भूकम्पको समयमा हाम्रा विद्यालय खुलेको अवस्थामा के होला ?
शरद अधिकारी/राप्ती पोष्ट
दाङ, कात्तिक ।
घटना १. २०७२ सालमा आएको भूकम्पका कारण ३१ जिल्लाका करिव १० हजार विद्यालयहरु प्रभावित भएका थिए । सरकारी तथ्याङ्क अनुसार सात हजार नौ सय २३ विद्यालयहरुमा क्षति पुगेको थियो । २१ हजार एक सय ६९ वटा कोठाहरु पूर्ण रुप्मा र १२ हजार नौ सय ९० वटा कोठा आशिंक रुपमा नष्ट भएका थिए ।
घटना २. जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा गरेर चार सय भन्दा बढी विद्यालयमा क्षति पुगेको छ । जाजरकोटमा तिन सय ५९ वटा र रुकुम पश्चिममा ६६ विद्यालयमा क्षति पुगेको छ । डेढ सय जनाको ज्यान जाने क्रममा २४ जना विद्यार्थीहरुको ज्यान गएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पूर्ण र आंशिक गरी जाजरकोटका तीन सय ४९ र रुकुम पश्चिमका ६६ विद्यालयमा क्षति पुगेको हो । भवनसँगै केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पुगेको तथ्यांक छ ।
माथिका दुईवटा घटनालाई अध्ययन गर्ने हो भने भूकम्प आउँदा विद्यालयमा विद्यार्थी हुने अवस्था आएमा मृतकको संख्या कल्पना गर्न नसक्ने हुने निश्चित छ । विद्यालय संचालन नभएको समयमा अर्थात केटा केटीहरु घरमै भएको अवस्थामा भूकम्प आउँदा त्यसबाट हुने मानविय क्षति कम हुने कुरा २०७२ र गएको कात्तिक १७ गतेका दिन आएका भूकम्पबाट थाहा हुन्छ । यदि कुनै कारणले विद्यालय संचालन भएको समयमा भुकम्प आएको अवस्थामा के होला अहिल्यै अनुमान गर्न सकिदैन ।
घोराही उपमहानरपालिका सामाजिक विकास महाशाखाका अनुसार घोराही उपमहानगरपालिकामा ९५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । यस्तै संस्थागत विद्यालयहरु ७६ वटा रहेका छन् । सामुदायिक र संस्थागत विद्यालयहरु गरेर एक सय ७१ वटा विद्यालयमा गरेर ७२ हजार ५८ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । चालु शैक्षिक सत्रमा संस्थागत विद्यालयहरुमा ४१ हजार चार सय ७१ जना र सामुदायिक विद्यालयमा ३० हजार पाँच सय ८७ विद्यार्थीहरु रहेका छन् ।
घोराही उपमहानगरपालिकामा रहेका विद्यालयहरु भूकम्पिय जोखिमका हिसावले कति सुरक्षित छन भन्ने बारेमा कोही पनि जानकार छैनन् । सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले कतिपय विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी भएको बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकाका विद्यालयका भवनहरुले नक्सा पास गरेको भएपनि ति भवनहरु विद्यालय संचालनका लागि उपयुक्त छन् या छैनन् भन्ने बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताउनुभयो ।
घोराहीका सवै विद्यालयमा गरेर ७२ हजार विद्यार्थीहरु विद्यालयमा गएको समयमा भूकम्प आयो भने त्यतिवेला सावधानीका लागि के गर्ने ? भन्ने बारेमा कसैले सचेतनाका कार्यक्रम संचालन गरेको छैन । कतिपय विद्यालयहरु मापदण्ड अनुसार छैनन् । कतिपय विद्यालयहरु पुराना भवनमा रहेका छन् । कतिपय विद्यालयहरुले चार पाँच तलामाथि विद्यार्थीहरुलाई पढाइरहेका छन् । विद्यालयमा कति विद्यार्थी भएपछि कतिवटा भ¥याङ राख्ने, कति विद्यालयका लागि कति खुल्ला स्थान हुनुपर्छ भन्ने मापदण्ड पनि विद्यालयहरुले पुरा गरेका छैनन् ।
