spot_img
Home Blog Page 33

घोराहीको बाम्ला खोलाबाट अवैध उत्खनन

प्रहरी प्रशासनको मौनता रहस्यमय

छबि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । घोराही उपमहानगरका वडा नम्बर १९ को बाम्ला खोला ढुंगा उत्खननको चपेटामा परेको छ । शिरमा बाम्ला खोलाको नामले परिचित भएपनि बजार क्षेत्रमा आईपुग्दा कटुवा खोला भनेर पुकारिने बाम्ला खोला केही वर्षयता त्यहाँ रहेका ढुंगामा गलत व्यक्तिको नजरमा बारम्बार परिरहेको छ । बाम्ला खोलामा अहिले टिपर भेटिन थालेको छ । स्काभेटरले दिनरात नभनी ढुंगा उत्खनन् गरिरहेको छ ।

कुनै एक व्यक्तिको जग्गामा रहेको ढुंगासँगै छेवैँमा बगिरहेको बाम्लाखोलाको ढुंगा उत्खनन् गरेर अवैध रुपमा पैसा कमाउने ध्येयमा लागेका छन् । कुनै पनि निकायबाट अनुमति नलिई ठूला मेसीन लगाएर बाम्ला खोला किनारमा ठूलो परिमाणमा ढुंगा उत्खनन्को काम गर्ने हिम्मतका साथ काम गर्नुले स्थानीय सरकार, प्रहरी प्रशासनको सिधै धज्जी उडाउने काम भएको छ । सत्ता र शक्तिको आडमा बाम्ला खोलाको किनारमा स्काभेटर प्रयोग गरेर ठूलो परिमाणमा ढुंगा निकालिएको छ । यो सामान्य व्यक्तिले यसै आँट गरेर गर्न सक्ने अवस्थाको छैन । सैघा जोड्ने सडकलाई नै असर पुग्ने गरी बाटो बनाएर अत्यधिक मात्रामा ढुंगा निकालिनुले प्रहरी प्रशासन, सत्ता र शक्तिको आडमा यति ठूलो आँट भएको स्पष्ट हुन्छ ।
व्यक्तिगत जग्गाबाट माटो, बालुवा, ढुंगा उत्खननका लागि स्थानीय सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने हुन्छ । त्यो भन्दा अघि के प्रयोजनका लागि कति मात्रामा उत्खनन् गर्न खोजिएको स्पष्ट रुपमा उल्लेख गरेर त्यहाँको वातावरण प्रभाव मुल्यांकन भई प्राविधिकको प्रतिवेदनका आधारमा मात्रै उत्खनन् गर्न मिल्ने वा नमिल्ने अवस्था हुन्छ । तर, घोराही १९ बाम्ला खोला साविक सैघा गाबिस वडा नम्बर ७ का नैनसिंह घर्तीमगरको नाममा रहेको कित्ता नम्बर १÷घ ३ को १२–१३–२–३ क्षेत्रफल र ७÷घ ५ को ६–११–०–२ क्षेत्रफलमा रहेको जग्गालाई उत्खनन् गरी जमीन सम्याउन भन्दै निजका छोरा रुपलाल घर्तीले वडा नम्बर १९ मा दिएको निवेदन अनुसार वडा कार्यालयले कात्तिक ३ गते घोराही उपमहानगरपालिकालाई व्यक्तिगत आईई कार्यका लागि सिफारिस गरेको छ ।

वडा कार्यालयले पालिकामा निवेदकको भनाई अनुसार प्रारम्भिक वातावरण मुल्यांकन गरी अवस्थाको बारेमा प्रतिवेदन कस्तो आउँछ सो अनुसार कानून बमोजिम गर्न गरेको सिफारिसलाई मात्रै आधार मानेर पालिकाले गर्नुपर्ने कुनै पनि काम नगरी एकाएक कुनै अमुख शक्तिको आडमा खुलेआम दिनदहाडै ठूलो परिमाणमा ढुंगा उत्खनन् भएको छ । यो काममा जग्गाधनी अघि देखिएपनि त्यहाँ रहेको करोडौँ मुल्यको ढुंगा निकालेर बिक्रि गर्ने योजना राजनीतिक आडमा लागेकाहरुको एक समुह रहेको जानकार बताउँछन् । प्रहरी प्रशासनको आडमा पक्कै पनि यो गतिविधि भएको हुन सक्ने अनुमान धेरैले गरेका छन् । वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति जस्ता नियामक निकायको कार्यालय रहेको नजिकै यस प्रकारको दुस्साहस गर्ने आँट राज्य सत्ताको आडमा मात्रै हुन सक्ने अड्कल काटिएको छ ।

केही वर्ष अघि पनि बाम्ला खोलामा एक समुहले ढुंगा उत्खनन् गरी बिक्रि गरिरहेको पाईएपछि स्थानीय पालिका, प्रहरी प्रशासनले रोक लगाएका थिए । जानकारीमा आए अनुसार, सोही समुहका केही व्यक्ति र अहिले सरकारमा रहेकाहरुको नजिकका व्यक्तिहरुको विशेष चासोमा यति ठूलो आँट गरिएको एक स्थानीयको भनाई छ । नाम नबताउने शर्तमा उहाँले भन्नुभयो, ‘यो ठाउँमा बाहिरका मानिस आएर यसरी दिनदहाडै कसले आँट गर्ने ? यो काम गर्नलाई त तलदेखि माथिसम्म सेटिङ नमिलाएर हुन्छ त ? यो काम गर्न ठूलै मुटु चाहिन्छ । हिजोका दिनमा जस्ले यही खोलाबाट ढुंगा बेच्न पल्केको थियो । हुन सक्छ, उनीहरुकै योजानमा यो काम भईरहेको छ । यहाँ देखिने बेलामा जग्गा धनीलाई अघि सारिएको छ तर, यो काम र योजना अदृश्य शक्तिकै छ ।’

बिहीबार दिउँसो ढुंगा उत्खनन् गरिएको क्षेत्रमा पुग्दा उत्खखन् गरिएको ढुंगाको पहाड लागेको छ । नम्बरसमेत नरहेको स्काभेटरले खोला किनार र व्यक्तिको जग्गाबाट ढुंगा निकालेर थुपारेको छ । ती ढुंगा बोक्नका लागि रा १ ख १९८२ नम्बरको देवा आश्विनी कन्स्ट्रक्सन लेखिएको पहेँलो रंगको टिपर उत्खनन् क्षेत्रमा रहेको छ । खोलाको छेवैमा बस्नका लागि बनाइएको घर भएपनि त्यहाँ घरधनी बस्न छाडेका छन् । स्थानीयका अनुसार, जग्गाधनी सैघातिर बस्दै आएकाले ढुंगा उत्खनन् गरेर पैसा कमाउने योजना बनेको हुनसक्छ ।

घोराहीका गिर रोदन महरालगायका युवाहरुको सक्रियतामा यो काम भएको बताईएको छ । जसमा उनी निकट थुप्रै समुहसमेत आवद्ध रहेको भएपनि अरुको नाम भने खुलाईएको छैन । उत्खनन् स्थलमा रहेका टिपर, स्काभेटर उनीहरुले ल्याएर संचालन गरेको पाईएको छ । टिपरको प्रति ट्रिप २ हजार र ट्रयाक्टरको प्रति ट्रिप पाँच सय रुपैयाँ दिने गरी उनीहरुले आफुलाई फकाएको जग्गा धनी भनिएका रुपलालले बताउनुभयो । यति ठूलो परिमाणको ढुंगा उत्खनन् गर्दा मलाई धेरै पैसा आउने प्रलोभन देखाएर उनीहरुले नै यो काम गरेको रुपलालको भनाई छ । ढुंगा उत्खखन् गर्दा घर भत्किए १ लाख पचास हजार रुपैयाँ दिने आश्वासन बाँडेको पनि उहाँ बताउनुहुन्छ ।

उता, वडा नम्बर १९ का वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले बाम्ला खोलामा भएको उत्खनन् प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकनको प्रतिवेदन तयार नभई पालिकाले स्वीकृति नदिई भएको बताउनुभयो । यो वडा कार्यालयको तर्फबाट कुनै प्रकारको स्वीकृति नलिई काम भएको उहाँको भनाई छ । ‘प्रकृयामा रहेको होला भन्ने लागेको थियो तर, यहाँ अवस्था निकै फरक भएको रहेछ, जग्गाधनी वा त्यहाँ काम गर्न तम्सिएकाहरुबाट जुन प्रकारको काम भएको छ, यो अत्यन्तै गैरकानूनी रुपमा भएको छ । जे जति काम भएको छ त्यहाँ थप उत्खनन् रोकेर कानूनी प्रकृया अघि बढाउने काम हुनेछ’ उहाँले भन्नुभयो ‘वडाले प्राप्त निवेदनका आधारमा पालिकामा सिफारिस गरेको मात्रै हो स्थलगत रुपमा हेर्दा कानून विपरितको काम भएको छ । यस बारेमा वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

घोराही उपमहानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख ईन्जिनियर युवराज पौडेलले बाम्ला खोलामा भएको उत्खनन् कानून विपरित रहेको बताउनुभयो । उत्खनन् भईरहे बारे जानकारी पाउनासाथ पालिकाले चासो लिँदै स्थलगत अनुगमन गरी उत्खनन्को काम रोक्न लगाइएको बताउनुभयो । जुन प्रकारको काम भएको छ, यो निकै ठूलो साहसका साथ कसैको आडमा गरिएको स्पष्ट हुने उहाँको भनाई छ ।

‘कुन समुहले यो प्रकारको दुस्साहस गरेको छ, उनीहरुको पहिचान गरी कानून अनुसार कडा कारवाही गर्नुपर्छ । प्रकृया अनुसार काम गर्न मिल्ने वा नमिल्ने भन्ने हुँदाहुँदै पनि यो काम हुनु गलत छ’, उहाँले भन्नुभयो ‘घरायसी प्रयोजनका लागि व्यक्तिगत जग्गाको उत्खनन् गर्न अनुमति लिएर दुई चार घनमीटर उत्खनन् गर्न सकिने बेग्लै कुरा हो तर ५ हजार बढी घनमीटर खोला नै उजाडिने गरी उत्खनन् गरेर कानून मिच्ने काम भएको छ ।’

उत्खनन् गरिएका ढुंगा जफत गर्ने र लिलामी प्रकृया अपनाई पालिकामा राजश्व बाँध्ने काम अघि बढाउने काम हुने उहाँले बताउनुभयो । ‘यो काममा जो जो संलग्न भएका छन् उनीहरुको पहिचान गरी कारवाही गर्ने र यस प्रकारका गतिविधि नगर्ने गरी प्रतिवद्धता गराउनुपर्छ’ उहाँले भन्नुभयो ‘यसरी दिनदहाडै पालिकाको आँखा छलेर गैरकानूनी काम थाल्नेलाई कारवाही गर्नुको विकल्प छैन ।’ घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले घटनाबारे आफुले चासो लिएपछि विभिन्न ठाउँबाट घटना ढाकछोपका लागि दवाब आईरहेको बताउनुभयो । हिजोका दिनदेखि यसरी नै राज्य दोहन गर्न पल्किएकाहरुबाट यो काम भएको स्पष्ट भएको हुँदा स्थानीय सरकार संचालन ऐन अनुसार, पालिकाले पाएको अधिकारमा रहेर कानुन अनुसार कारवाही हुनुपर्ने अडानमा आफु रहेको उपप्रमुख डिसीले बताउनुभयो ।

व्यक्तिको जग्गा भएपनि यसरी दिनदहाडै ढुंगा उत्खनन् गरेर अबैध रुपमा आर्थिक लाभ उठाउन खोजेकाहरुले सत्ता र शक्तिको आडमा गरिरहेको प्रयासलाई कानुनी कठघरमा उभ्याउँदै कारवाही गर्ने गरी सम्बन्धित शाखा, महाशाखा र कार्यपालिकामा जानकारी गराएको उहाँको भनाई छ । ‘प्रकृया नै न अपनाएर आफु खुशी ढुंगा उत्खनन् गर्ने काम भएको देख्दा अचम्म लागेको छ, यस्तो बेलामा पनि विभिन्न नाममा कुरो मिलाउन भन्दै फोन आईरहेको छ’ उहाँले भन्नुभयो ‘यसरी गलत गर्नेलाई छाड्ने हो भने जनताको जनप्रतिनिधि हुनु र नहुनुको के अर्थ ? कानून सबैलाई बराबर लाग्छ, मैले हुदैन भनेको छु । यो अत्यन्तै गम्भीर कुरा हो, यो राज्य विरुद्धको अपराध हो भन्ने मलाई लागेको छ ।’ राजश्वको श्रोत कमजोर भईरहेका बेलामा यसरी सबैले मनपरी दोहन गर्ने हो भने यहाँ केही नबच्ने उहाँ बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीलाई घटनाका बारेमा जानकारी लिन खोज्दा बोल्न चाहनुभएन । मौखिक रुपमा ढुंगा उत्खनन् भएको बारेमा जानकारी आएको भएपनि यस बारेमा आफु अनभिज्ञ रहेको भन्दै पन्छिन खोज्नु भयो । घटनाका बारेमा धारणा राख्दा आफुमाथि दवाव आउने भन्दै ‘उहाँले हाललाई के नबोलौँ, यो काम पालिकाको हो, सबै कुरा उतैबाट हुन्छ, हामीले यसमा केही गर्न मिल्दैन’ भन्दै प्रतिक्रिया दिनुभएन ।’ केही महिना अघि मात्रै प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी नदीजन्य पदार्थ उत्खनन्को विषयलाई लिएर विवादमा आएपछि हालका प्रहरी प्रमुख केसी झस्किनु भएको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि, अमुक समुहले प्रहरी, प्रशासनको नजिकै यस प्रकारको आँट गरेर करोडौँ मुल्यको ढुंगा उत्खनन् गर्नुले आशंका भने उब्जाएको छ ।

बाम्ला खोलामा तलसम्म विभिन्न स्थानमा खोला नै भासिने गरी ढुंगा उत्खनन् भएका देखिन्छन् । घोराही १८ मसिनाका श्रीधर कवँरले पनि बाम्ला खोलाबाट ठूलो परिमाणमा ढुंगा उत्खनन् गरी अन्यत्र लगेको भेटिएको छ । उहाँले वडा प्रहरी कार्यालयसँग समन्वय गरेर काम गरेको बताएको उपप्रमुख डिसीको भनाई छ । बुधबार दिउँसो घटनास्थल पुगेको पालिकाको टोलीले उत्खनन् रोक्न र त्यहाँ रहेको मेसीन, टिपर, स्काभेटरलाई नचलाउन निर्देशन दिएको छ ।

 

भूकम्पको समयमा हाम्रा विद्यालय खुलेको अवस्थामा के होला ?

भूकम्पको समयमा हाम्रा विद्यालय खुलेको अवस्थामा के होला ?

शरद अधिकारी/राप्ती पोष्ट

दाङ, कात्तिक ।

घटना १. २०७२ सालमा आएको भूकम्पका कारण ३१ जिल्लाका करिव १० हजार विद्यालयहरु प्रभावित भएका थिए । सरकारी तथ्याङ्क अनुसार सात हजार नौ सय २३ विद्यालयहरुमा क्षति पुगेको थियो । २१ हजार एक सय ६९ वटा कोठाहरु पूर्ण रुप्मा र १२ हजार नौ सय ९० वटा कोठा आशिंक रुपमा नष्ट भएका थिए ।

घटना २. जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा गरेर चार सय भन्दा बढी विद्यालयमा क्षति पुगेको छ । जाजरकोटमा तिन सय ५९ वटा र रुकुम पश्चिममा ६६ विद्यालयमा क्षति पुगेको छ । डेढ सय जनाको ज्यान जाने क्रममा २४ जना विद्यार्थीहरुको ज्यान गएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पूर्ण र आंशिक गरी जाजरकोटका तीन सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो । भवनसँगै केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पुगेको तथ्यांक छ ।

माथिका दुईवटा घटनालाई अध्ययन गर्ने हो भने भूकम्प आउँदा विद्यालयमा विद्यार्थी हुने अवस्था आएमा मृतकको संख्या कल्पना गर्न नसक्ने हुने निश्चित छ । विद्यालय संचालन नभएको समयमा अर्थात केटा केटीहरु घरमै भएको अवस्थामा भूकम्प आउँदा त्यसबाट हुने मानविय क्षति कम हुने कुरा २०७२ र गएको कात्तिक १७ गतेका दिन आएका भूकम्पबाट थाहा हुन्छ । यदि कुनै कारणले विद्यालय संचालन भएको समयमा भुकम्प आएको अवस्थामा के होला अहिल्यै अनुमान गर्न सकिदैन ।

घोराही उपमहानरपालिका सामाजिक विकास महाशाखाका अनुसार घोराही उपमहानगरपालिकामा ९५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । यस्तै संस्थागत विद्यालयहरु ७६ वटा रहेका छन् । सामुदायिक र संस्थागत विद्यालयहरु गरेर एक सय ७१ वटा विद्यालयमा गरेर ७२ हजार ५८ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । चालु शैक्षिक सत्रमा संस्थागत विद्यालयहरुमा ४१ हजार चार सय ७१ जना र सामुदायिक विद्यालयमा ३० हजार पाँच सय ८७ विद्यार्थीहरु रहेका छन् ।
घोराही उपमहानगरपालिकामा रहेका विद्यालयहरु भूकम्पिय जोखिमका हिसावले कति सुरक्षित छन भन्ने बारेमा कोही पनि जानकार छैनन् । सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले कतिपय विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी भएको बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकाका विद्यालयका भवनहरुले नक्सा पास गरेको भएपनि ति भवनहरु विद्यालय संचालनका लागि उपयुक्त छन् या छैनन् भन्ने बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताउनुभयो ।

घोराहीका सवै विद्यालयमा गरेर ७२ हजार विद्यार्थीहरु विद्यालयमा गएको समयमा भूकम्प आयो भने त्यतिवेला सावधानीका लागि के गर्ने ? भन्ने बारेमा कसैले सचेतनाका कार्यक्रम संचालन गरेको छैन । कतिपय विद्यालयहरु मापदण्ड अनुसार छैनन् । कतिपय विद्यालयहरु पुराना भवनमा रहेका छन् । कतिपय विद्यालयहरुले चार पाँच तलामाथि विद्यार्थीहरुलाई पढाइरहेका छन् । विद्यालयमा कति विद्यार्थी भएपछि कतिवटा भ¥याङ राख्ने, कति विद्यालयका लागि कति खुल्ला स्थान हुनुपर्छ भन्ने मापदण्ड पनि विद्यालयहरुले पुरा गरेका छैनन् ।

प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्द घोराहीमा संस्थागत विद्यालयले भूकम्प आउँदा के गर्ने भन्ने बारेमा तयारी नगरेको बताउनुहुन्छ । पछिल्ला बर्षमा लगातार आइरहेका भूकम्पले भवन निर्माण देखि भूकम्प आउँदा कसरी बच्ने भन्ने सचेतना आवश्यक परेको बताउनुहुन्छ । घोराही क्षेत्रमा रहेका संस्थागत विद्यालयहरु भूकम्पीय जोखिमका हिसावले कति सुरक्षित छन् वा छैनन भन्ने बारेमा डाटा निकाल्नु आवश्यक रहेको चन्दले बताउनुभयो ।

घोराहीमा संस्थागत विद्यालयको इतिहास करिव तीन दशक मात्रै रहेकाले पुराना भवनहरु नरहेको र कोही भाडाको घरमा बसेको भए मात्रै समस्या हुन सक्ने चन्दको भनाई छ । नयाँ बन्ने भवनहरु भूकम्प प्रतिरोधी बन्ने गरेको उहाँको भनाई छ ।
घोराहीमा रहेका विद्यालयहरु भूकम्पीय जोखिमका हिसावले कति सुरक्षीत छन भन्ने बारेमा अनुगमन गर्ने जिम्मेवारी नगरपालिकाको हो । घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीले अनुगमनको जिम्मेवारी आफूहरुको भएपनि सामाजिक विकास महाशाखाले यसमा भूमिका खेल्नुपर्ने बताउनुुुहुन्छ । आफू उप प्रमुखका रुपमा आएपछि अरु योजनाका बारेमा अनुगमन गरिएको भएपनि विद्यालयको अवस्थाका बारेमा अनुगमन नगरिएको बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका अन्तरगत आधारभूत शिक्षा शाखाका प्रमुख नारायणप्रसाद पौडेलले घोराहीमा रहेका सरकारी विद्यालयहरुको भवन भूकम्प प्रतिरोधी भएको बताउनुभयो । कतिपय पुराना भवनहरु रहेको भएपनि विद्यालय संचालनका लागि उपयुक्त रहेको बताउनुहुन्छ ।

नेपालमा भूकम्प र इतिहास
नेपालको इतिहासमा सवैभन्दा ठूलो भूकम्प विक्रम सम्वत १९९० माघ २ गते आएको भूकम्पलाई लिइन्छ । यो भूकम्पको केन्द्र पूर्वि नेपालको संखुवासभाको चैनपुर केन्द्रविन्दु थियो । त्यतिवेला पूरै नेपाल हल्लिएको थियो । नेपालमा मात्रै होइन भारतमा समेत त्यसको प्रभाव परेको थियो ।

दिउँसो २ बजे आएको यो भूकम्पका कारणले मानविय क्षति जति भयो त्यो कम भएको अध्ययन अनुसन्धानले पुष्टि गर्दछ । सबैभन्दा शक्तिशाली भूकम्प भनिने विक्रम सम्वत १९९० सालमा आउँदा त्यो ८.३ म्याग्निच्युड थियो । त्यही १९९० सालको भूकम्पले झन्डै १२ हजार बढी घरहरु ध्वस्त बनाएको थियो भने नेपालमा मात्रै आठ हजार बढी मानिसको ज्यान गएको थियो । १९९० सालको भूकम्पलाई संसारका शक्तिशाली भूकम्पमध्ये लिने गरिन्छ ।

नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने पहिलो पटक विक्रम सम्वत १३१० सालमा भूकम्प गएको विभिन्न सरकारी विवरणले देखाउँछन् । त्यतिबेला नेपालका राजा अभय मल्लको भूकम्पकै कारण निधन भएको विवरणमा उल्लेख भएको पाइन्छ ।
विक्रम सम्वत १९९० पछिको कुरा गर्ने हो भने २०४५ सालमा उदयपुर जिल्लाको मुर्कुछे भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन भूकम्पले सोचेभन्दा बढी क्षति गरेको थियो । त्यतिबेला झन्डै ६५ हजार घरहरु भत्किन पुगेका थिए । वि.सं. २०४५ भदौ ५ गते विहान ५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशालीभूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो । त्यतिवेला सात सय २१ जनाले ज्यान गुमाएका थिए । शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुननिर्माणका लागि पूर्ण क्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई पाँच हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो । पछि उक्त ऋणलाई अनुदान दिइएको थियो ।

त्यसपछि २०६८ सालमा नेपाल र भारतको सिमानामा केन्द्रबिन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि २०७२ सालमा गएको भूकम्प नै अर्को शक्तिशाली भूकम्प हो । वि.सं २०७२ साल वैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लाको बारपाकमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यसको केही दिन पछि अर्थात बैशाख २९ गते आएको पराकम्पनले आलो घाउमा नुन चुक लगाउने काम गरेको थियो । ०७२ साल वैशाख १२ गते गएको भूकम्प र बैशाख २९ गतेका दिन गएको परकम्पनमा परी हजारौंको ज्यान गयो । ऐतिहासिक सम्पदाहरु ध्वस्त भए । भूकम्पका कारण १० हजार आठ सय भन्दा बढी सरकारी घरहरू तथा भवन पूर्णरूपमा क्षति भएका थिए । सर्वसाधारणका तीन लाख घरहरु आंशिक क्षति भएका थिए । वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पहरूले गर्दा झन्डै ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।

भूकम्पले गरेको क्षतिका बारेमा विगतलाई नियाल्दा भविष्यमा आउन सक्ने भूकम्पको अनुमानित क्षतिको आँकलन गर्न सकिन्छ । विभिन्न वैज्ञानिक अध्ययनलाई हेर्ने हो भने १९९० सालको जत्रै भूकम्प जाने हो भने काठमाडौंमा मात्रै झन्डै ४० हजार बढी मानिसको मृत्यु हुनसक्ने, ९५ हजारको हाराहारीमा मानिस घाइते हुने र झन्डै छ लाख मानिस घरबारविहीन हुने आकलन गरिएको छ । यसै तथ्याङ्कलाई हेर्ने हो भने पनि थाहा हुन्छ हामी अझै कहाँ छौ ?

हामीले कहिले चेत्ने ?

पटक पटक आएका भूकम्पले पु¥याएको क्षतिबाट हामीले पाठ सिक्न सकेका छैनौं । जाजरकोट र रुकुम पश्चिममा भएको क्षतिलाई सँझने हो भने अन्य जिल्लामा केन्द्रविन्दु भएर भूकम्प आउने हो भने जनधनको व्यापक क्षति हुने कुरा अनुमान गर्नै पर्दैन । नेपालको पूर्वमा भूकम्प आउँदा पश्चिममा र पश्चिममा आउँदा पूर्वमा समेत क्षति पुगेको अवस्था देखिन्छ ।
भूकम्पका बारेमा जानकारहरुको भनाईलाई मान्ने हो भने नेपालमा भूकम्पको जोखिम वर्षौंसम्म छ । २०७२ सालमा जुन महाभूकम्प गयो त्यसपछि पनि हाम्रो चेतनाको स्तर अझै माथि उठ्न नसकेको जस्तो देखिन्छ । अनियन्त्रित विकास निर्माण, अपर्याप्त भौतिक पूर्वाधार लगायत घरको डिजाइनमा भूकम्पीय सुरक्षाका तत्वहरुको अभाव, निर्माण सामग्रीको गुणस्तरमा अभाव, जगको लागि माटो परीक्षण लगायतको कमीले गर्दा उपत्यकामा अझै पनि जोखिम देखिन्छ जहाँ पूर्वाधार निर्माणमा न्यूनतम पनि सावधानी नपु¥याएको देख्न सकिन्छ ।

भूकम्पको समयले पार्ने प्रभाव

२०७२ सालमा भूकम्प उज्ज्यालोमा आएको थियो । विदाको दिन थियो । मानिसहरु घरमै थिए । सरकारी कार्यालयहरु बन्द थिए । विद्यालयहरु बन्द थिए । जसले गर्दा ठूलो संख्यामा मानिसको ज्यान गएन । भूकम्प शनिबारका दिन आएका कारण अधिकांश मानिसहरू घरमा भएकाले ज्यानहानी कम भएको आँकलन गरिन्छ । यसबाहेक भूकम्पको केन्द्रविन्दु ग्रामीण क्षेत्रमा भएका कारण सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा जनसङ्ख्या घनत्व कम थियो र अधिकांश मानिसहरू भूकम्प आउँदा घरबाहिर थिए यदि भूकम्प राती वा काम गर्ने हप्तामा आएको भए थुप्रै मानिसहरू असुरक्षित भवनहरूभित्र हुन्थे जसले गर्दा मृतकहरूको सङ्ख्या बढी हुन जान्थ्यो भन्ने निश्चित छ ।

लाईन काट्ने बहानामा रकम असुली

विद्युत कार्यालयका कारण सेवाग्राही मारमा

राप्ती पोष्ट

घोराही, कात्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने ग्राहकहरुको लाइन काट्न जाने गरेका केही कर्मचारीले रकम असुली गरेको गुनासो बढेको छ । विद्युत प्राधिकरणको घोराही वितरण केन्द्रका ग्राहकले तोकिएको समयमा बक्यौता महसुल नबुझाएकाहरुको लाईन काट्न गएको बेला कर्मचारीले रकम असुली गरी लाईन नकाटेर केही समयका लागि छाड्ने गरेको गुनासो बढेको छ ।

विद्युत प्राधिकरणले कात्तिक १२ गतेबाट ६० दिनसम्म पनि विद्युत बक्यौता नतिरेका ग्राहकको लाइन काट्ने काम गरिरहेको छ । घोराही वितरण केन्द्रका कर्मचारीले लाईन काट्न गएको बेला बक्यौता नबुझाएका त्यस्ता ग्राहकको लाईन बिहानै काट्न गई लाईन काट्नुको साटो आफुलाई केही रकम दिए लाईन नकाट्ने गरेको पाईएको हो । घोराहीका एक सेवाग्राहीका अनुसार बुधबार बिहान लाईन काट्न घरमा पुगेका विद्युत कर्मचारीले लाईन काट्नुको साटो आफुलाई रकम दिए तत्काल लाईन नकाटेर केही समय छाड्ने गरेको पाईएको हो ।

‘मैले अघिल्लो महिना विद्युत महसुल बुझाउन ढिलो गरेँ, यो पटक पनि ढिलो भएछ, विद्युत कार्यालय जाने समय मिलेको थिएन, आज अचानक विद्युतका कर्मचारी आएर लाईन काट्न खोज्नुभयो, मैले महसुल बुझाउछु भने पछि उनले दुई सय रुपैयाँ दिए बिहानभरलाई लाईन काट्दैन भन्दै रकम लिएर गए’, ती सेवाग्राहीले भन्नुभयो ‘लाईन काटेपछि अझ धेरै पैसा बुझाउनुपर्छ भनेर डर देखाए पछि मैले होला त नी भनेर पैसा हातमा दिएँ । यसरी कर्मचारीले लाईन काट्ने नाममा पैसा असुल्ने काम गरेका छन् ।’

उसो त केही कर्मचारीले बिद्युत बक्यौता नतिरेका ग्राहकको लाईन काट्दा र पुनः जडान गर्दा आठ सय रुपैयाँ असुलेर रसीद समेत नदिएको गुनासो गरेका छन् । विद्युत बक्यौता नतिरेर जरिवानासहित रकम भुक्तानी गर्दासमेत अतिरिक्त रकम असुल्ने काम विद्युत प्राधिकरण गरेको भन्दै सेवाग्राहीले गुनासो गरिरहेका बेला केही कर्मचारीले यो मौकाको फाईदा उठाउँदै पैसा उठाउने ध्यानमा लागेका छन् ।

दुई महिना नबुझाए नियम अनुसार जरिवाना गर्ने नियम छ तर बिद्दुतले लाईन नकाटिकन काटेको चार सय र जोडेको चार सय गरेर आठ सय रुपैयाँ असुल गरिरहेको नारायणपुरका एकजना सेवाग्राहीले बताउनुभयो । रकम असुलेपछि रसीद दिनुपर्नेमा त्यसो नगरेर आफ्नै गोजीमा पैसा राख्ने काम गरेको प्रति सेवाग्राही असन्तुष्ट बनेका छन् । विद्युत कार्यालयले एक महिनासम्म विद्युत नतिरे थप १० प्रतिशत जरिवाना लिने गरेको छ । मिटर रिडिङ भएको साता दिन भित्र बुझाउन गएको खण्डमा दुई प्रतिशत मात्रै छुट दिने गरेको छ । दुई महिनासम्म महशुल नतिरेमा विल रकममा जरिवाना गर्ने प्रावधान विपरित दुई महिनासम्म नतिरेको भन्दै लाइन काट्ने कार्यले उपभोक्ताहरु आक्रोशित बनेका छन् ।

रकम असुलेको पाईए कारवाही ः केन्द्र प्रमुख

नेपाल विद्युत प्राधिकरणको घोराही वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले कुनै पनि ग्राहकको लाईन नकाटेर रकम असुली गरी आर्थिक लाभ उठाउने काम कर्मचारीबाट भएको पाईए कडा कारवाही हुने बताउनुभएको छ । प्राधिकरणले विद्युत बक्यौता नबुझाएका ग्राहकको लाईन काट्दा र पुनः जडान गर्दा अतिरिक्त आठ सय रुपैयाँ रसीद काटेर लिने गरेको स्पष्ट पार्दै कोही कर्मचारीले गलत मनसायका साथ रकम असुली गरी लाईन नकाट्ने र काटेको भएपनि रकम उठाएर रसीद नदिएको भए तत्काल कार्यालयमा उजूरी गर्न सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।

लाईन काट्न लागिएको विषयमा सार्वजनिक सूचना जारी गर्दै यसका प्रावधान बारे समेत सकेसम्म सबैलाई जानकारी गराउने काम गरेको उहाँको भनाई छ । यदि, कोही पनि ग्राहक विद्युत कार्यालयले खटाएका कर्मचारीबाट रकम असुलीमा परेको भए जानकारी गराउन अपिल गर्नुभएको छ । ‘कोही कर्मचारीबाट गलत काम भएको छ भने तत्काल कारवाही हुन्छ, त्यसो नहोस् भन्नका लागि हामी अत्यन्तै सजगता अपनाएका छौँ, यति गर्दागर्दै पनि कुनै कर्मचारीले गलत मनसाय राखेर काम गरिरहेका छ भने कार्यालयमा आई खबर गर्न आग्रह गर्दछु, त्यस्ता कर्मचारीलाई कडा कारवाही हुन्छ’, उहाँले भन्नुभयो ।

समयमै विद्युत महसुल भुक्तानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने परिपाटी बढेपछि प्राधिकरणले २३ गते आज बिहीबारसम्म अभियान नै चलाएर लाइन काट्न थालिएको छ । दाङमा कात्तिक १२ गतेदेखि बुधबारसम्म एक हजार आठ सय बढी ग्राहकको लाइन काटिएको छ । जिल्लास्थित नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले जिल्लाभर तीन हजार ग्राहकको लाइन काटेको बताएका छन् । ७६ लाख ७५ हजार छ सय ५१ रुपैयाँ ४९ रुपैयाँ बक्यौता नतिर्ने तीन हजार ग्राहकको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

लाइन काटिएकामध्ये सात सय ८१ ग्राहकले पुनः लाइन जोडेर ७२ लाख ३२ हजार एक सय ४७ रुपैयाँ ७१ पैसा महसुल चुक्ता गरेका छन् । जिल्लाको दाङको घोराही, लमही र तुलसीपुरस्थित विद्युत प्राधिकरणले बाँकी बक्यौता उठाइरहेका छन् । अभियानपछि लाइन काट्न शुरु गरेसँगै बक्यौता बुझाउनेको लाइन पनि कार्यालयमा लागेको प्राधिकरणका कार्यालयहरुले जनाएका छन् ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले अभियानपछि २२ गते बुधबारसम्म ७८ लाख ३५ हजार रुपैयाँ बक्यौता नतिरेका सात सय ३५ ग्राहकको लाइन काटेको जनाएको छ । लाइन काटेका मध्ये धेरैले बक्यौता भुक्तानी गरी पुनः लाइन जोडेका छन् । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकामा ४८ हजार नौ सय ६२ ग्राहक रहेका छन् ।

उता, नेपाल विद्युत प्राधिकरण लमहीले पनि अभियानअन्तर्गत समयमै बिल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्ने कामलाई तीब्रता दिइरहेको लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले बताउनुभयो । ३० हजार बढी ग्राहक रहेको नेपाल विद्युत् प्राधिकरण लमहीले अभियान शुरु भएपछि मात्रै बुधबारसम्म २८ लाख ६७ हजार रुपैयाँ बक्यौता नतिर्ने चार सय २८ ग्राहकको लाइन काटेको छ । लमहीमा करीव चार वर्षसम्म महसुल नतिरेका ग्राहक पनि रहेका छन् । नेपाल विद्युत प्राधिकरण तुलसीपुरले पनि यो अभियानलाई तीव्र बनाएको छ । बक्यौता रकम उठाउन सेवाग्राहीलाई सूचनामार्फत अनुरोध गरे पनि विद्युत महसुल नतिरेपछि लाइन काट्ने काम गरिरहेको विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका इन्जिनियर शरद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानपछि हालसम्म १७ लाख ३६ हजार रुपैयाँ बक्यौता नतिर्ने २ सय ८५ ग्राहकको लाइन काटेको छ । दुई महिनाभन्दा धेरै समयदेखि एक वर्षसम्म बक्यौता नतिरेका ग्राहक तुलसीपुरमा रहेको अर्यालले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरण तुलसीपुरका करिब ५५ हजार ग्राहक छन् ।

ठूला उद्योगलाई छुट

यसैबीच, दाङका सिमेन्ट उद्योगले विद्युत प्राधिकरणलाई ठूलो विद्युत महसुल तिरेका छैनन् । लामो समयदेखि प्राधिकरणलाई महसुल नतिरेको प्राधिकरणले जनाएको छ । दाङको घोराही सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई एक अर्ब ३६ करोड ३६ लाख ६९ हजार छ सय २३ रुपैयाँ तिर्न बाँकी छ । सोनापुर मिनरल्स एण्ड आयल्स प्रालिले ५६ लाख ५८ हजार तीन सय ५५ रुपैयाँ तिर्न बाँकी छ । लमहीको सम्राट सिमेन्टले पनि ३५ करोड ३६ हजार तीन सय ३८ रुपैयाँ विद्युत बक्यौता तिरेको छैन ।

प्राधिकरणको विद्युत महशुल संकलन नियमावली, २०७८ को नियम १० को ‘विद्युत लाइन काट्नेसम्बन्धी व्यवस्था’ सिमेन्ट उद्योगलाई लागु भएको छैन । मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जनुसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था नियमावलीमा छ । तर, घोराही सिमेन्ट उद्योगले २० महिनाको, सोनापुर सिमेन्ट उद्योगले २५ महिनाको र लमहीको सम्राट सिमेन्टले १९ महिनाको महसुल बुझाएका छैनन् । तर, ती उद्योगमा प्राधिकरणले लाइन काट्ने आट गरेको छैन ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मंसिर ५ गरेसम्म डेडिकेटेड लाइनको महसुल बुझाउने समय दिइएकोले समय कुरेको जानकारी दिनुभयो । उहाँले ५ गतेपछि म्याद नथपिएको खण्डमा सिमेन्ट उद्योगको पनि लाइन काटिने बताउनुभयो । लोडसेडिङका बेला उद्योग व्यवसाय र अत्यावश्यक क्षेत्र जस्तै अस्पताल लगायतका क्षेत्रमा लोडसेडिङको असर हुन नदिन प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन अर्थात ननडेडिकेटेड मार्फत बिजुली उपलब्ध गराएको थियो । डेडिकेटेड र ट्रंक लाइन सुविधा दाङका सातवटा ग्राहकले प्राप्त गरेका थिए । १८ घण्टासम्म लोडसेडिङ भइरहेको समय २०७२ असार १२ गतेबाट नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाइन वितरण गरेको थियो ।

देवी पाटन रथ यात्राको तयारी भव्य बनाइने

छवि पुरी/राप्ती पोष्ट

घोराही, १३ कात्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरा दाङको अनादिकालदेखि चलिरहेको ऐतिहासिक धार्मिक देवी पाटन धार्मिक रथ यात्रा यो वर्ष भव्य रुपमा गर्ने तयारी भएको छ । विगतदेखिको परम्परालाई निरन्तरता दिने मात्रै नभई यो पटकबाट लुम्बिनी प्रदेशकै गौरवको रुपमा अघि बढाउने गरी गृहकार्य शुरु भएको हो ।

ऐतिहासिक धार्मिक देवी पाटन धार्मिक रथ यात्राको तयारी स्वरुप प्रचार प्रसार उपसमितिको आईतबार बसेको बैठकले यसको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्ने बारेमा छलफल समेत गरेको छ । मठाधीश एवम् मूल आयोजक समिति संयोजक सुरतनाथ योगी, सदस्य सचिव डा. गोविन्द आचार्य तथा प्रचार उपसमिति सदस्य सम्मिलित बैठकले गोरक्ष पात्र देवता सिद्धरत्ननाथ मठ चौघेरा दाङको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वलाई थप उजागर गर्न स्थानीय स्तरमा, जिल्ला स्तरमा र प्रदेश स्तरमा छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

जस अनुसार, प्रचार प्रसारलाई व्यवस्थित गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म यसको पहुँच बढाउन सबैको साथ चाहिएको हुँदा तीन चरणको छलफल अन्तरक्रिया गर्ने योजना बनाएको प्रचार प्रसार उपसमिति संयोजक लिला शाह योगीले जानकारी दिनुभयो । उहाँका अनुसार, अन्तराष्ट्रिय स्तरको छलफल अन्तरक्रिया मंसिरमा, स्थानीय स्तरको छलफल अन्तरक्रिया पुसमा, माघमा जिल्ला स्तरको र फागुनमा प्रदेश स्तरको छलफल अन्तरक्रिया गर्ने निर्णय भएको छ ।

स्थानीय तथा प्रदेश स्तरका संचार माध्यमबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने, ठाउँ ठाउँमा प्रचार सामग्रीमार्फत सूचना र सन्देश प्रवाह गर्ने लगायत तयारी भएको उहाँले बताउनुभयो । भारतीय भक्तजनलाई दाङसम्म आकर्षण गर्न र यसको गौरवलाई थप उजागर गर्न राज्य स्तरबाट पहल भईरहेको छ । परम्पराका रुपमा मात्रै धानिएको यो कामले आगामि दिनमा बृहत् आयामका रुपमा उजागर गर्न सके यसले थुप्रै सम्भावनाका ढोका खोल्ने सदस्य सचिव डा. आचार्यको भनाई छ ।
करिब १३ सय वर्ष इतिहास बोकेको गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ चौघेरा दाङको अनादिकालदेखि चलिरहेको ऐतिहासिक देवी पाटन धार्मिक रथ यात्राको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व रहेको छ । राजा रत्न परिषकले गोरखनाथको दर्शन पाएर सिद्धी पाएपछि रतननाथ भएपछि चौघेरास्थित मठमा पूजा आराधना तथा ध्यान सम्पन्न गरी सिद्धि प्रभावले आकाशमार्ग हुँदै पाटन देवी शक्तिपीठको पूजा आराधना गरी पुनः स्वधाम चौघेरामा आएको बताईन्छ ।
प्रचीन कालदेखि दाङ जिल्लाबाट हरेक साल चैत्र नवरात्रामा चल्ने धार्मिक यात्राले भारत र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउँदै लगेको छ । धार्मिक, सांस्कृतिक, पुरातात्विक रुपमा महत्वपूर्ण मानिएको गोरक्ष रत्ननाथको यो परम्परालाई बचाउन सबैको साथ सहकार्य आवश्यक छ ।

सम्भवतः चैत्र २२ गते घोराही मठबाट सुरु हुने रथ यात्रा लमहीको देउपुर मन्दिरमा पुग्नेछ । देउपुरमा पाँच दिनको बसाईपछि कोइलाबासस्थित काली मन्दिरमा विश्राम लिनेछ । त्यहाँबाट पनि भव्य रुपमा बाजागाजा, सांस्कृतिक भेषभूषासहित भारतस्थित जनकपुर कोठारमा विश्राम गर्नेछ । प्यात्रा नकटी नालाबाट नेपाल तथा भारत देशका भक्तजनको ठूलो स्वागतसहित बाजागाजा गर्दै देवी पाटन पुग्ने गरी तयारी भईरहेको छ । देवी पाटनमा ५ दिनसम्म सिद्ध रत्ननाथबाट पूजा–आराधना गरिने परम्परा छ । करीव डेढ सातापछि धार्मिक समारोह गरी पात्र देवतताको फिर्ती सवारी पहिलेकै तरिकाले देवी पाटनदेखि प्रस्थान गरी परम्पराअनुसार कार्यक्रम गर्दै स्वधाम सिद्ध रत्ननाथ चौघेरा मठमा आएर सम्पन्न गरिने छ ।

सिद्ध रत्ननाथले दाङ चौघेरास्थित मठमा पूजा आराधना तथा ध्यान सम्पन्न गरी सिद्धि प्रभावले आकाशमार्ग हुँदै पाटन देवी शक्तिपीठको पूजा आराधना गरी पुनः स्वधाम दाङ चौघेरामा आएको किम्बदन्ती छ । रातिको समयमा आकाशमार्गबाट जाने गरेको उल्लेख गरेको पाइन्छ । सिद्ध रत्ननाथको यो शक्ति र भक्तिबाट देवी प्रशन्न भई अबका दिनदेखि हरेक दिन आउनु पर्दैन । चैत नवरात्रिको अवधिमा आएर दर्शन भेट गर्नु म प्रशन्न हुन्छु भन्ने वचन देवीबाट भएको हो भन्ने कुरा ग्रन्थ तथा लोक कथन रहेको छ ।

पर्यटकिय स्थलको प्रचारका लागि साइकिल यात्रा

राप्ती पोष्ट

दाङ, असोज । सल्यानका एक जना युवाले जिल्लाका पर्यटकीय स्थलको प्रचार प्रसारका लागि काठमाडौंबाट साइकिल यात्रा गर्नुभएको छ । विजयादशमीको अवसरमा सल्यान पुग्नका लागि उहाँले काठमाडौंबाट साइकिल यात्रा थाल्नुभएको हो ।

गएको असोज २५ गते काठमाडौंको पशुपतीमा पुजा आजा गरेर यात्रा थाल्नुभएका निषेध दहाल सोमबार घोराही आइपुग्नुभएको थियो । २५ गते विहान काठमाडौंबाट हिड्नुभएका दहाल सोही दिन साँझ मुग्लीङ आइपुग्नुभएको थियो । ‘एक सय १३ किलोमिटरको यात्रा गरेर साँझ मुग्लिङ आइपुगेको थिए ।’ उहाँले भन्नुभयो ।

२६ गते विहान मुग्लिङबाट पुनः यात्रा गर्नुभएका दहालले एक सय १२ किलोमिटर यात्रा तय गरेर साँझ दाउन्ने आइपुग्नुभएको थियो । दाउन्नेबाट बुटवल आउने सडकका कारणले गर्दा २७ गते विहानै यात्रा गरेपछि बेलुका बुटवलसम्म मात्र आउन सकेको उहाँले बताउनुभयो । दाउन्नेबाट ४९ किलोमिटर यात्रा गरेर साँझ बुटवल बस्नुभएका दहाल २८ गते साँझ लमही आइपुग्नुभएको थियो । एक सय २५ किलोमिटर यात्रा गरेर लमही आइपुगेको उहाँले बताउनुभयो ।

लमहीबाट हिड्नुका दहाल विहान घोराही आइपुग्नुभएको थियो । घोराहीबाट तुलसीपुर बास बस्ने र मंगलवार विहान सल्यानका लागि हिड्ने उहाँले बताउनुभयो । तुलसीपुरमा पुगेर केही भेटघाट गरेर सल्यान पुग्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

सल्यानको क्षत्रेश्वरी गाउँपालिका निवासी दहाल पढाइको सिलसिलामा काठमाडौं पुग्नुभएको थियो । काठमाडौंमा प्राविधिक क्षेत्रमा काममा लाग्नुभएको छ । यद्दपी उहाँलाई आफ्नो जिल्लाका पर्यटकिय स्थलको प्रचारका लागि केही गर्नुपर्छ भन्ने लागेपछि साइकिल यात्रा थाल्नुभएको हो । सल्यान पुगेपछि खैरावाङ पुग्ने पहिलो योजना छ । खैरावाङ सल्यानको चर्चित धार्मिक तथा पर्यटकिय स्थलका रुपमा रहेको छ । यसपछि छाँयाक्षेत्र, खड्गदेवी हुँदै घरजाने योजना रहेको दहालले बताउनुभयो ।

सल्यानका पर्यटकिय स्थलका बारेमा जानकारी दिनका लागि दशैं पछि सुर्खेत हुँदै बाँके योजना रहेको उहाँले सुनाउनुभयो । नेपाल पर्यटकिय सम्पदाका हिसावले धनी रहेको भन्दै पहिलो चरणमा सल्यान जिल्लाका पर्यटकिय स्थलको प्रचार गर्न चाहेको भएपछि दशैं पछिको यात्रामा नेपालका सवै जिल्ला घुम्ने र त्यहीका पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने योजना बनाएको दाहालले बताउनुभयो । नेपालमा रहेका पर्यटकिय स्थलको प्रचार प्रसार हुने हो भने विश्वका पर्यटकहरु यहाँ आउने भन्दै विश्वका पर्यटकहरुका लागि आकर्षणको स्थल नेपाललाई बनाउन सकिने उहाँले बताउनुभयो ।

यतिवेला युवाहरुमा विदेश जाने मोह बढीरहेको समयमा दहाल भने देशमै बसेर केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित हुनुभएको छ । एक लाख २० हजार रुपैयाको गेर वाला साइकिलबाट उहाँले यात्रा गरिरहनुभएको छ । काठमाडौबाट दाङसम्म आइपुग्दा बाटोमा विभिन्न व्यक्ति एवं संस्थाले स्वागत गरेको, खानपिनको व्यवस्था गरेको, बुटवलमा टे«क्स बाइकले साइकिल बनाउन सहयोग गरेको उहाँले बताउनुभयो । काठमाडौंबाट दाङ आउँदा करिव चार सय ५० किलोमिटरको यात्रा गर्नुभएका दहाल सल्यान पुग्दासम्म पाँच सय ५० किलोमिटर भन्दा बढीको यात्रा साइकिलबाट गर्ने योजनामा रहेको बताउनुभयो ।

गाईको रक्षा

सम्पादकिय

गाई नेपालको राष्ट्रिय जनावर हो । गाई राष्ट्रिय जनावर भएपनि गाईहरु संकटमा पर्न थालेका छन् । कतै गाई काटेका समाचार आइरहेका छन् । कतै गाईहरु छाडा भएको देखिन्छ । गाईहरु सडकमा देखिन्छन । गाईका बारेमा धेरै कुरा सुनिन्छ । गाईको दुध अमृत समान हुन्छ । गाईको गहुँत सुद्ध हुन्छ । गाईको गोवरले लिप्दा भान्सा सुद्ध हुन्छ । गाईको गोवरमा विभिन्न किटाणुसंग लडने क्षमता हुन्छ । गाईको गहुँत अमृत समान हुन्छ । गाईको गहुँत व्यापारको विषय बन्ने गरेको छ । नेपाल, भारत लगायतका कयौं मुलुकमा गाईलाई आमा समान मान्ने गरिएको छ । खासगरी हिन्दुहरुले गाईलाई पुज्ने गर्दछन् । गाईलाई पुज्ने चलन धेरै अघिदेखि सुरु भएको हो । अहिले मात्रै गाई संकटमा पर्न थालेको छ । हिन्दु धर्म भन्दा अरु धर्म मान्नेहरुले गाईलाई पुज्दैनन् । कतिपयले गाईलाई काटेर खाइरहेका छन् । कतिपयलाई गाई काटेर खाने कुरा सामान्य लाग्छ । गाई पशु हो यसलाई खान पाउनुपर्छ भन्ने तर्क गर्नेहरु एकथरी छन भने अर्कोथरी गाई भनेको आमा समान हो यसलाई खानु हुँदैन । गाईलाई पुजा गर्नुपर्छ भन्नेहरु छन् । गाई पशु भएपनि गाईको दुध मानिसका लागि अमृत समान हुन्छ । गाईको दुध पोषिलो हुन्छ । गाईको दुध सवैका लागि पोशिलो हुन्छ । गाईको दुधलाई कसैले नराम्रो भन्न सक्दैन ।

गाईको रक्षाका लागि मानिसहरु लागिरहेका छन् । गाई मार्ने कुरा कसैका लागि सामान्य लागेपनि गाईलाई मार्नु हुँदैन । हिन्दु धर्म मान्नेहरुका लागि गाईको सेवा गर्नु सवैभन्दा राम्रो सेवा हो । कतिपयले गाईलाई बास्तुदोष मेट्ने प्राणीका रुपमा लिन्छन् । कसैको घरमा वा कसैको उद्योगमा बास्तु दोष छ भने त्यस्तो एउटा गाई पाल्ने हो भने सवै खालका दोष मेटिन्छ भन्ने छ । अहिले गाई पालन गर्ने क्रम कम हुँदै गएको छ । हिजोका दिनमा हरेकका घरमा एउटा गाई हुन्थ्यो । गाई दान गर्दा पुण्य मिल्छ भन्ने मान्यता अहिले पनि जिवित छ । बढ्दो शहरिकरणले गर्दा गाई पाल्ने क्रम कम भएको छ । गाईको तुलनामा भैसी पाल्दा दुध खान पाइन्छ । भैसीको मासु बजारमा खुल्लेआम विक्रि हुन्छ । जिउँदो हुँदासम्म दुध खाने त्यसपछि काटेर खानेलाई विक्रि गर्ने भन्दै गाई भन्दा भैसी पाल्ने गरेको देखिन्छ । गाई संकटमा यस कारणले पनि पर्दै गएको छ । गाईको तुलनामा भैसीबाट फाइदा हुन्छ भन्ने कतिपयलाई लागिरहेको छ । तर गाई भनेको गाई हो । गाई सवै हिसावले शुद्ध हुन्छ । गाई साच्चिकै आमा समान हो । गाईको दुध, गाईको गोवर, गाईको गहुँत सवै हिसावले उत्तम हुन्छ । यस कारणले गर्दा गाईलाई जोगाउनुपर्छ । गाई जोगाउने अभियानमा सवैले साथ दिनुपर्छ ।

यतिवेला घोराहीमा गाई संरक्षणका लागि भनेर महायज्ञ संचालन भइरहेको छ । गाईले दुःख पाएको देखेपछि कतिपयले गाई पालन गर्न थालेका छन् । सामुहिक रुपमा गाई पालन गरेर पूण्यको काम गरिरहेका छन् । गाईलाई सवैले हेला गरिरहेका छन् । दुध दिंदासम्म दुध खाने त्यसपछि घरबाट बाहिर छोडिदिने चलन जस्तै चल्न थालेको छ । गाईको संरक्षणका लागि जसले अभियान संचालन गरिरहेका छन् ति सवै धन्यवादको पात्र छन् । हामीले गाई पाल्न सकेका छैनौं भने कसैले गाई पालन गरिरहेको छ भने त्यहाँ गएर सहयोग गरौं । महायज्ञमा गएर सहयोग गरौं । गाई पालनका लागि चलिरहेका अभियानलाई सहयोग गरौं । गाईको संरक्षण गर्ने दायित्व राज्यको हो । व्यक्तिले गरिरहेका कामको मूल्याङ्कन गर्दा त्यो अतुलनिय योगदान हो । तर गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई राष्ट्रिय जनावर भएकाले यसको संरक्षणका लागि राज्यले योजना बनाउनुपर्छ । सामुहिक रुपमा गाई पालन गर्नेहरुलाई सहयोग गर्ने वा राज्यले आफै गौसाला खोल्नुपर्छ । अहिले देशभर रहेका पालिकाहरुले कम्तीमा एउटा गौशाला खोल्ने हो भने गाईको संरक्षण हुन सक्ने थियो । गाईलाई हेलाको रुपमा होइन कि गाईलाई धर्मको बिषयका रुपमा लिनुपर्छ । घोराहीमा भइरहेको महायज्ञको मात्रै कुरा होइन अनेत्र जहाँ गौशाला खोलिएका छन् ति गौसालामा पुगेर घाँस सहयोग गरौं । दाना सहयोग गरौं । पराल सहयोग गरौं । सकिन्छ नगद सहयोग गरौं । अहिले भइरहेको महायज्ञमा पुगेर दान गर्दा पनि त्यो गाई सम्म पुग्नेछ । यसर्थ गाईको संरक्षणका लागि सवैले योगदान गरौं । गाईलाई जोगाऔं ।

यसरी गर्न सकिन्छ दाङको आर्थिक विकास

अनिल आचार्य

लुम्विनी प्रदेशको राजधानी दाङ जिल्ला जहाँ एसियाको ठूलो उपत्यका रहेको छ । यो प्रदेश जहाँ गौतम बुद्धको जन्मस्थल रहेको छ । स्वर्गद्वारी महाप्रभुको नजिक, पाण्डवेश्वरमा एसियाको ठूलो त्रिशुल रहेको छ । यो भन्दा सुन्दर र रमाणीय ठाउँ अनेत्र भेटिदैन । यहाँका अनेकन प्राकृतिक र ऐतिहासिक सम्पदाले दाङलाई चिनाइ रहेको छ । आर्थिक क्षेत्रको कुरा गर्ने हो भने केही ठूला उद्योग र केही साना उद्योगहरु खुलेका छन् । आफै आत्मनिर्भर बन्दै गरेका बजारहरु, स्थानीय रुपमा खुलेका कुटीर, मझौला उद्योगहरु रहेका छन् । देशकै ठूला मध्यका सिमेन्ट उद्योगहरुले गर्दा पनि दाङ जिल्ला नेपालमा चिर परिचित छ । तर यहाँका नागरिकहरु अनेकन समस्यासंग जुधिरहेको अवस्था छ । कुनै दिन यहाँका व्यापार व्यवसाय सुक्दै जाने हो कि ? यहाँको सुन्दरता गुम्ने हो कि ? कतै यो मरुभूमि पो हुने हो कि भन्ने डर पैदा हुने गरेको छ । प्राकृतिक रुपमा सुन्दर हुँदा हुँदै पनि दाङको पूर्व पश्चिम राजर्माग र संगै जोडिएका उतर दक्षिणका रोडहरुका कारणले गर्दा दाङ जिल्लाको कुरुप चित्र झल्झल्ती आउने गरेको छ ।

सरकारी विद्यालय, कलेज, विश्व विद्यालयमा जति राज्यले लगानी गरेको छ सो अनुरूप उपलव्धि देखिदैन । शिक्षाका अनेकन संरचना हुँदा हुँदै पनि विश्वविश्वसनीता कायम नहुँदा बाहिरी जिल्लाबाट यहाँ पढ्न आउनुको साटो यहाका राम्रा विद्यार्थीहरू काठमाडौ हुदै यूरोप, अमेरीका, अष्ट्रेलियालाई आफ्नो गन्तब्य बताउदै छन् । स्वस्थ्यमा सरकारले लगानी गर्नु पर्ने जति नगर्दा र लगानी अनुसारको सेवा दिन नसक्दा ढुक्कले यहाँ औषधी उपचार नहुँदा जिल्ला छोडेर काठमाडौं र दिल्ली जानु पर्दा यहाँका स्वास्थ्य संस्थाहरु रिफर सेन्टर जस्ता वनेका छन् । शिक्षाको क्षेत्रमा हाम्रो अवस्था र स्थिती कलेजले विद्यार्थी नपाउने अवस्थामा पुग्न थालेको छ ।

कृषि उत्पादनको अवस्था झनै दयनीय लाग्यो छ । कृषि प्रधान देश हाम्रो ठूलो उपत्यका समथल भूमी हुँदा हँुदै पनि सिचाईको राम्रो प्रवन्ध गर्न नसक्दा कृषि उत्पादनले हामीलाई धान्न सदैन । यस क्षेत्रले दिशामा योगदान पुयाउनु पर्ने अवस्थामा आज जिल्लालाई मात्र पनि नपुगी दैनिक रुपमा खाद्यान्न तरकारी, फलफूल समेत जिल्ला बाहिर वा भारतको भर पर्दै जिवन धान्नु पर्ने अवस्था रहेको छ । यसले गर्दा दाङको पैसा बाहिर पठाउँदा हामी सुखी र खुसी हुन् सक्ने कुरै भएन । त्यसैले आज, समाज बदल्ने, विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई अगाडी बढाउने भनेर सरकारी निकाय, सामाजिक संघ संस्था नेतृत्व गरीरहेका र गर्न खोजीरहेका व्यक्तिहरुले पार्टी, जाती, धार्मिक, क्षेत्रियता भन्दा माथि उठी आफ्नो बेग्लै पहिचान बनाउनुपर्ने अवस्था आएको छ । जसरी हाम्रो जिल्ला एसियाकै ठूलो उपत्यकाका रुपमा रहेको छ । लुम्विनी प्रदेश गौतम बुद्धको प्रदेश र देशको कुरा गर्दा सगरसाथाको देश भइ परिचय वनाइरहेको छ । अव त्यसलाई साकार पार्नका लागि सवै एकजुट हुनुपर्ने अवस्था आएको छ ।

हामीले भारतको बाट कोइनावास रोल्पा, रुकुम डोल्पा हुदै चाहता जोडने सुविधा सम्पन्न रोड बनाई दाङको उत्पादन सहित उत्तर चीन र दक्षिण भारतमा उत्पादित वस्तु पठाउन पाउने हो भने दाङ मै वसेर काम गर्नेलाई सन्तुष्टी मिल्न सक्नेछ । दाङ जिल्ला नेपाली कै रोजाइमा पर्न सक्ने छ । अव दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वले आर्थिक रुपमा मात्रै होइन कि अन्य विषयमा के कसरी प्रगति हासिल गर्न सकिन्छ भनेर छलफल चलाउनुपर्ने अवस्था आएको छ । जिल्लालाई उत्पादनको हव बनाउनका लागि सोही अनुसारको योजना ल्याउने । शैक्षिक संस्थाहरुसंग समन्वयन गरी यूरोप, अमेरीका अष्ट्रेलियामा पढाइ हुने प्राविधिक तथा आत्मनिर्भर, रोजगारी सिर्जना गर्न सक्ने शिक्षा यहाँका कलेजहरुले सम्बन्धन लिएर भए पनि शिक्षा दिनेहो भने ठूलो फड्को मार्न सकिने छ । यस्तै स्वास्थ्यको कुरा गर्ने हो भने सरकारी अस्पतालको स्तर अझै बृृद्धि गर्नुपर्छ । सरकारी स्वास्थ्यको अवस्था सुध्रन सक्यो भने निजी क्षेत्रले संचालन गरेको स्वास्थ्य क्षेत्रमा पनि ठूलै फड्को मार्न सकिनेछ । प्रत्येक रोगका लागि छुट्टा छुट्टै अस्पताल र सेवा विस्तार गर्न सक्ने हो भने जिल्ला छोडेर काठमाडौ वा दिल्ली जान पर्नेछैन ।

औद्योगिक क्षेत्रको बारेमा कुरा गर्दा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदयाल गुप्ताको पहलमा नै तत्कालिन घोराही ९ मा पर्ने करौतीडाँडाँमा ८६ विगाहा जमिन औद्योगिक क्षेत्रका लागि जमिन व्यवस्था गरिएको थियो । त्यो अघि बढ्न सकेन । त्यसपछि घोराही उपमहानगरपालिकाको वडा नं. ३ र ५ लाई जोड्ने गरेर औद्योगिक क्षेत्र व्यवस्थापनको प्रक्रिया त्यसै तुहिएको अवस्था छ । दाङमा उद्योगीहरुलाई सहजताको लागी औद्योगिक क्षेत्र हुन नसक्दा विकास पछि परेको कुरालाई हामी सवैले मनन् गर्नुपर्छ । संघका पूर्व अध्यक्ष हेमराज वञ्जाडे को नेतृत्वमा रहेको कार्यसमितिका सम्पूर्ण सदस्यहरुले औद्योगिक क्षेत्रका लागि जमिन खोजी र पहिचान गरी सरोकारवालासंग पटक पटक समन्वयन गरी फाइल तयार गरिसकिएको छ । उक्त फाइल औद्योगिक विकासको वोर्डको समन्वयमा नेपाल पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दाङमा ्औद्योगिक क्षेत्र घोराही ३ र ५ मा पाँच सय ३४ विग्राह घोषणा भइसकेको थियो । हाल त्यो काम किन रोकिएको छ । काम किन अघि बढेको छैन । आगामी दिनमा त्यसलाई बातावरणिय प्रभाव मूल्याङ्कन गरेर डि.पि.आर गराउनका लागि पहल गर्नुपर्छ ।

अब दाङ औद्योगिक क्षेत्रलाई विस्तार गर्दै पश्चिममा साविक फुलवारीसम्म घोराही तुल्सीपुर, देउखुरीका उद्योगीहरुलाइ जोडी धुलो, धुवा कम हुने उद्योगहरूलाई प्राथमिकता दिई कृषि उपज, जडिवुटी, प्रसोधन, रिसाइकिलिन उद्योग, खाद्यान्न जस्ता धेरै उद्योगहरू स्थापना गरी विदेशी पैसा भित्याउने स्वदेशी पैसा स्वदेश मै राख्ने योजना बनाउनु पर्छ । आम उपभोक्ताले पनि स्थानीय उत्पादनलाई प्राथामिकतामा राखी प्रयोग गर्दा नया उद्योग लाई हौसला प्रदान हुन्छ । जसले गर्दा नव उद्योगीलाई हिम्मत गर्न सक्ने हुन्छन् । आत्मनिर्भर र रोजगारी सिर्जना हुन्छ । विगतका दिनहरूमा औद्योगिक भ्रमणमा जाँदा उद्योगीहरुलाई प्राथमिकता दिन नसक्दा संघमा छ हजार सात सय ५४ साधारण सदस्य रहेकोमा हाल त्यो संख्या आधा भन्दा कम भएको छ । यस्तो किन भइरहेको छ भन्ने बारेमा घोत्लिनु आवश्यक छ । दाङ जिल्ला उद्योग बाणिज्य संघले हरेक वस्तुगत समितिहरू संग समन्वय गर्ने र भावनात्मक एकतामा जोडि उद्योगहरु औद्योगीक क्षेत्रभित्र संचालन गर्ने बातावरण बनाउनुपर्छ । उद्योग स्थापना हुने हो भने रोजगार सृजना हुने, शिक्षा र स्वास्थ्यका पर्यटनका लागि बाहिरी जिल्लाबाट विद्यार्थी र पर्यटकिय नगरीका रुपमा विकास गर्न सक्ने हो भने प्रशस्त पर्यटकहरु आउने निश्चित छ । यस्तो भयो भने हामीले दाङ जिल्लालाई समृद्ध बनाउन सक्छौं । यति गर्न सकियो भने दाङ जिल्लाका नागरिकहरुलाई सुखी र खुशी तुल्याउन सक्ने छौं ।

(आचार्य, दाङ जिल्ला उद्योग बाणिज्य संघमा उद्योग उपाध्यक्ष हुनुुहुन्छ ।)

दाङ जिल्ला उवासंघको निर्वाचनमा कमी कमजोरी भएको अध्यक्ष बुढाथोकीद्वारा स्विकार

प्रशासन कार्यालयमा भयो यस्तो सहमती

राप्ती पोष्ट

दाङ, १० असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघमा देखिएको फर्जि उमेदवार सम्वन्धी विवाद टुङ्गो लगाउनका लागि जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय दाङ अनिर्णको बन्दी बनेको छ । उद्योग बाणिज्य संघको आगामी १३ गतेका दिन हुने निर्वाचनमा केही उमेदवारको योग्यतामाथि दावी विरोध गर्दै परेको उजुरी समाधान गर्नुको साटो निर्वाचन समितिले एकपक्षिय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएपछि विवाद बढेको थियो ।

उमेदवार हुनका लागि कम्तीमा पनि तीन बर्ष लगातार सदस्य भएको हुनुपर्ने भन्ने विधानको व्यवस्था रहेको भएपनि दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा उमेदवार बनेकामध्य कम्तीमा आठ जनाको योग्यता पुगेको छैन । पुराना व्यवसायीको अर्धकट्टीमा नाम काटेर पुरानो सदस्यता बनाएका एकथरी छन भने अर्कोथरी योग्यता नपुगिकनै आजिवन सदस्यता लिएकाहरु रहेका छन् । जसको विरोधमा जिल्ला प्रशासन कार्यालय दाङ र उच्च अदालत तुलसीपुरमा उजुरी परेको थियो ।

उच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थाका बारेमा देखिने विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नै पहल लिनुपर्ने भन्दै सो विषयमा निर्णय दिएको थिएन । विवाद समाधानका लागि उच्च अदालतले जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार भनेकोमा जिल्ला प्रशासन कार्यालय दाङ पनि अनिर्णयको बन्दी बनेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय दाङले उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु, बर्तमान अध्यक्ष र एक जना पदाधिकारीलाई बोलाएर छलफल गराएको थियो । जुन छलफलमा विधान सम्मत तरिकाले चल्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा हालै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको उपस्थितिमा भएको छलफलमा ‘दाङ जिल्ला उद्योग बाणिज्य संघको मिति २०८० असोज १३ गतेका दिन हुन गइरहेको निर्वाचनको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय दाङमा मिति २०८० असोज ४ गते परेको उजुरी तथा उच्च अदालत तुलसीपुरबाट २०८० असोज ०९ गतेको निर्णयले यस कार्यालयमा फिर्ता भइ आएको निषेधाज्ञा मुद्दाको निर्णय प्रतिका सम्वन्धमा दाङ उद्योग बाणिज्य संघका पूर्व तथा बर्तमान पदाधिकारीहरु समेत उपस्थित भइ छलफल गरियो ।’ भन्ने पहिलो निर्णय गरिएको छ ।
यस्तै ‘उपस्थित पदाधिकारीहरुसंग बृहत छलफल गर्दा हालसम्म बर्तमान कार्यसमितिबाट भएका कमी कमजोरीहरु सुधार गर्दै संस्थाको हित र विधान विपरित नहुने गरी अगाडी बढ्ने सहमती गरियो ।’ भन्ने दोस्रो सहमती गरिएको छ । सहमतीको ड्राफ्ट गर्दै जिल्ला प्रशासन कार्यालयका अधिकृत अमरराज शर्माले उद्योग बाणिज्य संघले नै यो विषय टुङ्गो लगाउनुपर्ने बताउनुभयो । उच्च अदालतले समेत जिल्ला प्रशासनमा फर्काएको विषयलाई अनिर्णयको बन्दी बनाउनका लागि शर्माले पहल गर्नुभयो । निर्वाचन नै स्थगित गर्नुपर्ने अवस्थामा आइसकेको बिषयमा सत्ता गठवन्धन निकट शर्माले झनै अनिर्णयको बन्दी बनाइदिनुभएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघमा तीन पटक अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएका रामदयाल गुप्ताले शर्माले निर्वाचन गर्ने भनेर निर्णय गराइ आफूलाई सहि गराउन खोजेकोमा आफूहरुले नमानेको बताउनुभयो । आफूहरु निर्णय गर्नका लागि आएको नभइ जिल्ला प्रशासन कार्यालय बोलाएका कारणले आएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सहमती र छलफलमा दाङ जिल्ला उद्योग बाणिज्य संघमा कमजोरी भएको स्विकार गरिएको छ । दोस्रो नम्वरको बुँदामा स्पष्ट रुपमा बर्तमान कार्यसमितिबाट भएका कमी कमजोरीहरु सुधार गर्दै संस्थाको हित र विधान विपरित नहुने गरी अगाडी बढ्ने सहमती गरियो । भनिएको छ । तर के कमि कमजोरी भयो र कसरी सुधार गर्ने भन्ने विषय उल्लेख गरिएको छैन । छलफलमा सहभागि कतिपयले मुर्त रुपमा निर्णय हुनुपर्ने भनेपछि अधिकृत शर्माले त्यस्तो लेख्न नसकिने भनेर जिद्दी गरेपछि गोलमटोल भाषा लेखिएको छ ।

निर्वाचनका लागि दुईवटा टिम प्रचारमा हिडेका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयका आधारमा अघि बढ्ने योजनामा निर्वाचनमा भिडेको टोली देखिएको छ । जसले गर्दा निर्वाचनको प्रचार प्रसारले तिव्रता पाउन सकेको छैन ।
यता प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले दाङ जिल्ला उद्योग बाणिज्य संघमा देखिएको विवाद समाधानका लागि छलफल थालिएको बताउनुभयो । उहाँले कतिपय विषयका बारेमा बुझ्न बाँकी रहेको भन्दै जिल्ला प्रशासनमा आएको उजुरी अझै हेरि नसकेको बताउनुभयो । उहाँले प्रमाण जुटाएपछि मात्रै अघि बढ्ने भन्दै उच्च अदालतको आदेश अनुसार छलफलको प्रक्रिया थालनी भएको बताउनुभयो । उहाँले कुनै कारणले निर्वाचनमा गएकाहरुको उमेदवारी खारेज हुने अवस्था आयो भने ति पदमा पुनः निर्वाचन गरेर जानुपर्ने अवस्था आउन सक्ने संकेत गर्नुभयो ।

यामाहाको नेपाल फिटिङ बाईक सार्वजनिक

राप्ती पोष्ट

 

घोराही, ९ असोज । विश्वप्रशिद्ध कम्पनी यामाहाले नेपालमै फिटिङ गरेको मोटरसाइकिल दाङको बजारमा सार्वजनिक गरेको छ । चाडवाड लक्षित गरेर एक सय ५० सिसीको उक्त बाईक सोमबार सार्वजनिक गरिएको हो ।

श्रेष्ठ अटोमोवाइल्सका प्रोपाइटर राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एफ जेड–एस को नयाँ डिलक्स सार्वजनिक गरिएको थियो । जिल्ला ट्राफिक प्रमुख किरणप्रकाश मल्ल, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे लगायतले मोटरसाइकिल सार्वजनिक गर्नुभएको थियो । विगतमा भारतबाट निर्माण भएर आउने गरेकोमा पहिलो पटक नेपालमै फिटिङ भएर नेपाली बजारमा आएको एम ए डव्लुका एरिया सेल्स मेनेजर दिनेश केसीले मोटरसाइकिलको विशेषताका बारेमा बताउनुभएको थियो । नेपालमा फिटिङ भएको भएपनि अत्यन्त राम्रो रहेको जानकारी दिंदै युवाहरुका बीचमा निकै लोकपृय रहेको एफ जेड सिरिजका मोटरसाइकिलहरु मध्य नयाँ डिलक्स संस्करण आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक किरण प्रकाश मल्लले यामाहाका मोटरसाइकिलहरु अन्य कम्पनीको तुलनामा बढी भार तान्न सक्ने र बलियो रहेको बताउनुभयो । विगतमा आफूले यामाहाका मोटरसाइकिलबाट लामो दुरीको यात्रा गरेको स्मरण पनि उहाँले गर्नुभयो । उहाँले मोटरसाइकिलमा ठूलो हर्न हाल्ने, साइलेन्सर ठूलो बनाउनेहरुलाई कारवाही गर्ने भन्दै यामाहा चढ्नेहरुलाई यस्तो नगर्न कम्पनी र विक्रेताका तर्फबाट सचेत गराउने आग्रह गर्नुभयो ।

एफ जेड सार्वजनिक कार्यक्रममा घोराही, १५ का वडाध्यक्ष रमेश पाण्डे र नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासनले आफूहरुले यामाहा नै चढ्ने गरेको भन्दै अन्य मोटरसाइकिल भन्दा यो राम्रो रहेको बताउनुभयो । यामाहाका प्रोपाइटर राजेन्द्र श्रेष्ठले नयाँ मोटरसाइकिल सुरक्षित रहेको दावी गर्नुभयो । उहाँले अन्य ब्राण्डको मोटरसाइकिल भन्दा यामाहाको एफ जेड एस बढी सुरक्षित रहेको बताउनुभयो । कार्यक्रमको संचालन सेल्स मेनेजर लक्की सल्मानीले गर्नुभएको थियो । यो मोटरसाइकिलको मूल्य चार लाख चार हजार नौ सय रुपैया रहेको छ । चाडवाड लक्षित गरेर आठ हजार देखि एक लाख सम्म छुट अफर राखिएको पनि सल्मानीले जानकारी दिनुभयो ।

चोरीमा बालबालिकाको संलग्नता बढ्दो

छबि पुरी राप्ती पोष्ट

घोराही, ९ असोज । दैनिक जसो बालबालिकाहरु अपराध कर्ममा संलग्न भएको अभियोगमा प्रहरी नियन्त्रणमा पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय परिसरमा पुग्ने हो भने हरेक दिन बालवालिकाहरु चोरीमा संलग्न भएर पक्राउ परेको देखिन्छ । जिल्लाका ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयमा पनि अवस्था उस्तै छ । उनीहरु चोरीलगायत अरु थुप्रै अभियोगमा पक्राउ परेर ल्याईएका हुन्छन् ।

जिल्लामा वर्षेनी बालबालिकाहरु चोरीलगायत अरु थुप्रै अपराध कर्ममा संलग्न हुने क्रम बढ्दै गएको छ । उनीहरु स–साना चोरीदेखि ठूलाठूला चोरीको घटनामा समेत संलग्न हुने गरेको भेटिएपछि प्रहरीलाई पनि हैरानी बढेको छ । लाखौ नगद, धेरै तोला सुन र पसलका ढोका फुटाएर चोरी भएका घटनामा ९ देखि १५ बर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको छ । बजारमा कुनै ठाउँमा चोरी भयो भने पहिला ती पक्राउ परेका बालबालिकाहरु कहाँ छन् भनेर खोज्नु पर्ने अवस्था रहेको प्रहरीको भनाई छ ।

अभिभावक गुमाएका, परिवारमा उचित रेखदेख नभएका, कुलतमा फसेका, साथीभाइको गलत संगतमा लागेकाहरु धेरै जसो चोरीलगायत अपराध कर्ममा फसेको प्रहरीको भनाई छ । उनीहरु पटक पटक यस प्रकारका घटनामा पक्राउ पर्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ । जिल्लामा पछिल्लो ४ वर्षमा चोरी सम्बन्धी ३ सय बढी उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमा अधिकांश चोरीका घटना बालबालिकासँग सम्बिन्धत रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मल्लका अनुसार बालबालिकाहरु चोरी गर्न पल्कनुमा आफै बुद्धी नपुगेर वा अरुले उक्साएर लगाएको देखिन्छ ।

उहाँका अनुसार, आर्थिक वर्ष २०७६–०७७ मा चोरी सम्बन्धी ४० वटा, आर्थिक वर्ष २०७७–०७८ मा ५१ वटा, आर्थिक वर्ष २०७८–०७९ मा ८५ वटा र आर्थिक वर्ष २०७९–०८० मा १ सय ३८ वटा गरी चार आर्थिक वर्ष तीन सय १४ वटा चोरीसँग सम्बन्धित घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षेनी चोरीका घटना बढ्दै जानु, त्यसमा बालबालिकाको संलग्नता सबैभन्दा धेरै देखिनु अत्यन्तै डरलाग्दो स्थिती रहेको प्रहरी नायव उपरीक्षक मल्लको भनाई छ ।
पसलको ढोका फोडेर चोरी गरेको आरोपमा प्राय जसो प्रहरीले बालकहरुलाई पक्रने गरेको छ । यसरी पक्राउ पर्नेमा १० देखि १५ वर्षका बालकहरु हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेर ल्याईने गरेकाहरुबाट नगद, ल्यापटप, घडी, मोबाइल जस्ता प्रयोगका वस्तुहरु हुने गरेका छन् । उनीहरुले नगद रकम प्राय कपडा किन्नमा, खानमा खर्चने गरेको पाईएको प्रहरीको भनाई छ ।

सामानसहित बरामद गरिएका तिनीहरुमध्ये धेरैले गरिबीको कारण चोरीमा संलग्न भएको बयान प्रहरीलाई दिने गरेका छन् । धेरैको बाबुआमा नहुने, आमाबुवा भएकाहरु पनि श्रम गर्न अन्यत्र गएकोले दुःख पाएपछि चोरी गर्न लागेको बताउने गरेका प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । ‘कतिपय बालबालिकाहरुको बाबुआमा ज्यालामजदूरी गर्ने र खानसमेत नपुग्ने भएकाले चोरीमा लागेको बताउँछन्’, उहाँले भन्नुभयो ‘केही त घरपरिवारबाट उचित रेखदेख नपाएका, साथीभाइको गलत संगतले लहैलहैमा लागेर अपराध कर्ममा लागेको पाईएको छ ।’

जिल्लाको बजार क्षेत्रमा यो समस्या अझ धेरै रहेको छ । प्राय जसो बजार क्षेत्रमा बालबालिकाहरुले चोरी गर्न सजिलो हुने भएपछि यस प्रकारका काम गर्ने गरेको प्रहरी अध्ययनले बताउँछ । बजारको विभिन्न पसलबाट पैसादेखि फलफूलसमेत चोरेको आरोपमा प्रहरीले केही दिनअघि बालकहलाई नियन्त्रणमा लिएर केरकार गर्दा चोरेको ठहरे । तर उनीहरुसँग चोरेको केही प्रमाण भेटिएन । कारण, उनीहरुले चोरेको पैसाले खाने, कपडा किन्नेमा सकाए ।

केही ठाउँमा भने ठूला उमेरमा चोरले बालकहरुलाई प्रयोग गरेर चोर्न लगाउने गरेको पनि पाईएको छ । उनीहरुमध्ये कतिपयलाई ठूलो उमेरसमुहका चोरहरुले चोर्न खटाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । चोरेर ल्याएको ठूलो अंश आफुले लिने र बालबालिकालाई दिएर थप चोर्न उक्साउने गरेको पनि खुलेको छ । साइबरमा खेल खेल्न, राम्रो कपडा लगाउन, मिठो खान, मोबाइल, ट्यावलेट बोकेर हिड्न पनि चोरीमा बालबालिका पल्किएको अनुसन्धानले देखाउँछ । आरोपित बालबालिकाहरुमध्ये कतिपयलाई कार्वाही गरिएको छ । कतिपयलाई अभिभावकसहित चोरी गर्नु अपराध हो भन्ने परामर्श गरेर पठाएको प्रहरीले जनाएको छ । अपराध गरेको प्रमाणित भएपनि बालबालिकाहरुलाई थुनामा राख्न नमिल्ने हुँदा पनि उनीहरु पटक पटक यस प्रकारको घटना रोक्न चुनौति भएको प्रहरीको भनाई छ ।

‘उमेर नपुगेका बालक चोरीमा संलग्न भएको पाएपछि पक्राउ गरेर ल्यायो, अभिभावक बोलायो, कतिका अभिभावक आउनुहुन्छ । कतिपयको अभिभावक पनि नभएको अवस्था हुन्छ,’ उहाँले भन्नुभयो, ’पक्राउ गर्यो, बालबालिका भएकै कारण अदालतले पनि पछि छाडिदिन्छ, अनि पुनः चोरी शुरू गर्छन्, यसले निकै समस्या थपेको छ ।’ बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा जोड दिँदै प्रवक्ता मल्लले बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नाको विकल्प नभएको बताउनुहुन्छ ।

उसो त, बालक जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध तथा चोरीका घटनामा संलग्नता बढ्दै गएको पाइएको हो । आपराधिक कार्यमा बालबालिकाका संलग्नता बढ्नु चिन्ताको विषय भएको बालअधिकारकर्मीहरु बताउँछन् । बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बालअधिकारकर्मी विकिरण गौतम बताउनुहुन्छ । उहाँले बालबालिकाहरुका लागि बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार उत्तिकै भएपनि सरोकार निकायको ध्यान पुग्न नसक्दा बालबालिकाहरु कालान्तरमा गलत बाटोमा लाग्ने अवस्था आउने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बालअधिकार महासन्धिले गर्भदेखि १८ वर्षसम्मका बालबालिकाको अधिकार मानेको छ । जसमा उनीहरुको बाँच्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार, जन्मेपछि जन्मदर्ता, स्तनपान, नियमित स्वास्थ्य परीक्षण, उमेरअनुसारको सुरक्षित पौष्टिक आहार, सुरक्षित पानी, खोप तथा प्राथमिक उपचारलगायतका दीर्घ जीवन तथा सर्वोत्तम हितको सिद्धान्तमा रहेर अभिभावकले बाँच्नको लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्दछ ।’ यसैगरी, संरक्षणको अधिकारमा गर्भदेखि गर्भवतीलाई तनावमुक्त वातावरण, गर्भ तुहिनबाट संरक्षण तथा जन्मपश्चात् पनि बढ्दो उमेर क्रमअनुसार भेदभाव, शोषण, हिंसा, दुव्र्यवहार, अपहेलना, बालश्रम, उत्पीडन, ओेसारपसार तथा बेचबिखन, बुबाआमाबाट अलग्गिनु पर्नेलगायतका जोखिमपूर्ण स्थितिबाट सुरक्षित हुन पाउनुपर्ने उहाँ बताउनुहुन्छ । विकासको अधिकारमा शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासको अवसरहरू जस्तै खेल, अन्तरक्रिया, खोज, अनुभव, अनुसन्धान गर्न दिनु अभिभावकको जिम्मेवारी रहेको र सहभागिताको अधिकारमा ामाजिक कार्यक्रम, चाडबाड तथा जमघटमा सहभागी गराएर, कुराकानी, निर्णय लिने कार्यहरूमा सहभागी गराएर गर्न सकिनेमा उहाँको धारणा छ ।
तर, यी यावत कुरामा बालबालिकाहरु वन्चित हुँदा उनीहरु सानै उमेरमा गलत बाटोमा लाग्न बाध्य हुने र भविष्य अन्धकारमा पुग्ने अवस्था बढ्दै गएको अध्ययनले देखाएको छ । यसतर्फ अभिभावक, परिवार, समाज, राज्यका सरोकार निकाय, बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको बालअधिकारकर्मीको भनाई छ ।