सवै तयारी पुरा, भक्तजनलाई सहभागिताका लागि अपिल
राप्ती पोष्ट
दाङ, असार । दाङको प्रशिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा तेस्रो बर्ष पनिे शिवपुराण तथा श्रृङ्गारिक महाआरती हुने भएको छ । तीन बर्ष अघि देखि दाङ जिल्लामै पहिलो पटक साउनको महिनामा गंगा आरती थालिएको थियो । साउनको महिनामा शिवको आराधना गरिने भएकाले बिषेश महत्वको रुपमा लिने गरिएको छ । साउन महिनाको भगवान् शिवसँग गहिरो सम्बन्ध रहेको छ, विशेषगरी हिन्दू धर्ममा यसको महत्व धेरै रहेको छ । साउनलाई शिवको महिना भनेर पनि चिनिन्छ । यसको पछाडि धार्मिक, पौराणिक र सांस्कृतिक आधारहरू रहेका छन् । दाङमा रहेका धार्मिक स्थलमध्य पछिल्लो समय धार्मिक र पर्यटनका हिसावले धारपानी प्रख्यात रहेको छ । सोही क्रममा साउनको महिनामा धारपानीमा पनि श्रृङ्गारिक आरती थालिएको हो ।
साउन महिनालाई शिवसँग जोडिएको प्रमुख पौराणिक कथा समुद्र मन्थन रहेको मानिन्छ । जब देवता र असुरहरूले समुद्र मन्थन गरे, त्यसबाट १४ प्रकारका वस्तु निस्किएका थिए । तीमध्ये एक थियो कालकूट विष, जसले सम्पूर्ण सृष्टिलाई नष्ट गर्ने शक्ति राख्थ्यो । त्यस विषलाई कसैले लिन मानेन । अन्ततः भगवान् शिवले त्यो विष पिएर संसारलाई बचाएका थिए भन्ने किंम्वदन्ती छ ।
विषको प्रभाव रोक्न शिवजीले विष गलेमा रोके (जसले उहाँलाई नीलकण्ठ बनायो), र त्यो विषको ताप कम गर्न देवता तथा भक्तहरूले साउन महिनाभर गंगाजल, बेलपत्र, दूध, दही, घ्यु, मह, सगर, आदि चढाए । त्यसैले साउन महिनाभर शिवको पूजा विशेष गरी जल अभिषेक गरेर गरिन्छ । साउन सोमबारः शिवको प्रिय दिन सोमबार भगवान् शिवको विशेष दिन हो भनिन्छ ।
साउन महिनाभरको सोमबारहरूलाई सावन सोमबार व्रत भनिन्छ । विशेष गरी युवती र महिलाहरूले यो व्रत शुभविवाह, सुन्दर जीवनसाथी, र परिवारको समृद्धिका लागि बस्छन् । व्रत गर्दा बिहानै स्नान गरेर शिव मन्दिर जानु, व्रत बस्नु, बेलपत्र, जल, दूध चढाउनु र ‘ॐ नमः शिवाय’ जप गर्नु परम्परा हो ।
साउन महिना वर्षा ऋतुको चरम समयमा पर्छ । यस्तो बेलामा खेतबारीमा काम गर्ने किसानहरू, विशेषतः महिलाहरूले साउन सोमबारको अवसरलाई धार्मिक आस्था र मनोरञ्जन दुवैका रूपमा प्रयोग गर्छन् । हरियाली, झूला, मेहन्दी, रातो–हरियो लुगा, गीत–संगीतमार्फत साउन महिलाको लागि विशेष बनाइएको छ, जुन सबै शिवको आराधनासँग जोडिएको छ । शिव मन्दिरहरूमा साउन महिनाभर जलाभिषेक, रुद्राभिषेक, शिव पुराण पाठ, र भजन कीर्तन जस्ता कार्यक्रमहरू हुन्छन् । खासगरी पशुपतिनाथ मन्दिर (काठमाडौं) लगायत नेपालभरका शिव मन्दिरहरूमा साउन महिनामा भक्तजनको ठूलो भीड लाग्दछ । धारपानीमा पनि साउनको महिनामा ठूलो भिड लाग्ने गर्दछ । भगवान् शिवको त्याग, तपस्या, र करुणाको सम्झना गर्ने समय भएकाले धारपानीमा बिषेश पुजा आजाको तयारी गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले सोमवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी शिवपुराण तथा श्रृङ्गारिक महाआरतीको तयारीका क्रममा भएका कामको जानकारी गराएको थियो । साउनको १ गतेबाट सुरु हुने श्रृङ्गारिक आरतीका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, सरसफाइ लगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । साउन १ गते दिउसो १ बजे शिवपुराण तथा महाआरतीको उद्घघाटन गरिने छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका समितिका सचिव तथा शिवपुराण तथा श्रृङंगारिक महाआरती प्रचार प्रसार उपसमितिका संयोजक विष्णुराम आचार्यले महाआरती तयारीका काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले साउनको १ गतेदेखि ३१ गतेसम्म संचालन हुने महाआरतीमा आउन सवै भक्तजनलाई आउन आग्रह गर्नुभयो ।
आचार्यले यस बर्षको महाआरती र शिवपुराण फरक तरिकाले गर्न थालेको भन्दै साउनको २ गतेदेखि २९ गते सम्म लोकभजन प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लोकभजनलाई सम्वर्धन र संरक्षण गर्नका लागि सो प्रतियोगिता सञ्चालन गर्न थालिएको आचार्यले जानकारी दिनुभयो ।
अध्यक्ष अधिकारीले सवैको साथ र सहयोगले धारपानी धामको विकास भइरहेको बताउनुभयो । उहाँले अघिल्ला बर्षहरुमा जस्तै सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले धार्मिक कार्य गरेको रकम संकलनका लागि नभइ धर्मको रक्षाका लागि भएको बताउँदै साउनको १ गते देखि सुरु हुने कार्यक्रमका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार शिवपुराण तथा श्रृंङ्गारिक महाआरतीमा बिहान ४ बजेदेखि ७ बजे सम्म नित्य पुजा, बिहान ७ बजेदेखि १० बजे सम्म बिशेष पुजा, ११ बजेदेखि ४ बजे सम्म प्रवचन, लोकभजन प्रतियोगिता, बेलुकी ७ बजेदेखि ८ बजे सम्म नित्य आरती, ८ बजेदेखि ९ बजे सम्म श्रृंङ्गारिक आरती र राति ९ बजेदेखि साडे १० बजे सम्म प्रवचन र झाँकी प्रस्तुत हुनेछ ।
एक महिना चल्ने महाआरतीमा रूद्राभिषेक, लघु रूद्रि, लक्ष्यवर्तिका, चौरासी पुजा, जन्मदिन, गृहपुजा, नाग पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ब्रतबन्ध,चूडाकर्म लगायतका कार्य समेत गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष संतोष सुवेदी र पर्यटन विकास केन्द्र दाङका उपाध्यक्ष डाक्टर लोकराज पराजुलीले व्यवस्थित योजना, सामुहिक एकता र दाताको सहयोगले धारपानीको विकासले फड्को मारेको बताउनुभयो । पत्रकार सम्मेलनको सञ्चालन मन्दिरका सञ्चार संयोजक विमल योगीले गर्नुभयो ।



