spot_img
Home Blog Page 38

सल्यानको बागचौरमा महायज्ञ सुरु

राप्ती पोष्ट

सल्यान, जेठ । सल्यानको बागचौरमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु भएको छ । बागचौरमा जेष्ठ नागरिकको भवन निर्माणका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण आयोजना गरिएको हो ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण जेठको २० गतेसम्म संचालन हुनेछ ।

जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानले ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी बागचौर नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लगाउन थालिएको हो । यसका साथै धर्म संस्कृतिको रक्षा गर्ने र सल्यानको सुन्दर बागचौर नगरपालिकाको पहिचान गराउने उद्देश्य राखिएको बताइएको छ ।
विभिन्न धार्मिक कार्यक्रमहरु सहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लाग्नु भएका नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान स्वामी केशवाचार्यले श्रीमद् भागवत सप्ताह पूराण कथा वाचन गरिरहनुभएको छ । कार्यक्रम बागचौर नगरपालिका वडा नं. २, बागचौरस्थित सेवा केन्द्र रहेको स्थानमा संचालन भएको छ ।

यसैबीच जेष्ठ नागरिक सेवा समाज बागचौरले महायज्ञमा सहभागी भएर कथा श्रवण गरि पूण्य आर्जन एवं टिका प्रसाद, पञ्चामृत ग्रहण गर्नुका साथै आफू स्वेच्छिक दान गर्नका लागि बागचौर लगायत पाएक पर्ने ठाउँका सम्पुर्ण आमा–बुबा, दाजुभाइ तथा दिदिबहिनी सम्पुर्णलाई निमन्त्रणा गरेको छ ।

कर उठाउन घोराही उपमहानगरपालिकाको कडाई

राप्ती पोष्ट

घोराही, जेठ । घोराही उपमहानगरपालिकाले कर उठाउन कडाइ थालेको छ । आर्थिक बर्ष २०७९÷०८० मा राजश्व संकलनलाई तिव्रता दिनका लागि उपमहानगरपालिकाले कर अभियान थालेको हो । केही दिन यता व्यवसायीको घरदैलोमा कर्मचारीहरु पठाएर व्यवसाय दर्ता गरे नगरेको अनुगमन गरिरहेको घोराही उपमहानगरपालिकाले कर तिर्नका लागि कडाइ गर्न थालेको छ ।

उपमहानगरपालिकाको बजेट तथा राजश्व व्यवस्थापन शाखाले विहीबार सार्वजनिक सूचना जारी गर्दै करको दायरामा नआएकाहरुलाई करको दायरामा आउनका लागि आग्रह गरेको छ । शाखाका अनुसार नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐनबाट प्रदत्तअधिकार बमोजिम स्थानीय तहले सम्पत्ति कर, भूमि कर, व्यवसाय कर, घरजग्गा बहाल कर, विज्ञापन, मनोरञ्जन करलगायतका कर राजश्व तथा सेवा शुल्क र दण्ड जरिमाना लगायतका गैर कर राजश्व लिनसक्ने व्यवस्था बमोजिम घोराही उपमहानगरपालिकाले यस्तो अभियान थालेको जानकारी गराएको छ ।

उपमहानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जार गरेर हरेक वर्ष आर्थिक ऐनमार्फत कर–गैर करका दरहरुनिर्धारण गरी राजश्व संकलन गर्दै आएको जानकारी गराएको छ । नगरको समग्र विकासलाई सबल र दिगो बनाउन नगरपालिकाको राजश्व परिचालनलाई व्यापक बनाई आन्तरिक आयको बढोत्तरी गर्नुपर्ने भएकाले विभिन्न क्षेत्रमा आर्थिक गतिविधि गरिरहेकाहरुलाई करको दायरामा आउन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले यसलाई स्वेच्छिक कर भनेको छ । यस प्रकारको अभियानमा सहभागितालाई जोड दिदै सबै नगरवासीमा घोराही उपमहानगरले करको दायरामा आउनका लागि भनेको छ । जस अनुसार पाँच लाखसम्म पूँजी भएको व्यवसाय नगरपालिका वा वडा कार्यालयमा मात्र दर्ता गर्दा हुने भएपनि पाँच लाख भन्दा माथिको पूँजी भएका व्यवसायहरु घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, ठूला करदाता कार्यालय जहाँ दर्ता भएता पनि व्यवसाय कर स्थानीय तहमा बुझाउनुपर्ने व्यवस्था बमोजिम जुनसुकै प्रकृतिका नाफामूलक व्यवसाय जहाँसुकै दर्ता भएता पनि घोराही उपमहानगर क्षेत्रभित्र सञ्चालन भइरहेको छन् भने वडा कार्यालय वा नगरपालिकामा आई व्यवसाय कुर बुझाउन अनुरोध गरिएको छ ।

यसैगरी घरजग्गा भाडामा लगाउने घर जग्गाधनीले अनिवार्य रुपमा सम्झौता रकमको १० प्रतिशतले हुन आउने बहाल कर नगरपालिका वा वडा कार्यालयमा बुझाउनुपर्नेछ, बहाल कर बुझाउनुपर्ने प्रथम दायित्व घर जग्गाधनीको हुने जानकारी पनि नगरपालिकाले गराएको छ । स्वेच्छिक व्यवसाय बन्द गर्ने तर समयमा व्यवसाय लगत कट्टा नगर्नाले व्यवसाय करको बक्यौता थपिदै जाने र पुस्तौंपुस्तासम्म दायित्व रही रहने भएकोले सञ्चालनमा नरहेका व्यवसाय तुरुन्त बन्द गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकामा दर्ता रहेका कतिपय व्यवसायीले व्यवसाय गर्न छोड्दा पनि नगरपालिकाको रेकर्डमा देखिंदा समस्या हुने गरेको छ ।

यसैगरी मालपोत कर तिर्दा कुनै कित्तामा घर भएता पनि घर नभएको भनी ढाँटी सम्पत्ति कर छल्ने प्रवृत्ति भएकोले अनुगमन गर्दा त्यसो पाइएमा जरिवानासहित घर बनेको सालदेखि नै सम्पत्ति कर लिइने चेतावनी नगरपालिकाले दिएको छ । उपमहानगरपालिकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यवसाय नगरपालिकामा सूचीकृत गराई व्यवसाय करको दायरामा आउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । नगरपालिकाको अनुरोध बमोजिम कर र दर्ताको प्रक्रियामा नआए व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि–२०७९ बमोजिम नगरपालिकाबाट उपलब्ध गराइने सबै सेवा बन्द गराउनुका साथै कानुन बमोजिम आवश्यक कारवाही गरिने घोराही उपमहानगरपालिका बजेट तथा राजश्व व्यवस्थापन शाखाले चेतावनी दिएको छ ।

लुम्विनी प्रदेशमा विकासको बजेट खर्च निराशाजनक

छबि पुरी/राप्ती पोष्ट

घोराही, जेठ । प्रदेश सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ । विगत वर्षहरुमा समयमा विकास बजेट खर्च हुननसक्दा आलोचना खेपेको प्रदेश सरकारले यो पटक समयमै आयोजना सम्पन्न गर्नेदेखि भुक्तानीको काम गर्ने बताएपनि भनाई एकातिर काम अर्कोतिर भएको छ ।

यसलाई वजेट व्यवस्थापनको कमजोरीको रुपमा लिइने गरिएको छ । जेठमा पाएको पैसा असारसम्म हतारमा खर्च गर्नुपर्ने भएकोले त्यसरी गरेको काम सधैँ गुणस्तरीय हुन्छ भन्न नसकिने अवस्था विगतदेखि नै हुँदै आएको छ । जनताले तिरेको करको सही उपयोग हुन नसक्दा वर्षेनी अर्बौ रकम अनावश्यक रुपमा खर्च भईरहेको छ ।

आर्थिक वर्षको अन्त्यमा असारे विकासको नाममा विकास बजेट खर्च हुने परिपार्टी संस्थागत भईसकेको छ । आर्थिक वर्षको अन्त्यमा धमाधम विकास निर्माणको काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न भन्दै विभिन्न प्रयासहरू भए तर यसवर्ष खर्च भएको विकास बजेटको आँकडाले ती उपायहरु पनि प्रभावकारी हुन नसकेको देखिएको छ ।

विकास बजेटका लागि संघ सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले पनि असारको पहिलो हप्ता बजेट ल्याउने छ । स्थानीय सरकारको असार १० सम्ममा बजेट आउने छ । यो अवस्था पुरानै बजेटको अधिकांश रकम विकासका लागि विनियोजन भएपनि खर्च हुन सकिरहेको छैन । केही शीर्षकमा बजेट अभाव भन्दै कटौती गरिएको छ । प्रदेश सरकारले ल्याउने बजेट समयमै खर्च नहुने, कार्यान्वयनका लागि बनाईएका योजनाहरुको प्रकृया अघि नबढ्ने जस्ता कारण आम नागरिकमा निराशा बढ्ने गरेको छ ।

चालु आर्थिक वर्षमा पनि पूँजीगत खर्चको अवस्था उस्तै दयनीय देखिएको छ । ११ औं महिनासम्मको आँकडा हेर्दा बजेटको आधा हिस्सा पनि खर्च हुन सकेको छैन । जसले गर्दा लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९–०८० को बितेको १० महिनामा विकास ३९ दशमलव ७९ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्ष सकिन ५० दिन मात्रै रहँदा उक्त रकम खर्च भएको हो ।

