spot_img
spot_img

जित्ने आधार तय भइसकेको छ

शान्ता चौधरी
उमेदवार, दाङ क्षेत्र नंं १

नेकपा एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीको बेग्लै पहिचान छ । उहाँ १८ बर्ष जमिन्दारको घरमा कम्लहरी बस्नुभयो । २०६४ सालमा नेकपा एमालेबाट उहाँ संविधान सभामा पुग्नुभयो । संविधान सभामा पुगेपछि उहाँले कम्लहरी मुक्तिको आवाज जोड तोड्ले उठाउनुभयो । चौधरीले खेलेको भूमिकाकै आधारमा नेकपा एमालेले २०७४ सालमा उहाँलाई पुनः समानुपातिक सांसद बनायो । यतिवेला उहाँल दाङ १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा नेकपा (एकीकृत समाजवादीका) मेटमणि चौधरीलाई लिइन्छ । नेकपा एमालेकी उमेदवार चौधरीसंग गरिएको कुराकानी

चुनाव आउनै लाग्यो, वातावरण कस्तो छ ?
चुनावको व्यस्तता निकै बढेको छ । मेरो निर्वाचन क्षेत्रमा चुनावी माहोल अत्यन्तै राम्रो छ । विशेष गरेर मेरो उम्मेदवारी प्रति यहाँका वासिन्दा अत्यन्तै उत्सुक हुनुुहुन्छ । चुनाव आउन अव धेरै दिन बाँकी छैन । अन्तिम प्रचारको तयारीमा हामी जुटेका छौं ।

प्रचार अभियान कस्तो रह्यो ?
मेरो निर्वाचन क्षेत्रमा उपमहानगरपालिकाका चारवटा वडा पर्दछन् । लमही नगरपालिका पर्दछ । अरु तीनवटा गाउँपालिका पर्दछन् । गढवा र राजपुर भारतसंग सिमाना जोडिएका पालिकाहरु हुन । दाङको क्षेत्र नं. १ अरुभन्दा फरक निर्वाचन क्षेत्र रहेको छ । यहाँको अवस्था बहुआयामिक रहेको छ । यहाँ गरीवहरुको संख्या अत्यधिक छ । यहाँ दुःख पाएका, अवसर नपाएका, फुसको छानो हालेर बस्नेहरुको संख्या रहेको छ । करिव सवैको घरमा पुग्ने काम गरियो । घर भेट गरियो । टोलमा पुगियो । वडामा कार्यक्रम गरियो । नाकासम्म पुग्ने काम गरियो । यस हिसावले प्रचार अभियान राम्रो रह्यो ।

के भन्नुहुन्छ त मतदाताहरुले ?
अहिलेको प्रतिक्रियाले म त निकै उत्साहित भएको छु । यो क्षेत्रको पिर मर्काका बारेमा बुझेको उमेदवार पायौं भन्नुभएको छ । म आफै पनि दुःखसंग पैठेजोरी खेल्दै हुर्किएको मानिस हुँ । यसले मलाई झुपडीको व्यथा राम्रोसंग थाहा छ । मलाई सवैले शुभकामना दिइरहनुभएको छ । मतदाताको प्रतिक्रियाले म निकै उत्साहित भएको छु ।

तपाई २०७० सालमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको थियो अहिले क्षेत्र न.१ मा जानुभएको छ किन ?
हो, यस पटक मलाई पार्टीले दाङ १ बाट उठाएको छ । दाङ भित्र क्षेत्र जुनसुकै भए पनि एमालेको निकै राम्रो प्रभाव छ । मलाई दाङका हरेक क्षेत्रका वासिन्दाले प्रेम गर्नु हुन्छ । यसकारण मलाई क्षेत्रले केही फरक परेको छैन् । अघिल्लो पटक क्षेत्र नंं २ हुँदा संविधान सभाको लागि लडेको थिए । त्यतिवेला दुईवटा गाविसहरु अहिले क्षेत्र नं. १ मा परेका छन् । साविक लालमटिया र सिसहनिया राप्ती गाउँपालिका भएको छ । यो क्षेत्र नंं १ मा पर्दछ । क्षेत्र नं. १ होस वा २ होस मलाई केही फरक छैन । म खुशी छु । उ उत्साहित छु ।

तपाईको प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?
चुनावमा प्रतिस्पर्धा हुँदैन भन्ने छैन । निर्वाचनमा प्रतिष्पर्धा हुन्छ र प्रतिष्पर्धी हुन्छन । तर अहिले मेरा सन्दर्भमा मैले प्रतिस्पर्धी नै देखेको छैन । किनभने अहिले जसलाई गठवन्धनले उमेदवार बनाएको छ उहाँको आफ्नो पार्टीको मत भनेको दुई हजार पनि छैन । स्थानीय तहको निर्वाचनमा हामीले २० औं हजार मत ल्याएका छौं । उहाँ अर्काको सहारामा निर्वाचन जित्ने सपना देख्दै हुनुुहुन्छ । हामी आफ्नै बल बुतामा, सवै मतदाताको बलमा निर्वाचन जित्ने योजनामा छौं ।

मेटमणि चौधरीले तपाईलाई चुनौती दिन्छन जस्तो लाग्दैन ?

उहाँले मलाई चुनौती दिने कि मैले उहाँलाई चुनौती त मैले दिने भन्ने कुरा हो । उहाँ नेकपा एमालेबाट चोइटिएर जानुभएको छ । पार्टी फुटाएर जानेलाई, आफ्नो पार्टीको सरकार ढलाउनेलाई मतदाताले कसरी मत देलान र ? उहाँ मेरो प्रतिष्पर्धी हो कि होइन भन्ने कुरा केही दिनमा थाहा भइहाल्छ । त्यसैले मैले उहाँलाई किन प्रतिष्पर्धीका रुपमा लिइरहनुपर्छ र ?

तपाईलाई गठबन्धनका मतदाताले मत नहाले जित्ने गाह्रो छ भन्छन् त ?
पहिलो कुरा यो क्षेत्रमा मलाई हराउनुपर्ने कुनै कारण छैन । अर्को कुरा मेरो क्षेत्रमा गठबन्धन बलियो छैन । गठबन्धनका साथीहरु पनि मलाई साथ दिन तयार हुनुहुन्छ । मैले जित्ने आधार तय भइसकेको छ । मैले जित्ने कुराले बरु कोही आत्तिएका हुन सक्छन् । जित्ने भनेको आम मतदाताको मतले हो । पार्टीका नेता कार्यकर्ताले पहल गर्ने हो । अहिले दाङको क्षेत्र नंं १ मा पार्टीगत रुपमा र मतदाताको हिसावले हाम्रो पार्टीको हाराहारीमा अर्को कोही छैन ।

तपाईको एजेण्डा के छ नि ?
एउटा सांसदका रुपमा मैले खेल्ने भूमिका खेल्छु । विगतमा पनि मैले भूमिका खेलेको हो । पहिलेको जस्तो अवस्था अव छैन । पहिले कानुन निर्माणमा बढी सक्रिय हुनुपर्ने अवस्था थियो । अहिले त समृद्धिका लागि खट्नुपर्नेछ । लुम्विनी प्रदेशको राजधानी देउखुरीमा तोकिएको छ । यसलाई स्थायी रुपमा संरचना बनाएर सार्नुपर्नेछ । यहि काम मेरो पहिलो एजेण्डा हुनेछ । अघिल्लो सरकारले राप्ती उपत्यकालाई राजधानी तोक्यो तर गठवन्धन सरकारले दाङमा संरचना ल्याउन सकेन । अव हाम्रो नेतृत्वमा सरकार बनेपछि दाङमा राजधानीका संरचना बनाउने, स्थायी रुपमा यहिँबाट काम थाल्ने योजना हुनेछ । अरु धेरै एजेण्डाहरु रहेका छन् जसका बारेमा हामीले मतदातालाई बताउँदै आएका छौं ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img