spot_img
Home Blog Page 24

वैदेशिक रोजगारीमा ठगीे, पीडितको उठीबास

छबि पुरी/राप्ती पोष्ट

घोराही, जेठ । राम्रो पारिश्रमिक पाईने आश्वासनमा दलाल तथा तेस्रो व्यक्तिलाई विश्वास गरेर मोटो रकम बुझाएर विदेश जान खोज्दा दाङमा ठगिनेहरुको संख्या बढ्दै गएको छ । सकेसम्म स्वदेशमै बसेर आयआर्जनमा आवद्ध हुन नभए सीप सिकेर भरपर्दो माध्यमबाट श्रम स्वीकृति लिएर सरकारको अनुमतिमा मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरिरहँदा पनि दलालको भरपर्दा ठगिनेहरु बढ्दै गएका छन् ।

जिल्लाको विभिन्न स्थानबाट पछिल्लो समय ठगीका उजुरी पर्न थालेपछि दलालले लाखौँ रकम ठगी गरेको तथ्य बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार दाङमा साउनदेखि जेठ १३ गतेसम्म २ सय १९ जना ठगीमा परेको भन्दै एक सय २७ वटा उजुरी परेको छ । राम्रो आम्दानी हुने देश पठाउने आश्वासनमात्रै नभएर विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगीमा परेको उजुरी समेत प्रशासनमा आउने गरेको छ ।

जापान पठाउने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा उठाउन लगाएर आफुसँग नौ लाख ५० हजार ठगी गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँका सन्तोष वाइवा तामाङले हाल जापानमा रहनुभएकी घोराही १५ की लक्ष्मी डिसी (पुजा डिसी) को नाममा २०८१ वैशाख २ गते उजुरी दिनुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारका नहकुल बिकले पनि सोही आरोपी लक्ष्मी डिसी (पुजा डिसी) ले १४ लाख ५० हजार ठगी गरेको भन्दै प्रशासनमा उजुरी दिनुभएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका राजकुमार चौधरीले आफुलाई युएई पठाई दिने आश्वासन दिएर महेन्द्रनगरका शोभाराम वलीले दुई लाख २० हजार ठगी गरेको भन्दै गत बैशाख १० गते उजुरी दिनुभएको छ ।

क्यानडा पठाउँछु भन्दै रकम ठगी गरेको भन्दै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अशोक भण्डारीविरुद्ध पाँचवटा उजुरी परेको छ । २०८१ वैशाख १८ गते घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघाका मोतीलाल घर्तीको तीन लाख ७५ हजार, सोही ठाउँका घोराही–१९ तोषका प्रेमबहादुर घर्तीको चार लाख ९७ हजार, घोराही उपमहानगरपालिका वडा नम्बर ७ शुक्रवारका बलबहादुर चौधरीको चार लाख ७४ हजार, सोही ठाउँका बिजुलीप्रसाद चौधरीको चार लाख ७४ हजार, र घोराही उपमहानगरपालिका वडा नम्बर १४ जनज्योति टोलका श्रीधर डिसीको पनि चार लाख ७४ हजार ठगी गरेको उजुरी प्रशासनमा परेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गिधनियाका मेहरमान वली, सोही ठाउँका राजेश चौधरी र मिलन चौधरीको जनही एक–एक लाख, लमही नगरपालिका वडा नम्बर ९ का दशीराम चौधरीको १ लाख, लमही नगरपालिका वडा नम्बर ९ पैतेका मिलन चौधरीको ९० हजार र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ गिधनियाका सन्तोष चौधरीको २५ हजार रकम लिएर सर्बिया पठाई दिने भन्दै ठगी गरेको आरोपमा ६ जनाले २०८१ वैशाख २७ गते राप्ती सोनारी गाउँपालिकाका एमनारायण चौधरीको नाममा उजुरी हालेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ लुहाडबराका जलोन्धर डाँगीले जापान पठाई दिन्छु भन्दै तुलसीपुर ११ उरहरीका बिमल नेपालीलाई १२ लाख ५० हजार ठगी गरेको भन्दै २०८० माघ १० गते उजुरी दिनुभएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गतेसम्म दाङमा २ सय १९ जना ठगीमा परेको भन्दै एक सय २७ वटा उजुरी परेको छ । वैदेशिक रोजगारका लागि जानेभन्दै दलालबाट ठगिएकाहरुले जिल्ला प्रशासनमा दिएको उजुरी अनुसार, अहिलेसम्म छ करोड ८२ लाख चार हजार तीन सय ५० रुपैयाँ ठगिएका छन् । ठगीमा पर्नेहरु आकर्षक तलब र काम पाईने लोभमा परेर दलालको भर पर्दा ठूलो रकम ठगीमा परेका हुन् । माल्टा, क्यानाडा, फ्रान्स, अमेरिका, पोल्याण्ड जस्ता देशहरुमा आकर्षक तलब र काम दिलाई दिनेभन्दै लाखौँ रकम असुली गरेर अन्तिममा दलाल सम्पर्क बिहीन भएपछि बल्ल पीडितहरु न्यायका लागि प्रहरी प्रशासनमा आउने गरेका सुरक्षित आप्रवासन सामी कार्यक्रम घोराहीकी सहजकर्ता रीता लामा बताउनुहुन्छ । ऋण लिएर दलाललाई बुझाएको रकम फिर्ता पाउनुपर्ने, दलाललाई कारवाही हुनुपर्ने माग गर्दै उजुरी दिन आउने गरेका लामाले बताउनुभयो ।

सामी कार्यक्रमकी सूचना तथा परामर्शकर्ता लामाले श्रम स्वीकृति नगर्दा, पैसा बुझाएको प्रमाण नराख्दा, नेपालको नभई भारत तथा अन्य देशको विमानस्थल प्रयोग गरी जाँदा, एजेन्टलाई शुरुमै राहदानी र पैसा बुझाउँदा, जाने देशको नियम र धर्म संस्कृति नबुझ्दा तथा सीप नसिकेर जाँदा धेरैजसो ठगिने तथा समस्यामा पर्ने गरेको बताउनुहुन्छ । ‘सामी कार्यक्रममार्फत गाउँबस्तीमा वैदेशिक रोजागारीका बारेमा सचेतना फैलाउने काम गर्दै आएपनि युवाहरु दलालकै भर पर्न खोज्दा समस्यामापर्ने गरेका छन्, प्रलोभनमा परेर मोटो रकम बुझाउने अनि पछि ठगिएको यकिन भएपछि मात्रै उजुरी दिन आउनेहरु धेरै छन्’ उहाँले भन्नुभयो ‘सरकारले दिएको सेवा सुविधाका बारेमा बेवास्ता गर्दा पनि समस्या थपिने गरेको छ ।’

दलालको भर परेर वा नबुझी विदेश जाँदा खाडी मुलुकमा दुई लाखसम्म, क्रोएसिया, पोल्याण्ड, माल्टाजस्ता युरोपियन देश जाने खोज्नेहरु १० लाखसम्म र अमेरिका जाने खोज्नेहरु ५० लाख रुपैयाँसम्ममा ठगिने गरेको उजुरीले देखाएको जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा चुडामणि भण्डारीले जानकारी दिनुभयो । विभागले दिएको अख्तियारी अनुसार, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वैदेशिक रोजगारीका नाममा परेका ठगीका उजुरी उपर काम कारवाही भईरहेको उहाँले बताउनुभयो । ‘विभागले पठाएको कार्य क्षेत्रभन्दा बाहिरका उजुरी भए प्रहरीको सहयोगमा पीडकलाई उपस्थित गराउन लगाउनेसम्मका काम हुन्छ । पीडितले दिएको जाहेरीमाथि दुवै पक्षलाई एकै ठाउँमा राखेर समस्याको निकास खोज्ने काम हुँदै आएको छ,’ नासु भण्डारीले भन्नुभयो ‘यो वर्षको हालसम्म २० वटा उजुरीको समस्या समाधान गरेको छ । आठ वटा उजुरीको विवरण विभागमा पठाएको छ । ६८ उजुरीमा प्रहरीको सहयोग लिइको छ ।’ जिल्ला प्रशासन कार्यालयले हालसम्म २१ जनाको ६० लाख ५९ हजार रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको छ ।

साउनयता कुन महिनामा कति ठगिए ?

वैदेशिक रोजगारीका नाममा साउन महिनामा २५ जना पीडितका १४ उजुरी पर्दा १ करोड १६ लाख ७१ हजार तीन सय ५० रुपैयाँ ठगी भएको उल्लेख छ । भदौ महिनामा १३ जना पीडितको ११ उजुरीमा २२ लाख ९५ हजार ठगी भएको उल्लेख छ । असोजमा २४ जना पीडितको १२ उजुरी पर्दा ४४ लाख ७० हजार ठगी भएको उल्लेख छ । कार्तिक महिनामा १५ जना पीडितले ९ वटा उजुरी दिँदा ४९ लाख ६४ हजार ठगीमा परेका उल्लेख छ । मंसिर महिनामा ३९ जना पीडितले १५ वटा उजुरी दिँदा १ करोड २३ लाख ६६ हजार ठगीमा परेको उजुरी दिएका छन् । पुस महिनामा परेका १२ जना पीडितले नौ वटा उजुरी दिँदा ४२ लाख २३ हजार रुपैयाँ ठगी भएको उल्लेख गरेका छन् ।

माघ महिनामा जसमा १८ जना पीडितले १४ वटा वैदेशिक रोजगारसम्बन्धी उजुरी दिँदा ७२ लाख ७ हजार रुपैयाँ ठगीमा परेको निवेदन दिएका छन् । फागुन महिनामा १५ जना पीडितले ११ वटा वैदेशिक रोजगारसम्बन्धी उजुरी दिँदा ५९ लाख ५३ हजार रुपैयाँ ठगी भएको निवेदन दिएका छन् । चैत महिनामा १५ जना पीडितले ११ वटा उजुरी दिँदा ४२ लाख ५० हजार पाँच सय रुपैयाँ ठगीमा परेको दाबी गरेका छन् । २०८१ वैशाख महिनामा २८ जना पीडितले १४ वटा उजुरी दिँदा ६२ लाख ८४ हजार पाँच सय रुपैयाँ ठगी भएको दाबी गरेका छन् । यसैगरी, जेठ १३ गते आईतबारसम्म १५ पीडितले सात वटा वैदेशिक रोजगार सम्बन्धी उजुरी दिँदा ४५ लाख १० हजार रुपैयाँ ठगी भएको दाबी गरेका छन् ।

वैदेशिक रोजगार ऐनमा के छ व्यवस्था ?

वैदेशिक रोजगार ऐन २०६४ ले इजाजतवालाले कसैलाई रोजगारीमा लगाइदिन्छु भनी झुटो आश्वासन दिई वैदेशिक रोजगारमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश नपठाएमा ३ देखि ७ वर्षसम्म कैद र ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा इजाजतवालाको इजाजत रद्द हुने व्यवस्था गरेको छ ।

ऐनले लिएको रकमको ५० प्रतिशत हर्जाना पीडितलाई भराइदिने र कामदार विदेश गएको भए विदेश आउँदा जाँदाको खर्च भराइदिने ब्यवस्था छ । कानुनी व्यवस्था भए पनि प्रमाणको अभावमा पीडितले न्याय नपाउने गरेको गुनासो सरोकारवालाको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारको नाममा ठगीमा परेकाहरुको उजुरीको लागि मेलमिलाप तथा सिफारिस गर्ने कार्यविधि–२०८० जारी गरेको छ । जुन कार्यविधिले वैदेशिक रोजगारको व्यक्तिगत ठगीको उजुरीलाई जिल्ला प्रशासन कार्यालयले दर्ता गर्ने र मेलमिलापको माध्यमबाट समाधान गर्ने तथा मेलमिलाप हुन नसकेका उजुरी वैदेशिक रोजगार विभागमा सिफारिस गर्ने भनेको छ ।

मन्त्रालयले जारी गरेको कार्यविधिकै आधारमा जिल्ला प्रशासन कार्यालय दाङले आर्थिक वर्ष २०८०–०८१ को साउन १ गतेदेखि वैदेशिक रोजगारको उजुरीलाई कार्यालय मै छलफल चलाउने र समाधानको काम गर्दै आएको छ । प्रशासनको मुद्दा शाखाले अहिले ठगीका उजुरी संकलन गर्ने र त्यसलाई छलफलको माध्यमबाट समाधान गर्ने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

ठगीमा परेको वा दलालले समस्यामा पारेका लगायतका उजुरी परेको आधारमा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम २ ले दिएको अधिकार प्रयोग गरी जारी कार्यविधिमा रहेर कार्य सम्पादन अघि बढाएको उहाँको भनाई छ । जिल्ला प्रशासनमा हाल वैदेशिक रोजगारको नाममा भएका व्यक्तिगत ठगीका उजुरी मात्र लिने गरिएको र संस्थागत उजुरी वैदेशिक रोजगार विभागमा पठाउँदै आएको बताउनुभयो । सामी कार्यक्रमले पनि वैदेशिक रोजगारसम्बन्धी सूचना, न्यायमा पहुँच, सीपयुक्त तालिम प्रदान, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्दै आईरहेको छ ।

‘इच्छुक’ निर्भिक, निडर र अडिग योद्धा

कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवस

राप्ती पोष्ट

घोराही, जेठ । नेपालको प्रगतिवादी साहित्याकाशमा बेग्लै पहिचान बनाउनुभएका सहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवस आइतबार मनाइएको छ । २०५९ साल जेठ १३ गतेका दिन प्रहरीको हिरासतमा उहाँको ज्यान गएको थियो । व्यवस्था विरुद्ध लागेको अभियोगमा पक्राउ गरेपछि उहाँलाई आत्म समर्पण गर्न दवाव दिइयो । तर इच्छुकले तत्कालिन सत्तासंग सँझौता गर्नुभएन । आफ्नो अडान छोड्नु भएन । बरु मृत्यु रोज्नुभयो । पंचायतकाल र बहुदलकालमा पटक पटक गरेर १० बर्ष जति जेल जिवन विताउनुभएका इच्छुकलार्य २०५९ जेठ ६ गतेका दिन काठमाडौंबाट पक्राउ गरिएको थियो । साहित्यीक सहिदका रुपमा नेपालका प्रगतिवादी साहित्यकारहरुले इच्छुकलाई सँझने गरेका छन् ।
सोही क्रममा नेपाल पत्रकार महासंघ दाङ र प्रेस सेन्टर दाङले सँयुक्त रुपमा कार्यक्रम आयोजना गरेर इच्छुकको सँझना गरे । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले इच्छुकको सँझना गर्दै भन्नुभयो ।‘विचारमा अडिग भएका कारणले गर्दा नै कृष्ण सेन मारिनुभएको हो ।’
कृष्ण सेनले तत्कालिन सत्तासंग सँझौता गर्न नचाहेको भन्दै शर्माले नेपालमा सवै साहित्यकारहरुले सेनले जस्तो त्याग र बलिदानी दिन नसक्ने बताउनुभयो । उहाँले सेन लगायतका योद्धाहरुकै योगदानका कारणले नेपालमा गणतन्त्र आएको चर्चा गर्दै गणतन्त्र सहि तरिकाले नचलेकोमा दुःखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘हाम्रो विवेक खुलेको छैन, संसद बुद्धिजिवीहरुको थलो हो कि लडाइ गर्ने थलो हो ।’

राजनीतिक दलहरुले अति दलिय सोच राख्ने गरेका कारणले समस्या भइरहेको उहाँको कथन थियो । पुरानो सत्रुता राखेर राजनीतिक दलहरु कहिं पुग्न सक्दैनन् त्यसैले सत्रुता त्यागेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो । राजनीति नसुध्रिएका कारणले गर्दा नेपालीहरु झनपछि झन भिकारी बन्दै गएको उहाँको भनाई थियो । आपसमा मिलेर देश बनाउन राजनीतिक दललाई उहाँले सुझाव दिनुभयो । समझदारीको विकास गरेर अघि बढ्नुपर्ने अवस्था आएको धारणा उहाँको थियो ।

कार्यक्रममा कृष्ण सेन इच्छुकका बारेमा बोल्दै समकक्षी डिल्लीराज अधिकारीले सेनले राजनीति, पत्रकारिता र साहित्यका माध्यमबाट योगदान पु¥याएको बताउनुभयो । विद्यार्थी राजनीति गर्दादेखि जेल जीवन र पत्रकारिताको क्रममा भोगेका पीडाका बारेमा अधिकारीले फेरहिस्त राख्नुभएको थियो । उहाँले इच्छुक जस्तो व्यक्तित्व, जस्तो विचार त्यस्तै व्यवहार गर्न सक्ने व्यक्ति भएको चर्चा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले कृष्ण सेनले पु¥याएको योगदानको चर्चा गरेका थिए । सेनको हत्या गर्नेहरुलाई कारवाही नगरिनु गल्ती भएको भन्दै हिरासतमा रहेको व्यक्तिको मृत्यु हुँदा आवश्यक अनुसन्धान नगरिएको गुनासो बक्ताहरुको थियो ।

इच्छुकले बोकेको विचारले सफलता पाएको भएपनि इच्छुकले नागरिकका लागि देखेको सपना पुरा नभएको धारणा बक्ताहरुको थियो । गणतन्त्र आएपनि नेपाली नागरिकको अवस्थामा सुधार हुन नसकेको गुनासो गर्दैै बक्ताहरुले व्यवस्था परिवर्तन गर्ने राजनीतिक दलहरुले जनताको अवस्था परिवर्तनमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष अजयदिप शर्मा, प्रेस युनियन लुम्विनी प्रदेसका अध्यक्ष सुदीप गौतम, प्रेस सेन्टरकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, माओवादी केन्द्रकी केन्द्रीय सदस्य भिमकुमारी बुढा, माओवादी केन्द्र लुम्विनीका उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर)ले बोल्नुभएको थियो ।

यसैगरी प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सदस्य रामप्रसाद जैशी, प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टर लुम्विनी प्रदेशका उपाध्यक्ष प्रकाश चौधरी, लुम्विनी प्रदेश प्रेस सेन्टरका महासचिव भुपेन्द्रप्रकास वली, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा लगायतले बोल्नुभएको थियो ।

सात जनालाई पुरस्कार

सोही अवसरमा नेपाल पत्रकार महासंघ र प्रेस सेन्टरमा स्थापित विभिन्न पुरस्कार प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ दाङमा स्थापित कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार पत्रकार भुपेन्द्र प्रकाश वलीलाई प्रदान गरिएको थियो ।
यसैगरी सेन्टरमा स्थापित इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकारहरु पुरन शर्मा र डिल्ली मल्ललाई प्रदान गरिएको थियो । लोका कुमारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिवु खनाल र गिरीराज नेपालीलाई प्रदान गरिएको यिो । सेन्टरले हरेक बर्ष प्रदान गर्दै आइरहेको सक्रृय पत्रकारिता पुरस्कार सृजना विश्वकर्मा र सुमन केसीलाई प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गर्नुभएको थियो ।

राप्तीमा प्रतियोगितात्मक कार्यक्रम

उता राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले शहिद कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवस मनाएको छ । मञ्चले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्पण गरी तथा राप्ती गाउँपालिकाको सभाहलमा कृष्णसेनको विषयमा वक्तृत्वकला, निबन्ध प्रतियोगिता र अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सेनले देखाएको बाटोमा हिड्न सुझाव दिनुभयो । सेनले जस्तै राष्ट्रका लागि जस्तोसुकै अवस्थामा पनि पत्रकारहरूले कलम चलाउन डराउन नहुने धारणा विष्टले राख्नुभयो ।

सो अवसरमा आधारभुत विद्यालय तर्फ नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा कृष्णसेन इच्छुकको योगदान विषयक वक्तृत्वकला प्रतियोगितामा लिटिल एन्जल्स स्कुल भालुवाङकी सुरक्षा गिरी प्रथम, गोरखा आइडियल स्कुल लालमटियाकी विज्ञमाया विक दोस्रो र शंकर माध्यमिक विद्यालय पिपरीकी सर्मिला पोख्रेलले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

त्यस्तै माध्यमिक तह तर्फ कृष्णसेन इच्छुक बहुआयामिक व्यक्तित्व विषय निबन्ध प्रतियोगितामा गोल्डेन फ्युचर इङ्लिस बोर्डिङ स्कुल बिजौरीका अनु चौधरी प्रथम, सिरिन भ्याली पब्लिक स्कुल मौरीघाटकी जेनिसा शाही दोस्रो र दिपज्योति सेकेण्डरी स्कुल सिसहनियाँकी गरिमा चौधरीले तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

विजेताहरूलाई नगद, शैक्षिक सामाग्री र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ कवि अहम्मद अब्दुल रहुफ, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी, राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली, पब्लिक एजुकेशन एकेडेमीका प्रिन्सिपल चम्पकराज कार्की लगायतका वक्ताहरूले बोल्नुभएको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो ।

प्रगतिवादी साहित्यकार ‘इच्छुक’ लाई सँझदा

 

शरद अधिकारी

कृष्ण सेन इच्छुक नेपालको पत्रकारिता र साहित्यमा पृथक पहिचान बनाएको नाम हो । लामो समय देखि परिवर्तनको पक्षमा लागिरहनुभएका इच्छुकको जन्म विक्रम सम्वत २०१३ सालमा भएको थियो । शुरुका दिनमा साहित्यका माध्यमबाट चेतनाको विगुल फुक्न शुरु गर्नुभएका इच्छुक विस्तारै पत्रकारितामा तानिनुभयो । राजनीतिक यात्रा त उहाँको पत्रकारिता भन्दा अघि देखि शुरु भइसकेको थियो । राजनीतिक रुपमा उहाँले जुन स्थान बनाउनुभएको थियो त्यो भन्दा राम्रो योगदान कलमका माध्यमबाट उहाँले दिइरहनुभएको थियो । इच्छुकले जुन लेखनी लेख्नुभयो । जुन विचार दिनुभयो । जुन विचारको पक्षमा निरन्तर लाग्नुभयो त्यसैको फलस्वरुप उहाँलाई हिरासतमै मारियो । इच्छुक एक निडर योद्धाको नाम हो । उहाँ शासकहरुसंग झुक्नु भएन । जेलसंग कहिल्यै डराउनुभएन । जेलसंग डराएको भए उहाँ परिवर्तनको पक्षमा निरन्तर लाग्नु हुँदैनथ्यो । उहाँले आफ्नो कर्मलाई निरन्तरता दिनु हुुन्नथ्यो । तर इच्छुकको कलम देखि शासकहरु डराए ।

साहित्यको शुरुवातका चरणमा उहाँले कलम साहित्यीक पत्रिकाको सम्पादकको जिम्मेवारी लिनुभएको थियो । त्यसपछि उहाँले जनादेश साप्ताहिकको सम्पादकको जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि इच्छुक जनदिशा दैनिकको पनि सम्पादकका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । इच्छुकसंग डराएका शासकहरुले पंचायतकालमा पनि जेलमा सडाए । बहुदलिय व्यवस्थाको आगमन पनि पटक पटक जेलमा हाल्ने काम गरियो । देश र जनताको पक्षमा कलमका माध्यमबाट संघर्ष गर्दा गर्दै कृष्ण सेनलाई २०५९ जेठ १३ गते प्रहरी हिरासतभित्रै हत्या गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र र कांग्रेस नेतृत्वको सरकारको योजनामा उहाँलाई महेन्द्र पुलिस क्लबभित्रै चर्को यातना दिएर हत्या गरिएको थियो । तत्कालिन शासकहरुले इच्छुकको भौतिक शरीरलाई ढालेर विचारको हत्या गर्ने योजना बनाएका थिए तर त्यो सफल भएन । विचारको हत्या गरेर शासन सत्तालाई जोगाउने सत्ताधारीको योजना सफल भएन । जसको उदाहरण भनेको नेपालमा गणतन्त्रको आगमन हो ।

कृष्ण सेनको भौतिक शरीर हामीबाट गुमेको भएपनि उहाँले छोडेर गएको विचार हाम्रो सामूमा जिवित जस्तै छ । उहाँलाई ०५९ जेठ ६ गते पक्राउ गरिएको थियो । करिव डेढ दशक देखि सक्रिय रुपमा पत्रकारिता गरिरहनुभएका सेनलाई पक्राउ गरेको घट्नाका बारेमा कुरा लुकाउन खोजिएको थियो । यद्दपि त्यो कुरा सार्वजनिक भयो । यस अघि पनि उहाँलाई पक्राउ गरिन्थ्यो । केही समय पनि परिस्थिती अनुरुप उहाँ छुट्नु हुन्थ्यो । तर २०५९ सालमा पक्राउ गरेपछि जेलमा राखिएन हिरासतमै राखियो । २०५९ सालमा पक्राउ गरिएपछि सवैभन्दा पहिले जनआस्था साप्ताहिकले हिरासत भित्रै हत्या गरेको भन्ने समाचार छापेको थियो ।

इच्छुकका बारेमा धेरै कुरा सानो बसाइमा सम्भव हुने कुरा होइन । इच्छुकलाई संझना गर्ने क्रममा केही कुरा सँझनामा आउँछन् । जव उहाँको हत्या गरियो २०५९ सालमा त्यसको अर्को बर्ष अर्थात २०६० साल देखि प्रगतिशील लेखक संघ नेपाल दाङले नियमित रुपमा उहाँलाई संझना गर्दै आइरहेको छ । उहाँलाई मरणोप्रान्त सम्मान गर्ने काम पनि प्रलेस दाङले गरेको छ । तर दुःखका साथ के कुरा भन्नुपर्छ भने हिजो संकटको समयमा प्रलेसले इच्छुकको संझना गर्र्दा आतंककारीको संझना गर्ने भनेर ओठ लेप्र्याउने कतिपय आज ठूला क्रान्तीकारी र इच्छुकको नजिकको मानिस भएका छन् । यस्तो देख्दा निकै दुःख लागेर आउँछ । इच्छुकले कहिल्यै विचारमा संझौता गर्नुभएन । कहिल्यै खराव प्रवृत्तिसंग झुक्नुभएन । उहाँले आत्मसमर्पण वा आन्दोलनमा गद्दारी गरेको भए आज हामीले उहाँलाई संझना गरिरहेका हुन्नथ्यौं । उहाँले गद्दारी नगरेर जसरी जनताको जीवनका लागि काम गर्ने दृढता देखाउनुभयो त्यसैकारणले गर्दा अजम्वरी जीवन प्राप्त गर्नुभयो । उहाँले गरेको कर्म र लेखनीकै कारणले गर्दा उहाँप्रति शव्दश्रद्धा व्यक्त गर्ने काम भइरहेको छ ।

कृष्णसेन दाङसंगै अत्यन्त नजिकको साइनो जोडिएको व्यक्ति हुनुहुन्थ्यो । इच्छुकको निधन भएको खवर सुन्दा शुरुमा त विश्वासै लागेन तर विश्वास गर्न कर लाग्यो । दाङको भालुवाङ घर भएपनि उहाँको जन्म भारतमा भएको थियो । भारतको देहरादुनमा लाहुरे जीवन बिताउनुभएका उहाँका बुबा यमबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गते त्यहि सेनको जन्म भयो । २०२८ सालदेखि कवितामार्फत साहित्य लेखनतर्फ प्रवेश गर्न भएका कृष्णसेन इच्छुकले सहिद मित्रमणि आचार्यको सम्झनामा दाङ जेल बसाइको क्रममा शोकाञ्जली लेख्नुभएको थियो । जुन २०४८ सालमा प्रकाशित भएको थियो । त्यसैगरी २०५६ सालमा इतिहासको यस घडीमा नामक कविता संग्रह प्रकाशित भएको थियो भने २०५८ सालमा बन्दी र चन्द्रागिरी नामक कविता संग्रह प्रकाशित भएको थियो । उहाँले लेखेका कतिपय कृतियहरु अहिले पनि अप्रकाशित रुपमा हुन सक्छन् । उहाँले लेख्नुभएका फुटकर रचनाहरु सयौं साहित्यिक पत्रिकाहरुमा प्रकाशन भएका छन् ।

इच्छुक तत्कालिन नेकपा माओवादीको क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रिय अध्यक्षका रुपमा हुनुहुन्थ्यो । त्यस्तै बामपन्थी साहित्यकारहरुको साझा थलोको रुपमा रहेको प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य हुनुुहुन्थ्यो । उहाँ मानव अधिकारवादी संस्था जनअधिकार सरोकार अभियानको केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद हुनुहुन्थ्यो । उहाँले पंचायतकालमा सात बर्षसम्म दाङ लगायतका जेलमा बस्नुभएको थियो । इच्छुक व्यक्ति मात्रै होइन संघर्षको प्रवृत्ति पनि हो । संघर्षबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता बोक्नुभएका इच्छुकले जुन आदर्श र मान्यता स्थापित गर्नुभयो । जे कुराका लागि लड्नुभयो । जुन अधिकारका लागि आवाज वुलन्द पार्नुभयो धेरै कुरा अहिले पनि अधुरा रहेका छन् । इच्छुकका अधुरा सपना पुरा गर्ने जिम्मेवारी बाँचेकाहरुको हो । इच्छुकको २२ औं स्मृति दिवसका सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली ।
sharadreetu@gmail.com

नेकपा एमाले दाङको नयाँ नेतृत्वले गर्नुपर्ने प्रतिवद्धताहरु

शरद अधिकारी

नेकपा एमालेको १४ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एकथरीले नयाँ नेतृत्वमा आउने व्यक्तिहरुले पार्टीलाई कसरी चलाउलान ? भनेर प्रश्न गरिहेका छन् । नयाँ नेतृत्वमा आउनेहरुले पार्टीलाई पहिलेको भन्दा राम्रो तरिकाले चलाउलान कि नचलाउलान ? जिल्लामा नयाँ नेतृत्व चयन गर्दा सर्वसम्मत गरिएको छ । निर्वाचनका माध्यमबाट नयाँ नेतृत्व चयन गर्ने कुरा स्वभाविक हो । तर कतिपय अवस्थामा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कुरा आवश्यकताको विषय बन्दछ । नेकपा एमाले दाङ जिल्लामा नयाँ नेतृत्व आएपछि के कस्ता काम गर्नुपर्छ ? भन्ने बारेमा धेरै बहस छलफल भएको पाइदैन । नेकपा एमाले दाङ जिल्ला कमिटीमा निर्वाचित वा मनोनित हुनेले निम्न बमोजिम काम गर्नु अनिवार्य देखिन्छ ।

१. नेकपा एमालेले संचालन गरेको मिसन–०८४ लाई सफल बनाउनका लागि सिंगो पार्टी पङ्तीलाई परिचालन गर्ने र नेकपा एमालेलाई दाङ जिल्लामा पहिलो पार्टी बनाउने । नेकपा एमालेले गठवन्धन हुँदा मात्रै निर्वाचन जितेको इतिहास बनेको छ । २०४८ मा शिवराज गौतम र २०५१ सालमा शंकर पोखरेलले जित्नु बाहेक एक्लै निर्वाचन जितेको अवस्था रहेको छैन । यसर्थ यो विषयमा नेतृत्वले गम्भिरता देखाउनुपर्छ । एमालेको मिसनलाई सफल बनाउने हो भने अहिलेबाटै ठोस योजना बनाएर काम गर्नुपर्छ । मिसन ०८४ का लागि के कस्ता काम गर्ने भन्ने बारेमा विज्ञहरुसंग समेत छलफल गरेर अघि बढ्नु बाञ्छनिय हुन्छ ।

२. नेपालको राजनीतिमा युवाहरुको आकर्षण देखिएको छैन । यसर्थ युवाहरुमा देखिएको निरासालाई चिर्दै हरेक क्षेत्रमा युवाहरुको सहभागिता बृद्धि गर्ने र युवाहरुको क्षमता बढाउनका लागि विशेष अभियान संचालन गर्ने । युवाहरुलाई राजनीतिक चेतना प्रदान गर्ने कुरा पार्टी नेतृत्वको सोचमा आएको देखिएको छैन । युवाहरुलाई राजनीतिक रुपमा सचेत बनाउने, युवाहरुलाई उद्दमी बनाउने, श्रमका कार्यक्रमहरु संचालन गर्ने, सिप प्रदान गर्नका लागि योजना बनाउने तर्फ ध्यान दिनुपर्छ ।

३. नेपालमा यतिवेला राजनीतिक दलप्रति वितृष्णा बढेको छ । युवाहरु पलायन भइरहेका छन् । नयाँको आकर्षण छैन । पुरानाले नेतृत्व छोड्दैनन् । पटक पटक राजनीतिक परिवर्तन हुँदा पनि जनताको अवस्था परिवर्तन हुन नसकेको कुरामा नागरिकको ठूलो गुनासो रहेको छ । राजनीतिक दलप्रति मानिसका अनेकन गुनासा र आलोचना बढेका छन् । राजनीतिक दलप्रति बढ्दै गरेको वितृष्णा कम गर्नका लागि वडातहबाट सचेतनाका विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्छ । राजनीति भनेको केहो ? राजनीति किन आवश्यक छ । हामीले अवलम्वन गरेको प्रणाली कस्तो हो ? यस्ता धेरै विषयमा जानकारी प्रदान गर्नका लागि विशेष कार्यक्रम संचालन गर्नुपर्छ ।

४. नेकपा एमाले यस्तो पार्टी हो जसले बृद्ध बृद्धाहरुको सम्मान गर्दै आएको छ । बृद्ध बृद्धाहरुको सम्मान गर्ने पार्टी भएकाले पार्टीमा योगदान गरेका अग्रजहरुको सम्मान गर्नुपर्छ । अग्रजहरुको योगदानकै कारणले गर्दा पार्टी बलियो अवस्थामा आइपुगेको हो । तर अग्रजहरुको सम्मान गर्ने, अग्रजहरुको कुरा सुन्ने, अग्रजको अनुभव र युवाको सक्रियतालाई संयोजन गरेर सवल पार्टी निर्माण गर्ने कुरामा नेतृत्वले ध्यान दिएको पाइदैन ।

५. पार्टी भित्र समय समयमा अनेकन खालका असन्तुष्टि देखिने गरेका छन् । नेकपा एमाले दाङ जिल्ला कमिर्टी र तल्ला कमिटीमा देखिने असन्तुष्टि सम्वोधन गर्नका लागि पहल गर्नु नेतृत्वको पहिलो कर्तव्य हो । राम्रो कुराको प्रचार बाहिर गर्ने र आलोचना गर्नु परेमा कमिटी पद्दतिमार्फत गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ । पार्टीमा आउनेहरुलाई स्वागत गर्ने तर यसरी आएकाहरुलाई जिम्मेवारी दिने सवालमा ठोस योजना बन्न नसकिरहेको अवस्था देखिन्छ । पार्टीमा कतिपयले जिम्मेवारी नपाएका कारणले, कतिपयले जिम्मेवारी पुरा गर्न नसकेका कारणले गर्दा समस्या भएको देखिन्छ ।

६. दाङ जिल्लामा समानुपातिक मतका हिसावले एमाले पहिलो पार्टी हो । वडागत रुपमा जितेको कुरा गर्ने हो भने पनि एमाले ठूलो पार्टी हो । तर जिल्लाको नेतृत्वमा महिला, थारु, दलित, मगर, मुस्लिम लगायतका समुदायको उपस्थिती बढाउनुपर्ने चुनौती रहेको छ । आम जन समुदायको बीचमा पार्टीलाई अझ बढी सशक्त रुपमा उपस्थित गराउँदै पछाडि पारिएकाहरुलाई मुल प्रवाहमा ल्याउनका लागि विशेष योजना निर्माण गर्नुपर्ने नेतृत्वको खाँचो रहेको छ ।

७. पार्टी निर्माण गर्नका लागि एक दुई जनाको मात्रै योगदान रहदैन । इतिहास निर्माण गर्ने योद्धाहरुको सँझना गर्नै पर्दछ । यसर्थ पार्टी निर्माणका लागि योगदान गरेका अमरयोद्धाहरुको यथार्थ वितवरण तयार पार्ने काम गर्नुपर्छ । यसपछि उहाँहरुको सँझनामा पार्टीका तर्फबाट छात्रवृत्तिका कार्यक्रम संचालन गनुैपर्छ । उत्कृष्ठ पार्टी सदस्यका सन्तानको पहिचान गरेर प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ । अमर योद्धाहरुको नामलाई साच्चिकै अमर बनाउनका लागि भूमिका कसरी खेल्ने भन्ने बारेमा व्यापक बहस छलफल गर्नुपर्छ ।

८. विकास निर्माण सवैको चासोको विषय हो । विकास निर्माणको विषयलाई व्यापक बहस सिर्जना गर्नुपर्छ भन्ने मान्यताका साथ स्थानीय सरकार र सामाजिक क्षेत्रमा कृयाशिल संघ संस्थासंग सहकार्य गरेर दिर्घकालिन योजना निर्माण गर्नुपर्छ । यसका लागि दाङ जिल्लाको विकास र समृद्धिका लागि विज्ञहरुसंग व्यापक छलफल गरी सरोकारवालाई निकायलाई दवाव तथा सुझाव दिन सकिन्छ ।

९. पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी बनाउनका लागि पार्टीका तर्फबाट थप सहजिकरण गर्ने साथै पार्टीको प्रतिनिधित्व नरहेको क्षेत्रमा पनि पार्टी कमिटीका तर्फबाट योजनाबद्ध रुपमा हस्तक्षेपकारी भूमिका खेल्ने ।
१०. सवैको गुनासो सुन्ने र ति गुनासो अनिवार्य रुपमा सम्वोधन गर्ने बातावरण तयार गर्ने, आवश्यक परेमा त्यसका लागि संयन्त्र बनाएर जाने । पार्टीलाई अघि बढाउनका लागि सार्वजनिक रुपमा सुझाव संकलन गर्ने । पार्टीमा गुनासो सुन्ने चलन छैन भन्दा पनि हुन्छ । पक्षको मात्रै होइन विपक्षिको कुरा पनि सुन्नुपर्छ । गुटमा रमाउने र गुटकै कुरा सुन्ने भन्दा सवैको कुरा सुन्ने, सवैको हितमा काम गर्नुपर्छ ।

११. कुनै पनि खालका निर्वाचनमा नातावादलाई भन्दा पार्टीमा लगानी लगाएका र क्षमतावानलाई प्राथमिकता दिने । पार्टीमा इमान्दारिताका साथ काम गर्नेहरुले अवसरको खोजी गर्दैनन् । आफ्नो लागि भन्न सक्दैनन् । सामुहिक हितका बारेमा जसले सोच्छ उसलाई प्राथमिकता दिनुपर्छ ।

१२. पार्टीमा कुनै पनि खालको गुटवन्दी सिर्जना हुन नदिने, क्षमताको सम्मान र क्षमताको पहिचान गरेर जिम्मेवारी प्रदान गर्ने । जनवर्गिय संगठनको परिचालनमा विशेष ध्यान दिने ।

१३. पार्टी सदस्य बन्ने अनि नविकरण नगर्ने चलन उहिल्यैको हो । यसर्थ पुराना तर नविकरण गर्न छोडेकाहरुलाई नविकरणका लागि उत्प्रेरित गर्ने । हरेक बर्ष कम्तिमा एक हजार पार्टी सदस्य थप्ने योजना ल्याउने । पुरानाको निरन्तरताका लागि पहल गर्ने ।
१४. पार्टीमा नियमित रुपमा बैचारिक तथा सांगठनिक प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्ने । यस्ता कार्यक्रम वडातहमा लैजाने । कतिपय अवस्थामा यस्ता कार्यक्रमहरु टोल तहमा लैजान सकिन्छ ।
१५. दिवंगत भइसक्नु भएका अमरयोद्धाहरुको सम्मानमा नियमित रुपमा कार्यक्रम गर्नका लागि बार्षिक क्यालेण्डर निर्माण गर्ने साथै अमर योद्धा विषेशांकको दोस्रो संस्करण परिमार्जन सहित प्रकाशन गर्ने ।
१६. पार्टीका सवै जन बर्गिय संगठनको गठन÷पुनःगठन गर्ने । सवैलाई सक्रिय बनाउने, नियमित बैठक बसाल्ने । गतिविधिका लागि प्रोत्साहित गर्ने । जनवर्गिय संगठनको परिचालन गर्ने कुरालाई पार्टीले विशेष रुपमा योजना बनाउनुपर्छ । जनसंगठनको परिचालनको कामलाई महत्व दिएको देखिदैन ।

१७. दाङ जिल्लाको विकासका लागि पहिलो शर्त भनेको कृषि क्षेत्रको विकास हो । यसर्थ कृषि क्षेत्रको विकासका लागि पार्टीका तर्फबाट व्यापक रुपमा लविङ गर्ने र बढी भन्दा बढी किसानलाई पार्टीमा संगठित गर्ने । किसानका मुद्धालाई जुरुक्कै बोक्ने । किसानले पाएको दुःखका बारेमा छलफल गर्ने, समाधानका लागि उपाय निकाल्ने । दाङ जिल्लामा खेतीयोग्य जमिन जति पनि छ । पार्टी कमिटीले योजना बनाएर महिनामा एक दिन श्रम गर्ने कुरालाई अनिवार्य बनाउने ।

१८. निर्वाचनको समयमा मात्रै पार्टी सदस्यहरुको खोजी गर्ने प्रवृत्तिको अन्त्य गर्दै हरेक पार्टी सदस्यलाई सम्मान गर्दै विज्ञता अनुसार जिम्मेवारी दिएर पार्टी काममा सक्रिय बनाउने । निर्वाचनको समयमा मात्रै होइन कि अन्य समयमा पनि पार्टीको सम्पर्कमा ल्याउने ।

१९. पार्टीको बैठक विधान बमोजिम नियमित रुपमा बस्ने व्यवस्था मिलाउने, सवैको कुरा सुन्ने र सुझाव लिने बातावरण बनाउने, जनसंगठनका बैठकलाई पनि नियमित रुपमा बसाल्ने । कुनै कमिटीको बैठक छ महिनासम्म पनि बसेन भने त्यसलाई विशेष रुपमा ध्यान दिने । अधिवेशन गरेर जाने कि ? संयोजक बदल्ने कि ? कसरी अघि बढ्ने हो भन्ने बारेमा योजना बनाउने ।

२०. नीतिगत रुपमा निर्णय गर्ने र व्यवहारिक रुपमा कार्यान्वयन गर्ने कुरालाई कडाइका साथ पालना गर्ने । नीतिगत रुपमा व्यापक रुपमा छलफल गर्ने । जिल्ला कमिटीमा व्यापक छलफल गर्ने । जिल्ला कमिटीमा छलफल गरेपछि त्यसलाई कार्यक्रमका रुपमा अघि बढाउने । पहिले कमिटीमा आलोचना आत्मालोचनाको विषय राख्ने गरिन्थ्यो । आलोचना आत्मालोचनालाई पुनः राख्ने । कमिटीमा रहेका सवैको रेकर्ड राख्ने । कसले कहाँ कसरी काम गरिरहेको छ भन्ने जानकारी राख्ने । गलत काम गरेकालाई कारवाहीको दायरामा ल्याउने । यस्तो भयो भने गलत गर्नेलाई कारवाही हुने रहेछ भन्ने हुन्छ र पार्टीको नाममा गलत काम गर्नेहरु निरुत्साहित हुन्छन ।

२१. पार्टीलाई अनुशासित, व्यवस्थित र प्रविधिमैत्री बनाउने । संचारको सवालमा पार्टीलाई थप व्यवस्थित गर्ने । जिल्ला पार्टीको एप्स संचालन गर्ने । नियमित रुपमा बुटेलिन निकाल्ने । हरेक पार्टी सदस्यहरुलाई सञ्जालमा जोड्ने ।

२२. नेताको पछि कुदेर सक्रिय रहेको देखाउने प्रवृत्तिको अन्त्य गर्दै नेता प्रधान होइन नीति प्रधान हुने गरी पार्टीका गतिविधिहरुलाई संचालन गर्ने । गतिविधिमा संलग्न नहुनेको रेकर्ड राख्ने ।

२३. दाङ जिल्ला कम्युनिष्टहरुको लाल किल्ला थियो र भोली पनि हुनेछ र हामी लालकिल्ला बनाउने छौं भन्ने मान्यताका साथ नेकपा एमालेलाई सुसंस्कृत, व्यवस्थित, एकतावद्ध र भरोसायोग्य पार्टी बनाउने ।

२४. जिल्लामा रहेका सरकारी कार्यालयले प्रवाह गर्ने सेवाको प्रभावकारिता बढाउनका लागि जिल्ला तहमा रहेका सरकारी कार्यालयलाई खवरदारी गर्दै जनताप्रति जवाफदेही बनाउनकालागि भूमिका खेल्ने ।

२५. दाङ जिल्ला प्रदेशको राजधानी रहेको क्षेत्र हो । प्रदेश सरकारले गरेका कामहरुका बारेमा जिल्ला कमिटीको चासो हुनु स्वभाविक कुरा हो । प्रदेश मन्त्रालयलाई खवरदारी गर्दै विकास निर्माण, सुशासन र अनुशासन कायम गराउनका लागि दवाव दिने ।

नेकपा एमालेसंग रहेको जनशक्तिको उचित परिचालन भएको छैन । नेकपा एमालेसंग रहेको जनशक्तिको परिचालन गर्नका लागि ठोस योजना र कार्यक्रम ल्याउने काम गरिदैन । भन्नका लागि मिसन–०८४ को कुरा गरिन्छ । मिसन ८४ भनेको कुरा गर्ने, गफ गर्ने विषय मात्रै होइन । मिसन ८४ भनेको पार्टीका उमेदवारलाई जिताउने र साच्चिकै मुलक बनाउने काममा योगदान गर्ने हो भन्ने रुपमा हुनुपर्छ । एमालेको नेतृत्व पङ्ती इमान्दारिताका साथ परिचालन हुन सक्ने हो भने मात्रै पनि दाङ जिल्लामा एमालेले जित हासिल गर्नका लागि धेरै मेहनत गर्नु पर्दैन ।

एमाले दाङमा नयाँ नेतृत्व

अध्यक्षमा शिवकुमार आचार्य, उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उप सचिवमा भुवनेश्वर पौडेल र सिता चौधरी

राप्ती पोष्ट

दाङ, जेठ । नेकपा एमाले दाङमा नयाँ नेतृत्व चयन गरिएको छ । दुई दिनसम्म चलेको अधिवेशनले शिवकुमार आचार्यको अध्यक्षतामा एक सय १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । आइतबारदेखि सुरु भएको अधिवेशनमा पालिकास्तरबाट सर्वसम्मत रुपमा सदस्यहरुको नाम मागिएको थियो भने पदाधिकारीको छनौट अध्यक्ष मण्डलले गरेको थियो ।

अध्यक्ष मण्डलका अध्यक्ष नरुलाल चौधरीले दाङ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरिएको घोषणा गर्नुभएको थियो । कमिटीको उपाध्यक्षमा निवर्तमान सचिव मनोहर बुढाथोकीलाई चयन गरिएको छ । यस्तै संगठन विभागको भूमिकामा रहनुभएका श्याम डाँगीलाई सचिव, बवई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेल र गढवा गाउँपालिकाकी सिता चौधरीलाई उप सचिवका रुपमा चयन गरिएको छ ।

जिल्ला कमिटीको सदस्यमा बंगलाचुलीबाट सरस्वती कुमारी घर्ती, सरस्वती कुमारी घर्ती, हेमराज पुन, गिरबहादुर कवर, बेदप्रकास जिसी हुनुहुन्छ । यसैगरी गढवा गाउँपालिकाबाट सानुनारायण अधिकारी, मोहन बुढा, दामोदर ढुङ्गाना, मघा चौधरी, केशरी गिरी, बावुराम अधिकारी हुनुहुन्छ । यस्तै राप्ती गाउँपालिकाबाट हरि बेल्वासे, धर्मराज अधिकारी, प्रेमबहादुर केसी, गोमाया केसी खत्री, रामपती चौधरी र पुष्पराज अधिकारी हुनुहुन्छ ।

यसैगरी राजपुर गाउँपालिका बाट सिता यादव, गोविन्द विक, धनमाया चौधरी, कमला परियार र मुना बहादुर खड्का हुुनुहन्छ । यसैगरी लमहीबाट ज्ञानराज नेपाली, गोमा बस्नेत, सिता चौधरी, भुमाण्डव केसी, सितल भुषाल, मनोजकुमार पुन र शिवराज गिरी हुनुहुन्छ । दंगीशरणबाट भागीराम चौधरी, एम एन शाह, गणेश आचार्य, सुमित्रा विक, रेशम वली र यसोदा घिमिरे हुुनुहुन्छ । यस्तै शान्तिनगर गाउँपालिकाबाट धनबहादुर केसी, मुकुन्द जिसी, मित्रलाल बागचन्द, बेलमती रावत र सरीता थापा हुनुहुन्छ ।

यस्तै बवई गाउँपालिकाबाट टेकबहादुर वली, नन्दलाल वली, डिल्लीबहादुर बुढाथोकी, प्रेमबहादुर राम्जा, शोभीकुमारी खड्का, शान्ता विक, चन्दा वली हुनुुहुन्छ । यस्तै घोराहीबाट हिमा विक, कुमारी चौधरी, पशुपती चौधरी, माया रावत, विष्णु कालाथोकी, गिता स्वर्णकार, प्रतिज्ञा अधिकारी, पार्वती नेपाली, बसन्त बस्नेत, लक्की लामा, भक्तबहादुर केसी, गोकर्ण वली, टंक सुनार, पोषण नेपाली, विकास चौधरी, सुदन केसी, कुलबहादुर लामिछाने, दोर्णबहादुर बहकरी, प्रेमबहादुर बुढा, भानसिं बुढा, दोर्ण पाण्डे, जगलाल चौधरी, मानबहादुर विक, प्रविण पुन, देउमन दमाई, केशवराज आचार्य र कृष्ण घर्ती हुनुुहुन्छ ।

यस्तैगरी विकास नेपाली, शिव परियार, मंगल विक, गौरी नेपाली, युवा सुनार, सन्तोष वली, माधव वली, मोहन पौडेल, संगीत बस्याल, देवु बस्नेत, गायत्री डाँगी, गंगा वली, सुशिला नेपाली, तुल्सा डाँगी, बसन्त सापकोटा, पुस्पा लामिछाने, उषा अधिकारी खरेल, रामप्रसाद चालिसे, भिमबहादुर योगी, डिल्लीबहादुर डाँगी, बालकृष्ण राना, नवराज लामिछाने, अमर खड्का र रिता नेपाली हुनुुहुन्छ ।

जनजाती तर्फ मंगल चौधरी, इश्वर बुढा, बसन्ती चौधरी र दिनेश श्रेष्ठलाई सदस्यका रुपमा चयन गरिएको छ । यस्तै खुल्ला तर्फ विष्णु केसी, विवेक श्रेष्ठ, भुवन चौधरी र युवराज ज्ञवालीलाई चयन गरिएको छ । महिला तर्फ मेनका देवी रेग्मी, लक्ष्मी शर्मा, सरस्वती खत्री, रेखा केसी र गीता पौडेल हुनुहुन्छ ।

लेखा आयोगतर्फ खिमबहादुर डाँगी, गणेश दहाल, रामप्रसाद गौतम, रामप्रसाद पोखरेल, मोहनराज आचार्य, पुष्पा नेपाली र पद्मा चौधरीलाई चयन गरिएको छ । अपांग तर्फ दोलक खत्री र मुस्लीम तर्फ साजिद मिया, मजदुरमा खगेन्द्र बहादुर वलीलाई चयन गरिएको छ । नव निर्वाचित कमिटीको सपथ ग्रहण मंगलबार गरिएको छ 

एमाले दाङको अधिवेशनको तयारी पुरा, आइतबार उद्घाटन

राप्ती पोष्ट

घोराही, जेठ । नेकपा एमाले दाङको १४ औं अधिवेशनको तयारी पुरा भएको नेकपा एमाले दाङले जानकारी गराएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले दाङले जनाएको हो ।

जेठ ६ गते आइतबार सुरु हुने र सोमवार अर्थात ७ गतेसम्म चल्ने १४ औँ अधिवेशनको तयारीका बारेमा जानकारी दिन नेकपा एमाले दाङ प्रचार विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जिल्ला अधिवेशनको तयारी पुरा भएको जानकारी गराउँदै तयारीका कामका बारेमा जानकारी गराउनुभयो ।
उहाँले एमाले दाङले हरेक बर्ष जेठ ६ गतेका दिन पर्ने सहिद नेत्रलाल पौडेल ‘अभागी’ को स्मृति दिवसको अवसर कार्यक्रम गर्दै आएकोमा यस बर्ष जिल्ला अधिवेशनको सन्दर्भ जुटेको बताउनुभयो । एमाले केन्द्रिय कमिटीले जेठ भित्र जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि गरेको निर्णय अनुसार यतिवेला जिल्ला अधिवेशनहरु भइरहेका छन् । सोही क्रममा एमाले दाङको अधिवेशन आइतबार हुँदैछ ।

पार्टीका जिल्ला प्रचार विभाग प्रमुख सविन प्रियासनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष बस्नेतले जेठ ६ गते हुने अधिवेशनको उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेल लगायतका नेताहरु दाङ आउने बताउनुभयो ।

उद्घाटन समारोह घोराही १४ स्थित सभागृहमा हुने जानकारी दिँदै अध्यक्ष बस्नेतले एमाले जिल्लाका १४ हजार दुई सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका प्रतिनिधिलाई अधिवेशनमा सहभागी गराईने बताउनुभयो । अधिवेशनका लागि एक सय ८३ जना महिला सदस्य, एक सय ४३ जना दलित सदस्य, तीन सय ७३ जना पुरुष सदस्य, अधिवेशनको अनुसुची–१ अनुसार ५० जना र अनुसूची–२ अनुसार ३९ जना गरी सात सय ८८ जना अधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।

अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न आठ वटा उपसमिति समेतगठन गरी जिम्मेवारी बाँडफाड गरिएको पार्टी अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले अधिवेशन सम्पन्न गर्न मञ्च व्यवस्थापन, भान्सा व्यवस्थापन, आर्थिक संकलन, अतिथि सत्कार, जनपरिचालन, राजनीतिक प्रतिवेदन र प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।

१४ औँ अधिवेशन पार्टीको एकता, हार्दिकता र मिसन ८४ को अधिवेशनका रुपमा भएको जिल्ला अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले एमालेलाई मिसन ८४ मा सफल बनाउन अधिवेशनमा सर्वसम्मत नेतृत्व रहने गरि आन्तरिक रुपमा छलफल जारी रहेको बताउनुभयो ।

उहाँले व्यक्तिका विषयमा नभई सुदृढ र गतिशील संगठनका रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने गरी छलफल भईरहेको बताउनुभयो । यसैबीच, अधिवेशन लक्षित लोगो सार्वजनिक गरिएको थियो । लोगोमा राजनीतिक, धार्मिक, सामाजिक, सांस्कृतिक लगायत विषय समावेश भएको र यसले दाङको समग्र अवस्थाका बारेमा उजागर गरिएको छ । पत्रकार सम्मेलनमा पार्टी पोलिटव्यूरो सदस्य शान्ता चौधरी लगायतको सहभागिता थियो । पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग उप प्रमुख संगीत बस्यालले गर्नुभएको थियो ।

 

एघार सन्तानकी धनी मेरी आमा

अनुभूति

वसुन्धरा गौतम

पितृसता, पुरुषप्रधान समाज, छोरा छोरीबीचको भेद मैले धेरै पछि वुझेकी हुँ । मेरी आमाले भदौ महिनाको कृष्णाजन्मष्टमी पर्वकै दिनमा मलाइ सातौं सन्तानको रुपमा जन्माउनु भो । मेरी आमाले नौ महिनामा गर्भमा राखेर मलाइ यो सुन्दर संसारमा ल्याउनु भयो । तर जव म भुइमा झरें आमाले सोध्नु भएछ । सुडेनी सुत्केरी गराउने स्याहार सुसार गराउने सवै काम त्यतिबेला थारु जातीका महिलाले सुडेनीको काम गर्थे अरे । सायद सरसफाइ राम्रो हातको कला सवथोक भएर पनि होला उनीहरुलेनै यो काम गर्थे अरे । उनै सुडेनी वड्कीलाई के हो वड्की भन्नुभएछ । वड्कीको निराशा मिसीएको जवाफ पाउनु भएछ ‘अभी फेन छाइ हो वजै’ भनीछन् ।

आमा सारै निरास हुनुभो अरे । अनि आमाको मुखवाट एकाएक जवाफ आएछ । ‘वड्की भो यत्तिकै छोडीदेउ’ भन्नु भएछ । साल नाल छुटाएर भुइमा परेकी म । कमेरो शरीरवाट रगत वग्न थालेछ । यत्तिकैमा मेरी ठूली दिदी भित्र वच्चा रोएको सुनेर आउनु भएछ । यसो हेरेको रगतको आहालमा डुवेकी सानी वहीनी देख्नु भएछ । अनि दिदीले भन्नु भएछ । ‘वड्की नफाल्देउ यती राम्री वहीनी छ लौ यो डोरीले वाधीदेउ’ भनेर आफुले जनैपुर्णीमामा बाँधेको डोरी खोलेर दिनुभएछ । अनी मेरो नाभी वाधीँदिइछन् वडकीले । अनि आमा धेरै बेर रुनु भएछ । मेरो भाग्यमा छोरा कहिले लेखेका होला फेरि छोरी जन्माइ भन्ने सुन्ने पर्ने । छोराको पर्खाइमा वर्षेनी वच्चा जनमाउनु विधाताले पनि पाँच वर्ष की हुदा वुवा खोसे । दाइ दिदी मरे । मलाई यही सव भोग्नु थियो र वाँचेकी रहेछु भनेर आफनो जन्मलाइ धिकार्दै मलाइ दुध खुवाउनु भएछ । आमालाइ सन्तानको माया नलाग्ने काँ हो र ।

समाज परिवार सवैले छोरालाइ मात्र आफनो वंश ठान्ने त्यतीवेलाको समाज । यसको पिडाले आमालाइ त्यस्तो सोच्न वाध्य वनाएर आमाले मलाइ त्यतिकै छाडने मनस्थितीमा पुगायो । तर आफनो सन्तान नौ महीनासम्म गर्भमा राखेर जन्माएको आमालाई सन्तानको माया नलाग्ने का हो र । यो सव आमाले पछी मलाइ सुनाउनु भो र मैले थाहा पाएकी । अझ त्यतीमात्र कहा होर वुवा एकपटक आफन्तीको घरमा पहाड पुग्नु भएछ । आफन्तिले ‘कान्छीले छोरा जनमाउन सकिनन् अव अर्को विहे गर कान्छा’ भनेछन । वुवालाइ केटी देखाएर विवाह गराउने वनाएछन । तर त्यस रातभर वुवा सुत्नु भएन अरे । अनी सोच्नु भएछ त्यती सानैमा नौ वर्षको उमेरमा विवाह गरेर ल्याएकी उसलाइ रुवाउनु हुँदैन मैले भन्ने लागेछ । वुवाले उपाए निकाल्नु भएछ । विहे गर्नलाइ केही गहना, पैसा, कपडा चाहीयो । म एकपटक घर गएर आउछु भनेर वुवा आउनु भो अरे । अनी आमासंग वुवाले यी सव कुरा भन्नु भएछ, सायद ।

त्यतीवेलाको हाम्रो समाज पुरुषवादी समाज, छोरा नभए वंश रहदैन भन्ने गलत सोच, अनी छोरी जन्माउनु, महीलाको दोष देख्ने समाज, अनी छोरा नभएको निहुमा सौता खेप्ने हाम्री वोइ, वजैहरुको कथा व्यथा यी सव आमाले देख्नु भो सुन्नु भो सायद यसले पनि होला एउटी आमाले नौ महीनासम्मा गर्भमा राखेर जन्म दिएकोे सन्तान पनि विवशतामा परि परित्याग गर्ने सोचमा पुर्याए होला भन्ने लाग्छ मलाइ । त्यसो त आज पनि छोरीलाइ अझै पनि व्यवहारीक रुपमा आफनो वंश र अंशको व्यवहार गरेको पाइदैन । आज समाज शिक्षित छ र पनि सोच र मानसीकता वदलीएको छैन । हिजो देखीने गरि छोरा छोरीबीच भेदभाव गरिन्थ्यो भने आज नदेखीने गरि विभेद गरिन्छ । ंआज पनि समाजमा छोराको लागि दिन बार हेरेर गर्भधारण गर्ने । भ्रुण परीक्षण गरेर गर्भपतन गराउने गरेको पाइन्छ ।

हिजो त्यस्तो केही विधि थिएन र त वर्षेनी मेरि आमा जस्तै कयौं आमाहरु गर्भ वोक्दै सन्तान जन्माउदै गर्थे होला । कती त वच्चा जन्माउन नसकी घरमै मर्थे होला । कती सुत्केरी पश्चात रगत बगेरै मर्थे होला । आमा दिदीहरुले पनि भन्नु हुन्थ्यो तँ जन्मिदा यस्तो भो अनी यस्तो गरिम । पछि गाउँमा कृष्णाअष्टमीको नाचगान गर्ने, पुजा गर्ने थियो अरे म जन्मीएपछी दिदीहरु वेलुकी खुशी हुदै नाँच हेर्न जानु भएछ । र सुनाउनु भएछ हाम्रो घरमा पनि कृष्णा जन्मीएकी छन, वहीनी जन्मीएकी छन, भनेर । म आमाको सातौं सन्तान । वर्षेनी सन्तान जन्माउदा मेरी आमाको शरीर कस्तो भयो होला ? उतीवेला अस्पताल नहुने भएपनि जाने चलननै कहाँ हो अरे, गर्भवती भए लाज लाग्ने ।

अहिले जस्तो उतीवेला के को वेवीसावर, के को दही चिउरा, के को अस्पताल ? के को आइरन चक्की, के को भिटामीन, केको आराम । यि त त्यतिवेलाका आमाहरुका लागि यस्ता शव्द वनेकै थिएनन, अरे । थारु गाउमा वसेकी मेरी आमा, एकमानो खानलाई दुःख थिएन । काम गर्नलाई उतिवेला कमैया कमलहर राख्ने चलन घरबाहिर काम गर्न जानु नपर्ने । आमाका दिनहरु खाना वनाउने, वालवच्चा हुर्काउने, जन्माउने स्याहार्नेमा नै विते अरे । शिक्षीका वनेर वालवच्चा पढाउने जागिरे हुने रहर आमाका सन्तानका खातीर मरेर गएहोलान । वर्षेनी छोरा छोरी पाउँदा मेरी आमाका निदहरु सन्तानका खातीर खोसिए होलान । तातो न्यानो विस्तारा र फरिया कहिले भएहोलान् र ।

एउटी आमाको सन्तानका खातीर कति कुरा मनमै सकिन्छ होला । कति सपना तुहिन्छ होला । कति अधुरा सपना सन्तानमा देख्छन होला । त्यो शव्दमा भनन सकीदैन । म दुइ वर्ष भएपछि आमाले फेरि आठौं सन्तानको रुपमा मेरी वहिनीलाई जन्माउनु भएछ । त्यसको दुइवर्ष पछि हाम्रो घरमा भाइको जन्म भो अरे । भाइ जन्मिएपछि इष्ट मित्र आफन्ती सव खुशी भए अरे । वुवा खेतबाट घर फर्कदा पिंढीमा आमाले भाइलाइ जन्माइ सक्नु भएको थियो । अरे वुवाले एकै पटक छोरा देख्नु भो अरे । अनी मेरी ठुली दिदीले छोरा जन्मियो भाइ जन्मियो भन्ने सुनेर भाइ भन्ने कस्तो हुन्छ भनेर खेल्दा खेल्दै हेर्न जानु भएछ । सधै वहिनी मात्र देखेकी मेरी दिदीलाई यो भाइ यो छोरा भन्ने कस्तो हुन्छ भन्ने पनि थाहा थिएन अरे । सवैजना खुशी हुनु भो अरे भाइ जन्मियो भनेर ।

मेरी ठूली दिदी जन्मिदा हाम्रा वुवा आमाले ठुलै छैठी गर्नुभएको अरे । तर अहिले छोरा जन्मिएको खुशीयालीमा पनि आमा वुवाले छैठी गर्न मान्नु भएन अरे । धेरै वर्षपछि मिलेको खुशी धेरै हौसिए खोसिएला भन्ने डर मनमा थियो अरे । त्यसैले छैठी गर्नुभएन अरे । फेरि खै के हो छैठी सुव्दैन भन्ने पनि थियो अरे । आमाले छोराको आशमा आठ सन्तान जन्माउनु भो । हिजो आज परिवार नियोजनका साधन परिवार नियोजन गर्ने त्यस्तो सरल सहज पनि थिएन । जति सन्तान जन्मे पनि इश्वरको वरदान भनी स्वीकार्ने त्यतीवेलाको हाम्रो समाजमा छोराकै लागी पनि वर्षेनी सन्तान जन्माउनु भो । यस्तै यस्तैमा आमाले अरु दुई छोरा पनि जन्माउनु भएछ । तीन छोरा आठ छोरी गरि ११ सन्तानकी धनी हुनुहुन्छ मेरी आमा । मेरी मामा घरकी हजुरआमा आँवैले भन्नु हुन्थ्यो । मेरी एउटी जीलो वचेकी थिइ अहीले १ को ११ भए । तेरा वाजे वितीजानुभो अहीले यस्तो देख्न पाउनु हुन्थयो । वाच्नेले त देख्न पाउदा रहेछन । मर्नेको सव वित्ने भनेर सुनाउनु थियो ।

मेरी आमालाइ सन्तान जन्माउन हुर्काउन कती गा¥हो भयो होला तै पनि मेरी आँवै आफना नातिनी नाती देखेर सधै गदगद हुनुहुन्थ्यो । एउटो जिलोबाट वचेका मेरा नाती नातिनीले डाँडाकाडाँ ढाके भनेर मेरी आँवै सधै खुशी हुनु भो । आवैको खुशी स्वाभाविक थियो । तर मेरी आमाका लागि वर्षेनी सन्तान त्यो पनि एघार एघार जन्माउनु विवशता थियो । त्यती धेरै सन्तान जन्माउनु न मेरी आमाको रहर थियो होला न मेरो वुवाको दोष थियो होला । सायद त्यतिवेलाको पितृसत्तात्मक हाम्रो समाज, छोरीलाइ आफनो अंश र वंशको अधिकार नदिने हाम्रो समाज वढी जिम्मेवार र दोषी थियो कि ?

दाङमा एमालेको नेतृत्व र आगामी कार्यभारहरु –३

अन्तिम खण्ड

शरद अधिकारी

नेकपा एमाले दाङको अधिवेशन आउन एक साता मात्रै बाँकी रहेको छ । अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आउने निश्चित भएको छ । अधिवेशनको तयारीका लागि प्रतिनिधि छनौट भइसकेको छ । २० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन गरिएको छ । जसमध्य ३३ प्रतिशत संख्या महिलाको छ । दलितको हकमा बेग्लै व्यवस्था गरिएको छ । यद्दपि दलित र महिलाको हकमा अन्य प्रतिनिधि सरह प्रतिनिधित्व भएको छ । जिल्लाका एक सय वटा वडाबाट प्रतिनिधि चयन गरिएको छ । एक साथ सवै वडामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने काम भएको छ । निर्वाचन लोकतान्त्रिक विधि हो भनिएपनि यस्ता अधिवेशनमा जाने प्रतिनिधि चयनका लागि सर्वसम्मत सवैभन्दा राम्रो विधी हुन्छ । सर्वसम्मत रुपमा आएका सवै प्रतिनिधिहरुलाई बधाई र शुभकामना । नेकपा एमाले दाङ जिल्ला अधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने हो । आज भन्दा दुई बर्ष अघि देशभर जिल्ला अधिवेशन भएका थिए । जिल्ला जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधित्व गरिएको थियो । यस पटक विभिन्न जिल्लामा निर्वाचनबाट कार्यसमिति चयन गरेको कुरा सुन्नमा आइरहेको छ । अव दाङ जिल्लामा के होला ? भन्ने प्रश्न धेरैको मनमा छ । निर्वाचन गर्नुपर्छ । निर्वाचन गरेपछि कार्यकर्ताले रुचाएको नेतृत्व आउँछ भन्नेहरु धेरै छन् । निर्वाचन गर्नु हुँदैन । पार्टीको अधिवेशनमा निर्वाचन नगर्दा पनि हुन्छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मत पनि जवरजस्त रहेको छ । नेतृत्व चयन कसरी गर्ने भन्ने विषय प्राविधिक बिषय हो । मुल कुरा जिम्मेवारी पाउने नेतृत्वले दाङ जिल्लामा नेकपा एमालेलाई स्थापित गर्न कसरी काम गर्दछ भन्ने हो । नेकपा एमालेप्रति आशा गर्ने र भरोसा गर्ने हजारौं नागरिकको भावनाको प्रतिनिधित्व गर्नै नेतृत्व आउनुपर्छ भन्ने चाहना सवैको छ । अव आउने नेतृत्वले निम्न काम गर्नुपर्छ ।

एमालेको मिसनमा ध्यानः

नेकपा एमालेको ध्यान अव आउने निर्वाचनमा छ । अव आउने निर्वाचन अर्थात २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेको ध्यान जानु भन्नुको अर्थ उक्त निर्वाचनमा बहुमत ल्याउने गरेर जाने नेतृत्व अहिलेका लागि चाहिएको छ । मिसन ८४ त्यसै आएको होइन । २०७९ मा भएको निर्वाचनमा नेकपा एमालेले सोचेको जस्तो परिणाम हासिल गर्न सकेन । विपक्षमा गठवन्धन रहेका कारणले गर्दा यस्तो परिणाम आयो भन्ने एउटा कुरा हो तर यहि निर्वाचनमा हुनुपर्ने जति जनपरिचालन नभएका कारणले गर्दा समस्या भएको हो । गएको निर्वाचनमा एमालेले सिंगो शक्ति परिचालन गरेको भए दाङ जिल्लामा अहिलेको भन्दा बढी जितिन्थ्यो । उमेदवारी दिंदा जनताका बीचमा कसको लोकपृयता बढी छ भनेर अध्ययन गरेको भए परिणाम अर्को आउने थियो । २०७४ सालमा भएको निर्वाचनमा पेशागतमा आवद्ध रहेका मित्रहरुको सहयोगमा हरेक बडामा सर्भे गरिएको थियो । सोही आधारमा दाङ जिल्लामा छ वटा पालिकामा प्रमुख र चारवटा पालिकामा उप प्रमुख जित्न सकिएको थियो । यसपटकको अधिवेशनबाट आउने नृेतृत्वको ध्यान पार्टीलाई कसरी ठूलो पार्टी बनाउने, कसरी बढी भन्दा बढी वडा, बढी भन्दा बढी पालिका र प्रदेश अनि संघमा बढी भन्दा बढीमा जित हासिल गर्ने भन्नेमा हुनुपर्छ । यसका लागि निम्न काम गर्नुपर्छ ।
क) सदस्यहरुको खोजी र कामको जिम्मेवारी दिने कुरामा पूर्वाग्रह त्याग्नुपर्ने ।
ख) क्षमताको पहिचान गर्ने र सोही अनुसार जिम्मेवारी प्रदान गर्नुपर्ने ।
ग) अग्रजको सम्मान, नयाँलाई प्रोत्साहन गर्ने कुरालाई नेतृत्वले ख्याल गर्नुपर्ने ।
घ) विभिन्न क्षेत्रमा पार्टीको प्रतिनिधित्व बृद्धि गर्ने कुरालाई पार्टीको मुल विषय बनाउने ।
एक्लै दौडने होइन, सामूहिकताको खाँचोः
पार्टी नेतृत्वमा रहने व्यक्तिले आफू दौड्ने भन्दा कार्यक्रम र कार्ययोजना बनाएर परिचालन गर्न सक्नुपर्छ । साना तिना काममा चासो दिने, साना तिना कुरामा ध्यान दिने, आफूले गर्दा ठिक अरुले गर्दा बेठिक भन्ने भावना त्याग्नुपर्छ । पार्टीको काम एक्लै हुँदैन । यो सामुहिक भावनाका साथमा मात्रै अघि बढ्छ । पार्टी भनेकै सामुहिकतामा काम गर्ने हो । निर्णय गर्नु अघि व्यापक छलफल गर्नुपर्छ भन्ने भावना नेतृृत्वमा जाग्नुपर्छ । निर्णय गर्दा कठोर बन्ने अनि कार्यान्वयनमा सवैको अपनत्व हुने गरी गर्नुपर्छ । पार्टी कमिटी जहिले पनि माथिल्लो निर्देशनबाट चल्छ । तर तल्ला तहका कमिटीहरुले आफै पनि योजना बनाउन सक्छन् । सेल कमिटीहरु आफै योजना बनाउने र कार्यान्वयनका लागि सक्षम छन् । वडा कमिटीहरु आफैमा शक्तिशाली कमिटी हुन । जिल्ला अधिवेशनको बेलामा प्रतिनिधि चयन गर्दा वडा कमिटीको शक्ति सवैभन्दा बढी हुन्छ । वडाबाट छनौट भएको प्रतिनिधि जिल्ला कमिटीमा उठ्ने हैशियत राख्छ । यसर्थ साना कमिटीमा ध्यान दिनुपर्छ । माथिल्ला कमिटी ताक्ने, साना कामलाई ध्यान नदिने जुन परिपाठी रहेको छ नेतृत्वले यसलाई चिर्नुपर्छ । पार्टीको काम भनेकै सामुहिकतामा गर्ने हो । एक्लै गरेर होइन सवैलाई अपनत्व गराएर कामा गर्नुपर्र्छ ।

जन संगठनको परिचालनमा ध्यान

नेकपा एमाले दाङमा नेतृत्व गर्नेले जन संगठनमा ध्यान दिनै पर्दछ । जनसंगठनहरु समयमा बैठक बस्छन कि बस्दैनन् । जनसंगठनहरुले के निर्णय गर्दछन् । के कार्यक्रम गर्दछन् । कस्ता कार्यक्रम गर्दछन । ति सवै पार्टीको हितमा छन कि छैनन ? यो कुरालाई ध्यान दिनुपर्छ । जनसंगठनको परिचालन व्यवस्थित रुपमा गर्ने हो भने दाङ जिल्लामा नेकपा एमालेलाई कुनै निर्वाचन जित्न गाह्रो हुँदैन । जनसंगठनहरु हिजो आज निष्कृय भएका छन् । कुनै कार्यक्रम छैन । कुनै योजना छैन । कुनै उत्साह छैन । जसले गर्दा पटक पटकका निर्वाचन हारिन्छ । दाङ जिल्लालाई एमालेको गढ बनाउने हो भने जनसंगठनको परिचालनलाई ध्यान दिनुपर्छ । नेकपा एमालेको विधान अनुसार अनुसूची–१ र अनुसूची–२ गरेर दुई प्रकारका जनसंगठन रहेका छन् । अनुसूची १ मा निम्न संगठन रहेका छन् ।
१. अखिल नेपाल महिला संघ
२. अखिल नेपाल किसान महासंघ
३. नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
४. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
५. राष्ट्रिय युवा संघ नेपाल
६. नेपाल उत्पीडित जातीय मुक्ति समाज
७. लोकतान्त्रिक आदीवादी जनजाति महासंघ, नेपाल
८. पेशागत महासंघ नेपाल
९. नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ
१०. नेपाल खेलकुद महासंघ
अनुसूची– अन्तरगत निम्न संगठन रहेका छन् ।
१. प्रेस चौतारी नेपाल
२. राष्ट्रिय जनसांस्कृतिक महासंघ
३. नेपाल बुद्धिजीवी परिषद
४. राष्ट्रिय स्वास्थ्यकर्मी संघ
५. नेपाल भूमिहिन सुकुम्वासी संगठन
६. नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन
७. प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन
८. लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल
९. प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल
१०. मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल
११. नेपाल मुस्लिम इत्तेहाद संगठन
१२. रिटर्नी फेडेरेशन नेपाल
मुल रुपमा दुई खालका जनसंगठन रहेको भएपनि यि दुई भित्र अरु धेरै घटकहरु रहेका छन् । पेशागत महासंघ अन्तरगत मात्रै एक दर्जन बढी संगठनहरु रहेका छन् । यस्तै किसान महासंघ अन्तरगत पनि विभिन्न उत्पादक संगठनहरु रहेकाछन् । नेकपा एमालेलाई बलियो बनाउने यि र यस्ता संगठनहरुको परिचालन व्यवस्थित रुपमा हुन सकेको छैन । यि सवैको गठन पुनःगर्ठनको अवस्था के कस्तो छ ? चलायमान छन या छैनन् ? गतिविधि गरिरहेका छन कि छैनन ? यस्ता विषयमा नेतृत्वले चासो दिएको पाइदैन । विद्यार्थी, युवा, महिला, किसान र मजदुर गरेर पाँचवटा क्षेत्रलाई सवैभन्दा महत्वपूर्ण क्षेत्रका रुपमा राख्नुपर्छ । दाङ जिल्लामा यि मध्य महिलाको मात्रै अलिकति गतिविधि देखिएको छ । अरु संगठन के गरिरहेका छन भन्ने बारेमा आम रुपमा जानकारी हुँदैन । नेतृत्वको जिम्मेवारी लिएकाहरुको काम नै यहि हो । विद्यार्थीहरुलाई संगठित गर्ने, विद्यालयमा जाने, क्याम्पसमा जाने, विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने काम भइरहेको छैन । किसानको कुरा गर्ने हो भने किसानलाई संगठित गर्नका लागि बेग्लै कार्यक्रम केन्द्र देखि जिल्लासम्म ल्याउनुपर्छ । नेकपा एमाले मुल रुपमा किसान र मजदुरको पार्टी हुनुपर्ने हो । किसानहरुलाई संगठित गर्ने काममा अत्यन्त सुस्तता रहेको छ । किसानहरुले समस्या भोगिरहेका छन् । किसानहरुले मल पाउँदैनन् । किसानले विउ पाउँदैनन् । किसानले औजार पाउँदैनन् । पार्टी नेतृत्वले यो कुरामा नेतृत्व लिनुपर्ने हो । किसान अन्तरगत विभिन्न घटकहरु रहेका छन् ति के गर्दैछन ? संगठित छन कि छैनन् ? यस्ता विषयमा ध्यान दिने काम नेतृत्वले गरेको छैन । मजदुरको कुरा गर्ने हो भने कम्युनिष्टको मुल स्रोत हो । मजदुर आन्दोलनबाट विकास हुँदै जाँदा कम्युनिष्ट आन्दोलन अघि बढेको छ । विश्वका मजदुर एक हौं भन्ने नारा लगाउने कम्युनिष्टहरुले मजदुरलाई संगठित गर्न सकिरहेका छैनन् । यो सवै किन भइरहेको छ ? नेतृत्वले यस्ता कुरामा ध्यान दिन सकेको छैन । नेतृत्व तपशिलमा अल्झिएको छ । जितमा बधाई र निधनमा समवेदना दिने काममा अघि देखिने नेतृत्वले व्यवस्थापनका काममा ध्यान दिएको देखिदैन । जसले गर्दा परिणाम निकाल्ने समयमा पराजयसंग साक्षात्कार हुन्छ । सामाजिक विषयमा चासो
राजनीति भनेको निर्वाचन देखि निर्वाचनसम्म मात्रै हो कि अरु केही हो ? राजनीति भित्र सेवाको पाटो सवैभन्दा बलियो हुन्छ । अहिलेको राजनीतिमा सेवाको पाटो कहाँनेर छ भनेर सुक्ष्मदर्शक यन्त्र लिएर खोज्नुपर्ने हुन्छ । राजनीतिमा स्वार्थ मात्रै देखिन्छ । राजनीतिमा सेवा देखिदैन । प्रहरीमा पुगेको मानिसलाई छुटाएर पैसा खाने, कतै तस्करी भइरहेको छ भने त्यहाँ कुरा मिलाउने र स्वार्थ लिने । ठेक्का पट्टामा कुरा मिलाउने र त्यहाँबाट आफ्नो भाग लिने प्रवृत्ती हावी भएको छ । राजनीति भनेको सेवा हो भन्ने मान्ने हो यस्ता कुरामा ध्यान दिनेहरुलाई पार्टीमा राख्नै हुँदैन । जसले सेवाको काम गर्दछ । जसले सहयोगको भावना बोकेर काम गरिरहेको छ त्यस्तोलाई मात्रै पार्टीमा स्थान दिने र जिम्मेवारी दिने काम गर्नुपर्छ । पार्टीमा श्रमजिवी बर्ग देखि लिएर पूँजीपतीको उपस्थिती हुन्छ । पार्टीमा सवैलाई समेट्नुपर्छ । तर पूँजीपतीको अनुहार हेरेर नीति बनाउने र निर्णय गर्ने काम गरियो भने त्यो सवैभन्दा घातक हुन्छ । जसले केही खर्च गर्न सक्छ । जसले केही दिन सक्छ । जसले केही खानपानमा खर्च गर्दछ उसलाई पार्टीमा राम्रो स्थान दिने तर जसले बर्षौदेखि पार्टीका नाममा खटिएको छ । पार्टीको नाममा अडेको छ । जसले आफ्नो लागि कहिल्यै सोचेन त्यस्ताका लागि सोच्ने नेतृत्व चाहिएको छ । नेकपा एमाले दाङमा नेतृत्वगर्नेले सामाजिक विषयमा व्यापक चासो दिनुपर्छ । विकास निर्माणको काममा चासो दिनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि चासो दिनुपछृ । सेवा प्रवाहका नागरिकको सन्तुष्टिको अवस्था के कस्तो छ भन्ने बारेमा मूल्याङ्कन गर्नुपर्छ । नागरिकको चासो र चिन्ता पार्टीको पनि चासो र चिन्ता हुनुपर्छ । कतिपय विषयहरुलाई हामी अरुलाई छोडिदिन्छौं ।
यतिवेला राजनीतिमा आकर्षण घट्दै गइरहेको छ । राजनीतिमा युवाको सहभागिता छैन । यो बिषयमा छलफल, बहस र अन्तरक्रिया आवश्यक होइन र ? पक्कै पनि यो विषयमा सार्वजनिक रुपमा बहस गर्नुपर्छ । राजनीतिले के दियो ? राजनीतिले के दिनुपर्ने थियो ? राजनीतिबाट युवाहरु के आशा गर्दछन् ? युवाहरुले राखेको चासो र चिन्ता पार्टी नेतृत्वको चासो र चिन्ताको बिषय बन्छ कि बन्दैन । युवाहरुको सहभागिताको मात्रै प्रश्नको विषय होइन । यस्ता धेरै विषयहरु छन् जसका बारेमा बहस र छलफल समयले माग गरिरहेको छ । यस्ता विषयमा चासो दिने र छलफल गर्ने काममा नेतृत्वले ध्यान दिनुपर्छ ।

असन्तुष्टिको व्यवस्थापन

हामी सवैलाई के कुरा थाहा छ भने अग्रजहरुको योगदानकै कारणले गर्दा पार्टी आजको अवस्थामा आइपुगेको छ । यसर्थ अग्रजहरुको सम्मान गर्ने कुरामा नेतत्वको ध्यान जानुपर्छ । नेकपा एमालेमा कसैले असन्तुष्टि व्यक्त ग¥यो भने त्यसको व्यवस्थापन हुँदैन । उचित व्यवस्थापन गर्ने हो भने नमान्ने कोही हुँदैन । यसपाली यस कारणले गर्दा सम्भव भएन भनेर भन्ने हो भने कसले मान्दैन र ? तर नेकपा एमालेमा असस्तुष्टिको व्यवस्थापन गरिदैन । जसले गर्दा बर्षौसम्म पार्टीको लागि भनेर लागेकाहरु निरास बनेका देखिन्छन । सदस्यता नविकरण नगर्ने । कार्यक्रममा उपस्थित नहुने । विभिन्न अभियानमा सहभागी नहुने गरेका घटना पछिल्लो समय बढेका छन् । पार्टीमा देखिने असन्तुष्टि सम्वोधन गर्नका लागि पहल गर्ने, राम्रो कुराको प्रचार बाहिर गर्ने र आलोचना गर्नु परेमा कमिटी पद्दतिमार्फत गर्ने राजनीतिक संस्कार विकास गर्ने काम हुन सकेको छैन । हामीले कस्तो राजनीतिक संस्कार विकास गरिरहेका छौं । हामीले कस्तो मान्यता स्थापित गर्न खोजिरहेका छौं । हामीले गर्न खोजेको यहि थियो कि ? हामीले स्थापित गर्न खोजेको राजनीतिक मूल्य र मान्यता यो भन्दा फरक थियो ? यस्ता विषयमा कहिले बहस छलफल हुन्छ ? स्वस्थ आलोचना नेतृत्वको पनि गर्न मिल्छ । नेतृत्वले गुनासो सुन्ने गर्नुपर्छ । असन्तुष्टिको तह कस्तो छ त्यसको मापन गर्नुपर्छ । व्यक्तिगत तहको असन्तुष्टि हो कि ? सांगठनिक तहको हो कि ? व्यक्तिगत स्वार्थपूर्ती नभएका कारणले असन्तुष्टि व्यक्त गरिरहेको हो कि ? सामुहिक स्वार्थका लागि केही कुरा भनेको थियो त्यो कुरा पुरा नभएको हो भन्ने बारेमा स्पष्ट हुनुपर्छ । नेतृत्वमा रहनेले धेरै कुरा सुन्नुपर्छ । कुरा राम्रो हुन सक्छ । कुरा नराम्रो पनि हुन्छ । राम्रो र नराम्रो जस्तो कुरा भएपनि सुन्ने र मनन गर्ने काममा नेतृत्वले हिच्किचाहट गर्नु हुँदैन ।

पालिकाहरुसंगको सहजिकरण

दाङ जिल्लामा १० वटा पालिका छन् । १० वटा पालिकामा ४० वटा वडामा नेकपा एमालेका जनप्रतिनिधि प्रमुख भूमिकामा छन् । दुईवटा वडाको मेहनतले अर्को एउटा वडामा जित हासिल गर्न सक्ने भने अवको निर्वाचनमा दाङ जिल्लामा ६० वटा वडा जित्नु कुनै गाह्रो हुनेछैन । अहिले पनि पार्टीले नेतृत्व गरेका वडाले अरुले भन्दा फरक काम गरेका छन् भन्ने उदाहरणको चर्चा बाहिर भएको देखिदैन । एमालेका जनप्रतिनिधिहरुले अरुले भन्दा राम्रो काम गरेका छन भन्ने कुरा भाषणमा होइन काममा देखिनुपर्छ । जवसम्म काममा परिणाम देखिदैन तवसम्म भनेको कुरा कसरी पत्याउनु । झुठको निम्तो खाइ पत्याउनु भनेझै दाङ जिल्लालाई नेकपा एमालेको लालकिल्ला बनाउने कुरा नारामा होइन यथार्थमा बनाउनुपर्छ । नेकपा एमालेले जितेका वडाहरुको मात्रै कुरा होइन त्यो भन्दा बाहेका वडामा विकासको योजना एमालेले दिन सक्छ । पालिकाहरुमा पुगेर विकासको खाका पेश गरेको अहिलेसम्म सुनिएको छैन । वडा कमिटीले वडा कार्यालयमा र पालिका कमिटीले पालिका कार्यालयमा पुगेर आफ्ना तर्फबाट विकासको खाका प्रस्तुत गर्ने काम किन अहिलेसम्म नगरेका भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन । पार्टीका पालिका कमिटी, पाटीका पालिका कमिटीहरुलाई चलायमान बनाउनका लागि त कार्यक्रम दिनुपर्छ । कार्ययोजना दिनुपर्छ । वडा कमिटीका अध्यक्षहरुले हरेक दिन के काम गरे । कहाँ गए । कस्को काम गरेर भनेर रेकर्ड राख्दा साथ धेरै कुरा आउँछ । जनप्रतिनिधीहरुले के काम गरे भन्ने रेकर्ड राख्ने हो भने पनि धेरै कुरा आउँछ । घोराही र तुलसीपुरका प्रमुख उप प्रमुख, राप्तीकी उप प्रमुख, चालिस वडाका अध्यक्ष, ति वडाका सदस्यहरु सवै गर्दा करिव दुई सय जनशक्ति जिल्लामा रहेको छ । यो जनशक्तिलाई मात्रै बोलाएर भइरहेको कामको समीक्षा र आगामी दिनमा गर्ने कामको कार्यँयोजना बनाउने काम भएको भन्ने अहिलेसम्म सुनिएको छैन । हामी तपशिलमा अल्झिएका छौं भन्ने कुरा नेतृत्वले मान्ने हो भने मात्रै धेरै समस्या समाधान हुन्छ ।

गुटको अन्त्य, मुलप्रवाहको यात्रा आवश्यक

मुलतः नेकपा एमालेमा अहिले गुट मुख्य नेतृत्वको तहमा छैन । तल्लो तहमा देखिने गुट भनेको भावनात्मक रुपमा भएको लगाव हो । भावना मिल्नेहरुको एउटा समूह बन्न सक्छ । अधिवेशनको क्रममा यस्तो एकता देखिनु स्वभाविक कुरा हो । यसलाई गुटको रङ दिनु नै गल्ती हो । नेकपा एमालेमा गुट थियो तर अहिले छैन । भोलीका दिनमा के हुन्छ त्यो भोलीको कुरा हो । आजका दिनमा जुन रुपमा एकतावद्ध रुपमा एमाले अघि बढेको छ त्यहि रुपमा नेताहरु कार्यकर्तालाई साथमा लिएर हिड्नुपर्छ । नेकपा एमाले दाङमा पनि कुनै गुट रहेको छैन । दाङ जिल्लामा गुटको अन्त्य गर्ने काम २०७३ बाटै गरिएको थियो । जतिवेला टिकाराम खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरियो त्यहिनेरबाट जिल्लामा गुट अन्त्य भएको हो । अव गुटमा रमाउने भन्दा काममा प्रतिष्पर्धा गर्नुपर्छ । जिम्मेवारी लिने, जिम्मेवारी पुरा गर्नेहरुलाई पुरस्कृत गर्नुपर्छ । नेतृत्वमा ल्याउँदा नातावाद, कृपावाद होइन सामुहिक भावनाका साथ अघि बढन सक्ने सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । कार्यकर्तालाई छनौटको अधिकार आयो भने जिल्लालाई सहि तरिकाले चलाउन सक्ने व्यक्ति चुन्ने छन् । सर्वसम्मतीको बातावरण बन्यो भने सोही अनुसार नेतृत्वले विवेक प्रयोग गर्नुपर्छ । नेतृत्वले गर्ने सानो भुलले भविश्यलाई प्रहार हुन सक्छ भन्ने कुरामा सचेत हुुनुपर्छ ।
अन्त्यमाः नेकपा एमाले दाङको १४ औं अधिवेशन सामुन्नेमा छ । नेतृत्वमा आउने चाहना भएकाहरुको संख्या सयौं छ । सयौं हुनु राम्रो कुरा हो । पद निश्चित हुन्छ आकांक्षीको संख्या सयौं हुन्छ । काम गर्ने चाहना भएकाहरुको उत्साहलाई मर्न नदिने गरी योजना बनाउनुपर्छ । कसले नेतृत्वलाई स्थापित गर्न सक्छ । कसले जनताको बीचमा गएर काम गर्न सक्छ । कार्यकर्ताको भावनाको सम्मान गर्न सक्छ त्यस्तोलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । भनिन्छ नेतृत्वले गर्ने सानो भुलले भविश्यमा पछुताउनुपर्ने हुन सक्छ । यसर्थ हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने छुट नेकपा एमालेका नेता कार्यकर्तालाई छैन र हुनुहुँदैन । (समाप्त)

सर्वोदय पुस्तकालयको अध्यक्षमा पुनः गौतम

राप्ती पोष्ट

घोराही, २९ बैशाख । सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङको अध्यक्षमा पुनः सुशील गौतम चयन हुनुभएको छ । सर्बोदय पुस्तकालय तथा वाचनालयको शनिबार सम्पन्न पाचौं अधिवेशनले गौतमको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्रराज पन्त, सचिवमा सुशिला आचार्य, सहसचिवमा हरि पौडेल, कोषाध्यक्षमा नुमानन्द आचार्य चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा पद्मप्रसाद शर्मा, हरिप्रसाद पाण्डेय, शारदा शर्मा, दधिराम खनाल, लक्ष्मी आचार्य, तुलसीराम राना चयन हुनुभएको छ ।

सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन वरिष्ठ साहित्यकार तथा संस्थापक नारायणप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा पुस्तकालयको मुखपत्र सर्वोदय वर्ष ३ अंक ३ को विमोचन गरिएको थियो । कार्यक्रममा बोल्दै शर्माले पुस्तकालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै अबको पुस्तालाई पठन संस्कृतिमा जोड्न आग्रह गर्नुभयो ।

सर्वोदय पुस्तकालयका पूर्व अध्यक्ष पुरुषोत्तम खनालले विभिन्न उतारचढावबाट पुस्तकालय अहिले राम्रो अबस्थामा आएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सर्वोदय बाल क्लबका सल्लाहकार नवीन श्रेष्ठ, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्य, राप्ती साहित्य परिषदका अध्यक्ष यम रेग्मी, प्रलेसका कोषाध्यक्ष चन्द्रबहादुर थापा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी लगायतले सर्वोदयले प्रकाशित गरेको मुख पत्रलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचीव डा. सुदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा सचिवको प्रतिबेदन गौतमले र कोषाध्यक्षको प्रतिवेदन नुमानन्द आचार्यले प्रस्तुत गर्नुभएको थियोे । पुस्तकालयले सो अवसरमा उत्कृष्ट पाठक तीन जनालाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा विकास लम्साल, मन्जु पुन र हरिप्रसाद बिक रहनुभएको छ ।

 

केरा खेतीमा भविष्य खोज्दै किसान

छबि पुरी /राप्ती पोष्ट

घोराही,  बैशाख । राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका विद्याबहादुर चौधरीले केरा खेतीबाट अहिले वार्षिक दश लाखसम्मको कारोबार गर्दै आउनुभएको छ । धान फलाउने खेत मासेर केरा खेती गर्न थालेपछि उहाँलाई केराले फाईदा दिई रहेको छ । तर, शुरुवाती दिनमा धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै उहाँलाई धेरै कुरा सुन्नु परेको थियो । छिमेकीले पनि धान फल्ने खेतमा के गर्न थालेको होला भनेर टिप्पणी गरे । अहिले उहाँले गरिरहनु भएको परिश्रमबाट धेरै लाभ मिलेको छ । अझैं केरा खेतीको क्षेत्रफल बढाउने हिम्मत उहाँमा पलाउँदै गएको छ ।

‘मुक्त कमैयासमेत रहनुभएका विद्याबहादुरले जीवनमा धेरै कुराको प्रयास गर्नुभयो । कमैया जीवनपछि उहाँले गाडी लाईनमा काम गर्नुभयो । त्यहाँ पनि भने जस्तो भएन । पछि केरा खेतीमा हात हाल्नुभएका विद्याबहादुरलाई अहिले कामले दाम अनि नाम दिन थालेको छ । ‘अहिले आफ्नै गाउँमा केरा फलाउँदै छु । केरा खेतीबाट आम्दानी हुन थालेको छ । यहाँ गरेको मेहनत अनुसार बजार पाउने हो भने केराले राम्रै आम्दानी दिन्छ’ उहाँले भन्नुभयो । धानखेती नगरेर केरा खेती गरेको भन्दै छिमेकीले कुरा काटे पनि अहिले केराबाट राम्रो आम्दानी भएको देखेपछि प्रशंसा गर्न थालेको उहाँ बताउनुहुन्छ ।

विद्याबहादुर चौधरीले अहिले तीन विगाहा बढी जग्गामा केरा खेती गर्नुभएको छ । सोही ठाउँका अर्का तीर्थराज ज्ञवालीले पनि ७ वर्षअघि थोरै बोटबाट केरा खेतीको व्यावसायिक खेती सुरु गर्नुभएको थिया । अहिले उहाँको केरा खेती ५० कठ्ठामा फैलिएको छ । चाडपर्व र सिजनलाई हेरेर केरा खेती गरिएको तीर्थराजको भनाई छ ।

दाङमा केरा खेतीको लागि उपयुक्त हावापानी छ । जसले गर्दा धान खेती गर्दै आएका किसानले धानको सट्टा केरा खेती गर्न थालेका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ७ मा करिब २६ विगाहाा बढी जग्गामा केराको व्यवसायिक खेती गरिएको छ । ‘बजारको व्यवस्थापन हुने हो भने ढुक्कसँग केरा खेती फैलाउन सक्छौँ,’ ज्ञवालीले भन्नुभयो, ‘बजार व्यवस्थापनमा मात्रै सरकारले सहयोग गर्ने हो भने हामीलाई हौसला मिल्ने थियो । हामीले सकेजति कोशिस गरिरहेका छौँ ।’

युवराज पन्थी पनि केरा खेतीमै आवद्ध भई काम गरिरहनुभएको छ । जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लाग्नुभएका उहाँले निरास भइहाल्ने अवस्था नरहेको बतानुभयो । उत्पादित केराको बजार सुनिश्चित हुने हो भने केरा खेतीको क्षेत्रफल बढाउन सकिने धेरै केरा खेती गर्दै आएका किसानको भनाई छ । राप्ती गाउँपालिकामा केरा खेतीमा संलग्न किसानहरु संगठित पनि भएका छन् । किसानहरुले बनाएको समूहले केरा खेतीको लागि आवश्यक पर्ने सहयोगको लागि स्थानीय तथा प्रदेश सरकारसँग पहल गरिरहेको छ ।

‘हामीलाई ढुक्कका साथ उत्पादन गर्न सक्ने गरी वातावरण बनेको केराको बजार चाहिएको छ । उत्पादन गरेका केराले बजार र मूल्य दुवै पाउने अवस्थाको वातावरण बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा समस्या समाधान गर्न सरकारले ध्यान दिनैपर्छ । किनकी यसका हाम्रो आर्थिक लगानीसँगै श्रम र समयसमेत परेको छ । यसमै हामीले भविष्य देख्न चाहेका छौँ ।’

उसो त, कतिपय ठाउँमा किसानरुले स्वस्फुर्त केरा खेतीमा संलग्न भएपछि उत्पादन बढेको बताउने गरिएको छ । जिल्लाका लालमटिया, सिसहनिया, सतबरिया, गढवा, गंगापरस्पुर, तुलसीपुर, पवननगर, फूलबारीलगायत ठाउँका कृषक केरा खेतीतर्फ आकर्षित छन् । स्थानीय बजारमा खपत हुने केरा जिल्लामै उत्पादन गर्न सकिने र त्यसका लागि आफ्नो खेतबारीको माटो उपयुक्त भएकाले केरा खेतीतर्फ आकर्षित भएको लालमटियाका कृषक कुलराज जैशी बताउनुहुन्छ ।

लमहीका शिवप्रसाद चौधरीले पनि उइलियम जातको केरा रोपेर व्यावसायिक खेती शुरू गर्नुभएको धेरै भईसक्यो । फलफूल खेतीमा दाङमा सबैभन्दा बढी कृषकको माग नै केरामा रहेको कृषि ज्ञान केन्द्रको भनाई छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करीब ८ सय हेक्टर क्षेत्रफलमा झण्डै १२ सय कृषकले मात्रै व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेती जिल्लाको राम्रो सम्भावित फलफूल खेती रहेको र कृषकको आयआर्जनको राम्रो स्रोतको व्यवसाय बन्न सक्ने ज्ञान केन्द्रले जनाएको छ ।