चालु खर्च तर्फ वैशाख मसान्तसम्म ४५ दशमलव ५७ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेको थियो । वैशाख मसान्तसम्म १८ अर्व १ करोड ३५ लाख खर्च भएको छ । जुन खर्च ४२ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बजेट भएर पनि खर्च गर्न नसक्ने परिपाटी केन्द्रदेखि स्थानीय तहसम्म बढेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको खर्चको विवरण अनुसार पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७ लाख बजेट रहेकोमा वैशाख मसान्तसम्म ९ अर्ब ७३ करोड ८९ लाख २० हजार ४ सय ११ रुपैँयाँ खर्च भएको छ । जुन पुँजीगत बजेटको ३९ दशमलव ७९ प्रतिशत हो । चालुतर्फ १८ अर्ब १५ करोड ८६ लाख ५२ हजार बजेट रहेकोमा ८ अर्ब २७ करोड ४५ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो ४५ दशमलव ५७ प्रतिशत हो ।

यसले आर्थिक वर्षको अन्त्यमा आएर विकास बजेट खर्च गर्ने प्रवृत्ति कायम मै रहेको देखाउँछ । प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुसार वैशाखसम्मको प्रदेश सभाको ४९ दशमलव ४६ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ ४२ दशमलव ३६ प्रतिशत र पुँजीगततर्फ ६३ दशमलव १६ प्रतिशत छ । प्रदेश लोकसेवा आयोगको १३० दशमलव ६२ प्रतिशत खर्च भएको छ । जसमा चालु तर्फ १४४ दशमलव ४३ प्रतिशत र पुँजीगततर्फ ९५ दशमलव ९० प्रतिशत खर्च भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ २८ दशमलव ९१ प्रतिशत र पुँजीगततर्फ ८५ प्रतिशत खर्च गरेको छ । आर्थिक मामिला मन्त्रालयको १९ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालुतर्फ २० दशमलव ७८ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव १८ प्रतिशत खर्च भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको ३५ दशमलव ९९ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ ४२ दशमलव ५९ प्रतिशत र पुँजीगततर्फ २२ दशमलव ८४ प्रतिशत खर्च भएको छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको ३० दशमलव ११ प्रतिशत खर्च भएको छ । जस अन्तर्गत चालुतर्फ ३० दशमलव ४१ प्रतिशत र पुँजीगत तर्फ २५ दशमलव ३२ प्रतिशत रकम खर्च भएको छ । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको ४२ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ ३८ दशमलव ४५ प्रतिशत र पुँजीगततर्फ ४३ दशमलव ९५ प्रतिशत रकम खर्च भएको छ । वन तथा बातावरण मन्त्रालयको ४४ दशमलव ७९ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ ६७ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ २६ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको ४२ दशमलव ३८ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ ५१ दशमलव ७९ प्रतिशत र पुँजीगततर्फ ४१ दशमलव ६९ प्रतिशत रकम खर्च भएको छ । खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालयको ४४ दशमलव २८ प्रतिशत खर्च भएको छ । यसमा चालुतर्फ ३६ दशमलव ५८ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलव ८० प्रतिशत रकम खर्च भएको लेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सामाजिक विकास मन्त्रालयको ४५ दशमलव ०७ प्रतिशत रकम खर्च भएको छ । जसमा चालुतर्फ ४७ दशमलव ३१ प्रतिशत र पुँजीगत ३८ दशमलव ५२ प्रतिशत रकम खर्च भएको छ ।

स्वास्थ्य मन्त्रालयको ४१ दशमलव ७१ प्रतिशत रकम खर्च भएको छ । जसमा चालुतर्फ ५३ दशमलव १८ प्रतिशत र पुँजीगततर्फ १८ दशमलव १६ प्रतिशत रकम खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश योजना आयोगको ३३ दशमलव ३७ प्रतिशत रकम खर्च भएको छ । जसमध्ये चालुतर्फ ४१ दशमलव २९ प्रतिशत र पुँजीगत १७ दशमलव १७ प्रतिशत रकम खर्च भएको छ । अर्थ विविधमा रकम खर्च भएको छैन् । स्थानीय तह निकासातर्फ ५९ दशमलव ९६ प्रतिशत खर्च भएको छ ।

अझैपनि खोल्साको पानी पिउनुपर्ने बाध्यता

छबि पुरी/राप्ती पोष्ट

घोराही, जेठ । प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । प्रदेश सरकारले ल्याएको यो कार्यक्रममा स्थानीय पालिकाले पनि साथ दिँदै आएपनि पूर्णता पाउन चुनौति देखिएको छ । दाङका १० वटा पालिकामध्ये अधिकांश पालिकामा अझै सहज खानेपानीको पहुँच पुग्न सकेको छैन । बजार क्षेत्रमा धारामार्फत खानेपानीको व्यवस्था गरिएपनि यो चौबिसै घण्टा उपलब्ध हुन सक्ने अवस्था छैन ।

ग्रामीण क्षेत्रका बस्तीमा परम्परागत रुपमा प्रयोग हुँदै आएका ईनार, ह्याण्डपम्पबाट पानी उपलब्ध हुने भएपनि सुख्खा ठाउँमा जरुवा, खोल्सा, खोलाको पानी पिउनु पर्ने बाध्यता छ । जिल्लाको गढवा गाउँपालिकाको सीमावर्ती क्षेत्रका बासिन्दा पिउने पानीका लागि प्राय संघर्षरत छन् । उनीहरुलाई पानीका लागि खोल्सा, खोला, जरुवाको भरपर्नु पर्ने बाध्यता छ । केही स्थानमा मुहान संरक्षण गरेर पानीको व्यवस्था गरेका स्थानीयले भरपर्दो रुपमा बाह्रै महिना खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् ।

राप्ती गाउँपालिका वडा नम्बर ९ का पहाडी क्षेत्रमा पनि अझै सहज रुपमा पिउने पानीको व्यवस्था हुन सकेको छैन । हिउँद र गर्मी मौसममा यस क्षेत्रमा बासिन्दा खोल्साको जमेको पानी संकलन गरेर जीविकोपार्जन गर्न बाध्य हुन्छन् । आर्सेनिक मिसिएको तथा शुद्धिकरण नभएको पानी खानु उनीहरुको बाध्यता रहेको छ । लमही नगरपालिकाको वडा नम्बर ८, ९ का केही बस्तीमा पनि सहज रुपमा खानेपानीको उपलब्ध हुन सकेको छैन । श्रोतको पानी प्रयोग गर्दै आएका स्थानीयलाई हिउँद र गर्मी मौसममा पानीका लागि दुख झेल्नुपर्छ ।

दाङका दुई उपमहानगरपालिकाका केही वडामा अझै पनि खानेपानी बिस्तार हुन सकेको छैन । घोराहीका विकट मानिएका वडा नम्बर १, २, ५, ११, १२, १९ का बस्तीहरुमा अझै सहज रुपमा खानेपानी बिस्तार हुन सकेको छैन ।
उता, तुलसीपुरका केही वडाबासी पनि खानेपानी कै तड्पिनु पर्ने अवस्था छ । बंगलाचुलीको केही वडाहरु, दंगीशरणको वडा नम्बर २, ३, शान्तिनगरको केही बस्ती, बबईको वडा नम्बर १, २, ३, ७ का केही गाउँमा अझै खानेपानीको हाहाकार छ । केही ठाउँमा मुहान संरक्षण गरेर पाईपमार्फत पानी पुर्याउने प्रयास भएपनि सुरक्षित पानी उपलब्ध हुन सकेको छैन ।
दाङमा एक लाख ६२ हजार दुई सय ६६ परिवार छन् । ती मध्ये धेरै जसो परिवार खानेपानीको जोहो गर्नमै समय बिताउने गरेको छ भने पानी उपलब्ध हुने ठाउँमा पनि सुरक्षित पानी पाउन मुस्किल देखिन्छ । नागरिकले वर्षौदेखि पानीका लागि संघर्ष गरिरहँदा राज्यले यो क्षेत्रमा लगानी गरेको जस्तो गरे पनि उपलब्धी न्यून देखिएको छ । खासगरी, गर्मीको समयमा खोला र कुवा सुकेर काकाकुल बन्दै गर्दा समेत खानेपानीका सरकारी योजना पर्न सकेका छैनन् । परेका योजना पनि वर्षाैंसम्म अधूरा छन् । यो पटक सरकारले उपलब्ध गराउने बजेट पनि सुनिश्चित हुन नसक्दा प्रकृयामा रहेका योजना पनि अलपत्रको अवस्थामा पुगेका छन् ।

प्राय कागजमा चल्ने अभियानले सार्थकता नपाएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले पनि देखाएको छ । जिल्लामा ६५ हजार चार सय ८० परिवारले डिप बोरिङको र २५ हजार छ सय १८ ले कुवा, जरुवाको पानी खाने गरेको तथ्यांक छ । बाँकी परिवार ह्याण्डपम्प, जरुवा र खोलाकै भरमा आर्सेनिक मिसिएको तथा शुद्धिकरण नभएको पानी खान बाध्य छन् । खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी योजनाअन्तर्गत डिप बोरिङ तथा खोला, जरुवाको पानीमा किटनाशक औषधि प्रयोग गर्ने गरेको जानकारी दिनुभयो ।

