सम्पादकिय
कुहीरेपानी–घोराही हुँदै तुलसीपुर जोड्ने सडकको निर्माण अलपत्र रहेको रहेको छ । गएको मंसिर ४ मा भएको निर्वाचनपछि जितेका सांसदहरुले १५ दिन भित्र पुरानो ठेकेदारसंग सँझौता तोडेर भएपनि नयाँ तरिकाले अघि बढ्ने उद्घोष गरेका थिए । यसरी उद्घोष गरेको चार महिना पुगेको छ । निर्वाचनमा होमिएको समयमा फोरलेन सडक चर्चाको विषय बनेको थियो । यो राजनीतिक विषय बनेको थियो । फोरलेन सडकलाई कुनै पनि अवस्थामा राजनीतिको विषय बनाउनु हुँदैन । यो विषय प्राविधिक विषय हो भन्नेमा कम्तीमा संचार जगत ढुक्क थियो । काम नगर्नेको पहिचान गरेर त्यसलाई कारवाहीको दायरामा ल्याउने वा काम गर्नका लागि बाध्य पार्ने भन्दा अरु विकल्प हाम्रो सामुमा केही पनि छैन । यो बीचमा निर्वाचनमा होमिदा कसले बनाएन ? कसले गर्दा बनेन ? हामीले बनाउने थियौं ? वा १५ दिनमा ठेक्का तोडेर भएपनि अघि बढ्छौं भनेर भन्नेहरु आज कुन दुलोमा छिरेका छन् ? अहिले सार्वजनिक रुपमा सडकको काम अघि बढ्न नसक्नुका पछिल्तिर आफूहरुको पनि दोष रहेको कुरा स्वीकार्न तयार छन कि छैनन् ?
पक्कै पनि साँचो कुरा के हो भने कसैलाई आरोपित गर्न निकै सजिलो हुन्छ । कसैलाई केही भनेर आरोप लगाउनुभन्दा पहिले एकपटक गहिरोसंग सोच्नुपर्छ । मैले के आरोप लगाइरहेको छु । मैले के कुरा बोलिरहेको छु । मैले ठिक बोलिरहेको छु कि छैन । चारलेन सडकका बारेमा यस्तै भयो । यहाँका राजनीतिक दलहरु एक भएर कहिल्यै डेलिगेशन भएको थाहा पाइएन । सडक विभागमा गएर धर्नामा बसेको जानकारी आएको छैन् । जनप्रतिनिधिहरुले केही पहल गरेको जस्तो सुनियो र देखियो । यो पहल भनेको कुहिनाले पहाडलाई हानेको जस्तो मात्रै भयो । यो क्षेत्रको सडकको बारेमा यहाँका राजनीतिक दललाई चासो हुनु पर्ने कि नपर्ने, यहाँको नागरिक समाजले चासो दिनु पर्ने कि नपर्ने ? यो विषयमा आवाज उठाउनुपर्ने कि नपर्ने ? कि सधै अरुलाई दोषी देखाएर पानी माथिको ओभानो बनिरहने । पानी माथी बसेर ओभानो छु भन्न सुँहाउँछ कि सुहाउँदैन ? पक्कै पनि सुहाउँदैन । हामी सवैले पहल गर्न सक्यौं भने मात्रै कुनै विषय टुङ्गोमा पुग्ने हो । कुनै विषय सफल हुनेहो । अहिले फोर लेन सडकको कथा जसरी अघि बढीरहेको छ यसैगरी अघि बढीरहदा अरु दुई चार बर्ष यसैगरी वित्नेछ । त्यो भन्दा बढी प्रगति हुनेछैन ।
फोर लेन सडक यतिवेला मृत्यु मार्गका रुपमा रुपान्तरण हुँदै गएकोछ । बैकल्पिक सडकको गुञ्जाइस छैन । घोराहीबाट तुलसीपुर पुग्नका लागि अरु कुनै बैकल्पिक सडक प्रयोग गर्न सकिदैन । अव केही महिनामा बर्षात सुरु हुँदैछ । गएको बर्षात अघि जिल्ला प्रशासन कार्यालयले केही पहल ग¥यो । कतै खाडल पुरिए । गएको बर्षात पछि तुलसीपुुर र घोराही उपमहानगरपालिकाले सडकमा रहेका खाडल पुर्नका लागि पहल गरे । त्यसमा स्थानीको साथ र सहयोग रह्यो । अव फेरि बर्षा लाग्दैछ । सडकमा खाडल ठूला हुँदै गएका छन् । मानिसलाई हिड्न मुस्कील हुन थालेको छ । ठूला सवारीका कारणले गर्दा साना सवारीहरुले सास्ती खेपिरहेका छन् । जहाँनेर बढी खाडल छन् । जहाँनेरको सडक बढी अफ्ठेरो रहेको छ ट्राफिक प्रहरी चेक जाँचका लागि त्यहिनेर बस्ने गरेको छ । साँघुरो सडकलाई फराकिलो पार्ने, खाडल पुर्ने काममा कसैको चासो छैन । सवैभन्दा बढी चासो त सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर सडक निर्माणका लागि लगाउनुपर्नेमा जानुपर्ने थियो । सडकको अवस्था दिन दिनै विग्रदै भएको छ । निर्माण हुने भनेपछि मर्मतको काम भएको छैन । सडकलाई सडकका रुपमा अघि बढाउन ढीला भएको छ । अहिले सडक होइन बगर सरी बनेको छ । यसमा सवैको चासो जानुपर्छ । सवैले चिन्ता गर्नुपर्छ । कसको के दायित्व हो । कसको के जिम्मेवारी हो । दायित्व र जिम्मेवारी बुझेकाहरु निदाइरहेका छन् । झक्झक्याउने बेला आइसक्यो ।