spot_img
spot_img

प्रगतिवादी साहित्यकार ‘इच्छुक’ लाई सँझदा

 

शरद अधिकारी

कृष्ण सेन इच्छुक नेपालको पत्रकारिता र साहित्यमा पृथक पहिचान बनाएको नाम हो । लामो समय देखि परिवर्तनको पक्षमा लागिरहनुभएका इच्छुकको जन्म विक्रम सम्वत २०१३ सालमा भएको थियो । शुरुका दिनमा साहित्यका माध्यमबाट चेतनाको विगुल फुक्न शुरु गर्नुभएका इच्छुक विस्तारै पत्रकारितामा तानिनुभयो । राजनीतिक यात्रा त उहाँको पत्रकारिता भन्दा अघि देखि शुरु भइसकेको थियो । राजनीतिक रुपमा उहाँले जुन स्थान बनाउनुभएको थियो त्यो भन्दा राम्रो योगदान कलमका माध्यमबाट उहाँले दिइरहनुभएको थियो । इच्छुकले जुन लेखनी लेख्नुभयो । जुन विचार दिनुभयो । जुन विचारको पक्षमा निरन्तर लाग्नुभयो त्यसैको फलस्वरुप उहाँलाई हिरासतमै मारियो । इच्छुक एक निडर योद्धाको नाम हो । उहाँ शासकहरुसंग झुक्नु भएन । जेलसंग कहिल्यै डराउनुभएन । जेलसंग डराएको भए उहाँ परिवर्तनको पक्षमा निरन्तर लाग्नु हुँदैनथ्यो । उहाँले आफ्नो कर्मलाई निरन्तरता दिनु हुुन्नथ्यो । तर इच्छुकको कलम देखि शासकहरु डराए ।

साहित्यको शुरुवातका चरणमा उहाँले कलम साहित्यीक पत्रिकाको सम्पादकको जिम्मेवारी लिनुभएको थियो । त्यसपछि उहाँले जनादेश साप्ताहिकको सम्पादकको जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि इच्छुक जनदिशा दैनिकको पनि सम्पादकका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्नुभयो । इच्छुकसंग डराएका शासकहरुले पंचायतकालमा पनि जेलमा सडाए । बहुदलिय व्यवस्थाको आगमन पनि पटक पटक जेलमा हाल्ने काम गरियो । देश र जनताको पक्षमा कलमका माध्यमबाट संघर्ष गर्दा गर्दै कृष्ण सेनलाई २०५९ जेठ १३ गते प्रहरी हिरासतभित्रै हत्या गरिएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र र कांग्रेस नेतृत्वको सरकारको योजनामा उहाँलाई महेन्द्र पुलिस क्लबभित्रै चर्को यातना दिएर हत्या गरिएको थियो । तत्कालिन शासकहरुले इच्छुकको भौतिक शरीरलाई ढालेर विचारको हत्या गर्ने योजना बनाएका थिए तर त्यो सफल भएन । विचारको हत्या गरेर शासन सत्तालाई जोगाउने सत्ताधारीको योजना सफल भएन । जसको उदाहरण भनेको नेपालमा गणतन्त्रको आगमन हो ।

कृष्ण सेनको भौतिक शरीर हामीबाट गुमेको भएपनि उहाँले छोडेर गएको विचार हाम्रो सामूमा जिवित जस्तै छ । उहाँलाई ०५९ जेठ ६ गते पक्राउ गरिएको थियो । करिव डेढ दशक देखि सक्रिय रुपमा पत्रकारिता गरिरहनुभएका सेनलाई पक्राउ गरेको घट्नाका बारेमा कुरा लुकाउन खोजिएको थियो । यद्दपि त्यो कुरा सार्वजनिक भयो । यस अघि पनि उहाँलाई पक्राउ गरिन्थ्यो । केही समय पनि परिस्थिती अनुरुप उहाँ छुट्नु हुन्थ्यो । तर २०५९ सालमा पक्राउ गरेपछि जेलमा राखिएन हिरासतमै राखियो । २०५९ सालमा पक्राउ गरिएपछि सवैभन्दा पहिले जनआस्था साप्ताहिकले हिरासत भित्रै हत्या गरेको भन्ने समाचार छापेको थियो ।

इच्छुकका बारेमा धेरै कुरा सानो बसाइमा सम्भव हुने कुरा होइन । इच्छुकलाई संझना गर्ने क्रममा केही कुरा सँझनामा आउँछन् । जव उहाँको हत्या गरियो २०५९ सालमा त्यसको अर्को बर्ष अर्थात २०६० साल देखि प्रगतिशील लेखक संघ नेपाल दाङले नियमित रुपमा उहाँलाई संझना गर्दै आइरहेको छ । उहाँलाई मरणोप्रान्त सम्मान गर्ने काम पनि प्रलेस दाङले गरेको छ । तर दुःखका साथ के कुरा भन्नुपर्छ भने हिजो संकटको समयमा प्रलेसले इच्छुकको संझना गर्र्दा आतंककारीको संझना गर्ने भनेर ओठ लेप्र्याउने कतिपय आज ठूला क्रान्तीकारी र इच्छुकको नजिकको मानिस भएका छन् । यस्तो देख्दा निकै दुःख लागेर आउँछ । इच्छुकले कहिल्यै विचारमा संझौता गर्नुभएन । कहिल्यै खराव प्रवृत्तिसंग झुक्नुभएन । उहाँले आत्मसमर्पण वा आन्दोलनमा गद्दारी गरेको भए आज हामीले उहाँलाई संझना गरिरहेका हुन्नथ्यौं । उहाँले गद्दारी नगरेर जसरी जनताको जीवनका लागि काम गर्ने दृढता देखाउनुभयो त्यसैकारणले गर्दा अजम्वरी जीवन प्राप्त गर्नुभयो । उहाँले गरेको कर्म र लेखनीकै कारणले गर्दा उहाँप्रति शव्दश्रद्धा व्यक्त गर्ने काम भइरहेको छ ।

कृष्णसेन दाङसंगै अत्यन्त नजिकको साइनो जोडिएको व्यक्ति हुनुहुन्थ्यो । इच्छुकको निधन भएको खवर सुन्दा शुरुमा त विश्वासै लागेन तर विश्वास गर्न कर लाग्यो । दाङको भालुवाङ घर भएपनि उहाँको जन्म भारतमा भएको थियो । भारतको देहरादुनमा लाहुरे जीवन बिताउनुभएका उहाँका बुबा यमबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गते त्यहि सेनको जन्म भयो । २०२८ सालदेखि कवितामार्फत साहित्य लेखनतर्फ प्रवेश गर्न भएका कृष्णसेन इच्छुकले सहिद मित्रमणि आचार्यको सम्झनामा दाङ जेल बसाइको क्रममा शोकाञ्जली लेख्नुभएको थियो । जुन २०४८ सालमा प्रकाशित भएको थियो । त्यसैगरी २०५६ सालमा इतिहासको यस घडीमा नामक कविता संग्रह प्रकाशित भएको थियो भने २०५८ सालमा बन्दी र चन्द्रागिरी नामक कविता संग्रह प्रकाशित भएको थियो । उहाँले लेखेका कतिपय कृतियहरु अहिले पनि अप्रकाशित रुपमा हुन सक्छन् । उहाँले लेख्नुभएका फुटकर रचनाहरु सयौं साहित्यिक पत्रिकाहरुमा प्रकाशन भएका छन् ।

इच्छुक तत्कालिन नेकपा माओवादीको क्षेत्रीय ब्यूरो सदस्य र अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रिय अध्यक्षका रुपमा हुनुहुन्थ्यो । त्यस्तै बामपन्थी साहित्यकारहरुको साझा थलोको रुपमा रहेको प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य हुनुुहुन्थ्यो । उहाँ मानव अधिकारवादी संस्था जनअधिकार सरोकार अभियानको केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद हुनुहुन्थ्यो । उहाँले पंचायतकालमा सात बर्षसम्म दाङ लगायतका जेलमा बस्नुभएको थियो । इच्छुक व्यक्ति मात्रै होइन संघर्षको प्रवृत्ति पनि हो । संघर्षबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने मान्यता बोक्नुभएका इच्छुकले जुन आदर्श र मान्यता स्थापित गर्नुभयो । जे कुराका लागि लड्नुभयो । जुन अधिकारका लागि आवाज वुलन्द पार्नुभयो धेरै कुरा अहिले पनि अधुरा रहेका छन् । इच्छुकका अधुरा सपना पुरा गर्ने जिम्मेवारी बाँचेकाहरुको हो । इच्छुकको २२ औं स्मृति दिवसका सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली ।
[email protected]

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img