जेजिसद्वारा उत्कृष्ठ युवालाई सम्मान
राप्ती पोष्ट
घोराही, साउन । जिल्लामा रहेका युवाहरुको उत्कृष्ट कार्य पहिचान गरी उनीहरुको योगदानको कदर गर्दै हौसला र उत्प्रेरणा प्रदान गर्न त्रिभुवननगर जेसीजद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा दाङ पुरस्कार’ यो वर्ष पनि प्रदान गरिएको छ ।
सन् २०१३ बाट उत्कृष्ट युवा पुरस्कारको शुरुवात भएको हो । बर्ष २०१४ बाट त्रिभुवननगर जेसीजका संस्थापक सदस्य, यस क्षेत्रकै सामाजिक, राजनीतिक अगुवा स्व. यज्ञबहादुर बुढाथोकीको स्मृति स्वरुप यो पुरस्कार दिन थालिएको हो । यो पुरस्कार वुवाको स्मृतिमा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष मनोज बुढाथोकीले स्थापना गर्नुभएको हो । उत्कृष्ट युवाको मनोनयनका लागि त्रिभुवननगर जेसीजले दाङका शैक्षिक, सामाजिक, संघसंस्थाहरुमा योग्य व्यक्तिको सिफारिसका लागि अनुरोध गर्नुका साथै पत्रपत्रिकाहरुबाट पनि सुझाव तथा प्रस्तावका लागि सार्वजनिक आग्रह गरेको थियो । यस बर्ष तेक्वान्दो खेलाडी सुनिता विष्टलाई प्रदान गरिएको छ ।
२०५४ सालको असार ३० जन्मिएकी बिष्ट जन्म रोल्पामा भएको थियो । जनजागृति मा.वि.बाट एस.एल.सी. परीक्षा उत्तीर्ण गरेर घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना मा.वि.बाट व्यवस्थापन संकायमा +२ गर्नुभयो । उहाँ हाल महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा व्यस्थापन संकायमा नै व्याचलर अध्ययनरत हुनुहुन्छ । नारायपुरको डोजाङबाट शुरुभएको खेल यात्राबाट आर्जेको शिप, कला र क्षमता आफूसँग मात्र सीमित राख्नुभएको छैन अल्फा तेक्वान्डो डोजाङ स्थापना गरी युवाहरुलाई खेलप्रेममा आकर्षित गरिरहेनुभएकमो छ । उहाँले दाङकै राजविद्या पाठशाला, सभ्यता पाठशाला लगायत विभिन्न विद्यालयहरुमा पनि खेल शिक्षकका रुपमा स–साना नानी–बाबुहरुमा समेत तेक्वान्दो सिकाइरहनुभएको छ ।
उहाँले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७६ मा स्वर्ण पदक, दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८ मा कास्य पदक, दोस्रो एभरेष्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२ मा स्वर्ण पदक, नवौ कोरियन तेक्वान्दो राष्ट्रिय प्रतियोगिता–२०१९ मा स्वर्ण पदक, तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१९ मा स्वर्ण पदक, तेस्रो राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता – २०७७ मा कास्य पदक, इन्डो नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०२२ मा स्वर्ण पदक, मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०२२ मा रजत पदक, प्रथम जावलाखेल राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०१९ मा स्वर्ण पदक र कलकता अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०१९ मा स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।
जन्मथलो रोल्पाको गुम्चाल गाउँमा भएपनि हिजो आज घोराही–१७ दाङमा कर्मथलो बनाउनुभएकी विष्टका पिता जगे विष्ट र माता ज्ञानु विष्ट हुनुहुन्छ । त्रिभुवन नगर जेजिसका अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश राज्यमन्त्री अर्जुन श्रेष्ठले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
आमा बावु गुमाएका बालबालिकाले पाए नयाँ जीवन
छबि पुरी/राप्ती पोष्ट
घोराही, साउन । आमाबुवा गुमाएर बेसाहारा बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका चार जना बालबालिकाको उद्धार गरिएको छ । सुर्खेतस्थित बाल ग्राम एसओएससँगको समन्वयमा सोमबार बालबालिकालाई त्यहीँ बस्ने खाने र शिक्षादिक्षा निःशुल्क रुपमा व्यवस्था हुने गरी पठाईएको हो ।
गाउँ नजिकैको कोइलाखानीमा काम गर्दै गर्दा २०७७ फागुुन १० गते बुवा मोहनलाल कामीको निधन भएको थियो । बावुको निधनपछि दुई महिने नानी सहित चार भाइवैना आमाको सहारामा बस्दै आएका थिए । तर गएको मंसीरमा आमाको पनि निधन भएपछि उनिहरु बेसाहारा बनेका थिए । २०७८ मंसीर २८ गते आमा शान्ति कामीको निधनपछि काकी चन्द्रकला कामीले स्याहार गर्दै आएकोमा पछि उनीहरुको परिवारमा श्रीमान श्रीमती बीच नै स्याहार गरेको विषयमा विवाद भएको थियो । बालवालिकाको समस्या देखेर स्थानीय अमृता घर्तीले चारै जनालाई आफुसँग राखेर पालनपोषण गर्दै आउनुभएको थियो । तर, दीर्घकालीन व्यवस्थापन गर्न समस्या भएपछि अन्ततः सोमबार उनीहरुलाई एसओएस बाल ग्राम सुर्खेत पठाइएको छ । कोइलाखानीमा काम गर्ने मजदुर पुरिएपछिको घटनाक्रमलाई नजिकबाटै नियाल्नुभएका नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले पहिले बावुको निधनपछि आमाको स्याहार सुसारमा रहेका र पछि आमाको निधनपछि पनि सहाराका लागि पहल गरिरहनुभएको थियो । सुर्खेत पुराउने काममा सहयोगी बनेर भूमिका खेल्नुभएका महासंघका अध्यक्ष केसीले उनिहरुले नयाँ जीवन पाएको बताउनुभयो ।
आमा शान्ति कामीको निधनपछि अनाथ बनेका बालबालिकाहरुको पालनपोषणका लागि विभिन्न व्यक्ति, संघसंस्थाले चासो लिएपनि दीगो नहुने देखेपछि सुर्खेत पठाइएको अध्यक्ष केसीले बताउनुभयो । सोमबार १४ वर्षीय दीपक कामी, उहाँकी बहिनी १२ वर्षीया सर्मिला विश्वकर्मा, भाई ७ वर्षीय अशोक कामी र डेढ वर्षकी सोनिया कामीलाई सुर्खेतमा रहेको बालग्राममा पठाइएको छ । सोमबार पछिल्लो समय रेखदेख गर्दै आउनुभएकी अमृता घर्ती, उहाँका श्रीमान र फुपाजुसँग सुर्खेत पठाइएको अध्यक्ष केसीले बताउनुभयो । घोराहीबाट सुर्खेत जानका लागि प्रवन्ध भने पद्मोदय पव्लिक नमूना माविमा २०५५ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले गरेका थिए । घोराहीबाट गाडी खोजेर गाडी भाडा समेत तिरिदिएर बाटो खर्च सहित पठाएको एसएलसी–२०५५ व्याचका अध्यक्ष जीवन अधिकारीले बताउनुभयो । आफूहरुले अरुले गरिरहेको सहयोगमा थोरै सहयोग मिसाएको अधिकारीको भनाई थियो ।
अब उनीहरु त्यहीँ बसेर निशुल्क रुपमा शिक्षादिक्षा लिनेछन् । उनीहरुलाई सुर्खेतसम्म पु¥याउन पद्मोदय मावि घोराहीमा २०५५ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले २० हजार रुपैया जुटाइदिएको थियो । ‘धर्म कमाउन मन्दिर होईन, कुनै दीनदुःखीको सेवा गरेपुग्छ भनेर हामीले यो अभियानमा साथ दिएका हौँ,’ अधिकारीले भन्नुभयो, ‘राम्रो काम हुन लागेको जानकारी पाएपछि सबै साथी मिलेर कम्तिमा बालबालिकाहरुलाई सुर्खेतसम्म पुर्याउन यातायात खर्च र खाने खर्च सहयोग गरौँ भन्ने लाग्यो र अघि सरेका हौँ ।’
यस्तै, सो समुहका सचिव बसन्त खनालले समाजमा हुने हरेक खालका दुःख पीडाका कुरामा केही गर्नुपर्छ भनेर आफुहरु संगठित भएको भन्दै बालबालिकाहरुको उद्दारका लागि सहयोग गरिएको बताउनुभयो । बालबालिकाको दुख देखेर स्याहार सुसार गर्दै आउनुभएकी अमृताले आवश्यक कागजी प्रकृयामा पनि सघाउनु भएको थियो । उनीहरुको दुख देखेर उज्ज्वल भविष्यका लागि निस्वार्थ सहयोग गरेको उहाँले बताउनुभयो । एसओएस संस्थाले अभिभावकत्व लिएपछि उहाँलाई पनि खुशी लागेको छ । ‘मैले जसो तसो स्याहार गर्दै आएको थिएँ, आफ्ना छोराछोरी जस्तै माया गरेको थिएँ, अब संस्थाको जिम्मा लगाउन लागेको छु, एकातिर खुशी छु अर्कातिर कोख खाली बनाएर अरुलाई सुम्पेको जस्तो लागेको छ,’ उहाँले भन्नुभयो, ‘अब यी बालबच्चाको भविष्य राम्रो हुन्छ भन्ने विश्वास छ ।’
आफुले अनाथ बालबच्चा स्याहारेको भन्दै समाजले अनेकन आरोप र लान्छना लगाएको उहाँले बताउनुभयो । तर, पनि अबोध बालबालिकाहरुको स्याहार गर्नु धर्म कमाउनु हो भन्ठानेर निस्वार्थ भावले स्याहार गर्दै आएको उहाँले बताउनुभयो । ‘म गाउँले छिमेकी हुँ, उनीहरुको पीडा देखर मनले मानेन, श्रीमानसँग यो विषयमा पनि विवाद भयो तर कसैको सुनेन, स्याहार सुसार गरिरहेँ,’ खुशीका आँशु निकाल्दै अमृताले भन्नुभयो, ‘मेरो बालबच्चा छैनन् त्यसैले पनि मेरो कोख भरिएको जस्तो लागेको थियो । मलाई समाजको पर्वाह भएन, सेवा गर्नु मेरो धर्म हो ।’ ती बालबालिकाहरु सँगै उहाँ पनि सुर्खेत जानुभएको छ । ‘त्यहाँ गएर बस्ने, खाने, पढ्ने बारेमा बुझ्छु, उहाँले भन्नुभयो, ‘अब त मैले नै जन्माएका सन्तान जस्तै लाग्छ, उनीहरुलाई छाडेर कसरी फर्कने होला भन्ने लागेको छ, तैपनि उनीहरुको भविष्यका लागि अघि बढ्नै पर्छ ।’
यस्तै, अनाथ बनेका दीपकले पनि आफुहरुको भविष्यको लागि पहल गरेर राम्रो ठाउँमा पुर्याएको भन्दै हर्षित भएको बताउनुभयो । आमाबुवाको निधन पछि दीपकको काँधमा धेरै जिम्मेवारी थपिएको छ । उहाँ केही समयअघि कामको सिलसिलामा अर्घाखाँची पुग्नुभएको थियो । निर्माणको काममा त्यहाँ पुगेको बेला सुर्खेत लैजान भन्दै फर्काईएको थियो । भविष्यको बारेमा केही सोँच्न नसकेको बेला यसरी आफुहरुको उद्धार गरी राम्रो ठाउँमा पठाउन लागेको भन्दै सबैको आशा मर्न नदिने बताउनुभयो । ‘म मेरो भाइबहिनीहरुको भविष्यका लागि त्यहाँ बसेर धेरै मेहनत गर्नेछु, इमान्दार भएर आफुलाई स्थापित गर्न कोशिस गर्नेछौँ,’ दीपकले भन्नुभयो, ‘यो हाम्रा लागि सायद जीवनको सबैभन्दा ठूलो अवसर हो ।’
बुवाको कोइलाखानीमा पुरिएर मृत्यभएपछि पाएको क्षतिपूर्ति र राहत रकम पनि स्थानीय गाउँले केहीले लगेर फिर्ता गरेका छैनन् । कसले कति रकम लगेको छ भन्ने बारेमा आफुहरुलाई कुनै जानकारी नभएकाले पैसा माग्न पनि समस्या भएको बालिका सर्मिलाले बताउनुभयो । यस्तै, बालबालिकाहरु अनाथ बनेपछि औपचारिक रुपमा स्थानीय सरकारले सार्थक पहल नगरेको पाइएको छ । अभिभावक विहीन बनेका बालबालिकाहरुको स्याहार सुसार, शिक्षादिक्षामा स्थानीय सरकारले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको स्पष्ट देखिएको छ । स्थानीय सरकार नागरिककको सबैभन्दा नजिकको सरकार भएपनि उनीहरुको विपत्तिमा मलम लगाउन कुनै पहल नगर्दा आजसम्म अनेकन दुख झेल्न बाध्य भएको बालिका सर्मिलाले बताउनुभयो ।
उहाँका अनुसार, कुनै बेला दुखसुख जे जस्तो भएपनि आमाबुवाको काखमा रमाएको परिवार अहिले कहाँबाट कहाँ पुगेको भन्दै विगत सम्झिँदै भक्कानिनुभयो । ‘घरमा पाखो बारी जोत्न एक हल गोरु थिए, केही बाख्रा थिए, तर के गर्नु ? भगवानले पनि हामीलाई ठगे, कसरी पीडा पोखुँ’ उहाँले भन्नुभयो, ‘घरमा ताला लागेको छ, घरको माया अनि आमाबुवाको सम्झना लिएर अब अघि बढ्ने प्रयास गर्दैछौँ, यो हामीहरुका लागि निकै ठूलो अवसर हो । सहयोग गर्ने सबै प्रति आभारी छौँ ।’
यस्तै, हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) का सचिव शरद अधिकारीले लिनेभन्दा दिने व्यक्ति जहिले पनि महान् हुने भन्दै पीडामा परेका बालबालिकाहरुको उद्धार गरी सुदूर उज्ज्वल भविष्यका लागि सुर्खेतको एसओएस पठाउन थालिएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले गर्ने काम भएपनि यो काममा चासो भएपछि व्यक्तिगत रुपमा थालिएको यस प्रकारको पुन्य कामले अनाथ बालबालिकाको भविष्य बन्ने भन्दै सत्कर्म गर्ने प्रति आभार प्रकट गर्नुभयो । उहाँले घोराही उपमहानगरपालिका बालमैत्री पालिका घोषणा भईसकेकाले बालमैत्री पालिकाको मूलमर्मलाई सार्थक बनाउन पनि सबै क्षेत्रबाट सहयोग र पहल हुन आवश्यक रहेको बताउनुभयो ।

उता, एसओएस बालग्रामका सहायक निर्देशक श्याम क्षेत्रीले घोराही तिर्साङका बालबालिकाहरुको अवस्था अत्यन्तै पीडादायी भएकाले विशेष रुपमा राख्न थालिएको बताउनुभयो । उहाँले कोटा नभएपनि उनीहरुको भयावह स्थितिलाई मध्यनजर गर्दै यहीँ सबै सुविधा दिनेगरी पारिवारिक वातावरणमा राख्न लागिएको बताउनुभयो । ‘मैले त्यहाँ गएर दुई पटक हेरेँ, अवस्था निकै नाजुक रहेछ, तुरुन्तै पठाउनुस् भनेको थिएँ, तर कागजी प्रकृयामा ढिला भयो,’ उहाँले भन्नुभयो, ‘अब उनीहरु आफ्नो खुट्टामा नउभिने हुँदासम्म सबै जिम्मा हाम्रो हुन्छ ।’ उहाँका अनुसार एसईई नदिदासम्म एसओएस सुर्खेतमा राखिन्छ भने एसईईपछि युवालय नेपालगंजमा स्थानान्तरण गर्दै उनीहरुले रोजेको जुनसुकै विषय पढ्ने गरी पूर्ण पारिवारिक वातावरणको होस्टेलमा राखेर स्याहार गरिन्छ । सहायक निर्देशक क्षेत्रीका अनुसार, एसओएस सुर्खेतमा देशभरबाट एक सय २६ जना बालबालिकामा बस्दै आएका छन् ।
मेघा बैंकका कर्मचारीद्वारा अपाङ्गसंघलाई फ्रिज हस्तान्तरण
राप्ती पोष्ट
घोराही, साउन । मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेश अन्तरगत दाङ शाखाले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङ शाखालाई शनिबार एउटा फ्रीज हस्तान्तरण गरेको छ । मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो आम्दानीबाट संकलन गरेको रकम सामाजिक सेवामा लगाउने सोचका साथ अपाङ्ग संघलाई फ्रिज हस्तान्तरण गरिएको हो ।
स्वेच्छिक रुपमा संकलन गरेर जम्मा भएको रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अपाङ्गता भएकाहरुका लागि पुनःस्थापना कार्यक्रम संचालन गरिरहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नबजीवन केन्द्र लाई फ्रीज हस्तान्तरण गरेको हो । बैंकले सहयोग स्वरुप प्रदान गरिएको फ्रीजले त्यहा रहेका खाने कुरा तथा औषधि अन्य चिज हरु सुरक्षित रहनलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।
मेघा बैंक घोराही शाखाका प्रबन्धक बिबेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा घोराही शाखा प्रवन्धक आचार्य, लमही शाखा प्रवन्धक छविलाल भण्डारी र तुलसीपुर शाखा प्रवन्धक राजन भण्डारीले खगेन्द्र नबजिवन केन्द्र दाङका अध्यक्ष शरद अधिकारी, उपाध्यक्ष रुपा वली लगायतलाई एक सय ९२ लिटरको फ्रिज हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड लमही शाखाका प्रमुख छबिलाल भन्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै शाखा अध्यक्ष अधिकारीले अपाङ्गता भएकाहरुका लागि बैंकले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सवैको सहयोग भएमा अपाङ्ग पुनःस्थापना केन्द्र संचालन गर्न कुनै गाह्रो नपर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा घोराही, लमही र तुलसीपुरका प्रवन्धक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लमही शाखाका मनिश सेढाईले गर्नु भएको थियो । बैंकले समय समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको र आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएको छ ।
बैंकले लुम्बिनी प्रदेशका विभिन्न ६ स्थानमा यसै महिना यस्तै सामाजिक कार्यहरु सम्पन्न गर्न गइरहेको मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडेलले बताउनुभयो ।
पाँच हजार मासिक दिने घोषणा
यसैबीच घोराही मेघा बैंक घोराहीमा कार्यरत पुष्प वलीले नेपाल अपाङ्ग संघलाई पुनःस्थापना केन्द्र संचालनका लागि मासिक रुपमा पाँच हजार रुपैया दिने घोषणा गर्नुभयो । उहाँले आफू कार्यरत रहँदासम्म मासिक रुपमा अपाङ्ग संघको खातामा रकम जम्मा गरिदिने घोषणा गर्नुभएको थियो । शाखा अध्यक्ष अधिकारीले वलीलाई धन्यवाद दिनुभएको थियो ।
इमान्दारिता लुप्त
सम्पादकिय
धेरै बर्ष नेपालमा एउटा उखान थियो । ‘न्याय हराए गोर्खा जानु ।’ कोही अन्यायमा परेर गोर्खा पुग्यो भने उसले न्याय पाउँछ भनेर यस्तो भनिएको थियो होला । गोर्खामा के छ थाहा छैन नेपालमा यतिवेला न्याय लुप्त भएको छ । जसले बढी अन्याय गर्दछ । जसले बढी झेल गर्दछ । जसले बढी तिकडम गर्दछ । जसले छलछाम गर्दछ । जसले अरुलाई अफ्ठेरोमा पार्दछ । जसले राज्यलाई ठग्दछ । जसले बढी झुठ बोल्दछ उसको मात्रै जित हुन्छ । जसले इमान्दारितालाई बन्धक बनाउँछ उसैको जय हुन्छ । जसले राज्यशक्तिको दोहन गर्न सक्छ । जसले शक्तिलाई आफ्नो मुट्ठीमा पार्न सक्छ उसैको भलो हुन्छ । सानालाई जहिले पनि ऐन हुन्छ । कानुन सानालाई लाग्छ । जो सोझो हुन्छ उसैलाई छानी छानी प्रहार गरिन्छ । छलछाम गर्नेहरु दोहोरिन्छन । तिकडम गर्नेहरु फेरि उहि पदमा पुग्छन् । धम्काउछन । थर्काउछन । अनेकन तरिकाहरु अपनाउछन् । अहिलेसम्मको अवस्था हेर्दा हाम्रो नेपालमा जसको कोही हुँदैन उसले न्याउ पाउँदैन । उसको कुराको सुनुवाई हुँदैन । उ पदमा पुग्न सक्दैन । उ जहिले पनि पछि पर्दछ ।
केही दिन अघि अर्थात गएको असारमा अर्थमन्त्रालयमा एउटा घटना भयो । इतिहासमा यस्तो हुँदैन । कुनै व्यक्ति वा कुनै व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट बनाइदैन । बजेट बनाउँदा करका दरहरु हेर फेर गरिन्छ । त्यो कुरा बाहिरको व्यक्तिलाई थाहा हुँदैन । कसैले बजेटका बारेमा बाहिरको मानिसलाई थाहा दियो भने त्यो राज्य विरुद्धको अपराध हो । राज्यका विरुद्धमा बन्दुक बोकेर गरिएको विद्रोह भन्दा यो खतरनाक हो । बन्दुक बोकेर विद्रोह गर्दा त्यो गरीवका लागि ठानिन्थ्यो । अधिकार नपाएकाहरुका लागि भन्ने मानिन्थ्यो । तर बजेटलाई आफ्नो बसमा पार्ने गरी गरिने चलखेलले कुनै गरीवलाई फाइदा गर्दैन । साना लगानीका व्यवसायीलाई फाइदा गर्दैन । जोसंग बढी लगानी छ । जसले राज्यलाई नै संकटमा पार्न सक्छ । जसले कृतिम अभाव सिर्जना गर्न सक्दछ त्यस्तोलाई फाइदा हुन्छ । यतिवेला यहि भइरहेको छ । राज्यलाई घाटा लगाउनेगरी काम भएको छ । यतिवेला नेपाल श्रीलङ्का हुने हो कि भन्ने चर्चा चलिरहेको छ । बजेट विरुद्धमा गरिएका यस्ता कृयाकलापले नै नेपाललाई श्रीलङ्का बनाउने हो । श्रीलङ्का बनाउनका लागि यहाँ अरु कोही आउनु पर्दैन ।
पद त्याग गर्दा इमान्दारिता झल्किएको चर्चा त खुवै चलेको थियो । पद त्याग इमान्दिरता होइन यो सुनपानी छर्कनका लागि गरेको असफल प्रयास हो । नागरिकको नजरमा फ्ल्प भएको फिल्मलाई उत्कृष्ठ भनेको जस्तो भयो । आम नागरिकलाई थाहा भइसक्यो कि बजेट निर्माणका लागि अर्थमन्त्रीले बाहिरका मानिसको प्रभावमा पर्नुभएको हो । उहाँमात्रै पर्नु भएन उहाँलाई जसले त्यो पदमा पु¥याए उनिहरुले नै गरेका हुन । जसले नियुक्त गरेको थियो उसैले तत्कालका लागि आलोचनाबाट बच्नका लागि राजीनामा दिन भन्यो । अहिले फेरि त्यहि स्थानमा लग्यो । पुरानो एउटा घटना छ । ज्ञानेन्द्र राजा हुँदा आफ्नो छोरालाई युवराज घोषणा गर्नका लागि दशैंको समय रोजेका थिए । विरोध थेग्न गाह्रो हुनेभएपछि यस्ता खालका कृयाकलाप गरिन्छ । नेपालमा अर्थमन्त्रीलाई चोख्याउनका लागि ठूलै शक्ति लागेको बुझ्न गाह्रो छैन । यतिवेला इमान्दारिता भन्ने लुप्त भएको छ । लाज पनि लजाएको छ । लोकतन्त्रमा जसले जे सक्छ त्यहि गरेहुन्छ भन्ने प्रमाणित गर्न खोजिएको छ । इमान्दारिता यसरी कतिदिन लुप्त होला र ? कुनै दिन जनता हाँस्ने दिन आउला । कुनै दिन त नेपाल बन्ने दिन आउला । कुनै दिन राम्राको कदर होला । कुनै दिन क्षमताको कदर होला । असक्षमहरु पाखा लाग्लान । यो दिन पक्कै पनि टाढा छैन ।
राप्ती इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुलाई विशेष छुट
छवि पुरी /राप्ती पोष्ट
घोराही, साउन । विगत १४ वर्षदेखि दाङमा सिटिईभिटी अन्तरगत प्राविधिक विषय र पोखरा विश्वविद्यालय अन्तरगत बिई सिभिल ईन्जिनियरिङ लगायत विषयमा अध्यापन गराउँदै आएको घोराही १६ स्थित राप्ती इन्जिनियरिङ कलेजले विद्यार्थीहरुका लागि विशेष छुट सहित शैक्षिक कार्यक्रम घोषणा गरेको छ ।
सुचना प्रविधिमा आधारित गुणस्तरीय शिक्षालाई मुख्य नारा तय गरेको कलेजले हालै एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सिटिईभिटी अन्तर्गत १५ औ ब्याचका रुपमा नयाँ भर्ना हुने विद्यार्थीहरुका लागि छुटसहितको शैक्षिक कार्यक्रम ल्याईएको कलेजका प्रवन्ध निर्देशक भीमसेन गिरीले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो ।
उहाँका अनुसार, डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ ३ वर्षे, प्रि डिप्लोमा ईन सिभिल इन्जिनियरिङ, प्रि डिप्लोमा ईन ईलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा ईन सर्भे इन्जिनियरिङ अमिन १८ महिने शैक्षिक कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुका लागि वडाको समन्वय र सिफारिसमा १० प्रतिशत छुट तथा लायन्स क्लवमा आवद्ध सदस्यका छोराछोरीलाई लाग्ने शुल्कको कुल रकममा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै, उहाँले वडासँगको समन्वयमा गरिने छात्रवृत्तिको कार्यक्रम घोराही १६ बाट शुरु भईसकेको जानकारी गराउनुभयो ।
‘हामीले प्राविधिक शिक्षालाई विशेष महत्व दिँदै लक्ष्य जनशक्ति उत्पादनमा ध्यान दिएका छौँ, प्राविधिक शिक्षा व्यावसायिक शिक्षा भएकाले यसमा सबै विद्यार्थीको पहुँच हुनुपर्छ भनेर कलेजबाटै छात्रवृत्तिको व्यवस्था गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘स्थानीय वडाहरुसँगको समन्वयमा यो अभियान अघि बढाएकाले विद्यार्थीहरुले शैक्षिक कार्यक्रको लाभ लिन सजिलो हुनेछ ।’
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल लक्ष्यका साथ राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको कार्यलाई टेवा पुयाउने उद्देश्यले २०६४ सालमा कलेजको स्थापना गरिएकोमा हालसम्म ६ सय ८८ विद्यार्थीले कलेजबाट अध्ययन पूरा गरी विभिन्न सरकारी, गैर सरकारी संघसंस्था, स्कुल कलेज तथा विदेशमा रोजगारीमा आवद्ध भएका उहाँको भनाई छ । जसमा २ सय भन्दा बढी नेपाल सरकारका विभिन्न तहमा लोक सेवा पास गरि रोजगार बनेका कलेजले जनाएको छ । पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल रेशम गिरीले कलेजले हालसम्म प्रदान गर्दै आएको शैक्षिक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने योजना तय भएको बताउनुभयो ।
उहाँले राप्ती इन्जिनियरिङ कलेजलाई एउटा मोडल कलेजको रुपमा स्थापना गर्ने लक्ष्य राखिएको बताउनुभयो । ‘कलेजले शिक्षामात्रै प्रदान गरेको छैन, देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गरेर दिने काम गरेको छ,’ प्रिन्सिपल गिरीले भन्नुभयो, ‘अहिले यहाँबाट उत्पादन भएका विद्यार्थीहरु विभिन्न तह र ओहदामा पुगेर काम गरिरहेका छन् । हामीले सीपसहितको जनशक्ति उत्पादन गरेर दिने गरेका छौँ, मोडल कलेजका रुपमा अघि बढ्ने लक्ष्य राखेका छौँ ।’
कलेज स्थापना पश्चात २०६५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी० सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ ३ वर्ष कार्यक्रम र २०६६ मा पोखरा विश्वविद्यालयबाट ४ वर्षे बिसिए कार्यक्रम सञ्चालन हुँदै आएको छ । २०६८ सालमा पोखरा विश्वविद्यालयबाट थप कार्यक्रमको सम्बन्धन प्राप्त गरी ४ वर्षे बिई सिभिललगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको कलेजको भनाई छ ।
यस्तै, २०७१ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त गरी १८ महिने सिटीईभीटी अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गरिएको जनाएको छ । सम्बन्धनका लागि पोखरा विश्वविद्यालयमा प्रस्ताव पेश गरी सम्भाव्यता अध्ययन समेत सम्पन्न भएको छ । त्यसैगरी डिप्लोमा तहका सिभिल, इलेक्ट्रिकल, आर्किटेक्चर, फरेष्टी, एग्रीकल्चर र मेकानिकल इञ्जिनियरिङ कार्यक्रमहरुको लागि सिटिइभिटीमा प्रस्तावना पेश गरी सम्भाव्यता अध्ययन समेत सम्पन्न भएको कलेजका प्रिन्सिपल गिरीले बताउनुभयो ।
समयको माग, राष्ट्रको आवश्यकतालाई मनन गरी समाजमा व्याप्त रहेको बेरोजगारी हटाई रोजगारी प्रवद्र्धन गरी आत्मनिर्भर गराउने उद्देश्यले स्थापित कलेजबाट उत्पादित जनशक्तिले अन्तराष्ट्रिय बजारमा सहज रुपमा काम गर्न सजिलो भएको दावी पनि गरिएको छ । कलेजमा व्याचलरतर्फ विसिए र बिई सिभिल कार्यक्रममा २०६ जना, डिप्लो इन कम्प्युटर इञ्जिनियरिङ १८ महिने टिएसएलसी कार्यक्रममा १८५ गरी जम्मा ३९१ विद्यार्थीहरुले अध्ययन गरिरहेका उहाँले बताउनुभयो । यस्तै, ३६ जना विद्यार्थीहरुले पूर्ण छात्रवृद्धिमा अध्ययन गरिरहेका र केहि विद्यार्थीहरुले आंशिक छात्रवृत्तिमा अध्ययन गरिरहेका बताउनुभयो । उक्त कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन वैद्यले गर्नुभएको थियो ।
पब्लिक ज्ञानज्योति मुलुकमै उत्कृष्ठ
राप्ती पोष्ट

तुलसीपुर, साउन । कुनै बेला तुलसीपुरबाट राम्रो शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था थियो । उच्च शिक्षाका लागि आफ्नो ठाउँ छोडेर जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि भूमिका खेल्ने मध्य एक थियो पव्लिक ज्ञानज्योति सेकेन्डरी स्कुल । जतिवेलादेखि अर्थात २०५१ सालदेखि ज्ञानज्योतिले तुलसीपुर क्षेत्रमा ज्ञानको ज्योति फैलाउन थाल्यो तवदेखि तुलसीपुर क्षेत्रको शैक्षिक अवस्था नै राम्रो हुँदै आयो ।
अहिले एउटा सर्वेक्षणमा ज्ञानज्योतिको शिक्षा देशकै उत्कृष्ठ १५ मा पर्न सफल भएको छ । एउटा सर्वेक्षणले देशका उत्कृष्ठ २० विद्यालय छनोट गर्दा दाङको पब्लिक ज्ञानज्योति सेकेन्डरी स्कुल देशकै उत्कृष्ठ हुन सफल भएको छ । शिक्षाको विषयबस्तुलाई आधार बनाएर प्रकाशनमा रहेको एजुकेसन समाचारले गरेको सर्वेक्षणमा पब्लिक ज्ञानज्योति उत्कृष्ठ २० भित्र परेको हो । सर्वेक्षणको नतिजा अनुसार पब्लिक ज्ञानज्योति देशकै १५ औँ उत्कृष्ट माविमा परेको विद्यालयका प्रिन्सीपल सुरेन्द्र जिसीले जानकारी दिनुभयो ।
देशमा कक्षा ११ र १२ अध्यापन गराउने चार हजार तीन सय ४० मावि छन् । एजुकेसन समाचारले पाँच सय बढी विद्यार्थी परीक्षामा सहभागी भएका माविहरुबाट अब्बल मावि छनोट गर्दा तुलसीपुरको पव्लिक ज्ञानज्योति उत्कृष्ठ १५ मा पर्न सफल भएको हो । उत्कृष्ठ छनौट गर्दा विद्यालयले बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, उच्च मावि सञ्चालन अनुमति पाएको वर्ष, भौतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलाप लगायतलाई आधार बनाइएको छ ।

पब्लिक ज्ञान ज्योती सेकेण्डरी स्कुलको उत्कृष्ट नतिजाको प्रमुख कारण नै सबल व्यवस्थापकीय पक्ष भएको प्रिन्सीपल जिसीको भनाई छ । सुरुवातदेखि नै व्यवस्थापनका हिसावले आफूहरुले मेहनत साथ काम गरिरहेको उहाँको भनाई छ । यसका साथै, अनुभवी शिक्षक शिक्षिकाहरु अर्को पक्ष रहेको विद्यालयका प्रिन्सिपल जिसीले बताउनुभयो । २०५१ सालबाट शिक्षाको क्षेत्रमा आएको ज्ञानज्योतिले वि.सं. २०६५ सालबाट कक्षा ११ र १२ को कक्षा सुरु थियो । यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुन्छ । शान्त एवं गुणस्तरीय शैक्षिक वातावरण, सुविधासम्पन्न भौतिक संरचना, अतिरिक्त क्रियाकलापमा जोड, स्तरीय ल्याब तथा लाइब्रेरी यस विद्यालयका थप विशेषता हुन् । यो माविले उत्कृष्ट माविको पुरस्कार पटक पटक प्राप्त गरेको जिसी बताउनुहुुन्छ । यस विद्यालयमा विज्ञान विषयमा दुई सय ३० जना, व्यवस्थापनमा पाँच सय, मानविकी र शिक्षामा ४०÷४० विद्यार्थी छन भने कानुनमा ४५ जना विद्यार्थीहरु रहेका छन् ।
यी हुन् देशकै उत्कृष्ट २० मावि
१. प्रसादी एकेडेमी
२. सेन्ट जेभियर्स कलेज, काठमाडौं
३. काठमाडौं मोडल सेकेन्डरी स्कुल, काठमाडौं
४. लिटिल एन्जल्स स्कुल, ललितपुर
५. तिलोत्तमा सेकेण्डरी स्कुल, रुपन्देही
६. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं
७. मेरिल्यान्ड सेकेण्डरी स्कुल, मोरङ
८. न्यु होराइजन बोर्डिङ स्कुल रुपन्देही
९.काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल काठमाडौं
१०. ख्वप सेकेण्डरी स्कुल भक्तपुर
११. क्यापिटल सेकेण्डरी स्कुल काठमाडौं
१२. अरोमा इंग्लिस सेकेन्डरी स्कुल, चितवन
१३. अक्सफोर्ड इङ्ग्लिस बोर्डिङ स्कुल रुपन्देही
१४. सेन्ट लरेन्स स्कुल÷कलेज काठमाडौं
१५. पब्लिक ज्ञान ज्योती सेकेण्डरी स्कुल दाङ
१६. विश्व आदर्श सेकेण्डरी स्कुल, सुनसरी
१७. साउथ वेष्टर्न स्टेट सेकेण्डरी स्कुल काठमाडौं
१८. नेपाल मेगा कलेज काठमाडौं
१९. युनिग्लोब सेकेण्डरी काठमाडौं
२०. मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी धनुषा
साईबर अपराधले किशोरीहरु कसरी हुँदैछन असुरक्षित
छबि पुरी/राप्ती पोष्ट
घोराही,साउन । पछिल्लो समय समाजमा साईबर अपराध सम्बन्धि अनेकन स्वरुपमा घटना भईरहेका छन् । सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न खालका घटना हुने गरेको पाइएको छ । कसैले साथी बनेर, कसैले अपराधको शैली अपनाएर त कसैले विभिन्न बहानामा सहयोगको नाममा अपराध गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
२०७८ को तथ्यांक हेर्ने हो भने नेपालमा तीन हजार नौ सय छ वटा साईबर अपराधका घटना प्रहरी समक्ष दर्ता भएको छ । त्यसमा सबैभन्दा धेरै फेसबुकसँग सम्बन्धित रहेको छ । प्रहरीका अनुसार, तीन हजार चार सय ५१ वटा मुद्दा फेसबुकसँग सम्बन्धित छ । जसमा पुरुषको तुलनामा महिला हिंसाको घटना उल्लेख्य मात्रा धेरै रहेको छ । फेसबुकसँग सम्बिन्धत घटनामा महिलाका दुई हजार तीनवटा घटना भएकोमा पुरुषका एक हजार चार सय ७१ वटा घटना भएको छ ।
यस्तै, फेसबुक, भाइबर, इन्स्टाग्राम, इमो, टिकटक, ह्वाट्सएप, ट्वीटर जस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्दै समाजमा अनेकन खालका घटना हुने गरेको पाइएको छ । जसका कारण, अहिले पनि अनाहकमा आर्थिक तथा भौतिक क्षति हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, अहिले पनि जिल्लामा सरदर १० वटा साईबर अपराधका घटना दर्ता हुने गरेको छ । तर, जिल्ला प्रहरी कार्यालय दाङले यस प्रकारको घटनाको उजुरी लिएपनि घटना अनुसन्धानको पाटो केन्द्री अनुसन्धान व्यूरोले गर्दै आएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार, कोरोना महामारीपछि साइबर सम्बन्धि अपराधका घटना अझ बढेको बढेको छ । विभिन्न कारणले मानिसहरु मोबाईलको प्रयोगमा नजिएका तथा यसको सदुपयोग भन्दा दुरुपयोगमा लागेकाले अपराध सिर्जना गर्न यसले भूमिका खेलेको हुन सक्ने बताउनुभयो ।
नेपाल अमेरिका अलुम्नाई नेटवर्कले घोराहीका विभिन्न गाउँ तथा विद्यालयमा गरेको सर्वेक्षण तथा अनुसन्धानमा पछि समाजमा भौतिक तथा सामाजिक सञ्जालको प्रयोग गरेर दैनिक जसो अपराधका घटना भईरहेको निष्कर्ष निकालेको छ । ‘मेरो आवाज, मेरो शक्ति’ परियोजनामार्फत गरिएको अभियानमा किशोरीहरुले आफुले भोगेको अपराधका विभिन्न शैलीलाई आफ्नै शब्दमा व्यक्त गरेका छन् । घोराहीको एक सामुदायिक विद्यालयमा गरिएको अध्ययनमा आफुलाई अहिलेसम्म आईपरेको घटनाका बारेमा सोध्दा उनीहरुले आफ्ना अन्याय, थिचोमिचोलाई पोखेका छन् ।
घोराहीकी एक छात्राले लेख्नभएको छ, ‘भिनाजु नाता पर्ने एक व्यक्तिले मलाई बलात्कार गरे । घटना भएको पाँच दिनपछि मैले आफुलाई परेको अन्यायका बारेमा दिदीलाई यो कुरा बताएँ । यो कुरा आमासम्म पुग्यो । घटनाको बारेमा सुनेपछि भिनाजुलाई आमाले गाली गर्नुभयो । घटनाका बारेमा कुरा प्रहरीसमक्ष पुर्याईयो । त्यसपछि प्रहरीले कानून अनुसार सजाय दिलायो ।’ अनि अर्का एक जना किशोरीले भन्नुभयो, ‘धन्य यस्तो घटना मेरो जीवनमा अहिलेसम्म भएको छैन । भोग्नु परेको छैन । तर, म जस्तै अरु साथीहरुले आफन्तबाटै अनेकन अपराधको सिकार बनेको सुन्दा नराम्रो लाग्दो रहेछ । आगामी दिनमा यस्ता घटना हुन नदिन सबै सचेत बन्नुपर्छ ।’ कक्षा १२ मा अध्ययनरत एक छात्राले आफुले भोगेको दुखद घटनालाई यसरी लेख्नुभएको छ, ‘ मेरो जीवनमा घटेको घटनाका बारेमा जानकारी गराउँदा आफैलाई अप्ठ्यारो लागेको छ । तर, भन्नु पर्ने अवस्था पनि आएको छ । मलाई गीत संगीत असाध्यै मन पर्छ । त्यसैले आफुले गुन्गुनाएका गीत सामाजिक सञ्जालमा राख्ने गरेको थिएँ ।
मेरो प्रतिभा देखेर सुनेर घोराहीका एक जना मिडियाकर्मी तथा सर्जकले गीत गाउन दिन्छु भन्दै घोराही बोलाउनुभयो । घोराहीबाट तुलसीपुर गीत रेकर्ड गर्न जाने भनिएको थियो तर लमही लगियो । लमहीको एक होटलमा राख्नुभयो । म आत्तिएँ । उहाँलाई गीत रेकर्डका लागि आग्रह गरेँ तर मदिरा सेवन गर्न आग्रह गर्नुभयो । मसँग अभद्र व्यवहार भयो । मलाई मासिक श्राव भएको छ भनी प्याड किन्ने बहाना बनाएर बाहिर निस्केँ । आफ्नो दिदीलाई फोन गरेँ । त्यहाँ तत्काल मैले अरु केही गर्न सकेन । त्यही बेला घटनाको बारेमा प्रतिकार गरेको भए अवस्था बेग्लै हुन्थ्यो होला ।’
अनि अर्की किशोरीका अनुभव यस्तो छ , ‘म कक्षा आठमा पढ्दै गर्दा मेरो एउटा साथी थियो । उसको गाउँमा मामा नाता पर्नेबाट दिनदिनै शोषित हुनुपरेको रहेछ । पछि उनको बारेमा भएको घटनाका बारेमा थाहा पायौं । कक्षाका चार जना साथी मिलेर उनको आमालाई घटनाका बारेमा जानकारी गरायौँ । छोरीको ईज्जत जान्छ भन्ने ठानेर बाहिर कुरा नलैजान आग्रह गर्नुभयो । तर, साथीलाई कुरा बाहिर जाने डर अनि हौसला दिने कोही नभएपछि आत्महत्या गरिछन् । समाजका सामु आफुलाई आई परेको घटनाका बारेमा प्रतिकार गर्न नसक्दा अनि बेलैमा हौसला दिने मानिस नपाउँदा मेरो साथी जस्तै धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ।’
समाजमा यस्ता अनेकन अपराधका घटना हुने गरेको भएपनि अपराध गर्ने मनसाय भएकाहरु कुनै न कुनै कहानामा उन्मुक्ति पाउने गरेका छन् । जसका कारण उनीहरु कानूनी कठघरासम्म नपुग्ने गरेको प्रहरीको भनाई छ । समाजलाई अपराधमुक्त बनाउन अब समाजमा सचेतनासँगै सही सिकाईमा ध्यान दिनुपर्ने अवस्था आएको यस क्षेत्रका जानकारहरुको भनाई छ । अहिले पनि नेपालमा सामाजिक सञ्जाल नियन्त्रण र नियमन गर्ने बलियो कानून नभएकाले यसको दुरुपयोग हुने गरेको उनीहरुले बताउने गरेका छन् । जसका कारण अहिले पनि फिल्मीशैलीमा समाजमा साईबर अपराधका घटना हुने गरेको छ । सामाजिक सञ्जालका माध्यमबाट हुने अपराध रोक्नका लागि सवै सचेत हुनुपर्ने अहिलेको आवश्यकता रहेको साईबर क्षेत्रका जानकारहरुको भनाई छ ।
सामाजिक सञ्जालको गलत प्रयोग तथा अञ्जानमा विभिन्न खालका अपराधका घट्नाहरु हुने गरेको भन्दै त्यस्ता अपराध रोक्नका लागि सचेतनामुलक कार्यमा जोड दिनुपर्ने हुँदा सबै पक्षलाई यसमा सामेल गराउनु पर्ने आवश्यकता औँल्याईएको छ । नेपाल–अमेरिका अलुम्नाई नेटवर्कका लुम्विनी प्रदेश संयोजक दुर्गा पाण्डेले ‘मेरो आवाज, मेरो शक्ति’ कार्यक्रम अन्तर्गत पछिल्लो समय समाजमा पुगेर साइबर अपराधका बारेमा सुसूचित गराउँदै घटना हुनबाट रोक्न किशोरीहरुमा अभियान अघि बढाएको बताउनुहुन्छ ।
परियोजना अन्तर्गत स्कुल तथा समुदायमा कम्युनिटी एम्बास्डरमार्फत सचेतनाका कार्यक्रम थालिएकाले आगामी दिनमा सामाजिक सञ्जाल कसरी चलाउने, चलाउँदा के के कुरामा ध्यान दिने, शंका लागेमा कानूनी उपचार कहाँ खोज्ने जस्ता कुराका बारेमा प्रहरीको सहयोगमा अभियान चलाइएको बताउनुभयो । जसका लागि सामाजिक सचेतनाका लागि भन्दै किशोरीहरु स्वयम् यो अभियानमा जुटेका छन् । ममता केसी, कल्पना चौधरी, इसु शर्मा, सर्मिला डिसीलगायत थुप्रै किशोरी तथा महिलाहरुको यो अभियानमा भूमिका बढ्दै गएको छ ।
घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले सामाजिक सञ्जालबाट हुने अपराध रोक्न सचेतना आवश्यक रहेको बताउनुभयो । त्यसका लागि हरेक नागरिकहरुलाई सामाजिक सञ्जालका माध्यमबाट हुने अपराधका बारेमा सचेत बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि आफुले समेत सहयोग गर्ने बताउनुभयो । जिल्लामा अहिले साईबर अपराध नियन्त्रणका लागि अभियान थालिएपनि आगामी दिनमा थप रणनीतिक योजना बनाएर गाउँ, टोल, समुदायमै युवाहरुलाई यसमा सहभागी गराउँदै अपराधमुक्त समाज निर्माण गर्ने लक्ष्य राखिएको छ । यसका लागि स्थानीय सरकारले पनि समाजमा विगतका दिनमा घटित घटनाको अध्ययन गरी आगामी दिनको रणनीति बनाउन आग्रह पनि गरिएको छ ।
बौद्धिक अपाङ्गता विद्यार्थीलाई कर्मचारीको सहयोग
राप्ती पोष्ट
घोराही, साउन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दाङले शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस मनाएको छ । संगठन दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराहीको बालमन्दिरमा रहेका बौद्धिक अपाङ्गता भएका बालवालिकालाई पाठ्सामग्री प्रदान गरिएको थियो ।
दिवशका अवसरमा शहिद गोबिन्द गौतमका नाममा उहाँकी श्रीमती विमला गौतमले स्थापना गर्नुभएको अक्षकोषबाट प्राप्त रकमबाट बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरिएको हो । घोराही १४ बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको आवश्यकता अनसार सात दर्जन कापी, सात दर्जन पेन्सिल र स्टेशनरी सामग्री भण्डारण गर्न सहजताका लागि चार हजार पाँच सय रुपैयाँ मूल्य बराबरको बाकस सहयोग गरिएको हो ।

कार्यक्रममा घोराही–१४ का अध्यक्ष भानसिंह बुढाले कर्मचारी संगठनले गरेको काम सह्राहनिय रहेको बताउनुभयो । कार्यक्रममको सञ्चालन संगठनका सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।
होटलमा तीन थरी मुल्यले ग्राहकलाई अन्यौल
छबि पुरी/राप्ती पोष्ट
घोराही, साउन । लमही होटल व्यवसायी समितिले जिल्लामै सबैभन्दा महंगो खानाको मुल्य निर्धारण गरेपछि अहिले यो विषय चर्चामा छ । यहाँका होटल व्यवसायी पदाधिकारीहरुको बैठकले साउन ५ गते निर्णय गर्दै नयाँ मुल्य सूची सार्वजनिक गरेपछि धेरैले आश्चर्य मानेका छन् । नयाँ मुल्य सूची अनुसार खानाको मुल्यमा उल्लेख्य वृद्धि गरिएको छ । अरु खानेकुराको मुल्य पनि सोही हाराहारीमा मुल्य वृद्धि गरिएको छ ।
यसअघि मासुखानाको मुल्य चार सय रुपैयाँ तोकिएकोमा अहिले बढाएर पाँचसय निर्धारण गरिएको छ । त्यसमा पनि एकै ठाउँमा एकै प्रकारका बस्तुको मुल्य तीन प्रकारले वर्गीकरण गरि लागू गरिएको छ । आफैले होटलको स्तर निर्धारण गरी होटल अनुसार मुल्य सूची लागू गर्न निर्देशन दिईएको छ । मुल्य सूची अनुसार व्यवसाय नगरे कडा कारवाही हुने चेतवानी पनि मुल्य सूचीसँगै सम्बन्धित होटल व्यवसायीलाई गराइएको छ ।
लमही होटल व्यवसायी समिति अध्यक्ष नारायणप्रसाद भुसालले आफुहरु मात्रै बसेर खानाको परिकार अनुसार मुल्य वृद्धि गरिएको बताउनुभयो । अहिलेको बढ्दो महंगीका कारण खानाको मुल्य बढाउनु परेको बताए पनि उहाँले कुन आधारमा मुल्य कति प्रतिशत मुल्य बडाईएको हो भन्ने बारेमा ठोस जवाफ दिनुभएन । होटलको ३ प्रकारले आफै वर्गीकरण गरेका लमहीको होटल व्यवसायी समितिले आफु खुशी मुल्य निर्धारण गरेको पाइएको छ । कच्चा पदार्थको लागत सबै प्रकारका होटलमा पाक्ने खानाको एउटै हुने भएकाले लागत अनुसार बस्तुको मुल्य फरक फरक राखिनु वैज्ञानिक नभएको ग्राहकहरुको भनाई छ । ‘पहिलो कुरा खानेकुरामै यति धेरै मुल्य वृद्धि गरिएको रहेछ, मुल्य बढाउने अवस्था हो भने कति प्रतिशतसम्म बढाउनु पर्ने हो, छलफल त हुनु पर्ने हो, आफु खुशी मुल्य बढाउन नहुने हो,’ लमहीमा खाना खाएका सुर्खेतका एक युवाले भन्नुभयो ।

होटल व्यवसायी समिति लमहीका अध्यक्ष भुसालले पनि आफु–आफु बीचमा छलफल गरेर मुल्य निर्धारण गरी लागु गरेको बताउनुभयो । यस बारेमा स्थानीय सरकार, होटल व्यवसायी समितिको अभिभावक संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ, देउखुरी उद्योग वाणिज्य संघ तथा स्थानीय प्रशासनलाई समेत कुनै जानकारी छैन । ‘हामीले लमहीमा रहेका एसीवाला होटलमा महंगोवाला मुल्य तोकेका छौँ, लजिङ सुविधा भएका होटलमा मध्यम खालको मुल्य तोकेका छौँ, अरु साना होटल व्यवसायीहरुको हकमा सबैभन्दा सस्तो खालको मुल्य सूची निर्धारण गरी साउन ५ गतेबाटै कार्यान्वयनमा ल्याएका छौँ,’ अध्यक्ष भुसालले भन्नुभयो ‘यस बारेमा अरु निकायलाई जानकारी गराउने आवश्यकता पनि ठानेनौ, किनभने काम कार्यान्वयन गर्ने निकाय हामी हो, हामी आफैले मुल्य तोक्योँ, लागु पनि आफैले गरेका छौँ ।’
उहाँका अनुसार तेलको गत्ताको १४ सयबाट बढेर ३२ सय पुगेको, ग्यास सिलिण्डरको १३ सयबाट बढेर १८ सय पचास पुगेको, चामल, दाल तरकारीको मुल्य बढेपछि बाध्य भएर मुल्य बढाइएको हो ।
तर, सार्वजनिक चासोको कुरालाई लमहीका होटल व्यवसायीले सामान्य कुरा जस्तै ठानेर निर्णय कार्यान्वयन गर्दा यसको सही सन्देश नजाने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन बताउनुहुन्छ । उहाँले पनि आफुलाई लमहीका होटल व्यवासायीले नयाँ मुल्य सूची बनाएर लागु गरेको बारेमा कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । ‘कुनै पनि निकायले आफुले काम गर्दा सार्वजनिक चासोको विषयमा हामीलाई जानकारी गराउनु पर्ने हो तर लमहीबाट कुनै जानकारी आएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी पुनले भन्नुभयो, ‘पहिलो कुरा त मुल्य बढाउनु पर्ने थियो भने जिल्लाभरका होटल व्यवसायीले सरसल्लाह गर्नुपर्ने हो, बढाएको भए सबै ठाउँमा जानकारी गराउनु पर्ने हो केही पनि भएको छैन । यसरी काम गर्दा कानून विपरित हुन्छ ।’
उहाँले अहिलेको अवस्थामा महंगी बढेको सबैलाई जगजाहेर भएपनि यसको बस्तुस्थिती हेरेर काम गर्नुपर्नेमा त्यसो नभएको बताउनुभयो । सरकारले तोकेको मापदण्डमा रही मुल्य तोक्ने अधिकार भएपनि होटलको स्तर आफै निर्धारण गरेर एकै ठाउँमा एकै प्रकारका खानेकुराको ३ थरी मुल्य तोक्दा आग्रह वा उपभोक्तामा कस्तो असर पर्ला भन्ने बारेमा सोँच्नु पर्ने उहाँको भनाई छ । स्‘थानीय उपभोक्ताले बजारमा गएर खाजा नास्ता आन नसक्ने अवस्था बनाए की भन्ने लागेको छ, उहाँले भन्नुभयो, यो बारेमा सबैको चासो भएको छ, हामीले के कारणले यस्तो भएको हो बुझ्छौँ र त्यहाँको बस्तुस्थितीका बारेमा प्रकृया अघि बढाउँछौँ ।’
उता, लमही मै रहेको होटल व्यवसायीहरुको अभिभावक संस्था देउखुरी उद्योग वाणिज्य संघलाई पनि होटल व्यवसायीले गरेको कामका बारेमा कुनै जानकारी छैन । देउखुरी होटल व्यवसायी समिति अध्यक्ष खगेश्वर खनालले होटल व्यवसायी समितिले गरेको निर्णयका बारेमा कुनै जानकारी नभएको स्पष्ट पार्नुभएको छ । ‘यो आफै आफैले मुल्य तोकेर आफै राखेकी भन्ने लागेको थियो फेरी लमहीमै तीन थरिका मुल्य सूचीसहितको सूचना आएको देखेँ म आफै अनभिज्ञ भएको छु,’ उद्योग वाणिज्य संघका अध्यक्ष खनालले भन्नुभयो, ‘यो कस्तो खालको निर्णय हो, हामी कसैलाई थाहा छैन, निर्णय गरेका हुन् भने कम्तिमा हामीलाई त थाहा हुनुपर्ने हो ।’
उहाँले लमही होटल व्यवसायी समितिले गरेको यो निर्णय ‘हचुवा’का भरमा भएको बताउनुभयो । सरोकारवालालाई राखेर छलफलका माध्यमबाट निर्णय गरेको भए सबैले थाहा पाउने र निर्णय कार्यान्वयन गर्न सहज हुने भएपनि यस्तो नगर्दा आफुहरु पनि यो निर्णयले समस्यामा परेको उहाँको भनाई छ । जिल्लाका अरु ठाउँमा अझै मुल्य बढी सकेको छैन । तर, लमहीका होटलहरुमा यसरी मुल्य बढाइए पछि जिल्ला बाहिरका यात्रु, ग्राहकहरुमा राम्रो सन्देश नजाने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘साँच्चै मुल्य बढाउनु पर्ने अवस्था आएकै थियो भने भालुवाङ, चन्द्रौटा, घोराही, तुलसीपुर क्षेत्रका होटल व्यवसायीहरुको अवस्था बुझेर छलफल गरेर अघि बढेको भए हुने तर यसो नगरी आफैले मनदाग्दी काम गर्दा हामीलाई पनि अप्ठ्यारो अवस्था भयो, यो गलत भयो ।’
हिजोका दिनमा अप्ठ्यारो पर्दा उद्योग वाणिज्य संघले सहयोग गर्दै आएको बताउँदै भोलिका दिनमा पनि आफुहरु साथमै रहेको भएपनि यस बारेमा जानकारी नगराइएकोमा आश्चर्य चकित भएको बताउनुभयो । ‘लमहीमा सबै ठाउँमा मानिस आउँछन्, यहाँको बारेमा बुझ्छन् अनि जान्छन्, यसरी आफु खुशी काम गर्न थाल्ने हो भने भोलिका दिनमा कस–कसलाई जवाफ दिँदै जानु पर्ने हो,’ अध्यक्ष खनालले भन्नुभयो, ‘लमही बजारको बारेमा गलत सन्देश नजाओस् भन्नेमा सबै सजग हुनै पर्छ, हामीले यसबारेमा जानकारी लिन्छौँ ।’
यस्तै, स्थानीय सरकारका रुपमा रहेको लमही नगरपालिकाले पनि लमहीका होटल व्यवसायीले गरेको निर्णयका बारेमा कुनै जानकारी नभएको स्पष्ट पारेको छ । लमही नगर प्रमुख जोगराज चौधरीले होटल व्यवासीहरुले गरेको निर्णय बारेमा पालिकामा कुनै जानकारी नआएको हुँदा आफु अनभिज्ञ रहेको बताउनुभयो । स्थानीय सरकारमा उपभोक्ता हीत संरक्षण शाखा रहने प्रावधान छ । उक्त शाखाले स्थानीय स्तरमा बिक्रि वितरण हुने खाद्यबस्तुको अवस्था र बजारको बारेमा अनसगमन र नियन्त्रण गर्ने गर्दछ तर स्थानीय सरकार पनि यो बारेमा बेखबर हुनु भनेको सर्वथा लापरवाही भएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खनालले बताउनुभयो ।

