spot_img
Home Blog Page 49

यसकारण छानियो दाङ क्षेत्र नं. २ बाट पोखरेललाई

राप्ती पोष्ट

घोराही, भदौ । पाँच बर्ष अघि भएको निर्वाचनमा प्रदेश सभाको उमेदवार बन्नुभएका नेकपा एमालेका महासचिव तथा लुम्विनी प्रदेसका संस्थापक मुख्यमन्त्री दाङ क्षेत्र नं. २ बाट उमेदवार बन्नुहुने भएको छ । संघीय क्षेत्र अन्तरगत उमेदवार छनौट गर्नका लागि आइतबार भएको भेलाले पोखरेलको नाम सर्वसम्मत रुपमा चयन गरेको थियो । अघिल्लो पटकको निर्वाचनमा उहाँ दाङ क्षेत्र नं. १ को क बाट उमेदवार बन्नुभएको थियो । प्रदेस सभा सदस्यमा निर्वाचित भएपछि उहाँले लुम्विनी प्रदेश सरकारको नेतृत्व गर्नुभयो । प्रदेस सरकारको सफल नेतृत्व गरेका कारणले पनि उहाँलाई दाङ जिल्लाको क्षेत्र नं. २ बाट उमेदवार बनाइएको क्षेत्रिय संयोजक अमरबहादुर खड्काले बताउनुभयो ।

उमेदवार छनौट गर्नका लागि आयोजना गरिएको भेलामा संयोजक खड्काले यस क्षेत्रबाट पार्टीका महासचिव शंकर पोखरेललाई उमेदवारका लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सह इञ्चार्ज जीवन गौतमले समर्थन गर्नुभएको थियो । केन्द्रिय कमिटीको केही दिन बसेको बैठकले एक जना महिला सहित तीन जनाको नाम सिफारिस गर्न सक्ने भनेपनि क्षेत्र नं. २ बाट पोखरेलको नाम सर्वसम्मत रुपमा घोषणा गरिएको हो ।
नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्वर २ ले आइतबार आउँदो मंसिर ४ गते हुन लागिरहेको निर्वाचनमा उमेदवार बनाउनका लागि माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको थियो । दाङमा प्रदेशको राजधानी ल्याउने, दिर्घकालिन महत्वका विकास योजनाहरुलाई अघि सार्ने कामको अगुवाई गर्नुभएका पोखरेलको उमेदवार घोषणा पछि पार्टी कार्यकर्ताहरु उत्साहित देखिएका थिए । कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका सह इञ्चार्ज गौतमले पोखरेलले विकास र विचारको नेतृत्व गरिरहेकाले उहाँको नाम सर्वसम्मत रुपमा अघि सारिएको बताउनुभयो ।

नेकपा एमालेले अघिल्लो निर्वाचनमा पोखरेल उमेदवार बनेको क्षेत्रमा यस पटक बलिभद्र रानाको नाम सर्वसम्मत रुपमा अघि सारेको छ । शनिबार भएको भेलाले रानाको नाम सिफारिस गरेको हो । यस्तै अन्य प्रदेश सभामा भने केन्द्रीय कमिटीले भनेको भन्दा धेरै नामहरु सिफारिसमा परेका छन् ।

यसैगरी दाङ जिल्ला क्षेत्र नं. १ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । आइतबार भएको भेलाले केन्द्रिय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्यका रुपमा रहनुभएकी शान्ता चौधरी, अर्की केन्द्रिय सदस्य गंगा चौधरी र केन्द्रिय लेखा आयोगका सदस्य एवं लुम्विनी प्रदेस सभा सदस्य रेवतीरमण शर्माको नाम सिफारिस गरिएको छ । केन्द्रिय कमिटीले भने बमोजिम तीनजनाको नाम सिफारिस गरिएको छ ।

उता दाङको क्षेत्र नं. ३ मा पनि तीन जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. ३ बाट पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रिय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस गरिएको छ । ज्ञवाली २०४८ सालमा पनि सोही क्षेत्रबाट उमेदवार बन्नुभएको थियो । यस्तै उहाँ २०६४ सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट उमेदवार बन्नुभएको थियो । ज्ञवाली राष्ट्रिय सभामा विपक्षी दलको नेता, संविधान सभा सदस्य २०७० सालमा बन्नुभएको थियो । हाल पार्टी उपाध्यक्षको जिम्मेवारीमा उहाँ हुनुहुन्छ ।

यस्तै संघीय निर्वाचनका लागि उमेदवार सिफारिसमा पर्नुभएका पाण्डे यस अघि तुलसीपुर उपमहानगरपालिकाको प्रमुख हुनुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा मेयर हुनुभन्दा पहिले उहाँ २०५४ सालमा तुलसीपुर नगरपालिकाको उप प्रमुख हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा पनि राम्रो दख्खल राख्ने पाण्डे सामुदायिक बन उपभोक्ता महासंघको केन्द्रिय अध्यक्ष र अन्तराष्र्टिय बन महासंघको पनि अध्यक्ष बन्नुभएको थियो । उमेदवारका रुपमा सिफारिसमा पर्नुभएकी वली नेकपा एमालेको केन्द्रिय सदस्य हुनुुहुन्छ । उहाँ २०७४ सालदेखि २०७८ सालसम्म राष्ट्रिय सभा सदस्य हुनुुहुन्थ्यो । चारबर्षे कार्यकाल पुरा गर्नुभएकी वली लामो समय पत्रकारिताको यात्रामा हुनुहुन्थ्यो ।

पोखरेललाई उमेदवार बनाउने यस्ता छन कारण
नेकपा एमाले दाङ क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि पार्टी महासचिव शंकर पोखरेलेको नाम सर्वसम्मत रुपमा सिफारिस गर्दै गर्दा पोखरेलको नाम सिफारिस गर्नुपर्ने कारणहरु पनि सार्वजनिक गरेको छ । दाङ जिल्लाको समग्र विकासका लागि पोखरेलको विकल्प नरहेको भन्दै एमालेले तत्कालका लागि केही प्रस्ताव अघि सारेको छ भने अन्य आगामी दिनमा सार्वजनिक गर्ने बताएको छ ।
१. शंकर पोखरेल मुख्यमन्त्री रहेको समयमा उहाँकै पहलमा लुम्विनी प्रदेशको राजधानी दाङको देउखुरीमा ल्याइएकाले अव राजधानीको स्थायीत्वका लागि भूमिका खेल्नका लागि पोखरेलले जित्नैपर्ने ।
२. माडी डायभर्सनको कामलाई अविलम्व अघि बढाउन ।
३. डिपिआर तयार भइसकेको नारायणपुर विमानस्थलको काम अविलम्व अघि बढाउने काममा भूमिका खेल्नका लागि ।
४. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङ इञ्जिनियरिङ कलेजमा पठन पाठनको काम शिघ्र रुपमा अघि बढाउनका लागि ।
५. जिल्ला भित्रका विभिन्न विकास निर्माणका अधुरा आयोजना सम्पन्न गर्न र नयाँ आयोजनाहरु अघि बढाउन ।

रोटरी क्लवको आयोजनामा ठूलो संख्यामा रक्तदान

राप्ती पोष्ट

कार्यक्रममा धारणा राख्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने

घोराही, भदौ । रोटरी क्लव अफ् दाङले आयोजना गरेको रक्तदान कार्यक्रममा ८१ जनाले सामूहिक रक्तदान गरेका छन् । घोराहीमा रगतको अभाव भइरहेको भन्ने समाचार आइरहेको अवस्थामा रगतको अभाव पूर्ति गर्नका लागि रोटरीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

रोटरी क्लव अफ् दाङका अध्यक्ष ओविन्द्र बहादुर महराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले गर्नुभएको थियो । रक्तदान कार्यक्रम उद्घाटन गर्दै लामिछानेले रोटरीले स्वास्थ्यको क्षेत्रमा संसारभर काम गरेको बताउनुभयो । उहाँले रक्तदानको महत्व बुझाएर रक्तदानका लागि उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । १८ बर्ष पुगेका र ४५ केजी पुगेका युवा युवतीले रक्तदान गर्न सक्ने भएकाले सो सम्वन्धी चेतना विस्तार गर्नुपर्ने बताउनुभयो ।

विश्वबाट पोलियो उन्मुलनको अभियानमा रोटरीको प्रमुख हात रहेको स्मरण गर्दै रक्तदानका क्षेत्रमा पनि रोटरीले काम गरिरहेको उहाँको धारणा थियो । घोराहीमा रहेको रक्त संचारका कारणले गर्दा अस्पतालमा अप्रेसन सम्भव भएको भन्दै चिकित्सा क्षेत्रलाई प्रभावकारी बनाउनका लागि रगत आवश्यक पर्ने पनि लामिछानेले बताउनुभयो । उहाँले रोटरीसंग सहकार्य गर्नका लागि प्रतिष्ठान तयार रहेको बताउनुभयो । ‘हामी प्रतिष्ठानका तर्फबाट के गर्न सक्छौं, तपाईहरु पनि के गर्न सक्नुहुन्छ, प्रस्ताव सहित आउनुभयो भने हामी सहकार्यका लागि तयार रहेका छौं ।’ लामिछानेले भन्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले रक्तदानको महत्व बुझाउन सक्ने हो भने रक्तदाताको संख्या बढ्ने बताउनुभयो । उहाँले रगत नियमित रुपमा दान गर्दा त्यसबाट हुने फाइदाका बारेमा बुझाउन सक्नुपर्ने बताउनुभयो । अधिकारीले घोराहीमा रहेको रक्त संचार केन्द्रमाथि प्रतिष्ठानको यस अघिको नेतृत्वले खराव नियत राखेर हटाउन खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो ।

सामुहिक रक्तदान कार्यक्रममा युवा युवतीहरु गरेर कुल ८१ ज्नाले रक्तदान गरेको रोटरी क्लव अफ् दाङका प्रेस संयोजक केशरमान विसीले जानकारी दिनुभयो । रोटरी क्लवका सचिव डा. बोम विसीले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक डा. आशिष उप्रेतीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

दुईजनालाई सम्मान

सोही अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान पुराएका दुई युवालाई सम्मान गरिएको थियो । युवा नरेन्द्र पुन र प्रज्ज्वल शाहलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । घोराही क्षेत्रमा रगतको अभाव हुँदा रगत उपलव्ध गराउनका लागि सक्रिय रहेको भन्दै उहाँहरुलाई सम्मान गरिएको थियो ।

२० बर्ष पछि आफ्नै नाममा नागरिकता पाएपछि हर्षको सिमा रहेन ‘कृष्णा’को

छबि पुरी/राप्ती पोष्ट

घोराही, भदौ । कृष्णा सुनारका जेठो छोरा १२ कक्षा पास गरेर रोजगारीको सिलसिलामा बाहिर बस्छन् । कमाएको पैसा पठाउनु पर्यो भने सँधै बुवाको नभए छिमेकीको नाममा पठाउनुपर्छ । ‘श्रीमान घरमा नभएको बेलामा आफैले कागजी काम गदा निकै अप्ठ्यारो सहनुपरेको थियो, अब ढुक्क भएँ,’ बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय दाङमा नाम संशोधन गरिएको नागरिकता पाएपछि खुशी हुँदै घोराही ११ बाँसगजेरीकी ४८ वर्षीया कृष्णा सुनारले भन्नुभयो, ‘अब त जे काम पनि म आफैले गर्न सक्ने भएँ, यसका लागि म सबै सरहरुलाई धन्यवाद दिन्छु ।’

छोराछोरी ठूला भएपछि कागजी काम गर्दा आमाको नाम भन्न नसक्ने अवस्था भएको थियो । त्यसले पनि सुनार परिवारलाई थप तनाव भएको थियो । समाजमाm पशु, जनावरको नामबाट नागरिकता बनेकाहरुले नाम सच्याएर अर्को नागरिकता पाएको संचारमाध्यमबाट थाहा पाएपछि कृष्णा सुनारले मनमा साहस बटुल्दै तीन दिनअघि जिल्ला प्रशासनमा आएर थाल्नुभएको प्रयास बुधबार सफल भएको छ । जसले गर्दा उहाँ निकै उत्साहित पनि बन्नुभएको छ । यस सम्बन्धि समाचार राप्ती पोष्ट दैनिकले यहि बुधबार अर्थात भदौ ८ गतेको अंकमा प्रकाशित गरी ध्यानाकर्षण पनि गराएको थियो ।
‘गाउँघरमा बोलाउँदा सबैले जिस्काएर कुकुर्नी–कुकुर्नी भन्थे । तर न्वारानको नाम चाँही ‘कृष्णा’ थियो । जिस्काउँदा जिस्काउँदै पछि नामै ‘कुकुर्नी’ रहन गयो । यसले निकै समस्या भयो, अब त्यो दिन गए भन्ने लागेको छ,’ कृष्णाले भन्नुभयो, ‘नामकै कारण यति धेरै अपमानित हुनु परेको पीडा मलाई थियो, अब रहनेछैन ।’ लेखाई पढाई साधारण भएपनि पीठमा नाम लेखिदिँदा कसैले उहााँको नाम कुकुर्नी सुनार राखिदिएको रहेछ । जसले गर्दा पछि नागरिकता बनाउँदा त्यही नामबाट उहाँलाई बाध्यकारी रुपमा नागरिकता स्वीकार्नु परेको रहेछ ।

जिल्ला प्रशासन कार्यालय, रुकुमले २०५९ साल पुस १५ गते दिएको नागरिकतामा उहाँको नाम ‘कुकुर्नी’ सुनार छ । नागरिकता नम्बर २४६ (०३५) ३९ बाट जारी भएको उहाँको नागरिकतामा प्रमुख प्रशासकीय अधिकृत पुरन गिरीले दस्तखत गर्नुभएको छ । ‘हामीले नाम त भएन, अरु नामबाट नागरिकता बनाई दिनुस् सर भनेका हौँ, तर मान्नुभएन,’ कृष्णाका श्रीमान कर्णबहादुरले भन्नुभयो, ‘पीठमा जे छ त्यही हुन्छ भनेर त्यही नामबाट नागरिकता थमाई दिनुभयो, जसले हामीलाई निकै दुख दियो ।’

नागरिकता जारी भएको करीव २० वर्षपछि मात्रै कृष्णाले आफ्नो नाम अनुसारको नागरिकता हात पार्न सफल हुनुभएको छ । ‘२० वर्षसम्म म औपचारिक रुपमा कुकुर्नी सुनारबाटै चिनिन बाध्य भएँ,’ उहाँले भन्नुभयो । सुनार’को जन्मथलो पश्चिम रुकुम हो । साविक रुघा गाबिस वडा नम्बर ३ रुकुम घर भएका सुनार परिवार केही वर्षअघि मात्रै दाङ झरेको थियो ।
श्रीमान कर्णबहादुर सुनारले पनि श्रीमतीको नाम कुकुर्नी भएको थाहा पाएर पनि समस्याको समाधान कसरी गर्ने भन्ने बारे लामो समयसम्म निष्कर्ष निकाल्न सक्नुभएको थिएन । जसले गर्दा श्रीमतीको नामबाट केही ठाउँमा बाध्य भई काम पनि गर्नुभएको छ । ‘मेरो नामबाट १ कट्ठा जग्गा किनेको छु, त्यो बेलामा कुकुर्नी सुनारबाट लालपूर्जा छ, बैंकमा पनि खाता खोलेको ु त्यहाँ पनि उही नामा छ, अब त सच्याउन पाउँछु होला,’ कृष्णाले प्रशन्न मुद्रामा भन्नुभयो, ‘नामकै कारण पनि यति धेरै तनाव हुने रहेछ, आज आफ्नो नाम अनुसारकै नागरिकता पाएपछि आत्मविश्वास बढेको छ ।’

जातीय थिचोमिचोका कारण पनि यस खालको अन्यायमा परेको हुन सक्ने घोराही ११ का वडाअध्यक्ष कुलबहादुर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरा मलाई पनि थाहा थिएन र हुने पनि भएन, किनकी उहाँ केही वर्षअघि पहाडतिरबाट बसाई सरी आउनुभएको हो । अस्ति भर्खर नाम फेर्नुपर्यो भन्दै आएपछि थाहा पाएँ त्यही अनुसार प्रकृया पुर्याएर प्रशासनमा पठाएको थिएँ ।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबार कृष्णा सुनारलाई नाम सच्याएर प्रतिलिपी नागरिकता दिँदै भन्नुभयो, ‘अब त ढुक्क हुनुभयो है, यति भन्दा उहाँले भन्नुभयो, हजुर सर, अब त मनमा आत्मविश्वामस बढेको छ ।’ मानिस भएर पनि पशुको नाम किन लेखिदिनुभए होला भन्दै वडा कार्यालय पुगेपछि घोराही ११ को वडाकार्यालयले पशु संकेत गरेर अपमानजनक नाम लेखिएकाले कुकुर्नी नामको ठाउँमा कृष्णा नाम सच्याई नागरिकताको प्रतिलिपीका लागि जिल्ला प्रशासन कार्यालयमा भदौ ६ गते सिफारिस गरेको थियो । जसका आधारमा जिल्ला प्रशासनले उहाँको काम बनाई दिएको हो ।

छोरी कक्षा १२ मा पढ्छिन्, उनलाई आमाको नाम भन्न सक्ने अवस्था नभएको भन्दै लज्जाबोध गरेको कृष्णाले सुनाउनुभयो । ‘विभिन्न समुहमा बस्दा, टोल छिमेकमा नाम भन्न सक्ने अवस्था थिएन, अब त सबै ठाउँमा ढुक्कका साथ अघि सर्छु,’ कृष्णाले भन्नुभयो, ‘उतिबेला नागरिकता बनाउँदा नाम ठीक लेखिदिएको भए आजसम्म दुख भोग्नु पर्ने थिएन ।’
उहाँका श्रीमान कर्णबहादुर पनि श्रीमतीको नामकै कारण कतिपय कार्यक्रम तथा अवसरबाट पछि हट्नु परेको बताउनुभयो । ‘अब त समस्या टरेको छ, ढुक्कका साथ कागजी काम गर्न सक्ने भएका छौँ,’ कर्णबहादुरले भन्नुभयो, ‘अपमानजनक शब्दले घरका सबै जनालाई चिन्ता दिएको थियो ।’

वडा अध्यक्ष लामिछानेले पनि अपमानजनक शब्दका कारण नागरिक अपेहेलित मात्रै नभई मानसिक रुपमा पनि समस्यामा पर्ने अवस्था रहेको बताउनुभयो । ‘यति अपमानजक शब्दका कारण उहाँले आफुलाई बाहिर ल्याउन सक्नुभएको रहेनछ, सुन्दा दुख लाग्यो कमसेकम नागरिकता बनाउने टोलीले मानिसको नामका बारेमा सोच्नु पर्ने हो,’ उहाँले भन्नुभयो, ‘अब यस्ता नाउँ नलेखिनुहोला भन्न चाहन्छु ।’

वडाअध्यक्ष लामिछानेका अनुसार, बाँसगजेरीलगायतका गाउँमा अहिले पनि अपमानजनक शब्दसहितका नाम भएका थुप्रै व्यक्ति छन् । उनीहरुका बारेमा पनि सोँच्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । ‘पशुसरह नाम भएपछि मानिस आफ्नो नाम बताउन हिच्किचाउनु स्वाभाविक हो, नामकै कारण उहाँहरु कतिपय अवसरबाट पछि हट्नु परेको अवस्था पनि होला, अब भएका समस्या समाधान गर्ने तिर लाग्नुपर्छ,’ वडाअध्यक्ष लामिछानेले भन्नुभयो, ‘दैलेखमा ‘कुकुर’ नाम सच्याईएपछि धेरैले आफ्नो वास्तविकता ओकल्न थाल्नुभएको छ, मैले पनि मेरो गाउँ ठाउँमा कसको नाम के रहेछ भन्ने थाहा पाउँदैछु ।’
प्रमुख जिल्ला अधिकारी रेग्मीले पनि अपमानजनक शब्द राखेर कोही कसैलाई नागरिकता दिन नहुने बताउनुहुन्छ । ‘सुन्नै नसकिने खालको नाम राखेर किन नागरिकता बनाई दिएको होला, मानिसका लागि नाम त जति पनि छन् नी,’ उहाँले भन्नुभयो, ‘यो त अहिलेको जमानामा अपाच्य मात्रै होईन घोर अपमान र अन्याय नै हुन्छ ।’

‘जिल्लामा यसरी पशुको नामबाट नागरिकता बनेर सच्याउनु भएको घटना थिएन, यो पहिलो घटना हो । बुधबार कृष्णालाई नागरिकता थमाउँदै भन्नुभयो, ‘यति अपमानजनक शब्द राख्नु हुँदैन, यो व्यक्ति र उनका परिवारको भावनमा ठेस लाग्ने शब्द हुन् ।’ उहाँले विशेष परिस्थितीमा मात्रै नागरिकको आत्मसम्मानमा ठेस पुग्ने भएकाले अपमानजक शब्द हटाउने व्यवस्थालाई कार्यान्वयन गरेको बताउनुभयो । ‘अन्यथा, नाम मन परेन भन्दै सच्याउन थाल्ने हो भने यहाँ थेगि नसक्नु भीड लाग्छ, यो गर्न पनि मिल्दैन,’ उहाँले भन्नुभयो सामाजिक रुपमा सबैले स्वीकार गर्न सक्ने मात्रै होईन सम्मानजनक शब्दसहितको नागरिकता हुनुपर्छ भन्ने हो ।’

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार, अपमानजनक शब्द राखेर नागरिकता लिएकाहरुले जिल्लाबाट हालसम्म नागरिकता लैजानुभएको छैन । उसो त, सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार गृह मन्त्रालयको निर्देशनमा दाङबाट हालसम्म सय बढीले थर सच्याएर प्रतिलिपी नागरिकता भने लगिसकेका छन् । यसरी थर सच्याउनेमा प्राय दलित समुदायका रहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

 

विभिन्न विषयमा नागरिक समाजको ध्यानाकर्षण

राप्ती पोष्ट

घोराही, भदौ । नागरिक समाज दाङले पेट्रोलिय पदार्थको मुल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजको मंगलबार घोराहीमा बसेको बैठकले भारतबाट खरीद भई आउने पेट्रोलियम पदार्थको मुल्य स्वचालित प्रणालीका आधारमा समायोजन गर्नुपर्ने भएपनि पछिल्लो तीन पटक मुल्य घटेर आउँदा पनि नेपाल आयल निगमले मुल्य समायोजन नगर्दा आम उपभोक्ता थप व्ययभारमा परेको भन्दै खरीद मुल्य अनुसार नयाँ मुल्य अबिलम्ब निर्धारण गर्न माग गरेको छ ।

समाजका संयोजक केबी मसालको अध्यक्षतामा बसेको बैठकले संघीय संसदबाट पारित भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएकोमा प्रतिनिधि सभाबाट पुनः जस्ताको तस्तै पारित भई राष्ट्रिय सभामा पेश भएको सन्दर्भमा नागरिक समाज दाङले ध्यानाकर्षण भएको जनाएको छ । समाजले नागरिकता भन्ने जस्तो राष्ट्रिय संवेदनशील विषयमा राजनीतिक दलबीचको इगो नबनाई प्रत्येक प्रदेश स्तरमा सर्वपक्षीय भेला गराई नागरिकको आवाज समावेश गरेर मात्र अगाडि बढ्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

यस्तै, जलवायु परिवर्तनका कारण यस वर्ष पर्याप्त वर्षा नहुँदा खडेरी भई धानबालीमा असर गरेकाले धान उत्पादनमा ह्रास आउने प्रायः निश्चित भएको हुँदा आगामी वर्ष खाद्यसंकट बढ्ने सम्भावना बढेको र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पर्ने खतरा बढेको भन्दै सतर्क गराएको छ । नेपाल सरकारले जेष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत भुक्तानी दिँदै आएकोमा बैंकमा लामो समय लाईनमा बस्न पर्दा कठिनाई महसुश गरेको व्यापक गुनासो आएकाले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता सरल, सहज रुपमा उपलब्ध गराउन वडा समितिका कार्यालय र सम्बद्ध बैंकका कर्मचारी खटाई गाउँ टोलमा पुगेरै भुक्तानीको व्यवस्था मिलाउन नागरिक समाजले अनुरोध गरेको छ ।

समाजले नेपालमा क्रियाशील विभिन्न राजनीतिक दलहरुले समय–समयमा विभिन्न माग राख्दै नेपाल बन्द, चक्काजाम जस्ता अशोभनीय कार्यहरु गर्दै आएकोमा बन्दको विकल्प खोज्दै आफ्ना मागहरु सम्बोधन गर्न दुई पक्षीय वार्ताबाट निकास खोज्न पनि अनुरोध गरेको छ । नेपाल सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै नेकपा विप्लव समुहलगायत चार दलले मंगलबार पुनः नेपाल बन्द गरेको हुँदा सार्वभौम नेपाली जनता प्रताडित भएको हुँदा आगामी दिनमा नेपाल बन्द चक्काजाम जस्ता जनभावना विपरितका काम नगर्न सम्बद्ध सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । आउँदै गरेका हरितालिका तीज पर्वलगायतका चाडलाई महंगो, भड्किलो र देखासिकीमा नभई हुँदा खाने र हुने खानेबीचको भेद नछुट्टिने गरी समभाव राखेर पर्व मनाउन सबैमा आग्रह गरेको छ ।

दाङमा पनि ‘कुकुर्नी’ भन्ने नामबाट नागरिकता वितरण

नाम संशोधनको तयारी

छबि पुरी/राप्ती पोष्ट

घोराही, भदौ । गाउँघरमा बोलाउँदा सबैले जिस्काएर कुकुर्नी–कुकुर्नी भन्थे । तर उहाँको न्वारानको नाम चाँही ‘कृष्णा’ थियो । जिस्काउँदा जिस्काउँदै पछि नामै ‘कुकुर्नी’ रहन गयो । रुकुमको गाउँमा जन्मिएकी कृष्णालाई लेखपढ गर्न आउँदैन । लेखाई पढाई नभएकै कारण कागजमा नागरिकतामा के लेखियो भन्ने अड्कल पनि भएन ।

जिल्ला प्रशासन कार्यालयको टोलीले भनेकै आधारमा उहाँको नागरिकता ‘कुकुर्नी’ नामबाट बनाई दियो । पढेलेखेको भए नागरिकतामा नाम के लेखेको रहेछ भन्ने थाहा हुन्थ्यो तर उहाँलाई यो कुरा हेक्का भएन । नागरिकताको काम पनि खासै प्रयोगमा आएन । तर, निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचय पत्र बनाउन थालेपछि उहाँलाई बल्ल थाहा भयो, नागरिकतामा लेखिएको नाम कुकुर्नी सुनार ।

कसैले जिस्काएर भनेकै आधारमा सरकारी कागजमा पशुको नामसँग जोडेर तल्लो स्तरको नाम लेखिदिएको थाहा पाएपछि उहाँलाई भन्न पनि अप्ठ्यारो भयो । यद्यपि, कृष्णाले विहे गरपछि मात्रै नागरिकता बनाउनभएको रहेछ । श्रीमान पनि पढेलेखेको नभएका कारण नागरिकता बनाउने टोलीले जे लेख्यो त्यही आधारमा नागरिकता बनाई दिएछ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरीकी ४८ वर्षीया ‘कुकुर्नी सुनार’को जन्मथलो पश्चिम रुकुम हो । त्यहाँ उहाँको कुकुर्नी सुनार नामबाट नागरिकता बनेको छ । बाहिर जसले जे भने पनि कागजमा लेखेको प्रमाण बलियो हुन्छ । श्रीमान कर्णबहादुर सुनारले पनि श्रीमतीको नाम कुकुर्नी भएको थाहा पाएर पनि समस्याको समाधान कसरी गर्ने भन्ने बारे लामो समयसम्म निष्कर्ष निकाल्न सक्नुभएको थिएन । रुकुमपश्चिममा हुँदा नागरिकता टोलीले बनाइदिएको नागरिकता बोकेर करीव पाँच वर्षअघि सुनारको परिवार घोराही ११ बाँसगजेरी झरेको थियो ।

दाङ आउनुअघि सुनारको परिवार रुकुम पश्चिममा घरगृहस्थीमा थियो । गाउँमा व्याप्त थिचोमिचोको असर सुनारको श्रीमतीको नाममा प्रष्टै झल्किन्छ । जातीय थिचोमिचोका कारण अन्यायमा परेको घोराही ११ का वडाअध्यक्ष कुलबहादुर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरा मलाई पनि थाहा थिएन र हुने पनि भएन, किनकी उहाँ केही वर्षअघि पहाडतिरबाट बसाई सरी आउनुभएको हो । अस्ति भर्खर नाम फेर्नुपर्यो भन्दै आएपछि थाहा पाएँ ।’

केही दिनअघि मात्रै दैलेखमा पनि आफ्नो जस्तै नामका कारण अपहेलित भएर नाम सच्याएको भन्ने समाचार संचारमाध्यमबाट सुनेपछि सुनारको परिवारमा आत्मविश्वास बढेको रहेछ । नाम सच्याउने अठोटका साथ दम्पति जिल्ला प्रशासनमा पुगेपछि यसबारे खबर बाहिरिएको हो । बुवा टेकबहादुर र आमा रामकलीकी छोरी कुकुर्नी सुनारका लागि अपमान जनक नाम अहिले निकै बाधक बनेको छ । जसका कारण आफ्ना श्रीमान कर्णबहादुरलाई लिएर उहाँ सरासर जिल्ला प्रशासनमा पुग्नुभएको रहेछ । प्रमुख जिल्ला अधिकारीले समस्या समाधान हुने आश्वासन दिँदै वडाबाट सिफारिस लिएर आउन सुझाव दिएपछि वडा कार्यालयले प्रकृया अघि बढाई दिएको छ । ‘मेरो नाम खासमा कृष्णा सुनार हो, खै मैले त लेख्नपढ्न जान्दैन, सरहरुले किन यस्तो गरिदिनुभएछ, पछि पो थाहा भयो,’ कृष्णा सुनारको भनाई सुनाउँदै वडाअध्यक्ष लामिछानेले भन्नुभयो, ‘सबैको नागरिकतामा नाम के छ भन्ने थाहा हुने कुरा पनि भएन, त्यसमा पनि बाहिरी जिल्लाबाट आएका पर्नुभयो ।’

मानिस भएर पनि पशुको नाम किन लेखिदिनुभए होला भन्दै उहाँ वडा कार्यालय पुगेपछि घोराही ११ को वडाकार्यालयले पशु संकेत गरेर अपमानजनक नाम लेखिएकाले कुकुर्नी नामको ठाउँमा कृष्णा नाम सच्याई नागरिकताको प्रतिलिपीका लागि जिल्ला प्रशासन कार्यालयमा भदौ ६ गते सिफारिस भएको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।

‘यति अपमानजक शब्दका कारण उहाँले आफुलाई बाहिर ल्याउन सक्नुभएको रहेनछ, सुन्दा दुख लाग्यो कमसेकम नागरिकता बनाउने टोलीले मानिसको नामका बारेमा सोच्नु पर्ने हो,’ उहाँले भन्नुभयो, ‘अब यस्ता नाउँ नलेखिनुहोला भन्न चाहन्छु, उहाँले भन्नुभयो मैले वडाबाट सिफारिस गरेर नाम सच्याई प्रतिलिपी दिन भनेको छु, काम हुन्छ होला ।’
वडाअध्यक्ष लामिछानेका अनुसार, बाँसगजेरीलगायतका गाउँमा अहिले पनि अपमानजनक शब्दसहितका नाम भएका थुप्रै व्यक्ति छन् । उनीहरुका बारेमा पनि सोँच्नुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । ‘पशुसरह नाम भएपछि मानिस आफ्नो नाम बताउन हिच्किचाउनु स्वाविक हो, नामकै कारण उहाँहरु कतिपय अवसरबाट पछि हट्नु परेको अवस्था पनि होला, अब भएका समस्या समाधान गर्ने तिर लाग्नुपर्छ,’ वडाअध्यक्ष लामिछानेले भन्नुभयो, ‘दैलेखमा ‘कुकुर’ नाम सच्याईएपछि धेरैले आफ्नो वास्तविकता ओकल्न थाल्नुभएको छ ।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि अपमानजनक शब्द राखेर कोही कसैलाई नागरिकता दिन नहुने बताउनुहुन्छ । ‘सुन्नै नसकिने खालको नाम राखेर किन नागरिकता बनाई दिएको होला, मानिसका लागि नाम त जति पनि छन् नी,’ उहाँले भन्नुभयो, ‘यो त अहिलेको जमानामा अपाच्य मात्रै होईन घोर अपमान र अन्याय नै हुन्छ ।’ आफुले दाङमा पनि जनावरको नाम राखेर नागरिकता बनाएको भन्ने बारे थाहा पाएलगत्तै नाम सच्याई दिने बताउनुभएको छ ।

‘जिल्लामा यसरी पशुको नामबाट नागरिकता बनेर सच्याउनु भएको घटना थिएन, यो पहिलो घटना हो जस्तो लाग्छ, मैले उहाँ (कृष्णा) कुकुर्नी सुनारको नाम वडाले पहिचान गरेर सिफारिस गरेलगत्तै तुरुन्तै नागरिकता प्रतिलिपी दिन्छु,’ उहाँले भन्नुभयो, ‘यति अपमानजनक शब्द राख्नु हुँदैन, यो व्यक्ति र उनका परिवारको भावनमा ठेस लाग्ने शब्द हुन् ।’
उहाँका अनुसार यसअघि बबई गाउँपालिकाबाट कमिनी थरलाई कामी बनाउन आएकोमा सच्याएर प्रतिलिपी दिएको बताउनुभयो । ‘हामीले उहाँहरुको आवश्यकताका आधारमा नाम सच्याएर दिने हो, घोराहीकी कुकुर्नी सुनारको अवस्थामा पनि यही कुरा लागू हुन्छ, उहाँको के नाममा नागरिकताको प्रतिलिपी दिनुपर्ने हो, सोही आधारमा वडाले गरेको सिफरिस अनुसार काम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, ‘पशुको जनावरको, फोहोर शब्द भएका नाम सच्याउनुको विकल्प पनि त छैन, किनकी यो उहाँहरुको व्यक्तित्व र भावनाको कुरा पनि हो ।’

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार, अपमानजनक शब्द राखेर नागरिकता लिएकाहरुले जिल्लाबाट हालसम्म नागरिकता लैजानुभएको छैन । कुकुर्नी (कृष्णा) सुनारले जिल्ला प्रशासनबाट नाम सच्याएर नागरिकता लगेमा यो पहिलो अभ्यास हुनेछ । वडाले चिनेको प्रमाणसहित सिफारिस गरेपछि प्रशासनबाट तुरुन्तै काम हुने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । उहाँले चलनचल्नीका नामको हकमा भने सच्याउन नपाईने उहाँले प्रष्ट पार्नुभयो । ‘विशेष परिस्थितीमा मात्रै नागरिकको आत्म सम्मानमा ठेस पुग्ने भएकाले अपमानजक शब्द हटाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो अन्यथा, नाम मन परेन भन्दै सच्याउन थाल्ने हो भने यहाँ थेगिनसक्नु भीड लाग्छ, यो गर्न पनि मिल्दैन,’ उहाँले भन्नुभयो ।

बालिका शिक्षा र स्वास्थ्यका लागि नौलो कार्यक्रम

छबि पुरी/राप्ती पोष्ट

घोराही, साउन । दाङमा सबै बालिकाहरुको शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउन बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्षका रुपमा रहनुभएकी सामाजिक अभियन्ता बिमला योगीको सक्रियतामा कार्यक्रम संचालन गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रक्ँै समन्वयमा सामाजिक अभियन्ता बिमला योगीले कुनै पनि बालिका शिक्षा पाउनबाट वन्चित नओऊन भन्दै सबैलाई सहज रुपमा शिक्षामा पहुँच पुर्याउन यो कार्यक्रम ल्याउनुभएको हो । जसको नाम ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ राखिएको छ ।

केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा शैक्षिक एवम् सामाजिक व्यक्तित्व गोविन्दप्रसाद न्यौपानेको उपस्थितीमा मंगलबार एक कार्यक्रम गरी ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुभारम्भ गरिएको थियो । अध्यक्ष न्यौपानेले दिनुभएको जानकारी अनुसार संस्थाको ४० लाख र योगीका व्यक्तिगत १० लाख गरी कुल ५० लाख लगानी गरी ‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ शुरु गरिएको छ ।

सो अवसरमा शिक्षाविद गोविन्द न्यौपानेले दाङमा कुनै व्यक्तिले आफ्नो व्यक्तिगत लागतमा ठूलो धनराशी लगाएर बालिकाको शिक्षा र स्वास्थ्यमा गरिएको लगानी नयाँ अभियानको थालनी भएको बताउनुभयो । स्थानीय सरकारले गर्नुपर्ने काममा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील योगीले निस्वार्थ भावले कामको थालनी गरिनुले सरकारलाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

‘हाम्रा स्थानीय पालिकाले गर्नुपर्ने काम व्यक्तिले गरेर सरकारलाई ठूलो गुन लगाउनुभएको छ । समाजका समस्या समाधान गर्न यो अभियान सफल हुनेमा दुईमत छैन,’ उहाँले भन्नुभयो, ‘निस्वार्थ भावले कामको थालनी गरिनुले सरकारलाई ठूलो सहयोग मिल्नेछ ।’

यो अभियान समाज र शिक्षा क्षेत्रमा काम गर्नेहरुका लागि प्रेरणाको श्रोत बनेको बताउनुभयो । शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्ने स्थानीय तहको जिम्मेवारी आफैले लिएर पालिकाको दायित्व पूरा गरेको बताउनुभयो । आफुले पढाएको विद्यार्थी यसरी सामाजिक क्षेत्रमा लागेर काम गरेर सबैको अभिभावक बनेको देख्दा आफुलाई निकै आत्मसन्तुष्टि मिलेको बताउनुभयो । यसले आफुले दिएको शिक्षा र संस्कार खेर नगएको बताउनुभयो ।

‘मैले पढाएका धेरै विद्यार्थीहरु विभिन्न क्षेत्रमा छन् ती मध्ये बिमला पनि एक हुन्, आज उहाँले गरेको कामले मलाई निकै खुशी दिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला दिएको शिक्षा र संस्कार खेर गएको छैन ।’ नेपालमा बालबालिका, महिलाहरुको क्षेत्रमा धेरै चुनौति रहेकाले यो अभियान निकै उपयोगी रहेको बताउनुभयो ।

पछिल्लो समय स्वास्थ्य सचेतना, सामाजिक जागरण निकै आवश्यक भएको बताउनुभयो । पुरुषलाई शिक्षा दिँदा ऊ मात्रे सिमित हुने तर बालिका वा महिलालाई शिक्षा दियो भने उसले घर परिवार, समाजलाई शिक्षित र जागरुक बनाउन भूमिका खेल्ने हुँदा महिलालाई शिक्षित बनाउन समाजका लागि गुणकारी रहेको बताउनुभयो । ‘शिक्षाको उज्यालोबाट टाढा रहेकी बालिकालाई शिक्षा दिए उनी आफुमात्रै शिक्षित बन्दैनिन्,’ उहाँले भन्नुभयो, ‘बालिका वा महिलालाई शिक्षा दियो भने उनले घर परिवार, समाजलाई शिक्षित र जागरुक बनाउन भूमिका खेल्छिन्, यो समाजका लागि निकै गुणकारी हुन्छ ।’
अहिले समाजमा शिक्षा र सचेतनाको अभावमा विभिन्न खालका घटना बढी रहेकाले यो अभियानले सबै तह र वर्गका बालिकाहरुको शिक्षा र स्वास्थ्यमा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । पहिलेभन्दा अहिले बालिकाहरुको शिक्षामा पहुँच बढ्दै गएकोमा खुशी व्यक्त गर्दै अब शिक्षा, स्वास्थ्य र सचेतना सँगसँगै अघि बढाउन जरुरी रहेको बताउनुभयो । यस्तै, उहाँले हिजोका दिनमा मानिस बिरामी भएमात्रै अस्वस्थ भएको मानिन्थ्यो । तर अहिले शरीर स्वस्थ भएपनि अरु समस्या भए मानिस अस्वस्थ भएको मानिने गरिएको बताउनुभयो ।

शरीर स्वस्थ रहेमात्रै विचार स्वस्थ हुने बताउँदै उहाँले बालिका स्वस्थ राख्न स्वास्थ्य शिक्षामा लगानी बढाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । ‘मानिसका लागि शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य स्वस्थ हुन जरुरी छ,’ उहाँले भन्नुभयो ‘शरीर स्वस्थ रहेमात्रै विचार स्वस्थ जन्मन्छ, त्यसले समाजलाई सही बाटोमा हिँडाउन मद्दत गर्छ ।’
‘बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ की अभियन्ता योगीले सबै तहका बालिकाहरु शिक्षाबाट र स्वास्थ्यबाट वन्चित नहोऊन् र उनीहरु स्वस्थ र शिक्षित भएमात्रै समाज र राष्ट्र स्वस्थ हुन्छ भन्ने मान्यताका साथ यो अभियान शुरु गरेको बताउनुभयो ।

यो अभियान अन्तर्गत बालिकाको शिक्षा, उनीहरुको स्वास्थ्य समस्यालाई सम्बोधन गर्न निशुल्क सेनिटरी प्याड, अन्य उपचार र स्वास्थ्य सचेतनामा लगानी हुनुका साथै सामाजिक जागरणका क्षेत्रमा पनि अभियान संचालन हुने उहाँले बताउनुभयो । ‘मैले जीवनमा कमाएको धनपैसा भन्दा छोरीहरुको शिक्षा दिक्षाले उनीहरु सचेत र स्वस्थ बनेर समाजकै लागि केही गरेको देख्दा यसले धेरै खुशी दिँदो रहेछ,’ उहाँले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्यबाट कोही बालिका वन्चित नहोऊन् भन्ने मेरो मान्यता हो ।’

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि सामाजिक जागरणका लागि थालिएको यो अभियान निकै अनुकरणीय रहेको बताउनुभएको छ । बालिकालाई शिक्षित बनाउँदै उनीहरुको स्वास्थ्यमा बेलैमा ध्यान दिँदै स्वस्थ बनाउन यो अभियान समाजका लागि निकै उपयोगी रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा पूर्व शिक्षक डा. कृष्णराज डिसी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, स्वास्थ्यकर्मी राधा पौडेल, पत्रकार केपी घिमिरेलगायतले बोल्नुभएको थियो ।

यस्तै, संस्थामार्फत वित्तिय सेवा लिँदै आएकाहरुले पनि आफुहरु संस्थामा आवद्ध भएपछि धेरै कुरा सिक्न र ज्ञान हासिल गर्न सफल भएको बताएका थिए । यसैबीच, संस्थामार्फत पढीरहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको छ । संस्थाकी लक्ष्मी गुप्ताका अनुसार, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरेर हाल ६ सय बढी बालबालिकाहरुको शिक्षामा संस्थाले लगानी गर्दै आएको छ ।

 

विद्यालयमा गरिएको छड्के

सम्पादकिय

घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयमा अनुगमन गर्न थालेको छ । शिक्षाको सुधारका लागि अनुगमन गर्नु राम्रो कुरा हो । अनुगमन गर्दा कसरी गरियो ? के के विषयमा अनुगमन गरियो ? अनुगमन पश्चात सुधार हुन्छ कि हुँदैन ? अनुगमनमा जानु अघिको अवस्था के कस्तो थियो ? अनुगमन गर्नका लागि मात्रै गरियो कि सुधारका लागि गरियो ? अनुगमन औपचारिकताका लागि मात्रै गरियो कि ? अनुगमन प्रभावकारीताका लागि गरियो ? अनुगमनका विषयमा धेरै प्रश्न गर्न सकिन्छ । घोराहीको शिक्षा शाखाले गरेको अनुगमनलाई शंकाको नगरले नहेर्ने हो भने सुधारका लागि गरिएको प्रयास हो भनेर धन्यवाद दिनुपर्छ । शिक्षा समाज विकासका लागि महत्वपूर्ण विषय हो । शिक्षामा सुधार भयो भने धेरै कुरा सुधार हुन्छ । शिक्षामा सुधार गर्नका लागि निकै मेहनत गर्नुपर्छ । शिक्षालाई समाजको स्तर मापन गर्ने यन्त्र भनिदिए हुन्छ । शिक्षालाई सुधार गरियो भने समाजको अवस्थामा आमूल सुधार हुन्छ । शिक्षामा सुधार ल्याउनका लागि मेहनत गर्नुपर्छ । सानो प्रयासले मात्रै शिक्षामा सुधार हुँदैन । हामीले दिइरहेको शिक्षाको कुरा, हाम्रा शिक्षकहरुको क्षमता, शिक्षकहरुले गरिरहेको मेहनतको कुरा, विद्यालयका भौतिक संरचनाहरुको अवस्था, विद्यालयमा रहेका शैक्षिक सामग्रीको अवस्था जस्ता विषयहरु शिक्षालाई राम्रो गराउने विषयका रुपमा पर्दछन् ।

शिक्षाको सुधारका लागि विभिन्न विद्यालयमा गएको टोलीले खासगरी विद्यालयको शैक्षिक तथा भौतिक अवस्था बारे निरिक्षण गरेको पाइएको छ । कक्षाकोठाको अवस्था, विद्यालयमा हाजिरी पुस्तीका भए नभएको, हाजिर नियमित हुने गरेको वा नगरेको, विद्यालयमा नास्ता खाजाको अवस्था र विद्यालयको समग्र भौतिक संरचनाको अवस्थाका बारेमा अध्ययन गरिएको थियो । विद्यालयमा गरिएको अध्ययनमा अझै धेरै विषयहरु अपुग रहेका छन् । शिक्षाको जिम्मेवारी लिएकाहरुले शिक्षा कसरी सुधार गर्ने भन्ने बारेमा ठोस योजना बनाएको पाइएको छैन । शिक्षामा सुधार गर्नका लागि धेरै पाटो छन् । विद्यालयलाई सुधार गर्नका लागि भनेर विभिन्न संरचना रहेका छन् । विद्यालयमा व्यवस्थापन समिति हुन्छ । शिक्षक र अभिभावकका बीचमा समन्वय गर्नका लागि शिक्षक अभिभावक संघ हुन्छ । विद्यालय संचालक समिति बनाइएको हुन्छ । शिक्षकहरु हुन्छन् । सवै शिक्षकहरु र अभिभावकहरुसंग समन्वय गर्नका लागि प्राधानाध्यापक हुन्छ । विद्यालय संचालनका लागि यो भन्दा बाहिर समाज हुन्छ । समाजले चाह्यो भने पनि विद्यालय राम्रो हुन सक्छ । विद्यार्थीले राम्रो पढेनन् भने सवैभन्दा पहिले विद्यार्थीलाई दोष दिइन्छ र भनिन्छ विद्यार्थीले राम्रोसंग पढ्दैन । विद्यार्थीका अभिभावकहरु राम्रा छैनन् । घरमा ध्यान दिंदैनन् । यस्तै भनिन्छ । यस्तो भनेर शिक्षालाई राम्रो बनाउने जिम्मा लिएकाहरु जिम्मेवारीबाट भाग्न पाउँदैनन् । शिक्षालाई राम्रो बनाउने हो भने अहिले शिक्षाको अवस्था कस्तो छ भन्ने बुझेर राम्रो गराउनका लागि लाग्नुपर्छ ।

विद्यालयमा भौतिक सुविधा हुनुभन्दा पहिले मानसिक रुपमा शिक्षासंग सरोकार राख्नेहरु तयार हुनुपर्छ । शिक्षालाई बदल्ने हो भने अव सामान्य हेरफेरबाट हुनेवाला छैन । शिक्षालाई सुधार गर्नका लागि भौतिक विषय सहायक विषय हो । उहिले रुखमुनी बसेर बुद्धले ज्ञान प्राप्त गरेका थिए । यो भनेर अवपनि रुखुमुनी बसेर सिक्नुपर्छ वा पढ्नुपर्छ भन्न खोजिएको होइन । भौतिक सुविधा आवश्यक पर्दछ तर भौतिक सुविधा सम्पूर्ण होइन । भौतिक सुविधाले पढन्का लागि सहयोगी भूमिका खेल्छ । कक्षा कोठा राम्रो हुनुपर्छ । शौचालय राम्रो हुनुपर्छ । खेल मैदान राम्रो हुनुपर्छ । प्रयोगशाला राम्रो हुनुुपर्छ । अन्य सुविधाहरु राम्रो हुनुहुन्छ । कक्षा कोठामा विद्यार्थीहरुको संख्या सिमित हुनुपर्छ । विद्यालयमा भौतिक विषयको उपलव्धता आवश्यकता अनुसार हुुनुपर्छ । विद्यालयमा उपलव्ध भौतिक सुविधाको कुनै मापन हुँदैन । तर विद्यार्थीहरुले पाउने शिक्षालाई मापन गर्न सकिन्छ । परीक्षामा विद्यार्थीले ल्याउने नम्वर एउटा आधार हो । विद्यार्थीले सिक्ने कुरा अर्को आधार हो । विद्यार्थीले कति कुरा सिक्यो ? कोर्षको कुरा भन्दा बाहिरको कुुुरा सिक्यो कि सिकेन् त्यो महत्वपूर्ण हो । विद्यार्थीमा रचनात्मक क्षमता कति बढ्यो वा विद्यार्थीले के गर्न सक्छ त्यो महत्वपूर्ण हो । यसर्थ विद्यालय शिक्षामा सुधार गर्ने हो विद्यार्थीले पढौं पढौं लाग्ने विद्यालय हुनुपर्छ । विद्यार्थीलाई पढाउने शिक्षकहरु क्षमताबान हुनुपर्छ । अहिले त टोल टोलमा सरकार आएका छन् । सरकारका लागि शिक्षा सरोकारको विषय बन्नुपर्छ । शिक्षालाई सुधार गर्न सकियो भने राजनीति सुधार गर्न सकिन्छ । शिक्षालाई सुधार गर्न सकियो भने अर्थतन्त्र सुधार गर्न सकिन्छ । समाजलाई सुधार गर्न सकिन्छ । यसर्थ शिक्षालाई सुधार गर्नका लागि चालिएका कदमहरु उपयुक्त हुनुपर्छ ।

घोेराहीका विद्यालयमा छड्के अनुगमन

राप्ती पोष्ट

घोराही, साउन । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले आइतबार पनि घोराही उपमहानगरपालिका वडा नं. १० मा रहेको दुई वटा सामुदायिक विद्यालयको अनुगमन तथा छड्के निरीक्षण गरेको छ । घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा संयोजक एवं कार्यवाहक नगरप्रमुख राममणि पाण्डेको नेतृत्वमा पुगेको टोलीले विद्यालयको अनुगमन तथा छड्के निरीक्षण गरेको हो । निरीक्षणका क्रममा विद्यालयमा अधिकांश क्षेत्र सन्तोषजनक रहेको पाइए पनि केही कुराको सुधारका लागि सचेत गराइएको छ ।

अनुगमन टोेलीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था बारे निरिक्षण पनि गरेको थियो । कक्षाकोठा, हाजीरी पुस्तिका, खाजा नास्ता र विद्यालयको भौतिक संरचनाको टोलीले निरीक्षण गरेको शिक्षा महाशाखा अधिकृत नारायण पौडेलले बताउनुभयो । ‘कुन विद्यालयमा के समस्या छ भनेर जानकारी लिइसकेपछि त्यसै अनुसार उपमहानगरपालिकाले सहयोग गर्ने भएकोले यो अनुगमन जरुरी थियो’, उहाँले भन्नुभयो ‘विद्यालयमा नै पुगेर अवस्थाको बारेमा जानकारी लिँदा यथार्थ जानकारी आएको छ ।’

विद्यालयको शैक्षिक सुधारका लागि पछिल्लो समय गरिएको सैद्धान्तिक प्रयासलाई विद्यालयमा लागू भएको छ की छैन भनेर पनि निरिक्षणका क्रममा हेर्ने गरिएको छ । ‘विद्यालयले माग गरेर मात्र नभई कार्यालय आफैले अनुगमन गरेर जानकारी लिन प्रभावकारी हुनेछ’, शाखा अधिकृत पौडेलले भन्नुभयो ।

कक्षा कोठा नपुगेको स्थानमा कक्षा कोठा बनाउन सहयोग गरिने, शौचालय समस्या भएकालाई शौचालय बनाउन सहयोग गरिने, खानेपानीको समस्या भएको विद्यालयमा खानेपानीको लागि सहयोग गरिने, विद्यार्थीहरु धेरै तर शिक्षक कम रहेको स्थानमा शिक्षक दरबन्दी थप गर्न पालिकामा पहल गरिने भएको छ ।

अनुगमनको क्रममा देखिएका कमी–कमजोरीहरु सच्चाउन निर्देशन दिएको शाखा अधिकृत पौडेलले बताउनुभयो । विद्यालयमा अध्यापन गराउँदा शैक्षिक सामग्रीहरु प्रयोग गर्न समेत अनुगमन टोलीले जनाएको छ । शैक्षिक सामग्रीको प्रयोग गरेर अध्यापन गराउँदा शिक्षण सिकाइसमेत प्रभावकारी हुने अनुगमन टोलीको भनाई छ । त्यसैगरेर विद्यार्थीहरुलाई खुवाइने दिवा खाजाको प्रत्येक दिनको तालिका सबैले देखिने गरेर नराखेको भन्दै राख्न समेत निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।

स्वच्छ पिउने पानी, शौचालय व्यवस्थित रहेको थियो भने शिक्षक शिक्षीकाद्वारा पठनपाठन राम्रो तरिकाले भएको निरीक्षणका क्रममा आफुहरूले पाएको टोलीले जनाएको छ । श्री सिद्धरत्ननाथ मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले दक्ष जनशक्ति अभाव विद्यालयलाई खड्किएको र त्यसको पहल गरीदिन अनुगमन टोली समक्ष आग्रह गर्नुभएको थियो । शिशु कक्षामा विद्यार्थी संख्या कम रहेको पाईएकाले यस विषयमा विशेष ध्यान दिन सुझाव दिइएको शिक्षा समिति सदस्य जीवन गौतमले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न अनुगमन निरिक्षण निकै आवश्यक ठानेरै यो अभियान थालेको उहाँले बताउनुभयो । पालिकामा शिक्षक, जनशक्तिको अवस्थाका बारेमा अध्ययन गरिनुका साथै प्रभावकारी योजना कार्यान्वयमा पनि टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । अनुगमन टोलीका सदस्य गौतमले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशन दिदै शिक्षकहरु समयमै कक्षाकोठामा पुग्नुपर्ने बताउनुभयो । प्रत्येक दिन खुवाईने खाजा नास्ता को मेन्यु सबैले देखिने ठाउँमा राख्न र हरेक दिन छुट्टाछुट्टै खाजा खुवाउन निर्देशन दिनुभएको थियो । हरेक दिन विद्यालयमा आउँदा पोशाक अनिवार्य लगाउन शिक्षा शाखाका अधिकृत पौडेलले विद्यालयमा कार्यरत शिक्षकलाई निर्देशन दिँदै कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभयो । विद्यालयमा स्वच्छ पिउने पानी र शौँचालयको समस्या रहेको र सो समस्या समाधान गरीदिन प्रधानाध्यापकले आग्रह गर्नुभएको थियो ।

दाङ जिल्लामा सामुदायिक विद्यालयमा पढाउने दरबन्दीका शिक्षकको संख्या मात्रै दुई हजार पाँच सय १० छ । पालिकामार्फत शिक्षण अनुदान कोटामा र विद्यालयले निजी स्रोतबाट राखेका शिक्षकसमेत हेर्दा शिक्षक पर्याप्त भएको पालिकाको ठहर छ । शिक्षक पर्याप्त हुँदाहुँदै विद्यार्थी अभावमा दाङमा सातवटा विद्यालय मर्ज गरिएको छ भने कक्षामा एकजना पनि विद्यार्थी नभएर १७ वटा विद्यालयमा कक्षा नै स्थगन गरिएको छ । नेपाल सरकारले सामुदायिक विद्यालयमा तालिमप्राप्त दरबन्दी शिक्षकसँगै बजेट समेत दिने गरेको छ । ‘यो अवस्थामा कसरी पढाउने गरिएको छ, पढाईको विधि के अपनाइएको छ, वास्तवमा शिक्षक विद्यार्थी प्रति जवाफदेही छन् छैनन् भन्ने कुरा पनि हामीले हेर्ने गरेका छौँ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी महाशाखाले घोराही उपमहानगरपालिका वडा नं– १० लमडरुवाकै श्री जनजागृति माविको पनि अनुगमन तथा छड्के निरीक्षण गरिएको छ । टोलीले विद्यालयमा कक्षा निरीक्षण, हाजीरी, खाजा नास्ता, विद्यालयमा लगाईने पोशाक र विद्यालयको भौतिक संरचनाको निरीक्षण गरेको थियो । ‘केही अंग्रेजी माध्यम शुरु गरेका विद्यालयले अभिभावकलाई फोन गरेको पाइएको छ, त्यो अभिभावकले चासो दिएर पनि होला’– उहाँले भन्नुभयो ‘अभिभावकले आफ्ना बालबालिकाका विषयमा चासो दिन जरुरी छ । यो विद्यालयमा पठनपाठनको अवस्था सन्तोष गर्न लायक छ, हामी आउँदा सरहरु सबै कक्षाकोठामा पाएका छौँ, यो सकारात्मक पक्ष हो, तर कक्षाकोठामा पढाउँदा शैक्षिक सामग्रीको प्रयोग कम भएको पायौँ, यसमा सुधार ल्याउन आग्रह छ, ।

सो विद्यालयका विव्यस अध्यक्ष बलबहादुर पुनले भौतिक सुधारका लागि केही प्रयास सफल भएपनि हाल विद्यार्थी अनुपातमा सौँचालय अभाव रहेकाले समस्या समाधान ध्यान दिन अनुगमन टोलीलाई आग्रह गर्नुभयो ।
शिक्षा महाशाखाका अधिकृत पौडेलका अनुसार घोराही क्षेत्रमा २५ प्रतिशत विद्यार्थी अहिले पनि भर्ना भएर विद्यालय नजाने गरेको अवस्था छ । ‘७५ प्रतिशत नियमित छन्, २५ प्रतिशत विद्यालय नआउने विद्यार्थीको कारण खोजेर विद्यालय ल्याउन जरुरी छ’ उहाँले भन्नुभयो ।

शिक्षा महाशाखाको अनुगमनका क्रममा सामुदायिक विद्यालयमा भर्ना भन्दा कक्षा कोठामा उपस्थित विद्यार्थी संख्या कम, अधिकांश विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था नभएको, चर्पीको समस्या, विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग अत्यन्त न्यून भएको, पाठ्यक्रमले तोके बमोजिम टाइमटेबल नबनाएको र एक घण्टा तोकिए पनि ४५ मिनेट पढाइएको, केही विद्यालयमा स्थायी पधानाध्यापक छनोट नभएको, केहीमा विद्यार्थीले खाजा खान नपाएको लगायत समस्या देखिएको बताउनुभयो ।

शिक्षा महाशाखाले अहिलेसम्म २४ दर्जन विद्यालयको अवस्थाको अनुगमन गरेर जानकारी लिइसकेको जनाएको छ । विद्यालयको शैक्षिक सुधारसँगै भौतिक अवस्थामा सुधार ल्याउन यो प्रयास गरिएको बताइएको छ । आईतबारको अनुगमनमा घोराही १० का वडा अध्यक्ष दीपक पाण्डे, शिक्षा महाशाखाका अधिकृत घनश्याम वली, पत्रकारलगायतको सहभागीता रहेको थियो ।

प्याव्सनको प्रतियोगितामा गोरखा प्रथम

राप्ती पोष्ट

घोराही, साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङको आयोजनामा आधारभूत तह स्तरीय हाजिरीजवाफ शनिबार घोराहीमा सम्पन्न भयो ।
कार्यक्रममा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, राप्ती साउर्थन एकेडेमीका विद्यार्थी द्वितीय र मुनलाइट माविका विद्यार्थी तृतीय भएका हुन् । प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार केशब थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । बरिस्ठ उपाध्यक्ष विजय जिएमको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सह सचिव विकास रजौरेले गर्नुभएको थियो । क्विज सञ्चालन नवराज खत्रीले गर्नुभएको थियो ।

लोकनृत्यको छनौट सम्पन्न

यसैबीच निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा हुन थालेको राष्ट्रिय लोक नृत्य प्रतियोगिताका लागि प्याब्सन दाङले जिल्ला स्तरीय छनौट प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार घोराहीमा आयोजित एक कार्यक्रमका बीच लोक नृत्य छनौट सम्पन्न गरेको हो ।

छनौट चरणमा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, ज्योतिष्मति विद्यापीठका विद्यार्थी द्वितीय र गोरखा मावि तुलसीपुरका विद्यार्थी तृतीय भएका थिए । कार्यक्रममा स्पेसल जुरी डा. गोविन्द आचार्य, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बुढा, प्याब्सन दाङका बरिष्ठ सल्लाहकार शरदकुमार शर्मा, लम्बोदर लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रस्तुत नृत्यको निर्णायक मण्डलमा स्पेसल जुरी डा.गोविन्द आचार्य, संयोजक राजेन्द्रकुमार श्रेष्ठ तथा सदस्यहरू धिरज देव र चाहाना झाँक्री हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन सचिव आदिम केसीले गर्नुभएको थियो ।

नेसंविको अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन शिलान्यास

राप्ती पोष्ट

दाङ, साउन– नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) को अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको संयुक्त भवनको शनिबार एक समारोहका बीच शिलान्यास गरिएको छ । नेसंवि सेवा आयोगका अध्यक्ष प्रा. श्रीधर मजगैँयाले वैदिक विधिपूर्वक भवनको शिलान्यास गर्नुभयो ।

भवन शिलान्यासका क्रममा प्रा. मजगैँयाले अनुसन्धान केन्द्र र सांस्कृतिक अध्ययन केन्द्रको भवन निर्माणसँगै विश्वविद्यालयमा अध्ययन अनुसन्धानका कार्यले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । यसबाट दाङको प्रतिष्ठासमेत वृद्धि हुने धारणा उहाँले व्यक्त गर्नुभयो । शिलान्यास समारोहमा नेसंविका शिक्षाध्यक्ष एवम् अनुसन्धान परिषद्का अध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारी, सेवा आयोगका सदस्य प्रा. मुरलीमोहन बास्तोला, नेसंविका पूर्वशिक्षाध्यक्ष एवम् अनुसन्धान परिषद् सदस्य प्रा.डा. भागवतप्रसाद शर्मा, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेल, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहित विश्वविद्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

२२ मिटर लम्बाइ, १२ मिटर चौडाइ र ९.३७ मिटर उचाइको उक्त भवन साढे दुई तल्लाको हुने छ । विश्वविद्यालयको पूर्वी प्रवेशद्वारदेखि केही दक्षिणतिर रत्न केन्द्रीय पुस्तकालय जाने बाटोमा सेवा आयोगको भवनसँगै भवन निर्माण हुन लागेको छ । भवन कूल २१७.४५ वर्गमिटर क्षेत्रफलमा निर्माण हुन लागेको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेलले जानकारी दिनुभयो । भवनको कूल लागत भ्याटसहित २ करोड ८ लाख अनुमान गरिएकोमा ठेकेदार कम्पनीले १ करोड ७८ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको उहाँले बताउनुभयो । भवनको निर्माणको जिम्मा तुलसीपुरस्थित निर्माण कम्पनी प्रेमधन निर्माण सेवाले लिएको छ ।

भवन पूर्णतः भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरी निर्माण गरिने भवनको डिजाइन र अनुगमन निरीक्षणसमेतका लागि छानिएका मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी घोराहीका इन्जिनियर देवेन्द्र खतिवडाले बताउनुभयो । भवनलाई आकर्षक बनाउनका लागि यसको बाहिरी भागमा चाइनिज इँटाको प्रयोग गरिने छ । भवनका पहिलो र दोस्रो तलामा अनुसन्धान केन्द्र र राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यालयहरू रहने छन् ।

कार्यालयमा प्रतीक्षा कक्षसहितको कार्यकारी निर्देशकको कक्ष एउटा, कर्मचारीका लागि कक्ष तीनवटा, भान्साकोठा एउटा, स्टोर कक्ष एउटा, पुस्तकालय एउटा र बाहिरी प्रतीक्षाकक्षका लागि थोरै खाली ठाउँ रहने छ । हरेक तल्लामा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयसमेत हुनेछ । भवनको सबैभन्दा माथिल्लो तलामा प्रतीक्षालय र एउटा मझौला आकारको बैठक कक्षका साथै शौचालय रहने अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो ।