श्रवण बस्नेत /राप्ती पोष्ट
लमही, पुस । लमहीको जैविक विविधता पार्क अवलोकनका लागि आउनेहरुको संख्या दिनदिनै बढ्न थालेको छ । लमही बजारदेखि उत्तर तर्फ रहेको जैविक विविधता पार्कमा मनोरञ्जनका लागि आउने केटाकेटीहरु, घुमघामका लागि आउने युवा युवतीहरुमात्र होइन बयस्क र बृद्ध बृद्धाहरु समेत पार्कमा आउन थालेका छन् ।
देउखुरी क्षेत्रमा रहेका विभिन्न तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्न थालेको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । विहान देखि साँझ ६ बजेसम्म खुल्ने पार्कमा भिड बढ्दै गएको अध्यक्ष पवन रिजालले जानकारी दिनुभयो । पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष रिजालले बताउनुभयो ।
वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने प्रकारका संरचनासमेत निर्माण भएका छन् । सामुदायिक वनले ३० बिघा क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको अध्यक्ष रिजालले बताउनुभयो । पार्क निर्माणको चरणमै रहेको छ । ‘पार्क व्यवस्थित बनाउनअझै थुप्रै काम रहेको छ । मेरो पदावधिभित्रै काम सक्ने लक्ष्य लिएको छु, कतिसम्म पूरा हुन्छ’, रिजालले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर सामुदायिक वनको आयस्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो । आर्थिक वर्ष २०७५÷०७६ मा त्यस पार्कमा करिब २० हजार पर्यटकले भ्रमण गरेको तथ्याङ्क सामुदायिक वन कार्यालयसँग छ ।
आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । लमही बजारको सवैभन्दा नजिक रहेको पर्यटकिय गन्तव्यका रुपमा जैविक विविधता पार्क रहेको छ । पर्यटकलाई आकर्षण गर्नका लागि भ्यू टावर बनाउन थालिएको छ । जहाँबाट लमही बजारको दृष्य राम्रोसंग देख्न सकिन्छ । यसका साथै पश्चिम, उत्तर र पूर्व तर्फ रहेको हरियालीले जो सुकैलाई पनि तान्ने गर्दछ । छ तलामाथिबाट वरपरको दृष्य हेरेपछि जो पनि आनन्दित हुने दावी रिजालको छ ।
यतिवेला जैविक विविधता पार्कमा बाल उद्यान सवैभन्दा आकर्षणका रुपमा रहेको छ । जम्मा २० रुपैयाको टिकट काटेपछि बालवालिकाहरुले पार्कमा रहेको उद्यानमा प्रवेश पाउँछन् । त्यहाँ विभिन्न खालका मनोरञ्जनका सामग्री राखिएको छ । अभिभावकहरु पनि बालवालिकाहरुलाई लिएर पार्कका पुगिरहेका हुन्छन् । घोराहीबाट लमही पुग्नु भएकी विमला दहाल लमही बजार नजिकै निर्माण गरिएको जैविक विविधता पार्कलाई अझै राम्रो बनाउने हो भने पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुहुन्छ । केटाकेटीहरु मात्रै होइन ठूला मानिसका लागि पनि यो राम्रो गन्तव्य बन्न सक्ने उहाँले सुनाउनुभयो ।