spot_img
spot_img

हात्तीपाइलेको जोखिममा दाङ पनि

दुई प्रतिशतमा झार्न चुनौती

छबि पुरी/राप्ती पोष्ट

घोराही, माघ । दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाईले रोगको उच्च जोखिममा छन् । विगत १२ वर्षदेखि हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन अभियान संचालन हुँदै आएकोमा दाङसहित बाँके र कपिलबस्तु अझै पनि जोखिममा परेको पाईएको हो ।

क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट यो रोगमान्छेमा सर्ने हुँदा रोगलागेपछि शरीर कुनै एक भाग वा अंगमा लाग्ने र त्यो अङ्ग सुनिदै जाने भएकोले हात्तीपाइले रोग भनिएको हो ।
नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौति देखिएको स्वास्थ्यकर्मी बताउँछन् । दाङमा हात्तीपाईलेको जोखिम बढ्दै जाँदा पनि आम औषधी सेवन अभियान प्रभावकारी बनाउन अनेकन प्रयास भएको छ । जिल्लामा गत वर्षको सर्वेक्षणले चार सय २९ जनामा हात्तीपाइले र एक हजार छ सय १४ जनामा हाईड्रोसिल गरी कुल दुई हजार ४४ जनामा यो समस्या रहेको छ ।

सन् २०११ मा पहिलो पटक गरिएको परिक्षणमा जिल्लामा ८७ प्रतिशतमा रोग नियन्त्रणका लागि कभरेज गरिएको थियो । तर, पछिल्ला वर्षहरुमा यसको कभरेज दर घट्दै जाँदा समस्या थपिएको पाईएको हो । पछिल्लो तीन वर्षको अवस्था विश्लेषण गर्दा पनि यसलाई नियन्त्रणमा ल्याउन चुनौती देखिएको छ । सन् २०२० मा जिल्लामा ६५ प्रतिशतमा झरेको कभरेजको दर सन् २०२१ मा बढेर ६७ प्रतिशत हुँदै अघिल्लो वर्ष सन् २०२२ मा ६८ प्रतिशतमा पुगेको छ ।

हात्तीपाइलेको संक्रमण दर २ प्रतिशत भन्दा कम हुनुपर्नेमा यो अवस्थासम्म ल्याउन दाङमा अझ धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर बहादुर कुवँरले बताउनुभयो । जिल्लामा सन् १०१९ मा सिसहनियाँ र टरीगाउँमा गरिएको परिक्षणमा ५ दशमलव ८५ प्रतिशतमा हात्तीपाइलेको संक्रमणपुष्टि भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै रोग नियन्त्रणको प्रयास भएपनि कम हुन सकेन । सन् २०२१ मा देउखुरीकै सिसहनियाँ र घोराहीको सुर्केडाँगीलगायत स्थानमा गरिएको परिक्षणमा ७ प्रतिशतभन्दा बढीमा यो समस्या देखियो । ‘विगत १२ वर्षको निरन्तरको प्रयासमा जिल्लालाई हात्तीपाइले रोग नियन्त्रित बनाउने प्रयास सफल हुन सकेको छैन’, स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले भन्नुभयो, ‘यो अघिल्लो वर्षबाट केही नयाँ अभ्यास थालनी भएको छ, आशा छ, अब दुई प्रतिशतभन्दा तल झर्ला ।’

जिल्लाको घोराही उपमहानगरपालिकामा सबैभन्दा बढीमा हात्तीपाइलेको संक्रमण भेटिएको छ । गत वर्ष गरिएको सर्वेक्षणमा जिल्लाको घोराहीमा एक सय १६ जनामा हात्तीपाइलेका नयाँ बिरामी भेटिएका थिए । यसैगरी, तुलसीपुरमा ९८ जना, लमहीमा ७४ जना, गढवामा ५८ जना राप्तीमा ४३ जना, राजपुरमा ११ जना, बबईमा १० जना, बंगलाचुलीमा आठ जना, शान्तिनगरमा छ र दंगीशरणमा पाँच जनामा हात्तीपाइलेको संक्रमण पुष्टि भएको थियो । अघिल्लो पटक जिल्लाको सिसहनियामा तीन सय १४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा तीन सय ३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाईले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा चार प्रतिशत बढी देखिएको हो । सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको छ । तर, जनचेतना अभावमा कतिपय नागरिकले नियमित औषधी सेवन नगर्दा समस्या हुने गरेको छ । जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।

रोग नियन्त्रणका लागि यो वर्ष पनि संघ सरकारले ससर्त अनुदानमा बजेट विनियोजन गरेको छ । जसका लागि जिल्लाका छ लाख ८७ हजार सात सय ७७ लक्षित जनसंख्यालाई आम औषधी सेवन अभियानमा जोड्न छ सय ५९ जना स्वास्थ्यकर्मी परिचालनको तयारी भएको छ । जसअनुसार जिल्लाको तुलसीपुरमा सबैभन्दा बढी एक सय ६५ जना, घोराहीमा एक सय १० जना, राप्तीमा ६६ जना स्वास्थ्यकर्मी आम औषधी सेवन अभियानमा सहभागी हुने भएका छन् ।

यसैगरी, लमहीमा ५७ जना, बबईमा ४२ जना, दंगीशरणमा ३८ जना, बंगलाचुलीमा ५० जना, गढवामा ४८ जना, राजपुरमा ४१ जना र शान्तिनगरमा ४२ जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् । सबै पालिकाका नागरिकलाई आम औषधी सेवनमा जोड्न तीन चरणमा खुवाउने तयारी भएको छ । यद्दपि यसको मिति अझै तोकिएको छैन । जस अनुसार पहिलो चरणमा देउखुरीका चार पालिका राप्ती, गढवा, राजपुर र लमहीमा खुवाईनेछ । दोश्रो चरणमा बंगलाचुली र घोराहीमा आम औषधी सेवन अभियान हुनेछ भने तेश्रो चरणमा पश्चिम क्षेत्र तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईमा हुनेभएको फोकल पर्सन चन्दले बताउनुभयो ।

हात्तीपाइले रोगको जोखिम रहेका १३ जिल्लाका अघिल्लो वर्ष ७४ लाख ६१ हजार जनसंख्यालाई लक्षित गरी हात्तीपाइले विरुद्धको औषधि सेवन गराईएको थियो । आम औषधी सेवन अन्तर्गत दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कचनपुर, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङमा औषधी खुवाइएको थियो । अघिल्लो वर्षबाट मानिसको उचाई अनुुसार औषधी सेवन गराउने गरिएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन भएको छ । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुुपरे पनि आईभर मेक्टिन नामक औषधी थप गरिएको छ । सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आम औषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको छ । जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् ।

हात्तीपाइले रोगबाट बच्न वर्षको एकपटक पाँच वर्षसम्म सरकारद्वारा वितरित निःशुल्क चक्की खानुपर्ने हुन्छ । यसको सेवनले असर नगरे पनि शरीरमा धेरै परजीवी छन भने टाउको दुख्ने, वाकवाकी लाग्ने, अथवा पेट दुख्ने हुन सक्छ । यो औषधि गर्भवती, एक सातासम्मका सुत्केरी, छारे रोग, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूबाहेक सबैले खान सकिन्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार