spot_img
spot_img

दाङमा एमालेको नेतृत्व र आगामी कार्यभारहरु –३

अन्तिम खण्ड

शरद अधिकारी

नेकपा एमाले दाङको अधिवेशन आउन एक साता मात्रै बाँकी रहेको छ । अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आउने निश्चित भएको छ । अधिवेशनको तयारीका लागि प्रतिनिधि छनौट भइसकेको छ । २० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन गरिएको छ । जसमध्य ३३ प्रतिशत संख्या महिलाको छ । दलितको हकमा बेग्लै व्यवस्था गरिएको छ । यद्दपि दलित र महिलाको हकमा अन्य प्रतिनिधि सरह प्रतिनिधित्व भएको छ । जिल्लाका एक सय वटा वडाबाट प्रतिनिधि चयन गरिएको छ । एक साथ सवै वडामा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्ने काम भएको छ । निर्वाचन लोकतान्त्रिक विधि हो भनिएपनि यस्ता अधिवेशनमा जाने प्रतिनिधि चयनका लागि सर्वसम्मत सवैभन्दा राम्रो विधी हुन्छ । सर्वसम्मत रुपमा आएका सवै प्रतिनिधिहरुलाई बधाई र शुभकामना । नेकपा एमाले दाङ जिल्ला अधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने हो । आज भन्दा दुई बर्ष अघि देशभर जिल्ला अधिवेशन भएका थिए । जिल्ला जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधित्व गरिएको थियो । यस पटक विभिन्न जिल्लामा निर्वाचनबाट कार्यसमिति चयन गरेको कुरा सुन्नमा आइरहेको छ । अव दाङ जिल्लामा के होला ? भन्ने प्रश्न धेरैको मनमा छ । निर्वाचन गर्नुपर्छ । निर्वाचन गरेपछि कार्यकर्ताले रुचाएको नेतृत्व आउँछ भन्नेहरु धेरै छन् । निर्वाचन गर्नु हुँदैन । पार्टीको अधिवेशनमा निर्वाचन नगर्दा पनि हुन्छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मत पनि जवरजस्त रहेको छ । नेतृत्व चयन कसरी गर्ने भन्ने विषय प्राविधिक बिषय हो । मुल कुरा जिम्मेवारी पाउने नेतृत्वले दाङ जिल्लामा नेकपा एमालेलाई स्थापित गर्न कसरी काम गर्दछ भन्ने हो । नेकपा एमालेप्रति आशा गर्ने र भरोसा गर्ने हजारौं नागरिकको भावनाको प्रतिनिधित्व गर्नै नेतृत्व आउनुपर्छ भन्ने चाहना सवैको छ । अव आउने नेतृत्वले निम्न काम गर्नुपर्छ ।