सतहको पानी प्रयोग हुने ह्याण्डपम्प र कुवाको पानी जमिनको माथिल्लो तहबाटै आउने भएकोले आर्सेनिक र खोलाको पानीमा शुद्धता नहुन सक्छ । खानेपानीका विकासका योजनालाई पूरा गर्न नसक्दा सुरक्षित खानेपानी पिउने सपनामा धक्का लागेको छ । दाङमा अझैपनि ट्युवेल र ह्यान्ड पम्पबाट पानी खाने परिवार १९ हजार छ सय ८१ छन् । कुवाको पानीमा आश्रित परिवार ४२ हजार चार सय ३६ छन् । जसमा नछोपेको खुला कुवाको पानी खाने परिवार १६ हजार छ सय १० छन् । चार हजार छ सय ७१ परिवार त थोपा पानीको भरमा छन । नदी र खोलाको भरमा दुई हजार पाँच सय ६६ परिवार छन् । दाङमा जार र बोतलको पानी खाने परिवार पाँच सय चार मात्रै छन् भने अन्य स्रोतबाट पानी खाने एक हजार दुई सय १० परिवार छन् ।

घोराही उपमहानगरपालिकामा रहेका ४९ हजार सात सय ६१ परिवार मध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा २० हजार आठ सय ९४ परिवार छन् । १८ हजार ५३ परिवार त अझै कुवाको भरमा छन । तुलसीपुर उपमहानगरपालिकामा रहेका ४६ हजार १८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा १७ हजार चार सय ५४ परिवार छन् । १३ हजार आठ सय ७६ परिवार अझै कुवाको भरमा छन् । जसमा चार हजार सात सय ६० परिवारमा खुला कुवा छ । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा छ हजार तीन सय ८४ परिवार छन् । लमहीमा ट्युवेल र ह्यान्डपम्पबाट पानी खाने परिवार चार हजार एक सय सात छन् भने दुई हजार ३१ परिवार कुवाको पानीमा आश्रित छन् । राप्ती गाउँपालिकामा रहेका ११ हजार आठ सय २६ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा छ हजार चार सय ९९ परिवार छन् । १८ हजार ५३ परिवार त अझै कुवाको भरमा छन् । राप्तीमा ट्युवेल र ह्याण्डपम्पबाट पानी खाने परिवार पाँच हजार छ सय सात छन् ।

गढवा गाउँपालिकामा रहेका नौ हजार नौ सय ६४ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा छ हजार आठ सय ९१ परिवार छन् । गढवामा ट्युवेल र ह्याण्डपम्पबाट पानी खाने परिवार पाँच हजार एक सय ६९ छन् भने एक हजार चार सय ३६ परिवार कुवाको भरमा छन् । बंगलाचुली गाउँपालिकामा रहेका पाँच हजार एक सय ३९ परिवारमध्ये खोलाको पानीको भरमा दुई हजार सात सय ३५ परिवार छन् । बंगलाचुलीमा चार सय १९ परिवार कुवाको भरमा छन् भने तीन सय १८ परिवारका कुवा खुला रुपमा रहेका छन । त्यहाँ डिप बोरिङबाट निस्केको पानी खाने परिवार एक हजार तीन सय ६० छ ।

शान्तिनगर गाउँपालिकामा रहेका छ हजार नौ सय १९ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा एक हजार पाँच सय दुई परिवार मात्रै छन् । शान्तिनगरमा कुवाको पानीको भरमा एक हजार १८ परिवार छन् । बबई गाउँपालिकामा रहेका सात हजार सात सय २७ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा एक हजार चार सय ८८ परिवार छन् । बबईमा ट्युवेल र ह्याण्ड पम्पबाट पानी खाने परिवार एक सय ४० छन् भने छ सय १७ परिवार कुवाको पानीको भरमा छन् । दंगीशरण गाउँपालिकामा रहेका पाँच हजार आठ सय २५ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा तीन हजार आठ सय ३८ परिवार छन् ।

दंगीशरणमा तीन हजार दुईसय तीन परिवार त अझै कुवाको भरमा छन् भने त्यहाँ एक हजार तीन सय १६ परिवारले खुला कुवाको पानी खान्छन् । राजपुर गाउँपालिकामा रहेका पाँच हजार आठ सय २९ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा चार हजार छ सय ७१ परिवार छन् । राजपुरमा ट्युवेल र ह्याण्ड पम्पबाट पानी खाने परिवार दुई हजार चार सय २८ छन् भने एक हजार तीन सय ३८ परिवार कुवाको भरमा छन् ।

ह्याण्डपम्प, कुवा र खोलाकै पानीको भरमा धेरै परिवार रहेको जिल्लामा शुरु गरिएका खानेपानीका योजना बजेट अभाव झेल्दै छन् । जिल्लामा यो वर्ष साना ठूला गरेर करीव ३ सय योजना रहेका छन् । क्रमागत योजनाका रुपमा रहेका ५१ वटा आयोजनाको काम यस वर्ष शुरु नै भएको छैन । एक करोडदेखि पाँच करोडसम्मका आयोजनामा ५० हजारका दरले बजेट छुट्याइँदा काम नै शुरु गर्न नसकिएको कार्यालय प्रमुख थापाको भनाई छ ।

काम पूरा भएका र अन्तिम चरणमा रहेका आयोजनाको भुक्तानी गर्न बजेट सुनिश्चित नहुँदा भुक्तानी दिन सक्ने अवस्था पनि नरहेको उहाँले बताउनुभयो । बजेट अभावमा थलिएका र कामै शुरु नभएका खानेपानी आयोजना जिल्लामा एक सय ४२ वटा रहेको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ । जिल्लामा दुई सय ८६ खानेपानीका ठूला साना योजना र केही पुराना आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा सरकारले अति न्यून बजेट छुट्याउँदा क्रमागत योजनासमेत थला परेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । जसले गर्दा जिल्लाका धेरै जसो स्थानमा सहज खानेपानीको पहुँच पुर्याउने लक्ष्यमा धक्का लागेको उहाँको भनाई छ ।

उत्पीडित जातीय मुक्ति समाजको प्रदेश स्तरीय सम्मेलन दाङमा हुने

राप्ती पोष्ट

घोराही, जेठ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको लुम्बिनी प्रदेश कमिटीको प्रथमसम्मेलन यही जेठ २१ हुन लागेको छ । दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा हुने सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट दुई सय जना प्रतिनिधिको सहभागीता रहने सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ ।

प्रदेश अध्यक्ष एवम् सम्मेलन आयोजक मूल समारोह समिति संयोजक नन्द विश्वकर्माको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अधिवेशनका बारेमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस पनि भव्य रुपमा मनाउने बारे जानकारी गराइएको छ ।

सम्मेलनका बारेमा जानकारी गराउँदै संयोजक विश्वकर्माले आफ्नो संयोजकत्वमा पाँच सय सदस्यीय सम्मेलन मूल व्यवस्थापन समिति गठन गरिएको बताउनुभयो । यसैगरी, कमला विश्वकर्माको संयोजकत्वमा १५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ । सि.वि. गहतराजको संयोजकत्वमा १६ सदस्यीय जनपरिचालन समिति, नन्द विश्वकर्माको संयोजकत्वमा संगठनको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, सुरेन्द्र श्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।

उहाँका अनुसार, खाद्य व्यवस्थापनको संयोजकत्वमा चूर्ण नेपालीलाई जिम्मेवारी तोकिएको छ । एकमाया विश्वकर्माको संयोजकत्वमा अतिथि सत्कार समिती गठन गरिएको छ भने ठाकुर प्रसाद ल्वागुनको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिती गठन गरिएको छ ।

मुक्ति समाज नेपालको प्रथम ऐतिहासिक प्रदेश सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गर्दै जेठ २१ गते जातीय छुवाछुत तथा सामाजिक विभेद विरुद्धको राष्ट्रिय दिवश पनि भएकोले जातिय छुवाछुत तथा सामाजिक विभेदको पूर्ण अन्त्यका लागि आगामी रणनीति र योजनासहितको लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको संयोजक विश्वकर्माले बताउनुभयो ।

दलित समुदायको राजनीतिक जनवर्गीय संगठन मुक्ति समाज नेपालको सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न सबैमा उहाँले अपिल गर्नुभएको छ । सो अवसरमा एमाले जिल्ला सचिव बुढाथोकीले एमालेको जनवर्गीय संगठनको प्रदेश स्तरीय प्रथम ऐतिहासिक सम्मेलन सफलताका लागि कुनै कसर बाँकी नराख्ने वचन दिनुभयो ।

