spot_img
spot_img

केरा खेतीमा भविष्य खोज्दै किसान

छबि पुरी /राप्ती पोष्ट

घोराही,  बैशाख । राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका विद्याबहादुर चौधरीले केरा खेतीबाट अहिले वार्षिक दश लाखसम्मको कारोबार गर्दै आउनुभएको छ । धान फलाउने खेत मासेर केरा खेती गर्न थालेपछि उहाँलाई केराले फाईदा दिई रहेको छ । तर, शुरुवाती दिनमा धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै उहाँलाई धेरै कुरा सुन्नु परेको थियो । छिमेकीले पनि धान फल्ने खेतमा के गर्न थालेको होला भनेर टिप्पणी गरे । अहिले उहाँले गरिरहनु भएको परिश्रमबाट धेरै लाभ मिलेको छ । अझैं केरा खेतीको क्षेत्रफल बढाउने हिम्मत उहाँमा पलाउँदै गएको छ ।

‘मुक्त कमैयासमेत रहनुभएका विद्याबहादुरले जीवनमा धेरै कुराको प्रयास गर्नुभयो । कमैया जीवनपछि उहाँले गाडी लाईनमा काम गर्नुभयो । त्यहाँ पनि भने जस्तो भएन । पछि केरा खेतीमा हात हाल्नुभएका विद्याबहादुरलाई अहिले कामले दाम अनि नाम दिन थालेको छ । ‘अहिले आफ्नै गाउँमा केरा फलाउँदै छु । केरा खेतीबाट आम्दानी हुन थालेको छ । यहाँ गरेको मेहनत अनुसार बजार पाउने हो भने केराले राम्रै आम्दानी दिन्छ’ उहाँले भन्नुभयो । धानखेती नगरेर केरा खेती गरेको भन्दै छिमेकीले कुरा काटे पनि अहिले केराबाट राम्रो आम्दानी भएको देखेपछि प्रशंसा गर्न थालेको उहाँ बताउनुहुन्छ ।

विद्याबहादुर चौधरीले अहिले तीन विगाहा बढी जग्गामा केरा खेती गर्नुभएको छ । सोही ठाउँका अर्का तीर्थराज ज्ञवालीले पनि ७ वर्षअघि थोरै बोटबाट केरा खेतीको व्यावसायिक खेती सुरु गर्नुभएको थिया । अहिले उहाँको केरा खेती ५० कठ्ठामा फैलिएको छ । चाडपर्व र सिजनलाई हेरेर केरा खेती गरिएको तीर्थराजको भनाई छ ।

दाङमा केरा खेतीको लागि उपयुक्त हावापानी छ । जसले गर्दा धान खेती गर्दै आएका किसानले धानको सट्टा केरा खेती गर्न थालेका छन् । राप्ती गाउँपालिकाको वडा नम्बर ७ मा करिब २६ विगाहाा बढी जग्गामा केराको व्यवसायिक खेती गरिएको छ । ‘बजारको व्यवस्थापन हुने हो भने ढुक्कसँग केरा खेती फैलाउन सक्छौँ,’ ज्ञवालीले भन्नुभयो, ‘बजार व्यवस्थापनमा मात्रै सरकारले सहयोग गर्ने हो भने हामीलाई हौसला मिल्ने थियो । हामीले सकेजति कोशिस गरिरहेका छौँ ।’

युवराज पन्थी पनि केरा खेतीमै आवद्ध भई काम गरिरहनुभएको छ । जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लाग्नुभएका उहाँले निरास भइहाल्ने अवस्था नरहेको बतानुभयो । उत्पादित केराको बजार सुनिश्चित हुने हो भने केरा खेतीको क्षेत्रफल बढाउन सकिने धेरै केरा खेती गर्दै आएका किसानको भनाई छ । राप्ती गाउँपालिकामा केरा खेतीमा संलग्न किसानहरु संगठित पनि भएका छन् । किसानहरुले बनाएको समूहले केरा खेतीको लागि आवश्यक पर्ने सहयोगको लागि स्थानीय तथा प्रदेश सरकारसँग पहल गरिरहेको छ ।

‘हामीलाई ढुक्कका साथ उत्पादन गर्न सक्ने गरी वातावरण बनेको केराको बजार चाहिएको छ । उत्पादन गरेका केराले बजार र मूल्य दुवै पाउने अवस्थाको वातावरण बनाउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा समस्या समाधान गर्न सरकारले ध्यान दिनैपर्छ । किनकी यसका हाम्रो आर्थिक लगानीसँगै श्रम र समयसमेत परेको छ । यसमै हामीले भविष्य देख्न चाहेका छौँ ।’

उसो त, कतिपय ठाउँमा किसानरुले स्वस्फुर्त केरा खेतीमा संलग्न भएपछि उत्पादन बढेको बताउने गरिएको छ । जिल्लाका लालमटिया, सिसहनिया, सतबरिया, गढवा, गंगापरस्पुर, तुलसीपुर, पवननगर, फूलबारीलगायत ठाउँका कृषक केरा खेतीतर्फ आकर्षित छन् । स्थानीय बजारमा खपत हुने केरा जिल्लामै उत्पादन गर्न सकिने र त्यसका लागि आफ्नो खेतबारीको माटो उपयुक्त भएकाले केरा खेतीतर्फ आकर्षित भएको लालमटियाका कृषक कुलराज जैशी बताउनुहुन्छ ।

लमहीका शिवप्रसाद चौधरीले पनि उइलियम जातको केरा रोपेर व्यावसायिक खेती शुरू गर्नुभएको धेरै भईसक्यो । फलफूल खेतीमा दाङमा सबैभन्दा बढी कृषकको माग नै केरामा रहेको कृषि ज्ञान केन्द्रको भनाई छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करीब ८ सय हेक्टर क्षेत्रफलमा झण्डै १२ सय कृषकले मात्रै व्यावसायिक केराखेती गर्दै आएका छन् । केराखेती जिल्लाको राम्रो सम्भावित फलफूल खेती रहेको र कृषकको आयआर्जनको राम्रो स्रोतको व्यवसाय बन्न सक्ने ज्ञान केन्द्रले जनाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img