spot_img
spot_img

सम्मानका पात्र क. श्रीमणि आचार्य

शरद अधिकारी

दाङको कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणि आचार्यको निधन भएको आज १५ बर्ष पुगेको छ । हिजो भर्खर जस्तो लाग्छ तर १५ बर्ष पुगिसकेछ । २०६४ सालमा आजकै दिन अर्थात पुसको ३ गतेका दिन श्रीमणि आचार्यको निधन भएको थियो । श्रीमणि आचार्यलाई सँझनुपर्ने धेरै कारण छन् । उहाँले नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण योगदान दिनुभएको थियो । पंचायती व्यवस्थाको अन्त्यका लागि संघर्षको मैदानमा होमिनुभएका आचार्य २०५१ सालमा झण्डै मृत्युको मुखमा पुग्नुभएको थियो । त्यतिवेला विजौरी काण्डमा पर्नुभएका श्रीमणि आचार्यको निधन पछि त्यहि कारणले भयो । पंचायती व्यवस्थाको समयमा उहाँ शिक्षण पेशामा हुनुुहुन्थ्यो । त्यसपछि अर्थात २०४९ सालको स्थानीय तह निर्वाचनमा उहाँ शिक्षण पेशा छोडेर राजनीतिमा पूर्णकालिन भएर होमिनुभयो । त्यसपछि उहाँ विभिन्न भूमिकामा रहनुभयो । पार्टी जिल्ला सदस्य, सचिव हुँदै अंचल सचिवसम्म उहाँको जिम्मेवारी थिथयो । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा हुनुहुन्थ्यो । लोकतान्त्रिक गणतन्त्र स्थापनामा भूमिका खेल्नुभएका आचार्यको निधन २०६४ सालमा भएको थियो । लामो समय देखि विरामी पर्नुभएका आचार्यको उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

श्रीमणि आचार्य दाङमा जन्मिएको भएपनि राष्ट्रिय रुपमा उहाँको योगदान विशिष्ट रहेको कुरामा कुनै शंका छैन । दाङका कम्युनिष्टहरुले मात्रै विचारका हिसावले उहाँको विचारसंग अहमति राख्नेहरुले पनि संझिरहने नाम हो श्रीमणि आचार्य । कम्युनिष्टहरुले त सजिलोसंग विर्सने नाम होइन । आचार्यले जिन्दगीलाई दाउँमा राखेर कम्युनिष्ट आन्दोलनमा जसरी आफूलाई होम्नुभएको थियो त्यसको अनुशरण गर्नेहरु अहिले पनि धेरै रहेका छन् । निधन हुनु अघिसम्म उहाँको जिम्मेवारी राप्ती अंचल समन्वय कमिटीको सदस्यका रुपमा थियो । त्यसअघि उहाँले लामोसमय सम्म दाङ जिल्ला कमिटीको प्रमुख पद सचिवको जिम्मेवारी सम्हाल्नुभयो । जिल्ला कमिटीमा लामो समय रहनुभएका आचार्यले जुन भूमिका निर्वाह गर्नुभयो त्यसको सवैले अहिले पनि संझना गरिरहेका छन् ।

उहाँको पार्टीमा आवद्ध रहेकाहरु मात्र होइन विपक्षिहरु पनि उहाँको व्यवहार र बैचारिक अडान देखेर कायल हुने गर्दथे । विपक्षिहरुलाई पनि आफ्नो पक्षमा सजिलोसंग ल्याउन सक्ने अचम्मको खुवी थियो उहाँसंग । एक हिसावले भन्दा आचार्य जन जनका नेता हुनुुहुन्थ्यो । मन मनका नेता हुनुहुन्थ्यो । दाङ लगायत राप्ती अंचल मात्र होइन देशभरका इमान्दार कम्युनिष्टहरुले जहिले पनि संझना गर्ने यौटा व्यक्तित्वका रुपमा हुनुहुुन्थ्यो श्रीमणि आचार्य । श्रीमणि आचार्य तत्कालिन नेकपा एमालेमा आवद्ध भएर राजनीतिमा लाग्नुभयो । उहाँको योगदानको संझना अरुले पनि गर्ने गरेका छन त्यहि संझना उहाँले कमाएको सवैभन्दा ठूलो पूँजी हो ।

