छबि पुरी/राप्ती पोष्ट
घोराही, कात्तिक । गाउँगाउँमा बस्तीबस्तीमा पुगेर मतदाता शिक्षा तीव्र पारिएको छ । आम मतदाताले गर्ने मतदान बदर नहोस् र आफुले चाहेको उम्मेदवारलाई मत सदर होस् भन्ने आम मतदाताको अपेक्षा पूरा गर्न खोजिएपनि आम मतदाता आफुले दिने मत पूर्ण रुपमा सदर हुनेमा ढुक्क छैनन् ।
यो पटक संघ र प्रदेश सभा सदस्य तथा दुवै सदनको समानुपातिकका लागि ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदाताहरु मतदाता शिक्षापछि पनि पूर्ण विश्वस्त बन्न सकेका छैनन् । बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ६ मा मतदाता शिक्षापछि गरिएको नमूना मतदानमा धेरै मतदाता झुक्किए । मतदाता शिक्षा लिएपछि नमूना पत्रपत्रमा मतदान गर्नुभएका टिम्मल चौधरीले मतपत्रमा लगाउनुभएको स्वस्तिक चिन्ह सदर भएन ।
अर्का रामसुरत चौधरीले निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्रमा मतदान गर्नुभयो । उहाँले सबै ठाउँमा मतदान गर्दा पनि मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र प्रयोग गर्नुभयो । यो पटक संघ र प्रदेश सभाको एकै पटक मतदान हुने भएकाले धेरै मतदातालाई निर्वाचनको अवस्थाका बारेमा बुझाउन समय लाग्ने गरेको मतदाता शिक्षा दिन खटिनुभएका राजनारायण चौधरीले बताउनुभयो । ‘मत पत्र ४ वटा हुन्छ, यो किन भएको हो भन्ने बारेमा मतदातालाई बुझाउनु पर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘मतपत्रका बारेमा त अझ धेरै कुराले झुक्याउने गरेको देखियो ।’
यस पटकको निर्वाचनमा प्रदेश सभा र प्रतिनिधि सभाका लागि एकै चरणमा मतदान हुन लागेकाले मतदाताले मतदान स्थलप्रवेश गरेपछि ४ वटा बेग्ला बेग्लै मत पत्रमा मतदान गर्नुपर्ने भएको छ । संघ र प्रदेशका प्रत्यक्ष उम्मेदवारका लागि २ वटा तथा दुवै सदनको समानुपातिक तर्फ पनि २ वटा मत पत्र गरी चार वटा मत पत्रमा मतदान गर्नुपर्ने भएकाले आम मतदातालाई मतदान कसरी गर्ने भन्ने बुझाउन अति जरुरी रहेको उहाँको भनाई छ ।
गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहाका नरेश थापाले मंसीर ४ गते पहिलो पटक मतदान गर्न लाग्नुभएको छ । उहाँलाई मतदान कसरी गरिन्छ भन्ने अनुभव छैन । यो पटक उहाँले अनुभव लिने मौका पाउन लाग्नुभएको छ । तर, उहाँलाई चार वटा मतपत्र किन बनाइएको हो भन्ने बारेमा जानकारी थिएन । मतदाता शिक्षा लिएपछि उहाँले यस बारेमा जानकारी पाउनुभयो ।
उसो त, बजारमा भन्दा गाउँमा अहिले केही उम्मेदवारले निर्वाचन आचार संहिता विपरित ठूलो आवाजमा माइकिंग र साउन्ड बक्स बजाएर चुनावी गीत बजाउँदै कुदिरहेका छन् । उनीहरुको त्यस प्रकारको चुनावी प्रचारशैली आचारसंहिता विपरित भएपनि गाउँका मतदाताले गुनासो गर्न सकेका छैनन् । खासगरी, सत्ता साझेदार दलका उम्मेदवारले यस प्रकारको काम गरिरहेका स्थानीय मनिष चौधरीले बताउनुभयो । ‘होहल्ला गर्दै राति अबेरसम्म बाईकिंग गर्दै हिड्छन् तर मतदाताको घरमा आएर आफ्ना कुरा भनेको थाहा पाएको छैन,’ उहाँले भन्नुभयो, ‘यसरी अस्वस्थ प्रतिष्पर्धा गर्नेले भोलि कसरी राम्रो काम गर्लान् र ? सत्ता र सरकारको दोहन गर्नेले यो रवाफ नदेखाएको भए हुने ।’
मतदाता शिक्षा गाउँबस्तीसम्म पुर्याइए पनि गठबन्धन गरेका दलहरुका कारण धेरै मतदाता निर्वाचन चिन्हलाई लिएर अन्यौलमा छन् । जसले गर्दा प्रत्यक्ष निर्वाचन र समानुपातिक तर्फको मतपत्रमा झुक्किने गरेको उनीहरु बताउँछन् ।
निर्वाचन आयोगले विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघसंस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक मतदाता शिक्षा दिन सिमित जनशक्ति खटाएपछि मत बदर हुने सम्भावना बढी छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षाबिनै मतदान गर्दा धेरैजसो मत बदर हुने अवस्था रहेको आम नागरिक बताउँछन् ।
‘छ्यासमिसे भएर प्रतिस्पर्धामा छन्, निरक्षर मतदाता भएको ठाउँमा धेरै मत बदर हुन्छ । भन्ने लागेको छ,’ लमही ४ का मनिष न्यौपानेले भन्नुभयो, ‘दलका नेता कार्यकर्ता र उम्मेदवारले पनि राम्रोसँग मतदान गर्ने तरिका सिकाउन सके मतको सदुपयोग हुने थियो । यो अत्यन्तै जरुरी छ ।’ उता, मंसीर ४ गतेको निर्वाचनमा होमिएका उम्मेदवार चुनावी अभियानमा व्यस्त भईरहँदा निर्वाचन आयोग मतदाता शिक्षामा केन्द्रित बनेको छ । गाउँगाउँमा पुगेर स्वयमसेवकले मतदातालाई मतदाता शिक्षा दिँदै बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्य सहित मतदाताको घरघरमा पुगेर शिक्षा प्रदान गरिरहेका छन् ।
कतिपय स्वयम् सेवक मतदातालाई खेतबारीमा भेटेर मतदान कसरी गर्ने भन्ने शिक्षा दिने काम गर्दै आएका छन् । जिल्लामा रहेको संघ तर्फ ३ र प्रदेश तर्फ ६ वटा निर्वाचन क्षेत्रमा मनोनयन गराएका कुल ८९ उम्मेदवारबीच कुल ९ पदका लागि प्रतिष्पर्धा भईरहेको छ । मतदाताको घरमै पुगेर मतदाता शिक्षा अभियान थालिएको हुँदा मत बदर कम हुने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनुभयो ।
जिल्लामा स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयम् सेविका, कर्मचारीसमेत परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा प्रदान गर्दै निर्वाचनको महत्व बारे जानकारी गराउने काम भएकाले यो पटक विगतको भन्दा कम मत बदर हुने विश्वास लिएको उहाँको भनाई छ । गाउँमै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउन थालिएसँगै मतदाताले जानकारी लिने अवसर पाएको उहाँको भनाई छ ।