राप्ती पोष्ट
तुलसीपुर, जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगरकार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यपालिका सदस्यका लागी जननिर्वाचितबाट पाँच जना महिला सदस्य र मनोनिततर्फबाट तीन जना गरी आठ जना निर्वाचित हुनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिवार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा समेत गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर १ बाट गौरी नेपाली, वडा नम्वर ६ बाट यमुना परियार, वडा नम्वर ९ बाट बसन्ता केसी, वडा नम्वर १५ बाट सिताकुमारी लामिछाने र वडा नम्वर १६ बाट रिखा शर्मा रहनुभएको छ ।
त्यसैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर ४ बाट लक्ष्मण विश्वकर्मा, वडा नम्वर १२ बाट मोहन विक र वडा नम्वर १७ बाट तुलाराम नेपाली निर्वाचित हुनुभएको छ । सवै उमेदवारहरुको एकल उम्मेदवारी परेकाले निर्वाचन कार्यालय शनिवार दिउँसो निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिनुभयो ।
एमालेबाट आठ जनाको मात्रै उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको उहाँले बताउनुभयो । निर्विरोध निर्वाचितहरुलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम आउँदो मंगलबार गर्ने तयारी गरिएको छ ।
गत विहीवार भएको मनोनयन दर्ताको दिन नेकपा एमालेका उम्मेदवारहरुले मात्रै उमेदवारी दर्ता गराएका थिए ।
तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।