आचार्यले अन्य राजनीतिक दलसंग जुन खालको सम्वन्ध विस्तार गर्नुभएको थियो त्यो सम्वन्ध सायदै अरु कुनै दलको नेताले राख्न सकेका थिए होला । राजनीतिमा श्रीमणि आचार्यले पुराएको योगदानको कुरा गर्ने हो भने कतिसम्म भने माध्यामिक विद्यालयको प्राधानाध्यापकको स्थायी जागिर छोडेर उहाँ राजनीतिमा होमिनु भयो । यसरी राजनीतिमा होमिनुभएका आचार्यले सरकारी लाभको पद भने कहिल्यै लिनुभएन । जागीर खाएकाहरुको चाहना भनेको कम्तीमा पनि २० बर्षसम्म जागिर खाने र पेन्सनमा निस्कने हुन्छ । पेन्सन भनेको आफू बाँच्दासम्म मात्र होइन श्रीमतीका लागि पनि आउँछ । यस्तो कुरालाई पनि श्रीमणिले चटक्कै छोड्नु भयो । उहाँले पार्टीको आग्रहमा स्थायी जागिरलाई छोड्नु भएको थियो । उहाँले शिक्षकका रुपमा पनि ठूलो योगदान गर्नुभएको छ । जुन योगदानका कारणले गर्दा आज पनि मानिसहरु श्रीमणी सरका रुपमा उहाँलाई संझना गरिरहन्छन् ।

२०४९ सालको स्थानीय निकायको निर्वाचनका लागि उहाँले जागिर छोड्नुभयो । राजनीतिका लागि, देश र जनताका लागि उहाँले गरेको यो ठूलो त्याग थियो । २०५१ सालमा मध्यावधि निर्वाचनको प्रचार प्रसारको क्रममा दाङको विजौरीमा भएको गोलिकाण्डमा उहाँलाई पनि गोली लाग्यो । त्यसपछिका सवै बर्ष उहाँ गोली बोकेर बाँच्नुभयो । अन्तिममा उहाँको मृत्यूको कारण पनि त्यहि गोली बन्यो । शरिरमा लागेको गोलीका छर्राहरु निकाल्न सकेको भए उहाँलाई क्यान्सर जस्तो भयानक रोग नलाग्ने र उहाँको मृत्यु नहुने जानकारहरुको भनाई रहेको छ ।

जीवनभर राजनीतिका नाममा देश र जनताका लागि जीवन समर्पण गर्नुभएका आचार्यको निधन २०६४ सालको पुस ३ गतेका दिन भएको थियो । त्यस अघिका केही महिना अघि देखि उहाँ विरामी हुनुहुन्थ्यो । उहाँको विरामीको मुख्य कारण भनेको २०५१ सालको गोलीकाण्डमा लागेको गोली हो । २०६२÷२०६३ सालको जन आन्दोलनका क्रममा उहाँ तुलसीपुरमा रहेर आन्दोलनको मोर्चामा होमिनुभयो । लोकतन्त्र प्राप्तिका लागि भएको पटक पटकको आन्दोलनमा उहाँ गिरफ्तारीमा पनि पर्नुभएको थियो । पंचायती व्यवस्थाको विरोधमा पनि उहाँ सक्रियताका साथमा लाग्नुभएको थियो । २०६२ सालमा भएको कथित स्थानीय निकायको निर्वाचनका क्रममा पनि उहाँलाई जेलमा राखिएको थियो । आचार्य बालवालिका, वृद्ध, युवा, राजनीतिककर्मी, कलाकार, पत्रकार लगायत सवैका लागि प्रेरणा दिने व्यक्तिका रुपमा हुनुहुन्थ्यो ।

दाङ जिल्लाबाट यौटा दैनिक पत्रिका सामुहिक रुपमा निकाल्नुपर्छ भन्ने उहाँको जोडबल रहेको थियो । यद्दपि उहाँको त्यो इच्छा बाँच्दासम्म सफल हुन सकेन । राप्ती अंचलका सवै जिल्लालाई समेटेर पत्रिका निकाल्नुपर्छ भनेर उहाँले तत्कालिन अवस्थामा एमालेका नेता कार्यकर्ताहरुलाई ठूलो उत्साह थप्ने काम गर्नुभएको थियो । राजनीतिमा लागेकाहरुका लागि मात्रै होइन राजनीतिमा नलागेकाहरुका लागि पनि उहाँ प्रेरणाको स्रोत हुनुहुन्थ्यो । बालक देखि बृद्धसम्मले संझने व्यक्ति हुनु पनि उहाँको सकारात्मक पक्ष हो । यो कुरा गरिरहदा के कुरा गर्नै पर्छ भने बाँच्दासम्म पनि श्रीमणि आचार्यलाई विवादमा पार्ने काम गरियो । मृत्यू पश्चात पनि सम्मानमा कन्जुस्याँइ गरिएको छ । उहाँ कसैले पनि कन्जुस्याँई गरिनुपर्ने व्यक्तित्व होइन । श्रीमणि आचार्यले जुन जीवन विताउनु भयो । वा जुन अवधिको जीवन पाउनुभयो । पार्टी, संगठन, देश र जनताको पक्षमा निरन्तर लागिरहनु भयो ।

श्रीमणि आचार्यको योगदानको संझना गर्ने र उहाँको संझनालाई दिगो बनाउने काम बाँचेकाहरुले गर्नुपर्छ । संसारमा त मानिस अरवौं आइसकेका छन् । अरवौं गइपनि सकेका छन् । तर सवैको योगदान चिरस्थायी हुँदैन । सवैको योगदानलाई मानिसले संझना गर्दैन । श्रीमणि आचार्यले पुराएको योगदानको सँझना नगर्नुपर्ने कुनै पनि कारण रहेको छैन । श्रीमणि आचार्य जस्ता योद्धालाई विर्सनै मिल्दैन । पहिले पनि उहाँको पार्टी नेकपा एमाले पटक पटक सत्तामा पुगेको थियो । आचार्यले जे सपना देख्नुभयो त्यो साकार बनाउने सपना आएको छ । उहाँले समृद्धिको सपना देख्नुभयो । समानताको सपना देख्नुभयो । त्यो पुरा गर्ने समय आएको छ । उहाँले जुन विचार दर्शन अंगाल्नुभयो । जुन मान्यतालाई अघि सार्नुभयो । जसरी आफूलाई राजनीतिका माध्यमबाट समाज रुपान्तरणमा आफूलाई होम्नुभयो त्यो अरुका लागि पनि प्रेरणाको विषय बन्नुपर्छ ।
आजसम्म उहाँका लागि जे गरिएन अव त्यो गर्नका लागि लागौं । उहाँको सँझना र सम्मानमा केही काम गरौं । उहाँको योगदानलाई लिपिवद्ध गर्ने काम गरौं । उहाँको जीवनलाई बुझ्ने र उहाँको व्यवहारबाट सिक्ने चेष्टा गरौं । श्रीमणि फर्किएर आउनु हुँदैन तर उहाँले गरेको योगदानको हामी सदा सँझना गर्न सक्छौं । उहाँको योगदानलाई अझै लामो समयसम्म टिकीराख्ने बनाउने काम गर्नुपर्छ । विगतलाई धिक्कार्नु भन्दा आगामी दिनमा उहाँको योगदानको सम्मान गर्ने बातावरण बनाउनुपर्छ । यहि आशा सहित क. श्रीमणि आचार्यप्रति भावपूर्ण शव्दश्रद्धा ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार