spot_img
spot_img

मुक्त कमलरीले मनाए १२ औँ मुक्ति दिवस

मुक्त कमलरीले मनाए १२औँ मुक्ति दिवस

छबि पुरी/राप्ती पोष्ट

घोराही, १३ असार ।
सरकारले कमलरी प्रथा उन्मुलन गरेको १२ वर्ष पूरा भएको छ । २०७० जेठ १९ गते सरकार र आन्दोलनरत कमलरी बीच १० बुँदे सहमति भएपछि सरकारले २०७० साल असार १३ गते देशलाई कमलरी मुक्त घोषणा गरेको थियो । कमलरी मुक्त घोषणा भएको दिनलाई मुक्त कमलरीले मुक्ति दिवसका रुपमा मनाउने गरेका छन् । कमलरी मुक्तदेश घोषणा भएको १२ बर्ष पूरा भएको अवसरमा शुक्रबार मुक्त कमलरीहरुले कमलरी मुक्ति दिवस मनाएका हुन् । औपचारिक कार्यक्रम गरेर भव्यताका साथ यो पटक दिवस नमनाए पनि उनीहरुको आजको दिनलाई आफुहरुको नयाँ जीवन प्राप्तिको दिनका रुपमा सम्झिएका छन् ।

तर, सरकारले कमलरी मुक्त घोषणा गरे पनि मुक्त कमलरीलाई शिक्षा, स्वास्थ्य, सीप सिकाउनसँगै पुनःस्थापनामा ध्यान नदिँदा कतिपय कमलरी अरुकै सहारामा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् ।  सरकारसँग भएको सहमतिअनुसार सरकारी परिचयपत्र प्राप्त गरेका मुक्त कमलरीले राज्यले प्रदान गर्ने छात्रवृत्तिलगायतका सेवा सुविधाहरु प्राप्त गरे पनि लगत लिनबाट छुटेका कमलरीले सेवा सुविधा प्राप्त गर्न नसकेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले बताउनुभयो ।

मुक्त कमलरी विकास मञ्चको तथ्यांक अनुसार १२ हजार ७ सय ६९ जना मुक्त कमलरी रहेका छन् । जसमध्ये दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा चार हजार नौ सय ३४ जनाले सरकारी परिचयपत्र प्राप्त गरेका छन् । अझ सात हजार आठ सय ३५ जना कमलरीको सरकारले लगत संकलन नगर्दा सरकारी परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । सरकारी परिचयपत्र नहुँदा राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।

पछिल्लो तथ्यांक अनुसार दाङमा १ हजार ९ सय ४९ जना, बाँकेमा ३ सय ३४ जना, बर्दियामा १ हजार ४ सय ५२ जनाले मुक्त कमलरी परिचय पत्र प्राप्त गरिसकेका छन् । यता दाङमा ४ सय २६ जनालाई थप परिचय पत्र दिने तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो । मुक्त कमलरीको उचित पुनःस्थापना नहुनु, छुट कमलरीको लगत संकलन हुन नसक्नु, परिचयपत्र वितरण नगर्नु, छात्रवृत्ति रकम निकै न्यून रहेको, स्नातकोत्तर तहमा अध्ययनरत छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, हत्या भएका, बेपत्ता पारिएका, यौन शोषणमा परेका, कुमारी आमा बनेका मुक्त कमलरी र उनीहरुका परिवारलाई न्याय र क्षतिपूर्तिका साथै दोषीलाई कार्वाही गर्नुपर्ने मुक्त कमलरीहरुको माग रहेको छ ।

यसैबीच, शुक्रबार एक कार्यक्रम गरी मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीहरुको क्षमता विकास, पैरवी र उद्यमशीलताका क्षेत्रमा काम गर्न मुक्त कमलरीहरुको अधिकारको माग सम्बन्धि सशक्तिकरण परियोजना बारे लागू गर्न लागेको बारे जानकारी गराएको छ । केन्द्रकी अध्यक्ष हीरामोती चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा शुक्रबार घोराहीमा कार्यक्रम गरी ६ जुनदेखि ३१ अक्टोबर २०२५ सम्म सञ्चालन हुन लागेको परियोजना बारे जानकारी गराएको हो ।

द एशिया फाउण्डेशनको सहयोगमा लागु हुने परियोजनाले मुक्त कमलरीहरुको परिचय पत्र प्राप्ति, पुनस्र्थापना, क्षमता विकास, आयआर्जन, वकालत क्षमतालगायत विषयमा काम गर्नेछ । जसबाट १ हजार ३ सय ११ जना प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । परियोजनाले दाङको लमही नगरपालिकाका ४ सय २६ जना, गढवा गाउँपालिकाका ३ सय ३१ जना, बाँकेको कोहलपुर नगरपालिकाका ५२ जना, राप्ती सोनारी गाउँपालिकाका २ सय २६ जना र बारबर्दिया नगरपालिकाका १ सय ७६ जना मुक्त कमलरीहरुका लागि प्रत्यक्ष रुपमा काम गर्नेछ ।

मुक्त कमलरीहरुको क्षमता विकासका लागि वकालत, पैरवी बारे अभिमुखीकरण गर्ने, समुदायमा अन्तरक्रिया गर्ने, मुक्त कमलरीहरुको अधिकारका सवाललाई नीति निर्माण तहमा पुर्याउँदै कार्यान्वयनमा जोड्ने गरी परियोजनाले काम गर्ने परियोजना संयोजक सुबोध चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा मुक्त कमलरी विकास मञ्चकी संस्थापक अध्यक्ष मन्जिता चौधरी पूर्व अध्यक्ष सुनिता चौधरी, मुक्त कमलरी सहकारी सञ्जालकी केन्द्रीय संयोजक जानमति चौधरी, मुक्त कमलरी विकास मञ्च बाँके उपाध्यक्ष मनकुमारी चौधरी, बर्दिया अध्यक्ष जगनी थारु, पत्रकार रन्जिता अधिकारीलगायतले कमलरी आन्दोलनदेखि वर्तमान अवस्थासम्म आईपुग्दा भए गरेका काम र उपलब्धी बारे धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण ज्ञानु थापाले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार