spot_img
Home Blog Page 39

रेडियो मध्यपश्चिम १७ औं बर्षमा

मिडियाको सकारात्मक खबरदारी आवश्यक– मन्त्री शर्मा

छबि पुरी/राप्ती पोष्ट

घोराही, जेठ । सूचना तथा संचार प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मिडियाले सकारात्मक खबरदारीले सरकारलाई काम गर्न सहयोग पुगेको बताउनुुभएको छ । दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७ औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री शर्माले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको बताउनुुभयो ।

रेडियो सुन्ने र रेडियोको समाचारमा भर पर्नेको संख्या धेरै रहेको उल्लेख गर्दै यसको सबलीकरणमा राज्यको ध्यान दिने विश्वास दिलाउनुुभयो । अहिले देखा परेका समस्याका बारेमा सरोकार सबैबीच छलफल गरी भरपर्दो, बलियोे र विश्वसनीय बनाउन के गर्न सकिने हुँदा देशमा थीति बसाल्न, सुशासन कायम गर्न सरकारले चालेको कदममा पाएको साथ र समर्थनमा अझ बलियो समर्थन दिन अपिल गर्नुभयो ।

रेडियो संचालक समिति अध्यक्ष मधुसुदन वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले दाङबाट देशको विभिन्न नेतृत्वमा रहनेको संख्या भएकाले कार्यगत एकता गरी अघि बढ्नुपर्नेमा जोड दिनुुभयो । उहाँले संघको नीति कार्यक्रम र बजेटको तयारी भएका बेला मिडियाको समस्या समाधान गर्न पहल हुने बताउनुुभयो । अहिले गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने प्रहार भईरहेको छ । राजनीतिक दलमा आवद्ध भई बेथिती गर्नेहरुका कारण अहिलेको व्यवस्थामाथि नै प्रहार गर्न खोज्नु सह्य विषय नहुने बताउनुुभयो । ‘हामीले प्राप्त गरेका उपलब्धी बचाउँदै मुलुकको विकास र सुशासन कायम गर्न रेडियोले हिजोका दिनमा जसरी आफ्नो भुमिका सशक्त बनाएर लैजानुपर्छ’ उहाँले भन्नुुभयो ‘एक जना नेता, कर्मचारी, मिडियाकर्मी, व्यक्तिको कमजोरी गल्तीलाई संस्थागत रुपमा जोडेर व्यवस्था माथि नै नकारात्मक भाव पैदा गर्ने काम कोही कसैबाट गरिनु हुँदैन । यसमा रेडियो मध्यपश्चिमले तटष्ठ, निष्पक्ष रुपमा स्वतन्त्र रुपमा अघि बढ्नुपर्छ ।’

उहाँले दाङको विकासका लागि जनप्रतिनिधिको पहलले मात्रै नहुने भन्दै यसका लागि सवैको सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले घोराही–मुर्कुटी सडक, घोराहीका भित्री सडक, महत्वपूर्ण खोलामा तटबन्त्र, हाईड्याम, सिचाइँ, विमान स्थल सहज संचालन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम संचालनका विषयले प्राथमिकता पाएको बताउनुुभयो । कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले मिडियामा देखा परेको समस्याका बारेमा अब वृहत समिक्षा आवश्यक भएको बताउनुुभयो । संचारको चरम उत्कर्ष विकासमा प्रवेश गरेको बेलामा मिडिया सबलीकरणमा लाग्न सुुझाव दिनुुभयो । उहाँले सिद्धान्तभन्दा व्यवहारबाट काम गरेर देखाउने बेला आएको बताउनुुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले नागरिकको मिडियामा सहज पहुँच बनाउन सत्यतथ्य र बस्तुनिष्ठ रुपमा अघि बढ्न सक्नुपर्ने बताउनुुभयो । ‘रेडियोले हिजोका दिनबाट खेलेको भुमिकाले आम नागरिकमा सकारात्मक प्रभाव परेको छ । शान्ति प्रकृया, महाभूकम्प, प्रलय, बाढी पहिरो, विपदजन्य घटनाहरुमा पनि रेडियो सहज रुपमा सकारात्मक सूचना सम्प्रेषण गरेको छ’, उहाँले भन्नुुभयो ‘मिडियाले बलियो खबरदारी गरेका कारण पछिल्लो समय सरकारले भ्रष्टाचारलगायत विषयले प्राथमिकता पाएका छन् । बेथितीका बारेमा कारवाही अघि बढाउन सकेको छ । संचार माध्यमको सामाजिक आवश्यकताका रुपमा कालान्तरसम्म रहीरहनेछ ।’ उहाँले पछिल्लो समय मिडियालाई केवल कर उठाउने क्षेत्रका रुपमा लिएको गुनासो पोख्दै यो राज्यको सहयोगी निकाय हो भन्ने बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल सदस्य शरद अधिकारीले असहज परिस्थितीमा सबै निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुुभयो । विद्यमान अवस्थामा धेरै क्षेत्रले असहज वातावरण भोग्न बाध्य भएको हुँदा सरकारले देखा परेका समस्या समाधानमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताउनुुभयो । राज्यको दोहोरो भुमिकाले जनताले सहज सेवा पाउन कठिन भईरहेको हुँदा नीतिमा एक रुपता ल्याउन, मिडियाको पहुँच बिस्तारलाई प्रभावकारी बनाउन, समय सापेक्ष मिडिया सबलीकरणमा ध्यान दिन सकेमा रेडियोले सहज रुपमा काम गर्ने वातावरण बन्ने बताउनुुभयो ।

सामुदायिक रेडियो प्रशारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरीले पछिल्लो समयमा अन्योलग्रस्त अवस्थामा स्वतन्त्र रेडियोको यात्रा कठिनपूर्ण रहेको बेला रेडियो मध्यपश्चिमले पाएको उचाइँ आफैमा अनुकरणीय रहेको बताउनुुभयो । उहाँका अनुसार सेयरकाष्ठे गरेको सर्वेक्षणमा ४२ दशमलव २ प्रतिशत श्रोताले रेडियो सुन्ने गरेकोमा समाचारको विश्वसनीयताका लागि पनि रेडियो सुन्ने श्रोताको संख्या निकै उच्च रहेको छ । यस्तै, ७१ प्रशितले मोबाईलबाट सुन्ने गरेको, रेडियो सेटबाट ३४ प्रतिशत श्रोताले अझै पनि रेडियो सुन्ने गरेको तथा लुम्बिनी प्रदेशमा मात्रै ७० प्रतिशत श्रोताले रेडियो सुन्ने गरेको तथ्यांक छ ।

नेपालका रेडियोलाई डिजिटल युुगमा लैजान अब भुमिका खेल्नुपर्ने बेला आएको उहाँको भनाई छ । सामुदायिक रेडियाले देश रुपान्तरणका लागि खेलेको भुमिकाले अहिलेको प्राप्ति सम्भव भएको हुँदा खोलो तर्यो लौरो बिस्र्यौ भने जस्तै व्यवहार राज्यले गर्न नुहनेमा जोड दिनुुभयो । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, प्रमुख जिल्ला अधिकारी सुशील वैद्यल, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्र दाङका अध्यक्ष तुलसीराम पुन, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, महिला अधिकारकर्मी लक्ष्मी आचार्य, नागरिक समाज दाङका संयोजक केबी मसाल, राप्ती साहित्य परिषदका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटालगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले नागरिकका संचारका माध्यम फेरिएको बेलामा पनि रेडियो मध्यपश्चिमले भुमिका खेलेको बताउनुुभयो । नागरिकका आवाजलाई सरकारसम्म पुर्याउन रेडियोले खेल्दै आएको भुमिकालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुुभयो । जनताको आवाज बोल्ने रेडियोका लागि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुुभयो ।

यसैबीच, रेडियोको स्थापना दिवसको अवसरमा रेडियोमा कार्यरत कर्मचारी र विज्ञापनदातालाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट विज्ञापनदाताका रुपमा शिव मेडिकल हलका मोती खड्का, रेडियोका प्राविधिक सालिकराम चौधरी तथा उत्कृष्ट कार्य संचालक रुपकराज भण्डारीलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको हो ।

संस्थाका उपाध्यक्ष सुदर्शन रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन संस्थाकी सचिव शारदा शर्माले गर्नुुभएको थियो । २०६४ साल जेठ १ गतेबाट औपचारिक प्रशारण थालनी गरेको रेडियोले १७ घण्टा दैनिक रुपमा आफ्ना सामग्री प्रशारण गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, साहित्य, मनोरन्जन, सूचना, प्रविधि, समाचारलगायतका विषय बस्तुलाई मुलभूत रुपमा रेडियोले उठान गर्दै आएको छ ।का प्राविधिक सालिकराम चौधरी तथा उत्कृष्ट कार्य संचालक रुपकराज भण्डारीलाई नगदसहित प्रमाण पत्रले सम्मान गरिएको हो । आवाजहीनको आवाज पश्चिम नेपालको आवाजको मुल नारा बोकेर प्रशारणमा रहेको रेडियोले शिक्षा, स्वास्थ्य, साहित्य, मनोरन्जन, सूचना, प्रविधि, समाचारलगायतका विषय बस्तुलाई मुलभूत रुपमा उठान गर्दै आएको छ ।

तुलसीपुर–१६ बालश्रम मुक्त घोषणा

राप्ती पोष्ट

तुलसीपुर, वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ बालश्रम मुक्त वडा घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीच बालश्रम र दुव्र्यवहारः छैन हामीलाई स्विकार, बाल अधिकारः हामी सबैको सरोकार भन्ने नाराका साथ वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकामा बालश्रम मुक्त वडा घोषणा हुने यो पाँचौ वडा हो । यसअघी वडा नं. १, २, ६ र १८ बालश्रम मुक्त वडा घोषणा भई सकेका छन् । बालश्रम मुक्त वडा घोषणा गर्नको लागि विभिन्न सूचक पार गर्नु पर्ने हुन्छ । वडा नं. १६ मा जम्मा दुई हजार छ सय ३० बालबालिका मध्ये ३५ जना विभिन्न पारिवारिक समस्याले गर्दा आफन्तकोमा बस्दै आएको वडाध्यक्ष शिवानन्द डाँगीले बताउनुभयो । त्यसमध्ये श्रममा रहेका चार जना बालबालिकाहरुलाई श्रममुक्त गरेर अध्ययन गर्नको लागि पाँच÷पाँच हजार रुपैया सहयोग गरेको अध्यक्ष डाँगीले बताउनुभयो ।

अध्यक्ष डाँगीका अनुसार १७ जना बालबालिकाहरुलाई आयआर्जनमा जोडिनको लागि १५÷१५ हजार रुपैयाँ सहयोग गरिएको छ । त्यसैगरी वडाले २० जना बालबालिकाहरुलाई अध्ययनको लागि सहयोग पनि गरेको छ ।
वडाध्यक्ष डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले वडालाई बालश्रम मुक्त भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा उपमेयर स्थानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी, बालविज्ञ नवराज लामिछाने, दुर्गालाल केसी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले बाटो, स्वास्थ्य खानेपानी, पार्टी पौवा लगायत भौतिक विकास गर्नु मात्रै विकास नभएको बताउँदै बालबालिका, महिला, पिछडिएको वर्षको लागि काम गर्नु पनि एक महत्व पूर्ण विकास भएको बताउनुभयो । समाज हुने बालश्रम, बाल हिंसा, रोक्नको लागि वडा नं. १६ ले प्रतिवद्धता जनाएको भन्दै धन्यवाद दिनुभयो । उहाँले आगामी दिनहरुमा पनि वडामा बालश्रम मुक्त घोषणा भएपनि सहि तरिकाले कार्यान्वयन भए नभएको बारेमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा उपमेयर स्यानी चौधरीले वडालाई बालश्रम मुक्त वडा घोषणा गरेसँगै सबै बालबालिका विद्यालय जान सकेका छन या छैनन् र उनीहरुको परिवार अवस्थाको बारेमा पनि जानकारी लिनु पर्ने बताउनुभयो । एउटा कार्यक्रम गरेर मात्रै बालबालिका श्रममुक्त हुन नसक्ने बताउँदै स्थानीय सरकारले बालबालिका सहित उनको परिवारको अवस्था पनि परिवर्तन गर्न तर्फ अग्रसर हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले तुलसीपुरका सबै वडाहरु बालश्रम मुक्त बनाउन तर्फ सबै जना लाग्नु पर्ने बताउनुभयो । यस्तै बालविज्ञ नवराज लामिछाने, लिलाधार वली, नविन पोख्रेल, गिरीराज केसी लगायतले पनि धारणा राख्नुभएको थियो । कार्यक्रममा वडालाई बालश्रम मुक्त गर्नको लागि सहयोग गर्ने, टोल विकास संस्था, विभिन्न संघ संस्था, पत्रकार लगायतलाई सम्मान गरिएको थियो । वडा सदस्य पार्वता कामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मित्रलाल विकेले गर्नुभएको थियो ।

