spot_img
spot_img

कसरी टाँट पल्टदैछन सहकारीहरु

सूर्य सहकारीको ठगी धन्दा, सयौँ वचतकर्ताको लाखौँ रकम डुब्दै

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत । मंगलबार दिउँसो तीन जना महिला जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रवक्ताका सामुन्ने अनुनय विनय गर्दै भन्नुभयो, ‘सर ! हामी त साह्रै पीडित भयौं, उता, ग्राहक सेवाग्राहीको गुनासोको चाङ छ, यता, सहकारी संचालकले हामीलाई अप्ठ्यारोमा पारेका छन । लौ न सर, केही उपाय निकालि दिनुपर्यो ।’

घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सूर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत महिला कर्मचारीहरुको अनुरोधको जवाफ दिँदै प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले भन्नुभयो, यो विषयमा धेरैबाट उजुरी परेको छ । संचालकसहित अरु सम्वद्धलाई खोजी कार्य जारी छ । चाँडै सम्पर्कमा ल्याउँछौँ । लगत्तै सहकारीका कर्मचारीले भन्नुभयो, ‘आज फोन लागिरहेको छ, हामीले गर्दा उठेकोछैन, हजुरले कल ट्रकिङ गरेर भएपनि सम्पर्कमा ल्र्याइ दिनुपर्यो, हामी त समाजमा मुख देखाउन नसक्ने भईसक्यौं ।’

सूर्य वचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीबाट संकलित रकम दुरुपयोग गरेको पाईएको छ । सानो सानो रकमबाट वचत गरेका वचतकर्ताहरुको रकम सहकारीले अपचलन गरिदिएपनि उनीहरु पीडामा छन् । घोराही –१६ मुक्त कमैया टोलमा बस्दै आउनुभएकी वर्षा पुनले सहकारीका कर्मचारी आफै आएर वचत गर्न लगाएपछि गरेको वचत रकम पाउन सक्नुभएको छैन । उहाँले शुरुमा वचत गरेको पैसा निकाल्न जाँदा पाउनु हुन्थ्यो तर अहिले पाउनुभएको छैन । उहाँले भन्नुभयो ‘सहकारीका कर्मचारी आफै आएर वचत गर्न लगाए, वचत गर्न लागेको पनि ३ वर्ष भएको थियो, मेरो खातामा मात्रै ४० हजार वचत छ । सकी नसकी, खर्च कटाएर दैनिक रुपमा वचत गरेको थिएँ, तर आज पैसा पाउने छाँटकाँट छैन ।’
सहकारीका बारेमा बजारमा नराम्रो कुराको गाइँगुइँ सुनेपछि झस्किनुभएकी अनिता चौधरीले दुई वटा पास बुकबाट रकम दैनिक जम्मा गर्दा ७० हजार डुब्ने चिन्तामा हुनुहुन्छ । आफ्नै पैसा त हो, कसले बेइमान गर्ला र भनेर हिनामिनाको हल्ला सुनेर पनि ३ महिनासम्म वचत गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार, गत भदौदेखि सहकारीको कार्यालयमा धाउँदा पनि वचत रकम प्राप्त भएको छैन । ‘रकम फिर्ता गर्छु भनेर पटक पटक भाका सारेको छ, तर अहिले अध्यक्ष नै सम्पर्कमा छैन’, उहाँले भन्नुभयो, ‘एक पटक भेट भएको बेला सहकारी संचालनले नारायण बस्नेत हो, यो मेरो घर हो मैले तलमाथि गर्दिन भने । मैले पनि होला त भन्ने लाग्यो तर आज सबै रकम डुब्ने अवस्थामा पुगेको छ ।’

सूर्य सहकारीमा वचत गरेका धेरैले जिल्ला प्रहरीका कार्यालयमा उजुरी दिएका छन् । पक्राउ पुर्जी जारी नहुँदासम्म केही गर्न नस्कने भनेपछि काम भएन । ‘प्रशासनमा पनि निवेदन लेखाएर दिँदा ठाडो उजुरी भनेर पन्छाईयो’ अनिताले भन्नुभयो ‘माघ २२ मा सहकारीमा गएर पैसा निकाल्न खोज्दा काम नभएपछि घटना बारे प्रशासनमा पुगेर जानकारी गराएको हुँ । आजसम्म केही हुन सकेको छैन ।’ उजुरी गर्न जाँदा सहकारीका कर्मचारीले उल्टै डर देखाउने र वचत भएको पैसा त परैको कुरा क्षतिपूर्ति भर्नुपर्ने कुरा पनि सुनाएको उहाँको भनाई छ । बालकिसुन चौधरीले दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसा थोरै थोरै भएपनि वचत गर्दै आएकोमा अहिले प्रसा नै नपाउने अवस्था आएको भन्दै निराश हुनुभएको छ । उहाँले ४ वर्षदेखि गरेको वचत ७१ हजार भईसकेको पास बुकमा देखिन्छ ।

जिल्लामा संचालनमा रहेका केही सहकारीहरु डुब्ने अवस्थामा पुगेका छन् । सहकारीको नीति सिद्धान्त विपरित काम गर्दा सहकारी संस्थाहरुको अवस्था दयनीय बनेको हो । प्रहरी नायव उपरीक्षक गौतमले सूर्य वचत सहकारीको पहिलेको अध्यक्ष सन्जीव पछाई र हालको अध्यक्ष नारायण बस्नेतले आर्थिक अपचलन गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार, पछाईले काटेको चेक थुप्रै सटही नभएको भेटिएको छ भने हालका अध्यक्ष बस्नेतले काटेको चेकको अवस्था पनि उस्तै छ ।
उहाँले भन्नुभयो, ‘कतिपय चेक व्यक्तिकै नाममा बाउन्स छ भने धेरै जसो चेक संस्थाको नाममा बाउन्स भएको छ । यी सबै अवस्था आउनुमा तिनै संचालकको दोष देखिन्छ ।’ पीडितका अनुसार, सूर्य सहकारीबाट लाखौँ रकम हिनामिना भएको छ । सो सहकारीमा कार्यरत कर्मचारीहरुले आफुहरुले पनि लामो समयदेखि तलब नपाएको बताएका छन् । उनीहरुले आफुलाई तलब सुविधा केही नचाहिने बताउँदै सेवाग्राहीको पैसा फिर्ता गरिदिए आफुहरुलाई पुग्ने बताउने गरेका छन् । एक कर्मचारीले भन्नुभयो, ‘हामीलाई बजार निस्कनपनि समस्या भएको छ । मास्क लगाएर हिड्दा पनि चिन्छन्, अनि उही गुनासो र पीडा पोख्छन्, आफुसँग कुनै जवाफ हुँदैन । शुरुमा हामीले नै ग्राहक बनाएका हौँ, उनीहरुले हामीलाई पनि अप्ठ्यारोमा पार्ने काम भएको छ ।’

उक्त सहकारीमा पहिले एक हजार चार सय वचतकर्ता थिए । अहिले आठ सयको हाराहारीमा रहेका छन् । सहकारीको अवस्था राम्रो नभएको थाहा पाएकाहरुले समयमै वचत रकम निकासा गरेपनि अरु सोझा वचतकर्ताहरु विश्वास गरेर बस्दा मारमा परेका छन् । उता, जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले जिल्लामा रहेका सहकारी संस्थाहरुलाई पैरवी गर्ने र सचेत गराउने बाहेक अरु काम गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

जिल्ला सहकारी संघका कार्यसमिति सदस्य खुसलराम शर्माले पीडित आएमा समन्वय गराउने प्रयास गर्ने गरेको बताउँदै कुनै उपाय नलागेमा कानुनी बाटो रोज्न अपिल गर्ने गरेको बताउनुभयो । उहाँले जिल्लामा केही सहकारी ठीक ढंगले चल्न नसक्दा गुनासो बढेको बताउनुभयो । ‘सबै सहकारीमा जान सकिएको छैन, जिल्लाभरको यथार्थ अवस्था पहिचान गर्न नसकिएको हुँदा नयाँ कार्य समितिले कार्य विभाजन गरेर अध्ययन अनुगमन गर्ने तयारी भएको छ’ उहाँले भन्नुभयो ‘सहकारी संचालक, व्यवस्थापकहरुले सहकारीको नीति सिद्धान्त अध्ययन गर्ने, सोही अनुसार काम गर्नुपर्ने हो तर यसो नगर्दा आफु डुब्ने र सेवाग्राहीलाई पनि डुबाउने खेल भएको छ ।’

व्यवस्थापकीय पक्ष कमजोर, विधान अनुसार नचल्ने, व्यक्तिगत विचार र कार्ययोजना, आर्थिक पाटो पारदर्शी नहुनु, उद्देश्य विपरित लगानी गर्नु जस्ता कारणले पछिल्लो समय सहकारी संस्थाहरुमा विचलत आएको घोराही उपमहानगरपालिका सहकारी शाखा प्रवद्र्धन शाखा प्रमुृख प्रेम केसीले बताउनुभयो । उहाँले सहकारीका फिल्डमा हिड्ने कर्मचारी, लेखा हेर्ने कर्मचारी, कार्य समिति, ऋण समितिबाट कमजोरी हुने गरेको बताउनुभयो । उहाँले हरेक कुरामा चेक एण्ड ब्यालेन्स हुनुपर्ने बताउनुभयो । घोराहीमा मात्रै दुई सय १४ वटा सहकारी संस्था रहेका छन् । जसमध्ये पालिकामा एक सय ८९ मात्रै दर्ता भएका छन् । जिल्लामा हाल छ सय ३० सहकारी संस्थाहरु मध्ये संघमा एक सय ५३ बचत तथा ऋण, एक सय ८९ कृषि, १३ उपभोक्ता, २७ बहुद्देश्यीय, पाँचवटा बिद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८, विषयगत संघ चार गरी चार सय २२ सहकारी संघ÷संस्थाहरु आबद्ध छन् ।

पछिल्लो समय सहकारी विभागमा पनि उजुरी गर्नेको सङ्ख्या बढेको पाइएको छ । सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । जिल्लामा आधा दर्जन बढी सहकारी संस्थाहरु डुबेका र केही डुब्ने अवस्थामा पुगेका छन् । जसमा हजारौँ वचतकर्ताको लाखौँ रकम जोखिममा परेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img