spot_img
spot_img

नेत्रलाल पौडेल अभागीलाई सँझना गर्दा

पद्मप्रसाद शर्मा

आँधी र हुरी नचलेको बेलामा
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नरकट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा लामा कुरा गर्न सक्छ
तर मेरा मित्र,
आँधी र हुरी चलेको वेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसंग पैठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।।
(सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहबाट )
विक्रम सम्वत २००१ साल मंसिर ६ गते (बुधवार एकादशी तिथि) का दिन पिता मोहनलाल उपाध्याय र माता जयन्ती उपाध्यायको कोखबाट धर्नाको सिसैपुरमा नेत्रलाल पौडेल जन्मनु भएको हो । नेत्रलाल पौडेल आठ वर्षको उमेरमा महेन्द्र मिडिल स्कूल धर्नामा भर्ना भएर औपचारिक शिक्षा आरम्भ गर्नु भयो । त्यसो त उहाँका बाबु मोहनलाल उपाध्यायको चाहना अनुसार उहाँले सानै उमेरमा रुद्री ,चण्डी,लघुकौमुदी जस्ता संस्कृतका पुस्तकहरु अध्ययन गरी सक्नु भएको थियो । उहाँका पिता धार्मिक स्वभावको भएकोहुनाले उहाँले आफ्नो छोराले पनि संस्कृत शिक्षाबाट कर्मकाण्ड शिक्षा हासिल गरोस र कर्मकाण्डमा लागोस भन्ने चाहना राख्नु हुन्थ्यो । तर नेत्रलाल पौडेल अभागी त्यसतर्फ लाग्न चाहनु भएन ।

मिडिल स्कुलसम्मको पढाइ धर्नाबाट निमाजेर उहाँ माध्यमिक शिक्षाको लागि पद्मोदय माध्यमिक विद्यालय भरतपुर दाङमा भर्ना हुनु भयो । आर्थिक अभावका कारण उहाँ पद्मोदयमा अध्ययन गर्ने क्रममा खिरिट्टे पछाईको घरमा केटाकेटी (बालबच्चा ) पढाउने सर्तमा डेरा गरेर बस्नु भएको थियो । माध्यमिकसम्मको शिक्षा पद्मोदयबाट हासिल गरेर उहाँ आइ.ए अध्ययनको लागि महेन्द्र कलेज दाङमा भर्नाहुनु भयो । आइ.ए.सम्मको शिक्षा दाङमा अध्ययन गरेर अगाडिको शिक्षा आर्जनका लागि उहाँ काठमाडौं जानु भयो । २०२२ सालमा त्रिभुवन विश्व विद्यालयबाट वि.ए पूरा गरेर सोही साल उहाँ लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लाको चुत्रावेशी स्थित जनज्योति माध्यमिक विद्यालयमा शिक्षक बन्न पुग्नु भयो । करिव दुई वर्ष उहाँले चुत्रावेशीमा अध्यापन गरेर २०२४ सालमा नारायणपुरमा विद्यालय स्थापना गरी प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भयो । नारायणपुरमा प्रधानाध्यापक बनेर आएदेखि उहाँ दाङको कम्युनिष्ट पार्टीमा सहभागी हुुनुभयो ।
नेत्रलाल पौडेल अभागीका जीवनका पाटाहरु निकै पाइन्छन् । ती मध्ये राजनीति, साहित्य , समाजसेवा, शिक्षक, भाषासेवी, सम्पादक, अनुवादक लगायतका पाइन्छन् । हाइस्कुलमा अध्ययन गर्ने क्रममा नेत्रलाल पौडेल अभागीमा साहित्यिक चेतना बृद्धि भएको पाइन्छ भने उहाँ काठमाडौ अध्ययनका क्रममा चर्चित साहित्यकार श्यामप्रसाद शर्मासंग २०२१ सालमा सामिप्यता रहन गयो । सोही अवसरमा श्याम प्रसादबाट उहाँले प्रगतिशील साहित्यको बारेमा निकै कुरा सिक्ने अवसर प्राप्त गर्नुभयो । यसबाट उहाँको लेखनीमा निखार आउँदै गयो । विक्रम सम्वत २०१५÷१६ सालदेखि नेत्रलाल पौडेल अभागीले साहित्य लेखनमा कलम चलाएको पाइन्छ तापनि वीसको दशकपछिका रचनाहरु बलिया मानिन्छन् । फुट्कर रुपमा रचना प्रकाशित भए पनि उहाँका कृतिका रुपमा भने सीमित मात्रामा मात्र पाइन्छन् । उहाँका प्रकाशित कृतिहरुमा (१) नर्कको कथा खण्डकाब्य (सम्भवतः यो लहर नामक प्रत्रिकामा प्रकाशित भएको ) २०४१, सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कवितासंग्रह २०४२(३) वर्ग प्रेम कविता संग्रह २०६२ रहेका छन् भने फुट्कर रुपमा गीत कविताहरु गोचाली,सुस्केरा, झिसमिसे, संकल्प, आँकुरो, ज्योत्स्ना, राप्ती प्रवाह, जनताका गीतहरु, पौरख, हातेमालो, विद्यार्थी कदम, अक्षलोक, सन्देश, दैनिक निर्णय लगायतका पत्रपत्रिकामा कतै खुला नामबाट त कतै छद्म नामबाट प्रकाशित भएका छन् । आरम्भकालमा अभागी र त्यसपछि भरतपुरे कान्छो ,कवि धर्ना, गोर्की नेपाली , रमा, भुवन केशर, जोशबहादुरलगायतका नामबाट उहाँका रचनाहरु प्रकाशित भएका पाइन्छन् । यसका साथमा उहाँको संझनामा वि.सं.२०४४ सालमा तयार पारिएको श्रद्धान्जली नामक पुस्तकमा “जिम्वाल चन्द र हली सेते कामीको कथा”शीर्षकको काब्य उहाँले नै लेखेको भूमिका सहित आंशिक रुपमा प्रकाशित भएको छ । यो काब्य उहाँले २०२७ साल मार्गमा रचना गर्नु भएको हो । उहाँको देहावसान पछि प्रकाशित कृतिहरुमा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहमा जम्मा ३३ वटा कविता समावेश छन् भने दोश्रो कविता संग्रह वर्ग प्रेममा जम्मा ४७ वटा रचना समावेश छन् । सति साल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहमा सुप्रशिद्ध साहित्यकार मोदनाथ प्रश्रितको भूमिका रहेको छ । उहाँले कवि जस्ता कविता र कविता जस्ता कवि भनेर सम्वोधन गर्नु भएको छ । यसैगरी वर्ग प्रेम कविता संग्रहमा डा. भागवत शर्माको भूमिका रहेको छ । डा. भागवत शर्माले जस्तो देख्यो उस्तै बोल्ने र जस्तो बोल्यो उस्तै लेख्ने प्रखर श्रष्टा भन्नु भएको छ ।

वास्तवममा कवि नेत्रलाल पौडेल अभागीका कविताहरु माक्र्सवादी चिन्तन प्रणाली अनुरुप रहेका पाइन्छन् । उहाँका कविताहरुमा वर्ग चेतना प्रशस्त देख्न पाइन्छ । पढ्दा वा सुन्दा सरल जस्ता लाग्ने कविताहरुले समाज रुपान्तरणको भाषा बोलेका छन् । हरेक वस्तुलाई जीवनसंग दाँजेर हेर्ने र जीवन बदल्नका लागि उपयोग भएका मानिन्छन् । अधिकांश कविताले समाजको सजीव चित्रण गरेका छन् । उहाँका प्रकाशित वा अप्रकाशित कविता वा काब्यमा देशभक्ति,उत्पीडन,शोषण,सामाजिक विकृति, विसंगति,क्रान्ति तथा देशप्रेमलाई विषयवस्तु बनाइएको छ । उहाँका रचनामा उत्पीडित जनताका कथा ब्यथाहरु प्रशस्त मात्रामा पाइन्छन् । यसकारण पनि कवि नेत्रलाल पौडेल अभागीका कविता प्रगतिवादी हुन् भन्न सकिन्छ ।

नेत्रलाल पौडेल अभागीका मौलिक रचनाका अतिरिक्त उहाँले अनुवाद गरेका धेरैै काब्य कृति रहेका छन् । उहाँमा नेपाली,हिन्दी,अंग्रेजी र थारु भाषाको राम्रो ज्ञान थियो । यसैक्रममा उहाँले आफ्ना तथा अन्य रचनाकारका रचनाहरु नेपाली,अंग्रेजी,हिन्दी तथा थारु भाषामा अनुवाद गर्नु भएको पाइन्छ । त्यसो त उहाँले थारु भाषाको शब्दकोष समेत तयार पार्नु भएको थियो । उहाँले अनुवाद गर्नु भएका केही रचनाहरुमा (१) टी.एन. अनमेनका कविताहरु नेपालीमा अनुवाद (२) लियो टल्सटयको क्रुजर सोनाटा उपन्यास नेपालीमा (३) रविन्द्रनाथ टैगोरको गीतान्जली कविताको नेपाली अनुवाद (४) विस्तारै बढदैछ दोन्द्रेएक, रसियन उपन्यासको नेपाली अनुवाद (५) थारु भाषा नेपाली थारु शब्दकोष आदि अनुदित कृति रहे भने अप्रकाशित तर उहाँले आफैले रचना गरेका केही कृतिहरु पनि रहेका छन् जस्तो –नेपाली साहित्य समालोचना,गंङ्गा चिनी खण्डकाब्य, शुक्र महाकाब्य आदि रहेका छन् । यसका अतिरिक्त उहाँले अभागी नामक नाटक तयार पारी अर्धाखाँचीको जनज्योति माध्यमिक विद्यालयमा अध्यापन गर्ने क्रममा अभागी नाटक त्यहाँका विद्यार्थीद्वारा मञ्चन गराइएको पाइन्छ । उल्लिखित सबै कृति अप्रकाशित अवस्थामा रहेका छन् । उहाँ भूमिगत भएपछि पञ्चायती प्रशासनबाट पटक पटक घर खानतलासी भयो । त्यही खानतलासीको क्रममा धेरै पाण्डुलिपि प्रहरीले नष्ट पारेको कुरा उहाँ भूमिगत हुँदा सुनाउने गर्नु हुन्थ्यो ।

कवि नेत्रलाल पौडेल अभागीले कविता,काब्य,नाटकका अतिरिक्त गीत पनि रचना गर्नु भएको पाइन्छ । उहाँले रचना गरेका गीतहरुमा (१) छोरीलाई पढाउँ (२) मित्रजीको नातोलगायत गीतहरु पनि रहेका पाइन्छन् । कवितामा उहाँ जसरी प्रस्तुत हुनु भएको छ गीतमा पनि त्यसैगरी चेतनाको बिगुल फुक्न सक्षम हुनु भएको छ । विक्रम सम्वत २०२३ सालमा अर्घाखाँचीको चुत्रावेशीमा अध्यापनका क्रममा कम्युनिष्ट पार्टीको जिल्ला कमिटीमा रहेर राजनीतिलाई उचाइ दिन लाग्नु भएका नेत्रलाल पौडेल अभागीले साहित्य र समाज सेवालाई पनि एक साथ अगाडि बढाउनु भएको पाइन्छ । २०२४ सालमा अर्घाखाँचीबाट दाङमा आएदेखि उहाँ समाज परिवर्तनको बलियो माध्यम साहित्य, राजनीतितिर समाजसेवालाई अझ बलियो गरी अगाडि बढाउनु भएको पाइन्छ ।

बाल्यकालदेखि आर्थिक अभाव झेल्दै आउनु भएका प्रगतिवादी साहित्यकार नेत्रलाल पौडेल अभागीले धन आर्जनलाई कहिल्यै प्राथमिकतामा राख्नु भएन । साहित्य, राजनीति र समाज सेवालाई एकसाथ अगाडि बढाउन सफल नेत्रलाल पौडेल अभागी २०३० साल साउन २४ गतेका दिन उहाँको नाममा वारेण्ट जारी भयो र उहाँ पञ्चायतमा आत्मसमर्पण गर्नुभन्दा पूर्णरुपले जीवनलाई राष्ट्र र जनताको मुक्तिको लागि जीवन लगाउने निर्णय गर्दै पूर्ण भूमिगत हुनु भयो । भूमिगत कालमा राजनीतिमा संगठन विस्तार गर्ने काममा जुटिरहनु भयो । साहित्य लेखनमा पनि उत्तिकै दत्त चित्तका साथ लागिरहनु भयो । नेत्रलाल पौडेल अभागीले भूमिगत भएकै समयमा फुटकर कविता,खण्डकाब्य,समालोचना,गीत अनुवादहरुका साथै साहित्य अध्ययनलाई समेत प्राथमिकतामा राख्नु भयो ।

नेत्रलाल पौडेल अभागीले रचना गरेका तमाम कविताहरु मध्येमा “सतिसाल मात्र ठिङ्ग उभिन सक्छ” शीर्षकको कविता निकै चर्चित र कालजयी कविता हो । उहाँको साहित्यिक र राजनीतिक चर्चा गर्नेहरुले यस कविताका पंक्तिहरु राम्ररी बुझेका छन् । हरेकका मुखमा यो कविता झुण्डिएको छ । साहित्य र राजनीति एक सिक्काका दुई पाटा हुन् । साहित्य समाज रुपान्तरणका लागि हो भने राजनीति पनि समाज रुपान्तरणको लागि नै हो भन्ने धारणा राम्ररी बुझेका नेत्रलाल पौडेल अभागीले जनताका लागि अति कामलाग्दा गीत कविता तथा काब्य रचना गर्नु भएको छ भन्दा स्वाभाविक मानिन्छ । उहाँका समग्र लेख रचनाको अध्ययन गर्दा विद्रोही भावना छ भन्ने प्रशस्त आधार पाइन्छन् । उहाँका कुनै पनि रचनमा स्तुतिगान पाइदैन । यसबाट पनि विद्रोही भावना र वर्ग प्रेम थियो र त जनताका मुक्तिका खातिर जीवन लगाउनुका साथै कमल चलाउनु भयो भन्न सकिन्छ ।

नेत्रलाल पौडेल अभागीको साहित्यिक योगदानको कदर गर्दै प्रेमप्रसाद राजभण्डारीले “प्रगतिवादी साहित्यमा नेत्रलाल पौडेल अभागी”शीर्षकमा २०६५ सालमा सोधपत्र तयार पर्नु भएको छ भने सुरेश गौतमले “सति साल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रहको विवेचना ” शीर्षकमा २०७४ सालमा सोधपत्र तयार पार्नु भएको छ ।
श्रद्धाञ्जली
रोयौं खुब, अकालमै तिमी गयौ फेरी रुँदैनौ. अव
खाली शोक,अदम्य छातीहरुमा बस्दैन फेरि अव ।
छाती थामि उठाउँछौं मुठीहरु रातो सलामी दिन
गर्छांै विह्वल भावमा सबजना श्राद्धञ्जली अर्पण ।।
–गाउँले , दाङ
विशिष्ठ प्रगतिवादी साहित्यकार तथा स्वाभिमानि राजनीतिज्ञ नेत्रलाल पौडेल अभागीको सम्मानको निम्ति जनस्तरबाट “सहिद नेत्रलाल पौडेल अभागी स्मृति प्रतिष्ठान ”गठन भएको छ ।यस प्रतिष्ठानले उहाँको नाममा संग्राहलय तथा पुस्तकालय स्थापना लगायतका रचनात्मक कार्य गर्ने सोंच अगाडि बढाएको छ । यसैगरी हरेक वर्ष साहित्यकार तथा तत्कालिन अवस्थामा आश्रय प्रदान गर्ने सचेत राजनीतिज्ञलाई सम्मानगर्दै आएको छ । आज हामी जसरी भेला भएका छौं यो नेत्रलाल पौडेल अभागीको योगदानको कदर र उहाँप्रति सम्मान गर्नका लागि हो भन्दा गर्व लाग्ने छ । उहाँको बारेमा संक्षिप्तमा यत्ति कुराहरु राख्दै प्रगतिवादी साहित्यकार नेत्रलाल पौडेल अभागीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । अन्तमा
गयौ नेत्र तिमी आज छैनौ नि बुकुरा महाँ ।
समाजका थियौ नेत्र बत्ती नै अंधकारका ।।
सामन्तीहरुका निम्ति मुटुका बह नै थियौ ।
श्रमिक जनका निम्ति मुटुका ढुकढुकी थियौ ।।
सयौं नेत्र तिमीले नै जन्मायौ धरती महाँ ।
नेत्रै नेत्र मिलि हाम्ले गर्ने छौं परिवर्तन ।।
–पद्म
सन्दर्भ स्रोत ः
१)नौलो जनउभार साप्ताहिक वर्ष २ अंक२ २०५६ मंसिर १२गते आइतबार(पद्मप्रसाद शर्मा नेत्र एक व्यक्तित्व अनेक )
२) राज भण्डारी प्रेमप्रसाद । प्रगतिवादी साहित्यमा नेत्रलाल पौडेल अभागी २०६५
३) श्रद्धान्जली , चिनारी प्रकाशन दाङ देउखुरी २०४४
४) शर्मा बामदेव नेत्रलाल अभागीको वर्ग सापेक्ष साहित्य र राजनीतिक यात्रा
५) वर्गप्रेम कविता संग्रह २०६३ प्रकाशक प्रलेस दाङ शाखा ।
६) सतिसाल मात्र ठिङ्ग उभिन सक्छ कविता संग्रह २०४२
४०औं स्मृति दिवस २०८०साल जेठ ५ गते सिसैपुर धर्ना ।

 

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img