‘एक सय एक’ सोच सार्वजनिक

‘एक सय एक’ सोच सार्वजनिक

राप्ती पोष्ट

तुलसीपुर, वैशाख । पत्रकार तथा सामाजिक अभियन्ता तुफानबावु श्रेष्ठले लेख्नुभएको जिन्दगी बदल्ने एक सय एक सोच शुक्रबार तुलसीपुरमा सार्वजनिक गरिएको छ । सकारात्मक सोचको विकास गराउनका लागि सहयोगी हुने पुस्तकमा एक सय एक वटा विभिन्न विषयहरुलाई समावेश गरिएको छ ।

दुई दशक अघि रेडियोमा ‘शान्त तलाउ’ नामक कार्यक्रम थाल्नुभएका श्रेष्ठले हरेक मानिसमा सकारात्मक सोचको विकास गराउनका लागि पुस्तक लेखेको बताउनुभयो । उहाँले लेख्नुभएको पुस्तकमा ऐतिहासिक बिषय, विभिन्न व्यक्तित्वका प्रेरक प्रसङ्गहरु समावेश गरिएको छ ।

तुफानबाबु श्रेष्ठकै अध्यक्षतामा भएको कार्यक्रममा ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालय राप्ती क्षेत्रकी प्रमुख गीता लगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो । विमोचन समारोहमा बोल्ने वक्ताले पुस्तक जीवन उपयोगी भएको भन्दै पछिल्लो पुस्तालाई यस्ता सकारात्मक सन्देश दिने खालका प्रसङ्ग जानकारी दिन आवश्यक रहेको बताएका थिए । बक्ताहरुले लेखकलाई जिन्दगी बदल्ने एक सय एक सोच पुस्तकलाई हरेक विद्यालय र कलेजमा पु¥याउनसके यसको महत्व अझै बढेर जाने बताएका थिए ।

सो अवसरमा पुस्तकका लेखक श्रेष्ठले पुस्तकको माग बढ्दै गएको बताउँदै थप ५० हजार प्रति प्रकाशन गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले आफूले लामो समयदेखि देख्दै भोग्दै आएका, पढेका र सुनेका कतिपय बिषयलाई पुस्तकमा समेटेको बताउनुभयो ।

पुस्तकको समीक्षा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गर्नु भएको थियो । पुस्तकमा एक सय एकवटा फरक फरक खालका विषयहरु समेटिएको बताउँदै हरेक प्रसङ्ले भिन्नै खालको उर्जा दिने बताउनुभयो । उहाँले समाजमा नैतिकताको ह्रास हुँदै गएको बताउदै समाजमा सकारात्मक सन्देश दिने खालका पुस्तकको खाँचो औल्याउनुभयो ।

सो अवसरमा बोल्दै ब्रम्हकुमारी ईश्वरीय ब्रह्मकुमारी विद्यालयकी प्रमुख गीताले समाजमा सकारात्मक सोच दिने विचारहरुको अभाव हुँदै गएको बताउनुभयो । उहाँले ब्रम्हकुमारी इश्वरिय विश्व विद्यालयको सोचसंग पुस्तकको सोच मिलेको बताउनुभयो । उहाँले पुस्तकको प्रचार प्रसार गरेर सवैको हातमा पुराउन आवश्यक रहेको बताउनुभयो । उहाँले खासगरी युवाहरुलाई सकारात्मक मार्गमा लगाउनका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का पूर्व अध्यक्ष जनप्रतिनिधि नवराज लामिछानेले समाजमा सकारात्मक सन्देश दिने खालका पुस्तकहरुको अभाव रहेको बताउनुभयो । उहाँले यस्ता पुस्तकको प्रचार प्रसार गर्नुपर्ने भन्दै युवाहरुका बीचमा पुस्तक पु¥याउन सुझाव दिनुभयो ।

यस्तै तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसी, औषधी व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकाल, बुद्धप्रकाश सिंह लगायतले पुस्तक पढेपछि सकारात्मक उर्जाको संचार हुने बताउनुभयो । कार्यक्रमको सञ्चालन पत्रकार शरद रेग्मीले गर्नुभएको थियो । पुस्तक पाँच पोखरी प्रकाशन गृह काठमाण्डौबाट प्रकाशन भएको हो ।

राप्ती साहित्य परिषदद्वारा श्रष्टाहरु पुरस्कृत

राप्ती पोष्ट

दाङ, बैशाख । राप्ती क्षेत्रकै जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषदले राप्ती क्षेत्रमा कृयाशिल करिव चार दर्जन श्रष्टालाई पुरस्कृत गरेको छ । ४६ औं स्थापना दिवसका अवसरमा शुक्रबार घोराहीमा श्रष्टाहरुलाई पुरस्कृत एवं सम्मानित गरिएको हो ।

राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष टिकाराम उदाशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपती प्रा. डा. यादवप्रसाद लामिछानेले साहित्यकारहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
अघिल्लो बर्ष कोरोनाका कारण साहित्यकारहरुलाई पुरस्कृत गर्ने कार्यक्रम नगरेको राप्ती साहित्य परिषदले २०७८ र २०७९ का लागि छनौट गरिएका श्रष्टाहरूलाई पुरस्कृत गरेको हो । राप्ती साहित्य परिषदमा सवैभन्दा पहिले स्थापना गरिएका पाँचवटा पुरस्कारको संयुक्त रुप राप्ती साहित्य पुरस्कार अन्तरगत २०७८ को पुरस्कार प्रगतिशील लेखक संघका केन्द्रिय सल्लाहकार समेत रहनुभएका साहित्यकार पद्मप्रसाद शर्मा (दाङ)लाई पुरस्कृत गरिएको थियो । यसैगरी राप्ती साहित्य पुरस्कार २०७९ बाट खेमराज शर्मा (रोल्पा)लाई पुरस्कृत गरिएको थियो ।

परिषदमा स्थापित पुरस्कारहरुमध्य पुरुषोत्तम खनालले स्थापना गर्नुभएको विष्णु–नुमा पुरस्कार २०७९ बाट बालश्रष्टा लक्ष्मी सुवेदी (रोल्पा)लाई पुरस्कृत गरिएको थियो । यस्तै नविन विभाषले स्थापना गर्नुभएको दीलसरी दल अतिरिक्त पुरस्कार –२०७९ बाट शशिराम कार्की (रुकुम पश्चिम) लाई पुरस्कृत गरिएको थियो ।

यसैगरी, नन्दहरी पुरस्कार २०७८ बाट प्रदीराज श्रेष्ठ (दाङ), २०७९ बाट प्रकाशचन्द्र घिमिरे (दाङ), डोमादेवी साहित्य पुरस्कार २०७८ बाट जीतबहादुर शाह (सल्यान), २०७९ बाट बुद्धिप्रकाश शर्मा (सल्यान), ऋषिलक्ष्मी साहित्य पुरस्कार २०७९ बाट रामचन्द्र श्रेष्ठ (रोल्पा), पद्याकूल हास्यव्यंग्य पुरस्कार २०७८ बाट कमल गाउँले (दाङ) पुरस्कृत गरिएको थियो ।
परिषदले देवीचन्द्र साहित्य पुरस्कार २०७८ बाट कमल पोख्रेल (प्युठान), २०७९ बाट केवी मसाल (दाङ), अपामुकुन्द प्रज्ञा पुरस्कार २०७८ बाट दामोदर पौडेल (दाङ), २०७९ बाट वसन्त विवश आचार्य (दाङ), गोपालचन्द्र प्रज्ञा पुरस्कार २०७८ बाट भेषराज पौडेल (दाङ), २०७९ बाट गोविन्द मधुर आचार्य (दाङ), गोमा देवकोटा स्मृति कला पुरस्कार २०७८ बाट चाहना झाँक्री (दाङ), २०७९ बाट शान्ता वली (दाङ), हरिप्रसाद पाण्डेय मीना पाण्डेय कला साहित्य पुरस्कार २०७८ बाट बुद्धिप्रकाश धिताल (दाङ), २०७९ बाट कृष्ण गिरी (दाङ देउखुरी), खोविलाल हुकुमादेवी छन्द पुरस्कार २०७८ बाट पिताम्बर रिजाल (दाङ), २०७९ बाट धनसिंह गिरी (दाङ) लाई पुरस्कार प्रदान गरेको छ ।

परिषदमा स्थापित पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार २०७८ बाट ज्ञानेन्द्र स्वर्णकार (दाङ) र २०७९ बाट प्रकाशप्रिय कुसुम्या (दाङ), पण्डित कपिलमुनि भक्तकुमारी पुरस्कार २०७९ बाट दलबहादुर बस्नेत (दाङ), तिलका तुल्सीराम स्मृति पुरस्कार २०७८ बाट डा.जनार्दन आचार्य (बाँके), २०७९ बाट वीरेन्द्र शाही (सल्यान), चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार २०७८ बाट श्रवण नेपाली (दाङ), २०७९ बाट बिना रोका (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार २०७८ बाट कविता उपाध्याय (रोल्पा), वसन्त वली वसन्ती (दाङ), चन्द्रमधु गीत सङ्गीत पुरस्कार २०७८ बाट लिलावती बुढा (सल्यान), २०७९ बाट घनश्याम केसी (दाङ), ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार २०७८ बाट खगराज न्यौपाने (दाङ), २०७९ बाट प्रमोद धिताल (दाङ) पुरस्कृत हुन लाग्नुभएको केन्द्रीय अध्यक्ष उदासीले जानकारी दिनुभयो ।

यसैगरी, प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार २०७८ बाट हरिप्रसाद भण्डारी (गुल्मी), २०७९ बाट भुवन देवकोटा शरद (दाङ), श्रीबहादुर दिलमाया साहित्य पुरस्कार २०७८ बाट धर्मबहादुर बुढा (रुकुम पूर्व), २०७९ बाट लक्ष्मी मगर संघर्ष (प्युठान), टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०७८ बाट चन्द्र शर्मा (दाङ), २०७९ बाट खगेन्द्र गिरी कोपिला (बाँके) लाई पुरस्कार प्रदान गरिएको थियो । ०७७ र २०७८ मा प्रकाशित साहित्यिक कृतिका लागि २०७७ बाट नीमबहादुर थापा नूरदेवद्वारा लिखित नाकावासीको सपना नियात्रा २०७७ (दाङ) र २०७८ बाट उत्तमकृष्ण मजगैयाँद्वारा लिखित परिक्रमा समालोचना २०७८ लाई राप्ती सिर्जना पुरस्कार प्रदान गरिएको थियो ।

राप्ती साहित्य परिषदले दुई दिन कार्यक्रम गरेर श्रष्टा सम्मान, गजल प्रतियोगिता, साधारण सभा र रचना बाचन कार्यक्रम गरिरहेको छ । पहिलो दिन श्रष्टा सम्मान र गजल प्रतियोगिता आयोजना गरिएको थियो भने आज शनिबार परिषदको बार्षिक साधारण सभा र रचना बाचनको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति डा. लामिछाने, राप्ती साहित्य परिषदका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा साहित्यकार गुरुप्रसाद शर्मा रतन लगायतलाई सम्मान गरिएको थियो । राप्ती साहित्य परिषदले प्रकाशन गर्दै आएको अन्तध्र्वनीको पूर्णाङ्क ७७ गुरुप्रसाद शर्मा विशेषाङ्क पनि सोही अवसरमा सार्वजनिक गरिएको थियो ।

राप्ती साहित्य परिषद २०३४ सालमा स्थापना भएको यस क्षेत्रको जेठो साहित्यिक संस्थाका रुपमा रहेको छ । स्थापनाको समयमा दाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएकोमा एक दशक अघि देखि राप्तीका अन्य चार जिल्लामा पनि शाखा विस्तार गरेको थियो । राज्यको पुनःसंरचना अन्तरगत राप्ती अञ्चलका एक जिल्ला थप गरिएपछि रुकुम पुर्वमा पनि राप्ती साहित्य परिषदको शाखा विस्तार गरिएको छ । राप्ती साहित्य परिषदका बरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले पुरस्कृत प्रतिभाको परिचय गराउनुभएको थियो । कार्यक्रमको संचालन महासचिव रमेश सुवेदीले गर्नुभएको थियो ।

प्रेस स्वतन्त्रता दिवसमा आँखा जाँच

राप्ती पोष्ट

दाङ, २० बैशाख । पत्रकारहरुमा आँखाको जोखिम अत्यधिक हुने भएकाले नेपाल पत्रकार महासंघ दाङले
३० औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार पत्रकारहरुको निशुल्क आँखा जाँच गरिदिएको छ । जिल्लामा रहेका पत्रकारहरुका लागि निःशुल्क आँखा जाँच कार्यक्रम राखिएको दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो ।
राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको थियो । घोराहीमा आयोजना गरिएको निःशुल्क शिविरमा ५७ जना पत्रकारहरुको आँखा जाँच गरिएको थियो । जाँचका क्रममा अधिकांश पत्रकारहरुको आँखा सुक्का देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

पत्रकारहरुको आँखा चिलाउने विझाउने र आँखा सुक्का भएको पाइएको उहाँले बताउनुभयो । यस्तै छ जना पत्रकारहरुमा दृष्टि दोष देखिएको, एकजनाको आँखा डेढो देखिएको थियो भने पाँच जना पत्रकारहरुको आँखामा मासु पलाएको भेटिएको थियो । यादवले डेढो भएको आँखा अप्रेसन पछि स्वभाविक रुपमा हेर्न मिल्ने बन्ने बताउनुभयो । थप उपचार तथा शल्यक्रिया गर्नुपर्नेहरुलाई अस्पतालमा रिफर गरिएको छ ।

सोही क्रममा १८ जना पत्रकारलाई चश्मा निःशुल्क वितरण गरिएको थियो । शिविरमा आँखा जाँच, औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको आँखा जाँच कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्य, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्षहरु केवी मसाल, प्रताव रेग्मी, निवर्तमान अध्यक्ष सविन प्रियासन, सल्लाहकार लक्ष्मी आचार्य, पूर्व केन्द्रीय सदस्यहरु मधुसुदन बैद्य, अजयदीप शर्मा लगायत विभिन्न संघ संगठनका प्रतिनिधि, श्रव्य, दृष्य, छापा र अनलाइन माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव आरके शितलले गर्नुभएको थियो ।

उता विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पनि विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेअनुसार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउँदै आइएको छ ।

काठमाडौंमा नेपाल पत्रकार महासंघले प्रभातफेरी आयोजना ग¥यो । सञ्चार ग्राममा आयोजना गरेको कार्यक्रममा पत्रकार स्तम्भमा माल्यार्पण गरिएको छ । सञ्चारमन्त्री रेखा शर्मा पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । कार्यक्रमा महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेसलाई आक्रमण गर्ने र आफ्नो अनुकूल बनाउने प्रवृत्ति जारी रहेकाले प्रेस जगत सुरक्षित छ भन्ने अवस्था नरहेको बताउनुभयो । प्रेस जगतमाथि आक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा महासंघ रहेको उहाँको भनाई थियो ।

विभिन्न चुनौतिबीच निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था रहेको पोखरेलले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउन नहुने बताउनुभयो । प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने उहाँको भनाई थियो । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ ।

घोराहीको न्यायीक समितिमा ७९ वटा विवाद मिलापत्र

राप्ती पोष्ट

घोराही, बैशाख । घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा घरायसी लेनदेन, जग्गा रोक्का, झैझगडाका मुद्दा उल्लेख रुपमा पर्ने गरेका छन् । अन्य विवादका भन्दा स्थानीय तहको न्यायीक समितिमा घरायसी विवाद सम्बन्धि समस्या लिएर पुग्ने गरेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४५ वटा उजुरी घरायसी समस्यासँग सम्बन्धित मात्रै परेका छन् । पालिकाको कानुनी मामिला शाखाले मंगलबार आयोजना गरेको न्यायीक समितिको तेश्रो त्रैमासिकसम्मको सम्पादित कार्य प्रगति सार्वजनिक गर्दै उजुरीमाथि छलफल गरि मिलापत्र गराउने काम गरेको जनाएको छ ।

न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा हालसम्म एक सय १४ वटा उजुरी परेकोमा ७९ वटा मिलापत्र भएको र ३५ वटा प्रकृयामा रहेको जानकारी गराईएको छ । न्यायीक समितिका अनुसार न्यायीक समितिले ६९ दशमलव २९ प्रतिशत उजुरी उपर मिलापत्र भएको छ ।

जसमा आर्थिक वर्ष २०७८–०७९ बाट जिम्मेवारी सरी आएका २१ वटा विवादमध्ये २० वटा मिलापत्र भएको छ भने एक वटा मात्रै प्रकृयामा रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ अनुसार ३० वटा उजुरी मध्ये २२ वटा मिलापत्र भएको र आठ वटा उजुरी प्रकृयामा रहेको छ जसअनुसार, आलीधुरको १ वटा विवाद परेकोमा मिलापत्र भएको छ ।

ज्याला मजदुरी नदिएको चार उजुरी मध्ये तीन वटा मिलापत्र भएको र एक वटा प्रकृयामा रहेको छ । जेष्ठ नागरिक हेरचाह, पालनपोषण सम्बन्धि दुई वटा उजुरीमध्ये एक वटा मिलापत्र भएको र एक वटा प्रकृयामा रहेको जानकारी गराईएको छ । यसैगरी, नाबालक छोराछोरी वा पतिपत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको १६ उजुरी मध्ये १३ वटा मिलापत्र भएको छ भने १ वटा प्रकृयामा रहेको छ । वार्षिक २९ लाख रुपैयाँसम्मको विगो भएको घरवहाल सुविधा सम्बन्धि १ वटा उजुरी परेको र प्रकृयामा रहेको छ ।

कुलो नहर, पोखरी, अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको चार वटा उजुरी परेकोमा दुई वटा मिलापत्र भएको र दुई वटा प्रकृयामा रहेको छ । न्यायीक समितिका अनुसार दफा ४७ को उपदफा २ अनुसार १८ वटा उजुरी परेकोमा ६३ वटा विवाद मध्ये ३७ वटा विवाद मिलापत्र भएको छ भने २६ वटा विवाद प्रकृयामा रहेको छ ।

जसअनुसार, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा संरचना बनाएको ११ उजुरी परेकोमा ८ वटा मिलापत्र भएको र ३ वटा प्रकृयामा रहेको छ । सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले मिचि खाएको ३ वटा उजुरी परेकोमा १ वटा मिलापत्र भएको र २ वटा प्रकृयामा रहेको छ ।
यसैगरी, गाली बेईज्जतिका २ वटा उजुरी मध्य सबै मिलापत्र भएको छ । ध्वनि प्रदुषण गरि असर पुर्याएको २ उजुरी परेकोमा १ वटा मिलापत्र भएको र १ वटा प्रकृयामा रहेको छ । शुक्रबार र सोमबार नियमित रुपमा काम गरिरहेको न्याीयक समितिले अति जरुरीका विषयमा भने चौबिसै घण्टा उजुरी लिने गरेको जनाएको छ ।

समुदाय स्तरमा समस्या सकेसम्म कम गर्न र हिंसारहित समाज निर्माणका लागि १ देखि ८ नम्बर वडामा न्यायीक समितिको काम, कर्तव्य र अधिकारका बारेमा अभिमुखीकरण गर्न काम पनि भएको न्यायीक समिति संयोजक डिसीले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन कानूनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गर्नुभएको थियो ।

प्रलेस दाङमा दुई लाखको अक्षयकोष स्थापना

हरेक बर्ष एकजनालाई पुरस्कृत गरिने

राप्ती पोष्ट

दाङ, बैशाख । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखामा अधिकारी परिवारले दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी कृष्ण अधिकारीको पहलमा स्थापना गरिएको कृष्ण गायत्री स्मृति प्रतिष्ठानले प्रलेस दाङ शाखामा कृष्ण गायत्री साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हो ।

हरेक बर्ष पुस ३ गते प्रलेसको स्थापना दिवसका दिन पुरस्कार वितरण गरिनेछ । नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका कृष्ण अधिकारीको अध्यक्षतामा हालै गठित कृष्ण गायत्री स्मृति प्रतिष्ठानले राप्ती क्षेत्रका साहित्यकारकालाई पुरस्कृत गर्ने गरी अक्षयकोष स्थापना गरेको हो ।

प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा र केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मालाई कोषका अध्यक्ष अधिकारी, सचिव घनश्याम अधिकारी र सदस्य अरुणकुमार शर्माले दुई लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो । सो रकमबाट आउने व्याजबाट साहित्यकारलाई पुरस्कृत गरिनेछ ।

गएको बैशाख ५ गतेका दिन मात्रै स्थापना गरिएको प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्नेहरुलाई सम्मान गर्ने, साहित्यकारलाई सम्मान गर्ने योजना बनाएको छ । अध्यक्ष कृष्ण अधिकारीले आफ्नी जीवन संगीनीको संझनामा प्रतिष्ठान स्थापना गर्नुभएको हो । प्रतिष्ठानमा उपाध्यक्ष माधव अधिकारी, सचिव घनश्याम अधिकारी, कोषाध्यक्ष कमल अधिकारी, सदस्यहरुमा अरुणकुमार शर्मा, रमेश अधिकारी, यशोदा पण्डित, रश्मी शर्मा, कमला अधिकारी, अनन्त प्रसाद शर्मा र दुर्गाकुमारी उपाध्याय हुनुहुुन्छ ।

रकम हस्तान्तरण कार्यक्रममा प्रलेसका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले साहित्यकारहरुलाई प्रोत्साहन गर्नका लागि पुरस्कार स्थापना गरेकोमा कृष्ण गायत्री स्मृति प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । साहित्यकारले पुरस्कारको आशाले लेख्ने नभइ समाजको परिवर्तनका लागि लेख्ने भएपनि प्रतिष्ठानले साहित्यकारलाई पुरस्कृत गर्नका लागि योजना बनाएको र प्रलेस संग सहकार्य गरेर राम्रो सुरुवात गरेको बताउनुभयो ।

प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाले प्रलेस दाङमा विभिन्न पाँचवटा पुरस्कारहरु रहेको जानकारी दिनुभयो । उहाँले प्रलेसमा स्थापना भएका विभिन्न पुरस्कार मध्य कृष्ण गायत्री साहित्य पुरस्कारका लागि स्थापना गरिएको अक्षयकोष नै सवैभन्दा ठूलो रहेको जानकारी दिनुभयो । उहाँले हरेक बर्ष एक जना साहित्यकारलाई पुरस्कृत गर्ने गरी अक्षयकोषको परिचालन गरिने जानकारी दिनुभयो ।

घोसखोलामा सोलार पुगेपछि विस्थापितको खतरा टर्यो

राप्ती पोष्ट

देउखुरी, बैशाख । राप्ती गाउँपालिकामा विकट बस्ती मानिन्छ देविकोट । त्यो भन्दा पनि विकट रहेको छ घोस खोला । साविक हाँसिपुर गाउँ विकास समिति अन्तरगत रहेको यो बस्ती अहिले राप्ती गाउँपालिकाको वडा नं. ९ मा पर्दछ । राप्ती गाउँपालिकाका रुपमा छ बर्षसम्म पनि विद्युत नपुगेको यो बस्तीमा हालै सोलारबाट विद्युत बाल्ने व्यवस्था मिलाइएको छ ।
राप्ती गाउँपालिकाको पहलमा घोसखोलामा रहेका १३ परिवार रहेको बस्तीमा सोलारबाट विद्युत बाल्ने र मोवाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ । यस अघि घोस खोलाका मानिसहरु मोवाइल चार्ज गर्नका लागि करिव दुई घण्टा हिडेर देविकोट पुग्नुपर्ने बाध्यता थियो । गाउँमा सोलार जोडिएपछि स्थानीयलाई बत्ती बाल्नका लागि मात्रै सहज भएको छैन, मोवाइल चार्ज गर्न समेत सजिलो भएको छ । अध्यारोमा बस्नुपर्ने र अध्यारोमा पढ्नुपर्ने विद्यार्थीहरु पनि यसबाट खुसी भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेबबहादुर वलीका अनुसार घोसखोलाका १३ परिवारलाई ५० वाटको सोलार वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि दुई लाख ६० हजारको हाराहारीमा गाउँपालिकाले रकम खर्च गरेको छ । ग्रामिण बस्तीमा विद्युत पु¥याउन कठिनाई हुने भएकाले सोलारबाट उज्जालो बनाउने अभियान अन्तरगत घोसखोलामा सोलारबाट विद्युतिकरण गरिएको वलीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रकाश विष्ट र उपप्रमुख कमलापती चौधरीको रोवहरमा १३ घर परिवारलाई सोलार हस्तान्तरण गरिएको थियो । घोराहीमा रहेको न्यू ज्योति इनर्जी टे«डर्सका प्रोपाइटर भरतमणि अधिकारीले गाउँमा सोलार जोड्नुभएको थियो । अधिकारीले सवैका घरमा सोलार जोडिएको जानकारी दिंदै सोलार पाएपछि स्थानीय निकै खुसी भएको बताउनुभयो । गाउँपालिकाका अनुसार सोलार पाउनेहरुमा वडा नंं ९ घोसखोलाका रेवतलाल घर्ती, पर्शुराम गाहा, होमबहादुर मस्र्याङ्दी, मोहनलाल घर्ती, भागिराम गाहा, खुमबहादुर मगर, नेत्रबहादुर घर्ती, लोकबहादुर मगर, कुविर घर्ती लगायत हुनुहुन्छ ।

घोसखोलाका स्थानीय रेवतलाल घर्तीका अनुसार आफूहरुको बस्तीमा बत्ती नभएका कारणले गर्दा कतिपय विस्थापित भएका छन् । घोसोलाबाट बसाई सरेर लालमटियाका विभिन्न स्थानमा आएको घर्तीले बताउनुभयो । नजिकैका सवै बस्तीमा उज्ज्यालो हुने भएपनि आफूहरुको बस्तीमा अध्यारो भएपछि स्थानीय बसाइ सरेर सुगम स्थानमा आएका थिए । आफूहरु भने कतै जान नसकेपछि गाउँमै बसेको अर्का स्थानीय लोकबहादुर मगरले बताउनुभयो । बत्ती आइसकेपछि अव गाउँबाट कोही विस्थापित नहुने आशा बढेको मगरले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वलीले राप्ती गाउँपालिकाका अन्य बस्तीहरुमा पनि आधारभूत सुविधा पु¥याउने बारेमा पालिकाले योजना बनाइरहेको बताउनुभयो । बत्ती नपुगेको स्थानमा बत्ती पु¥याउने, पानी नपुगेको स्थानमा पानी पु¥याउने, औषधी उपचारको व्यवस्थागर्ने कुरालाई पालिकाले महत्वका साथ हेरेको पनि वलीले बताउनुभयो ।
वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरको पहलकदमी भएपछि वडाको विकट बस्तीमा सोलार पु¥याउन सम्भव भएको हो । वडा नंं ९ मा विकट बस्तीहरु रहेको भन्दै सुनारीले वडाले विकट बस्तीमा आधारभूत सुविधा पु¥याउने कामलाई तिव्रता दिएको बताउनुभयो । उहाँले वडा नं. ९ राप्ती गाउँपालिकाको सवैभन्दा विकट वडा भएकाले पालिकाले पनि बिषेश रुपमा हेर्नुपर्ने बताउनुभयो ।

कम्प्युटर शिक्षा जुनसुकै कार्यकालागि आवश्यक– डा. गिरी

राप्ती इञ्जिनियरिङमा निःशुल्क कम्प्युटर तालिम

राप्ती पोष्ट

घोराही, बैशाख । घोराहीमा रहेको राप्ती इन्जिनियरीङ कलेजले घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा एसइई दिएर बसेका विद्यार्थीहरुको लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको छ । राप्ती इञ्जिनियरीङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा विश्व विद्यालयका उप—प्राध्यापक निम बहादुर डाँगीले गर्नुभएको थियो ।

एसइई दिएर बसेका विद्यार्थीहरुलाई कम्युटर शिक्षाका बारेमा जानकारी दिनका लागि तालिम आयोजना गरिएको विद्यालयका अध्यक्ष गिरीले बताउनुभयो । उहाँले घोराही–१६ विद्यालयको कार्यालय रहेको क्षेत्र पनि भएको भन्दै विद्यार्थीहरुको खाली समय सदुपयोग होस भनेर कलेजले यस्तो अवसर प्रदान गरेकोब बताउनुभयो । उहाँले कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत यस्तो कार्यक्रम आयोजना गरेको भन्दै कलेजले अवसरबाट फाइदा लिन आग्रह गर्नुभयो ।

कम्प्युटर एक प्राविधिक शिक्षा भएकोले यो शिक्षा जुन सुकै कार्य गर्नका लागि अति आवश्यक रहेको भन्दै गिरीले कम्प्युटर सवैका लागि आवश्यक शिक्षा भइसकेको बताउनुभयो । उहाँले कम्प्युटरको पहुँचमा सवै पुगुन भनेर शिक्षालयले यस्तो तालिम आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका उप—प्राध्यापक निम बहादुर डाँगीले कम्प्युटर शिक्षाले विश्वलाई दो¥याउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्य कम्प्युटरको आधारभूत कोर्ष पनि अति आवश्यक र अनिवार्य रहने भएकोले सबैजना अनुशासित भई तालिम लिन आग्रह गर्नुभयो । कुनै पनि कोर्ष सिक्नको लागि सबै भन्दा पहिले स—साना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान गरिने शिक्षालाई आत्मसाथ गरी सबैले सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै घोराही उप—महानगरपालिका १६ नं. वडा अध्यक्ष ताराबहादुर डाँगीले वडाबासीहरुको लागि निःशुल्क कम्प्युटर तालिमको समय व्यवस्थापन गरिदिएकोमा कलेज परिवारलाई धन्यबाद दिनुभयो । उहाँले कलेजले प्रदान गरेको अवसरको उच्चतम सदुयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका कलेजका निर्देशक मधुसुदन बैद्यले राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम आयोजना गरेर समाजिक उत्तरदायित्व बहन गर्न लागेको बताउनुभयो । कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकोे सञ्चालन विसिए विभागिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।

 

फेरि पनि फोरलेन

सम्पादकिय

कुहीरेपानी–घोराही हुँदै तुलसीपुर जोड्ने सडकको निर्माण अलपत्र रहेको रहेको छ । गएको मंसिर ४ मा भएको निर्वाचनपछि जितेका सांसदहरुले १५ दिन भित्र पुरानो ठेकेदारसंग सँझौता तोडेर भएपनि नयाँ तरिकाले अघि बढ्ने उद्घोष गरेका थिए । यसरी उद्घोष गरेको चार महिना पुगेको छ । निर्वाचनमा होमिएको समयमा फोरलेन सडक चर्चाको विषय बनेको थियो । यो राजनीतिक विषय बनेको थियो । फोरलेन सडकलाई कुनै पनि अवस्थामा राजनीतिको विषय बनाउनु हुँदैन । यो विषय प्राविधिक विषय हो भन्नेमा कम्तीमा संचार जगत ढुक्क थियो । काम नगर्नेको पहिचान गरेर त्यसलाई कारवाहीको दायरामा ल्याउने वा काम गर्नका लागि बाध्य पार्ने भन्दा अरु विकल्प हाम्रो सामुमा केही पनि छैन । यो बीचमा निर्वाचनमा होमिदा कसले बनाएन ? कसले गर्दा बनेन ? हामीले बनाउने थियौं ? वा १५ दिनमा ठेक्का तोडेर भएपनि अघि बढ्छौं भनेर भन्नेहरु आज कुन दुलोमा छिरेका छन् ? अहिले सार्वजनिक रुपमा सडकको काम अघि बढ्न नसक्नुका पछिल्तिर आफूहरुको पनि दोष रहेको कुरा स्वीकार्न तयार छन कि छैनन् ?

पक्कै पनि साँचो कुरा के हो भने कसैलाई आरोपित गर्न निकै सजिलो हुन्छ । कसैलाई केही भनेर आरोप लगाउनुभन्दा पहिले एकपटक गहिरोसंग सोच्नुपर्छ । मैले के आरोप लगाइरहेको छु । मैले के कुरा बोलिरहेको छु । मैले ठिक बोलिरहेको छु कि छैन । चारलेन सडकका बारेमा यस्तै भयो । यहाँका राजनीतिक दलहरु एक भएर कहिल्यै डेलिगेशन भएको थाहा पाइएन । सडक विभागमा गएर धर्नामा बसेको जानकारी आएको छैन् । जनप्रतिनिधिहरुले केही पहल गरेको जस्तो सुनियो र देखियो । यो पहल भनेको कुहिनाले पहाडलाई हानेको जस्तो मात्रै भयो । यो क्षेत्रको सडकको बारेमा यहाँका राजनीतिक दललाई चासो हुनु पर्ने कि नपर्ने, यहाँको नागरिक समाजले चासो दिनु पर्ने कि नपर्ने ? यो विषयमा आवाज उठाउनुपर्ने कि नपर्ने ? कि सधै अरुलाई दोषी देखाएर पानी माथिको ओभानो बनिरहने । पानी माथी बसेर ओभानो छु भन्न सुँहाउँछ कि सुहाउँदैन ? पक्कै पनि सुहाउँदैन । हामी सवैले पहल गर्न सक्यौं भने मात्रै कुनै विषय टुङ्गोमा पुग्ने हो । कुनै विषय सफल हुनेहो । अहिले फोर लेन सडकको कथा जसरी अघि बढीरहेको छ यसैगरी अघि बढीरहदा अरु दुई चार बर्ष यसैगरी वित्नेछ । त्यो भन्दा बढी प्रगति हुनेछैन ।

फोर लेन सडक यतिवेला मृत्यु मार्गका रुपमा रुपान्तरण हुँदै गएकोछ । बैकल्पिक सडकको गुञ्जाइस छैन । घोराहीबाट तुलसीपुर पुग्नका लागि अरु कुनै बैकल्पिक सडक प्रयोग गर्न सकिदैन । अव केही महिनामा बर्षात सुरु हुँदैछ । गएको बर्षात अघि जिल्ला प्रशासन कार्यालयले केही पहल ग¥यो । कतै खाडल पुरिए । गएको बर्षात पछि तुलसीपुुर र घोराही उपमहानगरपालिकाले सडकमा रहेका खाडल पुर्नका लागि पहल गरे । त्यसमा स्थानीको साथ र सहयोग रह्यो । अव फेरि बर्षा लाग्दैछ । सडकमा खाडल ठूला हुँदै गएका छन् । मानिसलाई हिड्न मुस्कील हुन थालेको छ । ठूला सवारीका कारणले गर्दा साना सवारीहरुले सास्ती खेपिरहेका छन् । जहाँनेर बढी खाडल छन् । जहाँनेरको सडक बढी अफ्ठेरो रहेको छ ट्राफिक प्रहरी चेक जाँचका लागि त्यहिनेर बस्ने गरेको छ । साँघुरो सडकलाई फराकिलो पार्ने, खाडल पुर्ने काममा कसैको चासो छैन । सवैभन्दा बढी चासो त सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर सडक निर्माणका लागि लगाउनुपर्नेमा जानुपर्ने थियो । सडकको अवस्था दिन दिनै विग्रदै भएको छ । निर्माण हुने भनेपछि मर्मतको काम भएको छैन । सडकलाई सडकका रुपमा अघि बढाउन ढीला भएको छ । अहिले सडक होइन बगर सरी बनेको छ । यसमा सवैको चासो जानुपर्छ । सवैले चिन्ता गर्नुपर्छ । कसको के दायित्व हो । कसको के जिम्मेवारी हो । दायित्व र जिम्मेवारी बुझेकाहरु निदाइरहेका छन् । झक्झक्याउने बेला आइसक्यो ।