राप्ती पोष्ट
तुलसीपुर, असार । नेपालको शैक्षिक क्षेत्रले पछिल्ला केही वर्षमा उल्लेखनीय परिवर्तनको अनुभव गरिरहेको छ । जसको ताजा उदाहरण शुक्रबार प्रकाशित एसइईको नतिजालाई पनि दिन सकिन्छ । प्रविधिको विकास, जनताको अभिरुचिमा आएको बदलाव, र विद्यालयहरूमाझको प्रतिस्पर्धाले शिक्षालाई नयाँ गति दिएको छ । यही प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा तुलसीपुर उपमहानगरपालिका–५ मा अवस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले देशकै सातौँ उत्कृष्ट विद्यालय बन्ने गौरव हासिल गरेको छ ।
एजुकेशन समाचारद्वारा हालै सार्वजनिक गरिएको २०८२ सालको देशभरिका माध्यमिक विद्यालयहरूको मूल्याङ्कन सूचीमा ज्ञान ज्योतिले आफ्नो उपस्थितिलाई विशेष बनाएको छ । देशभरका चार हजार सात सय ४१ विद्यालयहरूमध्येबाट उत्कृष्ट सातौँ स्थानमा पर्न सफल भएको ज्ञान ज्योति माविले न केवल तुलसीपुर, दाङ वा लुम्बिनी प्रदेशको नाम उज्यालो बनाएको छ, बरु देशैभरका शैक्षिक क्षेत्रलाई पनि एउटा प्रेरणादायी सन्देश दिएको छ । ज्ञानज्योतिले देखाएको उदाहरण भनेको प्रतिबद्धता, अनुशासन र नवीन सोचले कुनै पनि संस्था उत्कृष्ट बन्न सक्छ भन्ने नै हो ।
उक्त सूची तयार पार्दा रिजल्टलाई ८० प्रतिशत र भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापना वर्ष, जनधारणा, व्यवस्थापन आदिलाई चार–चार प्रतिशत अंकका दरले मूल्याङ्कन गरिएको थियो । यस आधारमा ज्ञान ज्योति माविले सबै सूचकमा सन्तुलित र उत्कृष्ट प्रदर्शन गर्दै सातौँ स्थान सुरक्षित गरेको हो ।
विद्यालयको अनुशासन, पठनपाठनको गुणस्तर, विद्यार्थीको शैक्षिक उपलब्धि र व्यवस्थापन संयोजनलाई आधार बनाएर तयार गरिएको सूचीमा ज्ञान ज्योतिको नाम अगाडि आउनु यस विद्यालयको प्रभावकारी व्यवस्थापन, समर्पित शिक्षक टोली र निष्ठावान विद्यार्थीहरूको सम्मिलित प्रयासको प्रतिफल हो ।
ज्ञान ज्योति मावि पछिल्ला दुई वर्षदेखि लगातार अब्बल सात मा पर्न सफल हुँदै आएको छ । वार्षिक रूपमा करिब चार सय ८० विद्यार्थीलाई एसईई (बोर्ड परीक्षा) मा सहभागी गराउँदै आएको विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षाजस्ता संकायहरूमा कक्षा ११ र १२ मा शिक्षण सञ्चालन गर्दै आएको छ । उच्च माध्यमिक तहमा मात्र सीमित नरही, यस विद्यालयले स्नातक तथा स्नातकोत्तर तहसम्मका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । विशेषगरी स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, र स्नातकोत्तर तहमा समेत शिक्षाशास्त्र लगायतका विषयहरूमा अध्यापन हुँदै आएको छ ।
विद्यालयका मुख्य कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र जिसी
यसले जिल्लाबाहिर उच्च शिक्षाका लागि जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुको साथै स्थानीयस्तरमै गुणस्तरीय शिक्षाको पहुँच वृद्धि गरिदिएको छ । विद्यालयका मुख्य कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र जिसीका अनुसार, ज्ञान ज्योतिको सफलताको आधार कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाको समर्पण र विद्यार्थीहरूको अनुशासन हो । उहाँले भन्नुभयो, ‘हामी प्रत्येक विद्यार्थीको अभिरुचि र क्षमतालाई मध्यनजर गर्दै शिक्षण विधि अपनाउँछौं । परम्परागत पाठ्यक्रममा मात्रै सीमित नरही, समयानुकूल शिक्षण–शिक्षण विधिको प्रयोगबाट विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने हाम्रो प्रयास हो ।’