एमालेको मिसनमा ध्यानः

नेकपा एमालेको ध्यान अव आउने निर्वाचनमा छ । अव आउने निर्वाचन अर्थात २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेको ध्यान जानु भन्नुको अर्थ उक्त निर्वाचनमा बहुमत ल्याउने गरेर जाने नेतृत्व अहिलेका लागि चाहिएको छ । मिसन ८४ त्यसै आएको होइन । २०७९ मा भएको निर्वाचनमा नेकपा एमालेले सोचेको जस्तो परिणाम हासिल गर्न सकेन । विपक्षमा गठवन्धन रहेका कारणले गर्दा यस्तो परिणाम आयो भन्ने एउटा कुरा हो तर यहि निर्वाचनमा हुनुपर्ने जति जनपरिचालन नभएका कारणले गर्दा समस्या भएको हो । गएको निर्वाचनमा एमालेले सिंगो शक्ति परिचालन गरेको भए दाङ जिल्लामा अहिलेको भन्दा बढी जितिन्थ्यो । उमेदवारी दिंदा जनताका बीचमा कसको लोकपृयता बढी छ भनेर अध्ययन गरेको भए परिणाम अर्को आउने थियो । २०७४ सालमा भएको निर्वाचनमा पेशागतमा आवद्ध रहेका मित्रहरुको सहयोगमा हरेक बडामा सर्भे गरिएको थियो । सोही आधारमा दाङ जिल्लामा छ वटा पालिकामा प्रमुख र चारवटा पालिकामा उप प्रमुख जित्न सकिएको थियो । यसपटकको अधिवेशनबाट आउने नृेतृत्वको ध्यान पार्टीलाई कसरी ठूलो पार्टी बनाउने, कसरी बढी भन्दा बढी वडा, बढी भन्दा बढी पालिका र प्रदेश अनि संघमा बढी भन्दा बढीमा जित हासिल गर्ने भन्नेमा हुनुपर्छ । यसका लागि निम्न काम गर्नुपर्छ ।
क) सदस्यहरुको खोजी र कामको जिम्मेवारी दिने कुरामा पूर्वाग्रह त्याग्नुपर्ने ।
ख) क्षमताको पहिचान गर्ने र सोही अनुसार जिम्मेवारी प्रदान गर्नुपर्ने ।
ग) अग्रजको सम्मान, नयाँलाई प्रोत्साहन गर्ने कुरालाई नेतृत्वले ख्याल गर्नुपर्ने ।
घ) विभिन्न क्षेत्रमा पार्टीको प्रतिनिधित्व बृद्धि गर्ने कुरालाई पार्टीको मुल विषय बनाउने ।
एक्लै दौडने होइन, सामूहिकताको खाँचोः
पार्टी नेतृत्वमा रहने व्यक्तिले आफू दौड्ने भन्दा कार्यक्रम र कार्ययोजना बनाएर परिचालन गर्न सक्नुपर्छ । साना तिना काममा चासो दिने, साना तिना कुरामा ध्यान दिने, आफूले गर्दा ठिक अरुले गर्दा बेठिक भन्ने भावना त्याग्नुपर्छ । पार्टीको काम एक्लै हुँदैन । यो सामुहिक भावनाका साथमा मात्रै अघि बढ्छ । पार्टी भनेकै सामुहिकतामा काम गर्ने हो । निर्णय गर्नु अघि व्यापक छलफल गर्नुपर्छ भन्ने भावना नेतृृत्वमा जाग्नुपर्छ । निर्णय गर्दा कठोर बन्ने अनि कार्यान्वयनमा सवैको अपनत्व हुने गरी गर्नुपर्छ । पार्टी कमिटी जहिले पनि माथिल्लो निर्देशनबाट चल्छ । तर तल्ला तहका कमिटीहरुले आफै पनि योजना बनाउन सक्छन् । सेल कमिटीहरु आफै योजना बनाउने र कार्यान्वयनका लागि सक्षम छन् । वडा कमिटीहरु आफैमा शक्तिशाली कमिटी हुन । जिल्ला अधिवेशनको बेलामा प्रतिनिधि चयन गर्दा वडा कमिटीको शक्ति सवैभन्दा बढी हुन्छ । वडाबाट छनौट भएको प्रतिनिधि जिल्ला कमिटीमा उठ्ने हैशियत राख्छ । यसर्थ साना कमिटीमा ध्यान दिनुपर्छ । माथिल्ला कमिटी ताक्ने, साना कामलाई ध्यान नदिने जुन परिपाठी रहेको छ नेतृत्वले यसलाई चिर्नुपर्छ । पार्टीको काम भनेकै सामुहिकतामा गर्ने हो । एक्लै गरेर होइन सवैलाई अपनत्व गराएर कामा गर्नुपर्र्छ ।

जन संगठनको परिचालनमा ध्यान

नेकपा एमाले दाङमा नेतृत्व गर्नेले जन संगठनमा ध्यान दिनै पर्दछ । जनसंगठनहरु समयमा बैठक बस्छन कि बस्दैनन् । जनसंगठनहरुले के निर्णय गर्दछन् । के कार्यक्रम गर्दछन् । कस्ता कार्यक्रम गर्दछन । ति सवै पार्टीको हितमा छन कि छैनन ? यो कुरालाई ध्यान दिनुपर्छ । जनसंगठनको परिचालन व्यवस्थित रुपमा गर्ने हो भने दाङ जिल्लामा नेकपा एमालेलाई कुनै निर्वाचन जित्न गाह्रो हुँदैन । जनसंगठनहरु हिजो आज निष्कृय भएका छन् । कुनै कार्यक्रम छैन । कुनै योजना छैन । कुनै उत्साह छैन । जसले गर्दा पटक पटकका निर्वाचन हारिन्छ । दाङ जिल्लालाई एमालेको गढ बनाउने हो भने जनसंगठनको परिचालनलाई ध्यान दिनुपर्छ । नेकपा एमालेको विधान अनुसार अनुसूची–१ र अनुसूची–२ गरेर दुई प्रकारका जनसंगठन रहेका छन् । अनुसूची १ मा निम्न संगठन रहेका छन् ।
१. अखिल नेपाल महिला संघ
२. अखिल नेपाल किसान महासंघ
३. नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
४. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
५. राष्ट्रिय युवा संघ नेपाल
६. नेपाल उत्पीडित जातीय मुक्ति समाज
७. लोकतान्त्रिक आदीवादी जनजाति महासंघ, नेपाल
८. पेशागत महासंघ नेपाल
९. नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ
१०. नेपाल खेलकुद महासंघ
अनुसूची– अन्तरगत निम्न संगठन रहेका छन् ।
१. प्रेस चौतारी नेपाल
२. राष्ट्रिय जनसांस्कृतिक महासंघ
३. नेपाल बुद्धिजीवी परिषद
४. राष्ट्रिय स्वास्थ्यकर्मी संघ
५. नेपाल भूमिहिन सुकुम्वासी संगठन
६. नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन
७. प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन
८. लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल
९. प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल
१०. मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल
११. नेपाल मुस्लिम इत्तेहाद संगठन
१२. रिटर्नी फेडेरेशन नेपाल
मुल रुपमा दुई खालका जनसंगठन रहेको भएपनि यि दुई भित्र अरु धेरै घटकहरु रहेका छन् । पेशागत महासंघ अन्तरगत मात्रै एक दर्जन बढी संगठनहरु रहेका छन् । यस्तै किसान महासंघ अन्तरगत पनि विभिन्न उत्पादक संगठनहरु रहेकाछन् । नेकपा एमालेलाई बलियो बनाउने यि र यस्ता संगठनहरुको परिचालन व्यवस्थित रुपमा हुन सकेको छैन । यि सवैको गठन पुनःगर्ठनको अवस्था के कस्तो छ ? चलायमान छन या छैनन् ? गतिविधि गरिरहेका छन कि छैनन ? यस्ता विषयमा नेतृत्वले चासो दिएको पाइदैन । विद्यार्थी, युवा, महिला, किसान र मजदुर गरेर पाँचवटा क्षेत्रलाई सवैभन्दा महत्वपूर्ण क्षेत्रका रुपमा राख्नुपर्छ । दाङ जिल्लामा यि मध्य महिलाको मात्रै अलिकति गतिविधि देखिएको छ । अरु संगठन के गरिरहेका छन भन्ने बारेमा आम रुपमा जानकारी हुँदैन । नेतृत्वको जिम्मेवारी लिएकाहरुको काम नै यहि हो । विद्यार्थीहरुलाई संगठित गर्ने, विद्यालयमा जाने, क्याम्पसमा जाने, विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने काम भइरहेको छैन । किसानको कुरा गर्ने हो भने किसानलाई संगठित गर्नका लागि बेग्लै कार्यक्रम केन्द्र देखि जिल्लासम्म ल्याउनुपर्छ । नेकपा एमाले मुल रुपमा किसान र मजदुरको पार्टी हुनुपर्ने हो । किसानहरुलाई संगठित गर्ने काममा अत्यन्त सुस्तता रहेको छ । किसानहरुले समस्या भोगिरहेका छन् । किसानहरुले मल पाउँदैनन् । किसानले विउ पाउँदैनन् । किसानले औजार पाउँदैनन् । पार्टी नेतृत्वले यो कुरामा नेतृत्व लिनुपर्ने हो । किसान अन्तरगत विभिन्न घटकहरु रहेका छन् ति के गर्दैछन ? संगठित छन कि छैनन् ? यस्ता विषयमा ध्यान दिने काम नेतृत्वले गरेको छैन । मजदुरको कुरा गर्ने हो भने कम्युनिष्टको मुल स्रोत हो । मजदुर आन्दोलनबाट विकास हुँदै जाँदा कम्युनिष्ट आन्दोलन अघि बढेको छ । विश्वका मजदुर एक हौं भन्ने नारा लगाउने कम्युनिष्टहरुले मजदुरलाई संगठित गर्न सकिरहेका छैनन् । यो सवै किन भइरहेको छ ? नेतृत्वले यस्ता कुरामा ध्यान दिन सकेको छैन । नेतृत्व तपशिलमा अल्झिएको छ । जितमा बधाई र निधनमा समवेदना दिने काममा अघि देखिने नेतृत्वले व्यवस्थापनका काममा ध्यान दिएको देखिदैन । जसले गर्दा परिणाम निकाल्ने समयमा पराजयसंग साक्षात्कार हुन्छ । सामाजिक विषयमा चासो
राजनीति भनेको निर्वाचन देखि निर्वाचनसम्म मात्रै हो कि अरु केही हो ? राजनीति भित्र सेवाको पाटो सवैभन्दा बलियो हुन्छ । अहिलेको राजनीतिमा सेवाको पाटो कहाँनेर छ भनेर सुक्ष्मदर्शक यन्त्र लिएर खोज्नुपर्ने हुन्छ । राजनीतिमा स्वार्थ मात्रै देखिन्छ । राजनीतिमा सेवा देखिदैन । प्रहरीमा पुगेको मानिसलाई छुटाएर पैसा खाने, कतै तस्करी भइरहेको छ भने त्यहाँ कुरा मिलाउने र स्वार्थ लिने । ठेक्का पट्टामा कुरा मिलाउने र त्यहाँबाट आफ्नो भाग लिने प्रवृत्ती हावी भएको छ । राजनीति भनेको सेवा हो भन्ने मान्ने हो यस्ता कुरामा ध्यान दिनेहरुलाई पार्टीमा राख्नै हुँदैन । जसले सेवाको काम गर्दछ । जसले सहयोगको भावना बोकेर काम गरिरहेको छ त्यस्तोलाई मात्रै पार्टीमा स्थान दिने र जिम्मेवारी दिने काम गर्नुपर्छ । पार्टीमा श्रमजिवी बर्ग देखि लिएर पूँजीपतीको उपस्थिती हुन्छ । पार्टीमा सवैलाई समेट्नुपर्छ । तर पूँजीपतीको अनुहार हेरेर नीति बनाउने र निर्णय गर्ने काम गरियो भने त्यो सवैभन्दा घातक हुन्छ । जसले केही खर्च गर्न सक्छ । जसले केही दिन सक्छ । जसले केही खानपानमा खर्च गर्दछ उसलाई पार्टीमा राम्रो स्थान दिने तर जसले बर्षौदेखि पार्टीका नाममा खटिएको छ । पार्टीको नाममा अडेको छ । जसले आफ्नो लागि कहिल्यै सोचेन त्यस्ताका लागि सोच्ने नेतृत्व चाहिएको छ । नेकपा एमाले दाङमा नेतृत्वगर्नेले सामाजिक विषयमा व्यापक चासो दिनुपर्छ । विकास निर्माणको काममा चासो दिनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि चासो दिनुपछृ । सेवा प्रवाहका नागरिकको सन्तुष्टिको अवस्था के कस्तो छ भन्ने बारेमा मूल्याङ्कन गर्नुपर्छ । नागरिकको चासो र चिन्ता पार्टीको पनि चासो र चिन्ता हुनुपर्छ । कतिपय विषयहरुलाई हामी अरुलाई छोडिदिन्छौं ।
यतिवेला राजनीतिमा आकर्षण घट्दै गइरहेको छ । राजनीतिमा युवाको सहभागिता छैन । यो बिषयमा छलफल, बहस र अन्तरक्रिया आवश्यक होइन र ? पक्कै पनि यो विषयमा सार्वजनिक रुपमा बहस गर्नुपर्छ । राजनीतिले के दियो ? राजनीतिले के दिनुपर्ने थियो ? राजनीतिबाट युवाहरु के आशा गर्दछन् ? युवाहरुले राखेको चासो र चिन्ता पार्टी नेतृत्वको चासो र चिन्ताको बिषय बन्छ कि बन्दैन । युवाहरुको सहभागिताको मात्रै प्रश्नको विषय होइन । यस्ता धेरै विषयहरु छन् जसका बारेमा बहस र छलफल समयले माग गरिरहेको छ । यस्ता विषयमा चासो दिने र छलफल गर्ने काममा नेतृत्वले ध्यान दिनुपर्छ ।

असन्तुष्टिको व्यवस्थापन

हामी सवैलाई के कुरा थाहा छ भने अग्रजहरुको योगदानकै कारणले गर्दा पार्टी आजको अवस्थामा आइपुगेको छ । यसर्थ अग्रजहरुको सम्मान गर्ने कुरामा नेतत्वको ध्यान जानुपर्छ । नेकपा एमालेमा कसैले असन्तुष्टि व्यक्त ग¥यो भने त्यसको व्यवस्थापन हुँदैन । उचित व्यवस्थापन गर्ने हो भने नमान्ने कोही हुँदैन । यसपाली यस कारणले गर्दा सम्भव भएन भनेर भन्ने हो भने कसले मान्दैन र ? तर नेकपा एमालेमा असस्तुष्टिको व्यवस्थापन गरिदैन । जसले गर्दा बर्षौसम्म पार्टीको लागि भनेर लागेकाहरु निरास बनेका देखिन्छन । सदस्यता नविकरण नगर्ने । कार्यक्रममा उपस्थित नहुने । विभिन्न अभियानमा सहभागी नहुने गरेका घटना पछिल्लो समय बढेका छन् । पार्टीमा देखिने असन्तुष्टि सम्वोधन गर्नका लागि पहल गर्ने, राम्रो कुराको प्रचार बाहिर गर्ने र आलोचना गर्नु परेमा कमिटी पद्दतिमार्फत गर्ने राजनीतिक संस्कार विकास गर्ने काम हुन सकेको छैन । हामीले कस्तो राजनीतिक संस्कार विकास गरिरहेका छौं । हामीले कस्तो मान्यता स्थापित गर्न खोजिरहेका छौं । हामीले गर्न खोजेको यहि थियो कि ? हामीले स्थापित गर्न खोजेको राजनीतिक मूल्य र मान्यता यो भन्दा फरक थियो ? यस्ता विषयमा कहिले बहस छलफल हुन्छ ? स्वस्थ आलोचना नेतृत्वको पनि गर्न मिल्छ । नेतृत्वले गुनासो सुन्ने गर्नुपर्छ । असन्तुष्टिको तह कस्तो छ त्यसको मापन गर्नुपर्छ । व्यक्तिगत तहको असन्तुष्टि हो कि ? सांगठनिक तहको हो कि ? व्यक्तिगत स्वार्थपूर्ती नभएका कारणले असन्तुष्टि व्यक्त गरिरहेको हो कि ? सामुहिक स्वार्थका लागि केही कुरा भनेको थियो त्यो कुरा पुरा नभएको हो भन्ने बारेमा स्पष्ट हुनुपर्छ । नेतृत्वमा रहनेले धेरै कुरा सुन्नुपर्छ । कुरा राम्रो हुन सक्छ । कुरा नराम्रो पनि हुन्छ । राम्रो र नराम्रो जस्तो कुरा भएपनि सुन्ने र मनन गर्ने काममा नेतृत्वले हिच्किचाहट गर्नु हुँदैन ।

पालिकाहरुसंगको सहजिकरण

दाङ जिल्लामा १० वटा पालिका छन् । १० वटा पालिकामा ४० वटा वडामा नेकपा एमालेका जनप्रतिनिधि प्रमुख भूमिकामा छन् । दुईवटा वडाको मेहनतले अर्को एउटा वडामा जित हासिल गर्न सक्ने भने अवको निर्वाचनमा दाङ जिल्लामा ६० वटा वडा जित्नु कुनै गाह्रो हुनेछैन । अहिले पनि पार्टीले नेतृत्व गरेका वडाले अरुले भन्दा फरक काम गरेका छन् भन्ने उदाहरणको चर्चा बाहिर भएको देखिदैन । एमालेका जनप्रतिनिधिहरुले अरुले भन्दा राम्रो काम गरेका छन भन्ने कुरा भाषणमा होइन काममा देखिनुपर्छ । जवसम्म काममा परिणाम देखिदैन तवसम्म भनेको कुरा कसरी पत्याउनु । झुठको निम्तो खाइ पत्याउनु भनेझै दाङ जिल्लालाई नेकपा एमालेको लालकिल्ला बनाउने कुरा नारामा होइन यथार्थमा बनाउनुपर्छ । नेकपा एमालेले जितेका वडाहरुको मात्रै कुरा होइन त्यो भन्दा बाहेका वडामा विकासको योजना एमालेले दिन सक्छ । पालिकाहरुमा पुगेर विकासको खाका पेश गरेको अहिलेसम्म सुनिएको छैन । वडा कमिटीले वडा कार्यालयमा र पालिका कमिटीले पालिका कार्यालयमा पुगेर आफ्ना तर्फबाट विकासको खाका प्रस्तुत गर्ने काम किन अहिलेसम्म नगरेका भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन । पार्टीका पालिका कमिटी, पाटीका पालिका कमिटीहरुलाई चलायमान बनाउनका लागि त कार्यक्रम दिनुपर्छ । कार्ययोजना दिनुपर्छ । वडा कमिटीका अध्यक्षहरुले हरेक दिन के काम गरे । कहाँ गए । कस्को काम गरेर भनेर रेकर्ड राख्दा साथ धेरै कुरा आउँछ । जनप्रतिनिधीहरुले के काम गरे भन्ने रेकर्ड राख्ने हो भने पनि धेरै कुरा आउँछ । घोराही र तुलसीपुरका प्रमुख उप प्रमुख, राप्तीकी उप प्रमुख, चालिस वडाका अध्यक्ष, ति वडाका सदस्यहरु सवै गर्दा करिव दुई सय जनशक्ति जिल्लामा रहेको छ । यो जनशक्तिलाई मात्रै बोलाएर भइरहेको कामको समीक्षा र आगामी दिनमा गर्ने कामको कार्यँयोजना बनाउने काम भएको भन्ने अहिलेसम्म सुनिएको छैन । हामी तपशिलमा अल्झिएका छौं भन्ने कुरा नेतृत्वले मान्ने हो भने मात्रै धेरै समस्या समाधान हुन्छ ।

गुटको अन्त्य, मुलप्रवाहको यात्रा आवश्यक

मुलतः नेकपा एमालेमा अहिले गुट मुख्य नेतृत्वको तहमा छैन । तल्लो तहमा देखिने गुट भनेको भावनात्मक रुपमा भएको लगाव हो । भावना मिल्नेहरुको एउटा समूह बन्न सक्छ । अधिवेशनको क्रममा यस्तो एकता देखिनु स्वभाविक कुरा हो । यसलाई गुटको रङ दिनु नै गल्ती हो । नेकपा एमालेमा गुट थियो तर अहिले छैन । भोलीका दिनमा के हुन्छ त्यो भोलीको कुरा हो । आजका दिनमा जुन रुपमा एकतावद्ध रुपमा एमाले अघि बढेको छ त्यहि रुपमा नेताहरु कार्यकर्तालाई साथमा लिएर हिड्नुपर्छ । नेकपा एमाले दाङमा पनि कुनै गुट रहेको छैन । दाङ जिल्लामा गुटको अन्त्य गर्ने काम २०७३ बाटै गरिएको थियो । जतिवेला टिकाराम खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरियो त्यहिनेरबाट जिल्लामा गुट अन्त्य भएको हो । अव गुटमा रमाउने भन्दा काममा प्रतिष्पर्धा गर्नुपर्छ । जिम्मेवारी लिने, जिम्मेवारी पुरा गर्नेहरुलाई पुरस्कृत गर्नुपर्छ । नेतृत्वमा ल्याउँदा नातावाद, कृपावाद होइन सामुहिक भावनाका साथ अघि बढन सक्ने सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । कार्यकर्तालाई छनौटको अधिकार आयो भने जिल्लालाई सहि तरिकाले चलाउन सक्ने व्यक्ति चुन्ने छन् । सर्वसम्मतीको बातावरण बन्यो भने सोही अनुसार नेतृत्वले विवेक प्रयोग गर्नुपर्छ । नेतृत्वले गर्ने सानो भुलले भविश्यलाई प्रहार हुन सक्छ भन्ने कुरामा सचेत हुुनुपर्छ ।
अन्त्यमाः नेकपा एमाले दाङको १४ औं अधिवेशन सामुन्नेमा छ । नेतृत्वमा आउने चाहना भएकाहरुको संख्या सयौं छ । सयौं हुनु राम्रो कुरा हो । पद निश्चित हुन्छ आकांक्षीको संख्या सयौं हुन्छ । काम गर्ने चाहना भएकाहरुको उत्साहलाई मर्न नदिने गरी योजना बनाउनुपर्छ । कसले नेतृत्वलाई स्थापित गर्न सक्छ । कसले जनताको बीचमा गएर काम गर्न सक्छ । कार्यकर्ताको भावनाको सम्मान गर्न सक्छ त्यस्तोलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । भनिन्छ नेतृत्वले गर्ने सानो भुलले भविश्यमा पछुताउनुपर्ने हुन सक्छ । यसर्थ हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने छुट नेकपा एमालेका नेता कार्यकर्तालाई छैन र हुनुहुँदैन । (समाप्त)

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार