spot_img
Home Blog Page 6

सञ्चार उद्यमी हेमराज धितालको हत्या प्रकरण

१५ बर्षसम्म पनि घटना रहस्यमय

राप्ती पोष्ट

दाङ, साउन । रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हेमराज धितालको हत्या भएको १५ वर्ष पुग्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । वि.सं. २०६७ साउन ५ गते राति तुलसीपुर उपमहानगरपालिका–१२ स्थित हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका धितालका हत्याराको पहिचान तथा कानुनी कारबाही अहिलेसम्म हुन नसकेको हो ।
हत्या भएको लामो समय बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसक्दा धितालका परिवार, सञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । घटनापछि तत्कालीन जिल्ला प्रहरी कार्यालय दाङ र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दुवैले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान थालेका थिए । तर, कुनै ठोस प्रमाण फेला नपरेको, प्रत्यक्षदर्शी नभेटिएको र प्रमाण संकलनमा कमजोरी भएको भन्दै अनुसन्धान निष्क्रिय बनेको हो ।

त्यतिवेला दाङका प्रहरी प्रमुख ठाकुर ज्ञवाली हुनुहुन्थ्यो । ज्ञवालीले त्यतिवेला प्रहरी हत्याराको नजिक पुगेको बताउनुभएको थियो । हत्याराका बारेमा केही दिनमा सार्वजनिक गर्ने बताउनुभएका ज्ञवालीको केही महिनामा सरुवा भयो । उहाँ बढुवा हुँदै जाँदा प्रहरीको सवैभन्दा माथिल्लो पद आइजिपीमा पुग्नुभयो । उहाँ प्रहरी महानिरिक्षक हुँदा पनि घटनाका बारेमा सत्य तथ्य सार्वजनिक भएको छैन ।

राप्ती पोष्टलाई प्राप्त जानकारी अनुसार त्यतिवेला जिल्ला प्रहरी कार्यालय दाङमा डिएसपी लक्ष्मण गिरीको नेतृत्वमा १८ पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन तयार गरी जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमार्फत सीआईबीमा बुझाएको थियो । तर सो प्रतिवेदन सार्वजनिक गरिएको छैन । घटनाका बारेमा सीआईबीले पनि अध्ययन गरे पनि अनुसन्धान अगाडि नबढेको परिवारको गुनासो छ । हाल डिएसपी गिरी पनि सेवा निवृत्त भइसक्नुभएको छ । घटना रहस्यमय रहेको छ ।

मृतक धितालकी पत्नी मञ्चु धिताल र छोरी मनिषा धितालले पटक–पटक न्यायको माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आउनुभएको छ । उहाँहरुले घटनापछि राज्यका निकायहरूले चासो नदिएको, अनुसन्धानलाई कमजोर बनाइएको र हत्यारा पत्ता लगाउन राज्य गम्भीर नभएको आरोप लगाउँदै आउनुभएकमो छ । हरेक बर्ष जस्तो धिताल परिवारले प्रहरीका प्रमुख मात्रै होइन गृहमन्त्री समेतको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । गत बर्ष पनि तत्कालिन गृहमन्त्री समक्ष धितालको परिवार, रेडियो सञ्चालक तथा सञ्चारकर्मीहरूले ध्यानाकर्षण गराएका थिए । गृहमन्त्रीले सीआईबी र प्रहरी प्रमुखमार्फत अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाए पनि त्यसमा कुनै देखिने कार्यान्वयन भएको छैन ।

रेडियो तुलसीपुर, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज लगायतका संस्थाहरूले धितालको हत्या अनुसन्धानमा ढिलाइ र निष्क्रियता भएको भन्दै पटक–पटक स्मृति सभा तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सो क्रममा ‘हेमराज धिताल स्मृति प्रतिष्ठान’ समेत स्थापना गरिएको छ । तर, प्रतिष्ठानको पहल पनि राज्यस्तरसम्म पुगी न्याय दिलाउने प्रक्रिया अगाडि बढाउन सफल हुन सकेको छैन । दाङका पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरूले घटनाको १५ वर्षसम्म पनि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नु राज्यको असक्षमता भएको टिप्पणी गरेका छन् । उनीहरूले हत्याको छानबिन पुनः सुरु गर्न, सीआईबीको रिपोर्ट सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

सञ्चारकर्मी धितालको हत्या जस्तो गम्भीर घटनामा राज्यका निकायहरूको मौनता, प्रहरी प्रशासनको निष्क्रियता र अनुसन्धानमा देखिएको ढिलाइप्रति सञ्चार क्षेत्र, मानवअधिकारकर्मी तथा नागरिक समाजले गम्भीर चासो व्यक्त गर्दै आएका छन् । हत्यापछि प्रहरीले सुराकीका आधारमा केही व्यक्तिहरूको गतिविधि अनुसन्धानको घेरामा ल्याए पनि प्रमाण अभावका कारण मुद्दा अगाडि बढ्न नसकेको प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले धिताल हत्याको विषय धेरै नै गिजोलिएको बताउनुभयो । उहाँले पटक पटक अनुसन्धान भएको छ । यो विषयमा खोज्दै जाँदा निश्कर्षमा पुग्न गाह्रो परिरहेको बताउनुभयो । उहाँँले आफूले धेरै बर्ष अघि यो विषयमा चासो राखेको भन्दै अहिले पनि यो विषयमा अनुसन्धान अघि बढाउन चाहेको बताउनुभयो । प्रहरीले मात्रै यो घटनालाई निश्कर्षमा पुराउन सक्दैन भन्ने मेरो ठहर छ भन्दै उहाँले यसका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । घर परिवार, आफन्तजन, साथिभाई, संचारकर्मी, उहाँ आवद्ध रहनुभएको पार्टी नेपाली काँग्रेसका नेताहरुले पनि साथ र सहयोग गर्ने हो भने घटनाका बारेमा यथार्थ कुरा बाहिर आउन सक्ने उहाँको बुझाइ रहेको छ । प्रहरी उपरिक्षक तिमिल्सिनाले हेमराज धिताल हत्याको फाइल अध्ययन गर्न र आवश्यक अनुसन्धान गर्नका लागि तुलसीपुर इलाका प्रहरी कार्यालयका डिएसीलाई निर्देशन दिएको बताउनुभयो । ‘थप केही प्रगति गर्न सकिन्छ कि भनेर एक पटक पुरानो फाइल खोल्नका लागि भनेको छु ।’ उहाँले भन्नुभयो ।

हेमराज धिताल रेडियो तुलसीपुरका अध्यक्ष मात्र होइन, राप्ती सञ्चार सेवा केन्द्रका संस्थापक, लायन्स क्लबका अगुवा सदस्य, समाजसेवी, तथा दाङ क्षेत्रका युवालाई सञ्चार माध्यमतर्फ डो¥याउने प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राप्ती अञ्चल यातायात व्यवसायी समितिको अध्यक्षका रुपमा पनि हुनुुहन्थ्यो । तर दुःखद यथार्थ के छ भने, सामाजिक रुपमा योगदान दिने यो व्यक्तिलाई न त समाजले समयमै सुरक्षा दिन सक्यो, न त राज्यले न्याय । हेमराज धितालको हत्या आज पनि रहस्यमय छ, अँध्यारो छ, जसको समाधान खोज्ने कोही इच्छुक छैनन् भन्ने भान पर्छ ।

घटना विवरण अनुसार वि.सं. २०६७ साल साउन ५ गते राति करिब साढे आठ बजेको समयमा धिताललाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । घटनास्थल थियो दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित हेमनगर । उहाँ आफ्नो काम सकेर घर फर्किंदै हुनुहुन्थ्यो । उहाँसँगैका अरु व्यक्तिहरु भने यो घटनामा सकुसल रहेका थिए ।

लमही नगर बिकाश समितिको जमिन अतिक्रमणको चपेटामा

श्रवण बस्नेत/राप्ती पोष्ट

लमही, साउन । नेपालकै दोस्रो धनी लमही नगरबिकाश समितिको रुपमा रहेको लमही नगर विकास समितिको एक विगाहा भन्दा बढी जमिन अतिक्रमण भएको पाइएको छ । नगर विकास समितिको लालपुर्जा भएको एक बिगहा चार कट्ठा जग्गा अतिक्रमको चपेटामा परेको छ ।

०४०÷४१ साल देखि लमही ६ छुट्टिमोहोर्वाका भुमिहिन सुकुम्बासीले उक्त जग्गा अतिक्रम गरेको पाइन्छ । अतिक्रमित जग्गामा हाल एउता वटा पक्की भबन पनि निर्माण कार्य भएकोछ । चैलाही २ च कि. ९५७ नम्बरको एक बिगाहा चार कट्टा जग्गा अतिक्रमण परेको हो ।

लमही नगरपालिका वडा नं. ५ गुरुकुल स्कुल नेरको उत्तरतर्फको खालि जग्गा अतिक्रमणमा परेको हो । लमही ६ छुट्टिमोहोर्वाका स्थानीय ३८ जनाले अतिक्रम गरेर टहरा बनाएर बसोबास गर्दै आइरहेका छन । उक्त ठाउँमा सुकुम्बासीको नाममा हुकुमबासीले टहराबनाएर अतिक्रम गरेका पाइन्छ । सुकुम्वासीका रुपमा बसिरहेकाहरुको अवस्था छानबिन गर्ने हो भने उक्त ठाउँमा बसोबास गरेका कोही पनि सुकुम्बासी हुने छैनन् भन्ने दावी जानकारहरुको छ ।

समिति को कुल ६५ बिगहा जग्गा मध्ये एक बिगहा चार कट्टा जग्गा अतिक्रमको चपेटामा परेको छ भने १२ बिगाहा घडेरीका रुपमा रहेको छ । २२ बिगाहा जग्गा सडकमा परेको छ । अन्य घडेरीहरु संघसंस्था निःशुल्क रुपमा वितरण गरिएको सबः इन्जिनियर तुल्सिराम अर्यालले जानकारी दिनु भएको छ । ०४५ सालका स्थापना भएको नगरसमितिले उक्त अतिक्रमीत जग्गा खालि गर्नका लागि पटकपटक लिखित, मौ िक र सार्वजनिक सुचना जारी गरेपनि राजनीतिक आडका कारण उक्त जग्गा खालि हुन सकिरहेको छैन । ‘हाम्रो प्रयास पनि निरन्तर जारी छ तर उक्त ठाउँ खालि हुन सकिरहेको छैन् ।’ इन्जिनियर अर्यालले भन्नुभयो ।

नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रम गरेर बस्न कसैलाई छुट नभएको भन्नुहँुदै जसरी भए पनि उक्त जग्गा खालि गराएर छाड्ने ठोकुवा गर्नुभयो । उहाँका अनुसार अब नापी कार्यालय लमही लाई जग्गा छुट्टयाउनका लागि आग्रह गरिएको छ । ‘उहाँहरुले अनुकूल समय मिलाएर आउछु भन्नू भएको छ त्यस पछाडि कडाइका साथ हामी उत्रिने छौ ।’ इन्जिनियर अर्यालले भन्नुभयो ।

उहाँका अनुसार समितिले बार्षिक रुपमा झन्डै ढाइ करोड रुपैयाँ आम्दानी गर्ने गरेको समितिले स्थानीय सरकार र नापी कार्यालय लमहीलाई पनि राजश्व बुझाएर आर्थिक सहयोग गर्ने गरेको छ । उता लमही नगरबिकाश समितिका सदस्य सचिब समेत रहनुभएका लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देबकोटाले अतिक्रमित जग्गा खालि गराउने बिषयमा चासो देखाउनु भएको छ । उहाँले अतिक्रमित जमिनलाई खाली गराउने र नगरविकास समितिको मातहतमा ल्याउने बारेमा योजना बनाइसकेको पनि बताउनुभयो । लमही नगरबिकाश समितिमा सदस्य सचिबको जिम्मेवारीमा उहाँ २५ औं स्थानमा हुनुहुन्छ ।

 

ज्वालामाई गणको २१ औं बार्षिकोत्सव

राप्ती पोष्ट

देउखुरी, साउन । भालुवाङमा रहेका सशस्त्र प्रहरी बल, नेपाल २९ नं. हेडक्वाटर ज्वालामाई दाङको २१ औं स्थापना दिवश शुक्रबार मनाइयो । सशस्त्र प्रहरी बल लुम्विनी प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र कुवँरले २१ औं स्थापना दिवसको उद्घाटन गर्नुभएको थियो ।

२०६१ साल साउन २ गतेका दिन स्थापना भएको ज्वालामाई गण स्थापना भएको थियो । त्यस अघि २०५८ सालमा सशस्त्र प्रहरी बल, नेपालको तालिम केन्द्र स्थापना भएको थियो । द्वन्द्वको समयमा साविक राप्ती अञ्चलको शान्ति सुरक्षालाई मध्यनगर गर्दै भालुवाङमा सशस्त्र प्रहरीको ज्वालामाई गण स्थापना गरिएको थियो ।

स्थापना दिवस उद्घाटन समारोहमा बोल्दै बाहिनीपति कुँवरले गर्विलो इतिहास बोकेको सशस्त्र प्रहरीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले सशस्त्र प्रहरीले पाएको सिमा सुरक्षाको जिम्मेवारी लगायत अन्य शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी सदा तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले सशस्त्र प्रहरीले आफू जोखिममा रहेर पनि नागरिकको सुरक्षाका लागि भूमिका खेलेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीका महानिरिक्षक कृष्णमोहन श्रेष्ठ लगायत योद्दाहरुले गरेको त्यागको सदा स्मरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अमर सशस्त्र प्रहरी सहिदप्रति सम्मान गरिएको थियो । यसै्रगरी व्यावसायिक प्रतियोगितामा विजयी तथा रक्तदान गर्ने कर्मचारीहरुलाई पदक र प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ठ कार्य गर्ने सशस्त्र प्रहरीहरुलाई प्रशंसा पत्र तथा सेवा निवृत्त सशस्त्र प्रहरी कर्मचारीलाई कदर पत्र प्रदान गरिएको थियो । सशस्त्र प्रहरी ज्वालामाई गणको कार्यमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

उक्त अवसरमा सशस्त्र प्रहरी नायव महानिरिक्षक कुँवरले शान्तिका प्रतिक एक जोडी परेवा उडाउनुभएको थियो । कार्यक्रममा नेपालमा विभिन्न क्षेत्र तथा भाषा विशेषका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वालामाई गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक मनोजकुमार धितालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी नायव उपरिक्षक इश्वर डिसीले गर्नुभएको थियो ।

 

 

नियत र नियती

सम्पादकीय

नियत र नियती भन्ने दुई शब्द एकआपसमा मिल्दाजुल्दा लागे पनि तिनको अर्थ र प्रयोग फरक–फरक छन् । दुवै गहिरो दर्शनसँग सम्बन्धित छन् । नियत भन्नाले कसैको मनको भावना, उद्देश्य, सोच वा इरादा जनाउँछ । कुनै कार्य गर्नु अघि व्यक्तिको मनमा के विचार छ, त्यो उसको नियत हो । जस्तो कसैले कसैका लागि केही दान ग¥यो भने त्यो उसको राम्रो नियत हो । कसैलाई सहयोग गर्नु राम्रो हो । दान दिनु राम्रो हो । समान खालको व्यवहार गर्नु राम्रो हो । कसैले बाहिर राम्रो व्यवहार ग¥यो तर भित्र दुःख दिने उद्देश्य छ भने त्यस्तोमा नियतमा खोटो छ भन्न सकिन्छ । परिभाषागत रुपमा भन्ने हो भने नियत भनेको व्यक्ति भित्रको सोच, मनको उद्देश्य र कर्म गर्ने इरादा हो । नेपाली उखान पनि छ, ‘नियत राम्रो भए, नतिजा पनि राम्रो हुन्छ ।’ यसैगरी ‘नियत सफा छ भने डराउनु पर्दैन ।’ भन्ने भनाई पनि छ । अव हेरौं नियती भनेको के हो ? नियती भन्नाले भाग्य, प्रारब्ध, भविष्यमा लेखिएको घटना वा अवस्था जनाउँछ । यो सामान्यतः व्यक्तिले नियन्त्रण गर्न नसक्ने कुराहरू लाई जनाउन प्रयोग गरिन्छ । कसैले धेरै मेहनत गर्छ तर सफल हुँदैन भने भनिन्छ कि ‘यसको नियतीमा त्यही लेखिएको रहेछ ’ दुर्घटनामा परेर कसैको मृत्यु भए पनि मानिस भन्छन् ‘यो त नियतीको खेल हो ।’ नियती भनेको भाग्य वा समयले तय गरेको मार्ग हो, जसमा मानिसको नियन्त्रण सीमित हुन्छ । नेपाली उखान ‘नियतीले जति दिँदैन, त्यो मेहेनतले पनि सक्दैन ।’ भन्ने भित्र धेरै मर्म लुकेको छ । यहि भएर भनिएको होला, ‘नियतीसँग कसैले जित्न सक्दैन ।’

यसरी हेर्दा नियत र नियती एउटै कुरा जस्तो देखिन्छ तर होइन यि दुवै फरक कुरा हुन । नियत राम्रो हुन सक्छ नियतीले राम्रोलाई नराम्रो बनाइदिन सक्छ । नियत राम्रो राखेर काम गरियो भने राम्रो हुन्छ । नियत खराव राखेर काम गरियो भने त्यसबाट परिणाम नराम्रो नै आउँछ । राम्रो नियत राखेर काम गर्दा नराम्रो भइदिन सक्छ । तर नियत नै खराव रहेछ भने त्यसबाट राम्रो परिणाम आउन सक्दैन । राम्रो सोच्यो राम्रो हुन्छ । नराम्रो सोच्यो नराम्रो हुन्छ । राम्रो सोच्यो राम्रो हुन्छ । चेतना हुने मानिसले नै नियत राम्रो वा नराम्रो दुवै राख्न सक्छ । नियत राम्रो हो कि होइन भन्ने कुरा व्यवहारमा देखिन्छ । ‘मैले राम्रो सोचेर गरेको थिए ।’ भनियो भने त्यहाँ राम्रो नै हुनुपर्छ । नराम्रो काम गर्ने तर परिणाम राम्राका लागि गरेको थिए भनियो भने त्यो त राम्रो कुरा हुँदै हुँदैन । हामीले राम्रो आफ्नो बारेमा सोच्छौं । आफ्नो राम्रो होस, आफ्नो फाइदा होस । आफ्नो हित होस । आफूले मात्रै सफलता हालिल गरौं भन्ने मात्रै सोचिरहेका हुन्छौं । भन्नेहरुले कसैका लागि पनि नराम्रो नियत राख्नु हँुदैन भन्छन् । मानिसले मानिसलाई असल व्यवहार गर्नुपर्छ । सवैलाई समान व्यवहार गर्नुपर्छ । नियतीले कसैलाई ठग्यो भने त्यो अर्को कुरा हो । कसैले पनि कसैलाई नियत राखेर ठग्नु हुँदैन । कहिलेकाँही राम्रो सोचेर काम गर्दै गर्दा सफलता नमिल्न सक्छ । राम्रो सोचेर गरिएका कामहरुमा तत्काल फाइदा नहुन सक्छ । कहिलेकाँही समयले न्याय नगर्न सक्छ । समयले न्याय गरेन भनेर भाग्यलाई धिक्कार्ने, हतोत्साहित हुने गर्नु हुँदैन ।

कसले कसमाथि राम्रो वा नराम्रो नियत राखेको छ भन्ने कुरा थाहा नै नहुने रहेछ । हाम्रो समाजमा रहेका सवै खालका सम्वन्धहरुमा स्वार्थ देखिन्छ । नियत देखिन्छ । आमा र सन्तानको सम्वन्धमा स्वार्थ हुँदैन भनेर भनिन्छ तर होइन, सन्तानले भोली पाल्दा, सुख देला भनेर अभिभावकहरुले सन्तानको हेरचाह गर्दछन् । रेखदेख गर्दछन् । सन्तानलाई माया गर्ने कुरामा नियत हुन्छ भने अरुको कुरामा नियत नहुने कुरै भएन । नियत राम्रो राख्दा राख्दै नियतीले राम्रो परिणाम दिन सकेन भने त्यस्तो बेलामा मेहनत अझै पुगेको रहेनछ भन्ने रुपमा बुझ्नुपर्छ । मानिसले मेहनत ग¥यो भने एक पटक असफल हुँदा असफल भएको भन्दैन । सिकाई बढेको ठान्छ । नियतीले ठग्ने होइन नियत कसैले खराव राख्दा नै मानिस ठगिने हो । हेपिने हो । संकुचनमा पर्ने हो । यस कारणले गर्दा नियत सफा राख्नुपर्छ । कसैलाई समाप्त पार्दछु । कसैलाई बर्वाद पार्दछु भनेर लाग्ने हो भने आज जसले अरुलाई बर्वाद पार्दछु भनेर लागिरहेको हुन्छ केही समयपछि त्यसको बर्वादीको दिन आउनेवाला छ भनेर बुझ्नुपर्छ । यस कारणले गर्दा नियत र नियतीलाई संयोजन गरेर अघि बढ्नुपर्छ । नियतीले हामीलाई ठग्यो भनेर मौन बस्ने, कर्म नगर्ने होइन कि मेहनत अझै बढाउनुपर्छ । नियत असल राखेर काम गरियो भने नियतीले कहिल्यै ठग्न सक्दैन, हेप्न सक्दैन, दवाउन सक्दैन । हराउन सक्दैन ।

धारपानीमा तेस्रो बर्ष पनि गंगा आरती हुँदै

सवै तयारी पुरा, भक्तजनलाई सहभागिताका लागि अपिल

राप्ती पोष्ट

दाङ, असार । दाङको प्रशिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा तेस्रो बर्ष पनिे शिवपुराण तथा श्रृङ्गारिक महाआरती हुने भएको छ । तीन बर्ष अघि देखि दाङ जिल्लामै पहिलो पटक साउनको महिनामा गंगा आरती थालिएको थियो । साउनको महिनामा शिवको आराधना गरिने भएकाले बिषेश महत्वको रुपमा लिने गरिएको छ । साउन महिनाको भगवान् शिवसँग गहिरो सम्बन्ध रहेको छ, विशेषगरी हिन्दू धर्ममा यसको महत्व धेरै रहेको छ । साउनलाई शिवको महिना भनेर पनि चिनिन्छ । यसको पछाडि धार्मिक, पौराणिक र सांस्कृतिक आधारहरू रहेका छन् । दाङमा रहेका धार्मिक स्थलमध्य पछिल्लो समय धार्मिक र पर्यटनका हिसावले धारपानी प्रख्यात रहेको छ । सोही क्रममा साउनको महिनामा धारपानीमा पनि श्रृङ्गारिक आरती थालिएको हो ।

साउन महिनालाई शिवसँग जोडिएको प्रमुख पौराणिक कथा समुद्र मन्थन रहेको मानिन्छ । जब देवता र असुरहरूले समुद्र मन्थन गरे, त्यसबाट १४ प्रकारका वस्तु निस्किएका थिए । तीमध्ये एक थियो कालकूट विष, जसले सम्पूर्ण सृष्टिलाई नष्ट गर्ने शक्ति राख्थ्यो । त्यस विषलाई कसैले लिन मानेन । अन्ततः भगवान् शिवले त्यो विष पिएर संसारलाई बचाएका थिए भन्ने किंम्वदन्ती छ ।

विषको प्रभाव रोक्न शिवजीले विष गलेमा रोके (जसले उहाँलाई नीलकण्ठ बनायो), र त्यो विषको ताप कम गर्न देवता तथा भक्तहरूले साउन महिनाभर गंगाजल, बेलपत्र, दूध, दही, घ्यु, मह, सगर, आदि चढाए । त्यसैले साउन महिनाभर शिवको पूजा विशेष गरी जल अभिषेक गरेर गरिन्छ । साउन सोमबारः शिवको प्रिय दिन सोमबार भगवान् शिवको विशेष दिन हो भनिन्छ ।

साउन महिनाभरको सोमबारहरूलाई सावन सोमबार व्रत भनिन्छ । विशेष गरी युवती र महिलाहरूले यो व्रत शुभविवाह, सुन्दर जीवनसाथी, र परिवारको समृद्धिका लागि बस्छन् । व्रत गर्दा बिहानै स्नान गरेर शिव मन्दिर जानु, व्रत बस्नु, बेलपत्र, जल, दूध चढाउनु र ‘ॐ नमः शिवाय’ जप गर्नु परम्परा हो ।

साउन महिना वर्षा ऋतुको चरम समयमा पर्छ । यस्तो बेलामा खेतबारीमा काम गर्ने किसानहरू, विशेषतः महिलाहरूले साउन सोमबारको अवसरलाई धार्मिक आस्था र मनोरञ्जन दुवैका रूपमा प्रयोग गर्छन् । हरियाली, झूला, मेहन्दी, रातो–हरियो लुगा, गीत–संगीतमार्फत साउन महिलाको लागि विशेष बनाइएको छ, जुन सबै शिवको आराधनासँग जोडिएको छ । शिव मन्दिरहरूमा साउन महिनाभर जलाभिषेक, रुद्राभिषेक, शिव पुराण पाठ, र भजन कीर्तन जस्ता कार्यक्रमहरू हुन्छन् । खासगरी पशुपतिनाथ मन्दिर (काठमाडौं) लगायत नेपालभरका शिव मन्दिरहरूमा साउन महिनामा भक्तजनको ठूलो भीड लाग्दछ । धारपानीमा पनि साउनको महिनामा ठूलो भिड लाग्ने गर्दछ । भगवान् शिवको त्याग, तपस्या, र करुणाको सम्झना गर्ने समय भएकाले धारपानीमा बिषेश पुजा आजाको तयारी गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिले सोमवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारीका क्रममा भएका कामको जानकारी गराएको थियो । साउनको १ गतेबाट सुरु हुने श्रृङ्गारिक आरतीका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, सरसफाइ लगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । साउन १ गते दिउसो १ बजे शिवपुराण तथा महाआरतीको उद्घघाटन गरिने छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका समितिका सचिव तथा शिवपुराण तथा श्रृङंगारिक महाआरती प्रचार प्रसार उपसमितिका संयोजक विष्णुराम आचार्यले महाआरती तयारीका काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले साउनको १ गतेदेखि ३१ गतेसम्म संचालन हुने महाआरतीमा आउन सवै भक्तजनलाई आउन आग्रह गर्नुभयो ।

आचार्यले यस बर्षको महाआरती र शिवपुराण फरक तरिकाले गर्न थालेको भन्दै साउनको २ गतेदेखि २९ गते सम्म लोकभजन प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लोकभजनलाई सम्वर्धन र संरक्षण गर्नका लागि सो प्रतियोगिता सञ्चालन गर्न थालिएको आचार्यले जानकारी दिनुभयो ।

अध्यक्ष अधिकारीले सवैको साथ र सहयोगले धारपानी धामको विकास भइरहेको बताउनुभयो । उहाँले अघिल्ला बर्षहरुमा जस्तै सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले धार्मिक कार्य गरेको रकम संकलनका लागि नभइ धर्मको रक्षाका लागि भएको बताउँदै साउनको १ गते देखि सुरु हुने कार्यक्रमका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार शिवपुराण तथा श्रृंङ्गारिक महाआरतीमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुजा, बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुजा, ११ बजेदेखि ४ बजे सम्म प्रवचन, लोकभजन प्रतियोगिता, बेलुकी ७ बजेदेखि ८ बजे सम्म नित्य आरती, ८ बजेदेखि ९ बजे सम्म श्रृंङ्गारिक आरती र राति ९ बजेदेखि साडे १० बजे सम्म प्रवचन र झाँकी प्रस्तुत हुनेछ ।

एक महिना चल्ने महाआरतीमा रूद्राभिषेक, लघु रूद्रि, लक्ष्यवर्तिका, चौरासी पुजा, जन्मदिन, गृहपुजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध,चूडाकर्म लगायतका कार्य समेत गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष संतोष सुवेदी र पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डाक्टर लोकराज पराजुलीले व्यवस्थित योजना, सामुहिक एकता र दाताको सहयोगले धारपानीको विकासले फड्को मारेको बताउनुभयो । पत्रकार सम्मेलनको सञ्चालन मन्दिरका सञ्चार संयोजक विमल योगीले गर्नुभयो ।

 

समीक्षाको कसीमा सरकारको एक वर्ष

शरद अधिकारी

१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने । आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने ।
५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीब्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने ।
७.राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीब्रता दिने ।

माथि उल्लेख गरिएका बुँदाहरु एक बर्ष अघि नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा भएका हुन् । एक बर्ष अघि गरिएको सहमतीका आधारमा बनेको सरकारले सहमती अनुसार काम गरेको छैन भन्ने आरोप विपक्षीहरुको छ । सरकार र गठवन्धनमा रहेकाहरुको ध्यान कता छ ? सरकारको ध्यान सात बुँदे सहमती कार्यान्वयन गर्न तर्फ गएको छ कि छैन भन्ने बारेमा विश्लेषण हुने गरेको छैन । सरकारमा रहेका दलहरुको अंक गणित प्रतिनिधि सभामा दुईतिहाई नजिक छ । राष्ट्रिय सभामा यो संख्या बहुमतको नजिक मात्रै रहेको छ । संविधान संशोधनको कुरा अहिलेको सरकारको प्रमुख कार्यका रुपमा थियो भन्ने कुरा माथिको सात बुँदेमा स्पष्ट लेखिएको छ । बुँदा नं. १ मा राष्ट्रिय सहमतीको सरकार गठन गर्ने कुरा लेखिसकेपछि दोस्रोमा संविधान संशोधनको कुरा उल्लेख गरिएको छ । नेपालको राजनीतिमा जुन अस्थिरता थियो त्यो अहिले हटेको छ । यद्दपि सरकार ढल्ने कुरा दुई÷दुई महिनामा सतहमा आइरहन्छ । सरकारले दशैं मान्न पाउँदैन भनेर गत बर्षबाट सरकार ढल्ने चर्चा सुरु भएको थियो । अहिले त्यो भिजिट भिसासम्म आइपुगेको छ । सरकार अझै एक बर्ष चल्छ । त्यसपछि सरकारको नेतृत्व नेपाली काँग्रेसको जिम्मेवारीमा जान्छ । नेपाली काँग्रेस संसदीय दलको नेताका हैसियतले शेरबहादुर देउवाले सरकारको नेतृत्वगर्ने कुरा निश्चित जस्तै छ ।

पुष्प कमल दहालले सरकार टिकाउनका लागि पाँच पटक विश्वासको मत लिंदा अन्तिम पटक विश्वास पाएको थिएन । ३२ जना सांसदको म्याजिक नम्वर लिएको भन्ने दावी सरकारले विश्वास नपाएसंगै ढलेको थियो । अहिले पनि म्याजिक नम्वर, वा सरकारको नेतृत् वगर्न पाउने कुरा आयरहेको हुन्छ । जतिवेला दाहालको नेतृत्वमा एमाले र काँग्रेस पटक पटक सत्ताको सहयात्री बन्न पुगे त्यसपछि नै दाहालको मुखारविन्दबाट म्याजिक नम्वरको कुरा आउने गरेको थियो । अहिले राजनीतिक अस्थिरता, पार्टीहरूको शक्ति संघर्ष र जनअपेक्षाको घेराभित्र वर्तमान सरकार गठन भएको एक वर्ष पुरा भएको छ । निर्वाचनपछि अनेक उतारचढाव पार गर्दै गठबन्धनको स्वरूपमा बनेको यस सरकारले प्रारम्भिक चरणमै सात बुँदे सहमतिलाई सरकारको वैचारिक, राजनीतिक र कार्यान्वयनको जगको रूपमा प्रस्तुत गरेको थियो । जनताले स्थायित्व, समृद्धि र सुशासनको अपेक्षा बोकेका बेला बनेको यो सरकारसँग आमनागरिकको ठूलो आशा थियो । एक वर्ष पछि सरकार कहाँ छ ? यो समय मूल्याङ्कनको घडी हो, र आज हामी समग्र रूपमा हेर्दैछौँ । एक वर्षमा सरकारले के ग¥यो ? के गर्न सकेन ? र अब के गर्नुपर्छ ? सरकारमा रहेको दल आफ्नो पक्षधर रहेको अवस्थामा आँखा चिम्म गरेर समर्थन गर्ने र आफ्नो बिपक्ष मत रहेको अवस्थामा राम्रो काम गर्दा पनि धारे हात लगाउने चलन रहेको छ । गत बर्ष सरकार गठनको क्षणमै ल्याइएको सात बुँदे सहमति, जसमा संविधानको कार्यान्वयनदेखि राजनीतिक स्थायित्वसम्मका बहुआयामिक प्रतिबद्धताहरू समेटिएका थिए, त्यो नै सरकारको नीति मार्गनिर्देशक बन्ने भनिएको थियो । तर व्यवहारमा ती प्रतिबद्धताहरू कुन हदसम्म कार्यान्वयन भए ? कुन हदसम्म भाषणमै सीमित भए ? यिनै प्रश्नका उत्तर खोज्दै सरकारको एक वर्षलाई समीक्षाको कसीमा राखिएको हो ।

समग्रमा भन्नुपर्दा, सरकारले केही सकारात्मक संकेतहरू देखाएको छ । खासगरी केही अधुरा योजना सम्पन्न गर्नु, आर्थिक व्यवस्थापनलाई सन्तुलनमा ल्याउने प्रयास, र सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने जस्ता कार्यलाई सकारात्मकरूपमा हेर्न सकिन्छ । उदाहरणका लागि, काठमाण्डौं–नागढुंगा सुरुङमार्ग, बुटवल–भैरहवा फोर लेन सडक, र कर्णाली करिडोरका विभिन्न खण्डहरूको निर्माण कार्यमा तीव्रता दिइएको छ । यस्ता विकास आयोजनाहरू लामो समयदेखि अलपत्र थिए, जुन अहिले कुनै हदसम्म भए पनि अघि बढिरहेका छन् । यसबाहेक, सरकारले डिजिटल प्रणालीमार्फत नागरिक सेवा प्रवाहमा सुधार ल्याउने अनेकन प्रयासहरू पनि गरेको छ । नागरिक एपको विस्तार, अनलाइन सेवाको पहुँच विस्तार, राहदानी वितरण प्रणालीमा सुधार र सार्वजनिक सेवामा प्रविधिको प्रयोगले सामान्य जनताको सरकारी सेवाप्रति केही विश्वास पुनःस्थापित गर्न थालेको देखिन्छ । त्यस्तै, आर्थिक पक्षमा पनि सरकारले केही सन्तुलन कायम राख्न प्रयास गरेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, राजस्व सङ्कलन केही सकारात्मक दिशातर्फ उन्मुख देखिएको छ, र सरकारी खर्चको नियन्त्रणमा समेत सतर्कता देखाइएको छ । बैंकिङ प्रणालीमा तरलता अभावको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले चालेका कदमहरूलाई पनि सरकारले पूर्ण समर्थन गरेको छ । वैदेशिक रोजगार प्रवाहमा सहजता ल्याउने तथा श्रमिकका लागि सुरक्षात्मक कदमहरू चाल्ने प्रयासहरू भएका छन् ।

सरकारको सफलता केवल पूर्वाधार निर्माण र केही प्रशासनिक सुधारमा सीमित रहेर जनताले खोजेको उत्तर दिन सक्दैन । सरकारको मूल जिम्मेवारी भनेको नीति निर्माण, दीर्घकालीन योजनाको स्थापन, र सामाजिक न्याय सुनिश्चित गर्नु हो । यस पाटोमा सरकार अलमलिएको देखिन्छ । रोजगारीको अवसर सिर्जना गर्ने भन्ने सात बुँदे प्रतिबद्धता थियो तर रोजगार सिर्जनामा खासै प्रगति भएको देखिँदैन । कृषि, उद्योग, पर्यटन, र घरेलु उत्पादनमा आधारित रोजगारी कार्यक्रम कागजमा मात्र सीमित भएका छन् । प्रविधिमा सीप भएका युवाहरू विदेशिन बाध्य छन्, र उनीहरूलाई यहीँ रोक्ने जति पनि सम्भावना थिए, ती प्रयासविहीन देखिएका छन् । महँगी नियन्त्रण गर्न सरकारले अनेक उपाय अपनाएको भएपनि मूल्य वृद्धिले जनजीवनमा गहिरो असर पारेको छ । दैनिक उपभोग्य वस्तुहरूमा मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल देखिएको छ । बजार अनुगमन कमजोर छ, बिचौलिया र सिन्डिकेटको चलखेल अझै कायम छ । यो अवस्थामा सरकारको जिम्मेवारी थप बढेको छ, तर कार्यान्वयनको तहमा भने कमजोरी छर्लङ्गै देखिन्छ ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सुधारको अपेक्षा थियो । सात बुँदे सहमतिमा यिनलाई जीवनस्तर उकास्ने आधार बनाउने भनिएको थियो । तर एक वर्षभित्र शिक्षा क्षेत्रमा न त ठोस नीतिगत सुधार देखियो, न त गुणस्तरीय शिक्षाको सुनिश्चितता गरियो । सरकारी विद्यालयहरू अझै कमजोर अवस्थामा छन्, अनि शिक्षामा निजीकरणको निर्बाध प्रवाह रोकिएको छैन । स्वास्थ्य क्षेत्रमा पनि समान पहुँच र गुणस्तरीय सेवाको प्रत्याभूति अझै दूरदृष्टिमा मात्र सीमित छ । बिरामीहरूले सरकारी अस्पतालमा औषधि नपाउनु, चिकित्सकको अभाव, उपकरणको कमी जस्ता समस्याहरू यथावत् छन् । अर्को महत्वपूर्ण विषय भ्रष्टाचारविरुद्धको अभियान हो । ‘कोही नछुट्छ, कोही बच्दैन’ भन्ने नारासहित सरकारले सुरु गरेको अभियान प्रारम्भिक चरणमा प्रभावशाली लागे पनि त्यो निरन्तरतामा कमजोर देखिन थाल्यो । ठूला माछा जालमा फसाउने भनिए पनि, केही समयपछि ती माछा कानुनी जालबाट उम्किएको देख्दा आमजनता निराश भएका छन् । अख्तियार, अदालत र प्रहरी प्रशासनबीच समन्वयको अभाव, राजनीतिक संरक्षण र लचिलो कानुनी प्रावधानले भ्रष्टाचार नियन्त्रण कठिन बनाइरहेको सन्देश प्रवाहित भएको छ । हामीले दिने सुझाव र सल्लाह सहि हुनुपर्छ । सरकारका बारेमा गरिने आलोचना यथार्थमा आधारित रहेर गरिनुपर्छ । जनतालाई उत्साहित गराउनका लागि सरकारले काम गर्नुपर्छ ।
एक बर्ष पुग्दा सरकारका मन्त्रीले गरेको कामको समीक्षा भने गर्नुपर्छ । सरकार अस्थिर बनाउने होइन, काम गर्न नसक्ने मन्त्रीहरुलाई विदा गरेर नयाँलाई चान्स दिनुपर्छ । कतिपय अवस्थामा विज्ञहरुलाई ल्याएर भएपनि मन्त्रालयको जिम्मेवारी दिनुपर्छ । राष्ट्रिय सभामा लगेर भएपनि सरकारको कामलाई तिव्रता दिनुपर्छ । सरकारभित्रकै शक्ति सन्तुलन, मन्त्रीहरूको फेरबदल, आन्तरिक असहमतिले पनि कामको गति प्रभावित बनाउने गरेको छ । अहिलेको कुरा गर्ने हो भने संघीयता कार्यान्वयन र स्थानीय तहसँगको सम्बन्धको सन्दर्भमा केही अस्पष्टताहरु देखिएको छ । बजेट वितरणमा समानता र संघीय भावना झल्किनुपर्नेमा, संघीय सरकारद्वारा स्थानीय तहलाई नियन्त्रण गर्ने प्रवृत्ति कायम देखिएको छ । प्रदेश सरकारहरूको क्षमता अभिवृद्धि र स्वायत्ततामा गम्भीर छलफल र सहकार्य आवश्यक थियो, जुन देखिएको छैन । संघीय सरकारले प्रदेश सरकारलाई बलियो बनाउने गरी काम गर्नुपर्छ । जति अधिकार दियो, सरकारको काम त्यति सहज हुन्छ ।

यतिवेला कतिपय परराष्ट्र नीतिको सन्दर्भमा पनि सरकारको कार्यशैली आलोचनाको घेरामा छ । भारत र चीनसँगको सम्बन्धमा सन्तुलन कायम राख्न सकिने धेरै अवसरहरू भए पनि, सरकार स्पष्ट रणनीति लिन चुकेको देखिन्छ । एमसीसी सम्झौता कार्यान्वयन, रेल र सडक सञ्जाल विस्तार, सीमा समस्या समाधानजस्ता विषयमा व्यवहारिक र दिर्घकालीन रणनीति निर्माण गरिनुपर्ने थियो । विदेश भ्रमण, सहकार्यको घोषणा र सम्झौताहरू जनस्तरमा खुशीको विषय हुन सक्थे, तर कार्यान्वयनविहीन कागजी प्रतिबद्धता मात्र बने भने त्यो दिगो सम्बन्ध होइन, केवल औपचारिकता हुन्छ । अब एक वर्षको समग्र मूल्याङ्कन गर्दा भन्न सकिन्छ कि सरकारको मनसाय राम्रै थियो, सुरुवात पनि आशाजनक देखिएको थियो, तर दीर्घकालीन दृष्टिकोण, संगठनात्मक प्रतिबद्धता, र कार्यान्वयनको सशक्तता नहुँदा सरकार जनअपेक्षाको उचाइमा पुग्न असमर्थ देखिएको छ । विकासका गतिविधिहरू अगाडि बढेका छन्, केही अधुरा योजनाहरू पुरा भएका छन्, तर ती विकासहरू जीवनसँग प्रत्यक्ष जोडिएको अनुभूति गराउने खालका छैनन् । उत्पादनमा आधारित विकास, मानव पूँजीको उपयोग, र दीर्घकालीन सुधारका एजेण्डाहरू कार्यान्वयन नभएसम्म सरकारको कार्यकाल केवल भौतिक संरचनासम्म सीमित रहनेछ ।

यसकारण, अबको समय भनेको सरकारका लागि आत्मसमीक्षा, सुधारको मार्ग पहिल्याउने, र कार्यान्वयनमैत्री संरचना बनाउने हो । सात बुँदे सहमतिलाई केवल राजनीतिक सहमतिमा सीमित नराखी, त्यसलाई शासन र नीतिमा रूपान्तरण गर्न सक्नुपर्छ । जनताको विश्वास फर्काउने काम घोषणामा होइन, नतिजामा निहित हुन्छ । राजनीतिक स्थायित्व, सामाजिक न्याय, आर्थिक सशक्तिकरण र सुशासनजस्ता क्षेत्रहरूमा ठोस कदम चालिएमा मात्रै सरकार जनमानसमा गहिरो छाप छोड्न सक्नेछ । नभए, आजका राम्रा प्रयासहरू पनि भोलिका आलोचनामा रूपान्तरित हुनेछन् । सरकारले एक बर्षको अवधि पार गरिसकेको अवस्थामा भएका काम र हुन नसकेका कामको समीक्षा हुनुपर्छ । बर्तमान सरकारसंग प्रशस्त समय छैन । निश्चित समय छ । यो समय भनेको सरकारले तिव्रताका साथमा काम गर्ने हो । सरकारले आवश्यक परेको खण्डमा मन्त्री परिवर्तन गर्ने, सचिवहरुलाई सरुवा गर्ने, विज्ञहरुको परामर्श लिने, नागरिकको अभिमत बुझ्ने, संसदबाट विभिन्न विधेयक पारित गर्ने कुरालार्य प्राथमिकताका साथ अघि बढाउनुपर्छ ।

sharadreetu@gmail.com

 

परिवार नियोजन संघबाट एक लाख ४१ हजारलाई सेवा

छबि पुरी/राप्ती पोष्ट

घोराही, असार । नेपाल परिवार नियोजन संघ दाङले सन् २०२४ मा एक लाख ४१ हजार छ सय ७२ सेवा प्रदान गरेको छ । परिवार नियोजन संघमार्फत दाङसहित रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र कपिलवस्तुमा सेवा पुर्याउँदै आएकोमा उल्लेख्य रुपमा सेवा प्रदान गरेको तथ्यांक छ । जस अनुसार, परिवार नियोजन सेवा तथा परामर्श सेवा २६ हजार दुई सय २५, स्त्रीरोगसँग सम्बन्धित सेवा तथा परामर्श सेवा २५ हजार सात सय, एचआईभी एड्स सम्बन्धि परामर्श सेवा ११ हजार चार सय ८२, गर्भवती तथा सुत्केरी पश्चातको सेवा तथा परामर्श सेवा १६ हजार ७३ सेवा प्रदान गरिएको नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यही अवधिमा नेपाल परिवार नियोजन संघबाट अन्य प्रजनन सेवा १४, बच्चाहरुको खोप तथा परामर्श सेवा १२ हजार नौ सय ७०, सुरक्षित गर्भपतन सम्बसेवा तथा परामर्श एक हजार नौ सय आठ, विशिष्टिकृत सेवा पाँच हजार सात सय ४८, यौनरोगको उपचार तथा परामर्श सेवा २२ हजार नौ सय, बाझोपनको रोकथाम सम्बन्धि उपचार तथा परामर्श सेवा तीन सय २०, पिसाबजन्य रोगको उपचार तथा परामर्श पाँच हजार आठ सय ७१, साधारण उपचार सेवा १२ हजार चार सय ६१ सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ दाङले आफ्ना सेवा केन्द्रहरु तथा दक्ष स्वास्थ्यकर्मीहरुमार्फत परिवार नियोजन सवा, सुरक्षित मातृत्व तथा शिशु स्याहार सेवा, सुरक्षित गर्भपतन सेवा, सुरक्षित मातृत्व सेवा, स्वेच्छिक परामर्श तथा परिक्षण सेवा दिँदै आएको जानकारी गराउनुभयो । पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा र युवा सुचना केन्द्रहरुमार्फत किशोर किशोरी तथा युवा वर्गहरुका लागि प्रजनन स्वास्थ्य सेवा दिनुका साथै सुचना तथा शिक्षा सेवा र निशुल्क प्रजनन स्वास्थ्य घुम्ती शिविरहरु संचालन गरी ग्रामीण समदायका गरिव, दलित, पिछडिएका जाति जनजातिहरुको स्वास्थ्य सेवामा पहुँच बढाई सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

विभिन्न चेतनामुलक कार्यक्रमहरु, सुचना शिक्षा सामग्री तथा सञ्चार माध्यमको सहयोगले यौन तथा प्रजनन स्वास्थ्य सेवा अधिकारको प्रत्याभूति, अधिकारको उपयोग गर्न सक्षम बनाई स्वस्थ, जागरुक, उत्पादक तथा सबल नेतृत्वदायी जनशक्तिको निर्माण गर्ने शाखाले उद्देश्यका साथ नेपाल परिवार नियोजन संघले सेवा दिँदै आएको बताउनुभयो ।
दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र कपिलवस्तुमा शाखाले सेवा पुर्याउँदै आएको नेपाल परिवार नियोजनले लक्षित समदाय अन्तरगत महिला, बालबालिका, किशोरकिशोरी, विपन्न वञ्चित वर्ग तथा परिवार नियोजनका सेवा दिँदै आएको बताउनुभयो । नयाँ सेवाका रुपमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर अपरेशन कल्पोस्कोपी तथा थर्माेकोगुलेटर सेवा बिस्तार गरेको र यसको प्रभावकारीता बढ्दै गएको बताउनुभयो ।

४६ औँ वार्षिक साधारणसभा सम्पन्न

यसैबीच नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । दाङ शाखा सभापति भरतराज देवकोटाको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले गर्नुभएको थियो । साधारण सभालाई सम्बोधन गर्दै खनालले लुम्बिनी प्रदेशमा मातृ शिशु मत्यु दर धेरै भएको जिल्ला दाङ रहेको भन्दै सुरक्षित मातृत्वका लागि परिवार नियोजन संघले खेल्दै आएको भूमिका अझ प्रभावकारी बनाउन सबै क्षेत्रले सहकार्य गरेर काम गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्र सुधारका लागि सहकार्य जरुरी रहेको औँल्याउँदै उहाँले दिगो विकास लक्ष्य पूरा गर्न स्वास्थ्यका सूचक सुधारमा अब सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । युवा पुस्तामा लागू औषध दुव्र्यसनमा फस्दै गएको, यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्र चुनौति थपिँदै गएको हूँदा सचेतनाका कार्यक्रम केन्द्रित गरेर समुदायमा पुग्नुपर्ने बेला आएको बताउनुभयो ।
यसैगरी, नेपाल परिवार नियोजन संघकी पूर्व केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय सभाका पूर्व सदस्य अनिता देवकोटाले महिलामैत्री र युवामैत्री सेवा प्रदान गर्दै आएको परिवार नियोजन संघको सेवा प्रभावकारी बनाउन लाग्नुपर्ने बताउनुभयो । नेपालमा प्रजनन स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापित गर्न परिवार नियोजन संघले खेलेको महत्वपूर्ण रहेको बताउनुभयो ।

केन्द्रीय निवर्तमान उपाध्यक्ष निर्मला गौतम रेग्मीले परिवार नियोजन सेवा विकेन्द्रीकरण गरेर लैजान, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा बिस्तार गर्न, स्वस्थ र योग्य नागरिक तयार पार्न यौन तथा प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेल, परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य गणेशराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, संघका सदस्य बासुदेव रिजाल, आजीवन सदस्य गोविन्द प्रसाद न्यौपाने लगायतले धारणा राख्नु भएको थियो ।

वक्ताहरुले संस्थाको सेवाको प्रभावकारीता बढाउन सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । संस्थालाई दातृ निकायबाट आउने सहयोगका स्रोत कमजोर हुँदै गएको बेलामा आन्तरिक स्रोतबाट अधिकतम सेवा दिन तीन तहका सरकारसँग समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

साधारण सभाले संस्थाले सन् २०२४ मा गरेका कामको प्रगति विवरण तथा आगामी योजना प्रस्तुत गरिएको थियो । शाखा प्रबन्धक बसन्त खनालले नेपाल परिवार नियोजन संघ दाङबाट सन् २०२४ मा एक लाख ४१ हजार छ सय ७२ सेवा प्रदान गरिएको बताउनुभयो । उहाँले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी घुम्ती शिविर र दुई वटा सामुदायिक क्लिनिक र एउटा परिवार स्वास्थ्य सेवा केन्द्रमार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।

संस्थाको कार्य समितिमा महिला सदस्य तर्फ बालिका लम्साल, डा. शारदा गौतम, विशेषज्ञ सदस्य खुला कानुनतर्फ किरण पौडेल, अर्थ विशेषज्ञ तर्फ भेषबहादुर बिसी, स्वास्थ्य विज्ञतर्फ सदस्य रेणु श्रेष्ठ निर्वाचित हुनुभएको छ । कार्य समिति सदस्य किरण पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष माया पोख्रेलले गर्नु भएको थियो ।

जालसाजी गरी जग्गा बेचिएपछि पीडित न्याय माग्दै

राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिका वडा नम्बर १४ सरस्वती टोल बस्ने मुलजिता रोकाको नाममा रहेको वडा नम्बर ७ सौडियारस्थित कित्ता नम्बर ३ क ९२६ नम्बरको १० कठ्ठा ८ धुर जग्गा जालसाजी गरि बिक्रि गरेको रहस्य खुलेको छ । ६६ वर्षीया पीडित मुलजिताले बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी आफ्नो नाममा रहेको जग्गा जालसाजी गरी बिक्रि गरेको थाहा पाएपछि घटना बारे जानकारी गराएपछि यो तथ्य बाहिर आएको हो । मुलजिताको नाममा रहेको उक्त जग्गा जनज्योति पशुपालक कृषक सहकारी संस्थाबाट कृषि प्रयोजनका लागि भन्दै २०७८ असार १६ गते वार्षिक २४ हजार रुपैयाँमा १० वर्षको सम्झौता गरेको देखिन्छ । सम्झौतामा साक्षी बसेका घोराही १५ का रन्जित भनिने टीका बुढाले केही समयपछि जालसाजी गरी उक्त जग्गा बिक्रि गरेको पाइएको छ ।

पीडित मुलजिताका अनुसार, आफु एकल महिला रहेको तथा छोरी पढाईको सिलसिलामा जिल्ला बाहिर बस्ने हुँदा पढाई खर्च धान्न भन्दै जग्गा भाडामा लगाएको बेला टीका बुढाले जालसाजी गरी बिक्रि गरेको उहाँको भनाई छ । आफ्नो जमिनको तिरो बुझाउनका लागि वडा कार्यालयमा गएको बेला आफ्नो जग्गा बिक्रि भईसकेको थाहा पाउनुभयो । ‘भाडामा दिएको जमिन विक्रि भइसकेको भन्ने थाहा पाएपछि छाँगाबाट खसे झै भए ।’ उहाँले भन्नुभयो ।

जमिन सँझौताको कागजात हेर्दा दुवै पक्ष बीच २०७८ असार १६ गते जग्गा भाडामा दिने सहमति भएको देखिन्छ । सम्झौता भएको १२ दिनपछि अर्थात २०७८ असार २८ गते उक्त जग्गा अर्को व्यक्तिको नाममा पास भएको देखिन्छ । टीका बुढाले २० लाखको कागजी मूल्यांकन देखाएर लक्ष्मण शर्मालाई २०७८ असार २७ गते लिखत तयार पारी २८ गते बिक्रि गरेको लालपूर्जाको प्रमाण फेला परेको छ ।

यसको केही महिनापछि उक्त जमिन पुनः विक्रि भएको पाइएको छ । लक्ष्मण शर्मा नाम गरेको व्यक्तिले उक्त जग्गा करिब ६ महिनापछि अर्थात २०७८ पुस २० गते घोराही उपमहानगरपालिका वडा नं. १५ का पर्शुनारायण श्रेष्ठलाई विक्रि गरेको देखिन्छ । करोडौं रुपैयाको उक्त जमिन श्रेष्ठले किन्दा पनि २० लाख रुपैयाँ नै मुल्यांकन गरेर बिक्रि गरेको भेटिएको छ ।
जग्गा धनीलाई सोधपुछ नै नगरी आफ्नो नामको जग्गा बिक्रि गर्ने काममा धेरै जनाको मिलेमतो भएको हुन सक्ने आशंका लागेको बताउनुभयो । आफुले भाडामा दिइएको जग्गा अरुलाई किन बिक्रि भन्ने बारे टिका बुढासँग कुराकानी गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएपछि बाध्य भएर घटना सार्वजनिक गरेको बताउनुभयो । व्यक्तिको नाम र प्रतिष्ठामा राजनीतिक, सामाजिक आँच किन ल्याउने भन्दै जग्गा फिर्ता गराई दिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर समस्या सार्वजनिक गरेको उहाँले बताउनुभयो ।

सामान्य चिनजानका आधारमा आफुले विश्वास गरेर जग्गा भाडा दिएको बताउँदै अहिले ठूलो अन्यायमा परेको पीडित मुलजिताले बताउनुभयो । पीडित मुलजिताका अनुसार, जग्गा भाडा वापत दोस्रो पक्षले चार पटक गरेर एक लाख २० हजार बुझाएको छ । सँझौता गर्दा पनि पाँच÷पाँच बर्षमा भाडा बुझाउने उल्लेख गरिएको छ । यसैगरी जग्गाको भाडा सँझौता भएको १० बर्षपछि दुवै पक्षको सहमतीमा बृद्धि गरिनेछ भन्ने उल्लेख गरिएको छ । जवकी सामान्यतयाः कुनै पनि जमिन वा भवनको भाडा दुई बर्षमा १० प्रतिशतका दरले बृद्धि हुने भन्ने हुन्छ । भाडा पनि बढीमा छ महिनाको दरले बुझाउने भन्ने हुन्छ तर जमिन भाडाको सँझौता गर्दा पाँच बर्षको एक मुष्ट बुझाउने भनेर लेखिएको छ ।

रंजित नामले चिनिने टिका बुढा

रंजित नामले चिनिने टिका बुढा

घटनामा टिका बुढा कसरी जोडिएका छन् भने उनले मुलजिता रोकासंग सहकारीका नाममा सँझौता गर्दा साक्षीका रुपमा बसेका छन् भने लक्ष्मण शर्मालाई विक्रि गर्दा पनि साक्षि बसेको देखिन्छ । मुलजिताले आफूलाई सहकारीको सँझौता मालपोत कार्यालयमा गर्नुपर्छ भनेर बोलाएपछि गएको र आफूलाई केही पनि थाहा नभएको बताउनुभयो । मालपोतको झ्यालबाट कागजातमा लेप्चे लगाउन पठाएको तर आफूलाई यसका बारेमा केही थाहा नभएको बताउनुभयो ।

टिका बुढा माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका जुवाई भएकाले यो घटनाका बारेमा महरासंग पनि कुरा गरिएको बताइएको छ । दुई बर्ष अघि घटनाका बारेमा महरालाई जानकारी गराउँदा पनि हालसम्म सुनुवाई नभएपछि बाध्य भएर पत्रकार समक्ष आउनु परेको मुलजिताको भनाई थियो । सो घटनासँग जोडिएका अरु पीडित पनि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । जनज्योति पशुपालक कृषक सहकारी संस्था स्थापना गरी जागिरको प्रलोभन देखाएर आफुलाई पनि फसाएको विरु घर्ती मगर र दीपा बुढाले बताउनुभएको थियो ।

तुलसीपुरको ज्ञानज्योति देशकै सातौं उत्कृष्ट

राप्ती पोष्ट

तुलसीपुर, असार । नेपालको शैक्षिक क्षेत्रले पछिल्ला केही वर्षमा उल्लेखनीय परिवर्तनको अनुभव गरिरहेको छ । जसको ताजा उदाहरण शुक्रबार प्रकाशित एसइईको नतिजालाई पनि दिन सकिन्छ । प्रविधिको विकास, जनताको अभिरुचिमा आएको बदलाव, र विद्यालयहरूमाझको प्रतिस्पर्धाले शिक्षालाई नयाँ गति दिएको छ । यही प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा तुलसीपुर उपमहानगरपालिका–५ मा अवस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले देशकै सातौँ उत्कृष्ट विद्यालय बन्ने गौरव हासिल गरेको छ ।

एजुकेशन समाचारद्वारा हालै सार्वजनिक गरिएको २०८२ सालको देशभरिका माध्यमिक विद्यालयहरूको मूल्याङ्कन सूचीमा ज्ञान ज्योतिले आफ्नो उपस्थितिलाई विशेष बनाएको छ । देशभरका चार हजार सात सय ४१ विद्यालयहरूमध्येबाट उत्कृष्ट सातौँ स्थानमा पर्न सफल भएको ज्ञान ज्योति माविले न केवल तुलसीपुर, दाङ वा लुम्बिनी प्रदेशको नाम उज्यालो बनाएको छ, बरु देशैभरका शैक्षिक क्षेत्रलाई पनि एउटा प्रेरणादायी सन्देश दिएको छ । ज्ञानज्योतिले देखाएको उदाहरण भनेको प्रतिबद्धता, अनुशासन र नवीन सोचले कुनै पनि संस्था उत्कृष्ट बन्न सक्छ भन्ने नै हो ।

उक्त सूची तयार पार्दा रिजल्टलाई ८० प्रतिशत र भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापना वर्ष, जनधारणा, व्यवस्थापन आदिलाई चार–चार प्रतिशत अंकका दरले मूल्याङ्कन गरिएको थियो । यस आधारमा ज्ञान ज्योति माविले सबै सूचकमा सन्तुलित र उत्कृष्ट प्रदर्शन गर्दै सातौँ स्थान सुरक्षित गरेको हो ।

विद्यालयको अनुशासन, पठनपाठनको गुणस्तर, विद्यार्थीको शैक्षिक उपलब्धि र व्यवस्थापन संयोजनलाई आधार बनाएर तयार गरिएको सूचीमा ज्ञान ज्योतिको नाम अगाडि आउनु यस विद्यालयको प्रभावकारी व्यवस्थापन, समर्पित शिक्षक टोली र निष्ठावान विद्यार्थीहरूको सम्मिलित प्रयासको प्रतिफल हो ।

ज्ञान ज्योति मावि पछिल्ला दुई वर्षदेखि लगातार अब्बल सात मा पर्न सफल हुँदै आएको छ । वार्षिक रूपमा करिब चार सय ८० विद्यार्थीलाई एसईई (बोर्ड परीक्षा) मा सहभागी गराउँदै आएको विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षाजस्ता संकायहरूमा कक्षा ११ र १२ मा शिक्षण सञ्चालन गर्दै आएको छ । उच्च माध्यमिक तहमा मात्र सीमित नरही, यस विद्यालयले स्नातक तथा स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । विशेषगरी स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, र स्नातकोत्तर तहमा समेत शिक्षाशास्त्र लगायतका विषयहरूमा अध्यापन हुँदै आएको छ ।

विद्यालयका मुख्य कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र जिसी

विद्यालयका मुख्य कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र जिसी

यसले जिल्लाबाहिर उच्च शिक्षाका लागि जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुको साथै स्थानीयस्तरमै गुणस्तरीय शिक्षाको पहुँच वृद्धि गरिदिएको छ । विद्यालयका मुख्य कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र जिसीका अनुसार, ज्ञान ज्योतिको सफलताको आधार कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाको समर्पण र विद्यार्थीहरूको अनुशासन हो । उहाँले भन्नुभयो, ‘हामी प्रत्येक विद्यार्थीको अभिरुचि र क्षमतालाई मध्यनजर गर्दै शिक्षण विधि अपनाउँछौं । परम्परागत पाठ्यक्रममा मात्रै सीमित नरही, समयानुकूल शिक्षण–शिक्षण विधिको प्रयोगबाट विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने हाम्रो प्रयास हो ।’

विद्यालयले शिक्षालाई मात्र प्राथमिकता दिएको छैन, त्यससँगै आत्मनिर्भरता र स्वरोजगारमूलक सीप विकासमा समेत केन्द्रित रहँदै आएको छ । अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यालयको सशक्त उपस्थिति रहेको छ । नगरस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितासम्ममा विद्यार्थीहरूको सक्रिय सहभागिता र उल्लेखनीय उपलब्धि रहँदै आएको छ ।

विद्यालयको गौरवशाली यात्रा यत्तिमै सीमित छैन । ज्ञान ज्योति मावि स्थापनाको दोस्रो वर्षमै अर्थात् २०६७ सालमा शिक्षा मन्त्रालयबाट उत्कृष्ट विद्यालयको उपाधि प्राप्त गर्न सफल भएको थियो । त्यसयता २०६९ देखि २०७५ सालसम्म लगातार उत्कृष्ट विद्यालयको सम्मान प्राप्त गर्दै आएको यो विद्यालय २०७९ सालमा देशकै १५ उत्कृष्ट माविमा पर्न सफल भएको थियो । आज त्यो सूचीमा सातौं स्थानमा उक्लिनु कुनै सामान्य उपलब्धि होइन । यो उपलब्धिले शिक्षा क्षेत्रमा परिवर्तन सम्भव छ भन्ने एउटा उत्साहजनक दृष्टान्त खडा गरेको छ ।

सीइओ जिसीका अनुसार विद्यालयको मूल उद्देश्य भनेकै आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन् भन्ने हो । विद्यालयले आफ्ना कार्यक्रमहरूलाई सामाजिक उत्तरदायित्वका रूपमा हेर्दै आएको छ । विद्यालयमा विद्यार्थीको इच्छा र क्षमताअनुसार छात्रवृत्ति, राहत, विशेष सल्लाह–परामर्श, र प्रेरणा कक्षा सञ्चालनजस्ता विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

पढ्न चाहने, मेहनत गर्न तयार विद्यार्थीका लागि विद्यालयले कहिल्यै ढोका बन्द गरेको छैन । ‘शिक्षा सबैका लागि’ भन्ने नारालाई व्यवहारमा उतार्दै आएको यो विद्यालयले समाजलाई पनि जिम्मेवारीपूर्वक शिक्षित बनाउने अभियानको थालनी गरेको छ । ज्ञान ज्योति माविले विगतको गौरवलाई भविष्यको यथार्थमा परिणत गर्न योजना बनाउँदै गएको छ । शिक्षकहरूको निरन्तर तालिम, प्रविधिमैत्री कक्षा, पुस्तकालय र प्रयोगशालाको विकास, साथै विद्यार्थीकेन्द्रित पाठ्यपद्धति जस्ता योजनाहरू कार्यान्वयनमा छन् । विद्यालयले अब ‘शिक्षा–सीप–रोजगार’लाई एकैसाथ जोड्दै अघि बढ्ने रणनीति लिएको जिसीको भनाई छ । शिक्षालाई मात्र किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, नैतिक र जीवनोपयोगी दृष्टिकोणबाट लागू गर्ने उदेश्यले ज्ञान ज्योति मावि अब अन्य विद्यालयका लागि उदाहरणीय मोडल बन्न थालेको छ ।

देशको शैक्षिक मूल्याङ्कनमा सातौँ स्थानमा उक्लिनु ज्ञान ज्योति माविको मात्र उपलब्धि होइन, यो तुलसीपुर नगर, दाङ जिल्ला, र लुम्बिनी प्रदेशकै शैक्षिक पहिचानको उज्यालो पाटो हो । समर्पण, दृष्टिकोण र दूरदर्शी नेतृत्व भएमा कुनै पनि विद्यालयले कसरी राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न सक्छ भन्ने सन्देश ज्ञान ज्योति माध्यमिक विद्यालयले दिएको छ ।
जब नेपालका सयौँ विद्यालय अझै आधारभूत संरचना, गुणस्तरीय शिक्षक र व्यवस्थापनको अभावमा संघर्षरत छन्, ज्ञान ज्योति माविको यो उत्कर्ष एउटा प्रेरणा हो । शिक्षा केवल पाठ्यक्रम पढाउने कार्य होइन, यो एउटा संस्थागत दृष्टिकोण, सामाजिक चेतना र प्रतिबद्ध कार्यशैलीको समुच्चय हो । सातौँ स्थानसम्मको यात्रा, अझ उच्च स्थानसम्म पुग्ने तयारीसहित अघि बढिरहेको ज्ञान ज्योति माविको आगामी यात्रालाई शुभकामना ।

मुक्त कमलरीले मनाए १२ औँ मुक्ति दिवस

मुक्त कमलरीले मनाए १२औँ मुक्ति दिवस

छबि पुरी/राप्ती पोष्ट

घोराही, १३ असार ।
सरकारले कमलरी प्रथा उन्मुलन गरेको १२ वर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरी बीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो । कमलरी मुक्त घोषणा भएको दिनलाई मुक्त कमलरीले मुक्ति दिवसका रुपमा मनाउने गरेका छन् । कमलरी मुक्तदेश घोषणा भएको १२ बर्ष पूरा भएको अवसरमा शुक्रबार मुक्त कमलरीहरुले कमलरी मुक्ति दिवस मनाएका हुन् । औपचारिक कार्यक्रम गरेर भव्यताका साथ यो पटक दिवस नमनाए पनि उनीहरुको आजको दिनलाई आफुहरुको नयाँ जीवन प्राप्तिको दिनका रुपमा सम्झिएका छन् ।

तर, सरकारले कमलरी मुक्त घोषणा गरे पनि मुक्त कमलरीलाई शिक्षा, स्वास्थ्य, सीप सिकाउनसँगै पुनःस्थापनामा ध्यान नदिँदा कतिपय कमलरी अरुकै सहारामा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् ।  सरकारसँग भएको सहमतिअनुसार सरकारी परिचयपत्र प्राप्त गरेका मुक्त कमलरीले राज्यले प्रदान गर्ने छात्रवृत्तिलगायतका सेवा सुविधाहरु प्राप्त गरे पनि लगत लिनबाट छुटेका कमलरीले सेवा सुविधा प्राप्त गर्न नसकेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताउनुभयो ।

मुक्त कमलरी विकास मञ्चको तथ्यांक अनुसार १२ हजार ७ सय ६९ जना मुक्त कमलरी रहेका छन् । जसमध्ये दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चार हजार नौ सय ३४ जनाले सरकारी परिचयपत्र प्राप्त गरेका छन् । अझ सात हजार आठ सय ३५ जना कमलरीको सरकारले लगत संकलन नगर्दा सरकारी परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । सरकारी परिचयपत्र नहुँदा राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

पछिल्लो तथ्यांक अनुसार दाङमा १ हजार ९ सय ४९ जना, बाँकेमा ३ सय ३४ जना, बर्दियामा १ हजार ४ सय ५२ जनाले मुक्त कमलरी परिचय पत्र प्राप्त गरिसकेका छन् । यता दाङमा ४ सय २६ जनालाई थप परिचय पत्र दिने तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो । मुक्त कमलरीको उचित पुनःस्थापना नहुनु, छुट कमलरीको लगत संकलन हुन नसक्नु, परिचयपत्र वितरण नगर्नु, छात्रवृत्ति रकम निकै न्यून रहेको, स्नातकोत्तर तहमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, हत्या भएका, बेपत्ता पारिएका, यौन शोषणमा परेका, कुमारी आमा बनेका मुक्त कमलरी र उनीहरुका परिवारलाई न्याय र क्षतिपूर्तिका साथै दोषीलाई कार्वाही गर्नुपर्ने मुक्त कमलरीहरुको माग रहेको छ ।

यसैबीच, शुक्रबार एक कार्यक्रम गरी मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीहरुको क्षमता विकास, पैरवी र उद्यमशीलताका क्षेत्रमा काम गर्न मुक्त कमलरीहरुको अधिकारको माग सम्बन्धि सशक्तिकरण परियोजना बारे लागू गर्न लागेको बारे जानकारी गराएको छ । केन्द्रकी अध्यक्ष हीरामोती चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा शुक्रबार घोराहीमा कार्यक्रम गरी ६ जुनदेखि ३१ अक्टोबर २०२५ सम्म सञ्चालन हुन लागेको परियोजना बारे जानकारी गराएको हो ।

द एशिया फाउण्डेशनको सहयोगमा लागु हुने परियोजनाले मुक्त कमलरीहरुको परिचय पत्र प्राप्ति, पुनस्र्थापना, क्षमता विकास, आयआर्जन, वकालत क्षमतालगायत विषयमा काम गर्नेछ । जसबाट १ हजार ३ सय ११ जना प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । परियोजनाले दाङको लमही नगरपालिकाका ४ सय २६ जना, गढवा गाउँपालिकाका ३ सय ३१ जना, बाँकेको कोहलपुर नगरपालिकाका ५२ जना, राप्ती सोनारी गाउँपालिकाका २ सय २६ जना र बारबर्दिया नगरपालिकाका १ सय ७६ जना मुक्त कमलरीहरुका लागि प्रत्यक्ष रुपमा काम गर्नेछ ।

मुक्त कमलरीहरुको क्षमता विकासका लागि वकालत, पैरवी बारे अभिमुखीकरण गर्ने, समुदायमा अन्तरक्रिया गर्ने, मुक्त कमलरीहरुको अधिकारका सवाललाई नीति निर्माण तहमा पुर्याउँदै कार्यान्वयनमा जोड्ने गरी परियोजनाले काम गर्ने परियोजना संयोजक सुबोध चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा मुक्त कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मन्जिता चौधरी पूर्व अध्यक्ष सुनिता चौधरी, मुक्त कमलरी सहकारी सञ्जालकी केन्द्रीय संयोजक जानमति चौधरी, मुक्त कमलरी विकास मञ्च बाँके उपाध्यक्ष मनकुमारी चौधरी, बर्दिया अध्यक्ष जगनी थारु, पत्रकार रन्जिता अधिकारीलगायतले कमलरी आन्दोलनदेखि वर्तमान अवस्थासम्म आईपुग्दा भए गरेका काम र उपलब्धी बारे धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण ज्ञानु थापाले गर्नुभएको थियो ।