spot_img
spot_img

जालसाजी गरी जग्गा बेचिएपछि पीडित न्याय माग्दै

राप्ती पोष्ट

घोराही, असार । घोराही उपमहानगरपालिका वडा नम्बर १४ सरस्वती टोल बस्ने मुलजिता रोकाको नाममा रहेको वडा नम्बर ७ सौडियारस्थित कित्ता नम्बर ३ क ९२६ नम्बरको १० कठ्ठा ८ धुर जग्गा जालसाजी गरि बिक्रि गरेको रहस्य खुलेको छ । ६६ वर्षीया पीडित मुलजिताले बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी आफ्नो नाममा रहेको जग्गा जालसाजी गरी बिक्रि गरेको थाहा पाएपछि घटना बारे जानकारी गराएपछि यो तथ्य बाहिर आएको हो । मुलजिताको नाममा रहेको उक्त जग्गा जनज्योति पशुपालक कृषक सहकारी संस्थाबाट कृषि प्रयोजनका लागि भन्दै २०७८ असार १६ गते वार्षिक २४ हजार रुपैयाँमा १० वर्षको सम्झौता गरेको देखिन्छ । सम्झौतामा साक्षी बसेका घोराही १५ का रन्जित भनिने टीका बुढाले केही समयपछि जालसाजी गरी उक्त जग्गा बिक्रि गरेको पाइएको छ ।

पीडित मुलजिताका अनुसार, आफु एकल महिला रहेको तथा छोरी पढाईको सिलसिलामा जिल्ला बाहिर बस्ने हुँदा पढाई खर्च धान्न भन्दै जग्गा भाडामा लगाएको बेला टीका बुढाले जालसाजी गरी बिक्रि गरेको उहाँको भनाई छ । आफ्नो जमिनको तिरो बुझाउनका लागि वडा कार्यालयमा गएको बेला आफ्नो जग्गा बिक्रि भईसकेको थाहा पाउनुभयो । ‘भाडामा दिएको जमिन विक्रि भइसकेको भन्ने थाहा पाएपछि छाँगाबाट खसे झै भए ।’ उहाँले भन्नुभयो ।

जमिन सँझौताको कागजात हेर्दा दुवै पक्ष बीच २०७८ असार १६ गते जग्गा भाडामा दिने सहमति भएको देखिन्छ । सम्झौता भएको १२ दिनपछि अर्थात २०७८ असार २८ गते उक्त जग्गा अर्को व्यक्तिको नाममा पास भएको देखिन्छ । टीका बुढाले २० लाखको कागजी मूल्यांकन देखाएर लक्ष्मण शर्मालाई २०७८ असार २७ गते लिखत तयार पारी २८ गते बिक्रि गरेको लालपूर्जाको प्रमाण फेला परेको छ ।

यसको केही महिनापछि उक्त जमिन पुनः विक्रि भएको पाइएको छ । लक्ष्मण शर्मा नाम गरेको व्यक्तिले उक्त जग्गा करिब ६ महिनापछि अर्थात २०७८ पुस २० गते घोराही उपमहानगरपालिका वडा नं. १५ का पर्शुनारायण श्रेष्ठलाई विक्रि गरेको देखिन्छ । करोडौं रुपैयाको उक्त जमिन श्रेष्ठले किन्दा पनि २० लाख रुपैयाँ नै मुल्यांकन गरेर बिक्रि गरेको भेटिएको छ ।
जग्गा धनीलाई सोधपुछ नै नगरी आफ्नो नामको जग्गा बिक्रि गर्ने काममा धेरै जनाको मिलेमतो भएको हुन सक्ने आशंका लागेको बताउनुभयो । आफुले भाडामा दिइएको जग्गा अरुलाई किन बिक्रि भन्ने बारे टिका बुढासँग कुराकानी गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएपछि बाध्य भएर घटना सार्वजनिक गरेको बताउनुभयो । व्यक्तिको नाम र प्रतिष्ठामा राजनीतिक, सामाजिक आँच किन ल्याउने भन्दै जग्गा फिर्ता गराई दिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर समस्या सार्वजनिक गरेको उहाँले बताउनुभयो ।

सामान्य चिनजानका आधारमा आफुले विश्वास गरेर जग्गा भाडा दिएको बताउँदै अहिले ठूलो अन्यायमा परेको पीडित मुलजिताले बताउनुभयो । पीडित मुलजिताका अनुसार, जग्गा भाडा वापत दोस्रो पक्षले चार पटक गरेर एक लाख २० हजार बुझाएको छ । सँझौता गर्दा पनि पाँच÷पाँच बर्षमा भाडा बुझाउने उल्लेख गरिएको छ । यसैगरी जग्गाको भाडा सँझौता भएको १० बर्षपछि दुवै पक्षको सहमतीमा बृद्धि गरिनेछ भन्ने उल्लेख गरिएको छ । जवकी सामान्यतयाः कुनै पनि जमिन वा भवनको भाडा दुई बर्षमा १० प्रतिशतका दरले बृद्धि हुने भन्ने हुन्छ । भाडा पनि बढीमा छ महिनाको दरले बुझाउने भन्ने हुन्छ तर जमिन भाडाको सँझौता गर्दा पाँच बर्षको एक मुष्ट बुझाउने भनेर लेखिएको छ ।

रंजित नामले चिनिने टिका बुढा

रंजित नामले चिनिने टिका बुढा

घटनामा टिका बुढा कसरी जोडिएका छन् भने उनले मुलजिता रोकासंग सहकारीका नाममा सँझौता गर्दा साक्षीका रुपमा बसेका छन् भने लक्ष्मण शर्मालाई विक्रि गर्दा पनि साक्षि बसेको देखिन्छ । मुलजिताले आफूलाई सहकारीको सँझौता मालपोत कार्यालयमा गर्नुपर्छ भनेर बोलाएपछि गएको र आफूलाई केही पनि थाहा नभएको बताउनुभयो । मालपोतको झ्यालबाट कागजातमा लेप्चे लगाउन पठाएको तर आफूलाई यसका बारेमा केही थाहा नभएको बताउनुभयो ।

टिका बुढा माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका जुवाई भएकाले यो घटनाका बारेमा महरासंग पनि कुरा गरिएको बताइएको छ । दुई बर्ष अघि घटनाका बारेमा महरालाई जानकारी गराउँदा पनि हालसम्म सुनुवाई नभएपछि बाध्य भएर पत्रकार समक्ष आउनु परेको मुलजिताको भनाई थियो । सो घटनासँग जोडिएका अरु पीडित पनि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । जनज्योति पशुपालक कृषक सहकारी संस्था स्थापना गरी जागिरको प्रलोभन देखाएर आफुलाई पनि फसाएको विरु घर्ती मगर र दीपा बुढाले बताउनुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार