगरपालिकाबाट खटिएर आएको कर्मचारी भन्दै अफरका रुपमा सस्तोमा घरनक्सा बनाई दिने लोभ देखाएर केही पैसा समेत लिएका छन् । पुष्पा दमाई, शान्तराम चौधरीको अवस्था पनि कृष्ण चौधरीको जस्तै छ । शुरुमा घरमा आएर सस्तोमा घरनक्सा बनाएर पास गराई दिने आश्वासन पाएपछि काम गराउन आफुहरु तयार भएको उनीहरुको भनाई छ ।

‘पालिकाले खटाएको होकी होईन भन्ने ध्यान दिएनौँ, काम राम्रैका लागि हुन लागेको होला भन्ने लाग्यो विश्वास गरेर पैसा पनि दियौँ’, अग्रिम पैसा दिएका एक स्थानीयले भन्नुभयो, ‘हामीले घोराही उपमहानगरपालिकाले नै खटाएका कर्मचारी होलान् भनेर विश्वास गरेका हौँ तर कुरा अर्कै पो रहेछ ।’ घोराही १८ की सपना सुनारलाई आफुहरु पालिकाबाट खटाईएको कर्मचारी भन्दै घरनक्सा बनाई दिने आश्वासन लिएर केही व्यक्ति घरमै पुगे । आफुले नक्सा पास गर्न पाईने भयो, काम सजिलै सेवा पाईने भयो भन्दै उत्साहित हुनुभएकी सपनालाई पनि पालिकाले नै खटाएका कर्मचारी होलान् भन्ने लाग्यो । पछि नक्सापास गर्न धेरै पैसा लाग्ने तर आफुहरुले सस्तोमा काम गरिदिने बताएपछि आफन्तीसँग सल्लाह लिँदा उनीहरु पालिकाले खटाएको व्यक्ति नभएको चाल पाएपछि प्रहरीलाई खबर गर्नुभयो । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले ३ जना महिलालाई आईतबार नियन्त्रणमा लियो । उनीहरुको साथबाट केही प्रमाण पनि बरामद भएको छ । रजिष्टरमा ५५ हजार रुपैयाँ लिईसकेको देखिन्छ ।

खोज अनुसन्धान गर्दै जाँदा उनीहरुले कुन कन्सल्टेन्सीका लागि काम गर्दै थिए भन्ने बताउन सकेनन् । आफुलाई काममा लगाउने व्यक्तिको बारेमा नियन्त्रणमा परेका महिलाहरुले प्रहरीलाई जानकारी गराए । घोराही उपमहानगरपालिकालाई घटनाको बारेमा जानकारी गराएपछि कन्सल्टेन्सीका बारेमा यकिन अवस्था खुल्न सकेन । तर, फिल्डमा खटाउनेको बारेमा सोधखोज गर्दै जाँदा प्यूठानका अर्जुन बस्नेतले खटाएको भन्ने पत्ता लाग्यो । अर्जुनले घोराही उपमहानगरपालिकाबाट आकाभ ईन्जिनियरिङ कन्सल्टेन्सीका नाममा २०७६ मंसीर १७ गते व्यापार व्यवसायको इजाजत लिएको देखिएको छ । जसमा सिभिल इन्जिनियरिङ, निर्माण कार्य, सम्भाव्यता अध्ययन आदिको इजाजत दिईएको पत्रमा राजश्व शाखा प्रमुख कृष्णकुमार केसीले दस्तखत गरेर जारी गर्नुभएको छ ।

भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा, पूर्वाधार विकास महाशाखाका अनुसार कुनै पनि कन्सल्टेन्सीलाई पालिकाको वडा वडामा खटाउने काम भएको छैन । तर, अर्जुन बस्नेतले २०७६ मा लिएको इजाजतका आधारमा नवीकरण नगरी आफु खुशी बिना प्रमाणका जनशक्तिलाई फिल्डमा खटाएको पाईएको हो । पूर्वाधार महाशाखाका प्रमुख युवराज पौडेलले २०७६ जेठ ५ देखि २०७६ असोज ५ सम्म अभिलेखीकरणको काम भएपनि त्यसयता नभएको बताउनुभयो ।
‘जनगुनासो आएपनि अवस्था बुझ्दा समस्या रहेको पाईएको उहाँको भनाई छ । पालिकाले कोही कसैलाई खटाएर काम गर्नुस् भनेको छैन, होईन’, उहाँले भन्नुभयो, ‘के कति कारणले गाउँगाउँमा गएर पालिकामा गएर काम गर्ने हो भने महंगो शुल्क लाग्छ, हामी घरमै आएर सस्तोमा घरनक्साको काम गर्छौँ भन्दै काम गर्न थालेछन्, पालिकाको सूचनालाई गलत व्याख्या गरियो । यसोगरिनु हुँदैन ।’

जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार, अर्जुन बस्नेतले पालिकामा यसरी काम गर्न पाउने वा नपाउने भन्ने बारेमा सोधखोज भईरहेको छ । ‘फिल्डमा खटिएकाहरुले आफुहरु पालिकाले खटाएको कर्मचारी भनेकाले यसको आधारसहितको राय माग गरेका छौँ, कागजले सबै कुरा बोल्दैन’, उहाँले भन्नुभयो ‘फिल्डमा नियम संगत काम गरेको जस्तो देखिएको छैन, सही रुपमा काम गरेको भए गुनासो आउने थिएन, ३ जनालाई नियन्त्रणमा लिनुपर्ने पनि थिएन ।’ सबै धारणासहितको राय मागेको हुँदा आज मंगलबार सबै पक्षलाई कार्यालयमा बोलाईएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले नागरिकले आफ्नो भौतिक सम्पत्तिको प्रयोग गर्न संस्थागत काममा समस्या भएको गुनासो गरेपछि टेबल दस्तुर लिएर भएपनि घर अभिलेखीकरण गर्न खोज्ला गलत सूचना प्रवाह गरेर काम भएको बताउनुभयो । ‘पालिकामा कति घर छन् । कस्ता घर छन् भनेर हामीले यो अभियान चलाएको हो’, उहाँले भन्नुभयो ‘राम्रो काम गर्न खोज्दा गाउँ गाउँ टोलटोलमा पुगेर सूचनाको गलत व्याख्या गरेर सस्तोमा घरनक्सा बनाई दिन्छु भन्दै भ्रम फैलाएर पैसा असुल्ने काम गर्न थालिएछ, यो तरीका गलत हो ।’

उहाँका अनुसार, इजाजत जारी भएयता उक्त कन्सल्टेन्सीले व्यवसाय नवीकरण पनि गरेको छैन । हामीलाई थाहा छैन । ५० हजारसम्म मागे भन्ने गुनासो आएको उहाँले बताउनुभयो । अब समस्या नहोस् भन्नका लागि वडालाई सचेत गराउने काम भएको उहाँको भनाई छ । हरेक काम वडाको सिफारिस बिना नहुने भएपनि गिरोह लगाएर गलत काम गर्न थालेपछि पालिकाले यसबारेमा चासो लिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।

उता, आकाभ कन्सल्टेन्सीका संचालक अर्जुन बस्नेतले आफुले इजाजत लिएर काम गरेको दावी गर्नुभएको छ । कुनै पनि कामका लागि इजाजत लिएपछि कोही कसैलाई जानकारी गराउनु आवश्यक नठानेर कर्मचारीलाई गाउँगाउँमा पठाएर काम थालनी गरेको बेलामा आफुलाई दोषी देखाएर अरु कन्सल्टेन्सीले फाईदा उठाउन खोजेको आरोप लगाउनुभयो । पालिकाले पनि ९० दिनको सूचना जारी गरेर बाँकी एक महिनामा घरनक्साको प्रमाण पत्र लिन भनेर भ्रम छरेको बताउँदै आफ्ना इन्जिनियर र कन्सल्टेन्सीलाई कमिशनको लोभमा काम दिन खोज्दा आफुले गरेको कामलाई अवैध देखाउन यस्तो गरिएकोतर्क गर्नुभयो ।

‘कमिसनको जालो छ, यहाँ भित्रभित्रै इन्जिनियरहरु एक अर्कासँग मिलेका छन्, घोराहीमा ३५–४० वटा कन्सल्टेन्सी छ, घरनक्सा बनाउने काम हामीले नै गर्ने हो तर, कमिशनको चक्करमा कसले मोलमोलाई गर्न सक्छ भन्ने मात्रै हो’, उहाँले भन्नुभयो, ‘पालिकाको घर नक्साको काममा ५–६ वटा कन्सल्टेन्सीको सिण्डिकेट छ, उनीहरु अरुले काम पाओस् गरोस् भन्ने चाहन्नन् ।’ फागुन ८ गतेको सुचनापछि पालिकामा तीन सय ४८ जना अभिलेखिकरणका लागि दर्ता भएका छन् । साविक घोराही नगरपालिकामा रहेका घरहरुको दस्तुर तेब्बर छ भने पालिकामा गाभिन आएका पालिकाहरुको दस्तुर चलनचल्तीमा लिने गरेको छ । यसैगरी, घोराहीमा साउनदेखि हालसम्म दुई सय २० घरनक्सा पास भएको छ । अघिल्लो वर्ष तीन सय ९६ नक्सापास भएका थिए ।

सरकारको एक सय दिनको संकेत

सम्पादकीय

बर्तमान सरकारले एक सय दिन पुरा गरेको छ । सिंगो सरकारको एक सय दिन भन्ने हो भने नयाँ नयाँ मन्त्रिहरुलाई मर्का पर्दछ होला । बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको एक सय दिन भन्नु उपयुक्त हुन्छ । यो एक सय दिनमा के कस्ता काम भए भन्ने समिक्षा यतिवेला भइरहेको छ । सरकार गएको पुसको १० गतेका दिन बनेको थियो । सरकार बनेको एक सय दिन अर्थात करीव साढे तीन महिनाको अवधि हुँदा सात पटक सत्तामा मन्त्रिहरु हेरफेर गरिएको छ । कहिले थप गरिएको छ । कहिले घट गरिएको छ । सरकार परिवर्तन हुँदै जाँदा तीन महिनाको अवधिमा दुई पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । सरकारले पहिलो पटक विश्वासको मत लिंदा करिव सत प्रतिशत मत पाएको थियो । दोस्रो पटक आउँदा यो सरकारलाई करिव ६५ प्रतिशतको समर्थन रहेको छ । चर्चा परिचर्चा के पनि सुरु भएको छ भने अवको केही महिनामा सरकारले पुनः विश्वासको मत लिनुपर्नेछ । कारण सरकारलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लियो भने विश्वासको मत लिनुपर्ने हुन्छ । कतिसम्म भने केही दिन अघि कर्णाली प्रदेश सरकारलाई एकजनाले विश्वास छैन भनेर भन्दा पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो । संविधानमा सरकारप्रति विश्वास छैन अर्थात अविश्वासको प्रस्ताव ल्याउनका लागि दुई बर्ष कुर्नुपर्ने तर विश्वासको मत फिर्ता लिनका लागि जुनसुकै सयममा पनि गर्न सकिने व्यवस्था गरिएको छ । जसले गर्दा सरकार झन बढी अस्थिर हुने अवस्था देखिएको छ ।

कुनै पनि सरकारलाई विश्वासको मत दिएपछि दुई बर्षसम्म त्यो सरकार हटाउन पाइदैन । नेपालमा नैतिकताको कुनै मूल्य छैन । जसले गर्दा एक छिन अघि एउटालाई समर्थन गर्ने, केही समयपछि पुरानोलाई दिएको समर्थन फिर्ता गर्ने अवस्था आएको छ । सत्ताका लागि हुने अनेकन चलखेलहरुले गर्दा गणतन्त्र कमजोर हुँदै गएको छ । गणतन्त्र कुनै एउटा दलको जेवबाट आएको होइन । यो कसैले दया गरेर दिएको होइन । गणतन्त्र जनताको बलिदानीले आएको हो । तर प्रत्यक्ष र समानुपातिकबाट गएकाहरु आफ्नो इच्छाशक्तिबाट चल्दैनन् । सिंहदरबारमा हुने सत्ता समिकरणका आधारमा अनेत्र पनि त्यसको बाछिटा पर्ने गरेको छ । यतिवेला प्रधानमन्त्रीले सातपटक गरेर मन्त्रिहरु थप्दै गर्दा पनि सरकारले पूर्णता पाएको छैन । नेपाली काँग्रेस जो सवैभन्दा ठूलो दलका रुपमा रहेको छ, उसैले अहिलेसम्म सवै मन्त्रि पठाउन सकिरहेको छैन । यस्तै सरकारलाई समर्थन गरेर पनि बाहिरै बसिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी । यस्तै जनमत पार्टी सरकारबाट बाहिरिएको छ । एउटालाई सत्तामा लैजाँदा अर्को बाहिर जाने जुन खेल चलिरहेको छ यसले अहिलेको सरकारलाई अस्थिरतामा लगिरहेको छ । सत्तामा जानका लागि जे पनि गर्ने, जो संग पनि सहकार्य गर्ने जुन नकारात्मक अभ्यास भइरहेको छ यसले नै गणतन्त्रलाई कमजोर बनाएको छ ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिंदै गर्दा धेरैलाई लागेको थियो अव दाहालले इमान्दारिताका साथ काम गर्नुहुनेछ । विगतमा जे जस्ता गल्ती कमजोरीहरु भएका थिए अवका दिनमा ति हुनेछैनन् भन्ने विश्वास दिलाउनुभएको थियो । दाहाल जसको बुईमा चढ्नुभयो उहाँले यात्राको बीचमै पुरानो सहयात्रीलाई छोड्नुभयो र नयाँ सहयात्री रोज्नुभयो । दाहालले राजनीतिमा जालझेल गर्नुहुनेछैन भन्ने बारेमा धेरैलाई लागेको कुरा भ्रमको कुरा रहेछ । दाहालले जनतालाई सेवा सुविधा दिने कुरा, कानून निर्माणमा ध्यान दिने कुरा गर्नुभएन । उहाँ सत्ता जसरी पनि जोगाउने भन्ने ध्याउन्नमा लाग्नुभयो । सरकार जोगाउनका लागि मात्रै ध्यान दिने हो भने काम कहिले गर्ने ? उहाँले एक सय दिन कसरी विताउनुभयो ? यसैका आधारमा आगामी दिन कसरी जाने भन्ने स्पष्ट देखिन्छ । विहानीले दिनको संकेत दिन्छ भनेको जस्तै यतिवेलाको सरकार देखिएको छ । अहिलेको सरकार कमजोर जगमा खडा भएको छ । सरकारको जग यति कमजोर छ कि, कुनैपनि बेला सरकारले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आउने देखिन्छ । एक सय दिनको मूल्याङ्कन गरेर आगामी दिनको आशा गर्ने कुनै सम्भावना जिवित रहेको छैन । पहिलो दल किनारा, दोस्रो दल किनारा र कम संख्यामा रहेर तेस्रो रहेको दलले जिम्मेवारी पाउँदै गर्दा यो जिम्मेवारीको भारीले थिचिएर उठ्नै नसक्ने अवस्थामा पुग्न थालेको देखिएको छ । समग्रमा संकेत सुखद रहेको छैन ।

महिला माथि घरेलु हिंसा धेरै

राप्ती पोष्ट

तुलसीपुर, चैत । महिला हिंसा विरुद्ध काम गर्दैै आइरहेको ओरेकले महिला माथि हुने हिंसामध्य घरेलु हिंसा धेरै रहेको बताएको छ । गएको एक वर्षको अवधिमा एक सय ६३ वटा घटना महिला माथी हुने विभिन्न किसिमका हिंसा सम्बन्धि रहेको ओेरेक दाङले जनाएको छ ।

सन २०२२ मा महिला हिंसा एक६३ वटा मुद्दा दर्ता भएको मध्ये सबै भन्दा धेरै एक सय १८ वटा घरेलु हिंसाको मुद्दा अभिलेखिकरण भएको ओरेक दाङका कार्यक्रम अधिकृत पूजा चौधरीले जानकारी दिनुभयो । बाँकी सामाजिक हिंसा, बलात्कार, जातिय विभेद, बोक्सीको आरोप, बाल विवाह दाइजो सम्बन्धि घटना अभिलेखिकरणमा रहेका छन् ।
ओरेक दाङको ३२ औं स्थापना दिवसको अवसरमा बोल्दै कार्यक्रम अधिकृत चौधरीले एक वर्षको अवधिमा अभिलेखिकरण गरिएको हिंसा सम्बन्धि मुद्दामा जातिगत रुपमा हेर्दा सबै भन्दा धेरै दलित समुदायका महिलाहरु हिंसामा पर्ने गरेको बताउनुभयो । तर दलित बाहेक अन्य जातिका महिलाहरु पनि कुनै न कुनै किसिमको हिंसामा परेको चौधरीले जानकारी उहाँले गराउनुभयो । उमेरगत रुपमा भन्दा २० वर्षदेखि २४ वर्ष उमेरका महिलाहरु बढी हिंसामा पर्नेहरुमा रहेका छन् । १४ वर्षदेखि अधिकतम ६५ वर्ष माथि उमेर समुहका महिलाहरु पनि हिंसामा परेको र यस्ता खालका उजुरी आउने गरेको उहाँले जानकारी दिनुभयो ।

ओरेक दाङका कार्य समिति सदस्य पद्मा चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले गर्नुभएको थियो । सो अवसरमा संगालो प्रदर्शनी तथा वार्षिक समिक्षा गरिएको थियो ।

कार्यक्रममा बोल्दै उप प्रमुख स्यानी चौधरीले हिंसा रहित समाज निर्माणको लागि सबै जना हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले यसका लागि सवैको साथ र सहयोग रहनुपर्ने बताउनुभयो । हिंसा मुक्त समाज बनाउन उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको जानकारी गराउँदै उपमेयर चौधरीले महिलाहरु पनि शिक्षित हुन आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो अनुभव सुनाउँदै महिलाहरु शिक्षासंगै रोजगारीमा पनि जोडिएमा हिंसा केही हदसम्म कम हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरीले आफुहरु विगत दुई वर्षदेखि ओरेक संग सहकार्य गरेर हिंसा न्युनिकरणको लागि काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा फेडो दाङका अध्यक्ष युवा कराराले व्यवस्था परिवर्तन भए पनि सोचे अनुसारको अवस्था परिवर्तन हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । आर्थिक रुपमा कमजोर महिलाहरु हिंसामा पर्ने गरेको भन्दै अब महिलाहरु पनि स्वरोजगार हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सस्थापक अध्यक्ष लक्ष्मी आचार्य, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका अध्यक्ष शुशिला पौडेल, सम्वाद समुहका सुशिल बस्नेत, तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतम, सरस्वती थापा, दिपा केसी, बृष्णा चौधरी, जुनु विक, विष्णा गौतम लगायत बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्नेहरुले हिंसा रहित समाज निर्माणका लागि लंैगिक मैत्री कानून बनाएर कार्यान्वयन गर्न तर्फ लाग्नु पर्ने बताएका थिए । सहायक कार्यक्रम अधिकृत कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथ्याङक अधिकृत तथा व्यवस्थापक बिन्दु शर्माले गर्नुभएको थियो ।

घोराहीको प्राथमिकता ‘अब समृद्धिको यात्रा’

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी घोराही उपमहानगरापालिकाको मेयरका रुपमा दोस्रो कार्यकाल सम्हालिरहनुभएको छ । पहिलो कार्यकाल सफलताका साथ विताउनुभएका चौधरीको दोस्रो कार्यकाल चल्दै गर्दा उहाँसंग विविध विषयमा राप्तीपोष्टकर्मी छविपुरीले गर्नुभएको कुराकानी प्रस्तुत छ । (सम्पादक)

 

नरुलाल चौधरी
मेयर, घोराही, उपमहानगरपालिका दाङ
घोराहीको स्थानीय सरकार प्रमुखका रुपमा दुई कार्यकाल काम गर्ने अवसर पाउनुभएको छ, दोस्रो कार्यकालमा तपाईको प्राथमिकता के हो ?
हामीले पहिलो कार्यकालमा खासगरी भौतिक पूर्वाधारहरु बाटोघाटो, सिँचाई, खानेपानी, पुलपुलेसा, विद्युतलगयतका विषयलाई विशेष प्राथमिकता दिएर आएका थियौं । ती क्षेत्रहरुको निरन्तरता अहिले पछि छन् । अब बनेको पूर्वाधारलाई उपयोग गर्न सक्ने गरी रोजगार र उद्यममा आधारित कार्यमलाई प्राथमितामा राखेका छौँ । बनेका पूर्वाधारको उपयोग हुन सकेन भने त्यसको अर्थ रहँदैन नै, साथै आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय विकास पनि हुन सक्दैन । त्यसैले पढे लेखेका युवाहरुलाई कसरी यही रोजगारमा जोड्न सकिन्छ भनेर योजनावद्ध रुपमा काम अघि बढाउने गरी अघि बढेका छौँ ।
बनेका पूर्वाधारलाई अधिकतम उपयोग गर्न सक्ने गरी यहाँका सम्भावनाहरुको पहिचान गरेर युवाहरुलाई सीपसहित रोजगारमा जोड्दै आयआर्जनको बाटोमा अग्रसर गराउन बैंकहरुसँग समन्वय गरेर कम ब्याज दरमा लगानीको श्रोत जुटाउने काममा पनि लागेका छौँ । बनेका जलाशयबाट बहुउयोगका लागि अघि बढ्ने जमर्को गरेका छौँ । शहरलाई गाउँ र गाउँलाई शहरसम्म जोड्न वडा नम्बर १९ बाहेक सबै वडामा कालोपत्रेसहितको बाटो निर्माण गरेका छौँ । १९ नम्बर वडामा पनि कालोपत्रेको काम यसै वर्ष अघि बढाउँदै छौँ ।
मानव संशाधनको विकास गरेर रोजगारी र उद्यमशशीलताका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्ने घोराहीको विशेष प्राथमिकता रहेको छ । यसका लागि समृद्धि र विकास सँगसँगै जोडिएर जानुपर्छ भन्ने मैले ठान्दछु । योसँगै स्वास्थ्य र शिक्षाको स्तर सुधार गर्दै नागरिकको सेवा पहुँचमा बिस्तार गर्ने काममा पनि हामी अघि बढेका छौँ । शिक्षाको सुधारका लागि एक वडा एक नमूना विद्यालय बनाउने कामको थालनी गरेका छौँ ।
स्वास्थ्यतर्फ नियमित पाउने स्वास्थ्य उपचारबाहेक मोतीविन्दूको निशुल्क उपचार, निशुल्क रगतको व्यवस्था, सिकलसेल एनिमियाका बिरामीलाई निशुल्क उपचार, पाठेघरको मुखको क्यान्सर भए नभएको निशुल्क परिक्षण, जेष्ठ नागरिकको उपचार गर्दै आएका छौँ । नागरिक स्वस्थ भएमात्रै विकास र समृद्धि सम्भव छ भन्ने कुरामा स्पष्ट छौँ । त्यसैले नागरिक स्वस्थ बनाउने कुरामा टोलटोलमा सरसफाईसहित स्वास्थ्य सचेतनाका कार्यक्रम गर्दै आएका छौँ । शुन्य फोहोर अभियान चलाएर फोहोरमुक्त शहर बनाउन तथा फोहोरबाट ग्यास उत्पादन गरेर नगरबासीलाई ग्यास वितरणको काम अघि बढाएका छौँ । यस प्रकारका थुपै्र काम हुँदै आएका छन् ।
कृषिलाई उद्यम र उद्योगतिर कसरी लैजान सकिन्छ भन्ने विषयमा पालिकाले सोँच बनाएको छ । आर्थिक समृद्धि र सफा सुन्दर र पूर्वाधारसहितको राम्रो शहर बनाउने साँचका साथ काम अघि बढाएका छौँ त्यसमा धेरै काम भईसकेका छन् । बाँकी रहेका कामलाई पूर्णता दिँदै यसको बहुउपयोगमा आधारित कार्यक्रम नै पालिकाको अबको प्राथमिकता रहेको छ ।
कुनै पनि काम गर्न आधार चाहिन्छ, समृद्ध घोराही बनाउन अहिलेसम्म कति ऐन कानून बने ?
स्थानीय सरकार संचालन ऐन २०७४ को जगमा टेकेर अघि बढेको घोराही उपमहानगरपालिकामा अहिले ८३ वटा ऐन कानून बनिसकेका छन् । जसमा ऐनका रुपमा रेडियो संचालन ऐन, शिक्षा ऐन, सहकारी ऐनलगायत थुप्रै ऐन बनेका छन् । धेरै जसको कार्यविधि बनेको छ । केही नियमावली बनेका छन्, यो घोराही उपमहानगरपालिकाको कार्यपालिका संचालनको महत्वपूर्ण आधार हो ।
स्थनानीय सरकारको अधिकार क्षेत्र भित्र पर्ने संविधान र ऐनले दिएको एकल अधिकार रहेको अवस्थामा ती चिजलाई सही ढंगले व्यवस्थापन गर्न सकेका छौँ । अब आगामी दिनमा पनि आवश्यकताका आधारमा बनाउनुपर्ने ऐन कानून पनि बनाउने छौँ । यसले प्रणालीमा रही कामगर्न सहज हुनेछ ।
उसो भए, बनेका ऐन कानूनमा टेकेर के–के काम भईरहेका छन् ?
घोराही उपमहानगरपालिकाले बनाएका ऐन कानून अन्तरगत शिक्षा ऐन, सहकारी ऐन, रेडियो संचालन ऐन कार्यान्वयनमा रहेका छन् । न्यायीक समितिले स्थानीय सरकार संचालन ऐन नियम र कार्यविधिभित्र रहेका कार्यसम्पादन गर्दै आएको छ । अहिले हुने गरेका सबै प्रकारका कामहरु पालिकाको ऐन, नियम, कानून, कार्यविधिमा टेकेर हुने गरेको छ ।
ती कामहरु निर्णयका आधारमा मात्रै हुने गरेको छैन । ऐन नियमको जगमा रहेर अघि बढेका छौँ । सेवा प्रवाह छिटोछरितो बनाउन पालिकाका सबै वडामा अनलाईनमा आधारित राजस्व संकलन, सामाजिक सुरक्षा भत्ता वितरण, पन्जीकरणको काम पनि व्यवस्थित गरेका छौँ ।
बालमैत्री उपमहानगर भएपनि अहिलेसम्म धेरै ठाउँ दुर्गम छ, त्यहाँका नागरिकले आधारभूत सेवा सुविधा कहिले पाउने ?
बालमैत्री घोषणा भएपछि आधारभूत सेवा सुविधा सुनिश्चित हुनुपर्छ । बालबालिकाले पाउनुपर्ने अधिकारहरु पाउनुपर्छ भन्ने नै हो । हुबहु सबैका सबै कार्यान्वयनमा छन् भनेर म भन्दिन । किनभने बालमैत्री उपमहानगर घोषणा भईसकेपछि पनि धेरै चिजहरु सुधार गर्न र त्यसलाई निरन्तरता दिन बाँकी नै रहन्छन् । त्यसैले एक चरण पार गरेर अघि बढेका छौँ ।
अझै यसका बाँकी काम पूरा गर्न र निरन्तरतामा रहन अझै बाँकी नै छन् । जसले गर्दा दूरदराजका सबै बालबालिकाहरुको उनीहरुको अधिकार क्षेत्रमा सहज पहुँच नभएको हुन सक्छ । यसका लागि बाटोघाटो, यातायात, खानेपानी, सौँचालय, खोप, उपचारको व्यवस्था गर्नुपर्ने हुन सक्छ । बाँकी रहेका कामलाई पनि पूरा गर्ने गरी हामी अघि बढेका छौँ । खोप भने पूर्ण सुनिश्चित भईसकेको छ । बालमैत्री पालिका भएपनि सूचक पूरा गर्न निरन्तर रुपमा अघि बढ्नु हाम्रो जिम्मेवारी पनि हो ।
बनेका कतिपय पूर्वाधार संरचनाहरुको पनि पूर्ण उपयोग हुन सकिरहेको छैन, दीर्घकालीन उपयोगका लागि के कारणले समस्या भएको हो ?
बनेका पूर्वाधारहरुका उपयोग गर्ने सवालमा हामी गम्भीर छौँ । संरचना बनाएर उपयोग हुन नसकेका पूर्वाधारको संख्या धेरै त छैन । सकेसम्म उपयोग गर्ने गरी काम हुने गरेको छ । बरु बन्दै गरेका पूर्वाधार संरचनाहरुमा हामीलाई समस्या थपिएको छ ।
टेण्डर गरेर सम्झौता भई काम अघि बढाएर अलपत्र पार्ने निर्माण व्यवसायीका कारण समस्या थपिएको छ । सार्वजनिक खरीद ऐनमा रहेर टेण्डर गछौँ, तर निर्माण व्यवसायीहरुले सम्झौता गरेका आयोजनाहरुको समयमा काम नगरिदिँदा खेरी बरु हामी अप्ठ्यारोमा पर्ने काम भएको छ । काम नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारवाहीको प्रकृया अघि बढाएका छौँ ।
योजनाहरु अल्पकालीन, मध्य र दीर्घकालीन हुन्छन, ती योजनालाई आधार मान्ने हो भने तपाईको दुई कार्यकाल पूरा हुँदै गर्दा घोराही उपमहानगरपालिका भएको हुनेछ ?
अल्पकालीन योजनामा नियमित प्रकृया अन्तरगत अहिले पनि थुप्रै काम भईरहेका छन् । जसमा नागरिकको आवश्यकता र समयले सम्बोधन गरेका कुरालाई सम्पादन गर्दै आउने कुरा भयो । जसमा मर्मत सम्भार, खानेपानी, स्वास्थ्य, नागरिक सचेतना, कृषि क्षेत्रको विकासका लागि जागरणका कुरामा निरन्तर छौँ ।
मध्यकालीन योजनामा पालिकाले अघि सारेका विकासे योजना, सामाजिक विकासमा आधारित कार्यक्रमलाई दीर्घकालसम्म संचालन गर्ने गरी कृषि, स्वास्थ्य, उद्यमशीलता विकासलगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ । दीर्घकालीन योजनाहरु ठूला संरचना, कार्यक्रम अन्तरगत स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँगको सहकार्यमा अघि बढाईने कार्यक्रमलाई राखेर अघि बढेका छौँ । जसमा नगरभित्रका ठूला सडक पूर्वाधार, वैकल्पिक सडक, रिङरोड, कृत्रिम जलाशय, औद्योगिक क्षेत्रहरु हामीहरुको दीर्घकालीन योजनाहरु हुन । घोराहीको वडा नम्बर ३ र ५ को भूभाग समेटेर औद्योगिक क्षेत्र घोषणा भईसकेको हुँदा केन्द्र सरकारसँग समन्वय गरी प्रकृया अघि बढाउने काम भईरहेको छ । व्यवस्थित, सुरक्षित औद्योगिक क्षेत्र बनाउने भएकाले यसले रोजगारी सिर्जना गर्ने मात्रै नभई पालिकालाई समृद्धिको यात्रामा अघि बढाउन मद्दत पुग्ने अपेक्षा छ ।
यसैगरी, घोराही खानेपानी संस्थासँगको सहकार्यमा वृहत खानेपानी आयोजनालाई अघि बढाएका छौँ । सहलगानीमा अघि बढेको यो योजनाले खानेपानीको दीर्घकालीन समस्या समाधान गर्नेछ । संघ सरकार र प्रदेश सरकारबाट दीर्घकालीन रुपमा अघि बढेका विभिन्न आयोजनाहरु समयमै सम्पन्न हुन सकेमा घोराही उपमहानगरपालिकालाई काम गर्न सहज हुने आशा हो । यसका लागि हामीले सम्बन्धित निकायमा जानकारी गराउने र दवाव दिने काम पनि गर्दै आएका छौँ । यसैगरी, वडा वडा जोड्ने कालोपत्र सडक बनि सकेकाले नगर बस संचालनका लागि आन्तरिक प्रकृया अघि बढाएका छौँ । यसका लागि यातायात व्यवसायीहरुसँग छलफल गरेर नीजि क्षेत्रसँगको सहकार्यमा काम गर्ने योजना बनेको छ । जसले नगरका नागरिकलाई बजारदेखि गाउँ जान तथा गाउँबाट बजार आउन सहजता हुनेछ । यी कामले आगामी दिनमा सार्थकता पाउनेछ ।
अन्त्यमा, केही भन्नुछ ?
घोराही उपमहानगरपालिकाले गरिरहेको प्रयास र थालेका कामका बारेमा समग्र नागरिक समक्ष पुर्याउन सहयोग गर्नुहुने तपाई र तपाईको संचारमाध्यमलाई धेरै धन्यवाद छ । नागरिकको सहयोग बिना, राजनीतिक दलको सहयोग बिना, यस क्षेत्रका जानकार, अग्रज, वुद्धिजीवी, समाजसेवी, पत्रकार, विज्ञहरुको सहयोग बिना हामीले चाहेको सबै चिज प्राप्त गर्न नसक्ने हुनाले पालिकाले यहाँको निरन्तर सहयोग र सुझावको अपेक्षा गर्दछ ।
यसका लागि पहिलो त घोराही उपमहानगरबासी आमाबुवा, दाजभाइ, दिदीबहिनीहरु, समाजसेवीलगायत सम्पूर्णको सहयोगको आवश्यकता छ र हिजोका दिनबाट पाईरहेका छौँ र आगामी दिनमा पनि पाउने आशा अपेक्षा रहेको छ । सबै मिलेर सकारात्मक काममा अघि बढेमा मात्रै समृद्धि र विकास सम्भव छ ।

नवजागरणको अध्यक्षमा लामिछाने

राप्ती पोष्ट

तुलसीपुर, चैत । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यु सीपीसी) को अध्यक्षमा नवराज लामिछाने चयन हुनुभएको छ ।

संस्थाको २८ औँ वार्षिक साधारण सभाले लामिछानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा विजय केसी, महासचिवमा नानीमैया वली, कोषाध्यक्षमा सुशील धिताल, सहसचिवमा नारायण प्रसाद रेग्मी र वैधानिक परामर्शदातामा प्रदिप धिताल चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरूमा तुफानबाबु श्रेष्ठ, शारदा चौधरी, शान्ति बिक, लहर आचार्य र प्रमिला तिवारी रहनु भएको छ । संस्थाको संस्थापन समितिमा गणेशप्रेम श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरिएको थियो । जसको सदस्यमा कुमार शाह र नेत्रमणि लामिछाने रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष नवराज लामिछानेले विगत २८ वर्षदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले बाल श्रम तथा बाल संरक्षणको क्षेत्रमा थुप्रै उदाहरणिय काम गर्दै आएको बताउनु भयो । साथै उहाँले अब बालबालिकामा हुने कुपोषणका क्षेत्रमा काम गर्ने समेत बताउनु भयो ।

यस्तै संस्थाको स्थापनाकालदेखि संस्थाबाट सेवा प्राप्त गरेकी शान्ति बिक अहिले संस्थाको सदस्यमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले आफुलाई हुर्काएको संस्थाको कार्यसमितिमा चयन हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो । साधारण सभा तथा अधिवेशनमा संस्थाका आजीवन सदस्य गणेश प्रेम श्रेष्ठ र सल्लाहकार बलदेव शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकी निवर्तमान अध्यक्ष निशा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन महासचिव नानीमैयाँ वलीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सुशील धितालले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष विजय केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव नानीमैयाँ वलीले गर्नुभएको थियो ।

जनवादी कलाकारहरु दाङ आउँदै

राप्ती पोष्ट

दाङ, ७ चैत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अन्तर्गत घोराहीमा जनवादी कलाकारहरुले प्रस्तुति दिने भएका छन् । यहि चैतको १० गतेका दिन घोराहीमा रहेको सभागृहमा कार्यक्रम आयोजना गरिनेछ । दिउँसो २ बजेदेखि कार्यक्रम सुरु गर्ने तयारी गरिएको छ ।

कार्यक्रममा क्रान्ति, परिवर्तन र एकताका गीतहरु एकसाथ सुन्न पाइनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा करीव डेढ दर्जन जनवादी कलाकारहरुले आफ्नो प्रस्तुति राख्नेछन ।

कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहनुभएको छ ।

यो अभियान पश्चिम नेपालका विभिन्न जिल्लामा भइसकेको छ । यसअघि धनगढीमा कार्यक्रम सम्पन्न गरेको टोलीले मंगलबार सुर्खेतमा कार्यक्रम गरेको थियो । क्रमशः सबै प्रदेशमा कार्यक्रम गर्ने देशमा एकताको सन्देश छर्ने उद्देश्य राखेको बताइएको छ । अहिले सरकार पटक–पटक परिवर्तन भइरहने तर जनताको अवस्थामा परिवर्तन आएको छैन, यसमा जनवादी कलाकारहरु खुसी छैनन् । यहि सन्देश दिंदै कलाकारको टोलीले ‘देशमा एकता’को आवश्यकतालाई जोड दिनेछन् । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएकाले सहभागिताका लागि आग्रह गरिएको छ ।

क्रिकेट खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

राप्ती पोष्ट

दाङ, चैत/ लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

‘हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि मुख्यमन्त्री लिला गिरीको प्रस्ताव अनुसार मन्त्रिपरिषद वैठकले सर्वसम्मत एक लाखका दरले रकम दिने निर्णय भएको हो’- प्रवक्ता आचार्यले भन्नुभयो-‘ जुनियर टिमका ५ जनालाई पनि ५० हजारका दरले रकम दिने निर्णय भएको छ ।’

सिनियर क्रिकेट टिममा कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल, कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही, सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन् । यस्तै जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता, बर्दियाका विकास केसी र अर्घाखांचीका उत्तम थापा रहेका छन् ।

अधिकारी बंशधर नियाल्दा

समिक्षा

थानेश्वर अधिकारी

अधिकारी बंशधर नियाल्दा पुस्तक विमोचन गर्ने कार्यक्रममा मलाई समिक्षकको भूमिका निवाह गर्ने अवसर दिनुभएकोमा आभार प्रकट गर्दछु । यो लेखकको १७ औं कृतिका रुपमा आएको छ । कृतिप्रति र लेखकप्रति श्रद्धाभाव प्रकट गर्दछु । यस पुस्तकमा सहप्रधापक एवं अधिकारी समाजका पूर्व अध्यक्ष नारायण अधिकारी र नेपाल संस्कृत विद्यालयका वेलझुण्डीका कुल सचिव एवं सह ाप्राध्यापक माधव अधिकारीको शुभेच्छाको लेखबाट अधिकारी बंशधर सुरु भएके छ ।
विक्रम सम्वत १५७५ मा उदयपुर राज्य स्थापना भएको थियो । उदयपुर राज्यमा पहिला ब्राम्हण राजाका रुपमा जसुधर कार्कीबाट सुरुवात भएको र १७ औं पुस्तासम्म उनका सन्ततीहरुले बैधानिक रुपमा राज्य संचालन गरेको कुराको इतिहास साक्षी छ । विभिन्न समयमा विभिन्न ऐतिहासिक व्यक्तित्वले उदयपुर राज्य (अन्तरगतका अधिकारीका इतिहासलाई लिपिबद् क्रममा वि.स. २०५७ सालमा आएर श्री विष्णु प्रसाद शर्मा अधिकारीको संयोजकत्वमा वंशावली संकलन तथा प्रकाशन समिति गठन गरी २०५८कातिक १२ गते कोजाग्रत पूर्णिमाको दिन ४१० पृष्ठको ‘उदयपुर राजाको इतिहास तथा अधिकारी बंशावली’ विमोचन गर्ने शुभ साइत जुरेको थियो ।

उदयपुर राज्य सरचालन गर्ने क्रम लामो समयसम्म रह्यो । जब श्री ५ वडामहाराज पृथ्वी नारायण शाहको एकिकरण गर्ने अभियानका उदयपुर राज्य पनि अछुतो रहेन । प्रथम राजा जसुधरबाट सुरु भएको राज्य संचालन १७ पुस्ताका राजा शान्तराजले समेत अन्य राजा सरह नेपाल सरकारबाट भत्ता प्राप्त गरेको इतिहास ज्यूँदै छ । यसरी अधिकारी वंशधर नियाल्दा पुस्तक विमोचन गर्ने कार्य भइरहदा यस भित्र अधिकारी समाज स्थापना गर्नका लागि विधान मक्यौदा समिति गठन गरी उक्त समितिले तयार गरेको विधान पारित गरि वैधानिक रुपमा मिति २०६० साल जेठ ४ गतेका दिन दिन दर्ता नं. ४३४ मा ‘अधिकारी समाजको विधान २०५५’ जिल्ला प्रशासन कार्यालय दाङमा भएको देखिन्छ ।

यस पुस्तकका लेखक पदमप्रसाद शर्मा जसले बडो मिहिनेतका साथ अधिकारी वंशको विगतदेखि वर्तमान सम्मका गतिविधिहरुलाई समेटेर एउटा मालिले विभिन्न ठाउामा छरिएर रहेका फूलका गुच्छा संकलन गरेर सिंगो माला तयार गरे झै साना साना तर महत्वपूर्ण दस्तावेजलाई आधार बनाएर सकेसम्म तथ्य र प्रमाणको आधारमा बास्तविकता र यथार्थ कुराहरु नछुटुन भनि सतर्कताका साथ औल्याउनुभएको छ । लेखकले १७ औं कृति प्रकाशित गरी विमोचन गराइ रहदा जसुधरका सन्ततिले पनि १७ पुस्तासम्म राज्य सञ्चालन गरेको कुराले संयोगबस १७ औं कृतिको रुपमा हामीले पाइरहदा ज्यादै शौभाग्य ठानेको छु ।
यस पुस्तका विशेषताह लाई निम्न बुँदाबाट औल्याउँदा ज्यादै प्रभावकारी होला भन्ने ठान्दछु ।
१) ११ वटा शीर्षकमा उल्लेख गरिएको ।
२) विभिन्न विभिन्न समय र मितिमा गरिएका भेला तथा गोष्ठिहरुको तिथी मिति सहित उल्लेख गरिएको ।
३) तथ्यहरुलाई प्रभावकारीता दिन तस्वीर लाई समेत समेटिएको ।
४) कश्यप गोत्रिय उदयपुरे अधिकारीको आरम्भ देखि १७ पुस्ता सम्मका राजा रानीको सम्पूर्ण विवरण मिति सहित उल्लेख गरिएको ।
५) अधिकारीहरूले विगत देखि वर्तमान सम्मका गर्दै आएको कूलपूजाका स्थान, त्यसमा बनेका विन्दवासिनी मन्दिर एवं क्षेत्रपालका मन्दिरहरु समेतलाई समेरिटएको साथै मन्दिरका फोटाहरु समेत राखिएको ।
६) उदयपुर राजा भित्र रहेका वा वा पर्ने २९ मौजा को नाम सहित प्यूठान उदयपुर धोवाघाटमा राजधानी (राजकाल सञ्चालन गर्ने दरवार) समेत उल्लेख गरिएको ।
७) जशुधर वंशीय अधिकारी समाज भित्र रहेका विभिन्न हांगाहरुको समेत उल्लेख गरिएको ।
८) अधिकारीले कूलपूजा गर्दा पुजीने विभिन्न देवी देवताको नामहरु समेटिएको ।
९) वर्तमान अवस्थामा अधिकारी समाज दाङ अन्तरगत विभिन्न जिल्ला र क्षेत्रलाई आधार बनाइ क्षेत्रिय समितिहरु रहेका र ति समतिलिे गर्दै आएका विगत देखि वर्तमान सम्मका कार्यहरुलाई लाई समेटिएको छ ।
१०) पुस्तकमा कश्यप ऋषिको तस्वीर अंकित गरिएको ।
११) सबैले पढ्न र बुझ्न सकिने अक्षर र भाषामा ध्यान दिएको आदी
यसरी वडो मिहिनेतका र इमान्दारीताका साथ पुस्तकको आकार दिदै गर्दा केहि कुराहरू छुट्नु र छुटेका केही कुरा पछि थाहा पाउँदा पाउँदै पनि त्यसलाई समेट्न कठिन हुनु स्वभाविक मानिन्छ । त्यसको पिडा लेखक स्वयमलाई विझि रहेको हुन्छ भन्ने मलाई लाग्छ । यस पुस्तकमा अधिकारीको उदयपुर राज्य सञ्चालन विधि के कस्तो थियो ? बिना सेनाको राज्य सञ्चालन गर्दा के कस्ता राम्रा र के कस्ता कठिन परिस्थिति हुँदो रहेछ अर्थात वर्तमान भाषामा व्यवस्थापिका, कार्यपालिका, र न्यायपालीका भनेझै तत्कालिन समयमा के कसरी सञ्चालन हुने गर्दथ्यो ? जनताले राज्यलाई तिने कर बेगारी गरेर दिनु पर्ने वा चुक्ता गर्ने प्रचलन थियो भने जनताले सरकारबाट के कस्तो न्याय निसाफ हुने गर्दथ्यो भन्ने कुराहरुलाई समेत समेट्न सकेमा अझ राम्रो हुने थियो ।

पुस्तकको आकार, बाहिरी जिल्दा, अक्षर, विषय सूची सन्दर्भ सामग्री सवै समय सापेक्ष र सान्दर्भिक छन् । समग्रमा पुस्तकले धेरै कुराहरुलाई समेटेर अधिकारी बंशजको एउटा सिंगा पिलरको रुपमा उभिएको पाएको छ । यस पुस्तकले इतिहासलाई माया गर्ने र मन पराउने पाठकहहरुलाई भोलिका दिनमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा दुई मत छैन । भनिन्छ एउटै फूलको बोरमा फुलेका फूलहरु पनि कुनै मन्दिरमा भगवानका लागि चढ्छन्, कुनै मालाको रुपमा गासिन्छ भने कुनै फूल मानिसको अर्थि शवमा चढ्न पुग्छन् । त्यस्तै कुनै सितको थोपा आगाको कोइलामा प¥यो भने खरानी बन्दछ । त्यसैले हाम्रो अधिकारी समाजका धेरै फूलहरु जसुधर सन्ततीको फूलरुपी बोटमा फूलेर पनि पद्मप्रसाद शर्माले यो पुस्तक १७ औं कृतिको विमोचन गरेर सबैको हृदयमा बस्न सफल हुन भएको कुरा मैले महशुस गरेको छुँ । उहाँको लेखनीय धर्म अझै फुल्दै जाओस । यसै पुस्तकलाई पुन संस्करण प्रकाशन गर्ने जमर्को गरिरहँदा त्यसमा हाल लेखक स्वयंम लाई महशुस भएका र अन्य शुभचिन्तक, पाठकबाट आएका सुझावहरुलाई समेत समेटेर कुनै दिन त्यस संस्करणले अझै बढी सन्तुष्टि दिन सफल हुने छ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा यस अधिकारी वंशधर नियाल्दा’ पुस्तकका प्रकाशकलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । साथै लेखकको धर्मपत्नीलाई सवैभन्दा धेरै आभार व्यक्त गर्दछु । आफ्नो बंशका बारेमा उजागर गर्ने र इतिहास लिपिपद्ध गरेकोमा बधाई दिंदै यस्ता पुत्र रत्नलाई जन्मदिने ति महान आमा र बुवालाई स्मरण गर्दै लेखकप्रति पुनः आभार व्यक्त गर्दछु ।

(लेखक अधिकारी समाज दाङको सह–सचिव हुुनुहुन्छ ।)