spot_img
spot_img

घोराहीको बाम्ला खोलाबाट अवैध उत्खनन

प्रहरी प्रशासनको मौनता रहस्यमय

छबि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । घोराही उपमहानगरका वडा नम्बर १९ को बाम्ला खोला ढुंगा उत्खननको चपेटामा परेको छ । शिरमा बाम्ला खोलाको नामले परिचित भएपनि बजार क्षेत्रमा आईपुग्दा कटुवा खोला भनेर पुकारिने बाम्ला खोला केही वर्षयता त्यहाँ रहेका ढुंगामा गलत व्यक्तिको नजरमा बारम्बार परिरहेको छ । बाम्ला खोलामा अहिले टिपर भेटिन थालेको छ । स्काभेटरले दिनरात नभनी ढुंगा उत्खनन् गरिरहेको छ ।

कुनै एक व्यक्तिको जग्गामा रहेको ढुंगासँगै छेवैँमा बगिरहेको बाम्लाखोलाको ढुंगा उत्खनन् गरेर अवैध रुपमा पैसा कमाउने ध्येयमा लागेका छन् । कुनै पनि निकायबाट अनुमति नलिई ठूला मेसीन लगाएर बाम्ला खोला किनारमा ठूलो परिमाणमा ढुंगा उत्खनन्को काम गर्ने हिम्मतका साथ काम गर्नुले स्थानीय सरकार, प्रहरी प्रशासनको सिधै धज्जी उडाउने काम भएको छ । सत्ता र शक्तिको आडमा बाम्ला खोलाको किनारमा स्काभेटर प्रयोग गरेर ठूलो परिमाणमा ढुंगा निकालिएको छ । यो सामान्य व्यक्तिले यसै आँट गरेर गर्न सक्ने अवस्थाको छैन । सैघा जोड्ने सडकलाई नै असर पुग्ने गरी बाटो बनाएर अत्यधिक मात्रामा ढुंगा निकालिनुले प्रहरी प्रशासन, सत्ता र शक्तिको आडमा यति ठूलो आँट भएको स्पष्ट हुन्छ ।
व्यक्तिगत जग्गाबाट माटो, बालुवा, ढुंगा उत्खननका लागि स्थानीय सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने हुन्छ । त्यो भन्दा अघि के प्रयोजनका लागि कति मात्रामा उत्खनन् गर्न खोजिएको स्पष्ट रुपमा उल्लेख गरेर त्यहाँको वातावरण प्रभाव मुल्यांकन भई प्राविधिकको प्रतिवेदनका आधारमा मात्रै उत्खनन् गर्न मिल्ने वा नमिल्ने अवस्था हुन्छ । तर, घोराही १९ बाम्ला खोला साविक सैघा गाबिस वडा नम्बर ७ का नैनसिंह घर्तीमगरको नाममा रहेको कित्ता नम्बर १÷घ ३ को १२–१३–२–३ क्षेत्रफल र ७÷घ ५ को ६–११–०–२ क्षेत्रफलमा रहेको जग्गालाई उत्खनन् गरी जमीन सम्याउन भन्दै निजका छोरा रुपलाल घर्तीले वडा नम्बर १९ मा दिएको निवेदन अनुसार वडा कार्यालयले कात्तिक ३ गते घोराही उपमहानगरपालिकालाई व्यक्तिगत आईई कार्यका लागि सिफारिस गरेको छ ।

वडा कार्यालयले पालिकामा निवेदकको भनाई अनुसार प्रारम्भिक वातावरण मुल्यांकन गरी अवस्थाको बारेमा प्रतिवेदन कस्तो आउँछ सो अनुसार कानून बमोजिम गर्न गरेको सिफारिसलाई मात्रै आधार मानेर पालिकाले गर्नुपर्ने कुनै पनि काम नगरी एकाएक कुनै अमुख शक्तिको आडमा खुलेआम दिनदहाडै ठूलो परिमाणमा ढुंगा उत्खनन् भएको छ । यो काममा जग्गाधनी अघि देखिएपनि त्यहाँ रहेको करोडौँ मुल्यको ढुंगा निकालेर बिक्रि गर्ने योजना राजनीतिक आडमा लागेकाहरुको एक समुह रहेको जानकार बताउँछन् । प्रहरी प्रशासनको आडमा पक्कै पनि यो गतिविधि भएको हुन सक्ने अनुमान धेरैले गरेका छन् । वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति जस्ता नियामक निकायको कार्यालय रहेको नजिकै यस प्रकारको दुस्साहस गर्ने आँट राज्य सत्ताको आडमा मात्रै हुन सक्ने अड्कल काटिएको छ ।

केही वर्ष अघि पनि बाम्ला खोलामा एक समुहले ढुंगा उत्खनन् गरी बिक्रि गरिरहेको पाईएपछि स्थानीय पालिका, प्रहरी प्रशासनले रोक लगाएका थिए । जानकारीमा आए अनुसार, सोही समुहका केही व्यक्ति र अहिले सरकारमा रहेकाहरुको नजिकका व्यक्तिहरुको विशेष चासोमा यति ठूलो आँट गरिएको एक स्थानीयको भनाई छ । नाम नबताउने शर्तमा उहाँले भन्नुभयो, ‘यो ठाउँमा बाहिरका मानिस आएर यसरी दिनदहाडै कसले आँट गर्ने ? यो काम गर्नलाई त तलदेखि माथिसम्म सेटिङ नमिलाएर हुन्छ त ? यो काम गर्न ठूलै मुटु चाहिन्छ । हिजोका दिनमा जस्ले यही खोलाबाट ढुंगा बेच्न पल्केको थियो । हुन सक्छ, उनीहरुकै योजानमा यो काम भईरहेको छ । यहाँ देखिने बेलामा जग्गा धनीलाई अघि सारिएको छ तर, यो काम र योजना अदृश्य शक्तिकै छ ।’

बिहीबार दिउँसो ढुंगा उत्खनन् गरिएको क्षेत्रमा पुग्दा उत्खखन् गरिएको ढुंगाको पहाड लागेको छ । नम्बरसमेत नरहेको स्काभेटरले खोला किनार र व्यक्तिको जग्गाबाट ढुंगा निकालेर थुपारेको छ । ती ढुंगा बोक्नका लागि रा १ ख १९८२ नम्बरको देवा आश्विनी कन्स्ट्रक्सन लेखिएको पहेँलो रंगको टिपर उत्खनन् क्षेत्रमा रहेको छ । खोलाको छेवैमा बस्नका लागि बनाइएको घर भएपनि त्यहाँ घरधनी बस्न छाडेका छन् । स्थानीयका अनुसार, जग्गाधनी सैघातिर बस्दै आएकाले ढुंगा उत्खनन् गरेर पैसा कमाउने योजना बनेको हुनसक्छ ।

घोराहीका गिर रोदन महरालगायका युवाहरुको सक्रियतामा यो काम भएको बताईएको छ । जसमा उनी निकट थुप्रै समुहसमेत आवद्ध रहेको भएपनि अरुको नाम भने खुलाईएको छैन । उत्खनन् स्थलमा रहेका टिपर, स्काभेटर उनीहरुले ल्याएर संचालन गरेको पाईएको छ । टिपरको प्रति ट्रिप २ हजार र ट्रयाक्टरको प्रति ट्रिप पाँच सय रुपैयाँ दिने गरी उनीहरुले आफुलाई फकाएको जग्गा धनी भनिएका रुपलालले बताउनुभयो । यति ठूलो परिमाणको ढुंगा उत्खनन् गर्दा मलाई धेरै पैसा आउने प्रलोभन देखाएर उनीहरुले नै यो काम गरेको रुपलालको भनाई छ । ढुंगा उत्खखन् गर्दा घर भत्किए १ लाख पचास हजार रुपैयाँ दिने आश्वासन बाँडेको पनि उहाँ बताउनुहुन्छ ।

उता, वडा नम्बर १९ का वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले बाम्ला खोलामा भएको उत्खनन् प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकनको प्रतिवेदन तयार नभई पालिकाले स्वीकृति नदिई भएको बताउनुभयो । यो वडा कार्यालयको तर्फबाट कुनै प्रकारको स्वीकृति नलिई काम भएको उहाँको भनाई छ । ‘प्रकृयामा रहेको होला भन्ने लागेको थियो तर, यहाँ अवस्था निकै फरक भएको रहेछ, जग्गाधनी वा त्यहाँ काम गर्न तम्सिएकाहरुबाट जुन प्रकारको काम भएको छ, यो अत्यन्तै गैरकानूनी रुपमा भएको छ । जे जति काम भएको छ त्यहाँ थप उत्खनन् रोकेर कानूनी प्रकृया अघि बढाउने काम हुनेछ’ उहाँले भन्नुभयो ‘वडाले प्राप्त निवेदनका आधारमा पालिकामा सिफारिस गरेको मात्रै हो स्थलगत रुपमा हेर्दा कानून विपरितको काम भएको छ । यस बारेमा वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

घोराही उपमहानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख ईन्जिनियर युवराज पौडेलले बाम्ला खोलामा भएको उत्खनन् कानून विपरित रहेको बताउनुभयो । उत्खनन् भईरहे बारे जानकारी पाउनासाथ पालिकाले चासो लिँदै स्थलगत अनुगमन गरी उत्खनन्को काम रोक्न लगाइएको बताउनुभयो । जुन प्रकारको काम भएको छ, यो निकै ठूलो साहसका साथ कसैको आडमा गरिएको स्पष्ट हुने उहाँको भनाई छ ।

‘कुन समुहले यो प्रकारको दुस्साहस गरेको छ, उनीहरुको पहिचान गरी कानून अनुसार कडा कारवाही गर्नुपर्छ । प्रकृया अनुसार काम गर्न मिल्ने वा नमिल्ने भन्ने हुँदाहुँदै पनि यो काम हुनु गलत छ’, उहाँले भन्नुभयो ‘घरायसी प्रयोजनका लागि व्यक्तिगत जग्गाको उत्खनन् गर्न अनुमति लिएर दुई चार घनमीटर उत्खनन् गर्न सकिने बेग्लै कुरा हो तर ५ हजार बढी घनमीटर खोला नै उजाडिने गरी उत्खनन् गरेर कानून मिच्ने काम भएको छ ।’

उत्खनन् गरिएका ढुंगा जफत गर्ने र लिलामी प्रकृया अपनाई पालिकामा राजश्व बाँध्ने काम अघि बढाउने काम हुने उहाँले बताउनुभयो । ‘यो काममा जो जो संलग्न भएका छन् उनीहरुको पहिचान गरी कारवाही गर्ने र यस प्रकारका गतिविधि नगर्ने गरी प्रतिवद्धता गराउनुपर्छ’ उहाँले भन्नुभयो ‘यसरी दिनदहाडै पालिकाको आँखा छलेर गैरकानूनी काम थाल्नेलाई कारवाही गर्नुको विकल्प छैन ।’ घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले घटनाबारे आफुले चासो लिएपछि विभिन्न ठाउँबाट घटना ढाकछोपका लागि दवाब आईरहेको बताउनुभयो । हिजोका दिनदेखि यसरी नै राज्य दोहन गर्न पल्किएकाहरुबाट यो काम भएको स्पष्ट भएको हुँदा स्थानीय सरकार संचालन ऐन अनुसार, पालिकाले पाएको अधिकारमा रहेर कानुन अनुसार कारवाही हुनुपर्ने अडानमा आफु रहेको उपप्रमुख डिसीले बताउनुभयो ।

व्यक्तिको जग्गा भएपनि यसरी दिनदहाडै ढुंगा उत्खनन् गरेर अबैध रुपमा आर्थिक लाभ उठाउन खोजेकाहरुले सत्ता र शक्तिको आडमा गरिरहेको प्रयासलाई कानुनी कठघरमा उभ्याउँदै कारवाही गर्ने गरी सम्बन्धित शाखा, महाशाखा र कार्यपालिकामा जानकारी गराएको उहाँको भनाई छ । ‘प्रकृया नै न अपनाएर आफु खुशी ढुंगा उत्खनन् गर्ने काम भएको देख्दा अचम्म लागेको छ, यस्तो बेलामा पनि विभिन्न नाममा कुरो मिलाउन भन्दै फोन आईरहेको छ’ उहाँले भन्नुभयो ‘यसरी गलत गर्नेलाई छाड्ने हो भने जनताको जनप्रतिनिधि हुनु र नहुनुको के अर्थ ? कानून सबैलाई बराबर लाग्छ, मैले हुदैन भनेको छु । यो अत्यन्तै गम्भीर कुरा हो, यो राज्य विरुद्धको अपराध हो भन्ने मलाई लागेको छ ।’ राजश्वको श्रोत कमजोर भईरहेका बेलामा यसरी सबैले मनपरी दोहन गर्ने हो भने यहाँ केही नबच्ने उहाँ बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीलाई घटनाका बारेमा जानकारी लिन खोज्दा बोल्न चाहनुभएन । मौखिक रुपमा ढुंगा उत्खनन् भएको बारेमा जानकारी आएको भएपनि यस बारेमा आफु अनभिज्ञ रहेको भन्दै पन्छिन खोज्नु भयो । घटनाका बारेमा धारणा राख्दा आफुमाथि दवाव आउने भन्दै ‘उहाँले हाललाई के नबोलौँ, यो काम पालिकाको हो, सबै कुरा उतैबाट हुन्छ, हामीले यसमा केही गर्न मिल्दैन’ भन्दै प्रतिक्रिया दिनुभएन ।’ केही महिना अघि मात्रै प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी नदीजन्य पदार्थ उत्खनन्को विषयलाई लिएर विवादमा आएपछि हालका प्रहरी प्रमुख केसी झस्किनु भएको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि, अमुक समुहले प्रहरी, प्रशासनको नजिकै यस प्रकारको आँट गरेर करोडौँ मुल्यको ढुंगा उत्खनन् गर्नुले आशंका भने उब्जाएको छ ।

बाम्ला खोलामा तलसम्म विभिन्न स्थानमा खोला नै भासिने गरी ढुंगा उत्खनन् भएका देखिन्छन् । घोराही १८ मसिनाका श्रीधर कवँरले पनि बाम्ला खोलाबाट ठूलो परिमाणमा ढुंगा उत्खनन् गरी अन्यत्र लगेको भेटिएको छ । उहाँले वडा प्रहरी कार्यालयसँग समन्वय गरेर काम गरेको बताएको उपप्रमुख डिसीको भनाई छ । बुधबार दिउँसो घटनास्थल पुगेको पालिकाको टोलीले उत्खनन् रोक्न र त्यहाँ रहेको मेसीन, टिपर, स्काभेटरलाई नचलाउन निर्देशन दिएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img