spot_img
spot_img

घोराहीको न्यायीक समितिमा ७९ वटा विवाद मिलापत्र

राप्ती पोष्ट

घोराही, बैशाख । घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा घरायसी लेनदेन, जग्गा रोक्का, झैझगडाका मुद्दा उल्लेख रुपमा पर्ने गरेका छन् । अन्य विवादका भन्दा स्थानीय तहको न्यायीक समितिमा घरायसी विवाद सम्बन्धि समस्या लिएर पुग्ने गरेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४५ वटा उजुरी घरायसी समस्यासँग सम्बन्धित मात्रै परेका छन् । पालिकाको कानुनी मामिला शाखाले मंगलबार आयोजना गरेको न्यायीक समितिको तेश्रो त्रैमासिकसम्मको सम्पादित कार्य प्रगति सार्वजनिक गर्दै उजुरीमाथि छलफल गरि मिलापत्र गराउने काम गरेको जनाएको छ ।

न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा हालसम्म एक सय १४ वटा उजुरी परेकोमा ७९ वटा मिलापत्र भएको र ३५ वटा प्रकृयामा रहेको जानकारी गराईएको छ । न्यायीक समितिका अनुसार न्यायीक समितिले ६९ दशमलव २९ प्रतिशत उजुरी उपर मिलापत्र भएको छ ।

जसमा आर्थिक वर्ष २०७८–०७९ बाट जिम्मेवारी सरी आएका २१ वटा विवादमध्ये २० वटा मिलापत्र भएको छ भने एक वटा मात्रै प्रकृयामा रहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ अनुसार ३० वटा उजुरी मध्ये २२ वटा मिलापत्र भएको र आठ वटा उजुरी प्रकृयामा रहेको छ जसअनुसार, आलीधुरको १ वटा विवाद परेकोमा मिलापत्र भएको छ ।

ज्याला मजदुरी नदिएको चार उजुरी मध्ये तीन वटा मिलापत्र भएको र एक वटा प्रकृयामा रहेको छ । जेष्ठ नागरिक हेरचाह, पालनपोषण सम्बन्धि दुई वटा उजुरीमध्ये एक वटा मिलापत्र भएको र एक वटा प्रकृयामा रहेको जानकारी गराईएको छ । यसैगरी, नाबालक छोराछोरी वा पतिपत्नीलाई ईज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको १६ उजुरी मध्ये १३ वटा मिलापत्र भएको छ भने १ वटा प्रकृयामा रहेको छ । वार्षिक २९ लाख रुपैयाँसम्मको विगो भएको घरवहाल सुविधा सम्बन्धि १ वटा उजुरी परेको र प्रकृयामा रहेको छ ।

कुलो नहर, पोखरी, अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको चार वटा उजुरी परेकोमा दुई वटा मिलापत्र भएको र दुई वटा प्रकृयामा रहेको छ । न्यायीक समितिका अनुसार दफा ४७ को उपदफा २ अनुसार १८ वटा उजुरी परेकोमा ६३ वटा विवाद मध्ये ३७ वटा विवाद मिलापत्र भएको छ भने २६ वटा विवाद प्रकृयामा रहेको छ ।

जसअनुसार, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा संरचना बनाएको ११ उजुरी परेकोमा ८ वटा मिलापत्र भएको र ३ वटा प्रकृयामा रहेको छ । सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्काले मिचि खाएको ३ वटा उजुरी परेकोमा १ वटा मिलापत्र भएको र २ वटा प्रकृयामा रहेको छ ।
यसैगरी, गाली बेईज्जतिका २ वटा उजुरी मध्य सबै मिलापत्र भएको छ । ध्वनि प्रदुषण गरि असर पुर्याएको २ उजुरी परेकोमा १ वटा मिलापत्र भएको र १ वटा प्रकृयामा रहेको छ । शुक्रबार र सोमबार नियमित रुपमा काम गरिरहेको न्याीयक समितिले अति जरुरीका विषयमा भने चौबिसै घण्टा उजुरी लिने गरेको जनाएको छ ।

समुदाय स्तरमा समस्या सकेसम्म कम गर्न र हिंसारहित समाज निर्माणका लागि १ देखि ८ नम्बर वडामा न्यायीक समितिको काम, कर्तव्य र अधिकारका बारेमा अभिमुखीकरण गर्न काम पनि भएको न्यायीक समिति संयोजक डिसीले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन कानूनी मामिला शाखा प्रमुख प्रतला देवकोटाले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img