spot_img
spot_img

राजतन्त्रले घाँटीमा तरवार झुण्डाएको दिन

शरद अधिकारी ।

दाङ/जव माघ १९ आउँछ तव विगत झल्झली याद आउँछ । नेपालको इतिहासमा २०१७ साल पुस १ गतेका दिनलाई हामीले जसरी कालो दिनका रुपमा लिन्छौं त्यसैगरी २०६१ साल माघ १९ गते नेपालको इतिहासमा अर्को कालो दिनका रुपमा रहेको छ । एक हिसावले भन्ने हो भने हामीले माघ–१९ लाई नेपालबाट राजतन्त्र अन्त्यका लागि तत्कालिन राजाले आफ्नो घाँटीमा तरवार झुण्डाएको दिनका रुपमा लिन सक्छौं । १८ बर्ष पुरानो यो घटनाका बारेमा पछिसम्म चर्चा भइरहनेछ । यो घटना नेपालको इतिहासमा प्रजातन्त्र ‘कु’ गरिएको दिनका रुपमा लिपिवद्ध भइसकेको छ । नेपालको राजनीतिक इतिहासमा २०६१ माघ १९ को घटना सजिलोसंग विर्सन सक्ने घटना होइन । नेपाल राजनीतिक रुपमा जति परिवर्तनको यात्रामा अघि बढोस या जति सम्वृद्ध होस त्यो माघ १९ लाई विर्सनै मिल्दैन । त्यो दिन वा त्यो समय धेरैका लागि सँझनामा रहेको छ । कतिपयलाई त्यो समय आफू शक्तिमा गएको दिनका रुपमा सँझनामा होला । कतिलाई राजतन्त्र अजर अमर हुन्छ भन्ने लागेको थियो होला । तर राजतन्त्रका लागि त्यो दिन आफैले खनेको खाडलमा खस्ने विन्दु बन्यो ।

विश्वमा राजतन्त्रको इतिहासलाई हेर्ने हो भने के सिद्ध भएको छ भने जनतामाथि घात गर्ने कुनै पनि राजा टिकेका छैनन् । जनताले राजालाई घोडाबाट खसालेकै छन् । विश्वमा अहिले जति देशमा राजा छन ति राजाहरु लोकतान्त्रिक भएका कारणले टिकेका हुन् । जनताको गुनासो सुनेकाले टिकेका हुन । राजनीतिक दलसंग राम्रो सम्वन्ध बनाएका कारणले गर्दा टिकेका हुन् । तर नेपालको राजतन्त्र सुरुमा जनताको आश्था थियो । विश्वास थियो । भरोसा थियो । विस्तारै यो निरङ्कुश बन्यो । राजनीतिलाई सौता ठान्न थाल्यो । जनताले अधिकार उपयोग गरेको देखिसहेन । विस्तारै राजसंस्थालाई राजनीति गर्ने भोक जाग्यो । २०६१ माघ १९ मा राजतन्त्रले राजनीतिक दलहरुलाई प्रतिवन्धित गराएर, संचार माध्यममाथि सेन्सर लगाएर, कतिपय माध्यमहरु बन्द गराएर आफूलाई टिकाउन खोथ्यो । जुन कुरा कुनै पनि हिसावले मान्य हुने कुरा थिएन ।
समय परिवर्तनशिल छ । १८ बर्ष अघिको त्यो घट्ना सँझना गर्दा हिजैको जस्तो लाग्छ । बास्तवमा नेपालको राजनीतिक इतिहासमा त्यो घट्नाले धेरै शिक्षा दिएर गएको छ । माघ १९ भन्दा अघि अर्थात २०५९ सालको असोज १८ गतेको दिनलाई सँझना गर्नुपर्छ । नेपालका अन्तिम राजा ज्ञानेन्द्रको सक्रियता बढेको दिनका २०५९ असोजको १८ गतेको दिन थियो । २०५९ असोज १८ मा सक्रिय शासनमा उदय भएका ज्ञानेन्द्रले जव २०६१ सालमा जव आफूलाई सक्रिय बनाए तव २०६३ बैशाख ११ गतेभन्दा पछि जान सकेनन् । त्यसैले माघ १९ गतेको दिन इतिहासबाट कुनै पनि हालतमा मेटिने छैन । तत्कालिन क्रुर शासनका विरुद्धमा आवाज उठाउनेहरुका विरुद्धमा तत्कालिन सत्ता कसरी प्रस्तुत भएको थियो र त्यसबाट मानिसहरु कसरी प्रताडित भएका थिए भन्ने कुराको उदारहण भएकाले त्यो घटनालाई भूल्न सकिदैन ।

माघको १९ गतेका दिन तत्कालिन राजाले देशवासीका नाममा सम्वोधन गर्दैछन भन्ने कुरा पहिला नै चर्चामा आएको थियो । उनले आफूले टेलिभिजनबाट दिने भाषण पहिला नै रेकर्ड गरिसकेका रहेछन् । पछि दृष्य हेर्दा पनि त्यो थाहा पाइयो । राजा ज्ञानेन्द्रले केही घोषणा गर्दैछन भन्ने कुराको जानकारी नेपाली संचारकर्मीलाई केही समय पहिले नै भइसकेको थियो । माघ १९ गतेको घोषणा विगतको भन्दा फरक थियो । फरक यस मानेमा थियो कि विगतका घोषणा रातीमा हुन्थे । २०६१ साल माघ १९ भन्दा पहिले नेपालमा ठूला घटना शुक्रबारका दिन हुन्थे । त्यो पनि रातीमा । तर २०६१ माघ १९ को घटना विहानमा भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले राजा भएपछि धेरै पटक सम्वोधन गरेका थिए । कहिले आफू दाजु जस्तो चुप लागेर नवस्ने घोषणा गर्दथे । कहिले तत्कालिन प्रधानमन्त्रीलाई असक्षम भन्दै घोषणा गर्दथे । यसरी ज्ञानेन्द्रले सक्रियता जनाइरहेका थिए । जसको निरन्तरताका रुपमा थियो माघ १९ गतेको सम्वोधन ।

शाही घोषणा गर्दै राजा ज्ञानेन्द्रले अवको तीन बर्षका लागि शासन आफ्नो हातमा लिएको कुरा गरेका थिए । निर्वाचनका माध्यमबाट जनताको विरासत जनतामा फर्काउने कुरा पनि गरेका थिए । मन्त्रीमण्डल भंग गरेर सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको कुरा पनि थियो । राजाले गरेको शाही घोषणामा सवैभन्दा ठूलो आक्रोशको तारो बनेका थिए राजनीतिक दलका नेताहरु, अनि संचारमाध्यमहरु । राजाले बहुदलिय व्यवस्था यथावत राखेको कुरा गरे तर सवै ठूला दलका नेताहरुलाई नजरवन्दमा राख्ने काम गरेका थिए । अनि सवै संचारका माध्यममा सेन्सर लगाएका थिए । फोनहरु बन्द, संचार बन्द, पत्रिकामा सेन्सर, रेडियोमा समाचार बन्द गरिकन शुरु भएको थियो राजाको शाही काल ।

२०६१ साल माघ १९ गतेको घटना पछि राजनीतिक दलले त गाह्रो भोगे त्यो भन्दा अझ बढी पीडा संचारकर्मी र संचारमाध्यमले भोग्नु परेको थियो । संचारका माध्यमहरु सवै बन्द भएकाले के गर्ने कता जाने ? को संग कुरा गर्ने केही अलमल थियो । माघ १९ गतेको घटना पछि राजनीतिक दलहरुले पनि के गर्ने भन्ने बारेमा निर्णय लिन सकेका थिएनन् । माघ १९ गतेको घटना पछि विविसी नेपाली सेवाको माध्यमबाट राजाको कदमको विरोध गर्ने काम गर्ने कामसम्म राजनीतिक दलहरुले गर्न सकेका थिए । नजरवन्दमा नपरेका बाहेका नेताहरु अर्ध भूमिगत अवस्थामा थिए । केहीलाई त जेल नै हालिएको अवस्था थियो । सोही बर्षको चैतको १ गतेबाट राजनीतिक दलहरुले विरोध गर्न थाले । देशभर राजाको कदमका विरुद्धमा सडकमा उत्रिएर सांकेतिक विरोध गर्ने योजना अनुरुप दलहरु सडकमा उत्रिएका थिए । त्यसै क्रममा नेपालभर धरपकड पनि गरिएको थियो । देश देखि विदेशसम्म ज्ञानेन्द्रको कदमको विरोध भइरह्यो । राजाले राजनीतिक दलहरुको हातमा रहेको अधिकार खोसेर आफ्नो हिसावले चल्न खोजे जसको फलस्वरुप २०६२ साल चैत २४ गते देखि निर्णायक आन्दोलन घोषणा भयो । जुन १९ दिने जन आन्दोलनका नामले चर्चित रहेको छ । माघ १९ गते पछिको राजाको शासनलाई १९ दिने जनआन्दोलनले पाखा लगाइदियो । जे भए पनि आज देश गणतन्त्रमा पुगेको छ । गणतान्त्रिक देशका नागरिक भएका छौं हामी । पुस्तकमा मात्र पढ्ने विषय भएको थियो गणतान्त्रिक देशको कथा ।

नेपालको राजनीतिक इतिहासमा धेरै त्यस्ता दिनहरु छन जसको संझना बर्षौ पछिसम्म भइरहनेछ तिनै दिनहरु मध्य यौटा दिनका रुपमा माघ १९ ले नकारात्मक रुपमा धेरैको मनमा बास पाइरहेको छ । अव पनि माघ १९ फेरि कुनै पनि हिसावले नदोहोरियोस भन्ने तर्फ राजनीतिक दलहरु चनाखो बन्नुपर्छ । यौटा राजालाई फालिसकेका छौं तर राजा बन्न चाहनेहरुको लर्को देखिन्छ यहाँ । माघ १९ को यो दिनले कम्तीमा पनि निरंकुशता टिक्दैन भन्ने कुरा प्रमाणित गरेको छ भन्ने बुझ्नु पर्छ । माघ १९ ले ल्याएको कालो दिनलाई हामीले तत्याएका छौं । जनताको बलले कालो हटाएका छौं । संविधान सभाले संविधान बनाएको छ । संविधानका आधारमा मुलुकमा तीन खालका सरकार बनेका छन् । पहिलो संघीय सरकार, दोस्रो प्रदेश सरकार र तेस्रो स्थानीय सरकार बनेका छन् । संविधान सभाबाट संविधान जारी भएपछि नयाँ संविधान अनुसार दोस्रो सरकार गठन भएकमो छ । स्थानीय पालिकाहरुमा पनि दोस्रो नेतृत्व आइसकेको छ । अव हामी सवैको चासो र चिन्ता देशलाई कसरी समृद्ध बनाउने भन्ने हुनुपर्छ । जनताको हातमा आएको शासन सत्ता कुनैपनि शर्तमा राजतन्त्र वा व्यक्तिको निरङ्कुशतातर्फ फर्काउने कुरा कल्पना भन्दा निकै बाहिरको कुरा हो । अव कुनै पनि शर्तमा निरङ्कुशता दोहोरिनु हुँदैन र नेपालमा निरङ्कुशताका लागि कुनै स्थान रहेको छैन । निरङ्कुशता झेल्नका लागि नागरिक तयार छैनन् । राजनीतिक दलहरु पनि तयार नवनुन । राजनीतिक दलका बीचमा देखिएको तिक्तताले उत्पन्न गरेको रिक्ततालाई कसैले पनि दुरुपयोग गर्न नसकोस भन्ने तर्फ सचेत हुनैपर्छ ।

[email protected]

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार