अनुभूति
वसुन्धरा गौतम
पितृसता, पुरुषप्रधान समाज, छोरा छोरीबीचको भेद मैले धेरै पछि वुझेकी हुँ । मेरी आमाले भदौ महिनाको कृष्णाजन्मष्टमी पर्वकै दिनमा मलाइ सातौं सन्तानको रुपमा जन्माउनु भो । मेरी आमाले नौ महिनामा गर्भमा राखेर मलाइ यो सुन्दर संसारमा ल्याउनु भयो । तर जव म भुइमा झरें आमाले सोध्नु भएछ । सुडेनी सुत्केरी गराउने स्याहार सुसार गराउने सवै काम त्यतिबेला थारु जातीका महिलाले सुडेनीको काम गर्थे अरे । सायद सरसफाइ राम्रो हातको कला सवथोक भएर पनि होला उनीहरुलेनै यो काम गर्थे अरे । उनै सुडेनी वड्कीलाई के हो वड्की भन्नुभएछ । वड्कीको निराशा मिसीएको जवाफ पाउनु भएछ ‘अभी फेन छाइ हो वजै’ भनीछन् ।
आमा सारै निरास हुनुभो अरे । अनि आमाको मुखवाट एकाएक जवाफ आएछ । ‘वड्की भो यत्तिकै छोडीदेउ’ भन्नु भएछ । साल नाल छुटाएर भुइमा परेकी म । कमेरो शरीरवाट रगत वग्न थालेछ । यत्तिकैमा मेरी ठूली दिदी भित्र वच्चा रोएको सुनेर आउनु भएछ । यसो हेरेको रगतको आहालमा डुवेकी सानी वहीनी देख्नु भएछ । अनि दिदीले भन्नु भएछ । ‘वड्की नफाल्देउ यती राम्री वहीनी छ लौ यो डोरीले वाधीदेउ’ भनेर आफुले जनैपुर्णीमामा बाँधेको डोरी खोलेर दिनुभएछ । अनी मेरो नाभी वाधीँदिइछन् वडकीले । अनि आमा धेरै बेर रुनु भएछ । मेरो भाग्यमा छोरा कहिले लेखेका होला फेरि छोरी जन्माइ भन्ने सुन्ने पर्ने । छोराको पर्खाइमा वर्षेनी वच्चा जनमाउनु विधाताले पनि पाँच वर्ष की हुदा वुवा खोसे । दाइ दिदी मरे । मलाई यही सव भोग्नु थियो र वाँचेकी रहेछु भनेर आफनो जन्मलाइ धिकार्दै मलाइ दुध खुवाउनु भएछ । आमालाइ सन्तानको माया नलाग्ने काँ हो र ।
समाज परिवार सवैले छोरालाइ मात्र आफनो वंश ठान्ने त्यतीवेलाको समाज । यसको पिडाले आमालाइ त्यस्तो सोच्न वाध्य वनाएर आमाले मलाइ त्यतिकै छाडने मनस्थितीमा पुगायो । तर आफनो सन्तान नौ महीनासम्म गर्भमा राखेर जन्माएको आमालाई सन्तानको माया नलाग्ने का हो र । यो सव आमाले पछी मलाइ सुनाउनु भो र मैले थाहा पाएकी । अझ त्यतीमात्र कहा होर वुवा एकपटक आफन्तीको घरमा पहाड पुग्नु भएछ । आफन्तिले ‘कान्छीले छोरा जनमाउन सकिनन् अव अर्को विहे गर कान्छा’ भनेछन । वुवालाइ केटी देखाएर विवाह गराउने वनाएछन । तर त्यस रातभर वुवा सुत्नु भएन अरे । अनी सोच्नु भएछ त्यती सानैमा नौ वर्षको उमेरमा विवाह गरेर ल्याएकी उसलाइ रुवाउनु हुँदैन मैले भन्ने लागेछ । वुवाले उपाए निकाल्नु भएछ । विहे गर्नलाइ केही गहना, पैसा, कपडा चाहीयो । म एकपटक घर गएर आउछु भनेर वुवा आउनु भो अरे । अनी आमासंग वुवाले यी सव कुरा भन्नु भएछ, सायद ।
त्यतीवेलाको हाम्रो समाज पुरुषवादी समाज, छोरा नभए वंश रहदैन भन्ने गलत सोच, अनी छोरी जन्माउनु, महीलाको दोष देख्ने समाज, अनी छोरा नभएको निहुमा सौता खेप्ने हाम्री वोइ, वजैहरुको कथा व्यथा यी सव आमाले देख्नु भो सुन्नु भो सायद यसले पनि होला एउटी आमाले नौ महीनासम्मा गर्भमा राखेर जन्म दिएकोे सन्तान पनि विवशतामा परि परित्याग गर्ने सोचमा पुर्याए होला भन्ने लाग्छ मलाइ । त्यसो त आज पनि छोरीलाइ अझै पनि व्यवहारीक रुपमा आफनो वंश र अंशको व्यवहार गरेको पाइदैन । आज समाज शिक्षित छ र पनि सोच र मानसीकता वदलीएको छैन । हिजो देखीने गरि छोरा छोरीबीच भेदभाव गरिन्थ्यो भने आज नदेखीने गरि विभेद गरिन्छ । ंआज पनि समाजमा छोराको लागि दिन बार हेरेर गर्भधारण गर्ने । भ्रुण परीक्षण गरेर गर्भपतन गराउने गरेको पाइन्छ ।
हिजो त्यस्तो केही विधि थिएन र त वर्षेनी मेरि आमा जस्तै कयौं आमाहरु गर्भ वोक्दै सन्तान जन्माउदै गर्थे होला । कती त वच्चा जन्माउन नसकी घरमै मर्थे होला । कती सुत्केरी पश्चात रगत बगेरै मर्थे होला । आमा दिदीहरुले पनि भन्नु हुन्थ्यो तँ जन्मिदा यस्तो भो अनी यस्तो गरिम । पछि गाउँमा कृष्णाअष्टमीको नाचगान गर्ने, पुजा गर्ने थियो अरे म जन्मीएपछी दिदीहरु वेलुकी खुशी हुदै नाँच हेर्न जानु भएछ । र सुनाउनु भएछ हाम्रो घरमा पनि कृष्णा जन्मीएकी छन, वहीनी जन्मीएकी छन, भनेर । म आमाको सातौं सन्तान । वर्षेनी सन्तान जन्माउदा मेरी आमाको शरीर कस्तो भयो होला ? उतीवेला अस्पताल नहुने भएपनि जाने चलननै कहाँ हो अरे, गर्भवती भए लाज लाग्ने ।
अहिले जस्तो उतीवेला के को वेवीसावर, के को दही चिउरा, के को अस्पताल ? के को आइरन चक्की, के को भिटामीन, केको आराम । यि त त्यतिवेलाका आमाहरुका लागि यस्ता शव्द वनेकै थिएनन, अरे । थारु गाउमा वसेकी मेरी आमा, एकमानो खानलाई दुःख थिएन । काम गर्नलाई उतिवेला कमैया कमलहर राख्ने चलन घरबाहिर काम गर्न जानु नपर्ने । आमाका दिनहरु खाना वनाउने, वालवच्चा हुर्काउने, जन्माउने स्याहार्नेमा नै विते अरे । शिक्षीका वनेर वालवच्चा पढाउने जागिरे हुने रहर आमाका सन्तानका खातीर मरेर गएहोलान । वर्षेनी छोरा छोरी पाउँदा मेरी आमाका निदहरु सन्तानका खातीर खोसिए होलान । तातो न्यानो विस्तारा र फरिया कहिले भएहोलान् र ।
एउटी आमाको सन्तानका खातीर कति कुरा मनमै सकिन्छ होला । कति सपना तुहिन्छ होला । कति अधुरा सपना सन्तानमा देख्छन होला । त्यो शव्दमा भनन सकीदैन । म दुइ वर्ष भएपछि आमाले फेरि आठौं सन्तानको रुपमा मेरी वहिनीलाई जन्माउनु भएछ । त्यसको दुइवर्ष पछि हाम्रो घरमा भाइको जन्म भो अरे । भाइ जन्मिएपछि इष्ट मित्र आफन्ती सव खुशी भए अरे । वुवा खेतबाट घर फर्कदा पिंढीमा आमाले भाइलाइ जन्माइ सक्नु भएको थियो । अरे वुवाले एकै पटक छोरा देख्नु भो अरे । अनी मेरी ठुली दिदीले छोरा जन्मियो भाइ जन्मियो भन्ने सुनेर भाइ भन्ने कस्तो हुन्छ भनेर खेल्दा खेल्दै हेर्न जानु भएछ । सधै वहिनी मात्र देखेकी मेरी दिदीलाई यो भाइ यो छोरा भन्ने कस्तो हुन्छ भन्ने पनि थाहा थिएन अरे । सवैजना खुशी हुनु भो अरे भाइ जन्मियो भनेर ।
मेरी ठूली दिदी जन्मिदा हाम्रा वुवा आमाले ठुलै छैठी गर्नुभएको अरे । तर अहिले छोरा जन्मिएको खुशीयालीमा पनि आमा वुवाले छैठी गर्न मान्नु भएन अरे । धेरै वर्षपछि मिलेको खुशी धेरै हौसिए खोसिएला भन्ने डर मनमा थियो अरे । त्यसैले छैठी गर्नुभएन अरे । फेरि खै के हो छैठी सुव्दैन भन्ने पनि थियो अरे । आमाले छोराको आशमा आठ सन्तान जन्माउनु भो । हिजो आज परिवार नियोजनका साधन परिवार नियोजन गर्ने त्यस्तो सरल सहज पनि थिएन । जति सन्तान जन्मे पनि इश्वरको वरदान भनी स्वीकार्ने त्यतीवेलाको हाम्रो समाजमा छोराकै लागी पनि वर्षेनी सन्तान जन्माउनु भो । यस्तै यस्तैमा आमाले अरु दुई छोरा पनि जन्माउनु भएछ । तीन छोरा आठ छोरी गरि ११ सन्तानकी धनी हुनुहुन्छ मेरी आमा । मेरी मामा घरकी हजुरआमा आँवैले भन्नु हुन्थ्यो । मेरी एउटी जीलो वचेकी थिइ अहीले १ को ११ भए । तेरा वाजे वितीजानुभो अहीले यस्तो देख्न पाउनु हुन्थयो । वाच्नेले त देख्न पाउदा रहेछन । मर्नेको सव वित्ने भनेर सुनाउनु थियो ।
मेरी आमालाइ सन्तान जन्माउन हुर्काउन कती गा¥हो भयो होला तै पनि मेरी आँवै आफना नातिनी नाती देखेर सधै गदगद हुनुहुन्थ्यो । एउटो जिलोबाट वचेका मेरा नाती नातिनीले डाँडाकाडाँ ढाके भनेर मेरी आँवै सधै खुशी हुनु भो । आवैको खुशी स्वाभाविक थियो । तर मेरी आमाका लागि वर्षेनी सन्तान त्यो पनि एघार एघार जन्माउनु विवशता थियो । त्यती धेरै सन्तान जन्माउनु न मेरी आमाको रहर थियो होला न मेरो वुवाको दोष थियो होला । सायद त्यतिवेलाको पितृसत्तात्मक हाम्रो समाज, छोरीलाइ आफनो अंश र वंशको अधिकार नदिने हाम्रो समाज वढी जिम्मेवार र दोषी थियो कि ?