spot_img
spot_img

चोरीमा बालबालिकाको संलग्नता बढ्दो

छबि पुरी राप्ती पोष्ट

घोराही, ९ असोज । दैनिक जसो बालबालिकाहरु अपराध कर्ममा संलग्न भएको अभियोगमा प्रहरी नियन्त्रणमा पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय परिसरमा पुग्ने हो भने हरेक दिन बालवालिकाहरु चोरीमा संलग्न भएर पक्राउ परेको देखिन्छ । जिल्लाका ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयमा पनि अवस्था उस्तै छ । उनीहरु चोरीलगायत अरु थुप्रै अभियोगमा पक्राउ परेर ल्याईएका हुन्छन् ।

जिल्लामा वर्षेनी बालबालिकाहरु चोरीलगायत अरु थुप्रै अपराध कर्ममा संलग्न हुने क्रम बढ्दै गएको छ । उनीहरु स–साना चोरीदेखि ठूलाठूला चोरीको घटनामा समेत संलग्न हुने गरेको भेटिएपछि प्रहरीलाई पनि हैरानी बढेको छ । लाखौ नगद, धेरै तोला सुन र पसलका ढोका फुटाएर चोरी भएका घटनामा ९ देखि १५ बर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको छ । बजारमा कुनै ठाउँमा चोरी भयो भने पहिला ती पक्राउ परेका बालबालिकाहरु कहाँ छन् भनेर खोज्नु पर्ने अवस्था रहेको प्रहरीको भनाई छ ।

अभिभावक गुमाएका, परिवारमा उचित रेखदेख नभएका, कुलतमा फसेका, साथीभाइको गलत संगतमा लागेकाहरु धेरै जसो चोरीलगायत अपराध कर्ममा फसेको प्रहरीको भनाई छ । उनीहरु पटक पटक यस प्रकारका घटनामा पक्राउ पर्ने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ । जिल्लामा पछिल्लो ४ वर्षमा चोरी सम्बन्धी ३ सय बढी उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमा अधिकांश चोरीका घटना बालबालिकासँग सम्बिन्धत रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मल्लका अनुसार बालबालिकाहरु चोरी गर्न पल्कनुमा आफै बुद्धी नपुगेर वा अरुले उक्साएर लगाएको देखिन्छ ।

उहाँका अनुसार, आर्थिक वर्ष २०७६–०७७ मा चोरी सम्बन्धी ४० वटा, आर्थिक वर्ष २०७७–०७८ मा ५१ वटा, आर्थिक वर्ष २०७८–०७९ मा ८५ वटा र आर्थिक वर्ष २०७९–०८० मा १ सय ३८ वटा गरी चार आर्थिक वर्ष तीन सय १४ वटा चोरीसँग सम्बन्धित घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षेनी चोरीका घटना बढ्दै जानु, त्यसमा बालबालिकाको संलग्नता सबैभन्दा धेरै देखिनु अत्यन्तै डरलाग्दो स्थिती रहेको प्रहरी नायव उपरीक्षक मल्लको भनाई छ ।
पसलको ढोका फोडेर चोरी गरेको आरोपमा प्राय जसो प्रहरीले बालकहरुलाई पक्रने गरेको छ । यसरी पक्राउ पर्नेमा १० देखि १५ वर्षका बालकहरु हुने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेर ल्याईने गरेकाहरुबाट नगद, ल्यापटप, घडी, मोबाइल जस्ता प्रयोगका वस्तुहरु हुने गरेका छन् । उनीहरुले नगद रकम प्राय कपडा किन्नमा, खानमा खर्चने गरेको पाईएको प्रहरीको भनाई छ ।

सामानसहित बरामद गरिएका तिनीहरुमध्ये धेरैले गरिबीको कारण चोरीमा संलग्न भएको बयान प्रहरीलाई दिने गरेका छन् । धेरैको बाबुआमा नहुने, आमाबुवा भएकाहरु पनि श्रम गर्न अन्यत्र गएकोले दुःख पाएपछि चोरी गर्न लागेको बताउने गरेका प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । ‘कतिपय बालबालिकाहरुको बाबुआमा ज्यालामजदूरी गर्ने र खानसमेत नपुग्ने भएकाले चोरीमा लागेको बताउँछन्’, उहाँले भन्नुभयो ‘केही त घरपरिवारबाट उचित रेखदेख नपाएका, साथीभाइको गलत संगतले लहैलहैमा लागेर अपराध कर्ममा लागेको पाईएको छ ।’

जिल्लाको बजार क्षेत्रमा यो समस्या अझ धेरै रहेको छ । प्राय जसो बजार क्षेत्रमा बालबालिकाहरुले चोरी गर्न सजिलो हुने भएपछि यस प्रकारका काम गर्ने गरेको प्रहरी अध्ययनले बताउँछ । बजारको विभिन्न पसलबाट पैसादेखि फलफूलसमेत चोरेको आरोपमा प्रहरीले केही दिनअघि बालकहलाई नियन्त्रणमा लिएर केरकार गर्दा चोरेको ठहरे । तर उनीहरुसँग चोरेको केही प्रमाण भेटिएन । कारण, उनीहरुले चोरेको पैसाले खाने, कपडा किन्नेमा सकाए ।

केही ठाउँमा भने ठूला उमेरमा चोरले बालकहरुलाई प्रयोग गरेर चोर्न लगाउने गरेको पनि पाईएको छ । उनीहरुमध्ये कतिपयलाई ठूलो उमेरसमुहका चोरहरुले चोर्न खटाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । चोरेर ल्याएको ठूलो अंश आफुले लिने र बालबालिकालाई दिएर थप चोर्न उक्साउने गरेको पनि खुलेको छ । साइबरमा खेल खेल्न, राम्रो कपडा लगाउन, मिठो खान, मोबाइल, ट्यावलेट बोकेर हिड्न पनि चोरीमा बालबालिका पल्किएको अनुसन्धानले देखाउँछ । आरोपित बालबालिकाहरुमध्ये कतिपयलाई कार्वाही गरिएको छ । कतिपयलाई अभिभावकसहित चोरी गर्नु अपराध हो भन्ने परामर्श गरेर पठाएको प्रहरीले जनाएको छ । अपराध गरेको प्रमाणित भएपनि बालबालिकाहरुलाई थुनामा राख्न नमिल्ने हुँदा पनि उनीहरु पटक पटक यस प्रकारको घटना रोक्न चुनौति भएको प्रहरीको भनाई छ ।

‘उमेर नपुगेका बालक चोरीमा संलग्न भएको पाएपछि पक्राउ गरेर ल्यायो, अभिभावक बोलायो, कतिका अभिभावक आउनुहुन्छ । कतिपयको अभिभावक पनि नभएको अवस्था हुन्छ,’ उहाँले भन्नुभयो, ’पक्राउ गर्यो, बालबालिका भएकै कारण अदालतले पनि पछि छाडिदिन्छ, अनि पुनः चोरी शुरू गर्छन्, यसले निकै समस्या थपेको छ ।’ बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा जोड दिँदै प्रवक्ता मल्लले बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नाको विकल्प नभएको बताउनुहुन्छ ।

उसो त, बालक जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध तथा चोरीका घटनामा संलग्नता बढ्दै गएको पाइएको हो । आपराधिक कार्यमा बालबालिकाका संलग्नता बढ्नु चिन्ताको विषय भएको बालअधिकारकर्मीहरु बताउँछन् । बालबालिका संसारको जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकताहरू माया, ममता, संरक्षण, स्वस्थ वातावरण, उचित पोषण, शिक्षा र विकासका अवसर पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बालअधिकारकर्मी विकिरण गौतम बताउनुहुन्छ । उहाँले बालबालिकाहरुका लागि बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार उत्तिकै भएपनि सरोकार निकायको ध्यान पुग्न नसक्दा बालबालिकाहरु कालान्तरमा गलत बाटोमा लाग्ने अवस्था आउने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बालअधिकार महासन्धिले गर्भदेखि १८ वर्षसम्मका बालबालिकाको अधिकार मानेको छ । जसमा उनीहरुको बाँच्न पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार, जन्मेपछि जन्मदर्ता, स्तनपान, नियमित स्वास्थ्य परीक्षण, उमेरअनुसारको सुरक्षित पौष्टिक आहार, सुरक्षित पानी, खोप तथा प्राथमिक उपचारलगायतका दीर्घ जीवन तथा सर्वोत्तम हितको सिद्धान्तमा रहेर अभिभावकले बाँच्नको लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्दछ ।’ यसैगरी, संरक्षणको अधिकारमा गर्भदेखि गर्भवतीलाई तनावमुक्त वातावरण, गर्भ तुहिनबाट संरक्षण तथा जन्मपश्चात् पनि बढ्दो उमेर क्रमअनुसार भेदभाव, शोषण, हिंसा, दुव्र्यवहार, अपहेलना, बालश्रम, उत्पीडन, ओेसारपसार तथा बेचबिखन, बुबाआमाबाट अलग्गिनु पर्नेलगायतका जोखिमपूर्ण स्थितिबाट सुरक्षित हुन पाउनुपर्ने उहाँ बताउनुहुन्छ । विकासको अधिकारमा शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासको अवसरहरू जस्तै खेल, अन्तरक्रिया, खोज, अनुभव, अनुसन्धान गर्न दिनु अभिभावकको जिम्मेवारी रहेको र सहभागिताको अधिकारमा ामाजिक कार्यक्रम, चाडबाड तथा जमघटमा सहभागी गराएर, कुराकानी, निर्णय लिने कार्यहरूमा सहभागी गराएर गर्न सकिनेमा उहाँको धारणा छ ।
तर, यी यावत कुरामा बालबालिकाहरु वन्चित हुँदा उनीहरु सानै उमेरमा गलत बाटोमा लाग्न बाध्य हुने र भविष्य अन्धकारमा पुग्ने अवस्था बढ्दै गएको अध्ययनले देखाएको छ । यसतर्फ अभिभावक, परिवार, समाज, राज्यका सरोकार निकाय, बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको बालअधिकारकर्मीको भनाई छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img