नेपालको उत्पीडित दलित मुक्ति आन्दोलनले सबै प्रकारका जातीय भेदभाव तथा छुवाछुतको उन्मूलन गर्न विभिन्न जातजाति, वर्ण लिङ्ग, धर्म संस्कृतिका आधारमा गरिने सबै प्रकारका विभेदलाई अन्त्य गर्न, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा लादिएको भेदभाव, बहिष्करण र ज्यादतीलाई निर्मूल पार्न, नेपालको संविधानको प्रस्तावनाबलाई आत्मसात गर्दै संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन, आवश्यक कानुनको निर्माण गर्दै मर्यादित जीवन जीउन पाउने अधिकारको संरक्षणको लागि प्रत्याभूति दिलाउन संगठनले खेल्दै आएको भूमिकालाई सार्थक बनाउन राजनीतिक रुपमा निर्णायक बनाउने तर्फ अब सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

विद्यमान सामन्तवाद सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा आमूल परिवर्तनका लागि जातपात र छुवाछुत प्रथाको समूल अन्त्य गर्ने उद्देश्यले २०४५ पुस ३ गते संगठनको स्थापना भएको थियो । नेपालको उत्पीडित दलित आन्दोलनलाई एकता, संघर्ष र मूल प्रवाहीकरण गर्दै अगाडी बढ्दै सुदृढ संगठन र परिमाणमुखी आन्दोलन मार्फत पूर्ण मुक्तिका लागि सैद्धान्तिक रुपमा माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिबद्ध रहदै सबैखाले जातीय भेदभाव तथा छुवाछुत अन्त्य गरी समाजवादी राज्य निर्माण गर्ने लक्ष्य बोकेको संगठनको भनाई छ । कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले सुझाव राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन दाङ जिल्ला अध्यक्ष शंकर नेपालीले गर्नुभएको थियो ।

एमाले अझ बलियो बन्दैछ–महासचिव पोखरेल

राप्ती पोष्ट

तुलसीपुर, जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका अराजक तत्व बाहिरिएपछि नेकपा एमाले बलियो र संगठित बन्दै गएको दावी गर्नुभएको छ । उहाँले आफुहरुविरुद्ध मोर्चा बन्दी गरेकै कारण अहिले आफुहरु संसदमा दोस्रो दल बनेको दावी गर्नुभयो ।

नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसलाई शनिबार तुलसीपुरमा सम्वोधन गर्र्दै महासचिव पोखरेलले कानुन बदलेर नेकपा एमाले फुटाउने षडयन्त्र गरि पार्टी विभाजन गरेको समेत बताउनुभयो । ‘पहिले हामीलाई फुटाउन कानुन परिमार्जन समेत गरियो अहिले त्यो कानुन जिवित रहेको भए सायद हामीहरु फेरी पहिलो दलको रुपमा स्थापित हुने थियाँै’ महासचिव पोखरेलले भन्नुभयो ‘अरुलाई खनेको खाडलमा आफै परेका छन्, राम्रो विचारले गरेको काम भए पो सार्थक हुन्थ्यो ।’
उहाँले नेकपा एकिकृत समाजवादीबाट निर्वाचन जितेका सवै सांसदहरु अहिले नेकपा एमालेमै फर्कन चाहेको जिकिर गर्नुभयो । एमालेले लिएको विचार सिद्धान्त र स्पष्ट अडानका कारण अव एमाले बलियो शक्तिको रुपमा उदय हुने समेत उल्लेख गर्नुभयो । महासचिव पोखरेलले आफुहरुले नेपाली कांग्रेस र नेकपा एमाले एकला एकलै चुनाव लडनुपर्छ भनेर प्रस्ताव गर्दा कांग्रेसले आट नगरेको बताउनुभयो ।

‘हामीले लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसलाई एक्ला एक्लै चुनाव लडौँ भनेका हौँ । तर, कांग्रेसले यो विषयमा आँट नगरेर माओवादीको साथ लियो । जसका कारण साना दलले च्याँखे थाप्न पाएका छन्, यो कुरा कांग्रेसले बुझ्न सकेन जसका कारण उसलाई साना दलले दबाउन पाएका छन् ।’ उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी ओरालो लागेको समेत बताउनुभयो । उहाँले पहिलो चुनावमा ३० प्रतिशत मत ल्याएको माओवादीले अहिले १० प्रतिशतमा झरेको बताउँदै अवको चुनावमा त्यो पनि नआउने ठोकुवा गर्नुभयो । उहाँले नेकपा समाजवादी अहिले दाङ जिल्ला कमिटिसहित केन्द्रिय नेताहरु एमालेमा आएको मा स्वागत गर्दै माओवादीका नेताहरुसँग समेत पार्टी प्रवेशका लागि संवाद जारी रहेको बताउनुभयो ।

‘२०७४ सालमा बलियो कम्युनिष्ट पार्टी बनाउने भनेर माओवादीसँग मिलेर चुनाव लडेको र त्यति बेला जनताले पनि साथ दिएर झन्डै २ तिहाई मत प्राप्त भयो । पार्टी अध्यक्ष केपी वलीको नेतृत्वमा सरकार बनेपछि विकास र समृद्धिमा आशा जनाउने काम भएको हो’ उहाँले भन्नुभयो ‘त्यसबाट आतिएकाहरुले विभिन्न बहानामा पार्टी विभाजन गरे । आफु त बिग्रिए नै अरुलाई समेत असर गर्ने कोशिस भयो । यस बारेमा नेकपा एमाले विचलित भएन, जसले गर्दा अहिले जनताको पार्टी बन्न सफल भएको छ ।’

कार्यक्रममा पोख्रेलले नेत्रलाल अभागीको त्याग र तपस्या र आदर्शलाई भुल्न नहुने भन्दै उहाँका कामहरुलाई अनुसरन गर्नुपर्ने बताउनुभयो । एमालेको कम्यूनिष्ट आन्दोलनका गतिशिल पाटी अग्रजहरुलाई सम्मान गर्ने स्मृति दिवसको अवसरमा सम्मान गर्ने गरेको रचनात्मक काम भएको बताउनुभयो । पोलिटव्यूरो सदस्य सुजिता शाक्यले नेपाललाई समृद्ध बनाउन सवै एक भएर लाग्नु पर्ने बताउनुभयो ।

अर्का पोलिटव्यूरो सदस्य एवम् दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले जनताले एमालेका विचारलाई नबुझेको भन्दै जिल्लामा एमाले बलियो भएको अर्को सन्देश अहिले देखाएको बताउनुभयो । कार्यक्रममा पोलिटव्यूरो सदस्य शान्ता चौधरीले यो देशको समृद्धि र विकास गर्ने पाटी एमाले भएको भन्दै स्वतन्त्र पार्टीका तर्फ नलाग्न आग्रह गर्नुभयो ।

४ सय ३० जना एमाले फर्किए

नेकपा समाजवादीको केन्द्रीय नेतादेखि जिल्ला स्तरका अधिकांश नेता नेकपा एमालेका फर्केका छन् । पार्टीका केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङका नेताहरू पुरानै घर एमालेमा फर्किनुभएको छ ।

उहाँहरूलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ । सचिव विश्वासीसँगै नेकपा एसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, दाङ जिल्ला अध्यक्ष सुरामणि बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, शोभा शाह, सचिव डिल्ली डाँगी र सहितका नेताहरू एमालेमा फर्किनुभएको छ ।

एमाले दाङका अनुसार नेकपा एसका ४ सय ३० जना एमालेका फर्केका छन् । पुरानै पार्टी एमालेमा फर्केका नेता विश्वासीले माधव नेपालले पार्टी माओवादीलाई बुझाउने तयारी गरेकाले आफुहरु पुरानै पार्टी एमालेको फर्केको बताउनुभयो । ‘माधव नेपालले समाजवादी पार्टी माओवादीमा मिसाउने तयारी गर्नु भएको छ । त्यो हामीलाई मान्य भएन’ उहाँले भन्नुभयो ‘ त्यही भएर आफनै घर नै प्यारो लागेर फर्केका छौँ।’ उहाँले विगतमा पार्टी विभाजन गरेकोमा आत्मआलोचना समेत गर्नुभयो । ‘पार्टी विभाजन कुनै पनि कोणबाट राम्रो थिएन । तर, त्यो भयो । त्यसमा पनि आत्मालोचना गर्न चाहन्छु’ उहाँले भन्नुभयो ।

पूर्व स्वास्थ्य राज्यमन्त्री केसीले नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक बनेको टिप्पणी गर्नुभयो । ‘नेकपा एस कम्युनिष्ट आन्दोलनको बाधक नै भयो । जनताले देखेको सपना पुरा गर्न एमालेको विकल्प छैन’ उहाँले भन्नुभयो ।


नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता कार्यक्रम भएको थियो । पार्टी उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै शोभाराम बस्नेत, राममणि नेपाली, विष्णु पौडेल, नारायण तर्ताल र महेश चौधरीलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।

सहिद नेत्रलाललाई गाउँमै सँझना

समकालिन र अग्रज लगायत पाँच दर्जनलाई सम्मान

राप्ती पोष्ट

घोराही, जेठ । घोराही उपमहानगरपालिकाको वडा नं. ५ अर्थात साविक धर्ना गाविसमा पर्ने सिसौपुरमा शुक्रबार बेग्लै रौनक थियो । खासै चहल पहल नुहने यहाँ वडा नं. ५ का जेष्ठ नागरिकहरुको जमघट थियो । वडाका विभिन्न गाउँबाट ७० नाघेका जेष्ठ नागरिकहरु, वरपरका गाउँलेहरु बर र पिपलको छहारीमा बसिरहनुभएको थियो । यो गाउँ दङाली कम्युनिष्ट आन्दोलनका नक्षेत्र नेत्रलाल पौडेल अभागीको गाउँ हो । अभागीको घर नजिकै रहेको सिसौपुर चोकमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुनका लागि महिला, बालवालिका, जेष्ठ नागरिक र राजनीतिक व्यक्तित्वहरु सहभागि हुनुभएको थियो ।
सहिद नेत्रलाल पौडेल अभागी स्मृति प्रतिष्ठानको आयोजनामा पहिलो पटक धर्नामा कार्यक्रम आयोजना गरिएको थियो । कहिले देउखुरी, कहिले काठमाडौं, कहिले बर्दिया र कहिले सल्यान पुगेर कार्यक्रम गरिरहेको नेत्रलाल पौडेल स्मृति प्रतिष्ठानले पहिलो पटक नेत्रलाल पौडल अभागीको घर नजिकै गएर कार्यक्रम गरेको थियो । कार्यक्रममा नेत्रलालसंग संगै पढेका, संगै संगत गरेका, संगै हाँस खेल गरेका साविक गाउँ विकास समितिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमालेलाई संस्थागत गर्नका लागि भूमिका खेलेका गाउँपाटि कमिटीका पूर्व सचिव र अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

नेत्रलाल पौडेल अभागीको ४० औं स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा विद्यालयस्तरिय कविता प्रतियोगिता आयोजना गरिएको थियो । जसमा हाइलाइट्स बोर्डिङकी विनिता केसी प्रथम, महेन्द्र मावि धर्नाका रितु पुरी दोस्रो र तुफानी बोहोरा तेस्रो हुनुभएको थियो । विभिन्न विद्यालयमा अध्ययनरत १३ जनाले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष शंभु गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो । उहाँले नेत्रलाल गरिव र निमुखाका नेता हुनुहुुन्थ्यो भन्दै गरिव र उत्पीडितको हित गरेका कारणले गर्दा आज पनि नेत्रलालको सँझना भइरहेको बताउनुभयो । उहाँले नेत्रलालले देखाएको बाटोमा आज हजारौं जना निर्भिकतापूर्वक हिडिरहेको बताउनुभयो । नेत्रलाल पौडेल अभागीले गरेको योगदानको कदर गर्दै आज धर्नामा विकास पुगिरहेको उहाँको धारणा थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सभाषद शान्ता चौधरीले गरिव जनताको हितमा काम गरेका कारणले गर्दा नै आज पनि नेत्रलाल सवैको प्यारो भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरु कस्तो हुनुपर्छ ? कस्तो व्यवहार गर्नुपर्छ । कस्तो जिवन दर्शन अंगाल्नुपर्छ भन्ने कुरा नेत्रलालाई पढेपछि थाहा हुने उहाँको धारणा थियो ।

उक्त अवसरमा नेत्रलाल पौडेलकी धर्मपत्नी विष्णु पौडेलले नेत्रलालसंग विताएका क्षणहरुको सँझना गर्नुभयो । उहाँले पंचायती व्यवस्थाको अन्त्यका लागि हिड्नु भएका नेत्रलालले पाएको दुःख र भोगेका कठिनाइको सँझना गर्नुभयो । उहाँले जतिवेला पनि मृत्यु हुन सक्ने र सरकारी दमनमा पर्न सक्ने जोखिम बोकेर नेत्रलालले राजनीति गरेको बताउनुभयो । श्रीमान राजनीतिमा होमिदा आफूले कष्टका साथ घर सम्हालेको स्मरण पनि उहाँले गर्नुभयो ।

नेत्रलाल पौडेलका बारेमा जानकारी दिंदै प्रतिष्ठानका सदस्य तथा प्रगतिशील लेखक संघका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्माले नेत्रलाल पौडेलले साहित्य, राजनीति, समाजसेवा, शिक्षाका माध्यमबाट योगदान गरेको चर्चा गर्नुभयो । २००१ साल मंसिर ६ गतेका दिन जन्मनुभएका नेत्रलालको निधन २०४१ साल जेठ ६ गतेका दिन भएको मानिन्छ । उहाँ पार्टी कामको शिलशिलामा काठमाडौं जाने क्रममा देउखुरीको नर्तीभन्दा उत्तरतर्फको जंगलमा मृत्यु बरण गर्नुभएको थियो । अर्घाखाँची र दाङका विभिन्न विद्यालयमा अध्यापन गर्नुभएको साथै राजनीतिक यात्राका क्रममा महत्वपूर्ण योगदान पु¥याएको चर्चा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य छविलाल वली, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली काँग्रेसका विष्णुमणि दाहाल, माओवादी केन्द्रका मदन डिसी, स्वतन्त्र पार्टीका नुमबहादुर केसी लगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका सचिव कुलबहादुर केसीले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष सरस्वती खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहिद नेत्रलाल पौडेलकी धर्मपत्नी विष्णु पौडेललाई पनि सम्मान गरिएको थियो । यसैगरी पुराना कम्युनिष्ट नेता देविराम परियारले धर्ना वडा पार्टी कमिटीका लागि भवन निर्माण गर्न एक कट्ठा जमिन उपलव्ध गराउने घोषणा पनि गर्नुभएको थियो । कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।

नेत्रलाल पौडेल अभागीलाई सँझना गर्दा

पद्मप्रसाद शर्मा

आँधी र हुरी नचलेको बेलामा
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नरकट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा लामा कुरा गर्न सक्छ
तर मेरा मित्र,
आँधी र हुरी चलेको वेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसंग पैठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।।
(सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहबाट )
विक्रम सम्वत २००१ साल मंसिर ६ गते (बुधवार एकादशी तिथि) का दिन पिता मोहनलाल उपाध्याय र माता जयन्ती उपाध्यायको कोखबाट धर्नाको सिसैपुरमा नेत्रलाल पौडेल जन्मनु भएको हो । नेत्रलाल पौडेल आठ वर्षको उमेरमा महेन्द्र मिडिल स्कूल धर्नामा भर्ना भएर औपचारिक शिक्षा आरम्भ गर्नु भयो । त्यसो त उहाँका बाबु मोहनलाल उपाध्यायको चाहना अनुसार उहाँले सानै उमेरमा रुद्री ,चण्डी,लघुकौमुदी जस्ता संस्कृतका पुस्तकहरु अध्ययन गरी सक्नु भएको थियो । उहाँका पिता धार्मिक स्वभावको भएकोहुनाले उहाँले आफ्नो छोराले पनि संस्कृत शिक्षाबाट कर्मकाण्ड शिक्षा हासिल गरोस र कर्मकाण्डमा लागोस भन्ने चाहना राख्नु हुन्थ्यो । तर नेत्रलाल पौडेल अभागी त्यसतर्फ लाग्न चाहनु भएन ।

मिडिल स्कुलसम्मको पढाइ धर्नाबाट निमाजेर उहाँ माध्यमिक शिक्षाको लागि पद्मोदय माध्यमिक विद्यालय भरतपुर दाङमा भर्ना हुनु भयो । आर्थिक अभावका कारण उहाँ पद्मोदयमा अध्ययन गर्ने क्रममा खिरिट्टे पछाईको घरमा केटाकेटी (बालबच्चा ) पढाउने सर्तमा डेरा गरेर बस्नु भएको थियो । माध्यमिकसम्मको शिक्षा पद्मोदयबाट हासिल गरेर उहाँ आइ.ए अध्ययनको लागि महेन्द्र कलेज दाङमा भर्नाहुनु भयो । आइ.ए.सम्मको शिक्षा दाङमा अध्ययन गरेर अगाडिको शिक्षा आर्जनका लागि उहाँ काठमाडौं जानु भयो । २०२२ सालमा त्रिभुवन विश्व विद्यालयबाट वि.ए पूरा गरेर सोही साल उहाँ लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लाको चुत्रावेशी स्थित जनज्योति माध्यमिक विद्यालयमा शिक्षक बन्न पुग्नु भयो । करिव दुई वर्ष उहाँले चुत्रावेशीमा अध्यापन गरेर २०२४ सालमा नारायणपुरमा विद्यालय स्थापना गरी प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो । नारायणपुरमा प्रधानाध्यापक बनेर आएदेखि उहाँ दाङको कम्युनिष्ट पार्टीमा सहभागी हुुनुभयो ।
नेत्रलाल पौडेल अभागीका जीवनका पाटाहरु निकै पाइन्छन् । ती मध्ये राजनीति, साहित्य , समाजसेवा, शिक्षक, भाषासेवी, सम्पादक, अनुवादक लगायतका पाइन्छन् । हाइस्कुलमा अध्ययन गर्ने क्रममा नेत्रलाल पौडेल अभागीमा साहित्यिक चेतना बृद्धि भएको पाइन्छ भने उहाँ काठमाडौ अध्ययनका क्रममा चर्चित साहित्यकार श्यामप्रसाद शर्मासंग २०२१ सालमा सामिप्यता रहन गयो । सोही अवसरमा श्याम प्रसादबाट उहाँले प्रगतिशील साहित्यको बारेमा निकै कुरा सिक्ने अवसर प्राप्त गर्नुभयो । यसबाट उहाँको लेखनीमा निखार आउँदै गयो । विक्रम सम्वत २०१५÷१६ सालदेखि नेत्रलाल पौडेल अभागीले साहित्य लेखनमा कलम चलाएको पाइन्छ तापनि वीसको दशकपछिका रचनाहरु बलिया मानिन्छन् । फुट्कर रुपमा रचना प्रकाशित भए पनि उहाँका कृतिका रुपमा भने सीमित मात्रामा मात्र पाइन्छन् । उहाँका प्रकाशित कृतिहरुमा (१) नर्कको कथा खण्डकाब्य (सम्भवतः यो लहर नामक प्रत्रिकामा प्रकाशित भएको ) २०४१, सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासंग्रह २०४२(३) वर्ग प्रेम कविता संग्रह २०६२ रहेका छन् भने फुट्कर रुपमा गीत कविताहरु गोचाली,सुस्केरा, झिसमिसे, संकल्प, आँकुरो, ज्योत्स्ना, राप्ती प्रवाह, जनताका गीतहरु, पौरख, हातेमालो, विद्यार्थी कदम, अक्षलोक, सन्देश, दैनिक निर्णय लगायतका पत्रपत्रिकामा कतै खुला नामबाट त कतै छद्म नामबाट प्रकाशित भएका छन् । आरम्भकालमा अभागी र त्यसपछि भरतपुरे कान्छो ,कवि धर्ना, गोर्की नेपाली , रमा, भुवन केशर, जोशबहादुरलगायतका नामबाट उहाँका रचनाहरु प्रकाशित भएका पाइन्छन् । यसका साथमा उहाँको संझनामा वि.सं.२०४४ सालमा तयार पारिएको श्रद्धान्जली नामक पुस्तकमा “जिम्वाल चन्द र हली सेते कामीको कथा”शीर्षकको काब्य उहाँले नै लेखेको भूमिका सहित आंशिक रुपमा प्रकाशित भएको छ । यो काब्य उहाँले २०२७ साल मार्गमा रचना गर्नु भएको हो । उहाँको देहावसान पछि प्रकाशित कृतिहरुमा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहमा जम्मा ३३ वटा कविता समावेश छन् भने दोश्रो कविता संग्रह वर्ग प्रेममा जम्मा ४७ वटा रचना समावेश छन् । सति साल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहमा सुप्रशिद्ध साहित्यकार मोदनाथ प्रश्रितको भूमिका रहेको छ । उहाँले कवि जस्ता कविता र कविता जस्ता कवि भनेर सम्वोधन गर्नु भएको छ । यसैगरी वर्ग प्रेम कविता संग्रहमा डा. भागवत शर्माको भूमिका रहेको छ । डा. भागवत शर्माले जस्तो देख्यो उस्तै बोल्ने र जस्तो बोल्यो उस्तै लेख्ने प्रखर श्रष्टा भन्नु भएको छ ।

वास्तवममा कवि नेत्रलाल पौडेल अभागीका कविताहरु माक्र्सवादी चिन्तन प्रणाली अनुरुप रहेका पाइन्छन् । उहाँका कविताहरुमा वर्ग चेतना प्रशस्त देख्न पाइन्छ । पढ्दा वा सुन्दा सरल जस्ता लाग्ने कविताहरुले समाज रुपान्तरणको भाषा बोलेका छन् । हरेक वस्तुलाई जीवनसंग दाँजेर हेर्ने र जीवन बदल्नका लागि उपयोग भएका मानिन्छन् । अधिकांश कविताले समाजको सजीव चित्रण गरेका छन् । उहाँका प्रकाशित वा अप्रकाशित कविता वा काब्यमा देशभक्ति,उत्पीडन,शोषण,सामाजिक विकृति, विसंगति,क्रान्ति तथा देशप्रेमलाई विषयवस्तु बनाइएको छ । उहाँका रचनामा उत्पीडित जनताका कथा ब्यथाहरु प्रशस्त मात्रामा पाइन्छन् । यसकारण पनि कवि नेत्रलाल पौडेल अभागीका कविता प्रगतिवादी हुन् भन्न सकिन्छ ।

नेत्रलाल पौडेल अभागीका मौलिक रचनाका अतिरिक्त उहाँले अनुवाद गरेका धेरैै काब्य कृति रहेका छन् । उहाँमा नेपाली,हिन्दी,अंग्रेजी र थारु भाषाको राम्रो ज्ञान थियो । यसैक्रममा उहाँले आफ्ना तथा अन्य रचनाकारका रचनाहरु नेपाली,अंग्रेजी,हिन्दी तथा थारु भाषामा अनुवाद गर्नु भएको पाइन्छ । त्यसो त उहाँले थारु भाषाको शब्दकोष समेत तयार पार्नु भएको थियो । उहाँले अनुवाद गर्नु भएका केही रचनाहरुमा (१) टी.एन. अनमेनका कविताहरु नेपालीमा अनुवाद (२) लियो टल्सटयको क्रुजर सोनाटा उपन्यास नेपालीमा (३) रविन्द्रनाथ टैगोरको गीतान्जली कविताको नेपाली अनुवाद (४) विस्तारै बढदैछ दोन्द्रेएक, रसियन उपन्यासको नेपाली अनुवाद (५) थारु भाषा नेपाली थारु शब्दकोष आदि अनुदित कृति रहे भने अप्रकाशित तर उहाँले आफैले रचना गरेका केही कृतिहरु पनि रहेका छन् जस्तो –नेपाली साहित्य समालोचना,गंङ्गा चिनी खण्डकाब्य, शुक्र महाकाब्य आदि रहेका छन् । यसका अतिरिक्त उहाँले अभागी नामक नाटक तयार पारी अर्धाखाँचीको जनज्योति माध्यमिक विद्यालयमा अध्यापन गर्ने क्रममा अभागी नाटक त्यहाँका विद्यार्थीद्वारा मञ्चन गराइएको पाइन्छ । उल्लिखित सबै कृति अप्रकाशित अवस्थामा रहेका छन् । उहाँ भूमिगत भएपछि पञ्चायती प्रशासनबाट पटक पटक घर खानतलासी भयो । त्यही खानतलासीको क्रममा धेरै पाण्डुलिपि प्रहरीले नष्ट पारेको कुरा उहाँ भूमिगत हुँदा सुनाउने गर्नु हुन्थ्यो ।

कवि नेत्रलाल पौडेल अभागीले कविता,काब्य,नाटकका अतिरिक्त गीत पनि रचना गर्नु भएको पाइन्छ । उहाँले रचना गरेका गीतहरुमा (१) छोरीलाई पढाउँ (२) मित्रजीको नातोलगायत गीतहरु पनि रहेका पाइन्छन् । कवितामा उहाँ जसरी प्रस्तुत हुनु भएको छ गीतमा पनि त्यसैगरी चेतनाको बिगुल फुक्न सक्षम हुनु भएको छ । विक्रम सम्वत २०२३ सालमा अर्घाखाँचीको चुत्रावेशीमा अध्यापनका क्रममा कम्युनिष्ट पार्टीको जिल्ला कमिटीमा रहेर राजनीतिलाई उचाइ दिन लाग्नु भएका नेत्रलाल पौडेल अभागीले साहित्य र समाज सेवालाई पनि एक साथ अगाडि बढाउनु भएको पाइन्छ । २०२४ सालमा अर्घाखाँचीबाट दाङमा आएदेखि उहाँ समाज परिवर्तनको बलियो माध्यम साहित्य, राजनीतितिर समाजसेवालाई अझ बलियो गरी अगाडि बढाउनु भएको पाइन्छ ।

बाल्यकालदेखि आर्थिक अभाव झेल्दै आउनु भएका प्रगतिवादी साहित्यकार नेत्रलाल पौडेल अभागीले धन आर्जनलाई कहिल्यै प्राथमिकतामा राख्नु भएन । साहित्य, राजनीति र समाज सेवालाई एकसाथ अगाडि बढाउन सफल नेत्रलाल पौडेल अभागी २०३० साल साउन २४ गतेका दिन उहाँको नाममा वारेण्ट जारी भयो र उहाँ पञ्चायतमा आत्मसमर्पण गर्नुभन्दा पूर्णरुपले जीवनलाई राष्ट्र र जनताको मुक्तिको लागि जीवन लगाउने निर्णय गर्दै पूर्ण भूमिगत हुनु भयो । भूमिगत कालमा राजनीतिमा संगठन विस्तार गर्ने काममा जुटिरहनु भयो । साहित्य लेखनमा पनि उत्तिकै दत्त चित्तका साथ लागिरहनु भयो । नेत्रलाल पौडेल अभागीले भूमिगत भएकै समयमा फुटकर कविता,खण्डकाब्य,समालोचना,गीत अनुवादहरुका साथै साहित्य अध्ययनलाई समेत प्राथमिकतामा राख्नु भयो ।

नेत्रलाल पौडेल अभागीले रचना गरेका तमाम कविताहरु मध्येमा “सतिसाल मात्र ठिङ्ग उभिन सक्छ” शीर्षकको कविता निकै चर्चित र कालजयी कविता हो । उहाँको साहित्यिक र राजनीतिक चर्चा गर्नेहरुले यस कविताका पंक्तिहरु राम्ररी बुझेका छन् । हरेकका मुखमा यो कविता झुण्डिएको छ । साहित्य र राजनीति एक सिक्काका दुई पाटा हुन् । साहित्य समाज रुपान्तरणका लागि हो भने राजनीति पनि समाज रुपान्तरणको लागि नै हो भन्ने धारणा राम्ररी बुझेका नेत्रलाल पौडेल अभागीले जनताका लागि अति कामलाग्दा गीत कविता तथा काब्य रचना गर्नु भएको छ भन्दा स्वाभाविक मानिन्छ । उहाँका समग्र लेख रचनाको अध्ययन गर्दा विद्रोही भावना छ भन्ने प्रशस्त आधार पाइन्छन् । उहाँका कुनै पनि रचनमा स्तुतिगान पाइदैन । यसबाट पनि विद्रोही भावना र वर्ग प्रेम थियो र त जनताका मुक्तिका खातिर जीवन लगाउनुका साथै कमल चलाउनु भयो भन्न सकिन्छ ।

नेत्रलाल पौडेल अभागीको साहित्यिक योगदानको कदर गर्दै प्रेमप्रसाद राजभण्डारीले “प्रगतिवादी साहित्यमा नेत्रलाल पौडेल अभागी”शीर्षकमा २०६५ सालमा सोधपत्र तयार पर्नु भएको छ भने सुरेश गौतमले “सति साल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहको विवेचना ” शीर्षकमा २०७४ सालमा सोधपत्र तयार पार्नु भएको छ ।
श्रद्धाञ्जली
रोयौं खुब, अकालमै तिमी गयौ फेरी रुँदैनौ. अव
खाली शोक,अदम्य छातीहरुमा बस्दैन फेरि अव ।
छाती थामि उठाउँछौं मुठीहरु रातो सलामी दिन
गर्छांै विह्वल भावमा सबजना श्राद्धञ्जली अर्पण ।।
–गाउँले , दाङ
विशिष्ठ प्रगतिवादी साहित्यकार तथा स्वाभिमानि राजनीतिज्ञ नेत्रलाल पौडेल अभागीको सम्मानको निम्ति जनस्तरबाट “सहिद नेत्रलाल पौडेल अभागी स्मृति प्रतिष्ठान ”गठन भएको छ ।यस प्रतिष्ठानले उहाँको नाममा संग्राहलय तथा पुस्तकालय स्थापना लगायतका रचनात्मक कार्य गर्ने सोंच अगाडि बढाएको छ । यसैगरी हरेक वर्ष साहित्यकार तथा तत्कालिन अवस्थामा आश्रय प्रदान गर्ने सचेत राजनीतिज्ञलाई सम्मानगर्दै आएको छ । आज हामी जसरी भेला भएका छौं यो नेत्रलाल पौडेल अभागीको योगदानको कदर र उहाँप्रति सम्मान गर्नका लागि हो भन्दा गर्व लाग्ने छ । उहाँको बारेमा संक्षिप्तमा यत्ति कुराहरु राख्दै प्रगतिवादी साहित्यकार नेत्रलाल पौडेल अभागीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । अन्तमा
गयौ नेत्र तिमी आज छैनौ नि बुकुरा महाँ ।
समाजका थियौ नेत्र बत्ती नै अंधकारका ।।
सामन्तीहरुका निम्ति मुटुका बह नै थियौ ।
श्रमिक जनका निम्ति मुटुका ढुकढुकी थियौ ।।
सयौं नेत्र तिमीले नै जन्मायौ धरती महाँ ।
नेत्रै नेत्र मिलि हाम्ले गर्ने छौं परिवर्तन ।।
–पद्म
सन्दर्भ स्रोत ः
१)नौलो जनउभार साप्ताहिक वर्ष २ अंक२ २०५६ मंसिर १२गते आइतबार(पद्मप्रसाद शर्मा नेत्र एक व्यक्तित्व अनेक )
२) राज भण्डारी प्रेमप्रसाद । प्रगतिवादी साहित्यमा नेत्रलाल पौडेल अभागी २०६५
३) श्रद्धान्जली , चिनारी प्रकाशन दाङ देउखुरी २०४४
४) शर्मा बामदेव नेत्रलाल अभागीको वर्ग सापेक्ष साहित्य र राजनीतिक यात्रा
५) वर्गप्रेम कविता संग्रह २०६३ प्रकाशक प्रलेस दाङ शाखा ।
६) सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रह २०४२
४०औं स्मृति दिवस २०८०साल जेठ ५ गते सिसैपुर धर्ना ।

 

 

चुनौति झेल्दै दाङका ३५ साबुन उद्योग

छबि पुरी/राप्ती पोष्ट

घोराही, जेठ । बबई गाउँपालिकाको हापुरे बजारमा सञ्चालनमा आएको साबुन उद्योग फस्टाउँदै गएको छ । स्थानीय दयाराम बिकले केही समयअघि साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समय काम गर्ने अवसर पाउनुभएका बिकले अहिले आफैले उद्योग स्थापना गरी साबुन र सर्फ बिक्रीका लागि बजारमा पुर्याउनुभएको छ ।

एक करोड २५ लाख रुपैयाँको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याउनुभएका उहाँले लुगा धुने साबुन र सर्फ पनि बजारमा ल्याउनुभएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालन गर्नुभएको छ । झण्डै तीन करोडको लगानीमा शर्माले साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।

साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताउनुभएका शर्माले मेलिना मल्टिपल प्रालिका नाममा उद्योग स्थापना गरी ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याउनुभएको छ । आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगको लक्ष्य छ ।

पछिल्लो समय विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्नेहरु आत्मनिर्भर बन्दै केहीलाई रोजगारी दिएर काम गरिरहेका छन् । विदेश छाडेर आफ्नै गाउँठाउँमा उद्यम गरेर अरुलाई समेत रोजगारी दिएर शेरसिंह खड्का र तिलराम केसीले पनि काम गर्दै आउनुभएको छ । लमही–६ देउपुरमा सरफ, हार्पिक र भाँडा माझ्ने साबुन उद्योग सञ्चालनमा ल्याएर खड्का र केसीले १० जनालाई रोजगारी समेत दिनुभएका दिनुभएको छ ।

शिवम् सर्फ तथा ट्वाइलेट क्लिनर इण्ड्रष्ट्रिज नामको उद्योग सञ्चालनमा ल्याएको सञ्चालक शर्माले जानकारी दिनुभयो । दुवैजनाको ७५ लाखको संयुक्त लगानीमा उद्योग खोल्नुभएको हो । दाङमा ३५ वटा साबुन तथा सर्फ उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक छ । जस अनुसार घोराहीमा ८ वटा, तुलसीपुरमा १५ वटा, गढवामा ५ वटा, लमहीमा ४ वटा, बबईमा ३ वटा गरी ३५ वटा साबुन र सर्फ सम्बन्धी उद्योग रहेका छन् ।

तुलसीपुरमा रहेका १५ वटा उद्योगमा ३ करोड ४२ लाख ६२ हजार, घोराहीमा रहेका ८ वटा उद्योगमा १ करोड ७ लाख ९९ हजार, गढवामा रहेका ५ वटा उद्योगमा १ करोड २ लाख ६१ हजार, बबईमा रहेका ३ उद्योगमा ४७ लाख ३० हजार, लमहीमा रहेका ४ वटा उद्योगमा ५० लाख ९६ हजार लगानी रहेको छ ।

जिल्लामा कुल ३५ वटा साबुन तथा सर्फ उद्योगमा छ करोड ५१ लाख ४८ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिनुभयो । उक्त उद्योगहरुमा एक सय ४० बढी जनशक्ति परिचालन भएको कार्यालयको भनाई छ । उद्योगले स्थानीय स्तरमा रोजगारी पनि दिन सफल भएको छ ।

स्थानीय स्तरमा रहेका कच्चा पदार्थ प्रयोग गरेर पनि साबुन उद्योगहरुले उत्पादन गरिरहेका छन् । सरसफाईका लागि चाहिने हार्पिक, फिनाईल जस्ता पदार्थ उत्पादनमा पनि उनीहरुको लगानी रहेको कार्यालयले जनाएको छ । खासगरी, विदेशबाट फर्किएकाहरु तथा स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसायका साथ सानो लगानीबाट शुरु गरेको साबुन उद्योगले बजार राम्रै पाईरहेको उद्योग संचालकहरुको भनाई छ । उद्योगको क्षमता बढाएर धेरै उत्पादन गर्ने र बस्तुको लागत घटाउने योजनामा रहेका केही साबुन उद्योग संचालकहरु अहिलेको परिस्थितीका कारण थप लगानी गर्न भने डराएका छन् ।

साबुन तथा सर्फको बजार राम्रै रहेको तथा अरु सरसफाईका सामानले पनि बजार पाईरहेको बेलामा जिल्लामा रहेका ३५ उद्योग पर्याप्त रहेको देखिएको छ । यहाँको जनसंख्या अनुपातमा उद्योगले उत्पादन गरेको बस्तु पर्याप्त रहेको छ । केही उद्योगहरुले आफ्नो उत्पादन अरु जिल्लामा पनि पठाउने गरेका छन् । केही उद्योगहरुले स्थानीय वनमा पाइने वनस्पतिमिश्रित साबुन बनाउने काम गर्दै आएका छन् । चिउरी, गडीको तेल, मालागेडी, तितेपाती र टिमुरको मिश्रणमा नुहाउने साबुन उत्पादन गर्ने गरेको उद्योग संचालकहरुको भनाई छ ।

बढ्दो सहरीकरणसँगै पछिल्लो समय मानिसहरुमा सरसफाईमा साबुन र सर्फको खपत पनि बढेको छ । जस्ले गर्दा यसको व्यवसाय समेत राम्रो चल्ने गरेको छ । बढ्दै गएका साबुन सर्फका उद्योगहरुका कारण बजारमा बिक्रीका लागि लागी चुनौती रहे पनि गुणस्तरीय बस्तु उत्पादन गर्ने उद्योगहरु सफल हुने गरेको अधिकृत बिक्रम केसीले बताउनुभयो ।
जिल्लाभर रहेका सबै उद्योगको उत्पादन क्षमता दैनिक रुपमा धेरै छ । तर, ती उद्योगले माग र आवश्यकताका आधारमा उत्पादन गर्ने गरेका छन् । बजारको अध्ययन नगरी हतारमा खुलेका तथा प्रतिष्पर्धामा आउन नसकेका केही साबुन उद्योग भने बन्द भएका कार्यालयको भनाई छ । उसो त, साबुन बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र यस्ता सामग्रीहरु समयमा उपलव्ध गर्न असहज भएका कारण उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योग सञ्चालकहरु बताउँछन् ।

आज मदन–आश्रित स्मृति दिवस

राप्ती पोष्ट टिम

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको निधन भएको ३० बर्ष पुगेको छ । २०५० साल जेठ ३ गतेका दिन नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परेर ज्यान गएको थियो । नेकपा एमालेका तत्कालिन महासचिव र संगठन विभाग प्रमुखको सँझनामा नेकपा एमालेले देशभर विभिन्न कार्यक्रम आयोजन गरेको छ । सोही क्रममा नेकपा एमाले दाङले जिल्लाका सवै पालिका र वडामा कार्यक्रम आयोजना गरेर नेताद्वयको सँझना गर्दैछ ।

नेपालको बामपन्थी आन्दोलनमा मदन भण्डारीको नाम चम्कीलो रुपमा लेखिएको छ । पंचायती व्यवस्थाको कालो शासन व्यवस्थाबाट भर्खरै मात्र खुल्ला राजनीतिमा प्रवेश गरेको तत्कालिन नेकपा मालेलाई यौटा राम्रो शक्तिका रुपमा स्थापित गराउनका लागि मदन भण्डारीको ठूलो योगदान रहेको छ । मदन भण्डारी जनताले मन पराएको नेता । जनताद्वारा रुचाइएको नेता । जनताले मन पराएको नेता भएका कारणले गर्दा नै होला मदन भण्डारीलाई जननेता भनिएको छ । त्यसैगरी आश्रित पनि कुुशल संगठकका रुपमा हुनुहुन्थ्यो । उहाँलाई एमालेले कुशल संगठकका रुपमा मान्दै आएको छ । उहाँको सांगठनिक क्षमताका कारणले गर्दा पनि नेपालमा कम्युनिष्टहरुको वर्चश्व रहन सकेको हो । अर्थात नेकपा एमालेलाई कुनै बेलाको ठूलो पार्टी बनाउनका लागि आश्रितको सांगठनिक क्षमताले पनि काम गरेको हो भन्ने कुरामा शंका छैन । तत्कालिन एमालेले गुमाएका दुवै जना नेता एमालेका लागि मात्रै लडेका थिएनन । जनताका लागि पनि लडेका थिए । एमालेको स्वार्थका लागि त लडेकै थिए त्यो भन्दा पनि माथि उठेर देशको विकास र अग्रगमनका लागि लडेका थिए । दुवै नेता साच्चीकै श्रद्धाका पात्रका रुपमा रहेका छन । मदन भण्डारी र आश्रित नभएको पनि ३० बर्ष वितेको छ । यो ३० बर्षको अवधिमा नेपालको राजनीतिमा अनेकन उथलपुथल भएका छन ।

नेपालमा जतिवेला मदन भण्डारीले शान्तिरुपमा पनि राजतन्त्र उन्मुलन हुने कल्पना गरिरहनुभएको थियो त्यतिवेला धेरैले पत्याएका थिएनन तर अन्ततः मदन भण्डारीले भने जस्तै गरि शान्तिपूर्ण आन्दोलनले नै नेपालको राजतन्त्रको अन्त्य गर्न सक्यो । नेपालमा राजतन्त्रले यसरी यसरी नेपाली जनताका अधिकारमाथि धावा बोल्न सक्छ भन्ने कुरा गर्नुभएको थियो त्यसैगरी राजाले नागरिकका अधिकारमाथि धावा वोल्ने काम गरेका थिए । यसरी मदन भण्डारी भविश्य देख्न सक्ने र बर्तमानका बारेमा बोल्न सक्ने नेताका रुपमा हुनुहुन्थ्यो भन्न सकिन्छ ।

नेपालमा मदन भण्डारीको अभाव मदन भण्डारीको विचार बोक्ने पार्टीका लागि मात्रै खड्किएको छैन विरोधीहरुलाई पनि यो चासोको विषय बनेको छ । मदन भण्डारी भइदिएको भए मुलुक आजको अवस्थामा जाँदैनथ्यो भन्ने कुरा अहिले धेरैको मुखबाट आउने गरेको छ । यो कुरा त कल्पनाको कुरा मात्रै भयो मात्र कुरा के भने मदन भण्डारीले छोडेर गएको विचार छ नि यसलाई पक्डन सक्ने हो पक्कै पनि सम्वृद्धिको यात्रा टाढा हुने छैन ।

नेकपा एमालेमा मदन भण्डारीको विचारलाई पक्डने सवालमा एमालेमा अझै दृढता आउन सकेको छैन । एमालेले बहुदलिय जनवादमा के कुरा उल्लेख गरिएको छ भन्ने कुरालाई आम रुपमा प्रचार गर्न सेकेको छैन । कतिपय मानिसहरु २०४९ सालमा आएको यो विचारलाई कमा र फुलस्टप पनि परिवर्तन नहुने कुरा गरिहेका छन् भने अर्कोथरी समय अनुसार परिमार्जन गर्नुपर्ने धारणा राख्छन् । जवज भनेको जडसुत्र होइन । यो सिद्धान्त हो । सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ । तर एमालेमा जवजको बुझाइको केही अभाव देखिएको पक्कै हो । एमालेले मदन भण्डारीको विचारलाई पक्डन सकेको भए एमालेको यात्रा २०५४ सालमा भन्दा अझ अघि बढ्ने थियो । एमाले कुनै बेला यो देशको प्रमुख शक्तिका रुपमा थियो । अहिले पनि छ । तर गएको निर्वाचनमा नेकपा एमाले र माओवादी आपसमा मिलेर नेकपा बन्ने घोषणा गरे । जसको फलस्वरुप नेकपा सवैभन्दा ठूलो दलका रुपमा स्थापित भयो । एकता टुट्यो । फेरि नेकपा एमाले र माओवादी आफ्नो बाटोमा लागेका छन् ।

यतिवेला नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा स्थापित छ । अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलन मदन भण्डारीले अघि सारेको विचारको सेरोफेरोमा घुमिरहेको छ । संगै मदन भण्डारीको अभाव यतिवेला फेरि खड्किएको छ । मदन भण्डारी भइदिएको भए आज मुलुक जुन स्थितीमा रहेको छ यस्तो हुने थिएन भन्नेहरु छन् । मदन भण्डारी भइदिएको भए नेपालका कम्युनिष्टहरुका बीचमा धेरै पहिले नै एकता भइसक्ने थियो भन्नेहरु पनि छन् । हामी सवैलाई थाहा छ । जनताको बहुदलिय जनवादका विशेषता भनेको संविधानको सर्वोच्चता, बहुदवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलिय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, बैदेशिक पूँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, बैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढीकरण, जनताको बहुदलीय जनवाद ।

मदन भण्डारीको सपनामा देशको समृद्धि लुकेको छ । जनता सुखी र देश समृद्ध भयो भने मात्रै मदन भण्डारीको सपना साकार हुनेछ । एतिवेला नेकपा एमालेको सरकारले दुई बर्ष काम गर्न सक्यो भने कुनै पनि प्रधानमन्त्रीले पाँच बर्ष लगातार काम गरेको देखिने थियो । विगतमा सरकार परिवर्तनमा लागिरहने दलहरुको स्वभाव यो बीचमा पनि देखिएको छ । सरकारमा जाने, सुखभोग गर्ने भन्दा पनि जनतालाई कसरी सुविधा दिने, जनतालाई कसरी सुरक्षा दिने भन्ने कुरामा दलहरुको ध्यान जानुपर्ने थियो । तर नेपालका कुनै पनि राजनीतिक दलदहरु जनताप्रति समर्पित देखिएका छैनन् । जनता भनेका ज्युदा भगवान हुन भन्ने मदन भण्डारी र पार्टी संगठनलाई जनताको हितमा लगाउनुपर्छ भन्ने कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।