spot_img
spot_img

सञ्चार उद्यमी हेमराज धितालको हत्या प्रकरण

१५ बर्षसम्म पनि घटना रहस्यमय

राप्ती पोष्ट

दाङ, साउन । रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हेमराज धितालको हत्या भएको १५ वर्ष पुग्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । वि.सं. २०६७ साउन ५ गते राति तुलसीपुर उपमहानगरपालिका–१२ स्थित हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका धितालका हत्याराको पहिचान तथा कानुनी कारबाही अहिलेसम्म हुन नसकेको हो ।
हत्या भएको लामो समय बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसक्दा धितालका परिवार, सञ्चारकर्मी तथा मानवअधिकारकर्मीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । घटनापछि तत्कालीन जिल्ला प्रहरी कार्यालय दाङ र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दुवैले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान थालेका थिए । तर, कुनै ठोस प्रमाण फेला नपरेको, प्रत्यक्षदर्शी नभेटिएको र प्रमाण संकलनमा कमजोरी भएको भन्दै अनुसन्धान निष्क्रिय बनेको हो ।

त्यतिवेला दाङका प्रहरी प्रमुख ठाकुर ज्ञवाली हुनुहुन्थ्यो । ज्ञवालीले त्यतिवेला प्रहरी हत्याराको नजिक पुगेको बताउनुभएको थियो । हत्याराका बारेमा केही दिनमा सार्वजनिक गर्ने बताउनुभएका ज्ञवालीको केही महिनामा सरुवा भयो । उहाँ बढुवा हुँदै जाँदा प्रहरीको सवैभन्दा माथिल्लो पद आइजिपीमा पुग्नुभयो । उहाँ प्रहरी महानिरिक्षक हुँदा पनि घटनाका बारेमा सत्य तथ्य सार्वजनिक भएको छैन ।

राप्ती पोष्टलाई प्राप्त जानकारी अनुसार त्यतिवेला जिल्ला प्रहरी कार्यालय दाङमा डिएसपी लक्ष्मण गिरीको नेतृत्वमा १८ पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन तयार गरी जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमार्फत सीआईबीमा बुझाएको थियो । तर सो प्रतिवेदन सार्वजनिक गरिएको छैन । घटनाका बारेमा सीआईबीले पनि अध्ययन गरे पनि अनुसन्धान अगाडि नबढेको परिवारको गुनासो छ । हाल डिएसपी गिरी पनि सेवा निवृत्त भइसक्नुभएको छ । घटना रहस्यमय रहेको छ ।

मृतक धितालकी पत्नी मञ्चु धिताल र छोरी मनिषा धितालले पटक–पटक न्यायको माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आउनुभएको छ । उहाँहरुले घटनापछि राज्यका निकायहरूले चासो नदिएको, अनुसन्धानलाई कमजोर बनाइएको र हत्यारा पत्ता लगाउन राज्य गम्भीर नभएको आरोप लगाउँदै आउनुभएकमो छ । हरेक बर्ष जस्तो धिताल परिवारले प्रहरीका प्रमुख मात्रै होइन गृहमन्त्री समेतको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । गत बर्ष पनि तत्कालिन गृहमन्त्री समक्ष धितालको परिवार, रेडियो सञ्चालक तथा सञ्चारकर्मीहरूले ध्यानाकर्षण गराएका थिए । गृहमन्त्रीले सीआईबी र प्रहरी प्रमुखमार्फत अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाए पनि त्यसमा कुनै देखिने कार्यान्वयन भएको छैन ।

रेडियो तुलसीपुर, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज लगायतका संस्थाहरूले धितालको हत्या अनुसन्धानमा ढिलाइ र निष्क्रियता भएको भन्दै पटक–पटक स्मृति सभा तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सो क्रममा ‘हेमराज धिताल स्मृति प्रतिष्ठान’ समेत स्थापना गरिएको छ । तर, प्रतिष्ठानको पहल पनि राज्यस्तरसम्म पुगी न्याय दिलाउने प्रक्रिया अगाडि बढाउन सफल हुन सकेको छैन । दाङका पत्रकार, समाजसेवी तथा स्थानीयवासीहरूले घटनाको १५ वर्षसम्म पनि अनुसन्धान निष्कर्षमा पुग्न नसक्नु राज्यको असक्षमता भएको टिप्पणी गरेका छन् । उनीहरूले हत्याको छानबिन पुनः सुरु गर्न, सीआईबीको रिपोर्ट सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

सञ्चारकर्मी धितालको हत्या जस्तो गम्भीर घटनामा राज्यका निकायहरूको मौनता, प्रहरी प्रशासनको निष्क्रियता र अनुसन्धानमा देखिएको ढिलाइप्रति सञ्चार क्षेत्र, मानवअधिकारकर्मी तथा नागरिक समाजले गम्भीर चासो व्यक्त गर्दै आएका छन् । हत्यापछि प्रहरीले सुराकीका आधारमा केही व्यक्तिहरूको गतिविधि अनुसन्धानको घेरामा ल्याए पनि प्रमाण अभावका कारण मुद्दा अगाडि बढ्न नसकेको प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले धिताल हत्याको विषय धेरै नै गिजोलिएको बताउनुभयो । उहाँले पटक पटक अनुसन्धान भएको छ । यो विषयमा खोज्दै जाँदा निश्कर्षमा पुग्न गाह्रो परिरहेको बताउनुभयो । उहाँँले आफूले धेरै बर्ष अघि यो विषयमा चासो राखेको भन्दै अहिले पनि यो विषयमा अनुसन्धान अघि बढाउन चाहेको बताउनुभयो । प्रहरीले मात्रै यो घटनालाई निश्कर्षमा पुराउन सक्दैन भन्ने मेरो ठहर छ भन्दै उहाँले यसका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । घर परिवार, आफन्तजन, साथिभाई, संचारकर्मी, उहाँ आवद्ध रहनुभएको पार्टी नेपाली काँग्रेसका नेताहरुले पनि साथ र सहयोग गर्ने हो भने घटनाका बारेमा यथार्थ कुरा बाहिर आउन सक्ने उहाँको बुझाइ रहेको छ । प्रहरी उपरिक्षक तिमिल्सिनाले हेमराज धिताल हत्याको फाइल अध्ययन गर्न र आवश्यक अनुसन्धान गर्नका लागि तुलसीपुर इलाका प्रहरी कार्यालयका डिएसीलाई निर्देशन दिएको बताउनुभयो । ‘थप केही प्रगति गर्न सकिन्छ कि भनेर एक पटक पुरानो फाइल खोल्नका लागि भनेको छु ।’ उहाँले भन्नुभयो ।

हेमराज धिताल रेडियो तुलसीपुरका अध्यक्ष मात्र होइन, राप्ती सञ्चार सेवा केन्द्रका संस्थापक, लायन्स क्लबका अगुवा सदस्य, समाजसेवी, तथा दाङ क्षेत्रका युवालाई सञ्चार माध्यमतर्फ डो¥याउने प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ राप्ती अञ्चल यातायात व्यवसायी समितिको अध्यक्षका रुपमा पनि हुनुुहन्थ्यो । तर दुःखद यथार्थ के छ भने, सामाजिक रुपमा योगदान दिने यो व्यक्तिलाई न त समाजले समयमै सुरक्षा दिन सक्यो, न त राज्यले न्याय । हेमराज धितालको हत्या आज पनि रहस्यमय छ, अँध्यारो छ, जसको समाधान खोज्ने कोही इच्छुक छैनन् भन्ने भान पर्छ ।

घटना विवरण अनुसार वि.सं. २०६७ साल साउन ५ गते राति करिब साढे आठ बजेको समयमा धिताललाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । घटनास्थल थियो दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित हेमनगर । उहाँ आफ्नो काम सकेर घर फर्किंदै हुनुहुन्थ्यो । उहाँसँगैका अरु व्यक्तिहरु भने यो घटनामा सकुसल रहेका थिए ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार