spot_img
Home Blog Page 55

लमही बजारलाई व्यवस्थित गराउने तयारी

श्रवण बस्नेत/राप्ती पोष्ट

लमही, जेठ । लमही नगरपालिकाले बजार व्यवस्थित बनाउने अभियान चलाउने भएको छ । आगामी असारको १ गते देखि अभियान नै संचालन गरेर बजार ब्यबस्थित गर्ने योजना बनाएको छ ।

लमही बजार व्यवस्थित हुन नसकेको जनगुनासो बढी आएपछि लमही नगरपालिकाले बजार व्यवस्थित गराउने योजना ल्याएको हो । बजार क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अभियान संचालनमा ल्याउन थालेको लमही नगरपालिकाले जनाएको छ ।

लमहीले यसका लागि पाँच जना नगर प्रहरी खटाउन थालेको छ । लमही बजारलाई व्यवस्थित गराउनका लागि प्रहरीको पनि सहयोग लिइने भएको छ । बजारबासीले अटेर गरेमा कानुनी कारवाही गर्ने तयारी समेत गरिएको बताइएको छ । बजार व्यवस्थित गराउने अभियान अन्तरगत बजारमा नाली भित्र सामान राख्ने, ठेला गाढा, रिक्सा, अटो, ग्यारेजका समानहरुको ब्यबस्थापन गरिने छ । संभब भए सम्म उनिहरुका लागि निश्चित ठाउँ दिइने लमही नगरपालिकाकी उपमेयर लक्ष्मि योगीले जानकारी दिनु भएको छ ।

बजारमा फोहर, बाताबरण दुषित गर्ने भनेको बढिजसो ठेलागाढा नै रहेको भन्दै उनिहरुको तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको योगीले बताउनुभयो । उहाँले यो अभियानमा सहयोग गर्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभएको छ । लमही बजारलाई नमूना नगरपालिका बनाउने हो भने बजार व्यवस्थित गराउनै पर्ने उहाँको धारणा छ ।

प्राविधिक शिक्षाका लागि तुलसीपुरका मेयरको प्रतिवद्धता

राप्ती पोष्ट

तुलसीपुर, जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने वताउनुभएको छ । समयसापेक्ष शिक्षाका रुपमा प्राविधिक शिक्षाको विकास अपरिहार्य भएको हुँदा स्थानीय सरकार प्रमुखका रुपमा आफुले विशेष भुमिका बहन गर्ने उहाँले बताउनुभयो ।

तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष समेत रहनुभएका खड्काले कलेजलाई नमूना बनाउनका लागि सबैको भूमिका आफूले चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तुलसीपुरको विकास र समृद्धि प्राविधिक शिक्षाको विकासमा निर्भर रहेको हुन्छ’ निम्नवर्गका जनतालाई प्राविधिक शिक्षाको पहुँचमा ल्याउनका लागि पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने समेत उहाँले बताउनुभयो ।

यसअघिको नेतृत्वले तुलसीपुरमा मेट्रो कलेज स्थापना गरेर नमूना काम गरेको भन्दै यसलाई शैक्षिक र भौतिक रुपमा अघि बढाउने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभयो । खड्काले प्राविधिक शिक्षाको हवका रुपमा तुलसीपुरलाई विकास गर्ने योजनालाई साकार पार्नका लागि सवैसंग मिलेर जाने पनि बताउनुभयो ।

सोही कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले प्राविधिक शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सामान्य जनताका छोराछोरीहरु आर्थिक अभावमा पढ्न नसक्ने वातावरण हाम्रो नेतृत्वमा हुँदैन’ चौधरीले भन्नुभयो । कलेजको उपाध्यक्ष समेत रहनुभएकी चौधरीले मेट्रो कलेजको गरेको कामको प्रशंसा गर्नुभयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले जनताको साथ र सहयोगले कलेज स्थापनाको सपना पुरा भएको वताउनुभयो । ‘कलेज सञ्चालनका क्रममा केही भ्रम सृजना भएको थियो तर जनतालाई हामीले बुझाउन सफल भएका छौँ’ पाण्डेले भन्नुभयो । उहाँले कलेजलाई विश्वविद्यालयस्तरमा लैजाने आफ्नो सपना भएको पनि बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले प्राविधिक शिक्षाको विकासमा कलेजले विशेष भुमिका वहन गरेको बताउनुभयो । सो अवसरमा वडा नं. १२का वडाध्यक्ष खुसीराम चौधरी, वडा नं. ११का वडाध्यक्ष मानवहादुर रावत र वडा नं. ८ का अध्यक्ष धर्म वलीले शुभकामना व्यक्त गर्नुभएको थियो । निवर्तमान वडाध्यक्ष सुर्यबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सुधा ढकालले गर्नुभएको थियो अध्यक्षता कलेजप्रमुख वसन्त आचार्यले गर्नुभएको थियो ।

गठवन्धन गरेपछि यसरी बच्यो दाङमा माओवादी

तीन पालिकामा अध्यक्ष जितेको माओवादीको वडा २६ बाट १९ मा झर्यो

राप्ती पोष्ट

दाङ, जेठ । स्थानीय तहको निर्वाचनमा दाङमा तीनवटा पालिकामा प्रमुख र १९ वटा वडा जितेको नेकपा माओवादी केन्द्रले तालमेलबाट मात्रै आफ्नो अस्तित्व बचाउन सकेको छ । दुईवटा उपमहानगरपालिका र एउटा गाउँपालिकामा नेपाली काँग्रेससंग तालमेल गरेको माओवादी केन्द्रले अन्य पालिकामा अन्य साना दलसंग सहकार्य गरेको थियो ।
२०७४ सालको निर्वाचनमा एउटा पालिकामा अध्यक्ष र उपाध्यक्ष सहित २६ वटा वडा जितेको माओवादी केन्द्रले यसपाली तीन वटा पालिकामा प्रमुख जित्न सफल भयो । तीन वटा पालिकामा प्रमुख जित्दा उपप्रमुखमा भने जित निकाल्न सकेन् । माओवादी केन्द्रले अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र अधिकांश वडा जितेको बंगलाचुली गाउँपालिकामा नेपाली काँग्रेसलाई उपप्रमुख दिएर निर्वाचनमा होमिएको थियो । समग्रमा पालिकामा माओवादीले तीनवटामा प्रमुख जितेको भएपनि वडा र समग्र मतका हिसावले दाङमा कमजोर उपस्थिति देखिएको छ ।

माओवादी केन्द्रले घोराहीमा प्रमुख लिएको थियो भने उपप्रमुख काँग्रेसलाई दिएको थियो । केही वडाध्यक्ष समेत लिएको माओवादीले घोराहीमा अघिल्लो पटकको तुलनामा कमजोर मत प्राप्त ग¥यो । तुलसीपुरमा प्रमुख र उपप्रमुख केही पनि नपाएको माओवादीले चारवटा वडाध्यक्षमा चित्त बुझाएको थियो । तुलसीपुरका चारवटा वडामध्य गठवन्धनको सहयोगले तीनवटा वडामा जित हासिल गरेको छ । यस्तै घोराहीमा प्रमुख हारेको माओवादीले एउटा वडामा मात्रै जित हासिल ग¥यो । तुलसीपुरमा तीनवटा वडाध्यक्ष जित्दा समग्र नगर सभामा माओवादीको संख्या छ जना मात्रै रह्यो भने घोराहीमा एउटा वडाध्यक्ष र अन्य छ जना सदस्य गरेर नगर सभामा सात जनाको मात्रै उपस्थिति रहेको छ । यस हिसावले तुलसीपुरमा माओवादीको उपस्थिति अघिल्लो निर्वाचनको तुलनामा बलियो र घोराहीमा अत्यन्त कमजोर रहेको पाइएको छ ।
गत निर्वाचनमा प्रमुख जितेको बंगलाचुली गाउँपालिकामा माओवादीले चारवटा वडाध्यक्ष जितेको छ । अघिल्लो पटक सातवटा वडा र प्रमुख उपप्रमुख जितेको माओवादीले गठवन्धन गर्दा तीनवटा वडा र उपप्रमुख गुमाउनु परेको छ । माओवादीले वडा नं. ३, ५, ७ र ८ मा जित हासिल गरेको छ । माओवादीले आफ्नो राम्रो पकड रहेको भन्ने बंगलाचुलीमा वडाध्यक्ष र प्रमुख जित्दा पनि माओवादीको मत कमजोर देखिएको छ ।

यसैगरी गढवा गाउँपालिकामा माओवादीले प्रमुख सहित चारवटा वडामा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा थोरै मतले पराजित भएको माओवादीले राम्रो गरेको पालिका गढवा हो । माओवादीले यस पटक प्रमुखमा जित हासिल गर्दै चारवटा वडामा जित हासिल गरेको छ । माओवादी केन्द्रले वडा नं. २, ३, ४ र ६ मा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा प्रमुख र उपप्रमुख नजितेको भएपनि गढवामा माओवादीले दोस्रो मत ल्याएको थियो । माओवादीले गढवामा समाजवादी र जनमोर्चासंग तालमेल गरेको थियो । उपप्रमुख समाजवादीलाई दिएको माओवादीले प्रमुख जित्दा उपप्रमुखको मत एमालेको उपप्रमुख भन्दा पछि परेको थियो । गठवन्धन गरेका कारणले यो पालिकामा माओवादीलाई फाइदा भएको छ ।

माओवादीले प्रमुख जितेको अर्को पालिका राप्ती गाउँपालिका हो । राप्ती गाउँपालिकामा माओवादीले प्रमुख जित्दा वडाध्यक्षमा भने दुईवटामा मात्रै जित निकालेको छ । वडाध्यक्षका हिसावले माओवादीले राम्रो नगरेको भएपनि यो पालिकामा प्रमुख जित्दा माओवादीको साख जोगिएको छ । माओवादीले यो पालिकामा जनमोर्चासंग तालमेल गरेको थियो । यस्तै कतै समाजवादीसंग पनि उसको तालमेल थियो । माओवादीले प्रमुख र दुईवटा वडा जित्दा जनमोर्चा र समाजवादीले पनि एक÷एक वडा जितेका छन् । यो पालिकामा जनमोर्चाले उपप्रमुख पाएको थियो । उपप्रमुखमा भने एमालेकी कमलापती चौधरी विजयी हुनुभयो । अघिल्लो निवार्चनमा प्रमुख र उपप्रमुख जितेको काँग्रेस तेस्रोमा खुम्चीएको छ । माओवादीले वडा नं. २ र ९ मा जितेको थियो । यस्तै जनमोर्चाले वडा नं. ४ र समाजवादीले वडा नं. ६ मा जित हासिल गरेको थियो । दाङका एक सयवटा वडामध्य जनमोर्चा र समाजवादीले वडा जितेको पालिका राप्ती गाउँपालिका मात्रै हो ।

देउखुरीको राजपुर गाउँपालिकामा माओवादीको उपस्थिति अघिल्लो निर्वाचनमा राम्रो रहेको थियो । गाउँसभामा माओवादीको बहुमत रहेको थियो । काँग्रेसले प्रमुख र उपप्रमुख जितेको भएपनि कार्यपालिका माओवादीको थियो । यसपटक माओवादीले तीनवटा वडा जित्दा र काँग्रेसले दुईवटा वडा जित्दा पनि प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । राजपुरमा माओवादीले वडा ंंनं. ३, ६ र ७ मा जित हासिल गरेको थियो । यो पालिकामा सवै दल बेग्ला बेग्लै निर्वाचनमा भाग लिएका थिए । अघिल्लो पटक एउटा पनि वडा वडा नजितेको एमालेले दुईवटा वडा जितेको छ ।
यस्तै दंगिशरण गाउँपालिकामा माओवादीको कमजोर पालिकाका रुपमा रहेको छ । दंगिशरणमा माओवादीले एउटा पनि वडा जितेको छैन । अघिल्लो पटकको निर्वाचनमा दंगिशरणमा माओवादीको उपस्थिति राम्रो रहेको थियो । दंगिशरणमा एमालेले चारवटा र काँग्रेसले तीनवटा वडा र प्रमुख उपप्रमुख जितेको छ ।

अघिल्लो निर्वाचनमा माओवादीले दाङ जिल्लामा तालमेल विना नै २६ वडा जितेको थियो भने यसपटक गठवन्धन गर्दा १९ वटा वडा र एक्लै लडेका वडामा चारवटा मात्रै जित हासिल गरेको छ । समग्रमा जिल्लामा पालिका प्रमुख जित्ने हिसावले माओवादी काँग्रेसपछि दोस्रो शक्तिका रुपमा रहेको छ । काँग्रेसले पाँचवटा पालिकामा प्रमुख र सातवटामा उपप्रमुख जितेको छ । माओवादीले तीनवटामा प्रमुख जितेको छ भने एमालेले दुईवटा उपमहानगरपालिका र राप्ती गाउँपालिकामा उपप्रमुखमा जित हासिल गरेको छ ।

यस्तै माओवादी कमजोर रहेको पालिका बवई रहेको छ । ववई गाउँपालिकामा माओवादीले एउटा पनि वडा जित्न सकेको छैन । यो पालिकामा माओवादी एक्लै निर्वाचनमा गएको थियो । एक्लै निर्वाचनमा जाँदा अघिल्लो पटक पनि माओवादी सुन्य थियो अहिले पनि सुन्य रहेको छ । यस्तै शान्तिनगर गाउँपालिका माओवादी कमजोर भएको अर्को पालिका हो । शान्तिनगरमा अघिल्लो पटक तीनवटा वडा जितेको माओवादी एसपटक एउटा वडामा खुम्चिएको छ । माओवादीले वडा नं. १ मा मात्रै जित हासिल गरेको थियो ।

माओवादी एक्लै निर्वाचनमा गएको पालिका लमही नगरपालिका हो । अघिल्लो पटकको निर्वाचनमा एउटा वडा जितेको माओवादीले यसपटक पनि एउटा मात्रै वडा जितेको छ । प्रमुखमा राम्रै मत ल्याएको भएपनि नौ वडामध्य एउटा मात्रै वडा जित्दा त्यो जितका लागि प्रयाप्त रहेन । माओवादीले वडा नं. ५ मा जित हासिल गरेको छ ।

यस्तै घोराही उपमहानगरपालिका माओवादीका लागि सवैभन्दा प्रतिकुल पालिका बनेको छ । अघिल्लो पटक तीनवटा वडा र केही वडामा सदस्य पनि जितेको माओवादीले एउटा वडा सदस्यलाई एमालेसंगको तालमेलमा जिसस उपप्रमुख पठाउन सकेको थियो । माओवादीले गठवन्धन गर्दा पनि एउटा वडा मात्रै जित हासिल गर्न सक्यो । एउटा वडाध्यक्ष जित्दा पनि माओवादीले अन्य वडामा गरेर छ जना सदस्य पठाउन सक्यो । माओवादीले गठवन्धन गरेर जितेको वडा नं. ९ हो । घोराहीमा अघिल्लो पटकको निर्वाचनमा वडा नंं १२मा अध्यक्ष, वडा नं. १४ र १७ मा अध्यक्ष सहित सदस्यहरु निर्वाचित गराउन सकेको थियो । यसपाली नगरप्रमुख पाएको माओवादीले अन्य वडाहरुमा उमेदवार उठाएको थिएन । माओवादीले वडामा सदस्यहरु समेत नउठाउँदा घोराहीमा समग्रमा माओवादीको प्रतिनिधित्व कमजोेर भएको छ ।

माओवादी, काँग्रेस, समाजवादी र जनमोर्चाका बीचमा राम्रो तालमेल भएको पालिका तुलसीपुर थियो । घोराहीमा माओवादी र काँग्रेसको तालमेल थियो । घोराहीमा समाजवादीले आफ्ना छुट्टै प्रमुख उपप्रमुख र वडाध्यक्ष उठाएको थियो । घोराहीमा माओवादीले पाँचवटा वडामा अध्यक्षको उमेदवार उठाएको थियो । गठवन्धनका बावजुत माओवादीले घोराहीमा राम्रो नजिता निकाल्न सकेको देखिएन ।

यसपटक तुलसीपुरको निर्वाचनमा काँग्रेस, माओवादी र समाजवादीका बीचमा गठवन्धन भएको थियो । काँग्रेसले प्रमुख पाएपनि माओवादीलाई पाँचवटा वडा दिएको थियो । यस्तै समाजवादीले उपप्रमुख र केही वडा पाएको थियो । समाजवादीले उपप्रमुखमा करिव १० हजार मतान्तरले हार व्यहोरेको थियो । वडाध्यक्षमा कुनै पनि वडामा राम्रो नतिजा निकाल्न सकेन् । माओवादीले गठवन्धनको राम्रो फाइदा उठायो । पाँचवटा वडाध्यक्ष मध्य माओवादीले तीनवटा वडामा जित हासिल ग¥यो । माओवादीले अध्यक्ष जितेका वडाहरुमा वडा नं. १, ४ र १२ हुन । यस्तै स्वतन्त्र जितेका वडा नं. १६ का शिवानन्द डाँगी पनि माओवादी समर्थित हुनुहुुन्थ्यो । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा माओवादीले तुलसीपुरमा एउटा सदस्य पनि जिताउन सकेको थिएन । एमालेसंगको सहकार्यमा कार्यपालिकामा एक जना सदस्यलाई मनोनित गरिएको थियो । यसपटक माओवादीले कार्यपालिकामा वडाध्यक्ष तीन र अन्य सदस्य तीन गरेर नगर सभामा छ जना पठाउन सकेको छ । समग्रमा गठवन्धनबाट तुलसीपुरमा माओवादीलाई फाइदा पुगेको छ ।

माओवादी केन्द्रले जिल्लाभर करिव ४० हजार मत पाएको छ । घोराहीमा काँग्रेससंग मिल्दा २६ हजार, गढवामा समाजवादीसंग मिल्दा करिव सात हजार, दंगिशरणमा एक्लै लड्दा करिव १८ सय, बंगलाचुलीमा काँग्रेससंग मिल्दा पाँच हजार सात सय, ववईमा एक्लै लड्दा दुई हजार, राजपुरमा तीन हजार, राप्तीमा जनमोर्चासंग मिल्दा छ हजार आठ सय, लमहीमा सात हजार र शान्तिनगरमा दुई हजार सात सय ९४ मत प्राप्त गरेको छ । माओवादीले एक्लै र अन्य दलसंग मिल्दा घोराही र तुलसीपुर बाहेक अन्य पालिकामा ३६ हजार छ सय १३ मत प्राप्त गरेको देखिन्छ । घोराही र तुलसीपुरमा गरेर १३ हजार मत कम्तीमा राखिदिने हो भने माओवादीको कुल मत ४० हजार र केही बढी रहेको मान्न सकिन्छ ।

दाङ जिल्लामा गठवन्धन नगरिकनै जितेको शान्तिनगरमा एउटा वडा, लमहीमा एउटा वडा, राजपुरमा तीनवटा वडा गरेर पाँचवटा वडा मात्रै जित हासिल गरेको देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादीले दाङ जिल्लामा तालमेल विना नै २६ वडा जितेको थियो भने यसपटक गठवन्धन गर्दा १९ वटा वडा र एक्लै लडेका वडामा चारवटा मात्रै जित हासिल गरेको छ । समग्रमा जिल्लामा पालिका प्रमुख जित्ने हिसावले माओवादी काँग्रेसपछि दोस्रो शक्तिका रुपमा रहेको छ । काँग्रेसले पाँचवटा पालिकामा प्रमुख र सातवटामा उपप्रमुख जितेको छ । माओवादीले तीनवटामा प्रमुख जितेको छ भने एमालेले दुईवटा उपमहानगरपालिका र राप्ती गाउँपालिकामा उपप्रमुखमा जित हासिल गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ द्वारा सुझाव संकलन

राप्ती पोष्ट

घोराही, २१ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि सुझाव संकलन गर्न थालेको छ । वडा नं. १४ मा व्यवस्थित रुपमा एकिकृत बिकास तथा कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने उद्देश्यका साथ सुझाव संकलन जारी राखेको वडा नं. १४ कार्यालयले जनाएको छ ।

सोही क्रममा वडा कार्यालयले वडाका राजनीतिक दल तथा विभिन्न सरोकारवाला क्षेत्रका नागरिकहरुसंग सुझाव संकलन गरेको थियो । त्यसक्रममा जनताको समस्या र विकास प्रमुखतामा राख्दै नीति तथा कार्यक्रम ल्याउन सुझाव दिइएको थियो ।

वडा अध्यक्ष भानसिंह बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निवर्तमान वडाअध्यक्ष शक्तिराम डाँगीले वडाले थाल्ने राम्रा र रचनात्मक काममा पूर्ण रुपमा सहयोग मिल्ने र नकारात्मक कुरामा खवरदारी गर्ने बताउनु भयो । उहाँले पुराना कामलाई प्राथमिकता दिदै जनतामुखी नयाँ कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

अधिकारकर्मी बिकिरण गौतमले खल्तीबाट योजना निकाल्ने काम बन्द गर्दै समस्यामा केन्द्रित र वास्तविक योजना छनोट गर्नुपर्ने बताउनु भयो । अर्काेतिर बजारमा आर्थिक बिकास अन्तरगत कृषिमा बजारी क्षेत्रमा कौसी खेती, कृषकलाई आर्थिक सहयोगभन्दा यन्त्र सहयोग, नाला व्यवस्थापन, शिक्षामा स्तरबृद्धि गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रम, कला संस्कृति एवं पर्यटन, महिलालाई आत्मसुरक्षा तालिम, खेलकुद मैदान र खेलाडी उत्पादनमा लगानी बढाउनु पर्ने बताउनु भयो ।

पूर्व जनप्रतिनिधि श्यामप्रसाद सुवेदीले वडाको सबैभन्दा ठुलो समस्या अव्यवस्थित पार्किङ रहेको बताउदै यसलाई गम्भिरताका साथ हेर्नुपर्ने बताउनुभयो । नागरिक समाज दाङका निवर्तमान अध्यक्ष चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामदयाल गुप्ता, खेलकुद क्षेत्रबाट कैलाश रोका, नरेन्द्र पुनले बोल्दै गुरुयोजना बनिसकेका वडा भित्रका निर्माण कार्यमा भैरहेको ढिलासुस्तीलाई गति दिन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँहरुले अहिले ईन्डोर खेलका लागि कभर्ड हल भएपनि खुल्ला मैदानमा खेलिने खेलकुदका लागि खेल मैदान आवश्यक रहेको बताउनुभयो । यस्तै लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि कार्यक्रम ल्याउन माग गर्नुभयो । चुनावका बेला चर्चा पाउने सुकुम्बासी र गुठिको जग्गाको समस्या समाधनलाई निती तथा कार्यक्रममा समेट्नु पर्ने सुझाव सहभागीको थियो । यसका साथै बजार क्षेत्रमा सार्वजनिक शौचालय तथा खानेपानीका धाराको संख्या बढाउनु पर्ने, बालमैत्री कार्यान्वयनलाई प्रभावकारी बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषयलाई निती तथा बजेटमा समेट्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव तिलक डाँगीले गर्नुभएको थियो ।

अवैध लागु औषध सहित पक्राउ

राप्ती पोष्ट

घोराही,  जेठ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीबाट अवैध लागु औषध(खैरो हिरोइन) सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार राती घोराही उपमहानगरपालिका वडा नं. १५ शान्तिनगर टोलमा रहेको सुप्रिम होटल एण्ड फास्ट फुड नास्ता पसलबाट दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी रमेश पुनमगर र रुकुमपूर्व उत्तर गंगा गाउँपालिका वडा नं. ७ निवासी २० बर्षिय विशाल बुढामगर रहेका छन् । होटलमा लागु औषधको कारोवार भइरहेको छ भन्ने सुचना पाएपछि पुगेको प्रहरीको टोलीले हिरोइनका साथमा दुईजनालाई पक्राउ गरेको हो । उनिहरुबाट छ वटा प्लाष्टिकका टुक्राहरुमा राखेको अवस्थामा लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला गरिएको थियो । जसको तौल दुई ग्राम ३० मिलिग्राम रहेको बताइएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को १ मा भएको व्यवस्था बमोजिम २५ ग्रामसम्मको कारोवार गर्नेलाई हुने सजाय हुने देखिन्छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई ५ देखि १० बर्ष कैद र पाँच हजार देखि २५ हजार रुपैयासम्म जरिवाना हुन सक्ने देखिन्छ ।

 

तुलसीपुर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

राप्ती पोष्ट

तुलसीपुर, जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगरकार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यपालिका सदस्यका लागी जननिर्वाचितबाट पाँच जना महिला सदस्य र मनोनिततर्फबाट तीन जना गरी आठ जना निर्वाचित हुनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिवार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली, वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिताकुमारी लामिछाने र वडा नम्वर १६ बाट रिखा शर्मा रहनुभएको छ ।

त्यसैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपाली निर्वाचित हुनुभएको छ । सवै उमेदवारहरुको एकल उम्मेदवारी परेकाले निर्वाचन कार्यालय शनिवार दिउँसो निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिनुभयो ।

एमालेबाट आठ जनाको मात्रै उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उहाँले बताउनुभयो । निर्विरोध निर्वाचितहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आउँदो मंगलबार गर्ने तयारी गरिएको छ ।
गत विहीवार भएको मनोनयन दर्ताको दिन नेकपा एमालेका उम्मेदवारहरुले मात्रै उमेदवारी दर्ता गराएका थिए ।

तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।

नीति तथा योजनाका लागि घोराही उपमहानगरद्वारा सुझाव संकलन

राप्ती पोष्ट

घोराही, जेठ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा योजनाका लागि विभिन्न क्षेत्रबाट सुझाव संकलन गर्न थालेको छ । चार देखि लगातार उपमहानगरपालिकाले सुझाव संकलन गरिरहेको छ ।

घोराही उपमहानगरपालिकाले विकासको प्राथमिकताका बारेमा छलफल गर्नका लागि आयोजना गरेको छलफलमा आएका सुझावहरुका आधारमा आगामी दिनमा नीति तथा योजना बन्ने नगरप्रमुख नरुलाल चौधरीको भनाई छ । उहाँले विभिन्न टोल विकास संस्था, सामाजिक क्षेत्रका अगुवाहरु, शिक्षा क्षेत्र, संचार, विभिन्न सामाजिक संघ संस्थाहरुसंग छलफल गरिएको बताउनुभयो ।

उपहानगरपालिकाले विहीबार मात्रै फोहरमैला व्यवस्थापन, बन वातावरण, विपत व्यवस्थापन, भौतिक पूर्वाधार लगायतका बिषयमा कसरी जान सकिन्छ भन्ने बारेमा सुझाव संकलन गरेको थियो । यसैगरी महिला बालवालिका, लक्षित बर्ग, समाज कल्याण, सामाजिक सुरक्षा, पञ्जीकरण सम्वन्धवमा सरोकारवालासंग छलफल गरिएको थियो । लगातार छलफल गर्ने क्रममा आज शुक्रबार महिलाहरुसंग छलफल राखिएको उप प्रमुख हुमा डिसीले जानकारी दिनुभयो । सवैका सल्लाह र सुझावका आधारमा उपमहानगरपालिकाले नीति तथा योजना बनाउन थालेको भन्दै उपप्रमुख डिसीले सवैका सल्लाह र सुझावलाई समेटेर नीति कार्यक्रम ल्याउने बताउनुभयो ।

घोराही उपमहानगरपालिका बालमैत्री भइसकेको अवस्थामा पनि बालविवाह भइरहेको भन्दै सहभागीले बालविवाहलाई पूर्ण रुपमा रोक्नका लागि योजना ल्याउनुपर्ने सुझाव दिएका थिए । यसैगरी बालवालिकाहरुको लागि सिकाई केन्द्रको व्यवस्था नभएकाले त्यसको व्यवस्थाका लागि पनि नीति तथा कार्यक्रममा समेट्न सुझाव दिइएको थियो । उपहानगरपालिकाले यस अघि विभिन्न वडामा दिवा सेवा केन्द्र संचालन गरेको र ति प्रभावकारी रहेकाले थप अन्य स्थानमा पनि दिवा सेवा केन्द्र खोल्नका लागि सुझाव दिइएको थियो । उपहानगरपालिले कम्तीमा हरेक वडामा दिवा सेवा केन्द्र खोल्नुपर्ने सुझाव दिइएको थियो ।

अपाङ्गता भएकाहरुको क्षेत्रमा परिचय वितरणलाई प्रभावकारी बनाउन सुझाव दिइएको थियो । अपाङ्ता भएकाहरुले प्रयोग गर्ने भौतिक संरचनादेखि लिएर पाउने सेवा सुविधाका लागि नगरपालिकाको नेतृत्व गम्भिर बन्न सुझाव दिइएको थियो । कुनै अपाङ्ता भएको व्यक्ति व्रेल लिपीमा निवेदन लिएर आयो भने त्यसको सुनुवाई हुन्छ कि हुँदैन भन्ने बारेमा सहभागीको जिज्ञासा थियो । यस्तै कुनै सांकेतिक भाषामा कुरा गर्ने बहिरा आयो भने त्यसले भनेको कुरा बुझ्ने संयन्त्र उपमहानगरपालिकासंग हुनुपर्ने सुझाव दिइएको थियो । उपमहानगरपालिकाले अपाङ्गता भएकाहरु र जेष्ठ नागरिकलाई सेवा दिने सन्दर्भमा अरुलाई भन्दा प्राथमिकता दिनुपर्ने सुझाव दिइएको थियो ।

भौतिक संरचना अपाङ्गमैत्री नभएका कारणले गर्दा समस्या हुने गरेको भन्दै सडकलाई समेत अपाङ्गमैत्री बनाउनुपर्ने सुुझाव दिइएको थियो । सडकहरु अपाङ्गमैत्री नहुँदा हिड्डुल गर्नका लागि समस्या पर्ने गरेको, सडक पार गर्न समस्या हुने गरेको गुनासो व्यक्त गरिएको थियो । यसैगरी परिचय पत्र भएका जेष्ठ नागरिकको परिचय पत्रका आधारमा यातायात लगायत स्वास्थ्य क्षेत्रमा सुविधा पाउनुपर्ने भएपनि त्यस्तो सुविधा दिनबाट सम्वन्धित निकायले आनाकानी गरिरहेको गुुनासो सम्वन्धित सरोकारवालाको थियो ।

घोराही क्षेत्रमा लागु औषध समस्याका रुपमा रहेको भन्दै यसका लागि सचेतनाका कार्यक्रम संचालन गर्न सुझाव दिइएको थियो । घोराही क्षेत्रमा रहेका पुनःस्थापना गृहमा रहेकाहरुलाई बेला मौकामा मनोसामाजिक विमर्शका कार्यक्रम संचालन गर्ने, सेवा सुविधाहरु उपलव्ध गराउनुपर्ने सुझाव दिइएको थियो । अहिले पनि बालवालिकाहरुमा कुलतको समस्या रहेकाले यसका लागि अभिभावकलाई सचेत गराउनुपर्ने कार्यक्रम ल्याउनुपर्ने बताइएको थियो ।

छलफलमा कतिपय बालवालिकाहरु लेखपढ गर्नबाट बञ्चित रहेकाले त्यस्ता बालवालिकाहरुलाई लेखपढ गर्ने व्यवस्थाका लागि नगरपालिकाले जिम्मेवारी लिनुपर्ने, महिलाहरुलाई सिप प्रदान गर्नुपर्ने, आय मुलक तालिमहरु दिएर यसरी उत्पादन गरेका सामग्रीलाई विक्रि केन्द्रमा राख्ने व्यवस्था गर्नुपर्ने विषय समेट्न आग्रह गरिएको थियो । हिंसा पीडित महिलाहरुको समस्याका बारेमा काम गर्नुपर्ने, बेसहारा मानवको क्षेत्रमा काम गर्नुपर्ने, मानसिक सन्तुलन गुमाएकाहरुको लागि काम गर्नुपर्ने भएकाले ति सवै विषयलाई नीति तथा कार्यक्रममा पार्न सुझाव दिइएको थियो ।

सुझाव संकलनका लागि आयोजना गरिएको अर्को कार्यक्रममा भौतिक पूर्वाधारको क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिइएको थियो । सडकमा रहेका पोलका कारणले गर्दा बाटोमा हिड्डुल गर्न गाह्रो भएको, टेलिफोनका तारले बजारलाई कुरुप बनाएको, सडक पिचगरे लगत्तै खानेपानी र दुर सञ्चारले सडक खन्ने समस्या रहेकाले यस्तो समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिइएको थियो । छलफलमा विद्युतले बजारमा विस्तार गर्ने तारमा कभर कन्डक्टर राख्ने, दुर सञ्चारले तारहरु बाहिर छरपस्ट नपार्ने, खानेपानीले पाईप विस्तार गर्दा सडक नकाटेर गर्ने योजना सुनाएका थिए ।

यस्तै बन बातावरणको क्षेत्रमा घोराहीमा हरियाली बृद्धि गर्नका लागि वृक्षरोपणको अभियान चलाउनुपर्ने, प्लाष्टिकको प्रयोगलाई कम गर्दै फाइवर र कपडाको झोला प्रयोग बढाउनुपर्ने, सडकको पेटीमा रहेका पसलहरु बन्द गर्नुपर्ने, जलाधार संरक्षणका लागि योजना बनाउनुपर्ने, खाली जमिनलाई संरक्षण गर्ने नीति ल्याउन सुझाव दिइएको थियो । छलफलमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, प्रमुख इञ्जिनियर युवराज पौडेल लगायतको सहभागिता थियो ।

सञ्चारमैत्री बन्ने पालिकाको प्रतिवद्धता

राप्ती पोष्ट

घोराही, जेठ । दाङ जिल्लाका पालिकाहरुले मिडियामैत्री पालिका बनाउने प्रतिवद्धता गरेका छन् । जिल्लाका पालिकामा नयाँ प्रतिनिधि आएको सन्दर्भमा नेपाल पत्रकार महासंघ दाङ शाखाले मंगलबार घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा जनप्रतिनिधिले पालिकालाई मिडियामैत्री बनाउने प्रतिवद्धता जनाएका हुन् ।

महासंघले विगतमा पालिकामा नयाँ अभ्यास भएकोमा अव जनप्रतिनिधिहरुले आफूलाई मिडियासंगै अघि बढाउनुपर्ने बताएको थियो । जनप्रतिनिधिहरुले स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माण गर्ने बताएका थिए ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पालिकालाई मिडियामैत्री बनाउने काम गर्दै आएको बताउनुभयो । देशमा लोकतन्त्र, गणतन्त्र आईसकेपछि सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहने बताउँदै मेयर चौधरीले जनताहरुलाई सही सूचना दिनको लागि मिडियाहरुको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । आफु यसअघि पनि घोराही उपमहानगरपालिकाको जनप्रतिनिधि भई सकेकाले पाँच वर्षको अवधीमा विज्ञापन, सूचनाहरु स्थानीय तहबाट सञ्चालित मिडियाहरुबाट गर्नको लागि कर्मचारीहरुलाई आग्रह गरेको समेत बताउनुभयो । उहाँले पत्रकारिताको विकासका लागि स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल पत्रकार महासंघ दाङ शाखाको संस्थागत विकासका लागि पालिकाका तर्फबाट अनुदान दिदै आएको भन्दै अन्य संचार संस्थासंग पनि सहकार्य गरेर काम गरिएकोब ताउनुभयो । सबै मिडियालाई समान खालको वातावरण पालिकाले गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि अझै मिडियामैत्री पालिका बनाउँन लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । चौधरीले मिडियालाई सरकारले संरक्षण गर्नु पर्ने बताउँदै पत्रकारहरुलाई पुर्वाग्राह नराखेर जनता सामु सहि सूचना प्रभाव गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीले घोराही उपमहानगरपालिकाले सञ्चार माध्यमहरुलाई सहजै रुपमा सूचना प्रवाह गर्नको लागि कन्जुसाई नगर्ने बताउनुभयो । उहाँले हरेक आन्दोलनमा पत्रकारहरुको साथले नै सफल भएको बताउँदै अब आफुहरुले पत्रकारहरुको मर्म र आवश्यकता बुझेर सहयोग र सेवा गर्ने बताउनुभयो । घोराही उपमहानगरपालिकामा पनि न्यायिक समितिको ईजलाश भएको जानकारी दिंदै आफुले ईजलासमा बसेर नभई पीडितसंगै बसेर न्याय दिने बताउनुभयो ।

छलफलमा सहभागी दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमाकुमारी खड्काले दंगिहरणलाई मिडियामैत्री पालिकाका रुपमा अघि बढाउन आफूले भूमिका खेल्ने बताउनुभयो । साथै न्यायिक समितिको लागि आफुले ईजलाश नबनाएको बताउनुभयो । आफु जनप्रतिनिधि हुँदै गर्दा अर्धन्यायीक भएकाले अर्धन्यायीकले ईजलाश बनाउनु हुँदैन भनेर ईजलाश नबनाएको र पीडित भएर आफु कहाँ आउँने व्यक्ति जुन ठाउँमा बस्छ म पनि त्यही बसेर त्यसलाई न्याय दिन्छु भनेर ईजलाश नबनाएको जानकारी दिनुभयो ।

उहाँले पत्रकारहरुलाई पुर्वाग्राही भएर समाचार प्रकाशित नगर्न आग्रह गर्नुभयो । पालिकामा बजेट सिमित हुने र आश्यकता असिमित भएकाले सबै मिडियालाई समेट्न नसकेको आभास भएको धारणा राख्नुभयो ।

त्यस्तै बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीले आफ्नो पालिका विगतदेखि नै मिडियामैत्री भएको र आगामी दिनहरुमा पनि मिडियामैत्री रहने प्रतिवद्धता जनाउनुभयो । बंगलाचुली गाउँपालिकाले संचार गजतलाई राम्रो तरिकाले लैजानको लागि रेडियो समेत सञ्चालन गरेको बताउनुभयो ।

आफु स्वास्थ्य क्षेत्रमा काम गरेको व्यक्ति भएकाले त्यो समयमा पनि आफुले सञ्चारकर्मीहरुलाई सहजै सेवा दिएको जानकारी दिनुभयो । जिसीले दाङको दशवटा पालिकामा आफु मात्रै पुरुष उपाध्यक्ष रहेको बताउँदै कतीले महिलाको भाग खोसियो भन्ने खालको कुराहरु आएको बताउँदै कानूनमा उपाध्यक्ष पद महिलाहरुको लागि भन्ने कहि कतै नभएकाले मिडियाहरुले यस्ता खालका कुराहरु पनि बाहिर ल्याउनु पर्ने बताउनुभयो ।

राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले कुन पालिकाले कस्तो काम गरेको छ भनेर पत्रकारहरुले बुझ्दै आएको बताउँदै आगामी दिनहरुमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सचेत गराउन ताकेता गर्न आग्रह गर्नुभयो । त्यसका साथै सहज रुपमा पालिकाबाट मिडियालाई सूचना दिने बताईन् ।

कार्यक्रममा पत्रकार सुर्दशन रिजाल, दशरथ घिमिरे, लोकराज पराजुली, ओमप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासन, पुर्व अध्यक्ष केवी मसाल, प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम लगायतले आफु परिचित हुने नाममा अधिकार भन्दा बाहिर नगएर समयमै सञ्चार माध्यमहरुलाई सूचना दिनुपर्ने, पालिकाहरुले स्थानीय स्तरका मिडियाको लागि बजेट छुट्याउनु पर्ने, चुनाबको बेला जनतासंग गरेका प्रतिवद्धता पुरा गर्न आग्रह गर्दै विभिन्न सुझाव दिनुभएको थियो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव आरके शितलले गर्नुभएको थियो ।

तुलसीपुरका जनप्रतिनिधिलाई सपथ

दुई निर्णयः सुकुम्बासीको लगत संकलन र लालपुर्जा वितरण, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

राप्ती पोष्ट

तुलसीपुर, जेठ । निर्वाचन परिणाम आएको भोलिपल्ट तुलसीपुरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराइएको छ । प्रमुख निर्वाचन आयुक्त रितेन्द्र थापाले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई जिल्ला अदालत घोराहीमा आयोजित कार्यक्रममा सपथ खुवाउनुभएको थियो ।

मेयर खड्काले उपप्रमुख स्यानी चौधरी लगायत वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रहण गराउनुभएको थियो । घोराहीमा सपथग्रहण पछि खड्का घोराहीमा रहेको नेत्रलाल पौडेल अभागीको शालिकमा माल्यार्पण गरेर तुलसीपुर पुग्नुभएको थियो । घोराहीमा सपथ ग्रहण पछि जनताको चाहना र भावना अनुसार नै आफूले काम गर्ने धारणा खड्काले राख्नुभयो । उहाँले आफूले सामान्य भन्दा सामान्य मानिसको हितका लागि नै काम गर्ने बताउनुभयो ।

तुलसीपुरमा आयोजित कार्यक्रममा उहाँले तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै तुलसीपुरका निर्वाचन अधिकृत रामेश्वर अर्यालले नवनिर्बाचित जनप्रतिनिधिहरुलाई शुभकामना र बधाई दिदै जनअपेक्षा अनुसार काम गर्न आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका नवनिर्बाचित नगर प्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी सहित १९ वडाका वडाअध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गराउनुभएको थियो ।

समारोहमा बोल्दै नवनिर्वाचित मेयर खड्काले सधै जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफू अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध लागि पर्ने बताउनुभयो । महानगरपालिका जनताको घर भएको बताउँदै खड्काले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका कर्मचारीले मीठो बोलिबचन संगै काम पनि छिटोछरितो गरि सेवा प्रदान गर्ने बताउनुभयो । तुलसीपुरको बिकासका लागि सबैको बिचार उद्देश्य एउटै हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि जनताको सेबक भएकाले जनताको दुःखका सारथी हुनसक्नु पर्ने पनि बताउनुभयो ।

चुनावमा एमालेको चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रिएपनि अब जनप्रतिनिधी भइसकेकाले सबैलाई समान रुपमा हेरेर नगरको विकास र समृद्धिमा लाग्ने वताउनुभयो । सपथ ग्रहण पछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख खड्काले तत्काल सुकुम्बासीको लगत संकलन गरी लालपुर्जा वितरण गर्ने पहिलो निर्णय गर्नुभयो । उहाँले पदभार ग्रहण गर्दै अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या समाधान गर्ने पहिलो निर्णय गरेको बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गर्नुभयो । पदभार ग्रहण गर्दै उहाँले ७० बर्ष पुगेका जेष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गर्नुभयो ।

तुलसीपुरमा ९७ सदस्यीय नगर सभामा एमाले एक्लैको ६७ जना

९७ सदस्यीय नगर सभामा एमाले एक्लैको ६७ जना

राप्ती पोष्ट

तुलसीपुर, जेठ । स्थानीय तहको निर्वाचनमा दाङका दुवै उपमहानगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । घोराहीमा प्रमुख र उपप्रमुख सहित १३ वडाध्यक्षमा जित हासिल गरेको नेकपा एमालेले तुलसीपुरमा प्रमुख र उपप्रमुख सहित १० वडाध्यक्ष र अन्य वडामा अध्यक्ष बाहेकको जित निकालेको छ । तुलसीपुरमा नेकपा एमालेले पाँच दलिय गठवन्धनलाई चिर्दै अघिल्लो निर्वाचन भन्दा राम्रो नतिजा निकालेको छ ।

नेकपा एमालेले २०७४ सालको निर्वाचनमा नौवटा वडा र प्रमुख उपप्रमुखमा जित हासिल गरेको थियो । जवकी नेपाली काँग्रेसले १९ मध्य १० वटा वडामा जित हासिल गरेको थियो । यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, समाजवादी लगायतले गठवन्धन गर्दा नेपाली काँग्रेसले प्रमुख र १३ वडा वडामा अध्यक्ष पाएको थियो । यस्तै माओवादी केन्द्रले चारवटावडाध्यक्ष पाएको थियो भने समाजवादीले उपप्रमुख सहित दुईवटा वडाध्यक्ष पाएको थियो ।

नेकपा एमालेले गठवन्धनमा रहेका दलहरुलाई पछि पारेको छ । नेकपा एमालेबाट प्रमुखका उमेदवार टिकाराम खड्का ३१ हजार चार सय आठ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठवन्धनका तर्फबाट गेहेन्द्र गिरी उमेदवार बन्नुभएको थियो । गिरी अघिल्लो पटकको निर्वाचनमा पनि मेयरमा पराजित हुनुभएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य र २०५६ सालमा सांसद निर्वाचित गिरी मेयरमा दोस्रो पटक पराजित हुनुभयो । उहाँले खड्का भन्दा तीन हजार छ सय ९१ मत कम अर्थात २७ हजार सात सय १७ मत प्राप्त गनुृभयो ।

 

उपप्रमुखमा भने मेयरको भन्दा पनि बढी अन्तर रह्यो । उपप्रमुखमा नेकपा एमालेकी स्यानी चौधरी ३० हजार पाँच सय ९७ मत सहित विजयी हुनुभयो । गठवन्धनमा समाजवादीबाट उमेदवार बन्नुभएका जोगबहादुर रानाले चौधरीको भन्दा नौ हजार पाँच सय ३२ मत प्राप्त गर्नुभयो । चौधरीले सुरुवातदेखि नै अग्रता लिनुभएको थियो । तुलसीपुरमा समाजवादीले पाएका वडाहरुमा पनि राम्रो नतिजा निकाल्न सकेन ।

तुलसीपुर उपमहानगरपालिकाका अघिल्लो निर्वाचनमा एउटा सदस्य समेत जिताउन नसकेको माओवादी केन्द्रले यसपाली भने राम्रो अवसर पाएको छ । १० वटा वडाध्यक्ष जितेको नेपाली काँग्रेस पाँचवटामा सिमित भएको छ । दुईवटा वडामा सदस्यहरु जम्मै नेकपा एमालेका उमेदवार विजयी भएका छन् । नेकपा एमालेले १० वटा जितेको छ । तुलसीपुरको वडा नंं १ बाट माओवादी केन्द्रका हुमाकान्त सापकोटा, वडा नंं २ बाट नेकपा एमालेका भिमबहादुर कवर योगी, वडा नं. ३ बाट विजय विक, वडा नं. ४ बाट माओवादी केन्द्रका तुलसी थापा मगर, वडा नं. ५ बाट काँग्रेसका विरेन्द्र शाह, वडा नं. ६ बाट एमालेका दुजमान भण्डारी, वडा नं. ७ बाट काँग्रेसका रामबहादुर जिसी, वडा न.. ८ बाट एमालेका धर्मराज वली विजयी हुनुभयो ।

यसैगरी वडा नं. ९ बाट काँग्रेसका धनश्याम ढकाल, वडा नंं १० बाट एमालेका यमराज केसी, वडा नं. ११ बाट एमालेका मानवहादुर रावत, वडा नं. १२ बाट माओवादी केन्द्रका खुशीराम चौधरी, वगडा नं. १३ बाट एमालेका मोहनलाल पौडेल, वडा नं. १४ बाट काँग्रेसका शंकर कुमार खड्का, वडा नं. १५ बाट एमालेका लक्ष्मण चौधरी र वडा नं. १६ बाट स्वतन्त्र शिवानन्द डिसीले जित हासिल गर्नुभयो । यस्तै वडा नं. १७ मा नेपाली काँग्रेसका थलराज पुरी विजयी हुनुभयो । यो वडामा सदस्यहरु नेकपा एमालेका उमेदवार विजयी भएका छन् । यस्तै वडा नं. १८ मा नेकपा एमालेका माधव वली र वडा नंं १९ मा प्रेमनाथ योगी विजयी हुनुभयो ।

तुलसीपुरमा नेपाली काँग्रेसले पहिले जितेका वडाहरु गुमाएको छ । गठवन्धनको फाइदा नेकपा माओवादीलाई भएको छ । माओवादीले तीनवटा वडा जितेको छ भने वडा नं. १६ बाट स्वतन्त्र उठेर विजयी हुनुभएका जिसी माओवादीमा आवद्ध हुनुहुुन्छ । तुलसीपुरमा प्रमुख र उपप्रमुख नपाएका कारणले गर्दा धेरै वडा पाउनुपर्ने माओवादीको माग पुरा नभएपछि अन्य दुईवटा वडामा माओवादीले स्वतन्त्र उमेदवारी दर्ता गराएका थिए । तुलसीपुरको वडा नं. १७ मा डिल्ली अधिकारीले पनि स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको थियो । उहाँ तेस्रो स्थानमा आउनुभएको छ ।