spot_img
Home Blog Page 46

राप्ती आँखा अस्पतालमा विशिष्टीकृत सेवा

छबि पुरी /राप्ती पोष्ट

घोराही, मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरगत संचालित राप्ती आँखा अस्पतालले पछिल्लो समय आफ्नो सेवा बिस्तार गर्दै लगेको छ । आँखा अस्पतालले प्रदान गर्दै आएको सेवा र थपिएको विशिष्टीकृत सेवाका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा देशका प्रमुख शहरमा रहेका केही अस्पतालले प्रदान गर्न सक्ने क्षमताको सेवा उपलब्ध भईरहेको बताईएको छ ।

प्रचारात्मक, उपचारात्मक तथा पुनस्र्थापना कार्यक्रम अस्पतालले प्रदा गर्दै आएको जानकारी गराउँदै रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवेदीले चार प्रकारका विशिष्टिकृत आँखा उपचार सेवा आँखा अस्पतालको पछिल्लो विशेष प्रकारको सेवा प्रदान गर्न थालेसँगै विरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

नियमित उपचार सेवा बाहेक अहिले आँखाको नानी सम्बन्धि सेवा, टाउको र आँखाको सेवा, दृष्टि पर्दाको सेवा र बालनेत्र सेवा, आँखाको नानी प्रत्यारोपण सेवा, आँखाको आँशु नली अपरेशनलगायत थुप्रै प्रकारका गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताउँदै यन्त्र उपकरणमार्फत सहज सेवा बिस्तार हुँदै गएको रेटिना रोग विशेषज्ञ डा. सुवेदीले बताउनुभयो ।
विशिष्टीकृत सेवा अन्तरगत आँखाको पर्दा सम्बन्धी सेवा, आँखाको क्यान्सर सम्बन्धी सेवा, आँखाको नानी सम्बन्धी उपचारसेवा र डेढो आँखाको उपचार तथा शल्यक्रिया सेवा रहेका उहाँले बताउनुभयो ।

यस अन्तरगत, आँखाको पर्दाको मधुमेह, लेजर प्रविधिमार्फत उपचार, पर्दाको प्वाल, आँखाभित्र जमेको रगत निकाल्ने, आँखाभित्र छिरेको फलामको टुक्रा, ढुंगालगायतको शल्यक्रिया, ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रिया सेवा, आँशु नली सम्बन्धी उपचार तथा शल्यक्रिया, काटिएको आँशु नलीको शल्यक्रिया, आँखाको ढकनीको उपचार सेवा, आँखाको भित्री भागमा देखिएको ट्युमर उपचार सेवा, आँखाको सौन्दर्यताको लागि गरिने उपचार तथा शल्यक्रिया, दृष्टि बढाउन गरिने नानी प्रत्यारोपण सेवा, आँखामा पलाएको मासुको अप्रेशन, आँखाको नानीमा देखिने क्यान्सर, सेतो दाग, नानी फुटेपछि समेतको सफल उपचार सेवा थालनी भएको उहाँले बताउनुभयो ।

अब आगामी दिनमा आँखासम्बन्धी सबै प्रकारका रोगको उपचार, बिरामी अन्यत्र रिफर रोक्नु, छिटो उपचारका लागि अत्याधुनिक सेवा र अस्पताललाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम अघि बढाईएको राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेलले बताउनुभयो । अहिले पनि निरन्तर रुपमा पालिकासँगको सहकार्यमा निशुल्क मोतिविन्दुको उपचार हुने गरेको बताउँदै उहाँले दाङदेखि मुगुसम्म आँखाको सेवा दिने गरेको जानकारी गराउनुभयो । यस्तै, आँखा स्वास्थ्यका लागि रुढीवादी परम्परा तोड्न धामी झाँक्री, स्वयंसेविका, शिक्षक सबैलाई सचेतना प्रदान गर्दै आएको हुँदा समुदायस्तरमा प्रभावकारी भएको बताउनुभयो ।

अब सन् २०२४ सम्ममा राप्ती आँखा अस्पताललाई आत्मनिर्भर बनाउँदै अध्ययन प्रतिष्ठानका रुपमा लुम्बिनी प्रदेशको विशिष्ट अस्पताल बनाउने लक्ष्य राखिएको अस्पतालका सचिव सुरेन्द्रबहादुर खड्काले बताउनुभयो । राप्ती आँखा अस्पतालले खासगरी पहाडी क्षेत्र रुकुम पूर्व र पश्चिम, सल्यानलगायतका स्थानमा सेवा प्रदान गर्दै आएको छ भने लमहीले कोईलाबास, बहादुरगंजले कृष्णनगर क्षेत्रमा पनि समुदाय स्तरमा पुगेर आँखा स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
२०२१ सालसम्म राप्ती आँखा अस्पतालले सेवा दिने संख्या २० लाख बढी रहेको बताउँदै यो बाहेक थप पाँच लाख बढीले सेवा लिने गरेको प्रशासनिक समिति संयोजक चिरञ्जीवी रिजालले बताउनुभयो ।

उहाँका अनुसार, राप्ती आँखा अस्पतालबाट सन् २०२२ जनवरीदेखि अक्टोबर १० सम्ममा मात्रै ५९ हजार ४८ जनाले सेवा लिन सफल भएको बताउनुभयो । जस अन्तरगत मोतिविन्दुको उपचार दुई हजार एक सय ३६, दृश्य सम्बन्धी उपचार पाँच हजार तीन सय २६, जेष्ठ नागरिकको आँखा उपचार दुई हजार पाँच सय १०, अन्य एक हजार चार सय ३६ जना रहेका छन् । आँखा अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क रुपमा एक हजार चार सय ८९ जनाको उपचार गरेको बताउनुभयो । यसैगरी, अभियानात्मक कार्यक्रम अन्तरगत १० हजार पाँच सय ९८ जनालाई क्याम्पमा निशुल्क उपचार, आठ हजार दुई सय २४ बालबालिकालाई सेवा, दुई हजार नौ सय १४ जनालाई शल्यक्रिया सेवा दिएको उहाँको भनाई थियो ।

दाङमा धानको उत्पादन पाँच प्रतिशत घट्यो

छबि पुरी/राप्ती पोष्ट

घोराही, मंसीर । दाङमा यसवर्ष पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र दाङले यो वर्ष १ लाख ५३ हजार ४ सय ६३ मेट्रिक टन धान उत्पादन भएपनि यो गतवर्षको तुलनामा पाँच प्रतिशतले कम रहेको जनाएको छ ।
जिल्लामा यो पटक ढिलो वर्षा हुँदा ३७ हजार ४ सय ३० हेक्टर वर्षे धान लगाएकोमा ५ प्रतिशतले उत्पादकत्वमा कमि आएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । अर्थविज्ञ लामिछानेले यो वर्ष प्रति हेक्टर ४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएको बताउनुभयो ।

अघिल्लो वर्ष जिल्लामा ३९ हजार ४०० हेक्टर क्षेत्रफलमा धान रोपिएको भएपनि यो वर्ष १ हजार ३० हेक्टर क्षेत्रफलमा धान नरोपिएको उहाँले बताउनुभयो । दाङमा अघिल्लो वर्ष १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यो भन्दा अघिल्लो वर्ष १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लामा ६५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । समयमा कृषकको लागि मल, बीउ र सिचाईको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन वढाउन मद्दत मिल्ने भएपनि अनेकन समस्याका कारण प्रमुख बालीका रुपमा रहेको धान उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो । ‘यस वर्ष समयमा वर्षा नहुनु, मलबीउको उचित व्यवस्थापन नहुनु जस्ता कारणले पनि उत्पादनमा कमी आएको हो,’ उहाँले भन्नुभयो, ‘जिल्लामा रोपिएको धान उत्पादकत्वका हिसावले सन्तोष गर्न भने सकिन्छ ।’

यो पटक जिल्लामा धान रोपाई हुन नसकेको १ हजार ३० हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको ज्ञान केन्द्रको दावी छ । तर, कहाँ कसरी खेती गरिएको छ भन्ने यसको यकिन तथ्यांक भने छैन । ढिलो गरी बर्षाद हुँदा ब्याड राखेको दुई महिनासम्म पनि रोप्न नपाउँदा धानमा गाँज उत्पादन गिरावट आएको र यसले उत्पादनमा समेत असर गरेको कृषकहरु बताउँछन् । घोराही ७ का भुपेन्द्रप्रकाश घर्तीले पानी नपरेर ढिलो गरी धान रोप्नुपर्दा विगतभन्दा यो पटक धान उत्पादनमा गिरावट आएको बताउनुभयो ।

उसो त, अघिल्लो वर्ष दाङमा खेती गर्नेको संख्यामा पनि वृद्धि भएको थियो । त्यो बेलामा कोभिडका कारण धेरैले रोजगारी गुमाएको र धेरै नागरिक घरमा बसेको कारण पनि खेती गरेका थिए । बाँझा खेतमा खेती गरिएको थियो तर यो वर्ष परिस्थिती सामान्य बन्दै गएपछि धेरैले अरु विकल्प रोजेको हुँदा खेतमा किसानले धान नरोप्दा उत्पादकत्वमा ह्रास आएको हो । हाईब्रिड जातको बिउमा समस्या देखिनु, धानमा मरुवा, गवारो किरा लाग्नु जस्ता कारणले पनि यस वर्ष धान उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रको भनाई छ ।

‘यस बर्ष दाङमा ब्याड राखेको समयमै रोप्ने वातावरण बनेन’ घोराही, ९ का अस्परीका हरिप्रसाद चौधरीले भन्नुभयो, ‘ब्याड राखेको एक–दुई महिना पछि मात्रै रोप्दा धानमा गाँज हाल्ने संख्या घट्ने रहेछ । ढिला गरि रोपाई भएकाले चिसो हुने समयमा पसाउने हुँदा उत्पादन घटेको छ ।’

विकासे धान रोप्न थालिएपछि अहिले रैथाने धान उत्पादनमा पनि गिरावट आएको छ । जिल्लामा रैथाने जातका धान सिमठारो, तिलकीलगायतका धान ५ हेक्टरमा रोपिएको ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय थोरै लागतमा धेरै उत्पादन खोज्ने परिपाटीको विकास हुँदै गएपछि रैथाने जातको धान रोप्ने क्रम घट्दै गएको पाइएको छ । केहीले आफुलाई खान तथा सौखको रुपमा मात्रै रैथाने धान रोप्ने गरेका छन् ।

कृषकले धानको मुल्य पाएनन्

दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारी स्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुन सकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।
गत वर्ष मोटा धान प्रति क्विन्टल दुई हजार दुई सय रुपैयाँमा बिक्री गरेका थिए । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको कृषकहरुको भनाई छ ।

समयमा प्रशस्त पानी नपरेको र समयमै मल उपलब्ध नभएका कारण यस वर्ष धान उत्पादन राम्रो नभए पनि बिक्री गर्दा मूल्य नै पाउन नसकेको उनीहरु बताउँछन् । उत्पादन अनुसारको मूल्य नपाउँदा लगानी त्यसैखेर गएको गुनासो कृषकहरुको गुनासो छ । गत कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७९–०८० का लागि धानको समर्थन मूल्य तोकेको थियो । मोटा धानको मूल्य प्रति क्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो ।

त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा दुई सय २६ रुपैयाँ भन्दा बढी हो । सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

 

दाङमा निर्वाचन परिणाम आउन सुरु

प्रदेश सभा २(१)मा खनाल विजयी

राप्ती पोष्ट

घोराही, दाङको क्षेत्र नं. २(१) बाट गठवन्धनका उमेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालको जितसंगै दाङमा नेपाली कांग्रेसले खाता खोलेको छ । प्रदेशसभा सदस्यमा खनाल निर्वाचित भएसंगै काँग्रेसको खाता खुलेको हो ।
दाङका तीनवटा संघीय र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र मध्य नेपाली काँग्रेसले गठवन्धनमा संघतर्फ एक र प्रदेश अन्तरगत चार स्थानमा उमेदवार उठाउन पाएको थियो । काँग्रेसले दाङको क्षेत्र नं. १(१)बाट अनुराग खड्कालाई, २(१) मा खनाललाई, २(२) मा प्रचण्ड विक्रम न्यौपाने र ३(१) मा डिल्ली चौधरीलाई उमेदवार बनाएको थियो ।

संघीय क्षेत्र अन्तरगत ३ बाट दिपक गिरीलाई उमेदवार बनाएको थियो । प्रदेशका अन्य उमेदवारहरुमध्य सवैजसोमा काँग्रेसका उमेदवारले अग्रता लिएका छन् । खड्का संग नेकपा एमालेका कुलबहादुर केसीको प्रतिष्पर्धा रहेको छ । केसी र खड्काबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । जहाँ कसले जित्छ अहिले भन्न नसकिने अवस्था रहेको बताइन्छ ।
यस्तै २(२) मा नेकपा एमालेका गिरिराज केसी र काँग्रेसका न्यौपानेका बीचमा तिव्र प्रतिष्पर्धा देखिएको छ । न्यौपाने केही सय मतले मात्रै अघि रहेको देखिएको छ । केसीले अन्तर घटाउँदै लगेको पाइएको छ ।

यसैगरी ३(१) मा चौधरीसंग नेकपा एमालेका घनश्याम पाण्डेको प्रतिष्पर्धा रहेको छ । पाण्डेको तुलनामा चौधरी बलियो अवस्थामा देखिनुभएको छ । चौधरी एमाले र माओवादीको गठवन्धन हुँदा २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । चौधरी त्यतिवेला दाङबाट जित्ने एक मात्र काँग्रेसको प्रदेश सभा सदस्य हुनुुहुन्थ्यो । ३(२) मा माओवादीका धनबहादुर मास्के र नेकपा एमालेका हुकुमबहादुर बस्नेतका बीच तिव्र प्रतिष्पर्धा देखिएको छ । यो क्षेत्रमा कसले जित्ने भन्ने अवस्था अहिल्यै भन्न नसकिने अवस्था रहेको छ ।

दाङका तीनवटा क्षेत्रमध्य क्षेत्र नं. १ मा नेकपा एमालेका शान्ता चौधरी गठवन्धनका उमेदवार मेटमणि चौधरीभन्दा पछि देखिनुभएको छ । यहाँ मेटमणि चौधरीको अग्रता कम भएको छैन । यस्तै क्षेत्र नंं २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलेको तुलनामा गठवन्धनका उमेदवार रेखा शर्मा अघि देखिनुभएको छ । अव गन्न बाँकी २(२) मा पोखरेलले अन्तर घटाउँदै लग्नुभएको छ । यो समाचार तयारा पार्दासम्म पोखरेल करिव एक हजार मतले पछि पर्नुभएको छ ।
क्षेत्र नंं ३ मा काँग्रेसका दिपक गिरी नेकपा एमालेका उमेदवार कोमल वलीको तुलनामा बलियो देखिनुभएको छ । मत गन्न अझै बाँकी रहेको छ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वन्तन्त्र पार्टीका उमेदवारहरुले तेस्रो मत ल्याएका छन् । समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले तेस्रो पोजिसनमा मत ल्याएका छन् ।

रानाद्वारा धन्यवाद ज्ञापन

आफूसंग प्रतिष्पर्धा गरेका गठवन्धनका उमेदवार खनालले जित हासिल गरेपछि नेकपा एमालेका उमेदवार बलिभद्र रानाले बधाई दिनुभएको छ । उहाँले मतदातालाई धन्यवाद दिनुभएको छ । खनालले १५ हजार छ सय १६ मत ल्याउँदा नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गर्नुभयो ।

रानाले दाङ क्षेत्र नं. २ (१)को निर्वाचन परिणाम पनि भर्खरै सार्वजनिक भएको छ र मेरा मित्र श्री राजु खनाल जी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएको छ भन्दै यस अवसरमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु भन्नुभएको छ । रानाले विज्ञप्ती जारी गर्दै भन्नुभएको छ ।‘यस निर्वाचनमा नेकपा (एमाले) तर्फबाट सर्बसम्मत रूपमा मलाई लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएर अबसर दिनु हुने सम्पुर्ण पार्टी नेता कार्यकर्ताहरु प्रति र आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताज्युहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी नेता, कार्यकर्ता, समर्थक, मेरा आफन्त,साथिभाइ र शुभचिन्तकहरूप्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।

निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध, सम्पर्कलाई थप बिस्वस्नियता र बलियो बनाउने, यस क्षेत्रका जनताले चाहेको दाङबाट यथाशिघ्र लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन गर्ने, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भौतिक पुर्बाधार निर्माण तथा शैक्षिकसत्र संचालन, धर्नामा ब्यापारिक औद्योगिक क्षेत्र घोषणाको कार्यान्वयन, दाङमा सरकारी इन्जिनियरिङ क्याम्पसको बजेट ब्यबस्थापन र सन्चालन, प्रस्तावित दाङ नारायनपुर एअरपोर्ट लगायत समग्र दाङको विकास निर्माण तथा सबै संघ संस्था, युवाहरूको चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राखेर सहकार्य सहयोग गरेर निरन्तर जनताका काममा कृयाशील भई लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ’ भन्नुभएको छ ।

रानाले यसरी मलाई सल्लाह, सुझाव , सहयोग, माया र प्रेरणा तथा हौसला प्रदान गर्नुहुने सबैप्रति मेरो सँधै उच्च सम्मान रहिरहनेछ भन्दै म मेरो आफ्नो कार्यक्षेत्र बिकास निमार्ण, समाज सेवा तथा आफू सम्बद्ध रहेको पार्टी – नेकपा( एमाले)प्रति सधै समर्पित रहिरहने उल्लेख गर्नुभएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी पुरा

निर्वाचनको सम्पूर्ण तयारी पुरा

राप्ती पोष्ट

घोराही, मंसीर । भोली अर्थात मंसिर ४ गते आईतबार हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्लाका सवै मतदान केन्द्रमा सम्पूर्ण तयारी पुरा भएको त्यहाँ पुगेका मतदान अधिकृतहरुले जानकारी दिएका छन्

दाङ जिल्लाका तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा रहेका ३ संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ३ मा रहेका छन् । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् भने कारागारमा रहेका कैदीबन्दीहरुको लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाईएको छ । घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनुभयो ।

चौघेरा केन्द्र

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार, क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा १ सय ५२ वटा मतदान केन्द्रबाट १ लाख ३४ हजार ७ सय २८ मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
यस्तै, क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्रबाट १ लाख ३३ हजार ७ सय ४८ मतदाताले मतदान गर्न पाउने भएका छन् । क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा १ सय ६७ मतदान केन्द्रबाट १ लाख ४६ हजार ४ सय ७५ मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका छन् ।

हरिद्वार केन्द्र

जिल्लामा रहेका मतदान केन्द्रहरुको सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै सुरक्षा संयन्त्र तैनाथ गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेको १ सय ५३ मतदान स्थलमध्ये १२ वटा मतदान स्थल अति सम्वेदनशील पहिचान गरिएको छ । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको उहाँले बताउनुभयो । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ ।

भरतपुर केन्द्र

मतदान केन्द्रमा सम्पूर्ण तयारी पुरा भएको छ । केन्द्रमा खटिएका अधिकृतहरुले सवै तयारी पुरा भएको बताएका छन् । घोराही १७ चौघेरा केन्द्रमा खटिनुभएकी मतदान अधिकृत मोती विश्वकर्माले सवै तयारी पुरा भएको बताउनुभयो । उहाँले आफ्नो केन्द्रको जिम्मेवारी महिलाले पाएको बताउनुभयो ।

रझेना केन्द्र

मतदान केन्द्रमा बाकस राख्ने बाहेक सवै काम भइसकेको छ । बाकस विहान राखिनेछ । मतदानमा आउनेहरुलाई लाइनवद्ध बनाएर राख्नका लागि सवै तयारी गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सवै काम भइसकेको हरिद्वार केन्द्रमा भेटिनुभएका निर्वाचन अधिकृत अंगदबहादुर शाहीले बताउनुभयो । कतिपय स्थान सानो हुँदा निकै कष्टका साथ केन्द्र निर्माण गरेको धारणा त्यहाँ खटिएका कर्मचारीको थियो ।

दाङका चार मतदान स्थलको जिम्मेवारी महिलालाई

महिलालाई मात्रै मतदान केन्द्रको जिम्मा दिएको घोराही १८ बेलघारी स्कुल मतदान केन्द्रका कर्मचारी ।  तस्वीरः कुलदिप न्यौपाने

कस कसले पाए जिम्मेवारी ?

छबि पुरी/ राप्ती पोष्ट

घोराही, मंसीर । भोली अर्थात मंसीर ४ गते आईतबार हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरुले मात्रै जिम्मेवारी पाएका छन् ।

मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतकोे कार्यालयले जनाएको छ । महिलामैत्री मतदान स्थलहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारीहरु मात्रै रहनुभएको छ ।

त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बसेलले बताउनुभयो । उहाँलाई सहयोग गर्न श्रृजना शर्मा, हेमन्ता थापा, विना शर्मा, सावित्रादेवी शर्मा, दिपसना बिसी, बालिका घिमिरे र गोमा मगर रहनुभएको छ । सो मतदान केन्द्रमा ९ सय ५२ मतदाता रहेका छन् ।

त्यसैगरी, सोही विद्यालयको (ख) केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहनुभएको छ । उहाँलाई सहयोग गर्न कमला खड्का, अर्चना चौधरी, इन्दिरा बिक, हिरा केसी, गोमा योगी, तिला बिक र गीता चौधरी गरि आठ जना महिला कर्मचारी रहनुभएको छ । सो मतदान केन्द्रमा ९ सय ७३ मतदाता रहेका छन् ।

यसैगरी, घोराही उपमहानगरपालिकाको वडा नम्वर १७ मा रहेका पा्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा पनि खिमा भुसाललाई मतदान अधिकृतको जिम्मेवारी दिईएको छ । उहाँलाई सघाउन बसन्ती पौडेल, बिपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, श्रीजना भण्डारी, दिला केसी र सुमन चौधरी गरि आठ जना महिला कर्मचारी रहनुभएको छ । सो मतदान केन्द्रमा ७ सय ४८ मतदाता रहेका छन् ।

सोही वडामा रहेको गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृत रहनुभएको छ । उहाँलाई सघाउन गुप्ताकुमारी अधिकारी, विष्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी रहनुभएको छ । सो केन्द्रमा ८ सय १२ जना मतदाता रहेका छन् ।

मुख्य मतदान अधिकृत कृपासुर कार्कीले महिलाहरु हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने हुँदा यस प्रकारको अभ्यास गरिएको बताउनुभयो । ‘महिलाले मात्रै सञ्चालन गरेको नमूना मतदान केन्द्रले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ जस्तो लाग्छ, यसअघि गरिएका अभ्यासले पनि महिलालाई दिईएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको पाईएको छ,’ उहाँले भन्नुभयो, ‘यो पटक दिईएको जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने विश्वास छ ।’

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले जिम्मेवारी लिएको मतदान केन्द्र घोराही १६ सानी अम्वापुर केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसमेत महिलाले चलाएका थिए । अहिले पनि विगतमा जस्तै जिम्मेवारी पाएर गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृतका रुपमा खटिनुभएकी मोती विश्वकर्माले संघ र प्रदेशको निर्वाचन पनि जिम्मेवारीपूर्वक सम्पन्न गराउने बताउनुभयो । स्थानीय तहको अनुभव यो निर्वाचनमा सदुपयोग गर्नेछौ, उहाँँले भन्नुभयो, ‘विगतको सिकाईले आत्मविश्वास जगाएको छ, मतदान केन्द्रमा कुनै कमजोरी हुनेछैन ।’

जिल्लामा रहेका ३ संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ३ मा रहेका छन् । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् भने कारागारमा रहेका कैदीबन्दीहरुको लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाईएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार, क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा १ सय ५२ वटा मतदान केन्द्रबाट १ लाख ३४ हजार ७ सय २८ मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
यस्तै, क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्रबाट १ लाख ३३ हजार ७ सय ४८ मतदाताले मतदान गर्न पाउने भएका छन् । क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा १ सय ६७ मतदान केन्द्रबाट १ लाख ४६ हजार ४ सय ७५ मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका छन् ।

जिल्लामा रहेका मतदान केन्द्रहरुको सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै सुरक्षा संयन्त्र तैनाथ गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेको १ सय ५३ मतदान स्थलमध्ये १२ वटा मतदान स्थल अति सम्वेदनशील पहिचान गरिएको छ । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको उहाँले बताउनुभयो । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ ।

मतदानका लागि अन्तिम तयारीको काम सुरु

मतदान केन्द्रमा खटिए कर्मचारी

छवि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । दाङका सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई आवश्यक सामग्रीका साथ जनशक्ति खटाईएको छ । दाङका एक सय ५३ वटै मतदान स्थलमा रहेका चार सय ६५ मतदान केन्द्रमा तीन हजार सात सय २६ जना निर्वाचन कार्यका लागि बुधबार जनशक्ति खटाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी तथा अपुग भएको स्थानमा शिक्षकहरुलाई पनि समावेश गरी मतदान केन्द्रमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री सहित खटाउने काम भएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

दाङमा निर्वाचन क्षेत्र नम्बर १ मा एक हजार दुई सय १६ जना, क्षेत्र नम्बर २ मा एक हजार एक सय ७१ जना र क्षेत्र नम्बर ३ मा एक हजार तीन सय ३९ जना निर्वाचन प्रयोजनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी खटाईएको छ ।

‘मतदानमा खटिने जनशक्तिले नियुक्त लिँदै मतदानका लागि आवश्यक सामग्रीको जिम्मेवारी लिएर यसअघि निर्धारित मतदान केन्द्रहरु प्रस्थान गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अब मतदान केन्द्रमा पुगेर आवश्यक व्यवस्थापकीय तयारीको काम पनि शुरु हुनेछ ।’

क्षेत्र नम्बर १ को १ मा छ सय २४ जना, २ मा पाँ सय ९२ जना सुरक्षाकर्मीबाहेक जनशक्ति खटाईएको छ । क्षेत्र नम्बर २ को १ मा पाच सय ४७ जना, २ मा छ सय २४ जना जनशक्ति परिचालन गरिएको छ भने क्षेत्र नम्बर ३ को १ मा पाँच सय ९५ जना र २ मा पाँच सय ९५ जना जनशक्ति खटाईएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।
क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा एक सय ५२ वटा मतदान केन्द्र रहेकोमा १२ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि एक लाख ३४ हजार सात सय २८ मतदाताले मतदान गर्न पाउनेछन् ।

यस्तै, क्षेत्र नम्बर १ को १ मा प्रदेश सभाका लागि २४ मतदान स्थल तोकिएकोमा ७८ मतदान केन्द्र रहेको छ । जहाँ नौ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि ७० हजार दुई सय ६७ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा एक सय ४६ वटा मतदान केन्द्र निर्धारण गरिएकोमा १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन्न् । जसका लागि एक लाख ३३ हजार सात सय ४८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।
सोही क्षेत्रको प्रदेश सभातर्फ क्षेत्र २ को १ मा २५ मतदान स्थलमा ६८ मतदान केन्द्र तय गरिएको छ । जहाँ आठ जना प्रदेश उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि ६३ हजार तीन सय २२ मतदाताले मतदान गर्न पाउनेछन् । क्षेत्र नम्बर २ को २ मा २३ मतदान स्थलमा ७८ मतदान केन्द्र रहेकोमा १५ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जहाँ ७० हजार चार सय २६ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा एक सय ६७ मतदान केन्द्र निर्धारण गरिएको छ । जहाँ १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि एक लाख ४६ हजार चार सय ७५ मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका छन् । यसैगरी सोही क्षेत्रको प्रदेश तर्फ १ मा २१ वटा मतदान स्थलमा ७४ मतदान केन्द्र रहेको छ । जहाँ नौ जना प्रदेश उम्मेदवार प्रतिष्पर्धामा रहका छन् । जसका लागि ६६ हजार चार सय ८६ मतदाताले मत जाहेर गर्न पाउनेभएका छन् । यस्तै, सोही निर्वाचन क्षेत्रको २ मा ३३ वटा मतदान स्थलमा ९३ वटा मतदान केन्द्र रहेको छ । जहाँ नौ जना प्रदेश उम्मेदवारलाई ७९ हजार नौ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

यस पटक जिल्लामा कुल चार सय ६५ मतदान केन्द्रबाट चार लाख १९ हजार नौ सय २४ मतदाताले मतदान गर्न पाउने भएका छन् भने कारागारमा रहेका कैदीबन्दीहरुको लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाईएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहायक कर्मचारीलाई नियुक्ती पत्रसँगै मतदान सम्पन्न नहोउन्जेलसम्मका लागि आवश्यक पर्ने निर्वाचनसँग सम्बन्धित सबै प्रकारका सामग्री प्रदान गर्दै कार्य क्षेत्रमा खटाइएको उहाँले बताउनुभयो । ‘मतदान केन्द्र निर्माणको लागि खाका अनुसार सीमा निर्धारण गर्नेलगायत अरु आवश्यक व्यवस्थापनको काम अब कर्मचारीले खटाईएका स्थानमा गर्नुहुनेछ,’ उहाँले भन्नुभयो, ‘अब भौतिक रुपमा देखिने गरी निर्वाचनको काम शुरु भएको छ ।’

निर्वाचनको कार्यतालिका अनुसार मतदान केन्द्रमा कर्मचारीहरू पुगिसक्नु पर्ने हुँदा सो क्षेत्रमा पुगेर कार्यतालिका अनुसार मतदान केन्द्रको भौतिक पूर्वाधार तयार गर्ने, मतदाता परिचय पत्र वितरण गर्ने काम हुने बताउनुभयो । उता, सुरक्षाको जिम्मेवारी रहेको निर्वाचन सुरक्षा समिति संयोजक एवक् प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले नेपाल प्रहरी, म्यादी प्रहरी र नेपाली सेना गरी करीव ४ हजार खटाइएको बताउनुभयो । जिल्लामा रहेका मतदान केन्द्रहरुको सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै सुरक्षा संयन्त्र तैनाथ गरिएको बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेको एक सय ५३ मतदान स्थलमध्ये १२ वटा मतदान स्थल अति सम्वेदनशील पहिचान गरिएको छ । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको उहाँले बताउनुभयो । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ ।

 

जित्ने आधार तय भइसकेको छ

शान्ता चौधरी
उमेदवार, दाङ क्षेत्र नंं १

नेकपा एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीको बेग्लै पहिचान छ । उहाँ १८ बर्ष जमिन्दारको घरमा कम्लहरी बस्नुभयो । २०६४ सालमा नेकपा एमालेबाट उहाँ संविधान सभामा पुग्नुभयो । संविधान सभामा पुगेपछि उहाँले कम्लहरी मुक्तिको आवाज जोड तोड्ले उठाउनुभयो । चौधरीले खेलेको भूमिकाकै आधारमा नेकपा एमालेले २०७४ सालमा उहाँलाई पुनः समानुपातिक सांसद बनायो । यतिवेला उहाँल दाङ १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा नेकपा (एकीकृत समाजवादीका) मेटमणि चौधरीलाई लिइन्छ । नेकपा एमालेकी उमेदवार चौधरीसंग गरिएको कुराकानी

चुनाव आउनै लाग्यो, वातावरण कस्तो छ ?
चुनावको व्यस्तता निकै बढेको छ । मेरो निर्वाचन क्षेत्रमा चुनावी माहोल अत्यन्तै राम्रो छ । विशेष गरेर मेरो उम्मेदवारी प्रति यहाँका वासिन्दा अत्यन्तै उत्सुक हुनुुहुन्छ । चुनाव आउन अव धेरै दिन बाँकी छैन । अन्तिम प्रचारको तयारीमा हामी जुटेका छौं ।

प्रचार अभियान कस्तो रह्यो ?
मेरो निर्वाचन क्षेत्रमा उपमहानगरपालिकाका चारवटा वडा पर्दछन् । लमही नगरपालिका पर्दछ । अरु तीनवटा गाउँपालिका पर्दछन् । गढवा र राजपुर भारतसंग सिमाना जोडिएका पालिकाहरु हुन । दाङको क्षेत्र नं. १ अरुभन्दा फरक निर्वाचन क्षेत्र रहेको छ । यहाँको अवस्था बहुआयामिक रहेको छ । यहाँ गरीवहरुको संख्या अत्यधिक छ । यहाँ दुःख पाएका, अवसर नपाएका, फुसको छानो हालेर बस्नेहरुको संख्या रहेको छ । करिव सवैको घरमा पुग्ने काम गरियो । घर भेट गरियो । टोलमा पुगियो । वडामा कार्यक्रम गरियो । नाकासम्म पुग्ने काम गरियो । यस हिसावले प्रचार अभियान राम्रो रह्यो ।

के भन्नुहुन्छ त मतदाताहरुले ?
अहिलेको प्रतिक्रियाले म त निकै उत्साहित भएको छु । यो क्षेत्रको पिर मर्काका बारेमा बुझेको उमेदवार पायौं भन्नुभएको छ । म आफै पनि दुःखसंग पैठेजोरी खेल्दै हुर्किएको मानिस हुँ । यसले मलाई झुपडीको व्यथा राम्रोसंग थाहा छ । मलाई सवैले शुभकामना दिइरहनुभएको छ । मतदाताको प्रतिक्रियाले म निकै उत्साहित भएको छु ।

तपाई २०७० सालमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको थियो अहिले क्षेत्र न.१ मा जानुभएको छ किन ?
हो, यस पटक मलाई पार्टीले दाङ १ बाट उठाएको छ । दाङ भित्र क्षेत्र जुनसुकै भए पनि एमालेको निकै राम्रो प्रभाव छ । मलाई दाङका हरेक क्षेत्रका वासिन्दाले प्रेम गर्नु हुन्छ । यसकारण मलाई क्षेत्रले केही फरक परेको छैन् । अघिल्लो पटक क्षेत्र नंं २ हुँदा संविधान सभाको लागि लडेको थिए । त्यतिवेला दुईवटा गाविसहरु अहिले क्षेत्र नं. १ मा परेका छन् । साविक लालमटिया र सिसहनिया राप्ती गाउँपालिका भएको छ । यो क्षेत्र नंं १ मा पर्दछ । क्षेत्र नं. १ होस वा २ होस मलाई केही फरक छैन । म खुशी छु । उ उत्साहित छु ।

तपाईको प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?
चुनावमा प्रतिस्पर्धा हुँदैन भन्ने छैन । निर्वाचनमा प्रतिष्पर्धा हुन्छ र प्रतिष्पर्धी हुन्छन । तर अहिले मेरा सन्दर्भमा मैले प्रतिस्पर्धी नै देखेको छैन । किनभने अहिले जसलाई गठवन्धनले उमेदवार बनाएको छ उहाँको आफ्नो पार्टीको मत भनेको दुई हजार पनि छैन । स्थानीय तहको निर्वाचनमा हामीले २० औं हजार मत ल्याएका छौं । उहाँ अर्काको सहारामा निर्वाचन जित्ने सपना देख्दै हुनुुहुन्छ । हामी आफ्नै बल बुतामा, सवै मतदाताको बलमा निर्वाचन जित्ने योजनामा छौं ।

मेटमणि चौधरीले तपाईलाई चुनौती दिन्छन जस्तो लाग्दैन ?

उहाँले मलाई चुनौती दिने कि मैले उहाँलाई चुनौती त मैले दिने भन्ने कुरा हो । उहाँ नेकपा एमालेबाट चोइटिएर जानुभएको छ । पार्टी फुटाएर जानेलाई, आफ्नो पार्टीको सरकार ढलाउनेलाई मतदाताले कसरी मत देलान र ? उहाँ मेरो प्रतिष्पर्धी हो कि होइन भन्ने कुरा केही दिनमा थाहा भइहाल्छ । त्यसैले मैले उहाँलाई किन प्रतिष्पर्धीका रुपमा लिइरहनुपर्छ र ?

तपाईलाई गठबन्धनका मतदाताले मत नहाले जित्ने गाह्रो छ भन्छन् त ?
पहिलो कुरा यो क्षेत्रमा मलाई हराउनुपर्ने कुनै कारण छैन । अर्को कुरा मेरो क्षेत्रमा गठबन्धन बलियो छैन । गठबन्धनका साथीहरु पनि मलाई साथ दिन तयार हुनुहुन्छ । मैले जित्ने आधार तय भइसकेको छ । मैले जित्ने कुराले बरु कोही आत्तिएका हुन सक्छन् । जित्ने भनेको आम मतदाताको मतले हो । पार्टीका नेता कार्यकर्ताले पहल गर्ने हो । अहिले दाङको क्षेत्र नंं १ मा पार्टीगत रुपमा र मतदाताको हिसावले हाम्रो पार्टीको हाराहारीमा अर्को कोही छैन ।

तपाईको एजेण्डा के छ नि ?
एउटा सांसदका रुपमा मैले खेल्ने भूमिका खेल्छु । विगतमा पनि मैले भूमिका खेलेको हो । पहिलेको जस्तो अवस्था अव छैन । पहिले कानुन निर्माणमा बढी सक्रिय हुनुपर्ने अवस्था थियो । अहिले त समृद्धिका लागि खट्नुपर्नेछ । लुम्विनी प्रदेशको राजधानी देउखुरीमा तोकिएको छ । यसलाई स्थायी रुपमा संरचना बनाएर सार्नुपर्नेछ । यहि काम मेरो पहिलो एजेण्डा हुनेछ । अघिल्लो सरकारले राप्ती उपत्यकालाई राजधानी तोक्यो तर गठवन्धन सरकारले दाङमा संरचना ल्याउन सकेन । अव हाम्रो नेतृत्वमा सरकार बनेपछि दाङमा राजधानीका संरचना बनाउने, स्थायी रुपमा यहिँबाट काम थाल्ने योजना हुनेछ । अरु धेरै एजेण्डाहरु रहेका छन् जसका बारेमा हामीले मतदातालाई बताउँदै आएका छौं ।

 

यस पटकको विकल्प किन एमाले ?

विष्लेशण

दीपक शर्मा

  • आफ्नो हातमा सत्ता आएको समयमा सबै भन्दा धेरै दुरुपयोग गर्नेहरुले आज अति फूर्ती लगाएको कत्ति पनि सुहाएको छैन । नेपालमा उखान छ ‘जसको सिंग छैन उसको नाम तिखे’ । सिंग नहुनेको नाम तिखे राखेर कति सुहाउने हुन्छ होला ? जसको बोलीमा स्थिरता छैन उसैको ठूलो श्वर पनि सुहाउने रहेनछ । बिहान एउटा कुरा दिउसो अर्को कुरा र सन्ध्याकामा झन अर्को कुराको विटो पार्नेले मै गोरी मै मिठी र मै राम्री भनेर धक्कु लगाएको कति सुहाउँने होला ? सुन्दा र हेर्दा आश्चर्य लाग्छ ।

आफ्नो हातमा सत्ता आएको समयमा सबै भन्दा धेरै दुरुपयोग गर्नेहरुले आज अति फूर्ती लगाएको कत्ति पनि सुहाएको छैन । नेपालमा उखान छ ‘जसको सिंग छैन उसको नाम तिखे’ । सिंग नहुनेको नाम तिखे राखेर कति सुहाउने हुन्छ होला ? जसको बोलीमा स्थिरता छैन उसैको ठूलो श्वर पनि सुहाउने रहेनछ । बिहान एउटा कुरा दिउसो अर्को कुरा र सन्ध्याकामा झन अर्को कुराको विटो पार्नेले मै गोरी मै मिठी र मै राम्री भनेर धक्कु लगाएको कति सुहाउँने होला ? सुन्दा र हेर्दा आश्चर्य लाग्छ । बाबुराम भट्टराईको नेतृत्वमा सरकार थियो उनैले प्रथम पटकको संविधान सभाबाट संविधान जारीगर्न नसकेर संविधानसभा नै विघटन गरिएको इतिहास नेपालीका सामुमा ताजै छ । आज त्यही दलको अगुवाले यो मुलुकका सारा परिवर्तन हाम्रो पार्टीले गरेको हो भनेको सुन्दा कतिपय विश्लेषकहरुले जस्तो काम उस्तै बोली भएकाले यस्तो कुरा गरेको त के अनौठो भयो र ? भनेर भन्ने गर्छन् । कुरा सत्य यही हो । बोलीको ठेगान नभए पछि संसार मेरो कब्जामा छ भनेर भने पनि हुन्छ । संसारको चक्रवर्ति मै हूँ भने पनि हुन्छ । भोलीको दिग्विजयी मै हूँ भने पनि हुन्छ । आफू सरकारको नेतृत्वमा रहँदा देशका लागि र आम जनताका लागि मैले के दिएँ भन्ने कुरा विर्सेर बोल्दा ०६४ मा पाएको मत २०७० मा आउँदा कहाँ पुग्यो ? ७० को मत ७४ मा आउँदा कसको आधार लिनुपरेको थियो ? अनि यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा कतिवटा लोहोराको विटो पारेर कति प्रतिशत मत प्राप्त हुन सकेको थियो । यसलाई एक पटक विश्लेषण गर्दा वेश हुन्छ होला ।
वास्तवमा नेपाली जनताले ठीक के हो ? र वेठीक के हो ? भन्ने राम्रोसंग जान्दछन् । यस्ता बोलीको ठेगान नहुनेहरुलाई ठेगान लगाउन पनि जान्दछन् । त्यसैको परिणाम हो ६४ मा पाएको सर्वाधिक मत ७० मा आउँदा सलक्कै घटन पुग्यो । २०४८ सालमा बहुमत पाएको नेपाली काँग्रेसले छँदा खाँदाको संसद विघटन गरेर आफ्नै मतदातालाई लोप्पा लगाएको कारणले अहिलेसम्म पनि बहुमत प्राप्त गर्न सकेको छैन । अव हुँदा हुँदा त हिंजो जसको टाउकाको मूल्य जसले तोकेको हो सत्ता बचाउनका लागि उसैसंग झुकेर आज उसैको सरणमा र इशारामा नाच्नु परेको छ । यो भन्दा विडम्वना अर्को के हुन्छ ? आफ्नो क्षमता वृद्धि गर्न नसकेर नेपालको सर्वाधिक लोकप्रिय पार्टी नेकपा एमालेलाई प्रतिगमनकारी भनेर दुश्प्रचार गर्नु परेको छ । यो अर्को विडम्वना हो । नेकपा एमालेका नेता कार्यकर्ताहरु पञ्चायती कालरात्रीका विरुद्धमा ज्यानको पर्वाह नगरेर लडदै आए । उनीहरुको त्यो लडाई मुलुक समृद्धिका लागि मात्र थियो भन्ने कुरा २०५१ सालमा पहिलोपटक कमरेड मनमोहन अधिकारी नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको पहिलो सरकारबाट प्रमाणित भएको छ । हुनत यो पार्टी भित्र अवसरवादीहरु नभएको होइनन् । जे जति अवसरवादीहरु थिए उनीहरु यतिवेला आफै किनारा लागेका छन् । यसभित्र बसेर सक्षम तरिकाले काम गर्न नसक्ने पदलोलुपहरु केही गत वर्षनै किनारा लागे भने केही यस पटकको निर्वाचनमा टिकट नपाएको नाममा आफै पार्टी परित्याग गरेको घोषणा गरेर आफै पल्लो किनारमा पुगेका छन् । हिंजो काममा भाँजो हाल्नेहरु अहिले आफै किनारामा पुगेकाले अहिले पार्टी भित्र शुद्ध छवी भएका देश हाँक्न सक्ने क्षमता भएकाहरुको वाहुल्यता छ । यसकारण यो निर्वाचनमा स्वच्छ छविभएकाहरु चुनावी मैदानमा रहेकाछन् । यसकारण यसको नेतृत्व सबै भन्दा उच्च रहन्छ भन्ने आधार बनेको छ ।

स्वच्छ छवि भएकाहरुको अनुहारमा छवि विग्रेकाहरुले राम्रोसंग हेर्न पनि सक्दैनन् । अहिले भएको त्यही हो । एकातर्फ पाँचवटा दलहरुको गठवन्धन छ भने अर्को तर्फ एकाध स्थानमा चुनावी तालमेल वाहेक चुनावी मैदानमा एक्लै एमाले भिडेको छ । पाँचदलको गठवन्धन हुँदा पनि एमालेलाई परास्त गर्न सकिदैन भन्नेमा किन ढुक्क हुन सकेका छैनन् उनीहरु ? हिंजो आफुबाट भएका कमजोरीका कारणले आफ्नो पक्षमा मत आउँछ भन्नेमा उनीहरु ढुक्क हुन नसकेको त सत्य हो नी । तर नेकपा एमालेले ढुक्काका साथ चुनावी तालमेल भएका स्थानदेखि बाहेक १०० सिटमा सहजै जीत निकाल्न सक्छ अनि पचास भन्दा बढी सिटमा समानुपातिक सिट आउँछ भनेको छ । यो उसको सही तथ्यांक हो । भोली आउने परिणाम यो भन्दा बढन सक्ने सम्भावना छ । किनकी बोलीको ठेगान नहुने दल वा दलका नेतालाई यसपटक चेताउन पर्छ भन्ने चेत मतदातमा आएको छ । यसकारण पनि पाँच दलको बलभन्दा एमालेको एक्लो गल काफी छ । उसले लगाएको गलले कति काला पत्थर पल्टने हुने । अव छिटै देख्न र सुन्न पाइनेछ ।

जसले देशलाई आफ्नै मुठीमा राख्न चाहेको छ फेरी उसैलाई खोजि खोजि मत दिनु भनेको आफैप्रति धोखा दिनु हो र राष्ट्रप्रति धोखा दिनु हो । नेपाली नागरिकहरु सचेत छन् । यस अघि नेकपा एमालेको सरकार भएको समयमा सरकार सञ्चालनको कार्यशैली देखेका छन् । अत्यधिक मतदातालाई लागेको कुुरा के भने मुलुकको कायापलट गर्ने एकमात्र नेपाको पार्टी नेकपा एमाले भन्ने विश्वास पलाएको छ । यसकारण पनि जतिसुकै सुर्के गाँठो पारेर गठवन्धन जोगाउन खोजे पनि यो मंसि ४ गतेका दिन नेपालभरबाट आम मतदाताले खुस्काएर देखाउने छन् । त्यतिवेला फेरी कसैको शरणमा पुगेर कुन्नी के जारी गर्न लगाउने त होला ? हिंजो ०७२ सालमा एमालेको नेतृत्वमा रहेको सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेर पुनः नेपाली काँग्रेससंग कुम जोडन गएको कुरा होस वा नेकपा हुँदा केपीको नेतृत्वमा रहेको सरकारले गरेका लोकप्रिय काम देखेर जलन भएर पुनः आफ्नै दलको नेताको अगुवाइमा चलेको सरकारका विरुद्धमा फेरी अर्को पटक अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी एकातर्फ रहन गयो भने अर्को तर्फ साधारण सदस्य समेत नरहनेगरी उनै केपी ओलाई कारवाही समेत गरियो । अन्तमा विश्वासको मत लिन चाहँदा विपक्षमा मतहालेकाहरुले अहिले आफू अति चोखो भएको र के पीओली विटुलो भएको भाषण सुन्नेहरु खित्का छोडेर हाँस्ने गर्दछन् ।

दल कसैको पेवा होइन न कार्यकर्ता कसैका दास हुन । उनीहरु आफ्नो खुशीले मतदान गर्न सक्दछन् । हरेक पटक नेताका स्वार्थका निम्ति आफ्नो मत वन्धक राख्नु पर्ने केही खाँचो छैन । अहिले भएको गठवन्धनले आम नेपालीलाई के प्राप्ती भएको छ । यसै वर्षको खेतीपातीको समयमा किसानहरुले न मल पाए न बीउ पाए । महंगीको भारीले आम उपभोक्ता थिचिएका छन् । यो थिचाइ यही गठवन्धन सरकारको होइन ? गठवन्धनले फेरी पनि सरकार बनाउन पायो भने यो महंगी र अभाव अझ उचाइमा जाने छ । यसबाट नागरिकले कति सास्ती खेप्नु पर्ने हो ? जसले वामपन्थीको सरकार विघटन गर्नका लागि दुई पटक अविश्वासको प्रस्तावमा आफनो हात बढाएको थियो । उसैबाट पाँच दलीय गठवन्धन भए यता धेरै पटक नेपाली काँग्रेसले धम्क्याई मागेको सबैलाई थाह छ । तर उ चूँ गरेर बोल्न नसक्नुको कारण मतदाता सोध्ने गर्दछन् । यसकारण पनि यो गठवन्धन दीर्घकालिन समाधान हुने छैन । पुन आफैलाई धोखा दिन चाहनेले मात्र यस पटक यो गठवन्धनलाई रोज्नेछन् । गठवन्धन भित्रका अत्यधिक कार्यकर्ताहरुमा अहिले उत्साह देखिदैन । यसले पनि एउटा संकेत गरेको छ । यसको क्षमता कति हो भनेर आफै बुझ्न सकिन्छ ।

यस पटक आफ्नो मत दिनु अघि एक पटक पहिले देखिका कुराहरु केलाएर सोच्नु पर्दछ । पहिलेका घटनाहरु विना पूर्वाग्रह विचार गरेर आफ्नो मतको प्रयोग गर्नुपर्ने छ । अहिलेको समयले विकासको गतिलाई तीव्रता दिनका लागि सही स्थानमा मत जाहेर गर्नु पर्ने छ । त्यो सही स्थान भनेको पार्टी एमाले र उसको चुनाव चिन्ह सूर्यमात्र यस पटकको एकमात्र विकल्प हो । अस्तुः

अरुले जस्तो विश्वासघात नगर्ने शान्ताको प्रतिबद्धता

राप्ती पोष्ट

घोराही, कात्तिक । करिव १८ बर्ष अरुको घरमा कम्लहरी बस्नुभएकी शान्ता चौधरी २०६४ सालमा संविधान सभामा प्रवेश गर्नुभयो । जतिवेला उहाँ संविधान सभामा पुग्नुभयो त्यतिवेला उहाँलाई आफ्नो नाम लेख्न पनि गाह्रो परेको थियो । जिन्दगीभर अरुको घरमा भाँडा माझेको व्यक्ति एकै पटक सांसद हुँदा सवै कुरा अश्वभाविक लाग्नु स्वभाविक थियो । २०६४ सालमा संविधान सभामा छिरेपछि धेरै कुरा उहाँलाई थाहा भयो । जमिन्दारको घरमा गरेको संघर्ष एक खालको थियो भने संसदभवनमा छिरेपछि नयाँ खालको संघर्ष सुरु भयो । २०७० सालको निर्वाचनमा उमेदवार बन्नुभयो । संविधान सभाको दोस्रो निर्वाचनमा उहाँ पराजित हुनुभयो । २०७४ सालमा उहाँ पुनः संसदमा पुग्नुभयो । पहिलेको भन्दा उहाँको भूमिका बढ्यो । मानिसको अपेक्षा पनि बढ्यो । पार्टीले पनि उहाँलाई विश्वास ग¥यो । यतिवेला उहाँ प्रत्यक्ष तर्फ दाङको क्षेत्र नं. १ मा उमेदवार बन्नुभएको छ । शनिबार दिउँसो घोराही उपमहानगरपालिकाको विकट बस्ती मुसौट खोला पुगेर उहाँले प्रतिवद्धता गर्नुभयो, ‘तपाईहरुले मलाई मत दिएर पठाउनुस, म निरास बनाउने छैन ।’

घोराही लमही सडकमा पर्ने मुसौट खोला वरपर सानो बस्ती छ । यो बस्तीमा एमालेको प्रभाव राम्रो मानिन्छ । घोराही उपमहानगरपालिकाको वडा नंं ३ भएकाले क्षेत्र नं. १ मा परेको छ । यो क्षेत्रमा सिजु र मुसौट गरेर दुईवटा टोल रहेका छन् । नेकपा एमालेले यहाँ रहेको सरस्वती प्रावि मुसौट खोलादेखि केही पूर्वको खाली ठाउँमा सानो सभा आयोजना गरेको थियो । जहाँ सम्वोधन गर्नका लागि पुग्नुभएको थियो शान्ता चौधरी । विकट ठाउँका मानिसको दुःखका बारेमा आफू जानकार रहेको भन्दै शान्ताले आफूले जितेको खण्डमा दुःखीहरुका लागि, गरीवहरुका लागि र भूमिहिनका लागि काम गर्ने बताउनुभयो । पहिलेका उमेदवारले के गरे त्यसका बारेमा आफूले त्यति चासो नराखेको भन्दै आफूले काम गर्ने प्रतिवद्धता गरेको बताउनुभयो ।

मुसौट खोला क्षेत्रमा करिव दुई सय मतदाता मात्रै छन् । दुईवटा टोल छन । मतदाता थोरै भएकाले यहाँ धेरैको नजर पर्दैैन । भुगोलका हिसावले पनि लमहीको जस्तो लाग्छ तर यो घोराही उपमहानगरपालिकाको वडा नं. ३ हो । संघिय संरचना अनुसार यो दाङको क्षेत्र नंं १ मा पर्दछ । घोराही उपहानगरपालिकाका चारवटा वडा क्षेत्र नं. १ मा पर्दछन् । वडा नं. १, २, ३ र ५ क्षेत्र नंं १ मा पर्दछन् । घोराही उपमहानगरपालिकाका चारवटै वडा अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गठवन्धनका बाबजुत जितेका वडाहरु हुन् । वडा नंं ३ को भुगोल गोग्ली हुँदै मुसोट खोला र त्यसको केही पूर्व चिसापानी सम्म पर्दछ ।

दाङको क्षेत्र नं. १ शान्ताका लागि नौलो ठाउँ होइन । २०७० सालको निर्वाचनमा उमेदवार हुँदै गर्दा साविकको लालमटिया र सिसहनिया गाविस, लक्ष्मीपुर, रामपुर र त्यतिवेलाका पहाडी गाविस उहाँको क्षेत्रमा परेका थिए । अहिले रामपुर अन्तरगत घोराहीका दुईवटा वटा क्षेत्र नंं १ मा परेका छन् । यस्तै वडा नंं ३ लक्ष्मीपुर गाविस अन्तरगत थियो । लक्ष्मीपुर दुईवटा वडा हुँदा एउटा वडा क्षेत्र नंं १ मा परेको छ । धर्ना गाविस सिंगै वडा नंं ५ भएको थियो । वडा नंं ५ मा पनि क्षेत्र नं. १ मा परेको छ । घोराहीका चारवटा वडा, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्र नं. १ मा पर्दछन् ।

दाङको क्षेत्र नंं १ आफ्ना लागि परिचित स्थान रहेको भन्दै शान्ताले अरुले आजसम्म नगरेको विकासको काम आफूले गर्ने प्रतिवद्धता जनाउनुभयो । क्षेत्र नंं १ मा थारुहरुको बाहुल्यता रहेको, यादव समुदायका मानिसहरु रहेको, एउटा नगरपालिका भएपनि दुर्गम बस्ती रहेको, नाका क्षेत्र पनि रहेकाले यो क्षेत्रको विकासका लागि आफूले भूमिका खेल्ने उहाँको प्रतिवद्धता छ । आफू झुपडीबाट उठेर आएको भन्दै उहाँले मुसौटखोलाबासीलाई आफूले कहिल्यै पनि झुपडीलाई नभुल्ने बताउनुभयो । अहिले आफ्ना प्रतिष्पर्धीले पैसाको प्रलोभन दिन थालेको भन्दै आफूले त्यस्तो प्रलोभन दिन नसक्ने र मतदातालाई त्यस्तो आशा नगर्न पनि आग्रह गर्नुभयो । एक दिनको वा एकै छिनको लोभले पाँच बर्षसम्म पछुताउनुपर्ने भन्दै पाँच बर्षमा मुसौटखोलाबासीको जीवनस्तर परिवर्तन हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ नजिकै एउटा विद्यालय छ, यो विद्यालयको अवस्था राम्रो छैन । विद्यार्थीहरुलाई विद्यालय आउ जाउ गर्न गाह्रो छ । यो सवै कुरा बुझेर पनि पहिले जितेका सांसदले किन वेवास्ता गरे मलाई अचम्म लागिरहेको छ ।’

शान्ता चौधरीको उमेदवारीले स्थानीय पनि उत्साहित देखिए । स्थानीयले विकास र समृद्धिका लागि मत दिने प्रतिवद्धता गरे । चौधरीले हात जोडेर मत मागिरहदा स्थानीयले ‘भोट दिन्छौं’ भन्दै जवाफ दिइरहेका थिए । घोराही उपमहानगरपालिका वडा नं. ३ का सदस्य सुखराम चौधरीले क्षेत्र नंं १ मा शान्ताको उमेदवारीले सवै उत्साहित भएको बताउनुभयो । उहाँले गरीवको व्यथा बुझेको, दुःख पाएको शान्ता भन्दा राम्रो उमेदवार अर्को नपाईने उहाँको तर्क थियो ।
दाङको क्षेत्र नंं १ (२)मा लमही नगरपालिकाका पूर्व मेयर कुलबहादुर केसी उमेदवार बन्नुभएको छ । संघीय संसदको उमेदवारका रुपमा शान्ता चौधरी आउँदा राम्रो रहेको उहाँको भनाई छ । यहाँका नागरिकको भावनाका बारेमा उहाँलाई राम्रोसंग थाहा छ । शान्ताको उमेदवारीले मतदाता पनि उत्साहित भएको भनाई केसीको छ । मुसौट खोलामै आयोजित कार्यक्रममा बोल्दै नेकपा एमाले जनताको सेवक पार्टी भएको बताउनुभयो । जनताको पक्षमा काम गर्नका लागि नेकपा एमालेलाई कसैले रोक्न नसक्ने भन्दै उहाँले नेकपा एमालेले नै विकास र समृद्धिको नेतृत्व गर्ने दावी गर्नुभयो ।

मतदाताहरु जति करिव सवै उपस्थिति रहेको कार्यक्रमलाई नेकपा एमाले दाङका उप सचिव कृष्णप्रसाद भुषालले सम्वोधन गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘हिजो कम्युनिष्टले जिते भने हाँस्न पाइन्न भनेर कुप्रचार गर्दथे । बृद्ध बृद्धालाई मार्दछ भनेर आरोप लगाउँथे । आज नेकपा एमाले नै जनताको सच्चा साथी भएकाले अव एमालेले जित्यो भने संविधान मिच्छ भन्दै आरोप लगाउन थालेका छन् ।’ यिनीहरुको कुरामा विश्वास कसैले पनि गरेको छैन ।’ भुषालले भन्नुभयो ।
नेकपा एमाले घोराही ३ का अध्यक्ष रामप्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरिता सुवेदीले गर्नुभएको थियो ।

मतदान गर्ने तरिका थाहा नपाएर मतदाता अलमल

छबि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । गाउँगाउँमा बस्तीबस्तीमा पुगेर मतदाता शिक्षा तीव्र पारिएको छ । आम मतदाताले गर्ने मतदान बदर नहोस् र आफुले चाहेको उम्मेदवारलाई मत सदर होस् भन्ने आम मतदाताको अपेक्षा पूरा गर्न खोजिएपनि आम मतदाता आफुले दिने मत पूर्ण रुपमा सदर हुनेमा ढुक्क छैनन् ।

यो पटक संघ र प्रदेश सभा सदस्य तथा दुवै सदनको समानुपातिकका लागि ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदाताहरु मतदाता शिक्षापछि पनि पूर्ण विश्वस्त बन्न सकेका छैनन् । बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ६ मा मतदाता शिक्षापछि गरिएको नमूना मतदानमा धेरै मतदाता झुक्किए । मतदाता शिक्षा लिएपछि नमूना पत्रपत्रमा मतदान गर्नुभएका टिम्मल चौधरीले मतपत्रमा लगाउनुभएको स्वस्तिक चिन्ह सदर भएन ।

अर्का रामसुरत चौधरीले निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदान गर्नुभयो । उहाँले सबै ठाउँमा मतदान गर्दा पनि मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र प्रयोग गर्नुभयो । यो पटक संघ र प्रदेश सभाको एकै पटक मतदान हुने भएकाले धेरै मतदातालाई निर्वाचनको अवस्थाका बारेमा बुझाउन समय लाग्ने गरेको मतदाता शिक्षा दिन खटिनुभएका राजनारायण चौधरीले बताउनुभयो । ‘मत पत्र ४ वटा हुन्छ, यो किन भएको हो भन्ने बारेमा मतदातालाई बुझाउनु पर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘मतपत्रका बारेमा त अझ धेरै कुराले झुक्याउने गरेको देखियो ।’

यस पटकको निर्वाचनमा प्रदेश सभा र प्रतिनिधि सभाका लागि एकै चरणमा मतदान हुन लागेकाले मतदाताले मतदान स्थलप्रवेश गरेपछि ४ वटा बेग्ला बेग्लै मत पत्रमा मतदान गर्नुपर्ने भएको छ । संघ र प्रदेशका प्रत्यक्ष उम्मेदवारका लागि २ वटा तथा दुवै सदनको समानुपातिक तर्फ पनि २ वटा मत पत्र गरी चार वटा मत पत्रमा मतदान गर्नुपर्ने भएकाले आम मतदातालाई मतदान कसरी गर्ने भन्ने बुझाउन अति जरुरी रहेको उहाँको भनाई छ ।

गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहाका नरेश थापाले मंसीर ४ गते पहिलो पटक मतदान गर्न लाग्नुभएको छ । उहाँलाई मतदान कसरी गरिन्छ भन्ने अनुभव छैन । यो पटक उहाँले अनुभव लिने मौका पाउन लाग्नुभएको छ । तर, उहाँलाई चार वटा मतपत्र किन बनाइएको हो भन्ने बारेमा जानकारी थिएन । मतदाता शिक्षा लिएपछि उहाँले यस बारेमा जानकारी पाउनुभयो ।

उसो त, बजारमा भन्दा गाउँमा अहिले केही उम्मेदवारले निर्वाचन आचार संहिता विपरित ठूलो आवाजमा माइकिंग र साउन्ड बक्स बजाएर चुनावी गीत बजाउँदै कुदिरहेका छन् । उनीहरुको त्यस प्रकारको चुनावी प्रचारशैली आचारसंहिता विपरित भएपनि गाउँका मतदाताले गुनासो गर्न सकेका छैनन् । खासगरी, सत्ता साझेदार दलका उम्मेदवारले यस प्रकारको काम गरिरहेका स्थानीय मनिष चौधरीले बताउनुभयो । ‘होहल्ला गर्दै राति अबेरसम्म बाईकिंग गर्दै हिड्छन् तर मतदाताको घरमा आएर आफ्ना कुरा भनेको थाहा पाएको छैन,’ उहाँले भन्नुभयो, ‘यसरी अस्वस्थ प्रतिष्पर्धा गर्नेले भोलि कसरी राम्रो काम गर्लान् र ? सत्ता र सरकारको दोहन गर्नेले यो रवाफ नदेखाएको भए हुने ।’

मतदाता शिक्षा गाउँबस्तीसम्म पुर्याइए पनि गठबन्धन गरेका दलहरुका कारण धेरै मतदाता निर्वाचन चिन्हलाई लिएर अन्यौलमा छन् । जसले गर्दा प्रत्यक्ष निर्वाचन र समानुपातिक तर्फको मतपत्रमा झुक्किने गरेको उनीहरु बताउँछन् ।
निर्वाचन आयोगले विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघसंस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक मतदाता शिक्षा दिन सिमित जनशक्ति खटाएपछि मत बदर हुने सम्भावना बढी छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षाबिनै मतदान गर्दा धेरैजसो मत बदर हुने अवस्था रहेको आम नागरिक बताउँछन् ।

‘छ्यासमिसे भएर प्रतिस्पर्धामा छन्, निरक्षर मतदाता भएको ठाउँमा धेरै मत बदर हुन्छ । भन्ने लागेको छ,’ लमही ४ का मनिष न्यौपानेले भन्नुभयो, ‘दलका नेता कार्यकर्ता र उम्मेदवारले पनि राम्रोसँग मतदान गर्ने तरिका सिकाउन सके मतको सदुपयोग हुने थियो । यो अत्यन्तै जरुरी छ ।’ उता, मंसीर ४ गतेको निर्वाचनमा होमिएका उम्मेदवार चुनावी अभियानमा व्यस्त भईरहँदा निर्वाचन आयोग मतदाता शिक्षामा केन्द्रित बनेको छ । गाउँगाउँमा पुगेर स्वयमसेवकले मतदातालाई मतदाता शिक्षा दिँदै बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्य सहित मतदाताको घरघरमा पुगेर शिक्षा प्रदान गरिरहेका छन् ।

कतिपय स्वयम् सेवक मतदातालाई खेतबारीमा भेटेर मतदान कसरी गर्ने भन्ने शिक्षा दिने काम गर्दै आएका छन् । जिल्लामा रहेको संघ तर्फ ३ र प्रदेश तर्फ ६ वटा निर्वाचन क्षेत्रमा मनोनयन गराएका कुल ८९ उम्मेदवारबीच कुल ९ पदका लागि प्रतिष्पर्धा भईरहेको छ । मतदाताको घरमै पुगेर मतदाता शिक्षा अभियान थालिएको हुँदा मत बदर कम हुने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनुभयो ।

जिल्लामा स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयम् सेविका, कर्मचारीसमेत परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा प्रदान गर्दै निर्वाचनको महत्व बारे जानकारी गराउने काम भएकाले यो पटक विगतको भन्दा कम मत बदर हुने विश्वास लिएको उहाँको भनाई छ । गाउँमै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउन थालिएसँगै मतदाताले जानकारी लिने अवसर पाएको उहाँको भनाई छ ।