छबि पुरी/राप्ती पोष्ट
घोराही, फागुन । गढवा गाउँपालिका वडा नम्बर झारबैराकी रिखा कुमारी बिसीको दैनिकी पहिले ठीकै चलेको थियो । ३ वर्षअघि उहाँ एक लघुवित्तीय संस्थामा जोडिन पुग्नुभयो । उद्यमशीलतासँगै आर्थिक कृयाकलापमा जोडिनका लागि उहाँलाई दवाव आएपछि १ लाख ऋण लिनुभयो ।
तर, त्यो ऋणले उहाँको मन बेचैन बनेको छ । लाख रुपैयाँको ऋणको चंगुलमा फसेपछि उहाँका कठिन दिन शुरु भएका छन् । जसले गर्दा उहाँलाई हिजोआज कहाँ गएर न्याय पाईएला भन्ने भएको छ । मंगलबार लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले घोराहीमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी उहाँले जिल्ला प्रशासन अगाडि न्यायको याचना गर्नुभयो । ‘इन्साफ दिने कार्यालय अगाडि आएर आफुहरुले पाएको पीडा पोख्दै न्याय दिलाई दिन बिन्ति गर्दछु । लघुवित्तीय संस्थाले अनेक प्रलोभनमा पारेर जिउँदै मार्ने खेलमा लागेर आफुहरुलाई जिउँदैमार्ने खेलमा लागेका छन्’, उहाँले भन्नुभयो ‘विभिन्न आश्वासन देखाएर अहिले बाँच्नै नदिने गरी लघुवित्तीय संस्थाले यातना दिने काम गरिरहेको हुँदा गरिव निमुखाहरुको आवाज सुनिदिन अपिल गर्दछु ।’
लमही २ सोनपुरकी श्याम दुलारु चौधरीलाई हिजो आजका दिन निकै कठिन भएका छन् । पाँच कट्टा जग्गा धितो राखेर १० लाख ऋण स्वीकृति गराउनुभएकी उहाँलाई बैंकले २५ लाखको कागज गरेको रहेछ । आफुलाई पाँच लाख र छोरीलाई पाँच लाख दिएको बताउने उहाँलाई अरु पैसा कहाँ कसले चलायो भन्ने थाहा छैन । बैंकमा किस्ता र ब्याज जसो तसो तिर्ने गर्नुभएकी उहाँको ऋण लिएको १ वर्ष पुगेपछि नवीकरण गर्ने बेलमा बल्ल थाहा पाउनुभयो, बैंकमा २५ लाख ऋण भएको रहेछ भन्ने कुरा । बैंकमा चेक कसले काटेर कसरी पैसा निकालियो उहाँलाई थाहा छैन । ‘यति धेरै बेईमानी भएको छ, मैले नलिएको पैसाको पनि ऋण र ब्याज तिर्नुपरेको छ, म मर्नु न बाँच्नुको अवस्थामा पुगेको छु, नतिरु बैंकले जग्गा लिलाम गर्छु भन्छ, तिरु कहाँबाट ल्याएर तिर्ने हो यति धेरै रकम ?’ उहाँले भन्नुभयो ।
मिश्री चौधरीको कथा पनि उस्तै छ । माईक्रो फाईनान्समा एक वर्षअघि सात कट्ठा जग्गा धितोमा राखेर १३ लाख ऋण लिनुभएकी मिश्रीलाई त्यही फाईनान्सले अहिले मर्नु न बाँच्नु गराएको छ । ‘तीन कित्ता जग्गा छ । एक कित्ता छुटाई दिन अपिल गर्दा फाईनान्सले मानेन, उहाँले भन्नुभयो ‘मैले एउटा कित्ता जग्गा बेचेर ऋण तिर्ने अवस्थामा पुगेको छु, त्यो काम गर्छु भन्दा पनि मान्दैन, उल्टै जग्गा लिलाम हुन्छ भनेर मानसिक यातना दिने गरेको छ ।’ विरोध कार्यक्रममा जिल्लाका दश वटै पालिकाबाट हजारौँको संख्यामा लघुवित्तीय संस्था पीडितहरु सहभागी भएका थिए ।
६५ बढी लघुवित्तले संविधान विपरीत काम गरेको, बिना धितोको नाममा महिलालाई फसाउने काम गरेको, घरबार बिगार्ने, सामाजिक अपराध जन्माउने काममा लघुवित्तीय संस्गा नियोजित रुपमा लागेको आरोप लगाउनुभयो । ‘घरमै आएर अनेक थरी यातना दिने, परिवारमा मानसिक तनाव सिर्जना गर्ने मात्रै होईन, बालबालिकालाई पनि गम्भीर असर पर्ने गरी दुव्र्यवहार गर्ने गरेकाले आजित भएर हामी सडकमा आएका हौँ’, उहाँले भन्नुभयो, ‘अब यो आन्दोलन देशभर चल्छ र समाधान नभएसम्म पछि फर्कने अवस्था छैन, लघुवित्तले हामीलाई जुकाले रगत चुसेको जस्तै चुसेको चुस्यै गर्याे ।’ च्याउ उम्रे जसरी अनुमति दिएर जनता ठग्ने काम भएको हुँदा राज्य संचालनबाट नै जनता मार्ने काम भएको उनीहरुको भनाई छ । जनउत्थान, सिवाई संस्था, नेपाल महिला लघुवित्त जस्ता लघुवित्तीय संस्थाले अहिले आफुहरुलाई रुवाउने काम गरेको घोराही १६ की उषा धामीले बताउनुभयो ।
घोराही १५ की सितापति चौधरीले पैसाको लोभ देखाएर दल दलमा फसाउने काम भएको बताउनुभयो । अहिले चौतारी, आस्था, महादेव, मेरो माईक्रो फाईनान्स जस्ता संस्थाले घरबार मात्रै नभई व्यक्तिगत जीवन पनि तहस नहस पारेको उहाँको आरोप छ । विरोध कार्यक्रममा संघर्ष समितिका राष्ट्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक फत्तेबहादुर पुनले आन्दोलन थालेको मंगलबार एक वर्ष १३ दिन पुगेको बताउनुभयो । यो बीचमा धेरैले आत्महत्याको बाटो रोज्न बाध्य भएको बताउँदै नागरिकलाई गरिखान दिने वातावरण बनाई दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले ऋण नतिर्ने भनेको होईन, तर नेपालको कानूनले तोकेको नियम कानुन अनुसार मात्रै तिर्ने भनेर आफुहरु सडकमा आएका हौँ । अहिले १५ देखि २२ प्रतिशतसम्म २३ हजार लघुवित्त संस्थाहरुको भविष्य आफुहरुले निक्र्यौल गर्ने गरी कडा आन्दोलनमा उत्रिन लागेका छौँ ।’
नेपालमा ५८ लाख लघुवित्तको सदस्य संख्या रहेकोमा २२ हजार सदस्यहरुले ऋण तिर्ने अवस्था भएपनि सडकमा आउनु पर्नै अवस्था नरहने बताउँदै उहाँले कमजोर आर्थिक अवस्था भएकाहरुलाई लक्षित गरेर नियोजित रुपमा गरिएको गलत व्यवहारले नागरिक मर्ने खेल भएको बताउनुभयो । ‘जनताको भलो हुने काम गरेको भए आज यो अवस्था बन्ने थिएन होला’, उहाँले भन्नुभयो ‘हामीलाई सडकमा ल्याउन बाध्य पार्ने नै लघुवित्त हो । उसैले अनेक प्रलोभन देखाएर अन्तिममा घासबास पनि उठीबास लगाउने अवस्थामा पुगेको छ ।’
उहाँले जिल्ला प्रशासन कार्यालय अघि आयोजित कोण सभामा फागुन १७ देखि २५ गतेसम्म देशभर हरेक वडासम्मका जनप्रतिनिधिसँग, राजनीतिक दललगायतसँग लघुवित्तीय संस्थाले गर्दा भएको समस्याका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताउनुभयो । त्यसपछि देशभरबाट २९ गते काठमाडौ जाने र ३० गते राष्ट्रिय स्तरको विरोध कार्यक्रम गरे आगामी थप आन्दोलनका घोषणा गरिने बताउनुभयो । आफुहरुको आन्दोलन सामाजिक न्यायका लागि भएको हुँदा यसमा केही राजनीतिक दलले आफुहरुको मुद्धा उठान गरेर अल्मल्याउने काम गरिरहेको हुँदा पीडितहरुलाई सहज रहन निर्देशन पनि दिनुभयो ।
यसैबीच, लघु वित्तीय संस्थाहरुको ज्यादति विरुद्धमा सडक संघर्षमा उत्रिएकाहरुले नेपाल सरकारसँग पाँच बुँदे माग राख्दै आएका छन् । उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न, लघुवित्तीय संस्थाहरुद्वारा लगाईएको सामुहिक ऋण मिनाहा गर्न, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकासमा ध्यान दिन माग गरेका छन् । विरोध कार्यक्रममा संघर्ष समितिका केन्द्रीय सदस्य कृष्णबहादुर सुनार, सामाजिक अभियन्ता पुनिसरा रोका मगर, पीडित देवराज चौधरीलगायतले पनि बोल्नुभएको थियो । संघर्ष समितिकी जिल्ला अध्यक्ष दुर्गा बिकको अध्यक्षता भएको कोण सभाको सञ्चालन लुम्बिनी प्रदेश सचिव सीताराम यादवले गर्नुभएको थियो ।