spot_img
spot_img

हात्तीपाइले विरुद्ध औषधी खान डराउनु नपर्ने

सवैले नखाँदा तेह्रौपल्ट अभियान

छबि पुरी /राप्ती पोष्ट

घोराही,  फागुन । जोखिम पहिचान भएका दाङ सहितका जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरि हात्तीपाइले निवारण गर्ने उद्देश्यले फागनु ११ गतेबाट आम औषधी सेवन अभियान हुन लागेको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा गत वर्षपनि निकैले औषधी सेवन गरेका कारण दाङमा तेह्रौँ पटक आम औषधी सेवन अभियान गर्न थालिएको हो । यो अभियान सफल बनाउन जिल्लाका १० वटै पालिकामा रहेका छ लाख ८७ हजार जनसंख्यालाई औषधी खुवाउन छ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको छ ।

स्वास्थ्य कार्यालय दाङले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान अन्तरगत जिल्लामा क्रियाशील पत्रकारहरुसँग गरेको अन्तरक्रियामा निमित्त कार्यालय प्रमुख डम्मर कुवँरले लुम्बिनीमा दाङसहित बाँके र कपिलवस्तु हात्तीपाइले रोग निवारणमा असफल भएको हुँदा अब यो जिल्लाको जनस्वास्थ्यको दृष्टिकोणले पनि गम्भीर रुपमा सोँच्नुपर्ने बेला भएको बताउनुभयो ।

सन् २०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुःखद पक्ष भएको बताउँदै आम औषधी सेवनमा नागरिकको पहुँच बढाउन सचेतना बढाउन सबै सरोकार निकायसँग अपिल गर्नुभयो । आगामी सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भईसक्दा दाङ अहिलेसम्म पछि परेको छ । यसकारण अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको कुँवरले बताउनुभयो ।

‘प्रत्येक जिल्लामा आम औषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरि हात्तीपाइले निवारण गर्ने उद्देश्यले आम औषधी सेवन खुवाउन थालिएको हो’, उहाँले भन्नुभयो ‘कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई आम औषधी सेवन हुनुपर्नेमा हुन नसक्दा समस्या हुने गरेको छ ।’ उहाँले हात्तीपाइले रोग विरुद्धको औषधी खाँदा अरु समस्या थपिन्छ भन्ने भ्रम, नकारात्मक बुझाई, दीर्घ रोगीले खान नमान्नु, अभियानमा सम्बन्धित व्यक्तिले चासो नलिनु, हात्तीपाइले रोग निवारण सम्बन्धि सचेतनाका कार्यक्रम कम हुनु जस्ता कारणले विगतमा कमजोरी देखिएको औँल्याउँदै अब यी सबै कुरालाई चिर्दै विगत वर्षमा जिल्लामा ६८ प्रतिशत रहेको आम औषधी कभरेजलाई कम्तिमा ८० प्रतिशत पुर्याउने गरी जुट्न अपिल गर्नुभयो ।

हात्तीपाइले रोग फोकल पर्सन कमल चन्दले कभरेज ८० प्रतिशत पुर्याउन सक्ने अवस्था नरहेमा आगामि थप दुई वर्ष आम औषधी सेवन अभियान थप्नुपर्ने हुँदा अबका दिनमा सबैसजग हुनुपर्ने बेला भएको बताउनुभयो । ‘२०११ बाट शुरु भएको अभियान २०२३ सम्म गरि राख्नु दुखद हो । नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा पनि दाङ पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको छ’ उहाँले भन्नुभयो ।

गत वर्षबाट डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल खुवाउने काम हुँदै आएको छ । जस अनुसार, सबैभन्दा कम उचाई भएकाले १–१ वटा डिईसी, आईभरमेक्टिन र अल्बेन्डाजोल गरि ३ गोली औषधी खानुपर्ने तथा सबैभन्दा बढी उचाई हुनेले ४–४ वटा डिईसी र आईभरमेक्टिन तथा एक वटा अल्बेन्डाजोल खानुपर्ने फोकल पर्सन चन्दले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नागरिकको अधिकारका लागि खबरदारी गर्ने मिडियाले स्वास्थ्य क्षेत्रको गम्भीरतालाई पनि उत्तिकै जिम्मेवारीपूर्वक लिने बताउनुभयो । मानव स्वास्थ्यको सुधारका लागि मिडियाले हिजोका दिनदेखि नै वकालत गर्दै आएको हुँदा सरकारले थालेको नागरिक स्वास्थ्यको कार्यक्रमलाई सबैको साथ रहने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले हात्तीपाइले रोग निवारण गर्न थालिएको अभियान नखुवाएर भन्दा नखाएर समस्या थपिएको हुन सक्ने हुँदा अबको दिनमा औषधी खाने गरी अभियानलाई जोड्न अपिल गर्नुभयो । अब स्वास्थ्यकर्मी नै अभियानमा खटिने हुँदा प्रभावकारी हुने विश्वास गर्दै उहाँले हात्तीपाइले विरुद्धको औषधी सेवन गरेको कार्ड दिन सकेमा यसको प्रभावकारीता बढ्ने सुझाव दिनुभयो ।

जिल्लामा गत वर्षको सर्वेक्षणले चार सय २९ जनामा हात्तीपाइले र एक हजार छ सय १४ जनामा हाईड्रोसिल गरी कुल दुई हजार ४४ जनामा यो समस्या रहेको छ । सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो ३ वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौति देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।

विगत १२ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन हुँदै आएकोमा दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेको छ । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट यो रोगमान्छेमा सर्ने हुँदा रोगलागेपछि शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनिएको हो ।

नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्यकर्मी बताउँछन् । दाङमा हात्तीपाइलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको छ । हात्तीपाइलेको संक्रमण दर २ प्रतिशत भन्दा कम हुनुपर्नेमा यो अवस्थासम्म ल्याउन दाङमा अझ धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुवँरले बताउनुभयो ।
जिल्लामा सन् १०१९ मा सिसहनियाँ र टरीगाउँमा गरिएको परिक्षणमा ५ दशमलव ८५ प्रतिशतमा हात्तीपाइलेको संक्रमणपुष्टि भएको थियो । यो अवस्थालाई मध्येनजर गर्दै रोग नियन्त्रणको प्रयास भएपनि कम हुन सकेन । सन् २०२१ मा देउखुरीकै सिसहनियाँ र घोराहीको सुर्केडाँगीलगायत स्थानमा गरिएको परिक्षणमा ५ प्रतिशतभन्दा बढीमा यो समस्या देखियो । ‘विगत १२ वर्षको निरन्तरको प्रयासमा जिल्लालाई हात्तीपाइले रोग नियन्त्रित बनाउने प्रयास सफल हुन सकेको छैन’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भन्नुभयो, ‘यो अघिल्लो वर्षबाट केही नयाँ अभ्यास थालनी भएको छ, आशा छ, अब २ प्रतिशतभन्दा तल झर्ला ।’

जिल्लाको घोराही उपमहानगरपालिकामा सबैभन्दा बढीमा हात्तीपाइलेको संक्रमण भेटिएको छ । गत वर्ष गरिएको सर्वेक्षणमा जिल्लाको घोराहीमा १ सय १६ जनामा हात्तीपाइलेका नयाँ बिरामी भेटिएका थिए । यसैगरी, तुलसीपुरमा ९८ जना, लमहीमा ७४ जना, गढवामा ५८ जना राप्तीमा ४३ जना, राजपुरमा ११ जना, बबईमा १० जना, बंगलाचुलीमा ८ जना, शान्तिनगरमा ६ र दंगीशरणमा ५ जनामा हात्तीपाइलेको संक्रमण पुष्टि भएको थियो ।

अघिल्लो पटक जिल्लाको सिसहनियामा ३१४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३ सय ३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा चार प्रतिशत बढी देखिएको हो । रोग नियन्त्रणका लागि यो वर्ष पनि संघ सरकारले ससर्त अनुदानमा बजेट विनियोजन गरेको छ । जसका लागि जिल्लाका ६ लाख ८७ हजार ७ सय ७७ लक्षित जनसंख्यालाई आमऔषधी सेवन अभियानमा जोड्न छ सय ६१ जना स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको छ ।

जसअनुसार जिल्लाको तुलसीपुरमा सबैभन्दा बढी एक सय ६५ जना, घोराहीमा एक सय १० जना, राप्तीमा ६६ जना स्वास्थ्यकर्मी आमऔषधी सेवन अभियानमा सहभागी हुने भएका छन् । यसैगरी, लमहीमा ५७ जना, बबईमा ४२ जना, दंगीशरणमा ३८ जना, बंगलाचुलीमा ५० जना, गढवामा ४८ जना, राजपुरमा ४१ जना र शान्तिनगरमा ४२ जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् ।
सबै पालिकाका नागरिकलाई आम औषधी सेवनमा जोड्न तीन चरणमा खुवाउने तयारी भएको छ । फागुन ११ गतेबाट शुरु हुने आम औषधी सेवन अभियान अनुसार पहिलो चरणमा देउखुरीका चार पालिका राप्ती, गढवा, राजपुर र लमहीमा खुवाईनेछ । दोश्रो चरणमा बंगलाचुली र घोराहीमा आम औषधी सेवन अभियान हुनेछ भने तेश्रो चरणमा पश्चिम क्षेत्र तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईमा हुनेभएको फोकल पर्सन चन्दले बताउनुभयो ।

हात्तीपाइले रोगको जोखिम रहेका १३ जिल्लाका अघिल्लो वर्ष ७४ लाख ६१ हजार जनसंख्यालाई लक्षित गरी हात्तीपाइले विरुद्धको औषधि सेवन गराईएको थियो । आम औषधी सेवन अन्तर्गत दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कचनपुर, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङमा औषधी खुवाइएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img