विद्यालयले शिक्षालाई मात्र प्राथमिकता दिएको छैन, त्यससँगै आत्मनिर्भरता र स्वरोजगारमूलक सीप विकासमा समेत केन्द्रित रहँदै आएको छ । अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यालयको सशक्त उपस्थिति रहेको छ । नगरस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितासम्ममा विद्यार्थीहरूको सक्रिय सहभागिता र उल्लेखनीय उपलब्धि रहँदै आएको छ ।
विद्यालयको गौरवशाली यात्रा यत्तिमै सीमित छैन । ज्ञान ज्योति मावि स्थापनाको दोस्रो वर्षमै अर्थात् २०६७ सालमा शिक्षा मन्त्रालयबाट उत्कृष्ट विद्यालयको उपाधि प्राप्त गर्न सफल भएको थियो । त्यसयता २०६९ देखि २०७५ सालसम्म लगातार उत्कृष्ट विद्यालयको सम्मान प्राप्त गर्दै आएको यो विद्यालय २०७९ सालमा देशकै १५ उत्कृष्ट माविमा पर्न सफल भएको थियो । आज त्यो सूचीमा सातौं स्थानमा उक्लिनु कुनै सामान्य उपलब्धि होइन । यो उपलब्धिले शिक्षा क्षेत्रमा परिवर्तन सम्भव छ भन्ने एउटा उत्साहजनक दृष्टान्त खडा गरेको छ ।
सीइओ जिसीका अनुसार विद्यालयको मूल उद्देश्य भनेकै आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन् भन्ने हो । विद्यालयले आफ्ना कार्यक्रमहरूलाई सामाजिक उत्तरदायित्वका रूपमा हेर्दै आएको छ । विद्यालयमा विद्यार्थीको इच्छा र क्षमताअनुसार छात्रवृत्ति, राहत, विशेष सल्लाह–परामर्श, र प्रेरणा कक्षा सञ्चालनजस्ता विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
पढ्न चाहने, मेहनत गर्न तयार विद्यार्थीका लागि विद्यालयले कहिल्यै ढोका बन्द गरेको छैन । ‘शिक्षा सबैका लागि’ भन्ने नारालाई व्यवहारमा उतार्दै आएको यो विद्यालयले समाजलाई पनि जिम्मेवारीपूर्वक शिक्षित बनाउने अभियानको थालनी गरेको छ । ज्ञान ज्योति माविले विगतको गौरवलाई भविष्यको यथार्थमा परिणत गर्न योजना बनाउँदै गएको छ । शिक्षकहरूको निरन्तर तालिम, प्रविधिमैत्री कक्षा, पुस्तकालय र प्रयोगशालाको विकास, साथै विद्यार्थीकेन्द्रित पाठ्यपद्धति जस्ता योजनाहरू कार्यान्वयनमा छन् । विद्यालयले अब ‘शिक्षा–सीप–रोजगार’लाई एकैसाथ जोड्दै अघि बढ्ने रणनीति लिएको जिसीको भनाई छ । शिक्षालाई मात्र किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, नैतिक र जीवनोपयोगी दृष्टिकोणबाट लागू गर्ने उदेश्यले ज्ञान ज्योति मावि अब अन्य विद्यालयका लागि उदाहरणीय मोडल बन्न थालेको छ ।
देशको शैक्षिक मूल्याङ्कनमा सातौँ स्थानमा उक्लिनु ज्ञान ज्योति माविको मात्र उपलब्धि होइन, यो तुलसीपुर नगर, दाङ जिल्ला, र लुम्बिनी प्रदेशकै शैक्षिक पहिचानको उज्यालो पाटो हो । समर्पण, दृष्टिकोण र दूरदर्शी नेतृत्व भएमा कुनै पनि विद्यालयले कसरी राष्ट्रिय स्तरमा सफलता प्राप्त गर्न सक्छ भन्ने सन्देश ज्ञान ज्योति माध्यमिक विद्यालयले दिएको छ ।
जब नेपालका सयौँ विद्यालय अझै आधारभूत संरचना, गुणस्तरीय शिक्षक र व्यवस्थापनको अभावमा संघर्षरत छन्, ज्ञान ज्योति माविको यो उत्कर्ष एउटा प्रेरणा हो । शिक्षा केवल पाठ्यक्रम पढाउने कार्य होइन, यो एउटा संस्थागत दृष्टिकोण, सामाजिक चेतना र प्रतिबद्ध कार्यशैलीको समुच्चय हो । सातौँ स्थानसम्मको यात्रा, अझ उच्च स्थानसम्म पुग्ने तयारीसहित अघि बढिरहेको ज्ञान ज्योति माविको आगामी यात्रालाई शुभकामना ।