प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्द घोराहीमा संस्थागत विद्यालयले भूकम्प आउँदा के गर्ने भन्ने बारेमा तयारी नगरेको बताउनुहुन्छ । पछिल्ला बर्षमा लगातार आइरहेका भूकम्पले भवन निर्माण देखि भूकम्प आउँदा कसरी बच्ने भन्ने सचेतना आवश्यक परेको बताउनुहुन्छ । घोराही क्षेत्रमा रहेका संस्थागत विद्यालयहरु भूकम्पीय जोखिमका हिसावले कति सुरक्षित छन् वा छैनन भन्ने बारेमा डाटा निकाल्नु आवश्यक रहेको चन्दले बताउनुभयो ।
घोराहीमा संस्थागत विद्यालयको इतिहास करिव तीन दशक मात्रै रहेकाले पुराना भवनहरु नरहेको र कोही भाडाको घरमा बसेको भए मात्रै समस्या हुन सक्ने चन्दको भनाई छ । नयाँ बन्ने भवनहरु भूकम्प प्रतिरोधी बन्ने गरेको उहाँको भनाई छ ।
घोराहीमा रहेका विद्यालयहरु भूकम्पीय जोखिमका हिसावले कति सुरक्षीत छन भन्ने बारेमा अनुगमन गर्ने जिम्मेवारी नगरपालिकाको हो । घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीले अनुगमनको जिम्मेवारी आफूहरुको भएपनि सामाजिक विकास महाशाखाले यसमा भूमिका खेल्नुपर्ने बताउनुुुहुन्छ । आफू उप प्रमुखका रुपमा आएपछि अरु योजनाका बारेमा अनुगमन गरिएको भएपनि विद्यालयको अवस्थाका बारेमा अनुगमन नगरिएको बताउनुहुन्छ ।
घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका अन्तरगत आधारभूत शिक्षा शाखाका प्रमुख नारायणप्रसाद पौडेलले घोराहीमा रहेका सरकारी विद्यालयहरुको भवन भूकम्प प्रतिरोधी भएको बताउनुभयो । कतिपय पुराना भवनहरु रहेको भएपनि विद्यालय संचालनका लागि उपयुक्त रहेको बताउनुहुन्छ ।
नेपालमा भूकम्प र इतिहास
नेपालको इतिहासमा सवैभन्दा ठूलो भूकम्प विक्रम सम्वत १९९० माघ २ गते आएको भूकम्पलाई लिइन्छ । यो भूकम्पको केन्द्र पूर्वि नेपालको संखुवासभाको चैनपुर केन्द्रविन्दु थियो । त्यतिवेला पूरै नेपाल हल्लिएको थियो । नेपालमा मात्रै होइन भारतमा समेत त्यसको प्रभाव परेको थियो ।
दिउँसो २ बजे आएको यो भूकम्पका कारणले मानविय क्षति जति भयो त्यो कम भएको अध्ययन अनुसन्धानले पुष्टि गर्दछ । सबैभन्दा शक्तिशाली भूकम्प भनिने विक्रम सम्वत १९९० सालमा आउँदा त्यो ८.३ म्याग्निच्युड थियो । त्यही १९९० सालको भूकम्पले झन्डै १२ हजार बढी घरहरु ध्वस्त बनाएको थियो भने नेपालमा मात्रै आठ हजार बढी मानिसको ज्यान गएको थियो । १९९० सालको भूकम्पलाई संसारका शक्तिशाली भूकम्पमध्ये लिने गरिन्छ ।
नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने पहिलो पटक विक्रम सम्वत १३१० सालमा भूकम्प गएको विभिन्न सरकारी विवरणले देखाउँछन् । त्यतिबेला नेपालका राजा अभय मल्लको भूकम्पकै कारण निधन भएको विवरणमा उल्लेख भएको पाइन्छ ।
विक्रम सम्वत १९९० पछिको कुरा गर्ने हो भने २०४५ सालमा उदयपुर जिल्लाको मुर्कुछे भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन भूकम्पले सोचेभन्दा बढी क्षति गरेको थियो । त्यतिबेला झन्डै ६५ हजार घरहरु भत्किन पुगेका थिए । वि.सं. २०४५ भदौ ५ गते विहान ५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशालीभूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो । त्यतिवेला सात सय २१ जनाले ज्यान गुमाएका थिए । शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुननिर्माणका लागि पूर्ण क्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई पाँच हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो । पछि उक्त ऋणलाई अनुदान दिइएको थियो ।
त्यसपछि २०६८ सालमा नेपाल र भारतको सिमानामा केन्द्रबिन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि २०७२ सालमा गएको भूकम्प नै अर्को शक्तिशाली भूकम्प हो । वि.सं २०७२ साल वैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लाको बारपाकमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यसको केही दिन पछि अर्थात बैशाख २९ गते आएको पराकम्पनले आलो घाउमा नुन चुक लगाउने काम गरेको थियो । ०७२ साल वैशाख १२ गते गएको भूकम्प र बैशाख २९ गतेका दिन गएको परकम्पनमा परी हजारौंको ज्यान गयो । ऐतिहासिक सम्पदाहरु ध्वस्त भए । भूकम्पका कारण १० हजार आठ सय भन्दा बढी सरकारी घरहरू तथा भवन पूर्णरूपमा क्षति भएका थिए । सर्वसाधारणका तीन लाख घरहरु आंशिक क्षति भएका थिए । वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पहरूले गर्दा झन्डै ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए ।
भूकम्पले गरेको क्षतिका बारेमा विगतलाई नियाल्दा भविष्यमा आउन सक्ने भूकम्पको अनुमानित क्षतिको आँकलन गर्न सकिन्छ । विभिन्न वैज्ञानिक अध्ययनलाई हेर्ने हो भने १९९० सालको जत्रै भूकम्प जाने हो भने काठमाडौंमा मात्रै झन्डै ४० हजार बढी मानिसको मृत्यु हुनसक्ने, ९५ हजारको हाराहारीमा मानिस घाइते हुने र झन्डै छ लाख मानिस घरबारविहीन हुने आकलन गरिएको छ । यसै तथ्याङ्कलाई हेर्ने हो भने पनि थाहा हुन्छ हामी अझै कहाँ छौ ?
हामीले कहिले चेत्ने ?
पटक पटक आएका भूकम्पले पु¥याएको क्षतिबाट हामीले पाठ सिक्न सकेका छैनौं । जाजरकोट र रुकुम पश्चिममा भएको क्षतिलाई सँझने हो भने अन्य जिल्लामा केन्द्रविन्दु भएर भूकम्प आउने हो भने जनधनको व्यापक क्षति हुने कुरा अनुमान गर्नै पर्दैन । नेपालको पूर्वमा भूकम्प आउँदा पश्चिममा र पश्चिममा आउँदा पूर्वमा समेत क्षति पुगेको अवस्था देखिन्छ ।
भूकम्पका बारेमा जानकारहरुको भनाईलाई मान्ने हो भने नेपालमा भूकम्पको जोखिम वर्षौंसम्म छ । २०७२ सालमा जुन महाभूकम्प गयो त्यसपछि पनि हाम्रो चेतनाको स्तर अझै माथि उठ्न नसकेको जस्तो देखिन्छ । अनियन्त्रित विकास निर्माण, अपर्याप्त भौतिक पूर्वाधार लगायत घरको डिजाइनमा भूकम्पीय सुरक्षाका तत्वहरुको अभाव, निर्माण सामग्रीको गुणस्तरमा अभाव, जगको लागि माटो परीक्षण लगायतको कमीले गर्दा उपत्यकामा अझै पनि जोखिम देखिन्छ जहाँ पूर्वाधार निर्माणमा न्यूनतम पनि सावधानी नपु¥याएको देख्न सकिन्छ ।
भूकम्पको समयले पार्ने प्रभाव
२०७२ सालमा भूकम्प उज्ज्यालोमा आएको थियो । विदाको दिन थियो । मानिसहरु घरमै थिए । सरकारी कार्यालयहरु बन्द थिए । विद्यालयहरु बन्द थिए । जसले गर्दा ठूलो संख्यामा मानिसको ज्यान गएन । भूकम्प शनिबारका दिन आएका कारण अधिकांश मानिसहरू घरमा भएकाले ज्यानहानी कम भएको आँकलन गरिन्छ । यसबाहेक भूकम्पको केन्द्रविन्दु ग्रामीण क्षेत्रमा भएका कारण सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा जनसङ्ख्या घनत्व कम थियो र अधिकांश मानिसहरू भूकम्प आउँदा घरबाहिर थिए यदि भूकम्प राती वा काम गर्ने हप्तामा आएको भए थुप्रै मानिसहरू असुरक्षित भवनहरूभित्र हुन्थे जसले गर्दा मृतकहरूको सङ्ख्या बढी हुन जान्थ्यो भन्ने निश्चित छ ।